विकासन्युज

उच्च लाभांश घोषणा गरेको तारागाउँ रिजेन्सीको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले होटल्ससँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । होटल्सले बोनस सेयर जारी गर्ने निर्णय नेप्सेलाई ढिला जानकारी गराएको भन्दै नेप्सेले कारवाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो । कम्पनीको मंसिर १६ गते बसेको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत लाभांश जारी गर्ने निर्णय गरेको थियो । जसको जानकारी नेप्सेलाई मंसिर १७ गते बेलुका मात्रै उपलब्ध गराएको नेप्सेले जनाएको छ । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर तारागाउँ रिजेन्सीले त्यसको विपरित काम गरेको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरेको हो । साथै, यस विषयमा के भएको हो ? के कारणले समयमा नै जानकारी दिन नसकेको हो ? भन्दै यसमा नेप्सेले यसको स्पष्टिकरण माग गरेको छ । जसको लागि तीन कार्यदिनको समय दिइएको छ । यससँगै कम्पनीले मंसिर २० गते बुधबारभित्रमा नेप्सेलाई स्पष्टिकरण दिइसक्नु पर्ने हुन्छ । तारागाउँ रिजेन्सीको हालसम्मकै उच्च लाभांश घोषणा, नगद ११ प्रतिशत

सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड, एक लाख २१ हजार ६ सयमा कारोबार

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा सोमबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्यको रेकर्ड ब्रेक गर्दै सोमबार सुनको मूल्यले नयाँ इतिहास रचेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य बढेर प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छ । साथै, सोमबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १५ सय ४५ रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

विदेशमा पढेर नेपालमै भविष्य देखेका सिद्धार्थ, सफ्टवेरिका कलेजमार्फत् गर्दैछन् आईटीमा क्रान्ति

पछिल्लो समयमा प्रतिवर्ष झण्डै डेढ लाखभन्दा बढी नेपाली विद्यार्थीले देश छाड्ने गरेका छन् । देशमा केही हुन सकेन र हुँदैन भन्ने भाष्यले धेरैलाई चिन्तित बनाउँदै लगेको देखिन्छ । निराशाको कारणले नै विभिन्न तरिका अपनाएर धेरै नेपालीहरुले देश छाड्न खोजिरहेका छन्, यसैको डरलाग्दो चित्र दैनिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हामी जो सुकैले देख्न सक्छौं । तर, सबै नयाँ पुस्ताका युवाहरूलाई भने त्यस्तो लाग्दैन । यसैको एउटा उदाहरण हुन् सफ्टवेरिका कलेज बिएसी कम्प्युटर साइन्स एआईका विभागीय प्रमुख सिद्धार्थ न्यौपाने । उनले सन् २०२१ मा रसियाको विश्वविद्यालयबाट मास्टर्स इन डाटा साइन्समा स्नातकोत्तर पूरा गरे । पढ्दै गर्दा र पढाइ पूरा गरेपछि पनि विश्वका धेरै ठाउँमा आकर्षक सेवा सुविधामा काम गर्ने अवसर आएको थियो उनलाई । तर, काम गर्ने र पैसा कमाउने विषयलाई मात्रै उनले महत्वपूर्ण बनाएनन् । आईटीको क्षेत्रमा नेपालमा पनि राम्रो सम्भावना भएको र सामाजिकीकरणको लागि आफू देश फर्किएको उनको भनाइ छ । विराटनगरमा जन्मिए पनि सिद्धार्थले विद्यालयदेखि स्नातक तहसम्मको शिक्षा काठमाडौंमा नै पूरा गरे । स्कुल पढ्दै गर्दा उनका आमाबुवा दुवै जना शिक्षक पेसामा आवद्ध थिए । ‘पहिला मेरो आमाबुवा दुवैजनाले काठमाडौंमा नै पढाउने काम गर्नुहुन्थ्यो, जसले गर्दा मैले यहीँ नै स्कुलदेखि स्नातकसम्म पढेँ,’  सिद्धार्थले भने । उनले ग्रामर पब्लिक हाइयर सेकेन्डरी स्कुलबाट एसएलसी, पेन्टागन कलेजबाट प्लस टु र सफ्टवेरिका