विकासन्युज

नयाँ दिल्लीमा २ सय जना स्वास्थ्यकर्मीमा कोभिड-१९ संक्रमण

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोभिड-१९ का कम्तीमा पनि २ सय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिनुभएको हो । उनले नयाँ दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मी कोभिड-१९ को संक्रमण भएका बताएका हुन् । उनले दिल्लीमा मात्र कोभिडका बिरामीको संख्या ३ हजार नाघेको बताए । उनले यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिए । उनले मङ्गलबार भने– यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोभिड-१९ को विरामी परेका छन् । उनले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए । तर उनले दिएको जानकारी अनुसार कोभिड-१९ को उपचाराक लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताए । उनले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए । उनले दिल्लीमा मात्र ३ हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन् । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् । उनका अनुसार हिजोमात्र १९० जना संक्रमित दिल्लीमा थपिएका छन् । यहाँ ५४ जनाको ज्यान गएको छ । उनका अनुसार नयाँ दिल्लीमा गएको १३ दिनमा कोविड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ । स्वास्थ्यमन्त्री जैनले भने– नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीब्र गतिमा फैलिन नपाएको हो र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुनेथियो ।

कृषि बैंक कृषिमै लिड गर्न चाहन्छ, त्यसैले बेसरेटभन्दा तल झरेर व्याजदर ताेक्याैंः सीईओ उपाध्याय

