सामान्य रूपमा भएपनि सेयर बजार खुलाउन यस्ताे छ पौडेलकाे सुझाव
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले सेयर बजार सामान्य रुपमा भए पनि खोल्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पूँजीबजारका सरोकारवालहरुसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले साे कुरा बताएका हुन् । कोरोना संक्रमण रोकथाम भई जनजीवन सामान्य अवस्थामा फर्कन अझै अन्योल रहेकाले सामान्य रूपमा बजार खुलाउन उनले बजार नियामकलाई सुझाव दिएका हुन् । यस्ताे अवस्थामा हाललाई काराेबार समय घटाएर २ घण्टा मात्रै बनाउन र सर्किट ब्रेकरको सीमा १० प्रतिशतबाट ५ प्रतिशतमा झारेर सेयर कारोबार अघि बढाउन सकिने उनले बताएका छन् । साथै, अहिलेको अवस्थामा कारोबारको समय घटाएर ५० ब्रोकर कम्पनीहरुमध्ये पालो गरेर खोल्ने वातावरण मिलाउन समेत उनले बजार नियामक निकायलाई आग्रह गरेका छन् । वैशाख २५ गतेसम्म सेयर बजार बन्द गर्ने निर्णय भएसँगै नेपालको सेयर बजार एकैपटक ४५ दिन बन्द हुन्छ । यसले नेपालको र अन्तर्राष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने उनले प्रष्ट पारे । त्यस्तै, धितोपत्र बजारमा गैरआवासिय नेपालीहरुको लगानी भित्र्याउने योजना नियामक निकायले अघि सारिरहँदा अहिलेको बजार बन्दले ती वर्गमा नकारात्मक सन्देश जाने सम्भावना रहेको समेत उनको भनाई छ ।
प्रवासीलाई रोजगारी गुम्ने चिन्ता, अशक्त र महिलालाई नेपाल ल्याउने तयारी गरिँदै
काठमाडौं । कोरोनाको महामारी फैलिएसँगै प्रवासीले विभिन्न गुनासाहरु गर्न थालेका छन् । उनीहरुले सम्बन्धित देशका दूतावाससँग गुनासो गर्न थालेका हुन् । रोजगारीका लागि विदेश गएका नेपालीहरू अहिले बेरोजगार बन्ने चिन्ता लगायतका विभिन्न समस्याले दुतावाससँग गुनासो गर्नेको संख्यामा दिनप्रति दिन बढ्दै गएको हो । नेपालीको रोजगार गन्तव्य मुलुकमा पछिल्ला समयमा कोरोनाको संक्रमण बढेसँगै रोजगारी गुमाएर तथा भिसा अवधि सकिएर बसेका ६० हजार नेपालीले गुनासो विभिन्न वैदेशिक रोजगार व्यवसायीमा आएको छ । ७५ प्रतिशत नेपाली भिसा अवधि सकिएर बसेको र २५ प्रतिशत भने रोजगारदाता कम्पनी नै बन्द भएको गुनासो आएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । दुवई, कुवेत, बहराइनमा रहेका धेरै नेपालीले रोजगारी गुमेको गुनासो गरेको उनले जानकारी दिए । कोरोना भाइरसको कारण धेरैले रोजगारी समेत गुमाइसकेका छन् । करिब ७० हजार नेपाली श्रमिक रहेको कुवेतमा ५१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको राजदूत भण्डारीले जानकारी दिए । कुवेत सरकारले अप्रिल एकदेखि आममाफी घोषणा गरेपनि नेपाल अन्य अर्थात २५ अप्रिलदेखि परेको हुँदा २६ र २७ तारिकको अनुपात अनुसार करिब ३ हजार नेपाली आममाफीको माध्यमबाट नेपाल आउन सक्ने सम्भावना रहेको जनाएका छन् । करिब ६५ लाख नेपाली अध्ययन, रोजगार, व्यवसाय तथा अन्य कारण विभिन्न देशमा रहेका छन् । त्यस्तै वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार रोजगारी कै लागि ४३ लाखभन्दा बढी नेपाली विभिन्न देशमा कार्यरत छन् । अशक्त तथा महिलालाई स्वदेश ल्याउने तयारी भइरहेको छः श्रममन्त्री श्रम राेजगार तथा सामाजिक सुरक्षाा मन्त्री रामेश्वर राय यादवले अशक्त तथा महिलालाई स्वदेश ल्याउने तयारी भइरहेको बताएका छन् । उनले समस्यामा परेका नेपालीको अवस्थालाई मध्यनजर गर्दै विशेष गरेर अशक्त तथा महिलालाई छिटो स्वदेश फर्काउन सहयोग गर्न दूतावासलाई अनुरोध गरिएको जानकारी दिए । सरकार बीच समन्वय गराउने काम भइरहेका बताएका छन् । उनले विदेशमा रहेका नेपालीहरुको समस्यालाई लिएर अविभावकत्व निर्वाह गर्न दूतावासलाई पनि आग्रह गरिसकेको जानकारी दिए । ‘विदेशमा रोजगारी गुमेका नेपालीले चिन्ता लिनु पर्दैन, रोजगार गुमाए ब्यवस्थापन गर्न नेपाल सरकार तयार छ, उनीहरुलाई कसरी स्वदेश ल्याउने भन्ने विषयमा परराष्ट्रमन्त्रालयको सहयोग तथा अन्य सम्बन्धित निकायसँग बसेर गृहकार्य भइरहेको छ,’ उनले भने । ‘कोरोना मुक्त भएर मात्र विदेशमा रहेका नेपाली स्वदेश भित्रिनुहोस्, नेपालको आर्थिक स्थिति तथा जनशक्ति एवंम भौतिक सामाग्रीको अवस्था प्रयाप्त भएको हुँदा झन समस्या देखिनेछ,‘ श्रममन्त्री राय यादव भने । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएकोले नेपालीको रोजगार गुम्नेदेखि स्वदेश कसरी फिर्ता हुने भन्ने चिन्ता बढ्दै गएको कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । कुवेतस्थित राजदूत भण्डारीले भने, ‘कुवेत सरकारले अवैधानिक बसेका सबैलाई आम माफी दिई घर फर्काउँदै गर्दा श्रमिकले दिने जरिवाना कुवेत सरकारले तिर्ने, गन्तव्य देशसम्म निशुल्क यातायातको व्यवस्था तथा उक्त देशमा काम गर्न पुन फर्किन चाहेमा पनि व्यवस्था गरिदिने उनको भनाई छ । जसमा ७ हजार नेपाली भिसा अवधि सकिएका र राहदानी भई अवैधानिक रुपमा बस्दै आएका नेपाली रहेका छन् । नेपाल सरकारले स्वीकृति दिएसँगै कुवेतमा रहेका धेरै नेपाली स्वदेश फर्किने तयारीमा रहेको राजदूत भण्डारीले जानकारी दिए । हालसम्म ओमानमा कुनै पनि नेपालीमा कोरोना संक्रमण नदेखिएको जानकारी दिँदै नेपालका लागि ओमानकी राजदूत शर्मिला पराजुलीले कोरोना महामारीसँगै विभिन्न मुलुकमा रहेका धेरै नेपालीको रोजगारी गुम्ने हुँदा सरकारले स्वदेशमा नै उत्पादन तथा रोजगारीको अवस्था खोज्नु पर्ने बताएकी छन् । विश्व बजारमा तेलको मूल्यमा घटेसँगै खाडी मुलुकमा रहेको धेरै नेपालीको रोजगारी गुम्न सक्ने सम्भावना रहेको उनले बताइन् । कोरोनाको त्राससँगै जागिर गुम्ने हो कि भन्ने एक खालको चिन्ता पैदा भएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासको भनाई छ । बहराईन तथा अन्य देशमा मझौला तथा साना कम्पनीमा काम गर्ने नेपालीको रोजगारी गुमिसकेको छ भने कतिपय नेपाली बेतलबी तथा तलब कटौती भएको गुनासो आएको बहराइनका राजदूत सुन्दासले बताए । हालसम्म बहराइन ४९ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चीनबाट उत्पत्ति भएको कोरोना भाइरसले भाइरसले विश्वमा ३० लाख ८३ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने २ लाख १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