कलेजबाट स्नातक तहको पढाइ पुरा गरेका हुन् । पढाइकै क्रममा उनले आफ्नो विषयसँग सम्बन्धित डाटा साइन्स र कतिपय अवस्थामा पढाउने काम पनि गरेको सुनाउँछन् । ‘मैले सफ्टवेरिकामा पढ्दा नै डाटा साइन्ससँग सम्बन्धित कतिपय काम गर्थेँ भने कहिलेकाहीँ पढाउने पनि गर्थेँ,’ उनले भने । सन् २०१७ मा डाटा साइन्समा स्नातक तह उत्तिर्ण गरेपछि भने सिद्धार्थले प्रतिष्ठित विदेशी विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गर्ने सोच बनाए । सोही अनुसार उनले अमेरिका, नर्वे र रसियाका विश्वविद्यालयमा छात्रवृत्तिको लागि आवेदन दिए । उनको अमेरिका र रसिया दुवै ठाउँमा नाम निस्कियो । बुवाको सल्लाह र आफ्नो पनि इच्छाअनुसार पूर्ण छात्रवृत्तिमा मास्टर्स इन डाटा साइन्स अध्ययन गर्न गएको उनी बताउँछन् । डाटा साइन्स अन्तर्गत पनि सिद्दार्थले बिग डाटा र एआईको विषयमा स्नातकोत्तर उत्तिर्ण गरेका छन् । स्नातक तह फस्र्ट क्लास अनर्सको रुपमा पूरा गरेका सिद्दार्थले रसियाबाट स्नातकोत्तर पनि सोही तहमा उत्तिर्ण गर्न सफल भएको बताएका छन् । ‘मैले सफ्टवेरिकाबाट ब्याचलर तह फर्ष्ट क्लास अनर्समा नै उत्तिर्ण गरेँ, त्यहाँ ब्लू सर्टिफिकेट भन्ने हुन्छ, अर्को रेड सर्टिफिकेट भन्ने हुन्छ, रेड सर्टिफिकेट भनेको हाइएस्ट अनर्स भन्ने हुन्छ, मेरो त्यहाँ पनि हाइएस्ट अनर्स नै हो ।’ रसियामा पढ्नको लागि अंग्रेजी वा रसियन भाषामध्ये एउटा भाषा जान्नुपर्ने हुन्छ । सिद्दार्थले भने आइएलटिस पास गरेर अंग्रजी भाषामा नै स्नातकोत्तर पढे । उनका अनुसार उनले पढेको विश्वविद्यालयमा ‘बिजनेस, आईटी, इन्जिनियरिङ र म्याथम्याटिक्स’ सम्बन्धी मात्रै पढाइ हुन्थ्यो । रसियामा धेरै नेपालीहरू भएपनि उनले पढेको विश्वविद्यालयमा भने २/४ जना मात्रै नेपालीले पढ्ने गरेको उनी बताउँछन् । तर, उनले पढ्ने विषयमा भने कोही नेपाली थिएनन् । रसिया गएको एक दुई महिना सिद्धार्थलाई रसिया बुझ्न नै समय लाग्यो । त्यसैबीचमा उनले केही साथी पनि बनाए, जसमध्ये एकजना रसियन थिए । ती साथीले पिक्सआर्ट भन्ने कम्पनीमा काम गर्थे । तिनैको सहयोगमा सिद्धार्थले पनि पिक्सआर्टको सिस्टर कम्पनी ‘एलएलसी पाक प्रोजेक्ट’मा काम गर्ने अवसर मिल्यो । काम पनि उनले आफैँले जानेको भाषामा गर्न पाएको र सजिलो भएको सुनाउँछन् । पूर्ण छात्रवृत्तिमा गएकोले विश्वविद्यालयमा पढेको शुल्क त लाग्दैनथ्यो । तर, सो बाहेक रसिया बस्दा लाग्ने खर्च भने त्यसपछि सिद्धार्थ आँफैले काम गरेर कमाउन सुरु गरे । रसियामा स्नातक तह पढ्न जानेले पनि हप्तामा २० घण्टा काम गर्न पाइन्छ । स्नातकोत्तरको लागि जानेलाई भने काममा रोकावट नभएको आफूले पाएको सिद्धार्थको भनाइ छ । सिद्धार्थले बिहानमा काम गर्ने र साँझमा पढ्न थाले । ‘मेरो क्लास सधैँ साँझको ६ बजेदेखि ९ बजेसम्म हुन्थ्यो, त्यसैले मैले बिहान ९ देखि ५ बजेसम्म काम नै गर्थेँ,’ उनले भने । नेपाल नै फर्किने थियो विचार अमेरिका छाडेर रसिया पढ्न जाँदा नै सिद्धार्थको पढेपछि नेपाल फर्कनुपर्छ भन्ने विचार थियो । त्यसैले आफूले पढाइ सक्ने वित्तिकै राम्रा जागिरका सम्भावनाहरू आउँदा आउँदै पनि नेपाल आएको उनी बताउँछन् । ‘म त्यहाँ शिक्षालाई नै प्राथमिकता दिन्छु र नेपाल आउँछु भन्ने सोचेर नै गएको थिएँ, मैले यहाँबाट अप्लाई गर्दाखेरि अमेरिका र नर्वे पनि अप्लाई गरेको थिएँ, तर मलाई रसियाले अवसर दिएपछि अन्यत्र जान मन लागेन, किनभने मेरो बाबाको च्वाइस पनि रसिया नै थियो’, उनले भने । नेपाल फर्किएपछि सुरुमा सिद्धार्थलाई