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् अनिलकुमार उपाध्याय । ३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाई वर्षमै बैंकको सीईओ बनेका उपाध्याय एक सफल बैंकर्स भनेर पनि परिचित छन् । वि.स २०४४ सालमा अधिकृतस्तरबाट बैकिङ करियर शुरु गरेका उपाध्याय अवकासपछि खुला प्रतिस्पर्धाबाट त्यहि बैकको सीईओ बने । बैंकमा उपमहाप्रवन्धक, डेपुटी सीईओ तथा निमित्त प्रमुख कार्यकारी अधिकृत समेतको कार्यभार सम्हालिसकेका उनी कार्यकालको व्यवसायीक योजना र रणनीति सहित २०७५ पुस १० गते सीईओ बनेका हुन् । उनै उपाध्यायसँग लकडाउनको समयमा कृषि विकास बैंकले दिँदै आएको सेवा, लकडाउनले बैंकिङ क्षेत्रमा पारेको असर र समग्र देशको अर्थतन्त्रको बारेमा विकासन्युजका सन्तोष रोकायाले उनीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंशः लकडाउनको समय छ । बैंकिङ सेवा कसरी  प्रवाह गर्दै हुनुहुन्छ ? लकडाउन भएको दिनदेखि नै हामीले निरन्तर सेवा दिँदै आएका छौं । बैंकिङ अत्यावश्यक सेवा भित्र परेकोले पनि देशका विभिन्न शाखाहरुमार्फत हाम्रा ग्राहकहरुलाई सजिलै सेवा प्रवाह गरिरहेका छौं । कर्मचारीहरुको लागि विभिन्न स्वास्थ्य सुरक्षाका सामग्रीहरुको व्यवस्था मिलाएर काम अगाडि बढाइरहेका छौं । स्वास्थ्य सामग्रीहरु हाम्रा प्रदेश कार्यालयहरुलाई उपलब्ध गराई आवश्यकता अनुसार त्यहाँका विभिन्न बैंकका शाखाहरुमा काम गर्नको लागि पासको पनि व्यवस्था गरिदिएका छौं । पालै पालो गरेर पनि शाखाहरुमार्फत नागरिकलाई सेवा दिइरहेका छौं । जसबाट सबै ठाउँका ग्राहकहरुले सेवाहरु पाउन भन्ने हाम्रो चाहना हो । डेढ सयको हाराहारीमा हामी शाखाहरु खोलिरहेका हुन्छौं । अर्को, महत्वपूर्ण कुरा भनेको हामी डिजिटल बैंकिङलाई बढी फोकस गरिरहेका छौं । डिजिटल बैंकिङको सेवा पुगेका ठाउँका ग्राहकलाई त्यसमा नै बढी प्राथमिकता दिइरहेका छौं । खासगरी एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङबाट बढी ट्रन्जेक्सन भएको छ । यो समयावधिमा बैंकिङ कोरोबार कस्तो भइरहेको छ ? ठीकै छ । त्यति धेरै गटबढ छैन । बैशाख १३ सम्मको तथ्याकं भन्ने हो भने ९९ हजार जतिले मोबाइल बैंकिङ ट्रान्जेक्सन गरेका छन् । एटीएम विथड्रल ३० हजारले गरेका छन् भने इन्टरनेट बैंकिङबाट पनि २ हजार जतिले ट्रान्जेक्सन गरेका छन् । यस्तै काउन्टर डिपोजिट पनि सन्तुलन नै छ । आरटीजीएस र आइपीएस पनि करिब ८ हजारले गरेका छन् भने समग्र बैंकिङ कारोबारमा त्यति धेरै घटबढ छैन । डिजिटल बैंकिङलाई बढी प्राथमिकता दिएका छौं भन्नुभयो, लकडाउनको समयावधिमा डिजिटल बैंकिङ प्रयोगकर्ताको आकर्षण कस्तो छ ? यो एक महिनाको समावधिमा ९९ हजार टन्जेक्सन गरिसकेका छौं । मोबाइल एप्लिकेसन हामी सँग मोबाइल बैंकिङका ३ लाख ७३ हजार ग्राहक छन् । उनीहरुले एप्लिेकेसन डाउनलोड गरेर काम पनि बैंकिङ कारोबारको काम गरिरहनु भएको छ । मोबाइल बैंकिङबाट नै अहिले धेरैले कारोबार गरिरहेका छन् र हामीले पनि यसलाई जोड दिएका छौं । हामीले यो अवधिमा डिजिट बैंकिङका सम्पूर्ण जस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंंकिङ र एटीएम गरी साढे दुई लाख संख्या जति ट्रजेक्सन भएको छ । यो अवधिमा सरकारी कारोबार पनि गरेका छौं । ग्राहकहरुले आफ्नो व्यक्तिगत प्रयोगका लागि पनि प्रयोग गरिरहेका छन् । हाम्रो गुनासो कम छ । एटिएममा कुनै पनि समस्या छैन । सरल र सहज ढंगले काम भइरहेको छ । डिजिटल बैंकिङमा विश्वसनियता चाहिँ कत्तिको छ ? राष्ट्र बैंकले अहिले मोबाइल बैंकिङको पेमेन्ट साइज पनि बढाएको छ । यो अझै पनि सानो साइज हो । यो समयमा धेरै ग्राहकहरु धेरै रकम पेमेन्ट इन्टरनेट अर्थात मोबाइल बैंकिङबाट नै गर्न चाहन्छन् । सुरक्षितको हिसाबले हामी मोनिटरिङ गरिरहेका हुन्छौं । एटीएममा पैसा छकि छैन भनेर पनि घरबाटै हेरिरहेका हुन्छौं । यो सुरक्षाको प्रणालीलाई सकेसम्म हामीले भरपर्दो खालको गरेका छौं । हामी सचेत भएर काम गरिरहेका छौं । कोरोना भाइरसले भएको लकडाउनका कारण धेरै क्षेत्रहरु संकटमा छन् । बैंक तथा वित्तीय क्षेत्रमा यो समस्या कत्तिको छ ? हामीले शखाहरुलाई अत्यावश्यक सेवाको रुपमा लिएका छौं । अहिले बैंकिङमा जम्मा र भुक्तानी प्रणलीका रुपमा लिएका छौं । सरकारी कारोबार पनि छ । यी सबै कारोबार भइरहेकोले पनि बैंक अत्यावश्यक सेवा हो । यो पाटोलाई हेरेर हामीले साथीहरुलाई जिम्मेवारी दिएका छौं । क्वीक रिस्पोन्स टिम पनि निर्माण गरी काम गरिरहेका छौं । कतिपय कार्यालयमै काम गरिरहेका छन् भने कतिपय घरबाटै काम गरिरहेका छन् । प्रत्येक कर्मचारीको एक लाखको बीमा पनि गरिदिएका छौं । कर्मचारीको सुरक्षामा हामी जिम्मेवार भएर लागि रहेका छौं । यो समय संकट व्यवस्थापन गर्ने हो । हामी पनि त्यसतर्फ नै लागिरहेका छौं । हाम्रा ग्राहकका समस्यालाई समाधान गर्ने किसिमले काम गरिहेका छौं । उनीहरुका गुनासो पनि सुनिरहेका छौं । यो समय कमाउने होइन । आफ्ना कर्मचारीहरुलाई पनि समस्या नपर्ने तरिकाले संकटको व्यवस्थापन हामी गरिरहेका छौं । विभिन्न क्षेत्रमा कर्मचारी कटौती गर्ने, बेतलबी घरमै बसाल्ने कुरा पनि आइरहेका छन् । यो समस्या जाेखिम  बैंकिङ क्षेत्रमा परेकाे छकि छैन ? हामीले स्थायी मात्र होइन अस्थायी करार र ज्यालादारी कर्मचारीलाई पनि तलब खुवाई सकेका छौं । हामीले संस्थागत काम गरिसकेका छौं । हाम्रा कर्मचारीहरु घरमै बसे पनि सरकारले कर्मचारीको तलब नकाट्नु भनेको छ । कर्मचारीलाई पनि त्यस्तो समस्या छैन । कर्मचारीहरुकोे एक लाखको