अतिक्रमित जग्गा हटाउने अभियान तीव्र, तीन स्थानका सुकुम्बासी बस्ती खाली
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाइएको छ । अभियानका क्रममा शनिबार काठमाडौं महानगरपालिकाअन्तर्गत तीन स्थानका बस्ती खाली गरिएका छन् । काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित बागमती नदी किनारको बस्ती, वडा नं ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र तथा वडा नं ३१ को शान्तिनगरमा रहेका अतिक्रमित बस्ती शनिबार हटाइएका हुन् । सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना डोजर प्रयोग गरी भत्काइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार थापाथली क्षेत्रमा स्थायी संरचना कम भएकाले काम छिटो सम्पन्न भएको थियो भने गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा पक्की घरको सङ्ख्या बढी भएकाले भत्काउने काम राति अबेर मात्र सकिएको थियो । सरकारको निर्देशनअनुसार संरचना हटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले शनिबार दिनभरि प्रभावित बासिन्दा र सरसामान सुरक्षित रूपमा सार्न सहयोग गरेको थियो । त्यसपछि मात्र डोजर प्रयोग गरी संरचना हटाउने काम गरिएको थियो । बस्ती हटाइए पनि भत्काइएका संरचना र सामग्री अझै सोही स्थानमै छरिएर रहेकाले आवागमनमा केही कठिनाइ भएको स्थानीयले बताएका छन् । महानगरले ती सामग्री हटाउने तथा क्षेत्र सफा गर्ने कार्य पनि क्रमशः अघि बढाइने जनाएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार राजधानीका विभिन्न अतिक्रमित क्षेत्रमा उल्लेख्य सङ्ख्यामा सुकुमवासी परिवार बसोबास गर्दै आएका थिए । प्राधिकरणको तथ्याङ्कअनुसार थापाथलीमा एक सय ४३, गैरीगाउँमा एक सय ६२, गोठाटारमा ७७, शान्तिनगरमा चार सय ७६ तथा मनोहरा टोलमा १३ गरी कुल ८७१ परिवार रहेका छन् । सरकारले सार्वजनिक जग्गा संरक्षण तथा नदी किनार क्षेत्रको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सहरी सौन्दर्यीकरण, वातावरण संरक्षण तथा दीर्घकालीन सहरी व्यवस्थापनसँग जोडेर अभियान अघि बढाएको हो । यद्यपि, बस्ती हटाउने कामसँगै प्रभावित परिवारको पुनःस्थापना तथा व्यवस्थापनका विषयमा विभिन्न कोणबाट चासो व्यक्त हुन थालेको छ । सरोकार भएका निकायले दीर्घकालीन समाधानका लागि व्यवस्थित बसोबासको विकल्प उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याइरहेका छन् । यसैबीच, बस्ती हटाउने क्रममा थापाथली, गैरीगाउँ र सिनामङ्गल क्षेत्रमा कुनै अवरोध वा झडपको अवस्था सिर्जना नभए पनि भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा भने सुकुमवासी बस्तीका बासिन्दाले भने केही अवरोध गरेका थिए । अवरोधका क्रममा आक्रमणमा परी २२ सुरक्षाकर्मी घाइते भएका प्रहरीले थिए । आक्रमणमा परी मध्यपुरथिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित ११ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नं २२ दुवाकोटबाट खटिएका सशस्त्र प्रहरीका थप ११ जना गरी २२ जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिए । उनका अनुसार मनोहरा सुकुमवासी बस्तीमा घर भत्काउने क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा, इँटा र बोतल प्रहार गरिएको थियो ।