आफैँले कुनै व्यवसाय गर्ने भन्ने पनि लागेको थियो । तर, उनले तत्काल कुनै व्यवसाय पनि सुरु गरिसकेका थिएनन् । स्नातक तह पढ्दा राम्रो विद्यार्थीमध्ये पर्ने र रसियाबाट एआईमा स्नातकोत्तर उत्तिर्ण गरेर फर्किएको थाहा पाएपछि सफ्टवेरिका कलेजका शिक्षकहरुले नै बोलाए उनलाई । ‘कलेजले नयाँ प्ल्याटफर्म एआई आउने भएपछि मलाई अवसर दियो, मैले केही समय सिनियर लेक्चरको रुपमा काम गरेँ, अहिले भने कलेजले मलाई बिएस्सी कम्प्युटर साइन्स विथ एआई विभागको प्रमुखको जिम्मेवारी दिएको छ’, उनले भने, ‘त्यसको लागि मैले उहाँहरुलाई धन्यवाद दिन्छु ।’ आफूले विगतमा डेभलपरको काम गरेको र अहिले डाटा एनालाइसिसको क्षेत्रमा काम गर्न लागेको उनी बताउँछन् । कक्षा १२ देखि नै आईटी क्षेत्रमा काम गर्दा उनलाई आफू कम सामाजिक भएको अनुभूति हुँदै गएको थियो । त्यसमा पनि विदेशमा काम गर्दा नेपाली समाजबाट कटिने डरले उनी नेपालमा नै बसेर काम गर्ने निर्णयमा आफू पुगेको सुनाउँछन् । ‘काम गर्दैगर्दा म सामाजिक भइरहेको छैन जस्तो लाग्यो, मलाई अलिकति सामाजिक पनि हुन मन लाग्यो, त्यो मात्रै होइन मलाई पहिलादेखि पनि पढाउने इच्छा थियो’, सिद्धार्थ भन्छन्, ‘मैले धेरै अवसर पाएको थिएँ तर, ती अवसर क्षमता भएपछि पछि पनि पाउन सकिन्छ भन्ने सोचेर अहिले म यो फिल्डमा छु, मलाई ठिकै पनि लागिरहेको छ ।’ नेपालमा काम गरिरहेका अधिकांश आईटी कम्पनीहरुले विदेशी कम्पनीहरुबाट नै काम पाउने गरेको र नेपालमा नै बसेर नै ती कामहरु गर्न सकिने अवस्था रहेको उनी बताउँछन् । ‘नेपालका अधिकांश आइटी कम्पनीहरूले विदेशबाट नै काम ल्याउने गरेका हुन्छन्, यहीँ बसेर पढेर पनि विदेशका काम गर्न सकिन्छ’, उनले भने, ‘जस्तैः वेव पेज डिजाइन, मसिन लर्निङ, एप्लिकेसन बनाउने लगायत सबै प्रोजेक्टमा काम गर्न सकिन्छ ।’ नेपालीहरूको विशेषता ह्युमन रिसोर्सको हिसाबले क्षमतावान भएको सिद्दार्थको बुझाइ छ । नेपाली विद्यार्थीहरु प्रोग्रामिङ र आईटी फिल्डमा ट्यालेन्ट हुने गरेको उनी बताउँछन् । उनले नेपालीहरूले दिएको काम पूरा गर्ने भएकाले नेपालमा आईटी फिल्डको लागि राम्रो सम्भावना देखिएको बताए । सफ्टवेरिकामा पढ्ने तरिकामा पनि नेटवर्किङमा रहेर सिक्ने र सिकाउने तरिका अवलम्बन गरिएको भन्दै सिद्धार्थले त्यसैका कारण पनि कलेजमा पढ्ने विद्यार्थीको थप आकर्षण भएको बताउँछन् । बेलायतको कन्भेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भएको सो कलेजमा पढ्ने विद्यार्थीहरु विश्वविद्यालयले सञ्चालन गरेको ‘कोइल’ भन्ने प्ल्याटफर्ममा आबद्ध भएर विश्वभरीका विद्यार्थीहरुले गरिरहेको अनुसन्धानमा सहभागी हुन पाउँछन् । जसले गर्दा विद्यार्थीको आफ्नो विषयमा थप अध्ययन तथा अनुसन्धान गर्ने क्षमतामा वृद्धि हुने सिद्धार्थको भनाइ छ । नेपालका विश्वविद्यालयले भने अहिलेको समयमा पनि यस्तो अभ्यास गर्न ढिलाई गरेको भन्दै सो अभ्यास गर्नुपर्ने उनको सुझाव छ । विश्वविद्यालयसँग सम्बन्धित सबै कलेज र त्यहाँ पढ्ने विद्यार्थीलाई नेटवर्किङमा राखेर पढाउन र अनुसन्धान गर्न सकिने उनको भनाइ छ । साथै त्यसो गर्दा व्यक्तिगत सञ्जाल विस्तार हुने र अनुसन्धानमा सहयोग हुँदा निष्कर्ष निकाल्न सजिलो हुने सिद्धार्थको बुझाइ छ । उनका अनुसार आईटीको विषय दिनप्रतिदिन अद्यावधिक भएर पढ्ने पढाउने र व्यवहारमा कसरी लागू गर्ने भन्ने विषय हो । सफ्टवेरिकाले विद्यार्थीलाई उद्यममा कसरी सिकेको विषय लागू गर्न सकिन्छ भनेर सैद्धान्तिक र प्रयोगात्मक रुपमा अध्यापन गराउने