बीमा पनि गरिसकेका छौं । यस्तो समस्या हाम्रोमा छैन । हामी कर्मचारीलाई त्यस्तो समस्यामा पार्दैनौं । कृषि विकास बैंकको चैत मसान्तकाे क्वाटर रिर्पाट कस्तो आयाे ? यो कुरा प्रकाशन भइसकेपछि थाहा पाई हाल्नुहुन्छ । निश्चित पनि अहिले पहिलेको जस्तो नर्मल ग्रोथ हुँदैन । अहिले नाफा कमाउने आम्दानी बढाउने भन्दा पनि अहिले मेन्टेन, सस्टेन हुने मात्र हो । गत सालकै हाराहारीमा नाफा आएको छ । अलिकति खराव कर्जाको मात्रा स्वभाविक रुपमा बढ्छ । माघमा तिर्न नसकेको मानिसहरु यो सहुलियतमा त परेरनन् । पुसमा परे । त्यसकारण केही किसिमले चुनौतीपूर्ण नै त छ । साह्रै नोक्सान भएको अवस्था चाहिँ छैन । नाफा नोक्सान र निक्षेप तथा कर्जामा घटबढ के कस्तो छ ? अहिले काउन्टर डिपोजिट नै १३ अर्बभन्दा बढीको गइसकेको छ । काउण्टर वीथड्र १४ अर्बभन्दा बढी भइसकेको छ । यसले के देखाउँछ भने हाम्रो डिपोजिट हिजोको भन्दा तलमाथि भएको छैन । व्यापार पनि घटेको छैन । डिपोजिटमा पनि कुनै परिवर्तन आएको छैन । लिक्वीडिटी पनि राम्रै छ । लिक्वीडीटीको समस्या पनि हाम्रोमा छैन । तर, यो सबै आर्थिक सामाजिक वातावरण लगायतका कुराहरु भएकोले विश्वभर नै यो संकट आएको हो । त्यसकारण यसमा एक जना अर्थात एक संस्था र एक सरकारले गरेर केही पनि हुँदैन । यसलाई विश्व नै मिलेर यो समस्याको समाधान गर्ने हो । देशले पनि अब कुन क्षेत्रलाई बढी प्राथमिकता दिएर रोजगारी बढाउने, दशको अर्थतन्त्रलाई कसरी मजबुद बनाउने योजनाहरु ल्याउनु पर्छ । त्यस्ता योजनाहरु आइपनि रहेका छन् । लकडाउनको कारण बैंकको खराब कर्जा बढ्ने समस्या कत्तिकाे देख्नु भएकाे छ ? राष्ट्र बैंकले हामीलाई केही विशेषाधिकार दिइसकेको अवस्था छ । म्याद थपदिने पनि भनिसकेको छ । यसले पनि खराब कर्जा बढ्ने सम्भव नै हुँदैन । अहिले असारसम्म त्यति धेरै ठूलो परिवर्तन नआउला । कृषि विकास बैंकमात्र होइन कुनै बैंकमा पनि यो समस्या नआउला । किनकि यो राष्ट्र बैंकले दिएको सहुलियत हो । यसमा तीन वटा कुरा हुन्छ । एउटा, ग्राहकले के पायो ? अर्को बैंकहरुले कसरी सहुलियतपूर्ण ढंगले काम गर्यो ? र अर्को राज्यले कसरी कल्याणकारी काममा सहयोग गर्यो भन्ने हुन्छ । अब राष्ट्र बैंकले ल्याएको प्याकेजहरुले पनि कुनै ग्राहकलाई जरिवाना नलाग्ने भयो । यसले पनि खराब कर्जा बढ्ने समस्या समाधान हुन्छ । कुनै पनि ग्राहक अब कालोसूचिमा नजाने भए । अहिले बैंकहरुले व्याजदर घटाउने पनि अवसर पाए । मुद्दतीमा १.५ प्रतिशत संस्थागतमा व्याजदर घटेको छ । एक प्रतिशत जर्नलमा घटेको छ । हामीसँग १४ लाख निक्षेपकर्ता छन् । उनीहरुको समस्यालाई ध्यानमा राखेर हामीले बैशाख १ गते देखि नै कर्जा र निक्षेप दुबैमा व्याजदर घटाएका छौं । हामीले बैशाख १ गतेदेखि नै ११ प्रतिशत व्याजदर थियो ९ प्रतिशतमा ल्याइसकेका छौं । गत वर्ष हाम्रोमा १२ प्रतिशत थियो । बीचमा ११ प्रतिशतमा झार्यौं र अहिले ९ प्रतिशतमा व्याजदर कायम गरेका छौं । हाम्रो आधारदरभन्दा हामी तल छौं । त्यसकारण कृषि विकास बैंक यसमै लिड गर्छ । यो प्राथमिकताको क्षेत्र हो । यसमा पनि किस्ता समयमै तिर्यो भनेपनि ०.५ प्रतिशत छुट छ । यताबाट सरकारबाट कृषिको ५ प्रतिशत सहुलियत पनि पायो । उताबाट हामीले पनि ०.५ प्रतिशत पनि थप्यौं भनेपछि अहिले कृषकहरुले २.५/३ प्रतिशतमै व्याज पाउँछन् । यो हामीले सम्बोधन गरेका छौं । हामीले बैशाखदेखि नै यो काम शुरु गर्यौं । हाम्रा प्राथमिकता भनेका साना ऋणी हुन् । हाम्रो सानो कर्जाको ८६ प्रतिशत कर्जा सानो छ । त्यसैले कृषि विकास बैंकले यो एउटा अवसर पाएको हो यतिबेला सामाजिक दायित्व पनि सम्झेर काम गरिहेका छौं । अरुले गर्ने नगर्ने उहाँहरुको काम हो । तर, हामीले बैशाख १ गतेदेखि नै लागु हुने गरी व्याजदर घटाएका हौं । हामीले राहत पनि दिएका छौं । यो हामीले एउटा सन्देश दियौं । हामीले कृषकलाई माया गरेका छौं । यो घटाएको तीन प्रतिशत व्याजदर कृषकलाई मात्र हो कि अन्य ग्राहकलाई पनि हो ? कृषिको अनुदान कार्यक्रममा २ प्रतिशत जोडिन्छ । कृषि उद्देश्यमा २ प्रतिशत घटेको छ । अहिले ९ प्रतिशतमा झारेका हौं । त्यसो भए उद्योगी व्यापारीलाई घटाएको छैन ? उद्योगी व्यापारीलाई पनि घटाएका छौं । कतिलाई १ प्रतिशत कतिपयर्लाइ ०.५ प्रतिशत, घटाएका छौं । कसैको १.५ प्रतिशत घटाएका छौं । कर्जामा ३ प्रतिशत व्याज घटाएसँगै ऋणीहरुको प्रतिक्रिया कस्तो आइरहेको छ ? गाउँघरका किसानहरु एकदमै खुसी हुनु भएको छ । कृषि विकास बैंकले माया गर्यो । समयमै हाम्रो समस्याको सम्बोधन गर्यो भनेर भनिरहेका छन् । यसमा ५ प्रतिशत सरकारबाट अनुदान पाएको छ । त्यसमा पनि समयमै किस्ता तिर्ने र व्याज पनि समयमै तिर्नेहरुलाई पनि हामीले ०.५ प्रतिशत छुट गरेका छौं । ९ प्रतिशतमा ५ं.५ प्रतिशत घटेपछि ३.