विकासन्युज

लकडाउनबारे आइतबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

काठमाडाैं । देशमा भइरहेकाे लकडाउनकाे बारेमा आइतबारको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । शनिबार लकडाउनकाे बारेमा निर्णय गर्न ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसेपनि केही निर्णय नभएकाे बुझिएकाे हाे । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने बताइएकाे हाे । उच्चस्तरीय समितिले अहिलेको परिस्थितिको विश्लेषण गरेर लकडाउनको विषयमा सरकारलाई आवश्यक सुझाव दिनेछ ।  लकडाउनका कारण विगत १ महिनादेखि उद्योग, कलकारखाना, ब्यापार व्यावसाय, यातायातलगायत ठप्प छन् भने जनजीवन प्रभावित बनेको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटक पटक लकडाउनको समय थप्दै आएकोमा वैशाख १५ गते यसको अवधि समाप्त हुँदैछ ।

दैनिक उपभोग्य वस्तु अभावमा भुल्के गाउँको जनजीवन कष्टकर बन्दै

काठमाडौं । भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । उदयपुर जिल्लाकाे त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन दुई हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव हुन पुगेको बताइएको छ । गाउँमा खाने तेल, नुन, चामल, ग्यासदेखि लिएर साबुनलगायतका वस्तुसमेत अभाव भएको र अन्यत्र किन्न जान नपाइने भएपछि अहिले आफूहरुले ज्यादै कष्टकर जीवन बिताउनुपरेको स्थानीय यदुप्रसाद ढकाल जानकारी दिए । उनले भने, “ गरिब मजदुरले राहत पाएको सबै कुरा खाइसके । अब खानेकुरा छैन । अन्य स्थानीय गाउँलेको घरमा धान छ । गाउँमा मिल चल्दैन । घरमा तोरी छ । मिलमा लगेर पिसाउने अवस्था छैन । भएको नुन सकियो ।” स्थानीय कुमार भट्टराई अहिले आफूहरुले कष्टकर जीवन भोग्न परेकोकोे दुःखेको व्यक्त गरे । उनले भने, “बाहिर कतै चामल तेल, नुन साबुन किन्न जान पाइँदैन । गाउँको पसलमा केही पनि छैन । बस्तुहरुलाई खुवाउने घाँस पनि छैन । ” आफूहरु घरभित्र भोकभोकै सुत्नुपर्ने अवस्था आएको स्थानीय गीता थापाले बताए । “खेतबारीमा मकै गोड्ने बेला भयो । ती मकै नै पनि उखेलेर वस्तुलाई खुवाउन पाएका छैनौं। ” गाउँको धान कुट्ने मिल चल्न दिने वातावरण बनाएदिन स्थानीयवासी सीता थापाले माग गरे सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भने, “ दैनिक उपभोग्य वस्तुको व्यवस्था मिलाउन स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न तयार छौ ।” त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग भुल्केमा खाद्यान्न अभाव हुन नदिन राहतका योजना अगाडि बढेको जानकारी दिए । रासस

नेपाल कोरोनाको अतिउच्च जोखिमबाट उच्च जोखिममा

काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो । छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए । उनका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो । “नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन”, उनले भने, “त्यसैले नेपाल कोभिड –१९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।” नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड –१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ । नेपालमा कोभिड –१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड– १९ र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड– १९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ । दुवैले आआफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन् । यसैगरी सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ । ती अस्पतालमा कोभिड– १९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ । कैलालीमा विदेशबाट आएकाबाट एक जनामा सरेपछि (लोकल ट्रान्समिसन) नेपाल कोभिड –१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो । अहिले १५ स्थानमा पिसिआर र ७५ जिल्लामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरिएको छ । अहिले प्रत्येक २ सय ५० जनामा एक जनामा परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा पिसिआरबाट नौ हजार ४ सय ९ र आरडिटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४ सय ९७ जनामा परीक्षण गरिएको छ । तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा १० जना उपचारपछि घर फर्किसकेका छन् । यसैगरी कोभिड –१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् । अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेशनमा छन् । नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ । अहिले एपबाट २४ हजार ९२६ जनाले स्वपरीक्षण गराइसकेका छन् । विश्वमा अहिले २८ लाख ३० हजार ५१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ९७ हजार २ सय ४५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७ लाख ९८ हजार ७ सय ७२ जना निको भएर घर फर्किएका छन् ।  रासस