गरेको सिद्धार्थ बताउँछन् । सफ्टवेरिकाले आइटी, एआई, डाटा लगायतका विषयमा अन्तर्राष्ट्रिय स्तरको आकर्षक एवं आधुनिक ल्याबहरु पनि निर्माण गरिरहेको छ । साथै, पछिल्लो समयमा नेपालमा आईटी अध्ययन गर्ने र काम गर्ने दुवै वातावरण राम्रो भएको भन्दै सिद्धार्थले भन्छन्, ‘कतिपय अवस्थामा वातावरण गराउन आफ्नो पनि भूमिका हुनुपर्छ, सधैँ कम्फर्ट जोनमा बसिरहेर पनि त वातावरण राम्रो बन्दैन नी’, उनी भन्छन्, ‘कन्फर्ट जोनको लागि बाहिर नै जाने भन्ने हैन, नेपालमा नै कन्फर्ट जोन निर्माण गर्न सकिन्छ नी ।’ उनले आईटी क्षेत्रमा नेपालमा बसेर पढ्न र पैसा कमाउन पनि सजिलो रहेको भन्दै कलेजले पनि करिअरको लागि सहजीकरण गर्ने अभ्यास गरेको बताउँछन् । जसले गर्दा नेपालमा बस्न चाहने विद्यार्थीहरूले आफ्नो मार्ग भेटाउन सहयोग पुगेको छ । साथै सिद्धार्थका अनुसार विद्यार्थीहरू विश्वका उत्कृष्ट कलेजमा छात्रवृत्ति तथा अन्य उच्च अवसरका लागि पनि कलेजले सूचनाको सहजीकरण गर्ने गर्छ । नेपाल विकासोन्मुख देश भएको र सम्पूर्ण विश्व नै विज्ञान तथा सूचना प्रविधिमा अगाडि बढीरहेको अवस्थामा नेपालमा पनि सो विषयको ठूलो सम्भावना भएको सिद्धार्थको बुझाइ छ । तर, त्यसको लागि सरकारले पनि केही सहजीकरण गरिदिएमा आईटी क्षेत्रमा नयाँ पुस्ताले धेरै गर्न सक्ने उनको तर्क छ ।

२५ करोड लगानीमा जनकपुरमा खुल्यो बेलाको दोस्रो सोरुम

जनकपुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा उपाध्यक्ष अब्दुल बासिदले ‘बेलाको’ नामक ब्राण्डको होम अप्लायन्सको नयाँ शाखा जनकपुरमा विस्तार गरेका छन् । जनकपुरमा शनिबार आयोजित एक समारोहका बीच सोरुमको उद्घाटन गरिएको हो । कतार र बेलायतमा परिचित सो ब्राण्डको शाखा नेपालमा काठमाडौंपछिको दोस्रो सोरुम भएको बताइएको छ । सोरुमको उद्घाटन कांग्रेसका नेता विमलेन्द्र निधिले रिबन काटेर गरे । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री वितरण सुरु भएको बेलाको होम अप्लायन्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अब्दुल बासिदले जानकारी दिए । होम अप्लायन्सेसले जनकपुरमा नयाँ शाखा विस्तार गरेर मधेसका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालनी गरेको उनको भनाइ छ । ‘आज हामीले नयाँ शाखा उद्घाटन मात्र गरेका छैनौँ, मधेसका बासिन्दाहरुसँग जोडिन गइरहेका छौँ’, उनले भने, ‘समुदायहरूलाई जोड्ने पुलको काम बेलाको ब्राण्डले गर्दैछ । तपाईंहरुको ढोकाढोकामा पुगिरहेका छौँ ।’ सिईओ बसिदले बेलाको होम अप्लायन्सेस एउटा ब्रान्ड मात्र नभएर एउटा सबैको मनमुटुमा बस्ने प्रोडक्ट भएको दावी गरे । ‘बेलाको ब्राण्ड प्रयोग गर्ने हरेक परिवारका सदस्यले हाम्रा सामाग्रीमा उत्कृष्टता, गुणस्तर र नवीनताको अनुभूति गर्ने छन् । सही सामग्री खरिद गरेकोमा उहाँहरूलाई गौरवानुभूति हुने छ,’ उनले भने । जनकपुरमा पाइला चाल्दा आफूहरू विश्वसनीयताको विरासत र भविष्यको लागि एउटा भिजन बोकेर आएको उनले बताए ।  