५ प्रतिशत भयो । अझ त्यसमा पनि महिला हुनुहुन्छ भने १ प्रतिशत घट्छ । यसले गर्दा उनीहरुलाई धेरै सहज भएको छ । उनीहरु खुसी छन् । तपाईहरुले ३ प्रतिशत व्याज त घटाउनु भयो । यसको विजनेस रिजल्ट कस्तो आउला ? हैन, यो हामीले माया गरेको हौं । अहिले कमाउने भन्दा पनि सस्टेन र मेन्टेन गर्ने हो । थोरै कमाउने तर बढी माया गर्ने हो । समाज र नागरिकप्रतिको दायित्व हामीमा हुन्छ । हामी गाउँ–गाउँसँग जोडिएका छौं । साढे दुई लाख सेयर होल्डरहरु हुनुहुन्छ । सबै कृषहरुसँग हामी जोडिएका छौं । हामी प्रति सबैको आशा छ । हामीले व्यापार फाइदा घाटा भन्दा पनि गाउँघरका नागरिकलाई सेवा दिने हो । गाउँघरमा सबैको पहिलो च्वाइस कृषि विकास बैंक हुन्छ । त्यो महसुस गर्दै हामीले उनीहरुको राहतस्वरुप यो काम गरेका हौं । बैंक तथा वित्तीय परिसंघले पनि केही व्याजदर छुट तथा सहुलियत गर्ने निर्णय गरेको छ । यसमा धेरै बैंकहरुका आ–आफ्नै मतभेदहरु पनि छन् । यसमा तपाईको धारणा के हो ? कृषि विकास बैंक त्यसमा सहमत हो ? हामीले परिसंघको कुरा पनि सुन्नु पर्छ । सञ्चालक समितिको निर्णयलाई लागु गर्ने हो । हामीले दुवै तिरको आधिकारिता हेरेर काम गरिहेका छौं । कृषि विकास बैंकले त त्यसको सम्बोधन गरिसकेको छ । उनीहरुको निर्णय भन्दा नै पहिले हामीले निर्णय गरेर लागु गरिसकेका छौं । माग गर्ने अधिकार त सबैलाई छ । तर, आधिकारिकता होकि होइन भन्ने कुरा मात्र हो । अहिले सबै क्षेत्र आर्थिक संकटमा छन् । तपाई एक बैंकर्स भएको हिसाबले कोरोनाको कारण नेपालको अर्थतन्त्रमा कत्तिको नोक्सान होला । तपाईले के कस्तो अनुमान गर्नु भएको छ ? कोरोना भाइरसले एक दुई महिना मात्र होइन एक दुई वर्ष नै यसले असर पार्छ । यो समयमा ठूलो नाफा कमाउने व्यापार बढाउने भन्दा पनि सस्टेन गर्ने हो । आफ्नो व्यापार, कोरोबार र जनशक्तिलाई सस्टेन गर्ने खालको वातावरण आफैले सिर्जना गर्ने हो । यो समयमा जो टिक्छ भोलि उसले अवश्य कमाउँछ । नेपालमा अहिलेसम्म त्यति असर पारेको अवस्था छैन । हाम्रो जग्गाहरु अम्लिए भएका छैनन् । अहिले विदेशमा गउका युवाहरु पनि स्वदेश फर्किएका छन् । उनीहरुको सीपलाई देशमै परिचालन तथा व्यवस्थापन गर्नु पर्छ । यी विभिन्न अवसरहरुलाई सदुपयोग गरेर विभिन्न योजना रणनीति ल्यायो भने अर्थतन्त्रलाई टेवा पुगाउन सकिन्छ । अहिले स्थानिय तह, प्रदेश सरकार र संघ मिलेर देशलाई यही समयमा परिवर्तन गर्ने अवसर आएको छ । यो देशलाई परिवर्तन गर्ने उचित समय हो । युवाहरुले रोजगारी पाउँछन् । साना तथा मझौला उद्यमीहरुलाई केही सहुलियत दिएर बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने हो । यसले खाद्यान्न पनि धेरै सहयोग गर्छ । अहिले कोरोना प्रभावित देशको उत्पादन कतिपय मानिसहरुले खान्छन् कि खाँदैनन् यो पनि समस्याको विषय बनको छ । त्यस कारण आफ्नै देशमा भएको युवाहरुको सीपलाई परिचालन गरी देशमा भएको वस्तुको सही उत्पादन र बजारीकरण गर्यो भने देशको अर्थतन्त्रलाई पनि सहयोग हुन्छ र धेरैले रोजगारी पनि पाउँछन् । अब सबैले पर्यटनतर्फ पनि ध्यान दिनु पर्छ । विद्युतको खपत बढाउनु पर्छ । यो हामीहरुका लागि अवसर छ । यसलाई सही सदुपयोग गर्यो भने हामी संकटलाई सहजै पार गर्न सक्छौं र देशको अर्थतन्त्रमा त्यति धेरै गिरावट आउन सक्दैन । विदेशीएका धेरै युवाहरु अहिले स्वदेश फर्किसकेका छन् । उनीहरुलाई उद्यमतर्फ अग्रसर गराउनका लागि कृषि विकास बैंकको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसतर्फ तपाई ध्यान कत्तिको गएको छ ? पक्कै पनि अहिले धेरै युवाहरु स्वदेश फर्किसकेका छन् । उनीहरुमा भएको सीपको पहिचान गरी सीप अनुसारको काममा लगाउनु हामी सबैको दायित्व उत्तिकै हुन्छ । सर्वप्रथम त एउटा गरिब वा विपन्न वर्गलाई खाद्यान्न समस्याबाट टाढा लैजानु पर्यो । उनीहरुलाई खाद्यान्न संकट हुनु भएन । उनीहरुले आफ्नै क्षेत्रबाट पनि सानो तिनो उद्यम गरेर स्वरोजगार बन्न सक्छन् । उसले आफ्नो खाद्यान्नको संकट पनि टार्छ । जस्तै, उसले बाख्रा पाल्यो भने पनि उ आत्मनिर्भर बन्न सक्छ । एउटा किसानका लागि बाख्रा एटिएम मेसिन बन्न सक्छ । उसलाई जुन दिन चाहियो त्यही दिन बाख्रा बेच्न सक्छ । कामको गुणस्तरीय, प्राविधिक र पैसा यी तीन कुराको संयोजन मिलाउन सक्नु पर्छ । साना तथा मझौला व्यवासयी कर्जाहरु दिएर पनि उत्पादन देखि बजारीकरण गर्ने सम्मका कुराहरुमा विकास गर्नु पर्छ । उत्पादन र बजारीकरण गर्न सक्नुपर्छ । क्वालिटीमा कम्प्रमाइज गर्नु हुँदैन । अर्गानिकमा फोकस गर्नु पर्छ । गाउँघद्दरमा पनि साना–साना कोल्ड स्टोरको पनि व्यवस्था गर्नु पर्छ । उत्पादन भण्डारण र बजारीकरणमा व्यवस्था गरेर युवाहरुलाई स्वरोजगार बनाउन सक्यो भने अवश्य नै परिवर्तन हुन्छ । प्रविधिगत रुपमा अगाडि बढ्नुपर्छ । ठूलो स्केलमा निर्यात पनि गर्न सकिन्छ । क्षेत्रगत रुपमा विकास गर्दै लैजाने हो भने त्यहाँका मानिसहरु रोजगारी पाउँछन् । खाद्यान्नको समस्या भोग्नु पर्दैन । स्थानीय स्तरको उत्पादित वस्तु त्यहीँ बजारीकरण गर्नु पर्छ । बैंकिङ क्षेत्रलाई डिजिटलाइजेसन गरेर फाष्ट ट्रयाकमा काम गर्ने मोडालिटी बनाउने उचित समय पनि यहि हो । बीमा क्षेत्रलाई प्रभावकारी बनाउने समय आएको छ । यी विधि कुराहरुर्लाइ मनन् गर्यो भने अवश्य नै परिवर्तन हुन्छ । यो आर्थिक संकटको समयमा देशमा त्यति धेरै समस्या पर्न नदिनको लागि बैंक तथा वित्तीय क्षेत्रको भूमिका के हुन सक्छ ? बैंक तथा वित्तीय संस्था भनेका मध्यस्थकर्ता हुन् । बैंकहरुले नागरिक वा सरकारबाट पैसा लिएर स्रोतको जेनेरेट गरेर डेलिभर गर्ने हो । बैंक आफैमा कल्याणकारी होइन । बैंकहरुले जनताको पैसा लिएर जनतालाई नै दिने हो । सरकारको जोडिएको कार्यक्रमलाई प्रभावकारी बनाउन कम मार्जिनमा काम गर्ने हो । यो समयमा थोरै मार्जिनमा काम गरेर सेवा दिने हो । यसमा बैंकहरुले मद्दत गर्ने हो । बैंकको सामाजिक संस्थागत उत्तरदायित्वमा पैसा छ भने सहयोग गर्ने हो । यो समय कमाउने भन्दा पनि टिक्ने हो । अहिले बैंकको दायित्व जनता संस्था र देशप्रति रहेर काम गर्ने हो । बैंक भनेका राज्यप्रतिको दायित्वमा रहेर काम गर्ने एक इकाइ हुन् । त्यसैले यो समयमा नाफा लिनेभन्दा पनि कम मार्जिनमा हामी काम गरिहेका छौं ।

