एनसेलको सेयर बिक्री सम्बन्धमा लेखा समितिको चासो, सोध्यो प्रश्नै प्रश्न ?
काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर किनबेच सम्बन्धमा सार्वजनिक लेखा समितिले चासो देखाएको छ । यस सम्बन्धमा चासो देखाउँदै समितिले विभिन्न सरकारी निकायहरुलाई ९ वटा प्रश्नसहितको पत्र पठाएको छ । यस्ता छन् प्रश्नहरु ? १) मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले आफ्नो स्वामित्वको ८० प्रतिशत (सम्पूर्ण सेयर) बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई शुक्रबार बिक्री गरेको भनी खरिद बिक्री सम्झौता तथा प्रेस विज्ञप्ति जारी भएको देखिन्छ । प्रस्तुत विषयको आधिकारिकता के हो ? २) एनसेलको विदेशी होल्डिङ कम्पनीको स्वामित्वमा रहेको कम्पनीको सेयर खरिद बिक्री वा हक हस्तान्तरण गर्दा कम्पनीले सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने के हो ? ३) दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति र नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान यस सन्दर्भमा पूरा भएको छ वा छैन ? उल्लिखित परिपालना नभएको अवस्थामा कानुन बमोजिम के कारबाही हुन्छ ? ४) यसअघि भएको कारोबारभन्दा निकै कम मूल्यमा होल्डिङ कम्पनीबीच सेयर कारोबार वा स्वामित्व हस्तान्तरण सम्झौता हुनुको कारणलाई नियमनकारी निकायले कुन रूपमा लिएको छ ? ५) बिक्रीकर्ता कम्पनीले दोहोरो कर, नियमनकारीको अनिश्चितता, लाइसेन्सको म्याद सकिँदा उत्पन्न हुने अतिरिक्त जोखिम, लाइसेन्सको म्याद सकिएपश्चात् उक्त हिस्सा नेपाल सरकारले लिन सक्ने सम्भावना, नेपालमा वैदेशिक लगानीलाई संरक्षण गर्ने वातावरण नभएको कारण कम्पनीको अस्तित्व नै खतरामा आउने कारण उल्लेख गरेको सन्दर्भमा यसबाट नेपाललाई पर्न सक्ने प्रतिकूल प्रभाव के के हुन् ?, यस सम्बन्धमा तहाँ निकायको धारणा के हो ? ६) पछिल्लो सेयर कारोबार गर्दा पूर्व कारोबारको सेयर पुँजीभन्दा निकै घटेर स्वामित्व हक हस्तान्तरण भएको सन्दर्भमा र नेपालबाहिर यसरी स्वामित्व हक हस्तान्तरण भएको सन्दर्भमा कम्पनीले सरकारलाई तिनुपर्ने कर के हुन्छ ? करदाता ठूला करदाता भएकोले सेयर बिक्रीसहित यति रकम तिर्छु भनी स्वःघोषणा गरेको छ वा छैन ? यस्तोमा आन्तरिक राजस्व विभागले ‘जियोपार्डी एसेसमेन्ट’ गर्ने गरेको छ वा छैन ? आयकर ऐन, २०५८ अनुसार पुँजीगत लाभकर प्राप्त हुने वा नहुने र दफा ५७ अनुसारको स्वामित्व हस्तान्तरण कर प्राप्त हुन्छ वा हुँदैन ? ७) ५ करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी दुई वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत भई यस्तो कम्पनीले सेयर कारोबार गर्न नेपाल धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्नेमा सो सम्बन्धमा एनसेल नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको देखिँदैन। एनसेलको सेयर कारोबारको प्रकृति हेर्दा प्राइभेट कम्पनीको जस्तो कारोबार भएको देखिन्छ। यस सम्बन्धमा सम्बन्धित निकायको भनाइ के छ ? ८) नेपालको कर प्रणाली छलेर भएको सेयर खरिद बिक्री वा हक हस्तान्तरण नेपालका नियमनकारी संस्थाहरूलाई जानकारी नै नदिई भएको भन्ने सुनिन आएकाले यो खरिद-बिक्रीको प्रक्रिया र पारदर्शितामाथि सम्बन्धित नियमनकारी निकायको के भनाइ रहेको छ ? ९) लगभग ६ वर्षपछि कानुन बमोजिम नै नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदा हुँदै सोलाई समेत असर पर्न सक्ने गरी भएको अहिलेको कारोबारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने, नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाइ के रहेको छ ? यदि नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा सो कारोबारको वैधानिकता के हुन्छ ?
