कोष व्यवस्थापनले ५ % लाभांश बाँड्ने, सातौं वार्षिक साधारणसभा पुस ९ गते
काठमाडौं । कोष व्यवस्थापन कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले सातौं वार्षिक साधारणसभा पुस ९ गते काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
गण्डकीमा ६० अर्ब लगानीमा सडक स्तरोन्नति
काठमाडौं । गण्डकी प्रदेश सरकारले ६० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर १ हजार ३ सय किलोमिटर सडक स्तरोन्नति गरेको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत विसं २०७४ देखि हालसम्म १ हजार ३०२ किलोमिटर सडक स्तरोन्नति भएको छ । मन्त्रालयअन्तर्गत पूूर्वाधार विकास निर्देशनालयका निर्देशक डा.महेन्द्र बानियाले ५९९ किलोमिटर सडक ग्राभेल र ६६८ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिए । सडक, मोटरेबल पुुल, भवन र झोलुुङ्गे पुुल निर्माणका लागि८३ अर्ब ५२ करोड ९ लाख ७१ हजार रुपैयाँ लगानी भएकामा सडक स्तरोन्नतिमा ६० अर्ब ५९ करोड ९ लाख रुपैयाँ खर्च भएको निर्देशक बानियाले बताए । “प्रतिवर्ष २१७ किलोमिटरका दरले सडक स्तरोन्नति र १४ वटाका दरले मोटरेबल पुल निर्माण भएका छन्, सडक दुुर्घटनामा कमी आएको, प्रत्यक्ष रोजगारी सिर्जना भएको, बसाइँ सराईमा कमी आएको, सहरबाट गाउँ फर्काउने अभियान सुरु भएको तथा पर्यटन आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धनमा सहयोग पुुगेको छ,” बानियाले भने । चालुु आर्थिक वर्षमा मन्त्रालयका १ हजार ४६४ वटा योजना रहेका छन् । ११६ वटाको ठेक्का सम्झौता, २८१ वटाको बोलपत्र आह्वान, ४०८ वटाको लागत अनुुमान तयार र बहुुवर्षीय ठेक्का लगाउने ४१ वटा योजनाको स्रोत सुनिश्चितता गरिएको मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले जानकारी दिए । सचिव पण्डितका अनुुसार थप ६० वटा योजनाको बहुुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितताको तयारी भएको छ । चालुु आर्थिक वर्ष २०८०/८१ का लागि १२ अर्ब ८ करोड ९९ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा मङ्सिर १५ गतेसम्म ८.११ प्रतिशत अथवा ९८ करोड ९ लाख ३ हजार रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा मन्त्रालयले १७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो । यस वर्ष थप ३ सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । प्रदेश सरकारको कूल २० अर्ब रुपैयाँ पूँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले लक्ष्यअनुुसार बजेट र योजना कार्यान्वयन गर्न ११ वटै जिल्लाका पूूर्वाधार विकास कार्यालयलाई निर्देशन गरिएको बताए । “यसवर्ष योजनाको सङ्ख्या एक हजार आठ सयबाट घटाएर चौध सयको हाराहारीमा झारेका छौँ । भौतिक, अर्थ र मुुख्यमन्त्री कार्यालयबीच प्रभावकारी समन्वय भएको छ, जनशक्ति व्यवस्थापन र समन्वयको जिम्मेवारी मन्त्रालयले लिन्छ । गलत नियतले बजेट र योजना कार्यान्वयन प्रभावित बनाउने गतिविधि सह्य हुँदैन,” मन्त्रीले भने ।
उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा मङ्सिर १९ र २० गते हुने छ । सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन् । सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापनालाई सहयोग पुर्याउन सक्ने विभिन्न ९ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने जनाइएको छ । उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नुका साथै प्रतिबद्धता पनि व्यक्त गर्ने कार्यक्रम छ भने नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिने छन् । सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट गर्ने छन् भने अन्य राष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरुसँग भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल हुने कार्यक्रम छ । सम्मेलनमार्फत नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पुर्याएको योगदानबारे चर्चा हुने र नेपालको छवी थप उच्च हुने अपेक्षा गरिएको छ । नेपालका उपप्रधानमन्त्री स्तरको नेतृत्वमा हुने सहभागितालाई संयुक्त राष्ट्र सङ्घले उच्च महत्व दिँदै सदस्य राष्ट्रका तर्फबाट वक्ताका रुपमा सहभागी गराउने गरी कार्यक्रम तय भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।