वैशाख २६ गतेदेखि बजार खोल्न तयार होऔं- चन्द्रसिंह साउद

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिंह साउदले आगामी वैशाख २६ गतेदेखि सेयर बजार खोल्नलाई तयार हुन सबैसँग आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको भिडियो कन्फेरेन्समा बोल्दै उनले सो कुरा बताएका हुन् । लकडाउनको अवधि लम्बिँदै गएको र यो कहिलेसम्म हो भन्ने एकिन नभएकाले २६ गतेदेखि चाहिँ सामान्य रुपमा भएपनि बजार खुलाउनु पर्छ भन्ने उद्देश्यले उनले ब्रोकर, इन्भेष्टर्स लगायत मार्केटसँग सम्बन्धित सबै निकायलाई सो आग्रह गरेका हुन् । ‘यसअघि लकडाउनको अवधि यतिका दिनसम्म लम्बिन्छ भन्ने थिएन र लगानीकर्ता लगायत सम्पूर्ण कर्मचारीकाे स्वास्थ्यकाे हितलाइ मध्येनजर गर्दै बजार बन्द गरिएको थियो । तर लकडाउनकाे म्यादकाे ठेगान नहुने भएकाले बजारलाई खुलाउनु पर्छ, कसरी खुलाउने भन्नेतर्फ अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, ब्रोकर लगायत लगानीकर्तासँग छलफल भइरहेको’ उनले बताए । ‘अहिलेसम्म जे भयो, अन्तरराष्ट्रिय स्तरको महामारी परेकाले वैशाख २५ गतेसम्म त बजार पूर्ण रुपमा बन्द भयो । त्यसपछि भने खुलाउनको लागि सबैलाई आ-आफ्नो ढङ्गले तयारी गर्दै जान आग्रह गर्दछु ।’ यसको लागि नेप्से तयारीमा छ र सबै सरोकार पक्ष बजार खुलाउनु पर्छ भन्नेमा हुनु पर्छ । यसबीचमा मेरो सेयर नयाँ खोल्न चाहनेलाई निःशुल्क गराउने विषयमा पनि छलफल भइरहेको छ, यसबारे निर्णय हुन भने बाँकी रहेको उनले बताएका छन् । साथै, आगामी दिनमा सेयर बजार निरन्तर रुपमा खुलाउने तर्फमा नेप्से रहेको उनले जानकारी दिए ।

रौतहटमा थप दुई जनामा देखियाे कोरोना संक्रमण

काठमाडाैं । रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे हाे । टेकुस्रोतका अनुसार बृन्दावन नगरपालिका कोरिनियापुरका २५ वर्षका पुरुष र देवाही गुनाहीका ३५ वर्षका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो। याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५४ पुगेकाे छ जसमा १६ जना निकाे भएर घर फर्किसकेका छन् ।  

नगरपालिकाको निर्णय १० दिन पनि टिकेन : वाग्मती र गण्डकी प्रदेशको तरकारी भित्रन दिने

तनहुँ । तनहुँको व्यास नगरपालिकाले गरेको एउटा निर्णय १० दिन पनि टिक्न नसकेर सच्चिएको छ । कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला बाहिरका तरकारी नगरपालिकामा भित्रिन रोक लगाउने नगरपालिकाको निर्णय १० दिनमै सच्चिएको हो । नगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मीरा जोशीको संयोजकत्वमा सोमबार सम्पन्न बैठकले यसअघिको निर्णयलाई सच्याउँदै गण्डकी र वाग्मती प्रदेशमा उत्पादित तरकारी नगरपालिका क्षेत्रमा भित्रिन दिने निर्णय गरेको हो । यही वैशाख ६ गते नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले जिल्ला बाहिरका तरकारी आयात गर्न रोक लगाएको थियो । बजारमा तरकारीको आपूर्तिमा कमी देखिएको भन्ने गुनासो आएकाले अर्को व्यवस्था नहुँदासम्म तनहुँबाट उत्पादन हुने तरकारीलाई प्राथमिकतामा राख्दै गण्डकी र वाग्मती प्रदेशबाट उत्पादित तरकारी पनि नगरपालिका प्रवेश गर्न दिने निर्णय गरिएको उपप्रमुख जोशीले जानकारी दिए । उनका अनुसार सोबाहेक अन्यत्रबाट आएको तरकारी भने प्रवेशमा रोक लगाइएको छ । ‘जिल्लाभित्र उत्पादित तरकारीलाई प्राथमिकता दिन र सङ्क्रमण क्षेत्रबाट आउने तरकारीलाई प्रवेश निषेध गर्ने निर्णय भएको थियो’, जोशीले भने, ‘बाहिरबाट तरकारी नआउँदा बजारमा तरकारीको आपूर्ति कमी भएको गुनासो आएपछि गण्डकी र वाग्मतीको तरकारी पनि ल्याउन खुला गरेका छौँ ।’ जोशीका अनुसार गण्डकी र वाग्मती प्रदेशका जिल्लामा उत्पादित तरकारी नगर क्षेत्रभित्र आयात गर्दा उत्पादनको प्रमाण भने देखाउनुपर्नेछ । सोही बैठकले जिल्लामा आउने फलफूल नेपाल बाहिरबाट आउने र उक्त फलफूल सङ्क्रमण क्षेत्रबाट आउने बुझिएकाले तनहुँ बाहिरबाट आउने फलफूललाई भने पूर्णरूपमा निषेध गरेको छ । ‘नगरवासीको स्वास्थ्य संवेदनालाई ध्यानमा राखेर बाहिरबाट फलफूल आयातमा पूर्ण रोक लगाइएको छ, हाल बजारमा रहेको फलफूल वैशाख १७ गतेसम्म बिक्री वितरण गर्न दिने निर्णय भएको छ’, जोशीले भने । बजारमा तरकारी, फलफूललगायतका अत्यावश्यक वस्तुको आवश्यक मूल्यवृद्धि, हरेक पसलमा फरक-फरक मूल्यदर रहेको पाइएकाले सम्पूर्ण पसलमा हरेक दिनको प्रत्येक सामानको मूल्यसूची अनिवार्यरूपमा राख्न व्यवसायीलाई सचेत गराइएको छ । अनिवार्यरूपमा मूल्यसूची नराखे अनुगमन गरेर नियमानुसार कारवाहीको प्रक्रिया अगाडि बढाइने नगरपालिकाले जनाएको छ । बैठकमा नगरप्रमुख न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, प्रहरी नायब उपरीक्षक लीलाराज लामिछाने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तनहुँका प्रमुख, तरकारी व्यवसायी लगायतको उपस्थिति थियो । बैठकमा कोभिड-१९ रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीका सन्दर्भमा तरकारी तथा फलफूल र अन्य उपभोग्य वस्तुको अभाव हुन नदिनका लागि सुरक्षित तवरले कसरी सहज र सर्वसुलभ मूल्यमा व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे छलफल भएको नगरपालिकाले जनाएको छ । रासस

