काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली काँग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेको छन् ।
आईतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसवारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भनि प्रश्न गरेका हुन् ।
उनले अनुसन्धानको दायरामा राखेर विनोद चौधरीलाई किन बयान लिइएन भनि प्रश्न गरे । उनले पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतिक थापा बारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनि प्रश्न समेत गरे । त्यस्तै इन्द्रजित राईका छोरा निरजबारे पनि उनले प्रश्न गरे ।
‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिन अगाडी हिरासतमा राखिएको देखियो । तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला । बयान लिइयो कि लिइएन ? अरुण चौधरीको जति कित्ता शेयर छ त्यति नै कित्ता अन्यको पनि छ । पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतिक थापाबारे केही पत्ता लाग्यो कि लागेन ? इन्द्रजित राईका फरार रहेका छोरा निरजबारे केही पत्ता लाग्यो कि लागेन ? मुद्दा चलिरहेका विचौलियाहरुले नाम पोलेका पूर्व गृहमन्त्री रामबहादुर थापाको श्रीमति नैनकला थापाको अनुसन्धानबारे के भयो ? यसबारे पनि केही अपडेट छन् भने अपडेट दिनुहोला’, उनले भने ।
उनले मुद्दा चलिरहेका विचौलियाहरुले पूर्वगृहमन्त्री रामबहादुर थापाको श्रीमति नैककला थापाको पनि नाम पोलेको भन्दै उनीाथि अनुसन्धान भए/नभएको जानकारी गराउन समेत माग गरे ।