विकासन्युज

विश्वकप फुटबल: उद्घाटन खेलमा मेक्सिकोको जित, ३ खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक-एक गोल गरे । खेल सुरुआतको ९ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित बन्यो । त्यसपछि खेलको ६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित बन्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए । विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यस जितसँगै समूह ‘ए’मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल आज बिहान ७:४५ बजे हुनेछ ।

अमेरिका र क्रोएसिया पठाउने भन्दै साढे ४० लाख ठगी गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाख ५० हजार रुपैयाँ ठगी गर्ने २ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका-२ की ४५ वर्षीया रुकु कुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका-६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।  उनले भने, ‘रुकुकुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै ३५ लाख रुपैयाँ तथा शैलेन्द्र शाक्यले क्रोएसिया पठाउने भन्दै ३ लाख ५० हजार रुपैयाँ लिई विदेश नपठाइ सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।’ उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए । 

इप्पानको साधारणसभा शुक्रबार, नयाँ विधान पारित भएपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न नपाउने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन भोलि अर्थात्  जेठ २९ गते आयोजना हुँदैछ । वि.सं. २०५७ माघ ४ गते ८ जना सदस्यबाट सुरु भएको इप्पानमा हाल ६८३ सदस्य आबद्ध भइसकेका छन् ।  शुक्रबार हुने बन्द सत्र पश्चात् पूर्वनिर्धारित कार्यतालिका अनुसार नै निर्वाचन प्रक्रिया अघि बढाउने गरी सम्पूर्ण अन्तिम तयारी पूरा भइसकेको इप्पानले जनाएको छ ।  निर्वाचन कार्यतालिका र नामावली प्रकाशन भई एक उपमहासचिव र ५ सचिवसहित ६ जना पदाधिकारीहरू निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य पदका लागि आवश्यकभन्दा बढी उम्मेदवारी परेकाले चुनावी प्रक्रिया अघि बढिसकेको छ ।  संस्था महासंघमा जान नसक्नुको कारण र विधान संशोधनको विषयलाई लिएर बाहिर आएका भ्रमहरूबारे इप्पानले आफ्नो धारणा स्पष्ट पारेको छ ।  विद्यमान कानुनी व्यवस्था र जिल्ला प्रशासन कार्यालयको मापदण्डका कारण महासंघ गठनमा कठिनाइ देखिएपछि इप्पान कार्यसमितिको बैठकले वर्तमान विधान (२०७८) अनुसार नै नियमित साधारणसभा र अधिवेशन गर्ने निर्णय गरेको थियो। जेठ २५ गते बसेको २०३ औं बैठकले महासंघमा जान नसक्नुको कारण र नयाँ विधान संशोधनको प्रस्तावलाई आगामी साधारणसभामा पेस गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको थियो ।  अध्यक्ष गणेश कार्कीद्वारा प्रस्ताव गरिएको नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाई, अध्यक्ष बन्नका लागि कम्तीमा एक कार्यकाल कार्यसमितिमा रहेर काम गरेको हुनुपर्ने र २७ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरिएको छ । जुन साधारणसभाबाट पारित भई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि आगामी कार्यकालदेखि लागू हुनेछ । कार्यसमितिका सम्पूर्ण निर्णयहरूमा सबै पदाधिकारीले हस्ताक्षर गरेको र कसैले पनि नोट अफ डिसेन्ट (असहमति) नलेखेको अवस्थामा, तिनै निर्णय प्रक्रियामा सहभागी व्यक्तिहरूबाटै इप्पानले अवैधानिक निर्वाचन गर्यो र महासंघको निर्णय खारेज गर्यो भन्दै गलत सूचना प्रवाह गरिएकोमा इप्पानले गम्भीर आपत्ति जनाएको छ ।  योग्य उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भई चुनावी प्रक्रिया अघि बढिसकेको अवस्थामा यस्ता अनर्गल र नकारात्मक प्रचारबाजीले संस्थाको प्रतिष्ठामा आघात पु¥याउने इप्पानको ठहर छ ।  महासंघमा जाने र विधान संशोधन गर्ने जस्ता महत्वपूर्ण विषयहरू साधारणसभामै छलफल गरी पारित गरिने हुनाले यस्ता भ्रममा नपर्न इप्पानले अनुरोध गरेको छ । 

इन्जिनियरमाथि कुटपिट गर्ने मल्ल दाजुभाई पक्राउ

काठमाडौं । धादिङमा  इन्जिनियरमाथि कुटपिट गरी फरार रहेका दुई व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रमुख सन्तोष खडकाले इन्जिनियरमाथि कुटपिट ४० वर्षीय भीम मल्ल र ५७ वर्षीय विक्रम भन्ने बलबहादुर मल्ललाई पक्राउ गरिएको  जानकारी दिए । उनका अनुसार मल्ल दाजुभाइ निलकण्ठ नगरपालिका ४ का हुन् । इजरा खानेपानी आयोजनाको साइट निरीक्षणका लागि धादिङ पौवा जाँदै गरेका सप्तरीको सप्तकोशी नगरपालिका-२ निवासी सब-इन्जिनियर हबेन्द्र कुमार यादव माथि कुटपिट भएको हो। केही दिनअघि नीलकण्ठ नगरपालिका–४ धादिङ पौवामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवन अन्तर्गत धादिङ शाखा कार्यालयमा कार्यरत सब-इन्जिनियरमाथि कुटपिट भएको थियो । घटनामा मोटरसाइकल चालक चितवनको भरतपुर महानगरपालिका-९ निवासी सब-इन्जिनियर सुरेश आले मगरमाथि पनि आक्रमण भएको थियो ।  मल्लले मुक्का प्रहार गर्दा सब इन्जिनियर यादवको दाँत हल्लिनुका साथै बङ्गारा नजिकको हड्डी समेत भाँचिएको एक्सरे रिपोर्टबाट पुष्टि भएको छ।  उनलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित बी एन्ड बी अस्पताल ग्वार्को ल्याइएको प्रहरीले जनाएको छ।

होल्डिङ सेन्टरमा रहेका नागरिकलाई सरकारले निःशुल्क बीमा सुविधा दिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा प्रदान गर्न तयारी तीव्र पारेको छ । सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माणको तयारी भइरहेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमाका साथै बालबालिकाहरूका लागि बाल शैक्षिक योजनाको समेत सुविधा उपलब्ध गराउने योजना बनाएको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, स्वास्थ्य बीमा बोर्ड र नेपाल राष्ट्र बैंकले आवश्यक तयारी गरेका हुन् । हाल काठमाडौं उपत्यकाभित्रका विभिन्न ६ वटा होल्डिङ सेन्टरमा करिब एक हजार चार सय ८८ जना आश्रय लिँदै आएका छन् ।  जसमध्ये ९५ प्रतिशतभन्दा बढीको डिजिटल लगत संकलन भइसकेको छ । बाँकी रहेका झण्डै पाँच प्रतिशतको पनि विवरण समेटेर सरकारले उपलब्ध गराएको पहिचान कार्ड वा अन्य कुनै आधिकारिक माध्यमबाट पहिचान गरी बीमा प्रक्रियामा सहजीकरण गरिनेछ । बीमा कार्यक्रमको सम्पूर्ण लागत तथा प्रिमियम खर्च सरकारले नै बेहोर्नेछ । बीमाका लागि आवश्यक पर्ने प्रिमियम रकमको स्रोत सुनिश्चित भइसकेको छ । सुरुवाती चरणमा काठमाडौं उपत्यकाबाट यो कार्यक्रम सुरु गरेर कम्तीमा १० वर्षसम्म यसलाई निरन्तरता दिने योजना बनाइएको छ । हाल विद्युतीय लगत प्रणालीमा समेटिएकाहरूबाट सुरु हुने यो कार्यक्रम आगामी दिनमा देशभरका अन्य जिल्ला र प्रदेशका भूमिहीनहरूमा समेत विस्तार गर्दै लैजाने सरकारको लक्ष्य छ ।

