विकासन्युज

सरकारी वकिल कार्यालयले पनि लिएन सर्वेन्द्र र महेशविरुद्धकाे उजुरी

काठमाडाैं । सरकारी वकिलको कार्यालयले पनि जनता समाजपार्टी नेपालकाे जाहेरी लिन अस्वीकार गरेकाे छ । कार्यालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको हाे । महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए । तर दुई घण्टा लामो छलफलमा पनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दर्ता गर्न मानेनन् । बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । डा. यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताएका छन् ।

लकडाउन : दुई करोडको च्याउ नोक्सानमा

काठमाडौं । कोभिड–१९को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा एक महिनाको अवधिमा झापामा करिब दुई करोडबराबरको च्याउ नोक्सान भएको छ । च्याउ उत्पादक किसान सङ्घका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमलले किसानले बजारसम्म आफ्ना उत्पादन पु¥याउन नसक्दा सो मूल्य बराबारको क्षति पुगेको जानकारी दिए । जिल्लाको माइपूर्व र माइपश्चिम क्षेत्रमा एक सयभन्दा बढी किसानले व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका छन् । माइपश्चिमका गौरादह–९ स्थित नमूना च्याउ उद्योगको करिब पाँच लाख, सीता च्याउ उद्योगको ६ लाख, कुलश च्याउ उद्योगको पाँच लाख, ढुङ्गाना च्याउ उद्योगको १० लाख र कल्याण तथा कृतिसा च्याउ उद्योगको पाँच लाख रुपैयाँ बराबरको च्याउ घाटा व्यहोर्नुपरेको सङ्घले जनाएको छ । यस्तै कमल गाउँपालिकाका विभिन्न च्याउ किसानका करिब ३० लाख, शिवसताक्षीका किसानको करिब ३० लाख र दमक नगरपालिकाका च्याउ किसानका करिब ४० लाख रुपैयाँको च्याउ नोक्सान भएको छ । यहाँका किसानले उत्पादन गरेका च्याउ बन्दाबन्दीले गर्दा जिल्ला बाहिरका ठूला बजारसम्म पुर्याउन सकेका छैनन् । हाटबजार, पसल तथा यातायातका सवारी साधन बन्द हुँदा दैनिक उत्पादन हुने ठूलो परिणामको च्याउमा ठलो घाटा व्यहोर्नु परेको संयोजक गौतम बताए । बन्दबन्दीबाट प्रभावित जिल्लाका च्याउ किसानले बन्दाबन्दी लम्बिँदै गएपछि उद्योग धरासायी बन्ने अवस्थामा पुगेको किसानको गुनासो छ । रासस

कुल बजेटको पाँच प्रतिशत राहत प्याकेज ल्याउन व्यवसायीको माग, ढुक्क हुन उद्योगमन्त्रीको आश्वासन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले अर्थतन्त्रको कूल आकारको पाँच प्रतिशतसम्मको राहत प्याकेज ल्याउन आग्रह गरेको छ । मंगबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई प्याकेजका मागहरु राख्दै व्यवसायीहरुले सो माग गरेका हुन् । व्यवसायीहरुले उद्योग व्यवसाय सुधारका लागि चरणबद्ध राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह पनि गरेका छन् । कोभिड-१९ बाट उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको प्रभाव न्यूनीकरण सम्बन्धमा सरकारलाई २९ बुँदे सुझाव दिँदै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले लकडाउनसँगै सबैभन्दा बढी असर परेका क्षेत्र तथा सबैस्तरका उद्योगलाई तत्कालै अल्पकालीन राहत प्याकेजमार्फत पूरानै अवस्थामा फर्काउन आग्रह गरे । श्रेष्ठले औद्योगिक तथा व्यावसायिक लागत घटाउन, सङ्घीय सरकारको कर नीति, विद्युत महशुल तथा प्रदेश र स्थानीय सरकारका विभिन्न शीर्षकका करलगायतमा पुनरावलोकन हुनु आवश्यक रहेको बताए । नेपाल राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा कर्जा स्वीकृत गरी ऋण लिइ लामो समयका लागि सोही बैंकबाट कर्जा दिने व्यवस्था तत्काल लागू गर्नुपर्नेमा जोड दिँदै चेम्बरले कोरोनाबाट प्रभावित क्षेत्रको अवस्थाका आधारमा लघु, साना, मझौला तथा ठूला उद्योगहरु लगायत अन्य व्यवसायहरुलाई समेत लामो समयको लागि कर्जा पाउनु पर्ने व्यवस्था गर्न सुझाव दिएका छन् । समस्याको समाधान हुन्छ, ढुक्क हुनुहोस्ः मन्त्री भट्ट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले व्यवासयीका समस्याहरुर्लाइ सरकारले गम्भीरताका साथ हेरेकोले ढुक्क हुन आश्वासन दिएका छन् । सो मागपत्र ग्रहण गर्दै उनले उद्योग व्यवसायमा आएको समस्यलाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति, वितरण प्रणालीमा सहजता ल्याई जोखिममुक्त तवरबाट उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकार प्रयत्नरतशील रहेको उनको भनाइ छ । यस्तै, उनले यस्तो अवस्थामा निजी क्षेत्रले आपूर्तिलाई सहज बनाइ सुव्यवस्थित गरेकामा धन्यवाद समेत दिएका छन् । व्यवसायीका समस्याहरु समाधान गर्न सरकार सकरात्मक भएको उनको भनाइ छ ।

