विकासन्युज

एनआईसी एशिया बैंकमा अब कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत

काठमाडौं । एनआईसी एशिया बैंकले वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणीहरुमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको जनाएको छ। यस सहुलियत पश्चात् यसभन्दा अगाडि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको बैंकले जनाएको छ । जसअनुसार बैंकको मंसिर महिनाको औषत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ । बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको बैंकको भनाइ छ । आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई ऋणीहरुलाई कर्जा भुक्तानीमा सहज हुने विश्वास बैंकको छ । बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६५६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । ‘अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुका लागि हरेक आन्तरिक उडानमा पहिलो दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ’, निगमले भनेको छ । उक्त सुविधाका लागि सम्बन्धित यात्रुले सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने निगमको भनाइ छ ।

कर राजश्वमा उच्च योगदान गर्ने व्यक्ति एवं संस्थालाई नेपाल उद्योग परिसंघले गर्यो सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको हाे। सम्मानित मध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ नेपाल उद्योग परिसंघका सदस्यहरु छन् । राष्ट्रिय कर दिवस २०८० को अवसरमा आर्थिक वर्ष २०७८/७९ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता डाबर नेपाल, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने एशियन पेन्टस्, कृषि एवं पशुपंछीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओ.सि.बी. फुड्स एण्ड फिड्सलाई परिसंघले सम्मान गरेको हो । यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने छिमेक लघुवित्त वित्तीय संस्था, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये ग्लोबल आइ.एम.ई. बैंक, बीमा व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शनलाई परिसंघले सम्मान गरेको छ । यसैगरी, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, उर्जामुलक उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई , व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिबृद्धि कर दाखिला गर्ने सूर्य नेपाललाई परिसंघले सम्मान गरेको छ । आज परिसंघ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरे । उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धी मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताए । यो योगदानको कदर गर्दै निजी क्षेत्रको प्रतिनिधिमुलक संस्थाको रुपमा उच्च करदातालाई परिसंघले सम्मान गरेको उनले बताए । उनले सरकारबाट सम्मानित उच्च करदातामा निजी क्षेत्रमध्येबाट करिब ७० प्रतिशत परिसंघ सदस्यहरु रहेकोमा परिसंघले गर्व महसुस गरिरहेको बताए । साथै उनले आगामी वर्षमा समेत यो सफलताका लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्नुभएका परिसंघ गभर्निङ काउन्सिलका सदस्य विजयकुमार शाहले सम्मानित सबैलाई बधाई दिए । कोभिड महामारी, चुनौतीपूर्ण अर्थतन्त्रका बाबजुद सरकारलाई उच्च कर बुझाउन सकेकोमा आफूले गौरव महसुस गरिरहेको बताए । उच्च करदाताको रुपमा सम्मान गर्ने नेपाल सरकार एवं परिसंघलाई उनले धन्यवाद व्यक्त गरे । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल सदस्य अनुज अग्रवाल, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, हेम राज ढकाल, अमित मोर, पदाधिकारी सदस्य सन्दिप शारडा, परिसंघको विभिन्न समिति, काउन्सिल तथा फोरमका सभापतिहरु सहभागी थिए ।

वाई२७एस सार्वजनिक गर्ने तयारीमा भिभो, यस्ता छन् विशेषता

काठमाडौं। भिभोले आफ्नो वाई सिरिज अन्तर्गत बहुप्रतिक्षित स्मार्टफोन वाई२७एस सार्वजनिक गर्ने तयारी गरेको छ । खबरको अनुसार वाई२७एस आकर्षक विशेषताहरुको साथ आउने अपेक्षा गरिएको छ । भिभो डिजाइनमा नयाँ मापदण्डहरु कायम गर्दै उत्कृष्ट पर्फमेन्श भएका स्मार्टफोनहरु  प्रदान गर्नका लागि परिचित छ र वाई२७एस मा पनि सोही नवीनताले निरन्तरता पाउने अनुमान गरिएको छ । यसमा उच्च स्तरीय प्रदर्शन गर्ने स्मार्टफोन अनुभवको लागी शक्तिशाली क्षमताहरु तथा आकर्षक डिजाइनको संयोजन रहनेछ । भिभो वाई२७एस दुई रोचक कलर भेरियन्ट – बरगन्डी ब्ल्याक र गार्डेन ग्रीनमा लन्च गर्ने अपेक्षा गरिएको छ । यो स्मार्टफोनले ब्रह्माण्डीय रातको आकाशीय महिमा जगाउने सुन्दर फिनिश प्रदान गर्ने भनिएको छ । अर्कोतर्फ, गार्डेन ग्रीन भेरियन्टले यसको सतहलाई सजाउने एक शानदार डाइमण्ड बनावटको अपेक्षा गरिएको छ, जसले उपकरणको उत्कृष्ट सिल्हूटलाई परिष्कृतताको नयाँ उचाइहरूमा लग्नेछ । विवरणमा ध्यान दिँदा स्मार्टफोन सुन्दर, परिष्कृत र आकर्षक डिजाइनमा आउँने संकेत गर्ने कम्पनीको भनाइ छ । पहिलै नै उच्च प्रत्याशित विशेषताहरुलाई विस्तृतमा कुरा गर्दा वाई२७एस आकर्षक सुविधाहरूको साथ एक प्रभावशाली स्मार्टफोन हुनेछ । यसले अतुलनीय चार्जिङ गति प्रदान गर्ने वाचा गर्दै ४४ वाट फ्ल्यासचार्जको साथ आउने अपेक्षा गरिएको छ । साथै यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्री हुन सक्ने अनुमान पनि गरिएको छ जसले प्रयोगकर्ताहरूलाई दिनभर लाई पुग्ने पर्याप्त पावर सुनिश्चित गर्दछ । यदि यी अनुमानहरू सही भयो भने यो उपकरण एक सुन्दर पावरहाउस हुन सक्छ जसले अत्याधुनिक प्रविधिको साथ अद्वितीय प्रयोगकर्ता अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । भिभोको वाई सिरिजका स्मार्टफोनहरूले असाधारण कार्यक्षमता र अत्याधुनिक सुविधाहरूले गर्दा अत्यधिक लोकप्रियता हासिल गरिरहेको छ । प्रयोगकर्ताहरूलाई निर्बाध अनुभवहरू र अतुलनीय विश्वसनीयता प्रदान गर्न ब्राण्डले निरन्तर पर्फमेन्शमा नवीनता प्रदान गर्दै आइरहेको छ ।