बुटवलमा पनि सरकारी जग्गामाथिको अतिक्रमण हटाउन सुरु
काठमाडौं । बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा बनेका घरटहरा हटाउन सुरु भएको छ । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार दिइएको थियो । साबिक वडा नम्बर ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साविक कित्ता नम्बर ३९६ ९हाल कित्ता नम्बर ७,८,१२,६१,१३ र ४० को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका घरटहरा हटाउन थालिएको हो । बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङ गरेर सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन निर्देशन दिएको थियो । उक्त क्षेत्रमा बुटवल बार एशोसिएसन, प्रदेश प्रमुखको कार्यालयलगायत विभिन्न सङ्घसंस्थाका संरचना पनि रहेकाले ती संरचना सोही कित्तामा पर्छन् वा पर्दैनन् भन्ने बारेमा अनुसन्धान भइरहेको वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले जानकारी दिए । वाह्र वर्षअघि पनि उक्त जग्गा खाली गराउने प्रयास भएको थियो । सो क्षेत्रमा निर्माण गरिएका अधिकांशमा टहरा चिया पसल तथा रेष्टुरेन्टका सञ्चालनमा छन् ।
एकैदिन २७ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा पछिल्ला केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज (आइतबार) भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । यो सँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५६ हजार ५१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढ्दै ४ हजार ९९५ रुपैयाँ कायम भएको छ ।
मनोहराको सुकुम्बासी बस्ती भत्काउन ४ डोजर तैनाथ
काठमाडौं । सरकारले मनोहराको सुकुम्बासी बस्ती भत्काउन सुरु गरेको छ । साढे १० बजेबाट मनोहराको सुकुम्बासी बस्तीका घर टहरामा डोजर लागेको हो । नगर प्रहरी र नेपाल प्रहरीको टोली पुगेर बस्ती निरीक्षण गरेपछि घर टहरा भत्काउन थालिएको हो । अहिले पनि सुकुम्बासीमा बस्तीमा बस्दै आएकाहरू सामान निकालिरहेका छन् । सामान निकालिसकेको घरमा डोजरले भत्काउन सुरु गरेको छ । घर भत्काउन चार वटा डोजर तैनाथ छन् भने ठूलो संख्यामा नगर, नेपाली प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । शनिबार स्थानीयले प्रवेश गर्न नदिएपछि बस्ती भत्काउन गएको प्रहरी फर्किएको थियो । स्थानीय र प्रहरीको झडप पनि भएको थियो । झडपमा केही प्रहरीहरू घाइते पनि भएका थिए ।
ट्रम्पको डिनर पार्टीमा अन्धाधुन्ध गोली प्रहार, ह्वाइट हाउसमा मच्चियो खैलाबैला
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटा होटलमा ह्वाइट हाउसका पत्रकारहरूसँग डिनर (कोरेस्पोन्डेन्ट्स डिनर) गरिरहेका थिए, त्यही बेला गोली चलेको आवाज सुनियो । त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हतार–हतार बाहिर निकालियो । त्यहाँ उपस्थित एक सुरक्षा अधिकारीका अनुसार कार्यक्रममा सातदेखि आठ राउन्ड गोली चलेको थियो । केहीबेरपछि डोनाल्ड ट्रम्पले भने, ‘शूटर पक्राउ परिसकेको छ, तर कार्यक्रम जारी रहनुपर्छ।’ यस घटनापछि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, ‘यो साँझ अब पहिले जस्तो रहेन, यो डिनर फेरि आयोजना गर्नुपर्छ ।’ घटनाको केही समयपछि डोनाल्ड ट्रम्पले आफै शूटर पक्राउ परेको बारे जानकारी दिए । उनले ट्रूथ सोसलमा लेखे, ‘वाशिङ्टन डीसीमा साँझ निकै घटनापूर्ण रह्यो । सिक्रेट सर्भिस र कानुन कार्यान्वयन टोलीले उत्कृष्ट काम गरे । उनीहरूले तुरुन्त र साहसिक कदम चाले ।’ ‘आक्रमणकारी पक्राउ परिसकेको छ । मैले कार्यक्रम जारी राख्ने सुझाव दिएको छु । तर अन्तिम निर्णय कानुन कार्यान्वयन टोलीले गर्नेछ । उनीहरूले चाँडै निर्णय लिनेछन् । जे निर्णय भए पनि, यो साँझ अब पहिले जस्तो हुने छैन र हामीले यसलाई फेरि आयोजना गर्नुपर्नेछ,’ उनले थपे । घटनापछि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग थप जानकारी गराएका थिए । उनले भने, ‘यो कार्यक्रम अभिव्यक्ति स्वतन्त्रतालाई समर्पित थियो र यसको उद्देश्य सबैलाई जोड्नु थियो । तर एक व्यक्ति धेरै हतियारसहित सुरक्षा चेकपोइन्टमा हमला गर्न आयो । उसलाई सिक्रेट सर्भिसका बहादुर सदस्यहरूले रोके ।’ ट्रम्पले एक सिक्रेट सर्भिस अधिकारीले बुलेट प्रूफ ज्याकेट लगाएकाले ज्यान जोगिएको बताए । ट्रम्पले कार्यक्रमअघि कुनै पनि सुरक्षा खतरा भएको जानकारी उनको टोलीलाई थाहा नभएको बताए । उनले भने, ‘मलाई यसको उद्देश्य के थियो थाहा छैन, तर संदिग्ध निकै खराब देखिन्छ ।’ डोनाल्ड ट्रम्प वाशिङ्टन हिल्टनमा कुराकानी गरिरहेका देखिन्थे, त्यही बेला टेबलतर्फ हलचल भएपछि उनको कुरा रोकियो । ठूलो विस्फोटजस्तो आवाज सुनियो । त्यसपछि सिक्रेट सर्भिसका धेरै सदस्यहरूले ‘तल बस्नुस्’ भनेर निर्देशन दिए । डिनरमा उपस्थित पत्रकार ड्यानियल बुशले बताए कि गोलीजस्तो आवाज आएपछि मानिसहरू टेबलमुनि लुके । पहिले ट्रम्पलाई बाहिर लगियो र केहीबेरपछि रक्षामन्त्री पीट हेजसेथसहित वरिष्ठ प्रशासनिक अधिकारीहरूलाई पनि सुरक्षा टोलीले बाहिर निकाले । केहीबेरपछि पाहुनाहरू टेबलमुनिबाट बाहिर निस्किएर अवस्था बुझ्न थाले। ड्यानियल भन्छन्, ‘यो डिनरमा हालसम्मकै पहिलो सुरक्षा चूक हो, सायद पहिलो पटक । र यो पनि पहिलो पटक थियो जब ट्रम्पले राष्ट्रपतिका रूपमा यस कार्यक्रममा भाग लिएका थिए ।’ उनी यस गोलीकाण्डबारे अझै ठूला प्रश्नहरू बाँकी रहेको बताउँछन । उनले भने, ‘वाशिङ्टन हिल्टनमा हुने यस कार्यक्रममा हरेक वर्ष राष्ट्रपति, क्याबिनेट मन्त्रीहरू र प्रशासनका उच्च अधिकारीहरू सहभागी हुन्छन् । साथै सयौं पत्रकारहरू पनि उपस्थित हुन्छन् ।’ ‘मुख्य हलमा प्रवेश गर्न पाहुनाहरूले विमानस्थलजस्तै सुरक्षा जाँच पार गर्नुपर्छ । होटल बाहिर पनि कडा सुरक्षा व्यवस्था हुन्छ,’ उनले थपे । ड्यानियल बुशका अनुसार, ‘यो वाशिङ्टनको सबैभन्दा सुरक्षित कार्यक्रम मानिन्छ । यसअघि कहिल्यै ह्वाइट हाउस कोरेस्पोन्डेन्ट्स डिनरमा यस्तो घटना भएको थिएन । तर आज रात जे भयो, त्यसपछि यस कार्यक्रमको सुरक्षामा अझ बढी ध्यान दिइनेछ ।’ (बीबीसीबाट अनुदित तथा सम्पादित)