एनआईसी एशिया ग्रोथ फण्ड २ मा आवेदन भर्ने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज मंसिर १८ गते अन्तिम दिन रहेको छ । मंसिर ४ गतेदेखि निष्काशन गरेको क्यापिटलको म्युचुअल फण्डमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्ने छन् । क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड–२ बिक्री खुला गरेको हो । ७ वर्ष अवधि रहेको फण्ड बन्दमुखी योजना हो । क्यापिटलले अंकित मूल्य प्रतिइकाई १० रुपैयाँका दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरुलाई बिक्री गरिएको हो । क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । यस फण्डमा लगानीकर्ताहरुले सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
हिमालयन रिको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज मंसिर १८ गते अन्तिम दिन रहेको छ । मंसिर ४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ३० लाख कित्ता, कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषलाई १५ लाख कित्ता सेयर बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ
काठमाडौं । नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न प्रलोभन देखाएर यौन व्यवसाय सञ्चालन गरेकामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए ।
नेपालगञ्जबाट रारा उडेको विमान ग्राउन्डेड
काठमाडौं । नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान ग्राउन्डेड भएको छ । ३ जना यात्रु र विमान चालक सहितको टोली बोकेर आइतबार बिहान ११ बजे नेपाल एयरलाइन्सको नाइन एनएबियु कलसाइन रारा विमानस्थल पुगेको थियो । उक्त विमान १३ जना यात्रु लिएर नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड भएको हो । जहाजमा समस्या आएपछि तत्कालै नेपालगञ्जबाट इन्जिनियर झिकाई चेक गर्दा जहाजको ब्याट्रीमा समस्या देखिएकाले थियो । नेपालगञ्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज सोमबार नेपालगञ्जका लागि उड्ने नेपाल एयरलाइन्स रारा स्टेसन इञ्चार्ज नेत्र भामले जानकारी दिए । नेपालगञ्जका लागि नेपाल एअरलायन्सको टिकट लिएका यात्रुहरू ताल्चाका होटेलहरूमा आज बास बसेका छन् ।
नेपालको जताततै प्रशंसा भयो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताएका छन् । कोप २८ मा सहभागी भई स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस पटक नेपालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरिएको बताएका हुन् । जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेकाले त्यसबापतको क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाललाई प्राथमिकता प्राप्त देशको सूचीमा समावेश गरिएको आफूलाई जानकारी दिनुभएको प्रधानमन्त्रीले बताए । जलवायु वित्तमा नेपाल प्राथमिकता प्राप्त देशको सूचीमा परेकाले आर्थिक एवम् प्राविधिक सहयोग प्राप्तिमा वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनका मुद्दालाई यस पटक नेपालका तर्फबाट सघन रुपमा प्रस्तुत गरिएको बताए । महासचिव गुटेरेसको नेपाल भ्रमणपछि जलवायु मुद्दामा नेपालको आवाज प्रभावकारी बनेको उनको भनाइ छ । सम्मेलनका क्रममा नेपालको आफ्नै नेपालमण्डपसमेत पहिलोपटक राखिएको र जलवायु परिवर्तनका सन्दर्भमा स्पष्ट दृष्टिकोणका साथ छलफलको आयोजना गरिएको प्रधानमन्त्रीले जानकारी दिए । नेपाली मण्डपमा यस क्षेत्रका जानकार, सञ्चारकर्मी र सरोकारवालाले मेहनतका साथ आफ्ना विषय प्रस्तुत गरेका उनको भनाइ छ । कोप–२८ मा नेपालले आफ्नो अधिकारको विषयमा प्रस्ट दृष्टिकोणका साथ आफ्ना धारणा राखेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, “नेपालको जताततै प्रशंसा भयो । यो समान्य छैन ।” हिमाल, पहाड र नेपाल भनेर नै सूत्रबद्ध रुपमा चर्चा भएको बताउँदै प्रधानमन्त्रीले सम्मेलन सफल भएको उल्लेख गरे । सम्मेलनमा सहभागी क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सङ्क्षिप्त कुराकानीभएको जानकारी दिँदै प्रधानमन्त्रीले जाजरकोट भूकम्पपछिको राहत, उद्धार तथा पुनः स्थापनामा सघाउन पाएकामा भारतीय प्रधानमन्त्रीले हर्ष प्रकट गर्दै भविष्यमा पनि पारस्परिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । पृथक प्रसङ्गमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको कुनै सम्भावना नरहेको स्पष्ट गरे । वर्तमान सरकार गठन भएदेखि नै त्यसको चर्चा चलेका भन्दै उनले त्यसमा कुनै सत्यता नभएको बताए ।