नेशनल माइक्रोफाइनान्सले वितरण गर्याे ४८ लाख रूपैयाँ बराबरको खाद्यान्न
काठमाडाैं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले अति विपन्न परिवारलाई हालसम्म ४८ लाख रूपैयाँ बराबरको खाद्यान्न वितरण गरेको छ । संस्थाले स्थानिय निकायहरुको समन्वयमा हालको विपद अवस्थामा दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अति विपन्न ५१०३ घर परिवारहरुलाई साे बराबरको खाद्यान्न वितरण गरेको हाे। खाद्यान्न वितरण अन्तर्गत संस्थाले प्रति परिवारहरुलाई १५ केजी चामल, १ केजी दाल, १ केजी नुन र १ प्याकेट खाने तेल उपलब्ध गराएको छ । संस्थाले स्थानिय निकायहरुको समन्वयमा हालको विपद अवस्थामा दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अति विपन्न घर परिवारहरुलाई साे बराबरको खाद्यान्न वितरण गरेको हाे। खाद्यान्न वितरण अन्तर्गत संस्थाले प्रति परिवारहरुलाई १५ केजी चामल, १ केजी दाल, १ केजी नुन र १ प्याकेट खाने तेल उपलब्ध गराएको छ । संस्थाकाे मुख्य कामहरू कर्जा ,वचत ,बीमा,रेमिट्यान्स रहेतापनि संस्थाले सामािजक उतरदायित्व अन्तरगत हाल विश्व व्यापी काेभिड १९ ले प्रभावित संस्थाकाे ४७ जिल्लाहरू अन्तरगतकाे ६५ वटा शाखा कायार्लयहरूमा आवद्द रहेका ९० हजार घरधुरी अन्तरगत ५१०३ जनालाई राहत वितरण गरिएकाे साे संस्थाले जनाएकाे छ । संस्थाकाे हालसम्म ६५ शाखा,९० हजार सदस्य,कर्जा लगानी ७ अर्ब २५ कराेड र वचत १ अर्ब ६० कराेड रूपैयाँ रहेकाे साे संस्थाले जनाएकाे छ ।
सनराइज बैंकका ग्राहकलाई फूडमान्डुमा विशेष छुट, उपत्यकाभित्र मात्र मान्य हुने
काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमान्डुमा माग गरिएको अर्डरका लागि सनराइज बैंकको डेबिट/ क्रेडिट कार्ड तथा क्यूआर कोडद्वारा प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने छ । यो अफर लकडाउन अवधीसम्म काठमाडौं उपत्यकाभित्र मात्र मान्य हुनेछ । वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु गरिएकाे बैंकले जनाएको छ । घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ । साथै बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरहरुको पनि गरायो कोरोना बीमा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस (कोभिड–१९) महामारीको विरुद्ध आफ्ना एजेन्सी म्यानेजरहरुलाई पनि १ लाख रुपैयाँको बीमालेख प्रदान गरेको छ । कम्पनीले निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सामुहिक बीमा बीमालेख खरिद गरी एजेन्सी म्यानेजरहरुलाई उक्त सुविधा उपलब्ध गराएको हो । जीवन बीमा व्यवसायको विकास र विस्तारका लागि बीमा अभिकर्ताहरु कम्पनीको