डोनाल्ड ट्रम्पको रात्रिभोजमा गोली चल्यो, एक जना पक्राउ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा गोली चलेको छ । ह्वाइट हाउसमा संवाददाताहरूसँगको रात्रिभोजमा गोली चलेको हो । अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिकी सीक्रेट सर्भिसका एक जना अधिकारीलाई गोली लागेको छ । तर, बुलेट प्रुफ भेस्ट लगाएका कारण उनी बाँचेका छन् । अहिले उनको उपचार भइरहेको छ । नजिकैको हिल्टन बलरुम बाहिर गोली चलेको जस्तो आवाज सुनिएपछि रात्रिभोजमा सहभागी भएकाहरू टेबल मुनी लुकेका थिए । त्यसपछि पहिले ट्रम्पलाई र रक्षामन्त्री पिट हेग्सेथलाई सुरक्षा घेरामा हलबाट निकालिएको थियो । सहभागी भइरहेका समयमा गोली चलाउने सन्दिग्ध व्यक्ति पक्राउ परेका छन् । नियन्त्रणका लिइएका व्यक्तिको तस्बिर राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । गोली प्रहारको आरोपमा पक्राउ परेका व्यक्ति क्यालिफोर्निआका ३१ वर्षीय युवक रहेको खुलेको छ । उनी रात्रिभोज चलिरहेको होटेलमै बसिरहेको अन्तर्राष्टिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
लागुऔषधसहित विभिन्न ठाउँबाट ४१ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद ६८ हजार २०० रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट दुई, वीरेन्द्रनगर नगरपालिका-८ सिम्ताली चोकबाट दुई, कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ बाट एक, सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट दुई र दाङको घोराही उपमहानगरपालिका-१५ भानुचोकबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो । अभियुक्त शनिबार पक्राउ परेका हुन् । उनीहरुबाट नगद र लागुऔषध जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको छ । यसैगरी, काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट खैरो हेरोइनसहित एक, बल्खुचोकबाट दुई जनालाई ९९८ थान ट्रामाडोल ट्याब्लेट र १६ हजार ५०० नगदसहित पक्राउ गरिएको छ । यसैगरी, इलामको सूर्योदय नगरपालिका-११ कालापानीबाट दुई, झापाको भद्रपुर नगरपालिका–५ बाट नौ, शिवसताक्षी नगरपालिका-१ बाट दुई, कञ्चनपुरको वेदकोट नगरपालिका-८ बाट दुई, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट दुई, रुपन्देहीको बुटवल उपमहानगरपालिका-१५ गोब्रैयाबाट दुई, सैनामैना नगरपालिका-५ बुद्धनगरबाट एकजनालाई पक्राउ गरिएको हो । यसैगरी, विराटनगर महानगरपालिका-१५ बाट एक, रुकुमपश्चिमको त्रिवेणी गाउँपालिाका–२ बिसौनीबाट एक, दाङको घोराही उपमहानगरपालिका-५ बाट शीतलपुरबाट एक, बर्दियाको बढैयाताल गाउँपालिका-६ रानीपुरबाट चार जना, पोखरा महानगरपालिका-५ प्रस्याङबाट दुई र धनुषाको गणेशमान चारनाथ नगरपालिका-२ राधापुरबाट एक जनालाई चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने २५० थान नाइट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको जनाइएको छ ।
भक्तपुरमा ७७७ घरटहरा भत्काउन सुरु, बस्ती खाली गराउन डोजर प्रयोग
काठमाडौं । भक्तपूरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । आइतबार बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैं आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने काठमाडौं महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो । प्रहरी उपरीक्षक खड्काले भने, ‘यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ ।’ यस बस्तीमा बस्तीमा सात सय ७७ घरटहरा छन् । यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए । त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो । केही सुकुमवासीले आक्रमण गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए ।