विकासन्युज

ह्याम्स अस्पतालमा सम्पुर्ण मुटु रोग सम्बन्धि सेवा उत्कृष्ट चिकित्सक र प्रविधीद्वारा सन्चालित

काठमाडौं । अत्याधुनिक प्रविधि सहित २४ सै घण्टा क्याथल्याब सञ्चालन गरिरहेको ह्याम्स अस्पतालले मुटुरोग सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्न ‘कार्डियोलोजी बिभाग’मा उत्कृष्ट विशेषज्ञ चिकित्सकहरूलाई अनुबन्धित गराएको छ । मुटु रोगको उपचारमा दुई दशक देखि सेवारत डा. रोशन राउतले ह्याम्सको कार्डियोलोजी विभागको नेतृत्व गरेका छन् । मुटुको शल्यक्रियामा डा. भगवान कोइराला, डा. ज्योतिन्द्र शर्मा र डा. रवि बरालको टिम छ । कार्डियोलोजीमा डा. रोशन राउत, डा. दिवाकर शर्मा, डा. मानबहादुर केसी, डा. यादव भट्ट, डा. मुकुन्द शर्मा, डा. लक्ष्मण ज्ञवाली, डा. अमृत बोगटी, डा. रिजु मानन्धर, डा. पारस कोइराला रहेका छन् । एक हजार नवजात शिशुमध्ये ८ जनामा जन्मजात मुटुरोगको समस्या हुने अनुसन्धानले देखाएको छ । विकसित देशमा गर्भमै शिशुको मुटुको अवस्था जाँच गर्ने प्रविधि प्रचलित भएपनि नेपालमा भने हाल यो सेवा अहिले ह्याम्स अस्पतालमा सर्वसुलभ रूपमा उपलब्ध भएको कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा बताउँछन् । उक्त सेवा (फिटल इकोकार्डिओग्राफी) मुलुकमै पहिलो पटक शुरुवात गर्ने वरिष्ठ मुटु विशेषज्ञ डा. दिवाकर शर्माले प्रदान गरिरहेका छन् । बिरामीको शल्यक्रिया सुरू हुनुभन्दा अगाडि ‘एनेस्थेसिया’ दिनुपर्ने हुन्छ, जुन मुटुरोग बिरामीका लागि संवेदनशील पनि हुन्छ । यो सेवा ह्याम्समा दशकौं देखि यसै विधामा अनुभव भएका डा. मुरारीराज उप्रेती नेतृत्वको टोलीले दिँदै आएका छन् । देशकै उत्कृष्ट चिकित्सक र प्रविधीद्वारा सन्चालित अत्याधुनिक प्रविधि सहित २४ सै घण्टा क्याथल्याब सञ्चालन गरिरहेको ह्याम्स अस्पतालले मुटुरोग सम्बन्धी सम्पूर्ण सेवा उत्कृष्ट विशेषज्ञ चिकित्सकहरूद्वारा प्रदान गर्दै आएको छ । मुटुको समस्या र कारण पत्ता लगाउने र त्यसको निदानका लागि उपचार गरिने प्रविधिसहितको विशेष कक्षलाई क्याथल्याब भनिन्छ । २४ घन्टा क्याथल्याव संचालन सँगै उत्कृष्ट एवं अत्याधुनिक शल्यक्रिया कक्ष र सुविधासम्पन्न आईसीयु उपलब्ध भएका कारण बिरामीहरूका लागि ह्याम्स सुरिक्षत भएको शर्माले बताए । मुटुरोगका बिरामीको अरू स्वास्थ्य समस्या समेत हुन सक्ने र त्यस्तो अवस्थामा अन्य सबै विधाका विशेषज्ञ चिकित्सकहरूको परामर्श तथा सेवा पाइने भएकाले ह्याम्स अस्पताल बिरामीका लागि अझ प्रभावकारी र सुरक्षित रहेको शर्मा बताउँछन् । हाल नेपालमा प्रचलित मुटुरोगको उपचार सम्बन्धी सेवाहरूमा सबै भन्दा बढी प्रकारका सेवाहरू ह्याम्स अस्पतालमा उपलब्ध भएको अस्पतालका कार्यकारी निर्देशक बताउँछन् । मुटु रोगकै मात्र उपचार गर्ने विशेष अस्पतालमा समेत नभएको मुटुरोगसम्बन्धी सेवा ह्याम्स अस्पतालमा उपलब्ध छ । औषधिको सेवनबाट पनि मुटुको चाल नियमित नभएमा थ्री डी म्यापिङ मार्फत इलेक्ट्रोफिजीयोलोजीको सेवा दिइन्छ । नेपालमा यस सम्बन्धी सेवा दिने एकमात्र चिकित्सक वरिष्ठ डाक्टर रोशन राउत ह्याम्स अस्पतालमा कार्यरत छन् । मुटुको रक्तनलीको जाँच (एन्जियोग्राम), मुटुको चाल कम (हार्ट ब्लक) भएकाहरूलाई पेसमेकर राख्ने जस्ता उपचारहरू बिना शल्यक्रिया नै ह्याम्सको क्याथल्याबमा गरिन्छ । मुटु रोग सम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सकिने ह्याम्स अस्पतालले सर्वसुलभ मूल्यमा उपचार गर्दै आएको अस्पतालको विज्ञप्तिमा जनाइएको छ। मुटु सम्बन्धी उपचार दिदै आएका देशका विभिन्न सरकारी अस्पतालसंग दाज्न मिल्ने शुल्कमा सेवा प्रदान गरिरहेको डा. शर्मा बताउँछन् । नेपाल सरकारले मुटुरोगका बिरामीलाई प्रदान गर्ने एक लाख रुपैयाँ बराबरको सहुलियत सेवा ह्याम्समा उपचार गर्दा समेत प्राप्त गर्न सकिन्छ । विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७३ (दोस्रो संशोधन), २०७३ बमोजिम ह्याम्स अस्पतालले २०८० साल असार महिनादेखि मंसिर मसान्त सम्ममा ३१ जना मुटु रोगका बिरामीहरूलाई नेपाल सरकारद्वारा प्रदान गरिने एक लाख बराबरको सहुलियतमा सेवा प्रदान गरिसकेको छ । यसले देशका अधिकांश सुगम तथा दुर्गम भुभागका गरिब तथा विपन्न नागरिकहरू लाभान्वित भएका छन् ।