मेरुदण्ड हुन । त्यसैले अहिलेको यस विषम परिस्थितिमा आफ्ना लिडरहरुको व्यवसायिक मनोवल उच्च गराउन कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई १ लाखको कोरोना भाइरस, कोभिड–१९ बीमा सुविधा उपलब्ध गराएको छ । बीमा समितिको निर्देशन बमोजिम कोरोना भाइरस रोगको रक्षावरण गर्नका लागि कोरोना भाइरस (कोभिड–१९) नयाँ बीमालेख प्रचलनमा आउने बित्तिकै यस अघि सिटिजन लाइफले आफ्ना कर्मचारीहरुलाई पनि सोहीे सुविधा उपलब्ध गराएको थियो । कोरोना लागेको पिसिआर परीक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमाङ्क रकम भुक्तानी लिन पाइनेछ । यस बीमालेखले बीमितहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडरहरुको सेवा सुविधा र क्षमता बृद्धि विकासमा अग्रणी भूमिकामा रहदै आएको सिटिजन लाइफले आफ्नो यस प्रयासले आफ्ना लिडरहरुको क्यारियर एजेन्सीको रुपमा काम गर्न थप आधार तयार हुने विश्वास लिएको छ ।
एशियनले प्रुडेन्सियल इन्स्योरेन्सबाट गरायो सबै कर्मचारीको कोरोना बीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सबै कर्मचारीहरुको कोरोना भाइरस(कोभिड १९) बीमा गराएकाे छ । कम्पनीले सबै कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको बीमांकको बीमा गराएको हो । उक्त बीमालेख प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मार्फत जारी गरिएको कम्पनीले जनाएको छ । यस बीमालेखबाट यस कम्पनीमा कार्यरत कर्मचारीहरुलाई सम्भावित आर्थिक जोखिम बहन गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । साथै, यस बीमालेख अन्तर्गत कम्पनीको कुनै कर्मचारीलाई पीसीआर परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको अवस्थामा बीमकले एक लाख रुपैयाँ भुक्तानी गर्ने इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
मुक्त हलियाको दुखेसो, काम नगरे घरमा चुलो बल्दैन
काठमाडाैं । हिमाली गाउँपालिका–६ धिम हलिया बस्तीका हरिलाल सार्कीे जीविकोपार्जनका लागि मजदूरी गर्दै आएका छन् । राज्यले हलिया मुक्त गरेपछि उनी साहुको हलो जोत्न छोडेर मजदूरी गर्न थालेको हो । सरकारले लागू गरेको लकडाउनका कारण मजदूरी गर्न नपाएर अहिले उनलाई एक छाक टार्न मुस्किल परेको छ । “घरमा पाँचजनाको परिवार छ, गह्राको गहुँ काँचै छ । चैत महिनाको भोक घरका कट्टा भाँडा रित्तिइसके ज्यालादारी गरेको आजको पैसाले आजकै छाक, भोलिको पैसाले भोलिको छाक टार्ने हामीलाई मर्नु न बाँच्नुको दोसाँदमा पुर्याएको छ”, हरिलाल सार्कीको दुखेसो छ । उनले भने, “गाउँका योजनामा काम गरी छाक टार्ने गरेका थियौं। सरकारले चैत ११ गतेदेखि घर बाहिर ननिस्कनु भन्यो । काम पनि रोकियो । हाम्रो घरमा भएको खाद्यान्नले केही दिन हातमुख जोड्यौं । अहिले चुलो बाल्नै पाएका छैनौं । अरुलाई कोरोनाले मार्ने भयो, हामीलाई भोकले मार्ने भयो ।” कथित उपल्ला जातिले दलितलाई ऋणस्वरुप दिएको केही रकमको ब्याजवापत पुस्ताैंसम्म