पर्यटन आवागमनको चहलपहल उच्च, पुनहिलमा मात्रै १२ हजारभन्दा बढी पर्यटक

काठमाडौं । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा विगत साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ । घोडेपानी अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मङ्सिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिए । उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ । पहिले विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्याङ्क राख्ने गरिएको छ । घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारजम्म आन्तरिक पर्यटकलेसमेत भ्रमण गर्छन् । घोडेपानीमा असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम सङ्ख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर पुनले बताए । ‘अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ, केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ’, होटल व्यवसायी गर्वुजाले भने । त्रिचालीस घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल छन् भने अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । घोडेपानीका होटलमा दैनिक एक हजार दुई सय जनासम्मलाई राख्न सक्ने क्षमता छ । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका छन् । रासस

प्रभु क्यापिटलका ग्राहकले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । आफ्ना ग्राहकलाई विशेष सुविधा प्रदान गर्न प्रभु क्यापिटल लिमिटेड र मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा समझौता भएको हो । आइतबार भएको उक्त सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा मेरिना इन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहनमान जोशीले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकले मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिँदा २५ प्रतिशत छुट अफर पाउने भएका छन् । यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो आईडी कार्ड प्रस्तुत गर्नुपर्नेछ जसका आधारमा इम्पेक्सले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ । यो अफर क्यापिटलका हितग्राही ग्राहकले समझौता अवधिदेखि आगामी २ वर्ष अवधिसम्मका लागि इम्पेक्सको सम्पूर्ण शाखाबाट प्राप्त गर्न सक्नेछन् । यसले बागबजार, न्यूरोड, गाबाल, सामाखुशीमा रहेका ४ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दछ । प्रभु क्यापिटल र मेरिना इन्पेक्स एन्ड टेलरिङ सेन्टरबीचको यो सम्झौताले क्यापिटलका ग्राहकहरूलाई शर्टिङ तथा सुटिङ तथा टेलरिङ सेन्टरको सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ‘प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकका लागि प्रभावकारी रूपमा मर्चेन्ट बैंकिङ सेवा दिनुका अतिरिक्त ग्राहकलाई थप सन्तुष्टि दिन क्यापिटलले समय समयमा यस्ता व्यवसायिक समझौता गरी यस्ता छुट तथा अफर सुविधा दिनसमेत कम्पनी सधै अग्रसर रहेको छ,’ प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत गौचनले भने । प्रभु क्यापिटल मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सेवा प्रदान गर्ने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्नुका साथै सामाजिक उत्तरदायित्व कार्यसमेत वहन गर्दै आइरहेको छ । मेरिना ईन्पेक्स सन् १९८३ देखि ग्राहकको सेवामा गुणस्तर र प्रतिस्पर्धी मूल्यको साथ उत्कृष्ट सेवा प्रदान गर्ने एक अग्रणी सर्टिङ सुटिङ टेलरिङ हो । मेरिना इम्पेक्सले ग्राहकलाई सुट, दौरा सुरुवाल, पार्टी वेयर, अफिस वेयर आदि उपलब्ध गराउँदछ ।