अबको समय कृषि क्रान्तिको, यसरी गर्न सकिन्छ परिवर्तन

काठमाडाैं । विश्वका २०० भन्दा बढि राष्ट्र कोरोना संक्रमणसँग एकै पटक जुधिरहेका छन् । गरिबदेखि सम्पन्न तथा कमजोरदेखि शक्तिशाली राष्ट्र सबै नै यसबाट पीडित छन् । नेपालमा कोरोना संक्रमण संख्या बढेसँगै १ महिनादेखि देश पुर्ण रुपमा लकडाउनमा छ। उद्याेग व्यवसाय तथा आवत जावत ठप्प छ । संगठित तथा असंगठित क्षेत्रका गरि १० लाख भन्दा बढि व्यक्ति बेर‍ोजगार भैसकेका छन् । विदेशमा कार्यरत ४० लाख श्रम शक्ति मध्ये ३० प्रतिशत जति उतै बेरोजगार भैसकेका छन र देश फर्कने आशामा छन् । अमेरिका, अष्ट्रेलिया, युरोप अध्ययन गर्न गएका लाखौं विद्यार्थी पनि यो संकटमा आफ्नै देश फर्कने सोचमा देखिन्छन् । यसरी २५ देखि ३० लाख बेरोगारलाई व्यवस्थापन गर्ने चुनौति सरकारको सामु आउन थालेको छ। लकडाउनक‍ो कारण सरकारको राजस्व, लक्ष अनुसार उठन सकेको छैन । राजस्वको प्रमुख श्रोत आयात लकडाउन पछि पुजीको अभावमा खुम्चिने पक्कै छ । विश्व बैंकले भने अनुसार रेमिटान्स १४ प्रतिशतले घटने संभावना देखिन्छ । छिमेकी र विकसित मुलुक पनि कोरोनासँग लडिरहेकोले विदेशी सहायता आउने संभावना देखिदैन । समग्रमा सरकारको आयको श्र‍ोत कम हुँदै जाने र अर्को तर्फ बेरोजगारिको बिकराल समस्या बढ्दै जाने अवस्थामा कृषि क्षेत्र नै आशाको केन्द्र बन्दै गएको देखिन्छ। बिगतको १० वर्षे माओवादी द्वन्दको बेला बढ्दो असुरक्षा र बैकल्पित रोजगारीको लागि पचिसौं लाख श्रम शक्ति विदेश पलायन भए । यसको सकारात्मक पक्ष रोजगारिक‍ो कारण नेपाली श्रमिकमा सीप र क्षमता बढ्य‍ो, रेमिटान्सले गर्दा घर घरको आय वृद्धिसँगै सरकारको विदेशी मुद्रा आर्जन पनि बढ्यो । तर सँगसँगै देशमा श्रम शक्तिको अभाव र कृषियोग्य जमिन बांझो भई उत्पादकत्वमा ह्रास आयो । नेपालमा उपलब्ध कुल ३९ लाख हेक्टर खेतियोग्य जमिनमध्ये १३ लाख हेक्टर बांझो हुन गयो । ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको देशमा ३३ प्रतिसत जमिनमा खेति नहुनुले नै हामी परनिर्भता तिर गईरहेको संकेत गर्छ । आज हामी तरकारी, फलफुल, खाद्यान्न लगायत जिविको पार्जनका अधिकांश वस्तुको लागि छिमेकि देशमा निर्भर भएका छौ । त्यसैले अहिले कोरोना कहरको रुपमा आए पनि र‍ोजगारी र नेपालीको आय श्रोत वृद्धिको लागि कृषि क्षेत्रलाई विकास गर्ने ठूलो अवसर आएको मान्नु पर्छ । आयातमुखी र रेमिटान्समुखी अर्थतन्त्र भएको देशमा सरकारले कृषिलाई खासै महत्व दिएको देखिएन । कृषि कार्यक्रमलाई भोट बैंक आकर्षित गर्ने रुपमा मात्र हेरियो । नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको ३१ प्रतिशतको य‍ोगदान कृषि प्रधान देशमा धेरै नै कम हो । सरकारको आर्थिक वर्ष २०७६/७७ मा कुल बजेटको ५.२० प्रतिशत अर्थात ७९.८२ अर्ब मात्र बिनिय‍ोजन भएको थिय‍ो । प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत ८.१० अर्ब छुट्याईयो । तर यो शीर्षक र अन्य सब्सिडिका रकमहरु हुने खाने बाठा र राजनैतिक पहुचवालाले पाएकोले वास्तविक कृषकसम्म पुग्न नसकेको अनुमान छ। कृषिलाई महत्व न दिएक‍ोले पनि तरकारी फलफुलको लागि अरुको भर पर्नु पर्ने बाध्यता श्रृजना गरिएक‍‍ो छ । विदेशबाट आयातित वस्तु पहाड तराईका गाउँ घर सम्म पुर्याईएक‍ोले खेतबारी बाझै राखेर घर घरमा आएको रेमिटान्सलाई उपभोग्य वस्तु र म‍ोज मस्ति मै खर्च गर्ने प्रवृति बढदै गएको पाईन्छ । तर कोरोनाको कारण समय र परिस्थिति फेरिएको छ। कोरोनाले प्रतेक देश र नागरिकलाई यथार्थ धरातलमा ल्याईदिएको छ । बिखण्डित परिवारलाई एक ठाउमा जोडेको छ, विदेशमा रहेका र काम गर्नेलाई मातृभुमिको महत्व सम्झाएको छ, स्वास्थ र कृषि नै संकट कालमा चाहिने भनेर बुझाएको छ । त्यसैले कोरोना संक्रमण र लकडाउनमा सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थको रक्षा गर्नु र यस संबन्धि सेवाहरु उपलब्ध गराउनु हो । दोश्रोमा अलपत्र परेकालाई तत्काल खाना र बासको ब्यवस्था गर्नु र आम मानिसको लागि वस्तु आपुर्तिको सहजता कायम गर्नु हो । तेश्रोमा बेरोजगार हुने दशौ लाख जनताको लागि आयमुलक रोजगारीको अवसर श्रृजना गर्नु नै हो । त्यसैक‍ो लागि कृषिमा आम जनतालाई आवद्ध गरि रोजगारी श्रृजना गर्न, कृषिको उत्पादकत्व वृद्भि गर्न, कृषकको आयश्रोत बढाउँदै विश्व बैंकले अनुमान गरेको यस वर्षको आर्थिक वृद्धिदर १.८ देखि २.८ प्रतिशत भन्दा माथि लैजान सकिन्छ । त्यसकाे लागि तत्काल कृषि क्षेत्रमा निम्न बमोजिमको कार्यक्रम प्रभावकारि रुपमा संचालन गर्नु जरुरी देखिन्छ। बाँझो जमिनको उपलब्धता तर्फ :- प्रत्येक गाउँपालिका मार्फत वडा स्तरमा व्यक्तिगत र स्थानिय निकायको स्वामित्वमा रहेको बांझो(खेती नभएको) जग्गा र जग्गाधनीक‍ो लगत तयार गर्ने र यसरी लगत तयार गर्दा उपलब्ध जग्गाको क्षेत्रफल अनुसार ब्यक्तिलाई दिने र सामुहिक खेती गर्न सक्ने गरि जग्गाको दुई प्रकृतिको लगत बनाउनु पर्ने छ । वडा स्तरमा वैदेशिक रोजगारीबाट फर्केका र साना व्यवसाय गरि लकडाउनको कारण बेरोजगार भएकाहरुको उनिहरुक‍ सीप र ज्ञान अनुसारको अर्को लगत तयार गर्नु पर्ने छ । व्यक्ति र स्थानिय निकायले लिजमन दिने जग्गाको लिज अवधि र आय वितरणक‍ो अनुपात निर्धारण गर्ने छ । व्यक्तिको जग्गा खेती गर्न सक्ने गरि पहिलो प्राथमिकता जग्गाधनीलाई दिनुपर्ने छ। नीजले गर्न नसकेको जग्गा कम्तिमा १० वर्षको लागि गाउँपालिका र