विकासन्युज

एभरेष्ट बैंकले कोरोना कोषमा दियो एक करोड दुई लाख रुपैयाँ

काठमाडौं । एभरेष्ट बैंकले कोरोना (कोभिड-१९) राहत कोषमा एक करोड २ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो क्षेत्रीय कार्यालयहरु मार्फत सबै सात प्रदेशका प्रत्येक प्रदेश सरकारहरुलाई ६ लाख रुपैयाँ गरी ४२ लाख र केन्द्रिय सरकारलाई ६० लाख रुपैयाँ गरी उक्त रकम हस्तान्तरण गरेको हो । कोषको रकम लक्ष्मण अर्याल, सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई आशुतोष शर्मा, सहायक महाप्रबन्धक तथा अन्य एभरेष्ट बैंकका प्रतिनिधिहरूद्वारा हस्तान्तरण गरिएको थियो । कोषको रकम बाहेक, बैंकले हाल चलिरहेको महामारी विरुद्ध लड्नको लागि अरु विभिन्न संघसंस्थाहरुलाई पनि सहयोग गर्दै आइरहेका छन् । यसका साथै, बैंकले यस महामारीको सुरुवती चरण देखि नै आफ्नो विभिन्न शाखाहरुमा भ्रमण गर्ने सम्पूर्ण ग्राहकहरुको सुरक्षामा उच्च ध्यान दिदैं आइरहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा दुवै अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरिएको जनाएको छ । सोमबार दिउँसो मन्त्रिपरिषद बैठकले यी दुबै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्‍याएमा  पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