काठमाडौं वरपरका जिल्लाको विकास गर्ने समय आएको छ : अर्थमन्त्री 

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको बताएका छन् । शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि छ ।’ ‘राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पछाडि परेको हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो’, उनले भने, ‘त्यहाँका अगुवाहरुले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए । तर काठमाडौं वरिपरीकाको आम्दानीको मूल श्रोत जग्गाजमिन थियो ।’ उनले भने, ‘काठमाडौंमा राणाहरुको जो नजिक थिए, राणालाई रिझाएका थिए, ती व्यक्तिहरुले चाकरी गरेवापत पुरस्कारका रुपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौं पुर्याउन सक्ने ठाउँको जमिन उनीहरु माग्थे । काठमाडौंसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरु धेरै भए ।’ ‘काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जानी गर्ने र ठूलो हिस्सा काठमाडौं पुर्याउने काममा केन्द्रित रहे । शिक्षाको विकास विशेषतः ०४६ पछि मात्र गति लिएको हो’ मन्त्री डा। महतले भने, ‘काठमाडौंको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेका थिए । मन्त्री डा. महतले भने, अब काठमाडौंबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ । काठमाडौं–छहरे सुरुङ मार्गको काम हामीले गरिरहेका छौं । एक अर्ब बजेट पनि राखेका छौं, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ।’ ‘यहाँकै प्रकाश महत अर्थमन्त्री हुनुभयो, बजेट पनि राख्नुभयो, सुरुङ खन्न थालेको खोइन भन्ने तपाईंहरुलाई लाग्न सक्छ । साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन, उनले भने, ‘त्यसका लागि भौर्गविक अध्ययन चाहिन्छ । यसका लागि हामीले चिनियाँ सरकारसँग अनुरोध गरेका छौं । उहाँहरुले प्राथम्भिक अध्ययन गर्न गर्नुहुनेछ । उहाँहरुले सम्भावित दुई तीनवटा विकल्प दिनुहुनेछ ।’ अर्थमन्त्रीले अध्ययन सम्पन्न भएपछि काठमाडौं–छहरे सुरुङमार्ग निर्माण प्रकृया अघि बढ्ने बताएका छन् । ‘चार महिनामा अध्ययन सम्पन्न गराउने हामीले अठोट लिएका छौं । त्यसपछि चीन सरकारले थप विकल्पहरु दिनेछ । त्यसपछि सुरुङ मार्गको प्रकृया अगाडि बढ्छ ।’ ‘वातावरण अध्ययन नेपाल सरकारले गरेपछि हामीले अन्तिम अध्ययन गरेर काम अगाडि बढाउँछौं । एकले अर्कोलाई देखाउने हाम्रो प्रशासन संयन्त्र यही, तर म यसमा लागिरहेको छु’ उनले भने, ‘सुरुङ मार्ग निर्माण सम्पन्न भयो भने काठमाडौंमा घर बनाइराख्नु पर्दैन । एक घन्टाको बाटो १० मिनेटमा पुगिन्छ । काठमाडौंमा काम गरेर नुवाकोट घर फर्किन सकिन्छ । यसले बसाइसराइ रोक्छ ।’ महतले भने, यस केन्द्रमा स्थापना गरिएको स्वास्थ्य चौकीले सम्पूर्ण सुविधा विस्तार गर्दै सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना दिए । अहिले धेरै सुविधा दिन सकेको छैन, आउने दिनमा डाक्टर र स्वास्थ्य सहायकको दरबन्दीको व्यवस्था गर्नेतिर लाग्नुपर्छ ।’ उनले भने, ‘सुत्केरी सुविधालगायत अन्य समस्याको स्वास्थ्य जाँच पनि यही उपलब्ध भयो भने सानातिना समस्याका लागि उपचार गर्न बाहिर जान पर्दैन । स्वास्थ्य, शिक्षा र पूर्वाधार चाहेर पनि एकैपटक गर्न सकिँदैन । उपलब्ध साधनस्रोतको भरपूर उपयोग गरेर आवश्यकतालाई केन्द्रविन्दूमा राखेर बजेट विनियोजन गर्नेतर्फ सरकार केन्द्रित छ ।’

नेप्से एकल बिन्दुले घट्दा ९६ करोडमा खुम्चियो सेयर कारोबार

काठमाडौं । साताको पहिलो दिनको नेप्से परिसूचक एकल बिन्दुले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ बिन्दुमा झरेको छ । जुन गत बिहीबारको तुलनामा ०.३९ प्रतिशतले घटी हो । परिसूचक घटेको बजार कारोबार रकम पनि घटेको छ । पछिल्लो साता एक अर्ब माथिको सेयर कारोबार भएको बजारमा आइतबारको कारोबार ९६ करोड ४० लाख रुपैयाँमा खुम्चिएको छ । बजारमा कारोबारमा आएका २९३ वटा स्क्रिप्समध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ६ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ छ । त्यस्तै, बजारमा टप गेनरको शीर्ष स्थानमा थ्री स्टार हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ९.६३ प्रतिशतले बढेर प्रतिकित्ता ३८७ रुपैयाँमा पुगेको छ । त्यस्तै, ९ प्रतिशतभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा सबैको लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ९.०४ प्रतिशतले बढेर प्रतिकित्ता ५८० रुपैयाँ पुगेको छ । घटेको बजारमा तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । माउन्टेन इनर्जी नेपालको ९.९९ प्रतिशत, यूनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको ९.९९ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ । यससँगै यी तीन कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता क्रमशः ५३०.६०, २७३.८० र ३४६.३० रुपैयाँले घटी हो । आइतबारको बजारमा लघुवित्त वित्तीय संस्था बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । लघुवित्त समूह भने २.१९ अंकले उकालो लागेको छ ।