विकासन्युज

पोखरा महानगरको राहत कोषमा चार करोड सात लाख

काठमाडौं । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । आजसम्म महानगरको कोषमा चार करोड सात लाख ३३ हजार ४९ रुपैयाँ जम्मा भएको छ । कोषमा निर्माण व्यवसायी समिति पोखराले एक लाख एक हजार पाँच र सगरमाथा माबिबाट ५० हजार रुपैयाँ, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ कास्कीले २४ हजार ५ सय रुपैयाँ, कलम बचत तथा ऋण सहकारी संस्थाले रु २५ हजार, नेपाली एकता मञ्च बेल्जियमका सदस्य चन्दकुमारी गुरुङले २० हजार रुपैयाँ उपलब्ध गराएको छ । महानगरपालिकाले दुई करोड रुपैयाँ र गण्डकी प्रदेश सरकारको एक करोड रुपैयाँबाट शुरु गरिएको राहत कोषमा विभिन्न सङ्घ संस्था र व्यक्तिबाट सहयोग प्राप्त भएको महानगर प्रमुखका प्रेस संयोजक माधव बरालले जानकारी दिए । भौगोलिक हिसाबले सबैभन्दा ठूलो सो महानगरपालिकाका ३३ वडाका ३० हजार ७ सय ४५ घरपरिवारलाई लगभग तीन करोड ५० लाख रुपैयाँ बराबर राहत वितरण गरिसकिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । रासस

राहुल चौधरीको पहलमा माल्दिभ्सका ९३ विद्यार्थीलाई स्वदेश पठाइयो

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण सरकारले अनिश्चितकालीन लकडाउन शुरु गरेपछि नेपालमा रोकिएका माल्दिभ्सका १८ विद्यार्थीलाई नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत राहुल चौधरीको पहलमा विमान चार्टर गरी स्वदेश पठाइएको छ । नेपालमा चिकित्सा अध्ययन गर्ने करिब सय माल्दिभियन विद्यार्थी छन् । तीमध्ये ७५ जनालाई लकडाउन शुरु हुनुअघि नै राहुलले परराष्ट्र, नागरिक उड्डयनलगायत मन्त्रालयसँग समन्वय गरी कतार एयरवेजको विमानबाट माल्दिभ्स पठाएका थिए । कतिपय विद्यार्थी काठमाडौंबाहिरका जिल्लामा अध्ययनरत रहेकाले समयमै आइनसकेका कारण लकडाउनको मारमा परेका थिए । एक महिनादेखि उनीहरूले स्वदेश फर्काइदिन आग्रह गरिरहेका थिए । राहुलले सम्बन्धित मन्त्रालय, नेपाल वायुसेवा निगमसँगै माल्दिभ्सको राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ती १८ विद्यार्थीलाई निगमको चार्टर्ड विमानबाट माल्दिभ्स पठाइदिएका हुन् । निगमको त्यो विमानले विद्यार्थीहरूलाई सबैभन्दा नजिकको मुकाम ढाका (बंगलादेश) पुऱ्याएको थियो । ढाकामा रहेका अन्य ५५ विद्यार्थीलाई पनि साथमा लिएर माल्दिभ्सको सैन्य विमानले उनीहरूलाई गन्तव्यमा पुऱ्याएको हो । राहुल ६ महिनादेखि नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत छन् । यसअघि यो जिम्मेवारी निर्वाण चौधरीले निभाइरहेका थिए । चौधरी फाउन्डेसनकालागि कोरोना परीक्षणका लागि चिनबाट ‘पीसीआर रिएजेन्ट’ ल्याउन पनि राहुलले संयोजन गरेका थिए ।

काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु

काठमाडौं । सरकारले काठमाडौंस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पिसिआर) शुरु गरिएको छ । उनका अनुसार बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको आज पनि भइरहेको छ । काठमाडौंमा दुई जना रहेको अनुमान गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । तिमध्ये तीन जना काठमाडौमा गएको देखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए । रासस

