विकासन्युज

सुन्तला उत्पादनमा वृद्धि हुुँदा किसान उत्साहित, एक करोडको उत्पादन

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो । सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको र यस वर्ष अघिल्लो वर्षको तुलनामा रु ५० लाख मूल्य बराबरको सुन्तला उत्पादनमा वृद्धि भएको जानकारी दिए। विसं २०७० देखि यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिएको छ । यहाँको सुन्तला पकेट क्षेत्रमा ६० कृषक छन् । यहाँ उत्पादित सुन्तला, काठमाडौँ, बुटवल, पोखरा, कावसोती, इटहरी, धादिङ, इनरुवालगायतका जिल्लामा निर्यात हुने गरेको छ । कृषि ज्ञान केन्द्र स्याङ्जा, सुन्तला सुपरजोन स्याङ्जा, बाली संरक्षण कार्यालय पोखराले सिरौँसामा सुन्तलासम्बन्धी प्रशिक्षण, अनुदान, परामर्श, बीउबिजनमा सहयोग गर्दै आएको छ । ती निकायले पक्की ट्याङ्की, प्लास्टिक ट्याङ्की, प्लास्टिक पोखरी निर्माण गरिदिएका छन् । यहाँ सुन्तला आईपिएम पाठशालासमेत सञ्चालनमा छ । अध्यक्ष भण्डारीका अनुसार यहाँका ९० प्रतिशत कृषकको मूख्य पेसा नै सुन्तला उत्पादन हो । ‘सिरौँसाका अधिकांशको रोजीरोटी सुन्तलाले नै चलेको छ’, उनले भने, ‘यस क्षेत्रमा सुन्तला उत्पादनको अत्यन्त राम्रो सम्भावना भएकाले युवा विदेश छोडेर सुन्तलाखेतीतर्फ लागेका छन् ।’ उनले गल्याङ नगरपालिकाले सुन्तला उत्पादक कृषकलाई सहयोग नगर्दा बजारीकरणमा समस्या भएको गुुनासो गरे । यहाँ उत्पादित सुन्तला एक क्विन्टल बराबरको सुन्तला रु सात हजारसम्ममा ठेकेदारले किन्छन् भने विभिन्न व्यापारीले ग्रेडिङका आधारमा प्रतिकिलो रु ५० देखि ८० मा खरिद गर्ने गर्छन् । ‘सिँचाइ, बिरुवा, बाली उपचार, अनुदान, बजारीकरण, परामर्शलगायतका धेरै विषयमा नगरपालिकाले सहयोग गर्ने ठाउँ छ’, भण्डारीले भने, ‘सिँचाइको चरम अभावका कारण हुनुपर्ने जति सुन्तला उत्पादन भएको छैन, सिँचाइको सुविधा मात्र भए ५० प्रतिशतले उत्पादन बढाउन सकिन्थ्यो ।’ उनले जिल्लामै सिरौँसा सुन्तला उत्पादनका लागि प्रख्यात भए पनि नगरपालिका अनुगमनसमेत गर्न नआएको गुनासो गरे । ‘यहाँका कृषकले व्यक्तिगतरुपमा सुन्तला बिक्री गर्दै आएका छन्, बजारको एकरुपता छैन, जसका कारण धेरै किसान ठेकेदार र व्यापारीबाट ठगिँदै आएका छन्’, अध्यक्ष भण्डारीले भने, ‘सबै गाउँलेको घरखर्च सुन्तला बेचेरै चलेको छ, सुन्तला व्यवसायमा लाग्ने किसान निक्कै उत्साहित छन्, धेरैले सुन्तला नै बेचेर छोराछोरी पढाउने, दुईचार रुपैयाँ जम्मा गर्ने गरेका छन् ।’ अध्यक्ष भण्डारीले व्यक्तिगत रुपमा यस वर्ष रु २५ लाखको सुन्तला उत्पादन गरेको दाबी गरे । ‘अघिल्लो वर्ष रु २२ लाखको सुन्तला बिक्री गरेको थिएँ’, उनले भने, ‘यो वर्ष मौसम अनकूलताका कारण गाउँमै सुन्तला उत्पादन बढेको छ, आशा छ राम्रो मूल्य पाउने छौँ ।’ उनले स्यानीय बजार गल्याङमा सबैको सुन्तला एकैपटक पुग्दा बिक्रीमा समस्या हुने, किसानसँग सस्तोमा किनेर व्यापारीले महँगोमा बिक्री गरिदिने, उधारो लगेकाले समयमै रकम फिर्ता नगर्नेजस्ता समस्याबाट आफूहरु पीडित बनेको दुुखेसो पोखे । सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका सचिव हरिप्रसाद भण्डारीले सुन्तला उत्पादन अन्य खेतीभन्दा दश गुणा आम्दानी दिने व्यवसाय भएको दाबी गर्दै किसानको आवश्यकताका आधारमा सरकारको सहयोग प्राप्त भएमा देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण सहयोग पुुग्ने बताए । उनको सुन्तला बगैँचामा छ सय सुन्तलाका बोट छन् । तीमध्ये चार सय बोटले उत्पादन दिने गरेका छन् । उनले अघिल्लो वर्ष सुन्तला बेचेर रु आठ लाख आम्दानी गर्नुभयो भने यो वर्ष रु १२ लाखको सुन्तला बिक्री हुने अनुमान गरेका छन् । उनले पनि यस वर्ष सुन्तला उत्पादन राम्रो भएकाले कृषक थप खुसी छाएकोे बताए । यस्तै सिरौँसाकै देवीप्रसाद भण्डारीले २० वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । उनले ४० वर्षअघि परम्परागत रुपमा सुन्तला लगाएका थिए। सुन्तला बिक्री हुँदै जान थालेपछि उनले सुन्तला खेतीलाई व्यावसायिक रुप दिएका हुन् । अघिल्लो वर्ष रु १९ लाखको सुन्तला बिक्री गरेका उनले यस वर्ष भने रु १७ लाखको मात्र सुन्तला बिक्री हुने अनुमान गरेका छन् । पुराना बोट मासेर नयाँ लगाएको कारणले यो वर्ष उहाँको बगैँचामा सुन्तला उत्पादनमा गिरावट आएको कविराज भण्डारीले बताए । उनले काउली, बन्दा, अकवरे खुर्सानीलगायतका तरकारी बिक्री गरेर वार्षिक रु तीन लाख बिक्री गर्दै आएको दाबीसमेत गरे । देवीप्रसादको बगैँचामा तीन हजार नयाँ पुराना, फल लाग्ने नलाग्ने सुन्तलाका बोट छन् । यसैगरी मिलीजुली सुन्तला पकेट सञ्चालक समितिका अध्यक्ष युवराज सापकोटाले ७० घरधुरीका किसानले रु एक करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको दाबी गए । उनले अघिल्लो वर्ष पनि रु ९० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको दाबी गरे । सापकोटाले बर्सेनि मनहरी र सिरौँसामा ठेकेदारले किसानलाई ठग्ने गरेको गुनासो गरे । ‘ठेकेदारसँग ठूलो परिणममा सुन्तला लैजाने सम्झौता हुन्छ, ठेकेदारले फलानो दिनमा आउँछु भनेर सुन्तला टिप्न लगाउँछन्, हामीले सुन्तला टिप्छौँ’, उनले भने, ‘आधा मात्र पैसा लिएर ठेकेदार आउँछ, सुन्तला नलैजा भनौँ भने टिपिसकेको सुन्तला बिग्रने डर लैजाभन्दा ठगिने डर ।’ अध्यक्ष सापकोटाले सात वर्षको अवधिमा करिब १५ ठेकेदारले सुन्तलाको आधा पैसा मात्र तिरेर बेपत्ता भएको बताए । रासस