लकडाउनकै बीच बंगलादेशमा गार्मेन्ट कारखानामा काम शुरु

ढाका । कोरोना भाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगका हजारौं मजदूर काममा फर्किएका छन् । बंगलादेशमा कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका कारण थप चिन्ता उत्पन्न भएको छ । राजधानी ढाका र चटगाउँका कारखानाहरु खोल्न सरकारले अनुमति दिएसँगै सोमबारदेखि कारखानामा काम हुन थालेको हो । बंगलादेशमा गत मार्चको अन्त्यदेखि गार्मेन्ट कारखानाहरु बन्द भएका थिए तर निर्यातको बाँकी अर्डर पूरा गर्न कारखाना खोल्नुपर्ने माग सर्वत्र गरिएको थियो । बंगलादेशमा कोराना भाइरसको संक्रमण बढेसँगै आगामी मे महिनाको ५ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । सोमबारसम्ममा ढाका र अन्यत्रका कम्तीमा एक हजार कारखाना खोल्ने योजना थियो । साथै तटीय बन्दरगाह शहर चटगाउँका कारखाना पनि खोलिने छन् । बंगलादेशको कूल निर्यातको करिब ८० प्रतिशत हिस्सा तयारी पोशाकले ओगटेको छ । तर कोरोना भाइरसका कारण तयारी पोशाकको माग घटेको वा रद्द गरिएका कारण बंगलादेशले यस आर्थिक वर्ष करिब ६ अर्ब डलरको नोक्सानी व्यहोर्नु पर्ने अवस्था सिर्जना भएको छ । गार्मेन्ट कारखानाका मजदूर मोफज्जल होसेनले कारखानामा तत्काल फर्कन आफू बाध्य भएको बताए । उनले मासिक करिब १ सय १५ अमेरिकी डलर कमाउँने जानकारी दिए । सोमबारसम्ममा बंगलादेशमा ५ हजार ९ सय जनामा कोरानाको संक्रमण देखिएको छ भने १ सय ५२ जनाको मृत्यु भइसकेको छ । श्रम अधिकारवादीहरुले मजदूरहरुका कारण कोविड–१९ को महामारी बंगलादेशमा अरु फैल्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । बंगलादेशका गार्मेन्ट कारखानामा ४० लाखभन्दा बढीले काम गर्दछन् । बंगलादेशबाट विश्वका चर्चित एचएन्डएम, इन्डिटेक्स र वाल्मार्ट जस्ता कम्पनीहरुका लागि गत वर्ष ३५ अर्ब डलरभन्दा बढीको तयारी पोशाक निर्यात भएको थियो । बंगलादेश तयारी पोशाक उत्पादक तथा निर्यात संघका उपाध्यक्ष मोहम्मद हातिमले कोरोनाभाइरसलाई जीवनको एक हिस्साका रुपमा स्वीकार्नुको विकल्प छैन भन्दै कारखाना तत्काल नखोलिए बंगलादेशमा आर्थिक संकट आउने बताए । गत महिना, सरकारले निर्यातमुखी क्षेत्रका मजदूरको तलब भुक्तानीका लागि ५८ करोड ८० लाख अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको थियो, तर गार्मेन्ट उद्योगीहरुले सरकारी प्याकेज अपर्याप्त रहेको गुनासो गरेका थिए । आइतबार, ढाकाका सडकमा लकडाउनकै बीच सामाजिक दूरीको समेत बेवास्ता गर्दै सयौं गार्मेन्ट मजदूरले प्रदर्शन गरेका थिए । उनीहरुले कामबाट बिमुख भएका दिनको समेत ज्याला पाउनु पर्ने माग राखेका थिए । उनीहरुले आफ्नो माग पूरा नगरिए लकडाउनको उल्लंघनलाई जारी राख्ने बताएका छन् । बंगलादेश सरकारले धार्मिक भेला र प्रदर्शनमा रोक लगाउन सेनालाई पनि सडकमा उतार्नु परेको थियो । रासस/एएनआई