टेमासेक फाउन्डेशनले नेपाललाई १० हजार फर्टिट्यूड किट प्रदान गर्यो

काठमाडौं । सिंगापूर लगानीकर्ता कम्पनीअन्तर्गत परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १० हजार फर्टिट्यूड किट प्रदान गरेको छ । उक्त किट नेपाली सेनालाई प्रदान गरिएको थियो जुन फ्रन्टलाइन स्वास्थकर्मीद्वारा देशभरका कोभिड—१९ का बिरामीको परिक्षणका लागि उपयोग गरिनेछ । फर्टिट्यूड किट २.० विज्ञान, प्रविधि तथा अनुसन्धानका लागि सिंगापूरको एजेन्सीद्वारा एसएआरएस कोभिड—२ भाइरस पत्ता लगाउनका लागि डिजाइन गरिएको हो । यो एसएआरएस कोभिड—२ भाइरस पत्ता लगाउनका लागि ‘अलइनवान’ १ चरण आरटी—पीसीआर किट हो । यो किटमा आरटी—पीसी रियाक्शनका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु प्रइमर प्रोब मिक्स, इन्जाइममिक्स, पोजेटिभ कन्ट्रोल, नेगेटिभ कन्ट्रोल र इन्टरनल कन्ट्रोल टेमप्लेट सहित आउँछ । टेमासेक फाउन्डेशन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले भने, “यो कठिन समयमा, टेमासेक फाउन्डेशन नेपालकाहाम्रा साथीहरुसँग एकतावद्ध छ । हामी आशा गर्दछौं कि यी किटहरु नेपालमा साहस पूर्वक कोभिड—१९ का अवस्थालाई व्यवस्थापन गरिरहेका अस्पताल र चिकित्सकहरुलाई उपयोगी हुनेछ । निरन्तर सहकार्यलाई कायम गर्दै एकअर्कासँग र अन्तर्राष्ट्रिय समुदायहरुसँग कार्य जारी राख्नेछौं ।” टेमासेक फाउन्डेशनले नेपाल सरकारको सीसीएमसी, स्वास्थ्य मन्त्रालय, नागरिक समाजका सदस्यहरु डा.बिजेन्द्र बराल, रञ्जित आचार्य र निल पाण्डेलाई समन्वयन प्रयासका लागि आभार व्यक्त गरेका छन् । श्री एयरलाइन्स र निजि क्षेत्रका दुई उदार व्यक्तित्व पशुपति मुराकर र शेखर गोल्छा बिना यो सम्भव थिएन जसले सिंगापूरबाट सामानहरु ल्याउन प्लाइट चार्टर्ड गरेका थिए । टेमासेक फाउन्डेशनले सन् २०१४ माप्रकोप न्यूनिकरण प्रयासको रुपमा सरकारी विद्यालयहरुको पर्खाल संरचना सुदृढ पार्न मद्दत गरेको थियो । यो फाउन्डेशनले आवश्यकताको समयमा देशको सेवा गर्दै आइरहेको छ ।

मेगा बैंकका ग्राहकलाई फुडमाण्डुले विशेष छुटमा घरमै किराना सामान ल्याइदिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् । मेगा बैंकसँग भएको सम्झौता अनुसार, फुडमाण्डु डटकमले दैनिक अत्यावश्यक किराना सामाग्रीहरु घरमै उपलब्ध गराउने भएको छ । फुडमाण्डुको अनलाइन सेवाबाट सामान अर्डर गरी बिना झण्झट घरमै प्राप्त गर्न सकिनेछ । मेगा बैंकका ग्राहकहरुले मेगा स्मार्ट क्यूआर कोडबाट रकम भुक्तानी गरी १० प्रतिशतसम्म छुट पाउने सहमति भएको छ । देशव्यापी लकडाउनको विषम परिस्थितिलाई ध्यानमा राख्दै यसअघि मेगा बैंकले दैनिक उपभोग्य सामानका लागि किराना डटकम र औषधिका लागि केन फार्मेसीसँग सम्झौता गरिसकेको छ । विभिन्न सेवा प्रदायकहरुसँग सम्झौता गरी लकडाउनमा पनि आफ्ना ग्राहकहरुलाई अतिरिक्त सेवा र सुविधाहरु प्रदान गरेको मेगा बैंकले जनाएको छ ।