जटायु रेष्टुराँका कारण बढ्यो गिद्धको सङ्ख्या

नवलपुर । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि भएको छ । गिद्ध संरक्षण गर्न भन्दै एसियामै पहिलोपटक समुदायस्तरबाट सन् २००६ मा सुरु गरिएको रेष्टुराँका कारण यस क्षेत्रमा गिद्धको सङ्ख्यामा चार सय प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ । जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरीले पछिल्लो गणनाअनुसार यहाँ पाँच सय १७ गिद्ध भेटिएको जानकारी दिए । ‘रेष्टुराँ सुरु गर्ने बेलामा यहाँ सात प्रजातिका ७७ वटा गिद्ध गणना गरिएको थियो’, उनले भने, ‘हामीले गरेको पछिल्लो अध्ययनअनुसार यहाँ आठ प्रजातिका पाँच सय १७ गिद्ध तथा यस क्षेत्रबाट गिद्धका एक सय वटा गुँड रेकर्ड गरिएको छ ।’ समुदाय, सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगका कारण गिद्ध संरक्षणको अभियान सफल भएको उनको भनाइ छ । नेपालमा पछिल्लो समय अन्य छ ठाउँमा जटायु रेष्टुराँ विस्तार गरिएको जनाउँदै अध्यक्ष चौधरीले अन्य ठाउँमा भारत र पाकिस्तानले समेत संरक्षणमा सहयोग पुर्याएका बताए । समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुराँलाई गिद्धका वासस्थान र उच्च घनत्व भएका रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तार गरिएको उनको भनाइ छ । ‘नेपाल सरकारले गिद्धको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरेको थियो’, उनले भने, ‘त्यहाँ प्रजनन भएका गिद्ध नवलपुरमा ल्याएर हुर्काएपछि रेडियो कलर जडान गरेर प्रकृतिमा छोड्ने गरिएको थियो ।’ हालसम्म केन्द्रमा प्रजनन भएका ६९ गिद्ध रेष्टुराँमा ल्याएर छोडिएको उनले जानकारी दिए । त्यस्तै ७७ जङ्गली प्राकृतिक गिद्धमा पनि रेडियो कलर लगाएर अध्ययन गरिएको उनको भनाइ छ । जटायु रेष्टुराँमा छोडिएको गिद्ध खानाका लागि प्रतिदिन दुई सय किलोमिटरसम्म उडेको अध्ययनले देखाएको उनले बताए। केन्द्रमा प्रजनन भएर रेष्टुराँमा ल्याइएको र यहाँको प्रकृतिमा हुर्किएका गिद्धले मिलेर प्रजनन गर्न सुरु गरेको अध्यक्ष चौधरीले बताए । प्रजननयोग्य गिद्धको एक वर्षमा एउटा प्रजनन अवधि हुने तथा एउटा मात्रै फूल पार्ने उल्लेख गर्दै उनले भाले र पोथी दुवै मिलेर बच्चा कोरल्ने बताए । गिद्धको संरक्षणलाई दिगो बनाउन र छाडा गाईबस्तुमुक्त क्षेत्र बनाएर समुदायलाई सहयोग गर्नका लागि रेष्टुराँले गौशालासमेत निर्माण गरेको छ । ‘छाडा छोडिएको गाईबस्तुलाई ल्याएर राख्ने उनीहरुको मलमूत्रबाट बायो ग्यास, जैविक विषादी, जैविक मल बनाउने र उनीहरु मरेपछि गिद्धको आहारमा प्रयोग गर्ने गरी हामी अघि बढेका छौँ’, उनले भने, ‘यति गरेपछि गिद्धको संरक्षण हुन्छ र गिद्धको संरक्षणपछि गिद्ध पर्यटन अथवा जैविक विविधता पर्यटन सुरु गर्ने तयारी गरेका छौँ ।’ संरक्षणलाई पर्यटनसँग जोड्दा पर्यापर्यटनमा रोजगारी र व्यवसायको वातावरण सिर्जना हुने उल्लेख गर्दै उहाँले यसबाट जनचेतना फैलाउने हुँदा संरक्षणमा दिगोपना ल्याउने बताए । कावासोती–१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुराँमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजाति (हाडफोर बाहेक)का गिद्ध पाइने अध्यक्ष चौधरीले बताए । उनका अनुसार यहाँ रैथाने प्रजातिका डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडे गिद्ध रहेका छन् । समुदायले व्यवस्थापन गरेको यस जटायु रेष्टुराँमा गिद्धलाई नियमितरुपमा आहारा (मासु) खुवाउने गरिएको छ । गिद्धलाई आहारा खुवाउने दिनमा पर्यटनसँग जोडिएका सङ्घसंस्थाको सहकार्यमा गिद्ध पर्यटनको अवधारणा अघि बढाउने तयारी गरिएको छ । ‘रेष्टुराँ व्यवस्थापन समितिले यहाँ हरेक दुई दिनमा गिद्धलाई मासु खुवाउने गर्दछ’, उनले भने, ‘उनीहरुले प्राकृतिक रुपमा पनि मासु खाने गरेका छन् तर यहाँ प्रजनन केन्द्रमा प्रजनन भएका साना गिद्ध पनि भएकाले हरेक दुई दिनमा मासु खुवाउने गरिएको हो ।’ पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको बासस्थानमा ह्रास आएको उनको भनाइ छ । विषादीयुक्त आहारा र बासस्थानमा आएको ह्रासको कारण गिद्ध मासिँदै गएपछि नेपालमा पहिलोपटक समुदायस्तरबाट विसं २०६३ भदौ (सन् २००६) मा जटायु रेष्टुराँको स्थापना गरिएको जटायु रेष्टुराँ व्यवस्थापन चौधरीले बताए । चौधरीका अनुसार लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेष्टुराँको सञ्चालन र व्यवस्थापन गरिएको हो । पशुचौपाया बिरामी हुँदा उनीहरुलाई दुखाइ कम गर्न दिइने ‘डाइक्लोफेनेक’ जातको औषधिरहित शुद्ध आहार उपलब्ध गराई गिद्धलाई संरक्षण गर्ने उद्देश्यले पिठौलीमा एसियाकै पहिलो समुदायस्तरको जटायु रेष्टुराँ खोलिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको बताए । डाइक्लोफेनेकको अवैधानिक प्रयोग, सिनोमा विषको प्रयोग, वासस्थान तथा आहारको अभाव, पर्याप्त संरक्षण चेतनाको कमीका साथै अन्य पर्यावरणीय चुनौतीका कारण प्रकृतिबाट गिद्ध लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । प्राकृतिक कुचीकारको रुपमा रहेको गिद्ध संरक्षणमा पहल तथा चुनौतीबारे छलफल गर्दै संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिएको छ । रासस

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ, साढे ३ करोडको वस्तु बरामद

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट ३ करोड ३१ लाख ८१ हजार एक सय ९८ रुपैयाँ बराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए । चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लाने क्रममा प्रहरीले बरामद गरेको उनले बताए । रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् । प्रहरीले गत वर्ष पनि १ करोड ५१ लाख ५६ हजार दुई सय ३० रुपैयाँ बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालयले चालु आवको हालसम्म विभिन्न घटनाका १४ थान मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेश गरेको छ । यसरी पेश भएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत विविध छन् । रासस

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूलाई कोशी टप्पु भ्रमण गराएको छ । कम्पनीको मासिक योजना अन्तर्गतकाे लक्ष्य पूरा गर्ने अभिकर्ताहरूले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङलगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखा प्रमुखहरूसहित देशैभरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ६०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान समेत गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरूको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैं अब्बल रहने बताए । उनले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सधैं प्राथमिकतामा राख्ने उद्देश्यले यस्ता कार्यक्रमहरूको आयोजना गरिएको जानकारी गराउनु हुँदै योजनामा छनौट भई सम्मानित हुन सफल अभिकर्ताहरूलाई गिफ्ट भाउचर र अवार्ड प्रदान गरेका थिए ।

रामपुरमा व्यावसायिक कालिजपालन, प्रशस्त कमाइ गर्न सकिने

पाल्पा । रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ । रामपरु नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो । व्यवसायी लोकमाया रानाले कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताए । गत जेठमा उनका छोरा मनिम रानाले सो व्यवसाय सुरु गरेका थिए । ‘छोराको रहरले सुरु गरेको व्यवसाय अहिले मैले रेखदेख गरिरहेको छु, नयाँ व्यवसाय हुँदा धेरै रेखदेख गर्नुपर्ने रहेछ, अब बिक्री गर्न लायकको हुन थालेको छ’, लोकमायाले भने । उनको फार्ममा हाल एक सय ५० कालिज छन् । गत जेठमा पोखराबाट पाँच सय चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको उनले बताए । नयाँ व्यवसाय भएकाले चल्ला हुर्काउन समस्या परेको उनको भनाइ थियो । जङ्गलको बीचमा व्यवसाय भएकाले वन बिरालो, सर्प पसेर चल्ला झम्टने, मार्ने गरेको उनले बताए । एउटा चल्ला रु चार सयमा खरिद गरेर पाल्न थालेका हुन् । करिब चार रोपनी जग्गा भाडामा लिए आफूसँगै एक जना हेरालु कामदार राखिएको लोकमायाले जानकारी दिए । पहिलो पटक भएकाले पाल्ने प्रविधिमा केही समस्या भए पनि अर्को पटक चल्ला राख्न धेरै ज्ञान सीप प्राप्त भएको उनको अनुभव छ । रामपुरलाई कालिजपालनमा चिनाउन, गाउँका जग्गा छाडेर सहर बजारमा जाने क्रम बढेकाले गाउँमै बसेर पनि केही गरियो भने आयआर्जन गर्न सकिने रहेछ भनेर यहाँ व्यावसायिक रुपमा कालिजपालन सुरु गरेको उनको भनाइ छ । करिब रु ३० लाखको लागतको लगानीमा व्यवसाय सञ्चालन गरिएको छ । अहिले यस क्षेत्रमा कालिजको मूल्य भाले रु तीन हजार, पोथी रु दुई हजार पाँच सयमा बिक्री हुने गरेको छ । कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ । कालिज विशेषत छदेखि आठ महिनामा बिक्रीका लागि योग्य हुन्छ । कलिलो तथा नरम घाँस घरमै खस्रो बनाएर पिसेको गहुँ, मकैको दाना कालिजको आहार हो । कालिजको मासुको माग पछिल्लो समय अत्यधिक मात्रामा बढ्दो छ । कालिजपालन व्यवसायमा पछिल्लो समय युवाको आकर्षण बढिरहेको देखिन्छ । अहिले बजारमा कालिजको माग बढ्दो छ । बजार मूल्य राम्रो हुन थालेपछि यसको व्यावसायिक पालनमा आकर्षण बढ्न थालेका हुन् । रासस

एनएमबि बैंकले स्थापना गर्याे आधा दर्जन शाखा कार्यालयमा र्याम्प

काठमाडौं । एनएमबि बैंकले आधा दर्जन शाखा कार्यालयमा र्याम्प स्थापना गरेको छ । सबैका लागि सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन ६ वटा शाखा कार्यालयमा र्याम्प स्थापना गरिएको हो । बैंकका अनुसार महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र विरगन्ज शाखाहरूमा र्याम्प स्थापना गरिएको हो । आगामी दिनमा सहजता र समावेशिताप्रति प्रतिबद्ध रहँदै पहुँचयोग्य शाखाहरु निर्माण गर्ने बैंकले जनाएको छ ।