स्वदेश फर्किएर युवा भन्छन् : विदेशमा महिनाको लाखभन्दा यहाँको ५० हजारले सन्तुष्टि

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–४ देउरालीका लक्ष्य आलेले विदेशबाट फर्किएपछि अहिले कृषि कर्मबाट राम्रो आम्दानी गर्न थालेका छन् । करिब आठ वर्ष विदेश बसेको अनुभव भएका आले विदेशबाट फर्किएपछि आफ्नो परिवारसँगै बसेर बाख्रापालन तथा अदुवाखेती गरिरहेका छन् । मलेसिया चार वर्ष, कतार तीन वर्ष नौ महिना बसेर फर्किएका आले आफ्नो बुबाले सुरु गरेको ‘हुर्‍यान बाख्रा फार्म’मा तीन वर्षदेखि काममा व्यस्त छन् । ‘विदेश नजाने निधो गरी बुबाले सुरु गरेको फार्ममा पूरै समय दिएर लागेको छु’, उनले भने, ‘विदेशको महिनाको लाखभन्दा यहाँको ५० हजारले सन्तुष्टि दिएको छ।’ अहिले फार्ममा ७० भन्दा धेरै बाख्रा छन् । बाख्रासँगै अदुवा, अम्रिसोको व्यावसायिक खेती पनि गरेको उनले बताए। परिवारसँगै बसेर बाख्रा पालन, अदुवाखेती र अम्रिसोबाट भएको आम्दानीले खुसी मिलेको आलेको अनुभव छ। ‘करिब आठ वर्ष विदेशमा धेरै हन्डर खाएँ, वर्षको दुई लाख कमाउन पनि मुस्किल थियो, अहिले परिवारसँगै बसेर तीनदेखि साढे तीन लाखसम्म वर्षमा आम्दानी भएको छ’, उनले भने । लक्ष्य आलेजस्तै पाँच वर्ष विदेश बसेर आएका बुलिङटार–४ कै दलबहादुर आले पनि अहिले गाउँमै कृषि कर्ममै रमाएका छन् । वैदेशिक रोजगारी छोडेर गाउँकै माटोमा काम गरेर परिवार चलाउन कस्सिएका दलबहादुरलाई बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले विदेश बिर्साइदियो । बिहान सबेरै उठेर घरबाट लगभग ३५ मिनेटको पैदल दूरीमा हु¥यान डाँडामा रहेको आफ्नै बाख्रा फार्ममा श्रीमतीसहित पुग्ने दलबहादुर आलेको दैनिकी यतिबेला कृषिकर्मले भरिएको छ । युएइमा वार्षिक तीन लाख बढी कमाउने दलबहादुरले गाउँ फर्किएर बाख्रापालन, आफ्नै सात रोपनी जमिनमा अदुवाखेती, पाखामा अम्रिसो र केही बोट सुन्तला हुर्काएका छन् । ‘बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले आम्दानी दिन सुरु गरेपछि विदेश नै बिर्सिएको छु’, उनले भने, ‘परिवारसँगै साँझ बिहान घरको खाना खाएर गरेको कृषि कर्मबाट आएको आम्दानीले मलाई आत्मसन्तुष्टि मिलेको छ ।’ बाख्रा फार्ममा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट प्राविधिक सहयोग पाउने गरेको उनले बताए । ‘फार्ममा आफ्नो काम आफैँ गर्छु, विदेश बस्दा तीन लाख कमाउँथे, यहाँ त्योभन्दा बढी कमाउँछु, परिवारसँगै बस्दा आत्मसन्तुष्टि धेरै छ’, उनले भने । देउराली बाख्रा फार्म दर्ता गरेर उहाँले सुरु गरेको व्यावसायिक बाख्रापालनबाट अहिले खोरमा ७० वटा बाख्रा पुगेका छन् । बाख्राबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुँदै आएको र फार्मलाई अझै बिस्तार गर्ने दलबहादुरको योजना रहेको छ । ‘यस वर्ष अदुवाले राम्रो भाउ पाएकाले एक लाखको हाराहारीमा आम्दानी हुने अनुमान गरेको छु’, उनले भने, ‘सुन्तला र अम्रिसो चाहिँ अलि कम उत्पादन हुन्छ, यो दुवैबाट वर्षको रु ५० हजार आउँछ ।’ लक्ष्य र दलबहादुर जस्तै बुलिङटार गाउँपालिका–४ देउरालीका प्रायः सबै परिवारले अदुवा र अम्रिसोको खेती गरेका छन् । यस वर्ष अदुवाले राम्रो भाउ पाएकाले हरेक परिवारले औसतमा ७० देखि ८० हजारसम्म अदुवाबाट आम्दानी गरेको बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेले बताए । ‘यातायातको सुविधा भएकाले बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाका लागि व्यापारी गाउँमै आउने गरेका छन्’, उनले भने, ‘देउरालीका प्रायः प्रत्येक घरबाट एक जना वैदेशिक रोजगारमा गएको भए पनि लक्ष्य र दलबहादुरको कृषिकर्म अरू युवाका लागि उदाहरण बनेको छ ।’ रासस