दराज ११:११ सेलमा लाखौंले पाए करोडौंको छुट
काठमाडौं । दराज ११:११ सेलमा लाखौंले पाए करोडौंको छुट पाएका छन् । गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११:११ सेलमा लाखौं ग्राहकहरुले करोडौंको छुट पाएका हुन्। कम्पनीका अनुसार वाणिज्यद्वारा नेपाली समुदायहरुलाई उत्थान गर्ने उद्देश्यले सुरु भएको यो वर्षको ११:११ सेलमा ५० लाख ग्राहकहरुले दराजबाट सामान खरिद गरेका छन् । यो तथ्याङ्कले नेपालीहरुको डिजिटल प्लेटफर्म प्रति बढ्दो विश्वास र ईकमर्स मोह देखाउँछ । बिक्रेताहरूको अनलाइन व्यवसाय बढाउन मद्दत गर्ने उद्देश्यले विभिन्न ब्राण्ड तथा क्रेताहरुलाई प्रशिक्षण प्रदान गरेर सफलतापूर्वक १९,००० बिक्रेताहरुको संजाल निर्माण गर्न सफल दरजले इ–कमर्सलाई पहुँचयोग्य बनाउन र स्थानीय समुदायहरूलाई उत्कृष्ट मूल्यमा विविध सामानहरु प्रदान गरेर उनीहरूको जीवनको गुणस्तर सुधार्न सफल भएको छ । ११:११ सेलमा तेल, घिउ जस्ता रासनका सामानहरु अत्याधिक बिक्रि गरेको दराज, दैनिक आवश्यक्ताका सामानहरुको गन्तव्य बनेको देखिन्छ । दराजले राजधानी बाहिरका बिक्रेताहरुलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८ स्थानहरुबाट सेवा प्रवाह गर्ने गरेको छ। जसले गर्दा सेलको अवधिमा काठमाडौं उपत्यका बाहिरका खरिदकर्ताहरुको संख्यामा ६०० प्रतिशतको भारी बृद्धि देखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो ५०० अर्डर प्रप्त गर्न सफल भएको थियो, साथै सामान्य समयको तुलनामा ११:११ सेलमा दराजको बिक्रि ४६ प्रतिशतको बृद्धि पनि देखिएको थियो । । ११:११ सेलको सफल्ता बारेमा चर्चा गर्दै दराजका प्रवन्धक निर्देशक आँचल कुँवर भन्छिन्ः ‘यो चुनौतीपूर्ण समयमा हामी हाम्रा ग्राहकहरुको लागि उत्कृष्ट मूल्यमा सर्वोउत्कृष्ट सामान उपलब्ध गराउँनमा प्रतिवद्ध छौं । र हाम्रो यहि उद्देश्यले गर्दा नै हाम्रो ११:११ सेलले यो सफल्ता प्राप्त गर्न सफल भएको छ । यो सफल्तामा ग्राहकमहानुभावहरुको साथ साथै धेरै साझेदार ब्राण्ड तथा बिक्रेताहरुको हात छ । नयाँ बिक्रेताहरुले हामीलाई विश्वास गरेर दराजमा सामान राख्नुभएको देखेर हामी निकै हर्षित छौं । सम्पूर्ण दराजकर्मीहरुको तर्फबाट हाम्रा सुभचिन्तक, ग्राहकमहानुभाव तथा साझेदारहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ सेलमा खट्टिएका ८०० भन्दा धेरै डेलिभरी कर्मचारीहरुको काम आफैमा प्रशंसनीय रहेको जनाएको छ । दराजले सेलमा काठमाडौं देखि महेन्द्रनगर सम्म करिब ५२२ किलोमिटरको सबै भन्दा लामो यात्रा तय गरेर सामान डेलिभरी गरेको थियो ।
सजिलो ब्रोकरले सुरु गर्यो कारोबार