नगरपालिकाले लिजमा लिनुपर्ने छ। व्यक्तिको जग्गाको आमदानीको २० प्रतिशत जग्गाधनीलाई, १० प्रतिशत गाउँपालिकालाई, ७० प्रतिशत लिजमा खेती गर्नेलाई दिनुपर्ने छ। गाउँपालिकाको जग्गाको हकमा २० प्रतिशत गाउँपालिकालाई र ८० प्रतिशत लिज लिनेलाई दिने गरि नीति बनाउनु पर्ने छ । आय वितरण प्रतिशतको सट्टा निश्चित रकममा पनि गर्न सकिन्छ। गाउपालिकाले खेती गर्न चाहने व्यक्ति वा समूहलाई सब लिजमा दिने गरि सम्झौता गर्नुपर्ने छ । अनिवार्य खेती गर्न प्रोत्साहन गर्ने र लिजमा लिई खेती नगर्नेलाई कार्यवाहीको भागिदार बनाउनु पर्ने छ । त्यस्तै, जग्गा व्यक्तिलाई दिँदा तराईमा न्युनतम ५ देखि ८ कठ्ठा र पहाडमा ३ देखि ५ रोपनी तथा सामुहिक खेती वा सहकारी मार्फत गर्दा न्युनतम १ बिघा वा १५ रोपनी दिने। कमर्सियल फार्मिङंको लागि पहाडमा ५० रोपनी र तराईमा ५० बिघा सहित सब्सिडि र कर छुटको व्यवस्था गर्नु पर्ने देखिन्छ । लिजमा जग्गा दिँदा कुल जग्गाको १० प्रतिशतमा तरकारी खेती,२० प्रतिशतमा फलफुल खेति र ७० प्रतिशतमा खाद्यान्न र अन्य बालि लगाउने नीति बनाउनु पर्ने छ। तरकारी खेतीले घरमा दैनिक उपभोग गर्न र बजारमा बिक्री गरि नगद प्राप्त भई घर खर्च चलाउन सजिलो हुने छ । पुँजीको व्यवस्थाः लकडाउनको कारण बेरोजगार हुने सँग पुँजी हुँदैन। उनीहरुको जीवन निर्बाह पहिलो प्राथमिकता हुन्छ।अतः राज्यले प्रधानमन्त्री रोजगार कोषमा भएको ८ अर्ब १० करोड र वैदेशिक र‍ोजगार कल्याणकारी कोषमा रहेको ५ अर्बबाट श्रमिकले पाउने न्युनतम रकम १५ हजार रूपैयाँको दरले ३ महिनाको लागि जीवन निर्वाह भत्ता उपलब्ध गराउन सकिन्छ । जीवन निर्वाहको ग्यारेन्टीपछि नीजको ज्ञान, सीप र गर्न सक्ने क्षमता अनुसार कृषि विकास बैंक,साना किसान बैंक, लघु बित्त कम्पनी, सहकारी र अन्य वित्तीय संस्था मार्फत सरल तरिकाले काम अनुसार १ देखि ३ लाख सम्मको कर्जा किस्ता किस्तामा निर्ब्याजी उपलब्ध गराउने। ब्याज सब्सिडि सरकारले बैंक वित्तीय संस्थालाई दिने र काममा सहजिकरण र अनुगमन गाउपालिकाले गर्ने व्यवस्था मिलाउनु पर्ने छ । प्रबिधि र साधनको उपलब्धताः तरकारि, खाद्यान्न, फलफुल र पशुपालन गर्न चाहिने बीउ बिजन, बेर्ना, रसायनिक मल, किटनाशक औषधि, चल्ला, पाठो आदि कृषि र पशु शाखाको समन्वयमा गाउपालिकाले उपलब्ध गराउने व्यवस्था गर्ने। यसको लागि सकभर प्रतेक गाउपालिकामा सहकारी मोडल वा पब्लिक प्राईभेट पाटनरसिप मोडलमा नर्सरि र पसल अनिवार्य रुपमा संचालन गर्न लाउने । यिनलाई शुरुमा स्थानिय निकाय वा सरकारबाट प्रोत्साहन र सब्सिडिको ब्यवस्था गर्नु पर्ने छ । प्राविधिक सहयोग कृषि व्यवसाय सफलताको लागि अति आवश्यक हुन्छ। सरकारको कृषि र पशु शाखाले प्रतेक गाउँ पालिका क्षेत्रमा ३/३ जना प्राबिधिकको सेवाको व्यवस्था गर्ने। यिनीहरुबाट नियमित निरिक्षण, अनुगमन, प्राबिधिक सल्लाह र रिपोर्टिङको व्यवस्था गर्नु पर्ने देखिन्छ । सुचना र संचारले ठूलो फड्को मारी सकेको छ। सो माध्यमबाट बेरोजगार तथा अन्यबाट संचालित तरकारि, खाद्यान्न, फलफुल र पशुपंक्षी वस्तु बिक्रीको नियमित छलफल, रेडयो एफ एम कार्यक्रम, भाईबर मेसेन्जर ग्रुपमा सुचना आदान प्रदान र बजार मूल्यको नियमित जानकारी दिने संयन्त्रको विकास गर्नुपर्ने छ । यसकाे लागि कल सेन्टर उपयोगी हुन सक्छ। प्रतेक गाउँपालिकामा सरकारी लगानीमा अथवा सब्सिडि दिएर स्थानियको लगानीमा कोल्ड स्टोरेजको निर्माण गराउने र उत्पादित तरकारी, फलफुल न्युनतम दर रेटमा भण्डारण गर्ने सुबिधा दिनु पर्ने छ । बजारको सुनिश्चितता: ग्रामिण क्षेत्रमा उत्पादित तरकारी र फलफुलले उचित बजार नपाउँदा फाल्नु पर्ने बाध्यता छ । बेरोजगारलाई खेतीमा लगाई उत्पादित वस्तुले उचित मूल्य र बजार पाएन भने निराश हुन्छन् । त्यसैले प्रतेक गाउँपालिका नगरपालिकाले सब्सिडि दिएर भए पनि अनिवार्य रुपमा थोक खरिद बिक्रि केन्द्रको संचालन गर्नु पर्नेछ । पब्लिक प्राईभेट लगानिमा या सहकारी मोडेलमा पनि खोल्न सकिन्छ। कृषि उपजमा बिचौलियाहरुको बिगबिगी छ। कृषकले थोरै मूल्य पाउने र ग्राहकले महंगो मूल्य तिर्नु पर्ने बाध्यता छ।यसलाई न्युनीकरण गरि तीन तह कृषक, थोक/ खुद्रा बिक्रेता र उपभोक्ता गर्ने प्रयास गर्नु पर्नेछ। यसबाट वितरण खर्च न्यून भई कृषि उपजले उचित मूल्य पाउने ग्यारेन्टी हुन्छ। विकट जिल्लामा उत्पादित तरकारी फलफुल नजिकको हाट बजार वा शहरसम्म पुर्याउन कृषकलाई ढुवानी सब्सिडि दिने वा उत्पादित केन्द्रबाट गाउँपालिकाले उचित मुल्यमा संकलन गरि बिक्रि केन्द्र सम्म पुर्याउने व्यवस्था गर्नु पर्नेछ । कृषकको उत्पादनलाई उपभोग्य र बिक्री योग्य बनाउन गुणस्तरिय र विस्वसनीय पार्नु पर्छ। यसकाेलागि अर्गेनिक खेतीलाई जोड दिने र उत्पादित उपज बजार पठाउनु अघि परिक्षण गर्न प्रतेक गाउँपालिकामा फुड क्वालिटि टेस्टिङं ल्याव स्थापना गर्नु पर्ने देखिन्छ । यसरी उपरोक्त अनुसारको व्यवस्था गरि दशौं लाखलाई र‍ोजगार दिन, बाझो खेतलाई उत्पादनशील बनाउन, कृषिमा आत्म निर्भर हुन र समग्रमा कुल ग्राहस्थ उत्पादनमा वृद्धि ल्याउन सकिन्छ । यसकाे लागि कृषि मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम र‍ोजगार तथा सामाजिक मन्त्रालय र सम्वृद्ध निकायबीच समन्वय गरि बिनियोजित बजेटलाई केन्द्रीकृत गरि एउटै ठाउबाट परिचालन गर्दा रोजगारी वृद्धि र कृषिमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ।