देशमा केही गर्नैपर्छ भन्ने हुटहुटीलाई आफ्नो मातापिताले हौसला दिँदा आफू गृहनगरमै बेलाको दोस्रो सोरुम स्थापना गर्न सफल भएको उनले बताए । उनले बेला ब्राण्डको निकट भविष्यमा नेपालमा उत्पादन गर्नेसम्मको तयारी आफूले गरेको भन्दै आफू ब्राण्ड प्रोमोसनमा मात्रै नेपाल आएको ेनभई युवाहरुलाई हौसता दिन पनि आएको बताए । नेपालमा लगानीको वातावरण नभएपनि देशभित्रै केही गर्न सकिन्छ भन्ने सन्देश युवाहरुलाई प्रवाह गर्न चाहेको उनको भनाइ छ । उनले नेपालमा विदेशी लगानी भित्र्याउन अझै पनि समस्या रहेको धारणा राख्दै यसमा सुधारको जरुरी रहेको धारणा समेत राखे । यस्तै कार्यक्रममा गैरआवासीय नेपाली संघको युरोप संयोजक चिन्तामणि सापकोटाले जस्तो सुकै परिस्थितिमा पनि एनआरएनएले देशको हितमा मात्रै सोच्ने धारणा राख्दै सोहीअनुसार लगानी पनि भित्र्याइरहेको धारणा राखे । नेपालमा ढुंगामुढा गर्ने राजनीतिक दलले भन्दा विदेशमा भाँडा माझ्ने गैरआवासीय नेपालीलाई देशका माया हुने पनि उनले धारणा राखे । सो क्रममा अब्दुल वासिदको नेपालमा लगानी आम युवाहरुलाई एक शिक्षा भएको धारणा राखे । कार्यक्रममा कांग्रेस नेता निधिले नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई आग्रह गरे । उनले बासिदले गरेको लगानी नेपालमा उदाहरणीय भएको धारणा राख्दै नेपालमा रोजगारीको सिर्जना गर्दै आर्थिक समृद्धिमा लाग्नुपर्नेमा धारणा राखे । बेलाकाेका कन्ट्री हेड लक्ष्मण सापकोटाले बेलाको ब्राण्डमा ४३ थरीका सामानहरु उपलब्ध रहेको बताए । उनले सामग्री टिकाउ र भरपर्दो रहेको भन्दै ढुक्क भएर खरिद गर्न आग्रह गरे । बासिदले नेपालमा करिब २५ करोडको लगानी बेलाकोमा गरेको बताइएको छ । उनको कम्पनीमा करिब ४५० कार्यरत रहेका छन्  । बेलाको ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत र कतारमा निकै लोकप्रिय छन् । दुई मुलुकको लोकप्रियताले हौसिएर आफ्नै देशमा बेलाका उपकरणहरु उपलब्ध गराउन थालेको प्रमुख कार्यकारी अधिकृत बासिदले बताए । बेलाको टेलिभिजन, रेफ्रिजेरेटर, एयर कन्डिसनर, पेष्ट फ्रिजर, गिजर, हिटरलगायतका घरायसी प्रयागका सामग्री उत्पादन गर्दै आएको छ । बेलाको ब्राण्ड प्रवर्धनका लागि ब्राण्ड एम्बसहरमा प्रदीप खड्का रहेकाको अध्यक्ष हाजी मोहम्मद इस्राइलले जानकारी दिए ।

तारागाउँ रिजेन्सीको हालसम्मकै उच्च लाभांश घोषणा, नगद ११ प्रतिशत

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले हालसम्मकै उच्च लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव बिक्रम थापाले बताए । यसअघि आर्थिक वर्ष २०७८÷७९मा कम्पनीले सेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कानुन निर्माणमा केन्द्रीकृत मानसिकता नै बाधक छ : नेत्री पोखरेल

काठमाडौं । राष्ट्रियसभा सदस्य विना पोखरेल कतिपय राजनीतिक नेतृत्वको केन्द्रीकृत मानसिकताले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि तत्कालै आवश्यक पर्ने कानुन निर्माणमा अवरोध सिर्जना गरिरहेको तर्क गर्छिन् । संघ, प्रदेश र स्थानीय तहको एकल अधिकारका सूचीमा रहेका प्रदेश प्रहरी र ऐनलाई अघि बढाउन केन्द्रीय सोच नै मुख्य बाधक रहेको जनाउँदै उनी त्यसले छिटो र सहजरूपमा कानुन बनाउन अवरोध खडा गरेको आरोप लगाउँछिन् । नेत्री पोखरेलले भनिन्, ‘साझा अधिकारका विषयमा पनि तानातान गर्ने प्रवृत्तिले कानुन बनाउन चुनौती रहेको महसुस गरेकी छु।’ आफ्नो संसदीय यात्रा नयाँ भएकाले सुरुआती दिनमा केही असहज भए पनि अभ्यास र अनुभवका आधारमा कार्यकालको पहिलो दुई वर्ष कानुन निर्माणका हिसाबले निकै प्रभावकारी रहेको जिकिर उनले गरिन् । नेकपा (माओवादी केन्द्र) की नेत्री पोखरेलका अनुसार छ वर्षका अवधिमा दर्ता भएका ५७ मध्ये राष्ट्रियसभाबाट २८ विधेयक पारित भई प्रमाणीकरण भएको, दुई विधायन समितिमा विचाराधीन रहेको तथा प्रतिनिधिसभामा सन्देशसहित गएका १० मध्ये पाँच निष्क्रिय भए । उनले राष्ट्रियसभामा दर्ता भएको प्रत्यायोजित व्यवस्थापनसम्बन्धी विधेयकमाथि छलफल गरी समृद्ध तुल्याउँदै