उसको घरमा काम गर्नुपर्ने बाध्यतालाई नेपाल सरकारले २०६५ सालमा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा बस्ने हलिया मुक्तिको घोषणा गरेको थियो । मुक्त हलियाको व्यवस्थापनका लागि सरकारले जग्गा खरिद, घर निर्माण र घर मर्मतको शीर्षकमा रकमसमेत दियो तर उनीहरुलाई काम गर्ने अवसर भने कतै दिएको पाइएन । कतै आड लगाउने ठाउँ नभएपछि हाम्रो गाँस खोज्नमै यो पुस्ता जाने भयो मुक्त हलिया रङ्गी विकले बताए । सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै हलिया परिवारले काम पाउन छोडेपछि दैनिक ज्यालादारी गरेर परिवार पाल्ने हलिया बस्तीमा भोकमरी भएको हो । कुनै पनि जग्गा जमिन नभएका १ सय ५० हलिया परिवार हिमाली गाउँपालिकाको धिममा सरकारले बनाइदिएको घरमा बसिरहेका छन् । हलियाबाट मुक्त गरेको भए पनि दैनिक ज्याला मजदुरी र साहुको काम गरेर बिहान बेलुकी छाक टार्न हलिया परिवार बाध्य भएका छन् । बूढीनन्दा नगरपालिका–२ कोल्टीकी रम्बा सहानी । उनी ‘ग’ वर्गको हलिया हुनुहुन्छ । श्रीमान् बितेको वर्षाैं भयो । अहिले सहानीले पाँचजनाको परिवारलाई ज्याला मजदुरी गरेर पाल्ने गर्थे । सरकारले बन्दाबन्दी गरेपछि बाहिर निस्कन नपाइने भएकाले सहानीले बालबच्चाको मुखमा गाँससमेत दिन नसकेको गुनासो सुनाए । एकातिर घरमा लोग्न मान्छे कोही छैनन् । त्यसमा एकल महिला हुँ । बाल बच्चाको पढाइ खर्च र बन्दाबन्दीको बेला छाक टार्न नै मुस्किल भएको सहानीले दुखेसो पोखिन् । सहानी जस्तै सोही नगरपालिका–२ कोल्टीकी कार्तिके ल्वार । उनी पनि एकल महिला हुनुहुन्छ । श्रीमान् बितेको १७ वर्ष भयो । घरमा चारजनाको परिवार छ । ल्वार पनि ‘घ’ वर्गको मुक्त हलिया हुन । घरको रेखदेख र ज्याला मजदूरी गर्ने उनीबाहेक कोही छैन । छोराछोरी स–साना छन् । साहुको हलिया लागेर छाक टार्दै आएको भए पनि सरकारले हलो जोत्न छुटाएपछि ज्याला मजदूरी गरी दैनिकी चलाउँदै आएको ल्वारको भनाइ छ । पछिल्लो समय नोबेल कोरना भाइरसका कारण सरकारले बन्दाबन्दी गरेकाले ज्यालामजदूरी गर्न नपाएपछि छाक टार्न नै मुस्किल हुने गरेको ल्वारको दुखेसो छ । स्थानीय सरकारले समेत हलिया बस्तीका न्यून आय भएका लागि राहत वितरण नगरेको ल्वारको गुनासो छ । गाउँ नजिकै कोल्टी बजारमा व्यापारीको सामान ओसारपसार गरेबापत घरको चुलोमा आगो बल्थ्यो, तर सरकारले लकडाउन गरेपछि त्यो पनि सकियो ल्वारले मलिलो स्वरमा जवाफ दिए। सरकारले घर बनाइदिए पनि दैनिक ज्याला मजदुरी र साहुको काम गरेर साँझ बिहानको छाक टारिरहेका उक्त बस्तीका हलिया परिवार १४ दिनसम्म जेनतेन छाक टारे पनि अहिले भने खाद्य सङ्कटमा परेको छ । “१५ जनाको कबिला छ । कहाँ लिएर पाल्नु कहीँ जान पाइने भए पुराना साहुलाई गुहारेर हातमुख जोड्ने बाटो हुन्थ्यो । अब बाहिर निस्किए कारवाही हुन्छ । घरभित्र बसौँ भने खाने केही छैन, फसाद भएको छ”, बूढीनन्दा नगरपालिका–१ पीपलडालीका मुक्त हलिया चन्द्र लुहारले बताए । जुकोट, वाई, बाधुको पीपलडाली, कोल्टीको बिरसैनलगायतका ठाउँबाट ‘क’ वर्गका १५ हलिया परिवारलाई बूढीनन्दा नगरपालिका–१ तिथिचौरमा सरकारले जग्गा खरिद गरेर घर बनाइदिएको छ । घर मात्र बने खान नपाएपछि केही परिवार घर छोडेर पुरानै गाउँमा साहुको काम गर्न गए । हाल सात परिवार मात्र तिथिचौरमा बस्दै आएका छन् । तिनीहरु पनि कोल्टी बजारमा दैनिक ज्यालादारी गरेर बसेका छन् । “कहिलै कोल्टी बजारमा दाउरा बेचेर दाल चामल किनेर खायौं । कहिले कसैको खेतमा काम गरेर पोर्सो बोकेर दैनिकी चलाइरहेका थियौं । कोल्टी बजार बन्द भयो । दाउरा लिन न जान पायौं । बजार बन्दछ । दाउरा बिक्री गर्न पाइँदैन । खेतबारीको काम सबै बन्द भएपछि भोकै बस्नु परेको छ”, चन्द्र लुहारले बताए । उनले मेरो नाममा आफ्नो जमिन छैन भन्दै गाउँ वरपर योजना आयो भने यहाँका २३ परिवार ढुङ्गा गिट्टी कुटेर र काम नपाएको बेला दाउरा बेचेर जमाएको अन्नपातले छाक टारेको बताए । अर्का मुक्त हलिया धनबहादुर विकले भने, “गाउँमा अहिले खाद्यान्नको हाहाकार छ । लकडाउन शुरु भएपछि छाक टार्ने माध्यम नै बन्द भयो, घरमा नुन, तेल र चामल जस्ता खानेकुरा सकिएको छ ।” जिल्लामा कूल एक हजार ३ सय ५३ मुक्त हलिया छन् । तीमध्ये ‘क’ वर्गमा १ सय ३२, ‘ख’ वर्गमा २ सय ४६, ‘ग’ वर्गमा १ सय ५० र ‘घ’ वर्गमा ८ सय २५ गरी जम्मा एक हजार १ सय ८९ जनालाई सरकारले परिचयपत्र वितरण गरेको कुरा जिल्ला हलिया मुक्ति समाजले जनाएको छ । स्थानीय तहका जनप्रतिनिधिले मनोमानी रुपमा राहत वितरण गर्दै आएका छन् । सरकारले राहतको मापदण्ड बनाएको छ । तर कहीँ कतै कार्यान्वयन भएको छैन । “हामीले गरिब विपन्न र दैनिक ज्याला मजदूरी गरिरहेकाहरुको तथ्याङ्क सङ्कलन गरेर राहत वितरण गर्ने योजना बनाएका छौं,” हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए । उनले गाउँपालिकामा बसोबास गर्ने मुक्त हलिया, विपन्न, एकल असहाय, अपाङ्गता भएका परिवारलाई राहत वितरण कार्य भइरहेको बताए । सबै वडाका वडाध्यक्षलाई सो क्षेत्रका परिवारको तथ्याङ्क सङ्कलन गराई गाउँपालिकाको बैठकले अनुमोदनपछि सातवटै वडामा राहत वितरण गरिएको अध्यक्ष मल्लले बताए । जिल्लाका नौवटै स्थानीय तहमा पनि पालिकाले आ–आफ्नै तरिकाबाट राहत वितरण गर्दै आएका छन् । नौवटै पालिकाले कार्यविधि नै नबाएर अति विपन्न, दलित समुदाय, असहायलगायतलाई ३० केजी चामल, दुई केजी दाल, नुन र तेललगायतका खाद्यान्न वितरण गर्दै आएको जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकायाले बताए । रासस
कामना सेवा बैंकको खाता अनलाइनबाटै खोल्न सकिने
काठमाडौं । कामना सेवा विकास बैंकको खाता अनलाईनबाटै खोल्न सकिने भएको छ । बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै वैशाख १६ गतेदेखि लागू हुने गरी बैंकको वेबसाइट मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन् । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन् ।