पठाओले सुरु गर्यो अत्यावस्यक सामाग्री ढुवानी , डेलिभरी चार्ज १ सय ५० रूपैयाँ

काठमाडाैं । पठाओले अत्यावस्यक सामाग्री ढुवानी गर्न सुरु गरेको छ। राइड सेयर कम्पनीपठाओले अनलाइन सपिङ ‘इन्फी स्टोर’ सगँको सहकार्यमा पठाओले होम डेलिभरी सुरु गरेको हो। हाल कम्पनीले खाद्यान्न, औषधि, बेकरी, दुग्ध उत्पादन, मासु, बेबी प्रोडक्ट लगायतका सामाग्री ढुवानी गर्ने बताइएकाे छ ।डेलिभरी सेवा सकेसम्म द्रुत गतीमा गरिने कम्पनीकाे भनाइ छ । कम्पनीले रोगको संक्रमण नफैलियोस भनेर कम्पनीले चालक तथा डेलिभरी गर्ने स्टाफलाई पिपिई, मास्क, ग्लब्स, सेनिटाइजर प्रयोग गर्न अनिवार्य गरेको छ।त्यस्तै डेलिभरी भइसकेपछि ती स्टाफलाई सेनिटाइज गरेर, सामान राखेको बकेटलाई क्लोरिन पानीले धोएर मात्र अफिस भित्र लैजाने गरेको बताइएकाे छ । यो सेवा प्रयोग गर्न इन्फी स्टोरको वेवसाइटमा गएर अर्डर गर्न सकिने छ।चक्रपथ भित्र रहेको यो सेवा प्रयोग गरेबापत १ सय ५० रुपैयाँ डेलिभरी चार्ज लाग्ने कम्पनीले जनाएकाे छ ।

सरकारले अनलाइन र भर्चुअल कक्षाका लागि बजेट छुट्याउँदै

काठमाडाैं । सरकारले अनलाइन र भर्चुअल कक्षाका लागि बजेट छुट्याउने भएकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७७/२०७८ को बजेट अनलाइन र भर्चुअल कक्षाका लागि व्यवस्थापन गर्ने भएको हाे । कोरोना महामारीका कारण शैक्षिक सत्र शुरू भएको करिब दुई महिना जति कक्षा ठप्प हुने भएपछि सरकारले अबको विकल्पका रूपमा अनलाइन र भर्चुअल शिक्षामा खर्च गर्ने भएको हो । राष्ट्रिय योजना आयोगले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट सिलिङ ५८ अर्ब रुपियाँ तोकेको छ । सोहीअनुसार बजेट तयारी गरिरहेको मन्त्रालयले बजेटको हिस्सा अनलाइन र भर्चुअल कक्षामा लगाउने तयारी गरेको बताइएकाे छ ।