भारतमा लकडाउन बढ्न सक्ने

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले भारतमा लकडाउन बढ्न सक्ने संकेत गरेका छन् । मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दा धेरैजसो मुख्यमन्त्रीले लकडाउन बढाउनुपर्ने मत राखेका हुन्। यसकारण पनि उनले लकडाउन बढ्न सक्ने संकेत गरेका छन् । दिल्लीमा आइतवार १९० नयाँ सङ्क्रमण पुष्टि भएको छ भने कुल सङ्क्रमितको सङ्ख्या २९,४६५ पुगेको छ। भारतभरि अहिलेसम्म ९३४ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ। बीबीसी नेपाली

भरतपुरको कोरोना अस्पतालमा अख्तियारले छापा मार्याे

काठमाडाैं ।भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि आयोगले अस्पतालमा छापा मारेको हाे । मंगलबार दिउँसो हेटौंडाबाट गएकाे अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

युराेपेली संघले नेपाललाई ९ अर्ब ८० करोड रूपैयाँ सहयाेग गर्ने

काठमाडाैं। युरोपेली संघले नेपाल सरकारलाई ९ अर्ब ८० करोड रूपैयाँ उपलब्ध गराउने भएको छ। कोभिड-१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन संघले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो। काठमाडाैंस्थित युरोपेली संघ प्रतिनिधिमण्डलका अनुसार कोभिड-१९ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी युरोको ‘टिम युरोप प्याकेज’ स्थापना गरिएको छ। संघले यही २२ वैशाखमा कोभिड-१९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले ‘अनलाइन’ प्रतिबद्धता सम्मेलन गर्ने जनाएको छ।

अब परम्परागत तरिकाले होइन, आवश्यकता अनुसार बजेट निर्माण गर्नुपर्छः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसियट उपाध्यक्ष चन्द्र ढकालले अब सरकारले आवश्यकता अनुसारले बजेट निर्माण गर्नु पर्ने बताएका छन् । उनले कोरोना भाइरसले सम्पूर्ण क्षेत्रहरुलाई संकटमा पारेको बताउँदै अब सरकारले पनि कुन क्षेत्रमा कत्ति लगानी गर्ने भन्ने अध्ययन गरेर बजेट वाँडफाँठ तथा तय गर्नु पर्ने बताए । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको कारण उद्योग व्यवसाय र पर्यटन क्षेत्रमा निकै असर परेको बताउँदै उनले सरकारले बजेत निर्माण गर्दा उत्पादनशीलता र रोजगारीमा ध्यान दिनु पर्ने उनको भनाइ छ । ‘पछिल्लो समय बैंकहरुको डिपोजिट घट्दै छ, देशलाई आर्थिक स्तरतर्फ सहयोग गर्ने रेमिट्यान्समा पनि धेरै नोक्सान हुने सम्भावना छ, सरकारले औचित्य र आवश्यकता हेरेर बजेट निर्माण गर्नु पर्छ,’उनले भने । अहिले विदेशबाट धेरै युवाहरु स्वदेश फर्किसकेकोले उनीहरुको सीपको पहिचान गरी उनीहरुको सीप अनुसारको रोजगारीमा उनीहरुलाई व्यवस्थापन गर्नु पर्ने उनको भनाइ छ । ‘विदेशबाट फर्केर आउने युवाहरुलाई व्यवस्थापन गरौं,उत्पादन क्षेत्र पहिचान गरी बजेट छुट्याऔं, अब परम्परागत तरिकाले बजेट निर्माण गर्यो भने संकट पार लगाउन सकिँदैन,’ उनले भने । कोरानाको कारण भएको लकडाउनले धेरै उद्योग प्रतिष्ठानहरु बन्द रहेको बताउँदै उनले अब ती उद्योग व्यवसायको रिकभर र विदेशबाट फर्केका युवालाई रोजगारी दिलाउनका लागि नयाँ बजेटले महत्वपूर्ण भूमिका खेल्ने भएकोले सबैको सहकार्य र समन्वयमा बजेट निर्माण गर्नु पर्ने उनको धारणा छ । उद्योगधन्दामा भएका कामदारहरुको रोजागरी कायमै गर्ने, नयाँ रोजगारीको सम्भावनालाई बढाउने र सरकारको राजश्वलाई सर्पोट गर्ने खालको उत्पादनशील क्षेत्रमा लगानी तथा प्राथमिकता दियो भने आर्थिक संकट पार लगाउन सकिने उनले बताए । अब आर्थिक गतिविधी रिभाइब गर्नको लागि र बन्द भएका उद्योग सञ्चालनका लागि सरकारले प्याकेज ल्याउन आवश्यक रहेको उनको भनाइ छ । ‘साना तथा मझौला उद्यमहरु बन्द नै भएको अवस्था छ, पर्यटन ठप्प छ, अब चाँडै सरकराले बजेट ल्याउने भएकाले यी क्षेत्रलाई बढी प्राथमिकता दिनु पर्छ,’ उनले भने ।