आगामी बैठकबाट यथाशीघ्र पारित गरिएमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिन् । राष्ट्रियसभा र मातहतका समितिले कानुन निर्माणमा दलभन्दा माथि उठेर पक्ष र विपक्ष नभनी एकजुट भई काम गरेको अनुभव सुनाउँदै सदस्य पोखरेलले अझै पनि कतिपयमा विसं २०१३ को ऐनकै आधारमा काम गर्ने सोच देखिएको विचार प्रकट गरिन् । अहिले बनेका ऐन कार्यान्वयन गर्न आवश्यकतानुरूप तत्कालै कार्यविधि, निर्देशिका, मापदण्ड र विनियम बनाउन आवश्यक रहेको बताउँदै उनले ऐनमै त्यस्ता विषय निश्चित मितिमा बनाई लागू गर्ने भनी किटानी हुनुपर्ने औंल्याइन् । देश विकास र आर्थिक समृद्धिका बाटामा लम्किरहेका बेला कोरोना र भूकम्पले थिलथिलो र अस्तव्यस्त बनाएको प्रसंग ल्याउँदै नेत्री पोखरेलले राज्यले प्रतिनिधिसभाका समानुपातिक र राष्ट्रियसभा सदस्यलाई जनताका सम्पर्कबाट टाढा राखेको भनी गुनासो गरिन् । प्रतिनिधिसभा अवरुद्ध हुँदा राष्ट्रियसभा प्रभावित हुन नहुने जनाउँदै उनले राज्यका महत्त्वपूर्ण सवालमा भने सिंगाे सभा पक्ष-विपक्ष नभई एक ढिक्का भएर प्रस्तुत भएको धेरै उदाहरण प्रस्तुत गरिन् । देश र जनहितका विषय तथा मौलिक अधिकार कार्यान्वयनका निम्ति सभाले सधैं एकाकार भएर निर्णय गरेको बताउँदै नेत्री पोखरेलले राजनीतिक परिवर्तनका सहयात्री दल आरोपप्रत्यारोपमा उत्रनु शोभनीय नहुने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘परिवर्तनकारी शक्तिबिच बेलाबखत देखिने बेमेल र कतिपय नेतामा देखिएको केन्द्रीकृत मानसिकताले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई कमजोर तुल्याउन कोसिस भएको देखिन्छ।’ उनका अनुसार समितिले प्रारम्भिक दुई वर्ष निकै तीव्र गतिमा काम गरेको थियो । कामकारबाही चुस्त र दुरुस्त तुल्याउन उपसमितिसमेत गठन गरी काम बाँडफाँट गरियो। सरकारले नीति तथा कार्यक्रम, बजेट वक्तव्य, विधेयकमाथि सैद्धान्तक छलफलका क्रममा दिएका आश्वासन पूरा भए नभएका बारे समितिले गहन अध्ययन गरेको छ । राष्ट्रियसभा मुलुककै गहना र कानुन निर्माणको एक खम्बा भएको बताउँदै नेत्री पोखरेलले लामो समयसम्म सभापतिविहीन अवस्था र त्यसपछि कोरोना सङ्क्रमणले हलचल गर्न नदिँदा थप उपलब्धि हुन नसकेको स्पष्ट गरिन्। समितिले दिएका निर्देशन तथा सरकारले औपचारिक रूपमा व्यक्त गरेको प्रतिबद्धता र आश्वासन केही हदसम्म कार्यान्वयन भएको पाइएको बताउँदै उनले निरन्तरको अनुगमन र पटकपटक निर्देशन दिँदा पनि ‘लालबाकस’ लगायत केही महत्त्वपूर्ण विषयको भने नतिजा नदेखिएको बताइन् । अखिल नेपाल महिला संघ गाउँ कमिटी सदस्यबाट राजनीति यात्रा प्रारम्भ गरेकी उनीसँग संघको भोजपुर जिल्ला कमिटी सदस्य, नेकपा (माओवादी) पार्टी जिल्ला कार्यसमिति सदस्य, मोरङ र भोजपुर, प्रदेश सल्लाहकार तथा केन्द्रीय सल्लाहकार सदस्य भई काम गरेको अनुभव छ । हाल प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति सदस्य नेत्री पोखरेलले दसबर्से सशस्त्र द्वन्द्वमा विभिन्न जिम्मेवारीमा रही २०५२-०६३ सम्म भूमिगत जीवन बिताइन् । उनका पति सावित्रीकुमार काफ्ले पनि संविधानसभा सदस्य थिए । नेत्री पोखरलेका अनुसार राष्ट्रियसभालाई अलिकति छायामा पारिएकै छ, यसमा विज्ञ समूह रहने भएकाले त्यसो नगरियोस् । यसलाई आफ्नै खालको स्वतन्त्रता हुनुपर्छ । दलगत स्वार्थमाथि उठेर नयाँ शिराबाट उठेर काम गर्नुपर्छ । अध्यादेशमार्फत विधेयक ल्याइनुहुन्न । विशिष्ट परिस्थितिमै पनि तत्काल कानुन बनाउनुपरे जिम्मेवारी दिइनुपर्छ । उनले भनिन्, ‘मलखाद, सिँचाइ, बीउबिजनलगायत किसानका समस्या र महिलाका आवाज उठाइए पनि मन्त्रीहरूबाट जवाफ नै आउन्न, हामीले कोसिस गरिरहेका छौँ मात्र भनिदिए हुन्थ्यो नि ।’ कतिपय तत्काल सम्बोधन गर्नुपर्ने पक्षमा पनि सम्बोधन नहुनु पीडाको विषय भएको बताउँदै नेत्री पोखरेलले बाढी पहिरोलगायत प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने विषयमा सम्बोधन भए सन्तोष हुन्थ्यो भनिन् । समग्र राज्य सञ्चालन ठीक ढंगबाट नचलेको जस्तो अनुभव हुनु सदनको आफ्नो कार्यकालको निचोड रहेको बताउँदै उनले एक प्रसंगमा भनिन्, ‘कानुन, न्याय तथा संसदीय मामिला र महिला, बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालय उत्तिकै महत्त्वपूर्ण भएकाले यिनलाई झन बढी ध्यान दिनुपर्छ ।’ राष्ट्रका कर्णाधार विदेश पलायन भइरहेका अवस्थामा छिटो कानुन बनाएर सम्बोधन गरियोस् भनी समितिले बारम्बार सरोकारवालासँग छलफल गरेको सुनाउँदै उनले आफूले बालसुधारगृह खोल्ने नभई अन्त्य गर्नेतर्फ लाग्न सुझाव दिएको जानकारी दिइन् । वृद्धाश्रम विस्तार नगरी ज्येष्ठ नागरिकलाई घरपरिवारमै सहज हुने वातावरण मिलाउन जरुरी रहेको बताउँदै उनले कुलतमा फसेकालाई जोगाउनेतर्फ मन्त्रालयको सोच र कार्ययोजना आवश्यक रहेको बताइन् । उनले राजनीतिक दल र तिनका नेता जनतालाई राज्यप्रतिको विश्वास अभिवृद्धि गर्न र यथाशीघ्र कानुन निर्माण गरी सेवासुविधा उपलब्ध गराउन खम्बा भएर उभिने दृढता व्यक्त गरिन् । नेत्री पोखरेलले भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई ठीक ढंगले अघि लैजान र समृद्धि प्राप्त गर्न समाजवादका दिशामा अघि बढ्दै सदन, सडक र संघर्षलाई सँगसँगै लैजानुपर्छ ।’ रासस

कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

युएई । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते देखि सुरु भएको छ । मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाले निकै चर्चा मात्र पाएन प्राथमिकता समेत पायो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटन समारोहमा नेपालको नामै लिएर विश्व तापमानमा भएको वृद्धिका कारण हिमाल पग्लिने क्रम बढेको उल्लेख गरेका थिए । साथै उनले जलवायु परिवर्तनको असर हिमालमा धेरै परेको र जनजीवन प्रभावित भएको बताएका थिए । उनले सम्मेलनको पूर्व सन्ध्यामा नेपालको भ्रमण गरी सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रको समेत भ्रमण गरेका थिए । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालका मुद्दालाई उठाउने गरी सम्मेदनमा नेपालका तर्फबाट उच्चस्तरीय कार्यक्रम समेत आयोजना गरेका थिए । उक्त कार्यक्रममा महासचिव गुटेरेसले उपस्थित भएर विशेष सम्बोधन मात्र गरेनन् हिमालमा जलवायु परिवर्तनले गरेको असरका बारेमा जिम्मेवार मुलुकको ध्यानाकर्षण गराएका थिए । यसैगरी प्रधानमन्त्री दाहालले हिमाललाई सबै मिलेर बचाउनुपर्ने बताउँदै विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको प्रष्टरुपमा उल्लेख गरेका थिए । पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमती गरेता पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १.८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । साथै उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाई हिम भण्डार पग्लने अनुमान अध्ययनले गरेका छन् । सम्मेलनमा नेपालको मुद्दाले पाएको प्राथमिकताबारे वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले आफूहरु निकै उत्साही भएको बताए । इतिहासमै नेपालका मुद्दाले प्राथमिकता पाएको सहभागिता पनि उच्चस्तरको भएको नेपालको ‘एजेण्डा’ स्थापित भएको र विश्वको ध्यानाकर्षण भएको उनले उल्लेख गरे । नेपालले यस सम्मेलनको तयारीका लागि छ महिनाअघि नै विभिन्न काम गरेको उल्लेख गर्दै उनले नेपालमा राष्ट्रिय जलवायु सम्मेलन गर्नुका साथै सरोकारवाला सबैको सुझाव तयार गरी डकुमेन्ट तयारी गरेको उल्लेख गरे । यस सम्मेलनमा नेपालले राजनीतक र प्राविधिक सबै तयारी गरेकाले प्रस्तुति प्रभावकारी भएको उनको भनाइ थियो । विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा छ । जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी, र तराई मधेशमा बाढी पहिरोहरु देखिन थालेको छ । हिमाल, पहाड, र तराई मधेसमा बसोबास गर्ने गरिब, साना किसान, सीमान्तकृत आदिवासी, महिला, बालबालिका, अशक्त, तथा ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन् । यसैगरी मन्त्रालयका सचिव डा दीपककुमार खरालले विश्व जलवायु सम्मेलनमा प्रधानमन्त्री दाहालको अध्यक्षतामा नेपालजस्तो अतिकम विकसित र हिमाली मुलुकले संयुक्त राष्ट्र सङ्घका महासविच गुटेरेसको उपस्थितिमा विशेष कार्यक्रम गरेर आफ्ना मुद्दाका बारेमा विश्वको ध्यानाकर्षण गराउन सफल भएको उल्लेख गरे ।सम्मेलनपछि यस विषयमा नेपालले हिमाल भएका अन्य मुलुकलाई एकताबद्ध गराएर उच्चस्तरको डाइलग र छलफल गर्ने योजना रहेको उहाँले राससलाई बताए । मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. बुद्धिसागर पौडेलले सम्मेलनमा नेपालले पहिलोपटक उच्चस्तरीय साइडलाइन बैठक गरेर हिमालका मुद्दालाई उजागर गरेको बताए । एक वैज्ञानिक अध्ययनअनुसार हिमाली क्षेत्रको तापक्रम वर्तमान तथा भविष्यमा विश्वको औसत तापक्रमको दाँजोमा ०.३ डिग्री सेल्सियस देखि ०.७ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । परिवर्तित जलवायुका कारण नेपालमा मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको छ र यस प्रकारको हेरफेरका कारण उत्पन्न हुने जलवायुजन्य प्रकोप र विपद्ले गर्दा नेपाली जनताले वहुपक्षीय चुनौतीको सामना गर्नुपर्ने छ । जलवायु विज्ञ सरु जोशी श्रेष्ठले विश्व समुदायप्रति हिमालका मुद्दाको ध्यानाकर्षण हुनु सकारात्मक भएको र प्रक्रियाको सुरुआत भएको उल्लेख गर्दै यसमा उपलब्ध हुने जलवायु वित्तको स्रोत सुनिश्चितसँगै पहुँचको पनि सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गरे । उच्च तापक्रम वृद्धि, अतिवृष्टि, अनावृष्टि, खण्डवृिष्ट, खडेरी, पहिरो र बाढीका असर नेपालमा वर्षेनि बढिरहेका छन् । भविष्यमा हिमालमा हिउँको भण्डारै घट्ने र हिमतालको सङ्ख्या बढ्ने देखिन्छ । पृथक भौगोलिक अवस्था र विभिन्न उचाइमा अवस्थित पारिस्थितिकीय क्षेत्रका साथै प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन, गरिबी, सीमान्तकृत समुदाय, न्यून अनुकूलन तथा उत्थानशील क्षमता आदिका कारण नेपाल सबैभन्दा सङ्कटासन्न र जोखिम मुलुकको सूचीमा रहेको छ । रासस

हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश घोषणा, सभामा जान तोक्यो बुक क्लोजको मिति

काठमाडौं । हिमालयन डिष्टिलरीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको २३औं वार्षिक साधारणसभा आगामी पुस २५ गते रजिष्टर्ड कार्यालय पर्सामा हुनेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस १२ गतेसम्म कम्पनीको सेयर किन्ने तथा होल्ड गर्नेले उक्त लाभांश पाउने छन् ।