जनप्रतिनिधिहरुको सक्रियता पछि फर्किन थाले मकवानपुरका मजदुर घर
काठमाडौं । लकडाउनको कारणले काठमाडौं र पोखरामा अलपत्र परेकाहरु मकवानपुर फर्किन थालेका छन् । संभिर सांसद र स्थानिय तहको सक्रियता पछि मकवानपुरका नागरिकहरु जिल्ला फर्किन थालेका हुन । मकवानपुरका संघिय सांसद कृष्ण प्रासद दाहाल, विरोध खतिवडा, रामचन्द्र राई, प्रदेश सांसद प्रेम पुलामी, इन्द्रबादुर बानिया तथा गाउँपालिका र वडासगँको संयोजनमा मकवानपुका नागरिकहरुलाई देशैभरबाट उद्धार सुरु भएको छ । काठमाडौंमा अलपत्र परेकाहरुका लागि पुरानो नारायणी यातायात कम्पनी प्रालि र नयाँ नारायणी यातायात कम्पनी प्रालिको सहयोगमा बस व्यवस्थापन गरि उद्धार भइरहेको हो । पुरानो नारायणी यातायात कम्पनी प्रालिका सचिव ठाकुरनाथ सुवेदीले कम्पनीले बसको व्यवस्थापन गरि लकडाउनको कारणले काठमाडौंमा रहेकाहरुलाई जिल्ला ल्याउन थालिएको बताए । उनले भने २० वटा बस मार्फत उद्धार मकवानपुर जिल्लाकालाई ल्याएको जानकारी दिए । मकवानपुरको कैलाश गाउँपालिकामा रहेकाहरुलाई दश वटा बस मार्फत काठमाडौंमा ज्वरो जाँच गर्ने, मास्क, ग्लोव्स र स्यानीटाइजरको प्रयोग गरेपछी मात्र बसमा राखेर मजदुरी गर्दै आएका नागरिकलाई ल्याउन लागिएको हो ।
लकडाउन फेरि १५ दिन लम्बियो, यस्ता छन् उच्चस्तरीय समितिका निर्णय
काठमाडौं । सरकारले लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ । शनिबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउन १५ दिन थप्ने निर्णय गरेको हो । यो सँगै अब लकडाउन बैशाख ३० गतेसम्म रहनेछ । सरकारले कोरोना भाइरसको जोखिम कम गर्नको गर्नको लागि चैत ११ गतेदेखि निरन्तर लकडाउन गर्दै आएको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा शुरु भएको बैठकमा लकडाउन एक हप्ता या १५ दिन थप्नेबारे छलफल हुने बुझिएको छ । बैठकले कतिपय अत्यावश्यक सेवा सञ्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाउने निर्णय पनि गरेको छ । विभिन्न क्षेत्र छुट्याएर लकडाउनमा पनि अत्यावश्यक र जरुरी सेवाहरु संचालन गर्न दिने निर्णय भएको छ । स्वास्थ्य सेवा, निर्माण सेवा, कृषि क्षेत्र, अत्यावश्यक सामाग्री उत्पादनका उद्दोगहरुलाई भौतिक दुरी कायम गरी संचालन गर्न दिने समितिीले निर्णय गरेको हो । यो सँगै ढुवानीका सामान अहिले पनि ओसारपसार गर्न छुट छ । सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि शैक्षिक संस्थाहरु वैशाखभर नखुल्ने निश्चितप्रायः भएको छ । शैक्षिक संस्था, सार्वजनिक यातायात, होटल, सिनेमा हल, खेल स्थललगायत आउँदो एक महिनासम्म खुल्ने सम्भावना न्युन छ । एसईई र विभिन्न विश्वविद्यालयका परीक्षाहरु कम्तिमा एक महिना पछाडि धकेलिने देखिएको छ सरकराले चैत ११ गते लकडाउन घोषणा गरेको थियो । पहिले सरकारले चैत १८ त्यसपछि २५ र अहिले बैशाख ३ गतेसम्म लकडाउनको घोषणा थियो भने अहिले बैशाख १५ गतेसम्मको लागि लकडाउन कायमै छ ।
पुनःनिर्माणको पाँच वर्ष : २० हजार घर बनाउन बाँकी
काठमाडौं । शुक्रबार वैशाख १२, अर्थात् गोरखा भूकम्पको पाँच वर्ष बितेको छ । यो पाँच वर्षमा पुनःनिर्माणका सम्पूर्ण काम सम्पन्न गर्ने योजना पूरा हुनसकेको छैन । निजी आवास पुनःनिर्माणको कामले तीव्रता लिए पनि अझै २० हजारभन्दा बढी घर निर्माण सम्पन्न भएको छैन । धादिङ जिल्लामा सर्वेक्षणबाट पहिचान भएका कूल लाभग्राही ७० हजार ५ सय ८१ रहेको थियो । सर्वेक्षणमा आफ्नो घर छुटेको भन्दै गुनासो गरेपछि थप भएका लाभग्राही १३ हजार ८ सय ५९ गरी ८४ हजार ४ सय ४० परिवार लाभग्राही सूचीमा छन् । यसमध्ये पहिलो किस्ता लिने लाभग्राही ७९ हजार ७ सय ६२ छन् । हालसम्म घर निर्माण सम्पन्न गरी ६३ हजार १ सय ७ परिवारले तेस्रो किस्ता लिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार धादिङका व्यवस्थापन सूचना प्रणालीविज्ञ इञ्जिनीयर दीपेन्द्र पौडेलले बताए । यसरी हेर्दा अझै २१ हजार ३ सय ३३ नागरिकको घर निर्माण हुनसकेको छैन । धादिङ जिल्लामा एक हजार ४ सय २ परिवारले पुनरावेदन दर्ता गराएका छन् भने लाभग्राही परिवर्तनका लागि ४ सय ६९ परिवारले निवेदन दिएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । प्रवलीकरण (रेक्ट्रोफिटिङ) का लागि पाँच हजार १ सय १२ परिवार लाभग्राही कायम भएकामा २४ जनाले मात्र दोस्रो किस्ता लिएर प्रवलीकरणको काम सकेका छन् । चार सय १२ परिवार जोखिमयुक्त लाभग्राही पहिचान भएकामा २ सय १३ परिवारले मात्र घर निर्माण गरेका छन् । १ सय २९ भूमिहीन लाभग्राही रहेकामा १२ परिवारले मात्र तेस्रो किस्ता लिएका छन् । निजी आवास निर्मणमा कहालीलाग्दो अवस्था छ । निजी आवास पुनःनिर्माणको काम पुस मसान्तसम्म सक्ने भनिए पनि लकडाउनका कारण पुनः निर्माणको काम सबै प्रभावित भएको र समयमै नसकिने अवस्थामा भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका वित्तीय व्यवस्थापनविज्ञ आनन्दराज पाण्डेले बताए । बन्दाबन्दीका कारण पुनःनिर्माणको काम ठप्प भएको छ । निर्माण सामग्री गाउँसम्म लान सकिएको छैन । निर्माण मजदुर क्वारेनटाइनमा बसेका छन् । कोही बाहिर निस्कन नपाएका कारण पुनःनिर्माण प्रभावित भएको पाण्डेको भनाइ छ । लाभग्राही सूचीमा नपरे पनि वास्तविक पीडितहरु छुटेको अवस्थामा सरकारी निकायले विशेष निर्णय गरेर वास्तविक पीडितलाई लाभग्राही कायम गर्नुपर्ने देखिएको छ । वैशाख १२ को भूकम्पपछि तत्काल घर आवश्यक हुनेले घर निर्माण गरेर बनाएकाहरु, केही सीमान्तकृत टोलहरुमा बस्तीका अधिकांश परिवार यसरी लाभग्राही सूचीमा नपरेर सरकारले दिने अनुदानबाट बञ्चित भएकाले उनीहरुका लागि पुनःनिर्माण प्राधिकरणले विशेष निर्णय गरेर लाभग्रही कायम गर्नुपर्ने यससम्बन्धी वकालत गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल धादिङका जिल्ला अधिकृत सानुबाबु तिमिल्सिनाले बताए । रासस
फेरि १५ दिन थपिएला त लकडाउन ? यस्तो छ तयारी
काठमाडाैं । देशभर भइरहेको लकडाउन पुनःथप्ने तयारी भइरहेको बताइएको छ । सरकारले लकडाउन वैशाखभर गर्ने तयारी गरेको बताइएको हो । यसको लागि कोभिड(१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक शुरु भएको छ ।उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा शुरु भएको बैठकमा लकडाउन एक हप्ता या १५ दिन थप्नेबारे छलफल हुने बुझिएको छ । सम्भवतः वैशाखभर लकडाउन गर्ने गरी निर्णय गरेर मन्त्रिपरिषदमा प्रस्ताव लगिने तयारी भएको छ । स्रोतका अनुसार कतिपय अत्यावश्यक सेवा सञ्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाइने तयारी भएको छ । विभिन्न क्षेत्र छुट्याएर लकडाउनमा पनि अत्यावश्यक र जरुरी सेवाहरु संचालन गर्न दिने तयारी भएको छ । स्वास्थ्य सेवा, निर्माण सेवा, कृषि क्षेत्र, अत्यावश्यक सामाग्री उत्पादनका उद्दोगहरुलाई भौतिक दुरी कायम गरी संचालन गर्न दिने तयारी भएको हो । ढुवानीका सामान अहिले पनि ओसारपसार गर्न छुट छ । सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि शैक्षिक संस्थाहरु वैशाखभर नखुल्ने निश्चितप्रायः भएको छ । शैक्षिक संस्था, सार्वजनिक यातायात, होटल, सिनेमा हल, खेल स्थललगायत आउँदो एक महिनासम्म खुल्ने सम्भावना न्युन छ । एसईई र विभिन्न विश्वविद्यालयका परीक्षाहरु कम्तिमा एक महिना पछाडि धकेलिने देखिएको छ भारतमा कोरोनाको जोखिम बढ्दै गएकोले नेपालमा अहिले नै लकडाउन खुलाउन उचित नभएको बताइएको छ । यसैले पनि लकडाउन थप्ने निर्णय उच्चस्तरीय समितिले गर्दैछ । सरकराले चैत ११ गते लकडाउन घोषणा गरेको थियो । पहिले सरकारले चैत १८ त्यसपछि २५ र अहिले बैशाख ३ गतेसम्म लकडाउनको घोषणा थियो भने अहिले बैशाख १५ गतेसम्मको लागि लकडाउन कायमै छ ।
लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी
काठमाडौं । देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय उडान भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विसं २०७६ चैत १० देखि २०७७ वैशाख १२ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले ३३ अन्तर्राष्ट्रिय उडान गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् । प्रवक्ता क्षेत्रीका अनुसार लकडाउनको अवधिमा यही वैशाख ८ गतेसम्म चार हजार ५३२ विदेशी नागरिक स्वदेश फर्किएका छन् । शुक्रबार मात्रै श्रीलङ्काले आफ्नो श्रीलङ्कन एयरको चार्टर्ड जहाजमार्फत नेपालमा रहेका ७६ विद्यार्थी स्वदेश लगेको थियो । यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को (चार कार्गो र चार उद्धार उडानसहित) आठ, टीटान एयरको तीन, श्री एयरलाइन्सको (सुडान र सिङ्गापुर कार्गो उडान) दुई, बुद्ध एयरको एक र कोरियन एयरको दुई उडान भए । त्यसैगरी भूटानको ड्रक एयर, श्रीलङ्कन, मलेशिया, मालिन्दो, इत्तिहाद, चेक रिपब्लिकन, रोयल फ्लाइट एयर र जर्नी एयरलाइन्सको समान एक–एक उडान भएका छन् । यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायतका मलेशिया, श्रीलङ्का, माल्दिभ्स, रुस, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् । नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् । लकडाउनको अवधिमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी जहाजले उड्डयन इतिहासकै लामो उडान अष्ट्रेलियाको ब्रेश्वन शहरमा गत चैत १९ गते चार्टर्ड उडान भरेको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा उडान भरेको थियो । भारतको नयाँदिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमको न्यारोबडी जहाजले उडान भरेको थियो । चीनको ग्वाङ्जाओमा निगमका वाइडबडी जहाजले चार कार्गो उडान गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ पनि लकडाउनको अवधिम उल्लेख्य सङ्ख्यामा कार्गो र उद्धार उडान भएका छन् । आन्तरिकमा १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान गर्छन् । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा कोभिडको सङ्क्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । पछिल्लोपटक वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो । वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गरिएको छ । आन्तरिक उडान पनि स्थगन भएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत १० देखि लागू हुने गरी चैत ९ गते नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको थियो । समितिले पछिल्लोपटक वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको थियो । आन्तरिक उडान खुलाउने तयारी सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरिरहेको सन्दर्भमा लकडाउनको अवधि थपिने या नथपिने अर्थात् लकडाउनलाई कस्तो ढाँचामा लैजाने भन्नेबारे यकिन भएको छैन । तथापि राजधानी काठमाडौंको लकडाउनलाई केही खुकुलो बनाउने सरकारले सङ्केत गरिसकेको छ । लकडाउन खुकुलो भए पनि अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध कायमै रहने सम्बद्ध अधिकारी बताउँछन् । नियामक निकाय प्राधिकरणले पनि तत्कालै अन्तर्राष्ट्रिय उडान खुल्ने अवस्था नरहेको जनाएको छ । मुलुकको आन्तरिक उडान भने निश्चित मापदण्डका आधारमा सञ्चालन गरिने बताइएको छ । यद्यपि वैशाख १५ पछि आन्तरिक उडान खुलाउनेबारे सरोकारवाला निकायबीच छलफल भइरहेको छ । प्राधिकरणका प्रवक्ता क्षेत्रीले आन्तरिक उडान खुलाउनेबारे वायुसेवा सञ्चालक सङ्घलगायत सरोकारवालासँग छलफल चलिरहेको तर कसरी र कुन मितिदेखि उडान