यसरी हुन्छ कोरोना बीमा, यस्ता छन् फाइदा

कोरोना भाईरस बीमालेख अन्तरगत दुई किसिमका बीमालेख छन् । एउटामा बिमितले दाबी भुक्तानी स्वरुप १ लाख र अर्कोमा ५० हजार रुपैयाँ पाउँने व्यवस्था छ । यो बीमाको बीमा शुल्क धेरै छैन । सबैभन्दा पहिला ५० हजार रुपैयाँको बीमालेखको कुरा गरौं । यो बीमालेखमा पनि एक्लै वा परिवारका सवै सदस्यको बीमा गराउन पाइने सुविधा छ । कसैले आफ्नो मात्रै बीमा गराउन चाहनु भयो भने ५ सय रुपैयाँ तिरेर बीमा गराउन सक्नुहुन्छ । यस्तो बीमालेखको अवधी एक वर्षको हुन्छ । परिवारका सदस्यको नै बीमा गर्ने हो भने प्रतिव्यक्ति ३ सय रुपैयाँका दरले बीमा गराउन सकिन्छ । अब १ लाख रुपैयाँ दाबी भुक्तानी पाइने बीमालेखको कुरा गरौं । यसको बीमाशुल्क एकजनाको मात्रै गर्दा १ हजार रुपैयाँ तिर्नुपर्छ । परिवारका सवै सदस्यको बीमा गर्ने हो भने प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले जतिजनाको बीमा गराउने हो त्यति रकम बीमा शुल्क तिर्नुपर्छ । दाबी भुक्तानीको तरिका कोरोना भाइरस बीमा अरु स्वास्थ्य बीमा जस्तो होइन । यसमा कोरोना लागे नलागेको प्रमाणपत्र दिनुपर्दैन । अरु स्वास्थ्य बीमामा भने निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्छ । वा भएका दीर्घकालिन रोगको बारेमा खुलाउनु पर्छ । कोरोना भाइरस बीमा गराएपछि बीमा गराएको १५ दिनसम्म कोरोना संक्रमण भएको पीसीआर रिपोर्टमा देखियो भने बीमा दाबी रकम पाइदैन । तर, बीमा गराएको १६ दिनदेखि १ वर्षभित्रमा पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखियो भने प्रतिव्यक्ति जति रकम (५० हजार वा १ लाख रुपैयाँ) को बीमा गरिएको छ, त्यति रकम सम्बन्धित बीमा कम्पनीले स्वतः दाबी भुक्तानी दिन्छन् । बीमा दाबी रकम कोरोना संक्रमण भएको पीसीआर रिपोर्टबाट पुष्टी हुने वित्तिकै पाइने भएकोले संक्रमणबाट निको भएपनि पाइन्छ । कथम् कदाचित कोरोना संक्रमितको मृत्यू भएमा आश्रित परिवारले दाबी भुक्तानी पाउँछन् । कोरोना संक्रमितको परीक्षणसहित सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भनेको छ । त्यसैले बीमाबाट पाएको रकम औषधी उपचार वा अन्य उपचार प्रयोजनमा खर्च गर्नुपर्दैन । यो रकमले विरामी वा उसका आश्रित परिवारले आवश्यक जेमा खर्च गरेपनि हुन्छ । लक्षित वर्ग यो बीमा कार्यक्रम लघु बीमा योजना मोडलमा ल्याइएको हो । यसमा लक्षित वर्ग को हुने वा को नहुने भन्ने त नहोला । किनकि बीमा सबै वर्गको लागि नै हुनेगरी ल्याइन्छ । तर, कोरोना बीमाको लक्षित वर्ग भनेको आर्थिक अवस्था कमजोर वा मध्यम भएका व्यक्तीहरुको लागि पनि हो । महामारीमा साथ कुनैपनि किसिमका समस्या परेको बेलामा बीमाले साथ दिन्छ भनेर बीमा गराउने गरिन्छ । महामारी आफैमा समस्या हो । बीमा क्षेत्रले महामारीको बेलामा पनि बिमितलाई सहज होस् र बीमाको तर्फबाट पनि केही न केही योगदान गरौं भन्ने हिसावले कोरोना बीमा योजना ल्याइएको हो । बीमा भनेको आफैमा व्यवसाय मात्र नभएर सेवा पनि हो । सोही कारण अहिले बीमा कम्पनीहरुले एक कम्पनीबाट वार्षिक रुपमा २/४ करोड घाटा नै भएपनि बीमा गराउँन आवश्यक छ भन्ने महसुस गरेर यो बीमा योजना अघि सारिएको हो । कुन हदसम्म हुन्छ रक्षावरण ? अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या धेरै छैन । कतिपय देशहरुमा जस्तो भयावह स्थिती नआउँदसम्म र बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्न सकुन्जेलसम्म रक्षावरण गर्ने गरी यो योजना ल्याइएको हो । कोरोना भाइरस लाग्नेको संख्या हेरेर नियामक निकाय बीमा समितिले आवश्यक समन्वय गर्नेछ । माईक्रो इन्स्योरेन्सको शिखर इन्स्योरेन्स पुल म्यानेजर माईक्रो इन्स्योरेन्सहरुको सन्दर्भमा पुल म्यानेजर नै शिखर इन्स्योरेन्स कम्पनी हो । सोही कारण कोरोना बीमाको सुरुवात शिखरले गरिसकेको छ । सन्देश कोरोना भाइरस संक्रमबाट जोगिने भनेको सामाजिक दूरी कायम गरेर नै हो । यो कुरा सामान्य जस्तो लागेपनि यसमा कसैले लापरबाही गर्नुहुँदैन । कोरोना भाइरस सबैजना सकेसम्म जोगिनु पर्छ, तर कथम कदाचित कसैलाई संक्रमण फैलिएको अवस्थामा भने कोरोना बीमाले राहत प्रदान गर्छ । अहिले शिखर इन्स्योरेन्स कम्पनीकै अधिकांश कर्मचारीहरु यस बीमा योजनामा सहभागी भइसकेको अवस्था छ । छैन पुनर्बीमा, पुलमार्फत व्यवस्थापन अरु बीमा योजनामा जस्तो कोरोना भाइरस बीमामा पुनर्बीमा भएको छैन । यो बीमा योजना नेपालको आन्तरिक बीमा जस्तै हो । बीमा समितिसँगको समन्वयमा पुलमार्फत सबै निर्जीबन बीमा कम्पनी र नेपालमा रहेको एकमात्र पुनर्बीमा कम्पनीको सहभागितमा यो कार्यक्रम संचालनमा ल्याइएको हो । कोरोना बीमाको जतिपनि बीमालेख विक्री हुन्छ, त्यसबाट आएको बीमाशुल्कमा पुनर्बीमा कम्पनीले २० प्रतिशत र अरु २० वटा निर्जीवन बीमा कम्पनीहरुले ४/४ प्रतिशतका दरले बीमा शुल्क लिन्छन् । र, दाबी भुक्तानी गर्नु परेको अवस्थामा पनि सोही विधि अनुसार भुक्तानी हुन्छ । (शिखर इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेसँग गरिएको कुराकानीमा आधारित)