फागुन ३० गते हिमालयन एयरलाईन्सबाट नेपाल आएका थिए भोजपुरका कोरोना संक्रमित

काठमाडौं । भोजपुराको कोरोना (कोभिड–१९) संक्रमित २६ वषिर्य पुरुष फागुन ३० गते नेपाल आएका थिए । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भोजपुराको ४८ औं कोरोना संक्रमित पुरुष फागुन ३० गते नेपाल आएकाे बताएका हुन् । उनी हिमालयन एयरलाईन्सबाट फागुन ३० गते साउदीबाट नेपाल आएका देवकाेटाले बताए । उनी काठमाडौंबाट उदयपुरमा केही दिन बसेकाे र त्यसपछि भाेजपुर गएका थिए । उनीसँग उदयपुरमा सं‌म्पर्कमा आएकाे  सबैकाे नमुना संकलन भइसकेकाे उनले बताए । उनी हाल हतुवागढीमा चिकित्सककाे निगरानीमा रहेकाे र विराटनागर ल्याउने तयारी भईरहेकाे देवकाेटाले जानकारी दिए । भाेजपुरमा आरडिटी पाेजेटिभ देखिएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  पिसिआर विधीबाट जाँच गर्दा उनमा बिहीबार साँझ काेराेना पाेजेटिभ देखिएकाे हाे । नेपालमा कोरोना संक्रमितको संख्या ४८ रहेकाे छ जसमध्ये १० जना निकाे भएर घर गइसकेका छन् । हालसम्म नेपालमा ९ हजार ४ सय ७ जनाकाे पिसिआर विधीबाट र ३८ हजार ८७ जनाकाे आरडिटी विधीबाट परीक्षण भएकाे छ ।

कोरोना उपचार कोषमा जीवन बीमक संघले गर्याे करिब साढे चार करोड सहयोग

काठमाडौं । कोरोना रोकथाम तथा उपचार कोषमा जीवन बीमक संघले एक मुष्ट ४ करोड ४९ लाख ५१ हजार सहयोग गरेका छन् । जीवन बीमक संघसँग आवद्ध जीवन बीमा कम्पनी एकमुष्ट ८२ लाख ५० हजार र सोझै उक्त कोषमा ३ करोड ६७ लाख एक हजार गरी जम्मा ४ करोड ४९ लाख ५१ हजार योगदान गरेका हुन् । जीवक बीमक संघ नेपाल सम्पूर्ण बीमित, ग्राहक तथा अभिकर्तामा सेवा तथा सूचनाको लागि सम्बन्धित जीवन बीमा कम्पनीद्धारा जारी गरिएको सूचना बमोजिम आवश्यक सम्पर्क गरी सिमित सेवा तथा जानकारी लिन हुन आग्रह गरेको छ । जीवन वीमक संघ यस विषय परिस्थितिमा सम्पूर्ण बीमित, कर्मचारी, अभिकर्ता तथा सावुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने अनुरोध गरेका छन् ।

ज्योति विकास बैंकबाट बाहिरिए मनोज ज्ञवाली, कामु सीईओ पारस कँडेल

काठमाडौं । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पदबाट राजीनामा दिएका छन् । बैशाख १५ गतेदेखि लागू हुने ज्ञवालीले राजीनामा दिएकाे अध्यक्ष हरि चन्द्र खड्काले विकासन्युजलाई बताए । बैंकले कामु प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी पारसराज कँडेललाई ताेकेकाे छ । कँडेल ज्याेति विकास बैंकमा मर्ज भएकाे तत्कालिन हाम्राे विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । हाल उनी ज्याेति विकास बैंकमा नायब महाप्रबन्धक पदमा छन् । ज्ञवालीले ज्योति विकास बैंक उच्च व्यवस्थापनमा रहेर चार वर्ष काम गरेका थिए । ज्ञवाली प्रमुख कार्यकारी अधिकृतको रुपमा २ वर्ष र कामु प्रमुख कार्यकारी तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा २ वर्ष कार्यरत थिए । ज्ञवालीको कार्यकालमा बैंकमा वित्तीय सूचकहरु धेरै राम्रो देखिएको थियो । ३ अर्ब ४९ कराेड चुक्ता पुँजी भएकाे यस बैंककाे वासलात पुस मसान्तमा ४१ अर्ब ६२ कराेड रूपैयाँ छ । बैंककाे निक्षेप करिब ३० अर्ब छ, कर्जा लगानी करिव २७ अर्ब रूपैयाँ छ । पुस मसान्तसम्ममा बैंककाे नाफा १४ कराेड २८ लाख रूपैयाँ छ । तैपनि बैंक सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच केही असहज वातावरण रहेको जानकारहरु बताउँछन् । ज्योति विकास बैंकमा प्रमुख कार्यकारी पद अस्थीर नै भएको छ ।