काठमाडौं । सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब १ महिनादेखि देशभर लागू गरिएको लकडाउनको कारण चौतर्फि नकारात्मक असर परेपछि सरकारले विकल्पको खोजी गरेको हो ।
लकडाउनका कारण उद्योग व्यवसाय चल्न नसकेको तथा सर्वसाधारणले हिड्डुल गर्न पनि गाह्रो भएकोले संक्रमण फैलन रोक्ने सावधानीका विकल्प अनाएर लकडाउन सहज बनाउन लागिएको हो । खासगरी एकै स्थानमा बसेर काम गर्ने तथा अन्य व्यक्तिसँगको सम्पर्क नहुने उद्योग प्रतिष्ठान, विकास आयोजनाका श्रमिक तथा मजदुरले काम गर्न पाउने गरी लकडाउनको विकल्प खोज्न लागिएको गृहमन्त्रालय स्रोतको भनाइ छ ।
यस्तै, एउटा वडा वा पालिकाभित्र आवत जावत गर्न पाइने गरी लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा पनि आन्तरिक गृहकार्य भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले अब लकडाउनको अन्त्य हुने संकेत गर्दै हिजो व्यवसायीहरुलाई पर्यटक ल्याउन तयारी गरे हुन्छ भनेका थिए । खतिवडाले नेपाल चेम्बर अफ कमर्सको टोलीसँग भेटवार्ता गर्दै पर्यटक ल्याउने तयारी गर्दा पनि हुने बताएका हुन् ।
‘अक्टोबर पनि पर्यटकका लागि राम्रो सिजन हो, कोरोना संक्रमणको जोखिम कम हुने बित्तिकै हामी पर्यटनमा जोड दिन्छौं, तपाईहरु अहिल्यैदेखि तयारी गर्नुस्’ खतिवडाले चेम्बरसगँको भेटमा भने ।
लकडाउनमा बसेकाहरु अब घुम्न मन पराउने भएकाले त्यसलाई केन्द्रित हुन उनले व्यवसायीलाई आग्रह पनि गरेका थिए ।
नाडा अटोमोबाइल्स डिलर एशोसिएशन नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले पनि लगडाउनको अन्त्य गर्नु पर्ने बताए । अर्थतन्त्र डामाडोल भएको कारण सरकारले संक्रमण रोक्ने उपाय अपनाएर लकडाउन खोल्नु पर्ने उनको भनाइ छ ।
यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन खुकुलो पार्दै जानुको साटो अन्त्य नै गर्ने बताएका छन् । तेस्रोपटक समय थपेर वैशाख १५ गतेसम्म कायम गरेको लकडाउन बढ्छ कि खुल्छ भन्ने चासो छ । प्रधानमन्त्रीले भने अनुसार पनि अब लकडाउन धेरै समय रहने छैन ।