लकडाउनले ह्वात्तै घट्यो मोटर बीमामा दाबी

काठमाडौं । लकडाउनअघि बीमा कम्पनीहरुमा मोटर बीमा सम्बन्धि औसतमा दैनिक ५० वटा जति दाबी पथ्र्यो । लकडाउनको अवधिमा सो संख्या दैनिक १ देखि २ मा समित हुन पुगेको छ । लकडाउनले सडकमा सवारी साधन गुड्न नपाउँदा बीमा कम्पनीहरुमा आउँने मोटर दाबीको संख्यामा ह्वात्तै कमी आएको कम्पनीहरुले बताएका छन् । विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुले बताए अनुसार लकडाउनकै कारण पहिलेको तुलनामा अहिले मोटर बीमाको दाबी संख्या अत्यन्तै न्युन छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दिएको जानकारी अनुसार सडकमा अहिले गाढी ठप्प रहेकाले दुर्घटना कम भएको तथा बीमा दाबी पनि घटेको हो । ‘लकडाउन पहिले दैनिक ४० को संख्यामा सवारी दुर्घटना बीमा दाबी पर्ने गरेको थियो, अहिले मुस्किलले १ देखि २ वटा दाबी पर्ने गरेका छन्, सडकमा गाडीको संख्या घटेसँगै बीमा दाबी समेत एकाएक घट्न थालेको हो’, प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विकासन्युजसँग भने । यस्तै, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार मोटरको दाबी केही मात्रामा परेपनि संख्या भने घटेको छ । ‘अहिले अलि–अलि दाबी परेपनि पहिलेको तुलनामा घटेको छ, दाबी संख्या घट्बढ भइरहने भएपनि लकडाउनको कारण अर्थतन्त्र नै प्रभावित हुने अवस्था आएमा बीमा कम्पनीहरुले आवश्यक रणनीति अपनाएर अघि बढ्नु पर्छ,’ प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैद्यवारका अनुसार मोटर दाबी अत्यन्तै कम परेका छन् । तर, जति दाबी परेका छन्, तिनको भुक्तानी बीमा कम्पनीहरुले तुरुन्तै गराउँदै आएका छन् । ‘लकडाउन पहिले एकदिनमा पर्ने मोटर बीमा दाबी अहिले बल्लतल्ल महिनामा दिनमा पर्न थालेको छ, हामी कहाँ परेको दाबीको तत्काल भुक्तानी गर्ने गरेका छौं,’ प्रमुख कार्यकारी अधिकृत बैद्यवारले भने ।

अम्बे स्टीलसले गर्याे कोरोना रोकथाम कोषमा २५ लाख सहयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमा अम्बे स्टीलस्ले २५ लाख रुपैयाँ सहयोग गरेको छ । अम्बे स्टीलसका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले निम्ताएको आपतकालीन अवस्थामा सहयोग अम्बे स्टीलसले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम हस्तान्तर गरेको हो । अम्बे स्टीलसले स्थापना कालदेखि नै समाजिक कल्याणका लागि उल्लेखनीय योगदान पुर्याउँदै आइरहेको जानकारी दिँदै आगामी दिनहरुमा पनि भरपूर सहयोग गर्ने प्रतिवद्धता जायर गरेको छ ।