यूएनएफपीएले सरकारलाई दियाे १२ सय पीपीई किट्स

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले १२ सय व्यक्तिगत सुरक्षा कवच (पीपीई) किट्सहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको प्रयासमा सहयोग पुर्याउने प्रतिबद्धता अनुरुप यूएनएफपीएले साेमबार सरकारलाई उक्त सहयाेग गरेकाे हाे । नेपाल, चीन र यूएनएफपीएबीचको दक्षिण-दक्षिण साझेदारी पहल अन्तर्गत चीन सरकारबाट उपलब्ध किट्सहरु प्रदान गरिएको थियो । तीन करोड ४ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको पिपिइ किट्समा सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आइ गगल्स्, हेड कभर्स, शुकभर्स, लङ स्लिभ् इम्पर्भियस गाउन, डिस्पोजेबल ब्याग र गम्बुट्स रहेका छन् । पीपीई किट्सहरु ग्रहण गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल भने, “यी किट्सहरु सही सयममा आइपुगेका छन् ।” यसले कोभिड-१९ को महामारी प्रतिकार्यमा महत्वपूर्ण र ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोग गरेकोमा यूएनएफपीए र चीन सरकारलाई धन्यवाद दिए । ‘नेपालमा कोभिड-१९ सङ्क्रमणको बढ्दो संख्या पुष्टि भएसँगै धेरै मानिसहरुमा परीक्षण र उपचारको आवश्यकता भएकाले अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्वपूर्ण छ । यस समयमा उनीहरुको कार्यस्थलको वातावरणका साथै स्वास्थ्य र मनोसामाजिक सम्बन्धी आवश्यकताहरुमा ध्यान दिनु पर्दछ,’ नेपालका लागि यूएनएफपीएका देशीय प्रतिनिधि लुब्ना बाकीले भने । ‘नेपालमा काम गरिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अन्य राष्ट्रसंघीय निकायहरूसँगै रहेर यस महामारीको पूर्वतयारी र प्रतिकार्यमा नेपाल सरकारलाई सहयोग गर्न यूएनएफपीए तयार छ ।’ यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवनरक्षाका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ । पीपीई किट्सको अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड-१९ को महामारीको दौरान क्वारेन्टिनमा बसेका महिला र किशोरीहरूको तत्काल सरसफाई र सुरक्षाका आवश्यकताहरू सम्बन्धी मर्यादा किट (डिग्निटी किट्स) प्रदान गरिरहेको छ । यी किट्समा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग गर्न मिल्ने महिनावारी प्याड, र महिला तथा किशोरीहरुका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन् । ‘अरु बेलाका सङ्कटको समयमा जस्तै यस महामारीमा महिला तथा किशोरीहरु आफन्त तथा घनिष्ट व्यक्तिहरुबाट हिंसामा पर्ने तथा अन्य घरेलु हिंसाको वढी जोखिममा हुन्छन् । यसैले एकद्धार संकट व्यवस्थापन केन्द्र, सुरक्षित आवास र हेल्पलाइनबाट लैङ्गिक हिंसा पीडितलाई जीवनरक्षाका लागि आवश्यक पर्ने सहयोग र हेरचाहलाई थप सुदृढ बनाउनुपर्छ,’ यूएनएफपीए प्रतिनिधिले भने ।

अध्यादेश ल्याउने निर्णय लगत्तै बास्काेटाले गरे यस्ताे ट्वीट

काठमाडौं । मन्त्रिपरिषदमा राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने निर्णय भएपछि नेपाली राजनीतिमा तरङग आएको छ । कतिपयले यसलाई नेकपा फुट्ने हो कि भनेर अड्कलवाजी गरिरहेका छन् । त्यसपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा सचिवालय बैठक आकस्मिक रूपमा साढे ५ बजेदेखि जारी छ । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अहिले राजनीतिक बजारमा भाइरल समाचार साधारण रहेको बताए । उनले दलहरु कानूनले भन्दाबढी दर्शनमा आधारित सिद्दान्त , बिचार , उदेश्यसहितको संगठनात्मक तथा भाबनात्मक प्रणालीमा एकताबध्द भएको हुनाले तरङ्गित हुन आबश्यक नरहेको बताएका छन् ।