काठमाडौं । सजिलो ब्रोकरको कारोबार शुभारम्भ भएको छ । ललितपुरको झम्सिखेल स्थित प्रधान कार्यालय रहेको सजिलो ब्रोकर (ब्रोकर नम्बरः ९०) को कारोबारको सोमबारबाट विधिवत् रुपमा सुरुवात भएको हो । पाँच जना कन्याहरुले सजिलो ब्रोकरमा टिएमएस खाता र डिपी खाता खोली आआफ्नो नाममा सेयर खरिद गरी कारोबार सुरुवात गरीएको थियो । जसमध्ये पहिलो कारोबार पाटनकी जीवीत देवी (कुमारी) निहिरा बज्राचार्यको नामबाट भएको छ । निहिरा बज्राचार्यको नाममा किनिएको कुमारी बैङ्कको सेयर खरिद गरी सामाजिक उत्तरदायित्व अन्तर्गत भेटी स्वरुप चढाईएको कम्पनीले जनाएको छ । कारोबार सुरु गर्ने अन्य कुमारीहरुमा सेयरीका श्रेष्ठ, विधि महर्जन, समय महर्जन र सभ्यता पोख्रेल रहेका छन् । खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति अनुसार नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुला गरेको थियो । यहि क्रममा सजिलो ब्रोकर पनि सञ्चालनमा आएको कम्पनीले जनाएको छ । ।
नबिल बैंकले तोक्यो बुक क्लोजको मिति, कहिले हुँदैछ साधारण सभा ?
काठमाडौं । नबिल बैंकले आगामी मंसिर २९ गते बुक क्लोजको मिति तय गरेको छ । बैंकले साधारण सभा तथा नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै मंसिर २८ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको प्रस्तावित लाभांश पाउने छन् । बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई आगामी पुस १२ गतेको वार्षिक साधारण सभाले पारित गर्ने छ । सभा सो दिन बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुँदै छ ।
कोप २८ : विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा
काठमाडौं । ‘हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेका छौँ । वैज्ञानिकहरुले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा गुमाउने चेतावनी दिएका छन् । योभन्दा डरलाग्दो विषय अरु हुनै सक्दैन । हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले त्यसलाई जोगाउनैपर्छ’, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टियो गुटेरेसलाई साथैमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने । हिमाल र हिमाली क्षेत्रमा बदलिँदै गएको तस्बिरको यथार्थ विवरण प्रधानमन्त्रीले सुनाउँदै गर्दा विश्वका नेताहरुको ध्यान आकृष्ट भएको सहजै अनुभव गर्न सकिन्थ्यो । संयुक्त अरब इमिरेट (युएइ)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा प्रधानमन्त्री प्रचण्डसँगै महासचिव गुटेरेसले पनि नेपालको हिमनदी पग्लिदै गएको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । यस पटकको सम्मेलनमा विश्वसमुदाय माझ नेपालले आफ्नो विषय प्रष्ट रुपमा राखेको छ । त्यसमा पनि हिमाल र हिमाली क्षेत्रको मुद्दा यसपटक मुखर रुपमा उठेको छ । यो आफैँमा महत्वपूर्ण छ । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस आफैँले गत कात्तिकमा नेपालको चारदिने भ्रमण गरेर यथार्थ विवरण लिएका थिए । अन्नपूर्ण र सोलुखुम्बुको भ्रमण गरेर हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर आफैँले अनुभव गरेर फर्केका उनले सचित्र तथ्य पेश मात्रै गरेनन्, विश्व समुदायलाई प्रकृति संरक्षणमा थप सचेत हुन आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले कोप–२८ को उद्घाटन सत्र, सम्बोधन सत्र तथा नेपालले आयोजना गरेको ‘राउण्ड टेबल’ छलफल सत्रमा विश्वव्यापीरुपमा बढ्दो तापक्रमले हिमाललाई यातना दिइएको बताउँदै त्यसलाई पहिले बचाउन