पाकिस्तानमा लकडाउनको अवधि लम्बियो

इस्लामावाद । पाकिस्तानमा लागु गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन् । पाकिस्तानी सरकारले आगामी मे ९ तारिखसम्मका लागि लकडाउन लागु भइरहने घोषणा शुक्रबार गरेको हो । केन्द्रिय योजना तथा विकास मन्त्री असद उमराले राष्ट्रिय नियन्त्रण केन्द्रले लकडाउनको समयावधि बढाउने निर्णय गरेको जानकारी दिए । देशव्यापी लकडाउन लागु भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ११ हजारभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुका अनुसार संक्रमित हुनेहरुको कुल संख्या ११ हजार ६ सय ५२ रहेको छ । त्यसैगरी देशभरी कोरोना भाइरसका कारण २ सय ४२ भन्दा बढीको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।कोरोना भाइरसबाट सवैभन्दा धेरै पञ्जाव प्रदेश प्रभावित भएको छ । त्यहाँ चार हजार ८ सय ५१ जना सङ्क्रमित भेटिएका छन् । महामारी विरुद्धको कतिपय मापदण्डहरुलाई पाकिस्तानमा कतिपय व्यक्तिहरुले बेवास्ता गरेको पाइएको छ । शनिबारदेखि मुिस्लम धर्माबलम्वीहरुको एक महिने रमजान पर्व समेत शुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ । रासस/एएनआई

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री भित्रिँदै

काठमाडौं । गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आए यता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् । तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन् । तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार हालसम्म एन–९५ पिसिआर मेसिन दुई थान, टेष्टिङ किट २० हजार थान तथा मास्क ७२ हजार पाँच सय थान भित्रिएको छ । त्यस्तै डिस्पोजेबल मास्क १२ हजार थान, स्यानिटाइजर २६ हजार ७३२ लिटर, पञ्जा तीन हजार नौ सय थान र पिपिई २१ हजार २६० थान नेपाल भित्रिएको छ । एक हजार थान प्रोटेक्टिभ चश्मा, २० हजार आठ सय थान डिस्पोजेबल शु–कभर, पाँच हजार आठ सय थान फेससेइल्ड र ४३० थान मेडिकल वेड म्याट्रिक्स पनि आएका छन् । तिब्बतले नेपाल सरकारलाई अनुदानमा दिएको आठ करोड ३१ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दश हजार थान एन–९५ मास्क, दश हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पिसिआर मेशिन, दश हजार थान टेष्टिङ किट र पचास थान वेट वाइपबाहेक अन्य स्वास्थ्य सामग्री निजी क्षेत्रले खरीद गरेका हुन् । चीनमा कोभिड –१९ को संक्रमण बढेपछि गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सामान ल्याउन खोल्ने निर्णय गरेको थियो । नाका खोल्ने निर्णय भएको दुई सातापछि अर्थात् चैत २६ गते निजी क्षेत्रले खरीद गरेको स्वास्थ्य सामग्री नेपाल भित्रिएको थियो । रासस

पैदलै थातथलो फर्किने क्रम बढ्दै

काठमाडाैं ।  कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि पैदलै भए पनि हिँडेर आफ्नो थातथलो फर्किने क्रम बढेको छ ।सोही क्रममा यहाँका विभिन्न स्थानीय तहले काठमाडौंँबाट बसमा सर्वसाधारण ओसार्न थालेपछि स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले लकडाउनको उल्लङ्घन हुनेगरी काठमाडौँबाट बसका बस यात्रु ओसार्न थालिएपछि रोक लगाइएको जानकारी दिए । “लकडाउन भनेको जो जहाँ छ, त्यही बस्ने हो, तर स्थानीय निकायले बसबाट बस मान्छे ओसारेपछि लकडाउनको के अर्थ रह्यो र रु”, उनले भने । यसअघि जिल्लाको लालबन्दी, हरिवन र वाग्मती नगरपालिकालगायत जिल्लास्थित विभिन्न स्थानीय निकायले काठमाडौँ बस पठाएर सर्वसाधारणलाई जिल्ला भित्र्याइरहेका थिए । हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंले स्थानीय प्रशासनबाट काठमाडौँमा बसेका सर्वसाधारण बसमा ओसार्न रोक लगाइएको आरोप लगाए । यसअघि विभिन्न सवारी साधनको प्रयोग गरी जिल्ला बाहिर रहेका आफ्ना नागरिकलाई स्थानीय निकायले जिल्ला भित्र्याएका थिए । रासस