सञ्चालन गर्ने भन्नेबारे कुनै निष्कर्षमा पुगिनसकेको बताए । छिमेकी मुलुक भारतमा पनि लकडाउन चलिरहेको र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध गरिएको अवस्थामा नेपालले पनि तत्काल उडान सञ्चालन गर्ने अवस्था नरहेको अधिकारीको बुझाइ छ । भारतीय एयर इण्डियालगायत एयरलाइन्सहरुले मे ४ देखि आन्तरिक र जुन १ देखि अन्तर्राष्ट्रिय उडानका लागि टिकट बुकिङ खुलाउने निर्णय गरे पनि त्यहाँको ‘मिनिष्ट्री अफ सिभिल एभिएशन’ ले जुलाइ महिनासम्म बुकिङ नखुलाउन निर्देशन दिएको छ । रासस
चितवनमा युवकको काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ, बागलुङकी युवती डिस्चार्ज
काठमाडौं । चितवनको २७ वर्षिय युवकको कोरोना परीक्षणको रिपोर्ट पुन नेगेटिभ आएको छ । कोरोना संक्रमित युवकको भरतपुर अस्पतालमा उपचार भइरहेको थियाे । उनको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि शनिबार डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । त्यस्तै बागलुङकी कोरोना संक्रमित युवतीलाई भने शुक्रबार बेलुका नै अस्पतालले डिस्चार्ज गरेको हो । सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवती निको भई धवलागिरि अञ्चल अस्पतालले शुक्रबार राति अस्पतालबाट घर फर्किएकी हुन् । लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका जनाएको छ । हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ४९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेमा ११ औं नम्बरमा बागलुङकी १९ बर्षिय युवती परेकी छिन् भने चितवनका २७ वर्षिय युवक १४ औं निकाे भएर घर फर्किने काेराेना संक्रमित हुनेछन् ।
प्रदेश नं. १ मा कोरोना सङ्क्रमित २९ जना
विराटनगर । प्रदेश नं १ मा २९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ । तीमध्ये २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट जम्मा चार हजार १ सय ६० जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६ सय ७६ महिला र तीन हजार ८ सय ८४ पुरुष छन् । यता प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या एक हजार १ सय ६३ पुगेको छ । ४३ जना डिस्चार्ज भएको र आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० छन् । होम क्वारेन्टाइनमा ९ सय ३ महिला र चार हजार ४ सय ८४ पुरुष गरी कूल पाँच हजार ३ सय ८७ बसिरहेका छन् । नेपाल भरी नै काेराेना सङ्क्रमितकाे संख्या ४९ पुगेकाे छ । कोरोना कोषमा २८ करोडभन्दा बढी प्रदेश नं १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल २८ करोड ७८ लाख ८६ हजार रुपैयाँ जम्मा भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । कोषमा प्रदेश सरकारले पहिलो चरणमा १० करोड र दोस्रो चरणमा १५ करोड जम्मा गरेको कोषमा विभिन्न सङ्घसंस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए । कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड ६ लाख रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । रासस
कोरोना संक्रमणः यस्तो छ ताजा तथ्यांक
काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ८ः१५ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख ३० हजार ५१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ९७ हजार २ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७ लाख ९८ हजार ७ सय ७२ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५२ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ९ लाख २५ हजार ३८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ भने अहिलेसम्म ७८० जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४९ जना संक्रमित भएका छन् भने १० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)