आग्रह गरेका थिए। नेचर साइनमा सन् २०२३ को फेबु्रअरीमा प्रकाशित एक प्रतिवेदनअनुसार नेपाल, पाकिस्तान, कजाकस्तानसहित एशियाका उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने जोखिम बढेर गएको छ । जलवायु परिवर्तनको असर प्रत्यक्षरुपमा हिमाली क्षेत्रमा देखा परेको छ । विश्वव्यापीरुपमा तापक्रम बढ्दै जाँदा हिमाल पग्लने क्रम उल्लेखनीयरुपमा बृद्धि हुँदा हिमताल फुट्ने जोखिम बढेको सो प्रतिवेदनमा उल्लेख छ । हिमताल फुट्दा विश्वका एक करोड ५० लाख मानिस प्रत्यक्ष जोखिममा पर्नेछन् । विश्वका डेढ करोड मानिस हिमतालको ३० माइल आसपास बसोबास गर्ने भएकाले हिमताल फुट्दा उनीहरू नै सबैभन्दा पहिले मारमा पर्नेछन् । सोही प्रतिवेदनमा यस शताब्दिको अन्त्यसम्म विश्वका कूल हिमनदीमध्ये आधाभन्दा बढी हराएर जाने उल्लेख छ । बाह्रै महिना हिउँ देखिने हिमाल क्रमशः काला पहाडमा परिणत हुनु आफैँमा डरलाग्दो सङ्केत हो । जलवायु सङ्कटको असरका कारण समयमा हिउँ नपर्नु, परेको हिउँसमेत लामो समय नबस्नु, हिमाली क्षेत्रमा लामखुट्टेलगायतका किराहरुको प्रकोप बढ्नुलाई अथ्र्याइएको छ । पानीको मूल नफुट्नु, अनावृष्टि, अतिवृष्टि, चरम खडेरीलाई पनि त्यसको अर्को विकराल सङ्केतका रुपमा लिइएको छ । सामान्यतया हिमाली क्षेत्रमा बाढी पहिरो आउँदैन भनिए पनि गत मनसुनमा मुस्ताङमा बाढी, पहिरो जाँदा त्यहाँको जनवीजन प्रभावित हुन पुग्यो । यस्तै, २०७८ असार १ गते मेलम्ची नदीमा भीषण बाढी आउँदा भत्किएको संरचना अझै पुनःनिर्माण भइसकेको छैन । काठमाडौंं उपत्यकाको पानीको स्रोत मानिएको सो नदीको पानी अझै नियमितरुपमा ल्याउन सकिएको छैन । बाढी पहिरोका कारण हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा मात्रै झण्डै ८० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको विवरण छ । बाढी गएलगत्तै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० ले गरेको अध्ययनअनुसार मेलम्चीमा भीषण बाढी आउनुको पछाडि त्यसको जलाधार क्षेत्रमा हिमताल विष्फोट हुनु हो । जीवाश्म इन्धनको बढ्दो प्रयोग, अत्यधिकमात्रामा कोइलाको उत्खनन् र प्रयोग, डढेलोका कारण विश्वव्यापीरुपमा तापक्रममा वृद्धि भएको छ । त्यसले ओजन तहमा ठूला प्वाल पारेको छ । ठूला र शक्तिशाली देशले अन्धाधुन्धरुपमा कार्बन डाइअक्साइड उत्सर्जन गरिरहेका छन् । त्यसको नकारात्मक असरको सिकार विशेषगरी हिमाली देशहरु भइरहेका छन् । सामान्यता, हिमाल पग्लनुलाई जलवायु सङ्कटको सबैभन्दा स्पष्ट र देखिने सङ्केतका रुपमा जानकारहरुले आँैल्याएका छन् । अध्येताले २०७७ माघमा भारतको उत्तराखण्डको चमोलीमा हिमबाढी आउनुको पछाडि पनि हिमताल विष्फोटलाई प्रमुख कारणको रुपमा लिएका छन् । बाढीका कारण निर्माणमा रहेका आधा दर्जन जलविद्युत् आयोजना प्रभावित भएका थिए । स्याटेलाइटबाट प्राप्त तस्बिर तथा कम्प्युटर मोडलिङबाट जलवायु परिवर्तनका कारण हिउँ पर्ने मात्रा र अवस्थामा परिवर्तन देखा परेको छ । हिमाली क्षेत्रमा रहेको कमजोर चट्टान तथा कम माटोका कारण पानीको मात्रा बढ्दै जाँदा साना