ग्लोबल आइएमई बैंकले १२ करोडसम्मको होम लोन दिने, ब्याजदर ९.९९ प्रतिशत

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा (होम लोन) योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरुले सहज रुपमा कर्जा सार्न सक्नेछन् । यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ । ग्राहकहरुले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई बैंकले अनुरोध गरेको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल दरमा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।

नयाँ बसपार्कका गेष्टहाउसमा बालिकालाई यौनजन्य कार्यमा लगाउने एक जना पक्राउ

काठमाडौं । ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका–६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्टहाउसमा बालिकालाई ललाइफकाइ विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएका चार जना बालिकालाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो। आर्थिक अवस्था कमजोर भएका बालिकालाई ललाइफकाइ होटल/गेष्ट हाउसमा वेटर तथा सरसफाइको काममा लगाइदिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकालाई विगत पाँच महिनादेखि होटल/गेष्ट हाउसबाट बाहिरसमेत निस्कन नदिई जबर्जस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रासस

मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्ड कालोपत्र गरिँदै

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र थालिएको छ। मुग्लिन-पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, ‘एकतर्फी कालोपत्र भइसकेको ठाउँमा अर्कोतर्फ दुई किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । यसअघि कालोपत्र भइसकेको खण्डबाट सवारीसाधन चलाएर अर्कोतर्फ कालोपत्र गर्ने काम जारी छ ।’ पूर्वी खण्डमा हालसम्म १२ दशमलव पाँच किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको छ । बरादीदेखि मार्कीचोकसम्म कालोपत्र भइसकेको छ । अर्कोतर्फ १२ दशमलव पाँच किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गर्ने योजना छ । यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट मार्किचोकसम्म तीन दशमलव पाँच र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको इन्जिनियर पाण्डेले बताए । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४५ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१ दशमलव पाँच किलोमिटर दूरीको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा हटाइनेछन् । त्यसवापत २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा वितरण गरिने बताइएको छ । रासस