सिटिजन लाइफले २ रुपैयाँ बढायो बोनस दर, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले बोनस दर २ रुपैयाँ बढाएको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९÷८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यसअघि कम्पनीले न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर तोकेको थियो । कम्पनीको आर्थिक वर्ष २०७९/८०को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट मंसिर १९ गते स्वीकृत भई बीमालेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेख अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमा लेखमा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै, सोही बीमा लेख अन्तर्गत रहेको १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४९ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर तोकेको छ । कम्पनीका अनुसार १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ११५ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ७१७ वटा र २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ३८१ वटा बीमालेख बिक्री गरेको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख कम्पनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार २८ रुपैयाँ बोनसदर तोकेको छ । कमपनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मका ४२ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ३२७ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ४ हजार २०९ वटा र २० वर्ष वा सोभन्दा माथि अवधिका ९ हजार ५४६ वटा बीमालेख बिक्री गरेको छ । सिटिजन शुभारम्भ (सावाधिक प्लस) बीमालेख यस बीमालेख अन्तर्गत कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३९ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ४६ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको ८२८ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि २ हजार ५२० वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ३८ हजार ३५३ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको २० हजार ४१० वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ४२४ वटा र ३० वा सोभन्दा माथि अवधिका १६१ वटा बीमालेख बिक्री गरेको छ । सावधिक (रेगुलर)जीवन बीमालेख सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको प्रतिहजार ४२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको प्रतिहजार ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको प्रतिहजार ५० रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मको प्रतिहजार ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मका ७९१ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका १६२ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका १ हजार १५७ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका २०९ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ४ वटा बीमालेख बिक्री गरेको छ । सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख) यस बीमालेख अन्तर्गत कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४७ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ५२ रुपैयाँ र २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि १ हजार ३३४ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ११ हजार ७ सय वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको ५ हजार १३८ वटा र २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २० वटा बीमालेख बिक्री गरेको छ । सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६२ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० वर्षदेखि ९ वर्ष अवधिसम्मका १६७ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ९०१ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ८ हजार ४६ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ७ हजार २४४ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २८२ वटा र ३० वर्ष वा सोभन्दा माथि अवधिसम्मका ६२ वटा बीमा लेख बिक्री गरेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

काठमाडौं मेडिकल कलेजले ८०% लाभांश बाँड्ने, स्वास्थ्य सेवा विश्वस्तरीय बनाउने

काठमाडौं । काठमाण्डौं मेडिकल कलेज (केएमसी)पब्लिक लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । मेडिकल कलेजको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मेडिकल कलेजले गत आर्थिक वर्ष २०७९/८०को नाफा ४ करोड ८५ लाख २० हजार ४८५ रुपैयाँ मध्येबाट २० प्रतिशत रकम संचित मुनाफामा राखी बाँकी ८० प्रतिशत अर्थात् ३ करोड ८८ लाख १६ हजार ३८८ रुपैयाँ (चुक्ता पुँजीको ६.४६ प्रतिशत करसहित)का दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मेडिकल कलेजले लाभांश पारित गर्न पुस १३ गते काठमाडौंमा बिहान ११ बजे १४औं वार्षिक साधारणसभा डाकेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, मेडिकल कलेजको सभाले कम्पनीको नियमावली संशोधन, अस्पताल स्तरवृद्धिका लागि तत्काल विभिन्न प्रकारका स्वास्थ्य उपकरण खरिद गरी विश्वस्तरीय स्वास्थ्य सेवा संचालन गर्ने, स्वास्थ्य सेवा संचालनार्थ आवश्यकता अनुसार घरजग्गा समेत खरिद गर्ने पर्ने भए सोको लागि स्रोत जुटाउन विभिन्न बैंकहरूबाट कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।