तलाउ क्रमशः ठूला तालमा रुपान्तरित हुन जान्छ । त्यस्ता तालहरु क्रमशः फुट्दै जान्छन् र पानी तल्लोतटीय क्षेत्रमा बाढी आउँछ । उत्तरी तथा दक्षिणी धुव्र एवं अन्र्टाटिकामा रहेको बरफैबरफको साम्राज्य पग्लदै जाँदा समुन्द्रमा पानीको सतह बढ्न जान्छ । त्यसले टापु देशमा बढी समस्या निम्त्याउनेछ । फिलिपिन्स र माल्दिभ्सजस्ता देश समुन्द्रमुनि पर्ने अवस्था आउनेछ । यस्तै, वर्मादेखि इरानसम्म फैलिएको हिन्दूकुश क्षेत्रमा सयौँ हिमताल विस्फोट हुँदा त्यसले पहाडी देश बढी मर्कामा पर्नेछन् । हिमताल विष्फोट हुँदा तल्लो तटीय क्षेत्रमा अर्बौं डलर बराबरको क्षति हुनेछ । यही तथ्यका आधारमा विश्वका एक सय ८० मुलुकका ५० हजार प्रतिनिधिमाझ संयुक्त राष्ट्रसङ्घका महासचिवले अन्टार्टिका र नेपालमा हिउँ पग्लेको विषय सुरुमै उठाएर विश्व समुदायको ध्यानाकर्षण गराए । कोप–२८ को उद्घाटन शत्रमा महासचिव गुटररेस्ले भने, ‘केही दिनअघि अन्टार्टिकाको बरफमा थिएँ । केही समयअघि नेपालको पग्लिरहेका हिमनदी माझ थिए । यी दुई ठाउँ धेरै टाढा छन्, तर सङ्कटमा एकताबद्ध छन् । ध्रुवीय बरफ र हिमनदी हाम्रो आँखा अगाडि हराउँदै छन्, जसले भूःस्खलन र बाढीबाट बढ्दो समुद्रमा विनाश निम्त्याइरहेको छ ।’ महासचिव गुटेरेसले गत कात्तिक ११ देखि १५ सम्म नेपाल भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले सोलुखुम्बु र अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए । भ्रमणका क्रममा स्थानीय बासिन्दासँग अन्तरक्रिया गरेर गुटेरेसले जलवायु परिवर्तनको यथार्थ विवरण पत्ता लगाएका थिए। उनले विश्व समुदायको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले पनि हिमाल जोगाइदिन सोही तरिकाले नै आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले पनि हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले त्यसलाई जोगाउनै पर्ने बताएका थिए । हिमालले विश्वसमुदायको सेवा गरेको र तल्लोतटीय क्षेत्रका मानिसका लागि जीविकाको प्रमुख स्रोतका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमाथि भएको अन्याय अब रोकिनुपर्ने बताए । सन १९४१ यता हिमपहिरो र हिमताल फुट्नेजस्ता ३० भन्दा बढी प्राकृतिक प्रकोपका घटनामा १५ हजारभन्दा बढीको ज्यान गइसकेको यस क्षेत्रमा अध्ययन गर्दै आएका अध्येताहरुको भनाइ छ । नेपाल, भारत, पाकिस्तानमा हिमपहिरो, हिमताल फुट्नेलगायतका विपद्ले धेरै मानिस प्रभावित भएका छन् । जानकारहरुका अनुसार सन् २०२२ मा मात्रै पाकिस्तानमा १६ वटा हिमताल विस्फोट भएको थियो । नेपाल र चीनबीच एक हजार नौ सय ८९ किलोमिटर लामो सीमाना छ । प्रमुख नदीका रुपमा रहेका कोशी, नारायणी र कर्णालीको जलाधार क्षेत्र पनि चीनको तिब्बत नै हो । ती नदी जलाधारमा तीन हजार छ सय २४ हिमताल पहिचान भएको छ । ती हिमतालमध्ये नेपालतर्फ ७० र एक हजार पाँच सय नौ वटा चीनको तिब्बतमा पर्छ । इसिमोडको अध्ययनअनुसार ४७ वटा हिमताल विष्फोटको खतरामा रहेका छन् । नेपालले च्छोरोल्पा र इम्जा हिमतालको पानी केही घटाएर सङ्कट कम गरेको छ । विसं २०७३ असार २१ मा भोटेकोशी नदीमा आएको बाढीको पछाडि पनि तिब्बतमा रहेको गोङवातोङसो ताल विष्फोटलाई लिइएको थियो । सो बाढीका कारण झण्डै रु दुई अर्ब बराबरको क्षति भएको थियो । भोटेकोशी किनाराका कैयौँ पक्की घर, तीन वटा पुल र ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । जोखिमपूर्ण अवस्थामा रहेका हिमतालको पानी घटाउँदै जाने, पूर्वसूचनाका लागि प्रविधिको जडान, विपद्को पूर्वतयारी गर्नु अत्यावश्यक रहेको छ । उत्तरी छिमेकी देश चीनसँग उच्चस्तरीय सूचना आदानप्रदान संयन्त्रको विकास गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । विश्व समुदायको ध्यान आकृष्ट गर्ने हिमाल र त्यससँगै रहेको हिमतालको जोखिम कम गर्नु अत्यावश्यक भइसकेको छ । विश्वव्यापी रुपमा तापक्रम बढ्दा हिमनदी माथितिर सर्दै जान्छ । हिमताल विष्फोट हुँदा हिमाली क्षेत्रमा मानिस मात्रै नभई तल्लोतटीय क्षेत्रमा हजारौं मानिस प्रभावित हुनेछन् । नदी किनारमा निर्माण भइरहेका सयौँ जलविद्युत् आयोजना त्यसबाट प्रत्यक्ष रुपमा समस्यामा पर्नेछन् । त्यसको पछिल्लो उदाहरण नै भोटेकोशी जलविद्युत् आयोजना हो । प्रधानमन्त्री प्रचण्डले कोप–२८ मा नेपालका सन्दर्भ जोड्दै भने जस्तै मानव समुदायका लागि महत्वपूर्ण मानिएको हिमाल जोगाउनका लागि विश्वव्यापी रुपमा बढ्दो तापक्रम नियन्त्रण गर्नैपर्छ । कोप २८ को घोषणपत्र सार्वजनिक हुँदा यी र यस्ता विषय सम्बोधन हुने अपेक्षा गर्न सकिन्छ । नेपाल जस्ता देशले जलवायु वित्त र हानि नोक्सानी कोष मार्फत शर्तरहित अनुदान पाउनुपर्ने माग रुपमा उठेको छ । सन् २०२२ मा अमेरिकी अध्ययन संस्था नासाको नेतृत्वमा गरिएको एक अध्ययनअनुसार, यदि तापमान पूर्वऔद्योगिक स्तरभन्दा दुई डिग्री माथि पुग्यो भने मानव उत्पन्न सङ्कटका कारण थप जोखिम देखिनेछ । सन् २०२३ लाई अत्यधिक गर्र्मीको वर्षका रुपमा चित्रण हुँदै गर्दा आगामी दिन झनै सङ्कटपूर्ण देखिएको छ । यस वर्ष विश्वको तापक्रम पूर्व औद्योगिक औसतको तुलनामा करिब एक दशमलव एक डिग्रीले बढेको छ । अझै, विश्व तापक्रमलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने मार्गबाट अझै टाढा रहेको देखाउँछ । विश्वव्यापी औसत तापमान सन् दुई हजार एक सयसम्म दुईदेखि चार डिग्रीले बढ्ने प्रक्षेपण गरिएको छ । यदि त्यसो भएको खण्डमा चरम मौसमजन्य घटना निम्तने चेतावनी दिइएको छ । विषम घटनाहरुबाट जोगिन दुबइमा जारी कोप–२८ मा हानी नोक्सानी कोष औपचारिक रुपमा सुरु गरिएको छ । विश्वव्यापी तापक्रम वृद्धिसँग सम्बन्धित प्राकृतिक विपत्तिबाट तहसनहस भएका कमजोर र जोखिममा रहेका राष्ट्रले हानी र नोक्सानी कोषको माग गरेपछि उक्त कोषको सुरुआत गरिएको हो । कोषले नेपालजस्ता देशको हितका खातिर काम गर्नुपर्ने माग यस पटक जबर्जस्तरुपमा उठेको छ । हरितगृह ग्यासको उत्सर्जनलाई क्रमशः कटौती गर्ने, जिवाश्म इन्धनको प्रयोग घटाउने र वातावरण संरक्षणमा ध्यान दिने तथा धनी र औद्योगिक देशले आफ्ना प्रतिबद्धतालाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न सकेको खण्डमा ओजन तहको संरक्षण पनि गर्न सकिन्छ । त्यसबाट हिमाल जोगिने र प्राणी जगतको एक मात्र घरका रुपमा रहेको पृथ्वी नै जोगिने छ । रासस
पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । पिपुल्स पावरले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजी एक बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नियामक निकाय विद्युत नियमन आयोगले स्वीकृति दिई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई हकप्रद सेयर जारी गरिने छ । कम्पनीले कोशी प्रदेश, इलाम जिल्लास्थित पुवा-२ जलविद्युत आयोजना ४.९६ मे.व. बाट २०७९ मंसिर १२ गतेदेखि नियमित विद्युत उत्पादन तथा वितरण गरिरहेको छ । आयोजनाको नियमित मर्मत संभार, भुक्तानी बाँकी हिसाब तथा नयाँ आयोजनामा लगानी र लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सिर्जना गरी राष्ट्रिय पुँजी वृद्धि गर्नको लागि कम्पनीले हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो ।
नेप्सेमा एक लघुवित्तको एफपीओ सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक लघुवित्तको एफपीओ सूचीकृत भएको छ । सोमबार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एक लाख ७८ हजार ४५१ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर दोश्रो बजारमा कारोबार गर्न मिल्ने छ ।
यो वर्षको पहिलो हिमपात हुम्ला र मुस्ताङमा, जनजीवन कष्टकर
सिमकोट । हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताए । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले बताए । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाई भएको उनले बताए । आज विहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए मात्रै यातायातको साधन हवाइसेवा पनि प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताए । अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिमपात भएको छ । यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ । जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यसपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ । चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । मुस्ताङमा पनि हिमपात मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । विहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएको उनको भनाइ छ । यातायताका साधान पनि निरन्तर चलिरहेका छन् । हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए । यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने स्थानीय इन्द्रमान गौचनको भनाइ छ । यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुननसकेको उनको भनाइ छ । विहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भइरहेको गौचनले बताए । उनी भन्छन्, ‘यस वर्ष पहिलो पटक हिउँ परेको छ, अहिले पनि निरन्तर परिरहेको अवस्था छ, यति बेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ, लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए ।’ रासस