अध्ययन भिसा सिफारिसमा अनियमितताबारे कारबाही अघि बढाउन गृह मन्त्रालयलाई पत्राचार

काठमाडौं। अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । शिक्षा मन्त्रालयले बिहीबार गृह मन्त्रालयलाई पठाएको पत्रमार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातहरूमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पत्राचाक गरेको हो । मन्त्रालयका अनुसार काठमाडौंस्थित वाल्मिकी विद्यापीठको नामबाट “एकेडेमिक अध्ययन भिसाका लागि सिफारिस सम्बन्धमा” भन्ने विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिस गरिएको थियो ।  तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिस गरिएको विद्यार्थीको नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आम्दानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययनसम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ । अनुगमनका क्रममा उक्त व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिरहेको दाबी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ ।  साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिदहरू समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ ।  यसै क्रममा मन्त्रालयले सोही विद्यापीठको नामबाट यसअघि प्राप्त अर्को पत्रसमेत नक्कली रहेको पाइएको जनाएको छ ।  मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट पेश गरिएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठेकाले अध्ययन भिसाका लागि जारी गरिएको सिफारिस पत्रसमेत खारेज गरिएको छ । मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा उक्त घटनासँग सम्बन्धित सबै पक्षमाथि विस्तृत छानबिन गरी प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।  साथै अध्ययन भिसा सिफारिस प्रक्रियाको दुरुपयोग रोक्न सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको पनि औंल्याइएको छ । नेपालमा विदेशी विद्यार्थीलाई अध्ययनका लागि भिसा सिफारिस गर्दा सम्बन्धित शैक्षिक संस्थाबाट जारी भएका भर्ना, अध्ययन तथा शुल्कसम्बन्धी आधिकारिक कागजातका आधारमा प्रक्रिया अघि बढाइन्छ ।  अध्यागमन विभागले समेत अध्ययन भिसा सिफारिस गर्दा विद्यार्थी वास्तविक रूपमा अध्ययनमा संलग्न रहेको सुनिश्चित गर्नुपर्ने व्यवस्था छ ।  त्यस्तै, नेपाल सरकारका विभिन्न निकायहरूले भिसा वा वैदेशिक अध्ययनसम्बन्धी कुनै पनि प्रक्रियामा गलत, भ्रामक वा नक्कली कागजात पेश गरेमा कानुनी कारबाही हुन सक्ने भन्दै समय–समयमा सचेत गराउँदै आएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो घटनालाई अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषयका रूपमा लिएको छ । मन्त्रालयले अनुसन्धानको निष्कर्षका आधारमा थप प्रशासनिक तथा कानुनी निर्णय लिइने पनि स्पष्ट गरेको छ ।

उत्तम भ्लोन लामा समूहबाट ६ जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) मा उत्तम भ्लोन लामा समूहको तर्फबाट विभिन्न पदका ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।  निर्वाचन समितिले बिहीबार साँझ सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीअनुसार भ्लोनको समुहबाट उपमहासचिव पदमा हिमसिला पावर कम्पनी लिमिटेडकी अध्यक्ष कविता पोखरेल निर्विरोध निर्वाचित भएकी हुन् ।  सचिवहरुमा रिडी पावर कम्पनी लिमिटेड, साझा पावर कम्पनी लिमिटेड तथा भोजपुर शिवालय हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष कुबेरमणि नेपाल, ग्रीन हाइडेल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक विजय मोहन भट्टराई, ह्वाइट लोटस पावर लिमिटेडकी कार्यकारी निर्देशक सुमन जोशी, युनियन हाइड्रोपावर लिमिटेड तथा चेन्ज नेपालकी अध्यक्ष अभिज्ञा मल्ल तथा तुन्डी पावर कम्पनी प्रालिकी उपमहाप्रबन्धक ईशा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।  सचिव पदमा सुरुमा ७ जनाको उम्मेदवारी परेको भए पनि दाबी विरोधमाथिको छानबिनपछि २ जनाको उम्मेदवारी खारेज भएको थियो । पद संख्या अनुसार कायम रहेका ५ उम्मेदवार स्वतः निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित सबै उम्मेदवार लामाको टिमका रहेका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि उत्तम भ्लोन लामा र बलराम खतिवडा प्रतिस्पर्धामा छन् । इप्पानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । उपाध्यक्ष पदमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, बिक्रम बिष्ट, भरतप्रसाद नेपाल, भरतबहादुर खत्री, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चुनावी मैदानमा छन् । सात उम्मेदवारमध्ये पाँच जना उपाध्यक्षमा निर्वाचित हुनेछन् । महासचिव पदका लागि टेकनाथ (टी.एन.) आचार्य र प्रकाशचन्द्र दुलालबीच प्रतिस्पर्धा हुनेछ भने कोषाध्यक्ष पदमा मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्याल उम्मेदवार छन् । खुलातर्फ सात सदस्य पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । महिलातर्फ तीन सदस्य चयन हुने व्यवस्था रहेकामा चार जनाको उम्मेदवारी परेको छ । खुला सदस्यतर्फ अनुप आचार्य, इन्दिरा पन्त, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, प्रदीप ओली, डा.भूषण गुरागाईं, मिलन खड्का, वर्णन लामिछाने, बाबुराम थापा, सकुन्द ओझा, सन्तोषराज नेपाल र सोमनाथ कँडेल प्रतिस्पर्धामा छन् ।  महिला सदस्यतर्फ ज्योति गैरे, प्रतिमा ज्ञवाली, सङ्गीता धमला र सिर्जना खड्का चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । इप्पानको विधानअनुसार कार्यसमितिमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, पाँच सचिव, एक कोषाध्यक्ष, सात खुला सदस्य तथा तीन महिला सदस्य रहने व्यवस्था छ ।  इप्पानको २४औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन शुक्रबार (जेठ २९ गते) आयोजना हुँदैछ ।

सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेता

काठमाडौं । सोफिया तामाङले टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि जितेकी छन् । काठमाडौंस्थित नेपाल पुलिस क्लब हल, भृकुटीमण्डपमा आयोजित ग्राण्ड फिनाले कार्यक्रममा उनले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भएकी हुन् । प्रतियोगिताको अन्तिम चरणमा पुगेका ६ जना प्रतिस्पर्धीबीच विभिन्न सूचना प्रविधि (आईटी) सम्बन्धी चुनौतीपूर्ण कार्यहरूमा आधारित प्रतिस्पर्धा भएको थियो । ती प्रतिस्पर्धामध्ये उत्कृष्ट प्रदर्शनका आधारमा सोफिया तामाङ विजेता घोषित भएकी हुन्। प्रतियोगितामा प्रार्थना मिश्रा प्रथम उपविजेता तथा बिबेक अधिकारी द्वितीय उपविजेता घोषित भए । विजेता सोफिया तामाङले नगद १ लाख रुपैयाँसहित अष्ट्रेलियन मापदण्डअनुसारको रोजगारी सुनिश्चित गर्ने अवसर प्राप्त गरिन् ।  त्यस्तै, प्रथम उपविजेता प्रार्थना मिश्राले नगद ५० हजार रुपैयाँसहित अष्ट्रेलियन मापदण्डअनुसारको रोजगारी सुनिश्चित गर्ने अवसर प्राप्त गरिन् । कार्यक्रमका प्रमुख अतिथि रायन ओ कोनेलले नेपाली युवाहरूमा बढ्दो सूचना प्रविधि प्रतिभा र अन्तर्राष्ट्रियस्तरको सीप विकासको आवश्यकताबारे धारणा राखेका थिए । उनले विश्वव्यापी प्रतिस्पर्धामा सफल हुन प्राविधिक दक्षता र व्यावसायिक सीपको महत्त्व बढ्दै गएको उल्लेख गरे । विशेष अतिथि रञ्जन राजाले साइबर सुरक्षा तथा डिजिटल सचेतनाको महत्त्वबारे प्रकाश पार्दै डिजिटल युगमा सुरक्षित प्रविधि प्रयोगको आवश्यकता औंल्याए । ग्राण्ड फिनालेमा विजेता तथा उत्कृष्ट प्रतिस्पर्धीहरूलाई पुरस्कार, प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो । कार्यक्रमले नेपाली युवाहरूलाई विश्वस्तरीय सूचना प्रविधि सीप विकास, करियर निर्माण तथा अन्तर्राष्ट्रिय रोजगारीको तयारीतर्फ प्रेरित गर्ने प्रभावकारी मञ्चका रूपमा आफ्नो छाप छोड्न सफल भएको आयोजकले जनाएको छ ।