नेपाल विज्ञापन संघको २४ औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल विज्ञापन संघको २४ औ साधारण सभा सम्पन्न भएको छ । विज्ञापन बजारलाई बृहत र व्यवस्थिकरण उदेश्य र नाराको साथ आज होटेल अरण्य बुटिकमा सञ्चार तथा सुचना प्रविधी मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा शुुभकामना दिदै मन्त्री शर्माले आनको विज्ञापन बोर्डमा क्षेत्र गत प्रतिनिधीत्व गराउने तथा सरकारले विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सी प्रति कुनै पुर्वाग्रह नराखेको संघका अध्यक्षबाट राखेका सुुझाव सल्लाह हरुलाई सुधार गर्न सबैबाट पहल हुनुपर्ने बताए । मन्त्री सर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि अश्लिल र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्य का लागि नियमावलि तुरुन्तै जारि गर्ने कार्य भैरहको बताए । सरकारले विज्ञापन नियमावलि ल्याएर एजेन्सीको पहिचान गराएको र सघका सुुझावहरुलाई सधै सकारात्मक रुपमा लिएको र समस्या समाधानका लागि पहल गर्ने बताए । विज्ञापन एजेन्सीहरु मिडिया र विज्ञापन दाताको बिचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिशतको हक अधिकारमा सबै विज्ञापन चक्रका साझेदारहरुले सहकार्य समन्वयमा काम गर्नुपर्ने अन्यथा अब बन्ने नियमावलिले त्यसलाई बाँधी कार्यबाहिको दायरामा ल्याउने बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका मागहरु र विज्ञापन बजार बढाउने विषयमा सकारात्मक रहेको बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले संघबाट बोर्डका हरेक कदममाा अत्यन्त सहयोग र सहकार्य भएको विषयमा जोड दिए । करिब २०० जनाको सहभागिा रहेको उक्त कार्यक्रममा उदघाटन सत्रपश्चात बन्द सत्र हुने संघका महासचिव कृष्ण घिमिरेले जानकारी गराए ।

इलाममा अलैँची उत्पादन बढ्यो, एभोकाडो उत्पादनमा पनि वृद्धि

इलाम । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सात दशमलव ९६ प्रतिशतले अलैँची उत्पादन बढेको उक्त केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए । चालु आवमा एक हजार सात सय ५३ हेक्टर जमिनमा अलैँची एक हजार तीन सय २० दशमलव पाँच मेट्रिकटन अलैँची उत्पादन भएको छ । गत आवमा एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँची खेती गरिएकामा एक हजार दुई १५ दशमलव २६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । अलैँचीको बगान घटे पनि कृषकले करेसाबारीमै रोप्न थालेपछि उत्पादन र उत्पादकत्व पनि वृद्धि भएको हो । गत आवमा उत्पादकत्व प्रतिहेक्टर शून्य दशमलव ६९ रहेकामा चालु आवमा बढेर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उनले जानकारी गराए । यसअघि ओसिलो पाखा भित्ता र खोलाखोल्सीमा मात्र अलैँची खेती गरिएकामा पछिल्लो समय कृषकले अन्न बाली छाडेर करेसाबारीमा पनि अलैँची रोप्न रोप्दै आएका थिए । विभिन्न रोगको प्रकोपसँगै अलैँची बगान सखाप भएको र नयाँ बगानले उत्पादन दिन थालेकाले क्रमिक रुपमा उत्पादनमा सुधार हुँदै गएको छ । दानाबाट उत्पादन गरिएको निरोगी बिरुवाले उत्पादन पनि धेरै दिने र रोगको प्रकोपको सम्भावना पनि कम हुने भएकाले कृषकले विजु बिरुवा रोप्ने गरेका छन् । अलैँची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । अलैँची खेती जिल्लाका १० वटै स्थानीय तहमा आंशिकरुपमा हुने गरेको छ । त्यसमध्ये माइजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँची खेती हुने गरेको छ । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची खेती समुद्र सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ । यसैगरी एभोकाडोको पनि उत्पादन बढेको छ । गत वर्ष ५५ हेक्टर जमिनमा चार सय १९ दशमलव २२ मेट्रिक टन एभोकाडो उत्पादन भएकामा यस वर्ष ६० दशमलव पाँच हेक्टर जमिनमा चार सय २२ दशमलव पाँच मेट्रिकटन एभोकाडो उत्पादन भएको छ । उत्पादकत्व भने घटेको छ । गत वर्ष प्रतिहेक्टर सात दशमलव ६३ मेट्रिकटन एभोकाडोको उत्पादकत्व रहेकोमा यस वर्ष प्रतिहेक्टर सात दशमलव तीन मेट्रिक टन मात्र रहेको छ । त्यस्तै यस वर्षदेखि इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा ड्रागन फ्रुट लगाइएकामा यसवर्ष दश हेक्टरमा जमिनमा लगाइएको केन्द्रले जनाएको छ । रासस

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागन सामाजिक उत्तरदायित्व अन्तर्गत झुवानी माध्यामिक विद्यालय, रत्ननगर ०५, झुवानी चितवनमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको हो । विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपाल संग को सहकार्यमा सहयोग प्रदान गरिएको हो । विद्यालयमा शुक्रबार आयोजित एक समारोहका बीच बैंकको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउदाँ धेरै ठूलो सहयोग नभए पनि सांकेतिक रुपमा समाज प्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको कुरा व्यक्त गरे । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८६ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।