काँग्रेसले मुख खाेल्याे, भन्याेः बेमाैसमी बाजा नबजाऔं

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केही असहमति भएपछि प्रमुख प्रतिपक्ष  दल नेपाली काँग्रेसले मुख खाेलेकाे छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोेरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन आग्रह गरेको हाे । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबचाउन आग्रह गरेका हुन् ।  संसारकै प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको उनको तर्क छ ।  सबैको सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित हुनुपर्ने उनकाे भनाइ छ ।

नेपालमा साढे ३३ हजार जनाकाे काेराेना परीक्षण गरियाे

काठमाडाैं । सरकारले सोमबारसम्म देशभरी साढे साढे ३३ हजार भन्दा बढीमा कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताए । पिसिआर विधिबाट पछिल्लो २४ घण्टामा ३ सय २४ गरी ८ हजार ४ सय १४ नमुना परीक्षण गरिएको उनले बताए । यस्तै, आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार १९ गरी २५ हजार १ सय ४८ नमुना परीक्षण गरिएको छ । सोमबार नयाँ संक्रमित देखिएका छैनन् । अहिले देशका विभिन्न अस्पतालमा २७ जना उपचाररत रहेका छन् । ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । उदयपुरमा पिसिआर परीक्षणका लागि १ सय ५२ जनाको नमुना संकलन गरिएको छ । उनीहरुको नमुना राष्ट्रिय प्रयोग प्रयोशाला टेकुमा पठाइएको प्रवक्ता डा. देवकोटाले बताए । सरकारले प्रदेशअनुसार परीक्षण गरिएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदुरपश्चिम प्रदेशमा आरडिटी विधिबाट सबैभन्दा बढी परीक्षण भएका छन् ।  

लकडाउन खुकुलो पार्न गृहकार्य गर्दै सरकार

काठमाडौं । सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब १ महिनादेखि देशभर लागू गरिएको लकडाउनको कारण चौतर्फि नकारात्मक असर परेपछि सरकारले विकल्पको खोजी गरेको हो । लकडाउनका कारण उद्योग व्यवसाय चल्न नसकेको तथा सर्वसाधारणले हिड्डुल गर्न पनि गाह्रो भएकोले संक्रमण फैलन रोक्ने सावधानीका विकल्प अनाएर लकडाउन सहज बनाउन लागिएको हो । खासगरी एकै स्थानमा बसेर काम गर्ने तथा अन्य व्यक्तिसँगको सम्पर्क नहुने उद्योग प्रतिष्ठान, विकास आयोजनाका श्रमिक तथा मजदुरले काम गर्न पाउने गरी लकडाउनको विकल्प खोज्न लागिएको गृहमन्त्रालय स्रोतको भनाइ छ । यस्तै, एउटा वडा वा पालिकाभित्र आवत जावत गर्न पाइने गरी लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा पनि आन्तरिक गृहकार्य भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अब लकडाउनको अन्त्य हुने संकेत गर्दै हिजो व्यवसायीहरुलाई पर्यटक ल्याउन तयारी गरे हुन्छ भनेका थिए । खतिवडाले नेपाल चेम्बर अफ कमर्सको टोलीसँग भेटवार्ता गर्दै पर्यटक ल्याउने तयारी गर्दा पनि हुने बताएका हुन् । ‘अक्टोबर पनि पर्यटकका लागि राम्रो सिजन हो, कोरोना संक्रमणको जोखिम कम हुने बित्तिकै हामी पर्यटनमा जोड दिन्छौं, तपाईहरु अहिल्यैदेखि तयारी गर्नुस्’ खतिवडाले चेम्बरसगँको भेटमा भने । लकडाउनमा बसेकाहरु अब घुम्न मन पराउने भएकाले त्यसलाई केन्द्रित हुन उनले व्यवसायीलाई आग्रह पनि गरेका थिए । नाडा अटोमोबाइल्स डिलर एशोसिएशन नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले पनि लगडाउनको अन्त्य गर्नु पर्ने बताए । अर्थतन्त्र डामाडोल भएको कारण सरकारले संक्रमण रोक्ने उपाय अपनाएर लकडाउन खोल्नु पर्ने उनको भनाइ छ । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन खुकुलो पार्दै जानुको साटो अन्त्य नै गर्ने बताएका छन् । तेस्रोपटक समय थपेर वैशाख १५ गतेसम्म कायम गरेको लकडाउन बढ्छ कि खुल्छ भन्ने चासो छ । प्रधानमन्त्रीले भने अनुसार पनि अब लकडाउन धेरै समय रहने छैन ।