विकासन्युज

टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

मुग्लिन (चितवन) । जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि टिकौली जङ्गल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ । मध्यवर्ती र वरण्डाभार क्षेत्रको बीचमा पर्ने जैविक कोरिडोरसमेत रहेको सो क्षेत्रमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले ट्राफिक सप्ताह २०८० को अवसरमा राजमार्ग क्षेत्रका सडकमा चेकजाँच थालेको हो । सो कार्यालयका प्रमुख खड्कबहादुर खत्रीले सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले यसलाई न्यूनीकरण गर्न ‘राडर गन’को सहायताले चेकजाँच सुरु गरिएको जानकारी दिए । ‘केही दिनदेखि हामीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन रहेको वरण्डाभार क्षेत्रभित्र पर्ने टिकौली जङ्गल क्षेत्रका सडकमा चेकजाँच गरिरहेका छौँ, अब बढी सवारी साधन ओहोरदोहोर गर्ने व्यस्त बजार क्षेत्रलगायत जिल्लाका अन्य स्थानमा पनि ‘राडर गन’बाट चेकजाँच सुरु गर्छौं’, उनले भने । कुन सवारी साधन कति गतिमा गुडेको छ भन्ने राडर गनमा अङ्क देखिने र तस्बिर पनि खिचिने भएकाले सवारी साधन चेकजाँचमा राडर गनको सहायताले सहज हुने बताइएको छ । सवारी साधन र चालकलाई कारबाही मात्रै दुर्घटना रोक्ने उपाय नभएको जनाउँदै ट्राफिक प्रमुख खत्रीले चालकले सीमित गतिमा आफ्नो सवारी साधन चलाउनु पर्छ भने । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन रहेको वरण्डाभार क्षेत्रभित्र पर्ने टिकौली जङ्गल क्षेत्रका सडकमा सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने गरेका छन् । रासस

एक हजारका नक्कली नोटको बिगबिगी, एकै गाडीमा भेटियो २ करोडको गड्डी

काठमाडौं । नेपाली एक हजार रुपैयाँको नोट नक्कली भेटिएको घटना नयाँ होइन । बेला बेला ठूलो सानो गरेर नक्कली नोटहरू भेटिने गरेका छन् । सुनसरी प्रहरीले आइतबार भारतीय नम्बर प्लेटको गाडीबाट करिब २ करोड रुपैयाँ नक्कली नोट फेला पारेको हो । प्रहरीले गाडीबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले भारतीय गाडीमा भारतबाट नेपालमा ल्याउँदै गरेको अवस् नक्कली नोट बरामद गरेको बताए । उनका अनरसार नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेका छन् । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरू बरामद गरिएको हो । प्रहरी उपरीक्षक रेग्मीले रकम बरामद भएपछि यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ । पछिल्लो समय नेपालमा पनि नक्कली नोट भेटिएको भेटिने क्रम बढेको छ । भारतले भारतमा नक्कली नोटको कारोबार बढ्दा पाँच सय र एक हजारका नोट प्रतिबन्ध नै गरेको थियो । नेपालमा पनि बेलाबखत नोट प्रतिबन्ध गराएर नयाँ नोट छाप्नु पर्ने आवाज उठ्ने गरेको छ । कसरी चिन्ने नक्कली नोट ? धेरैलाई सक्कली र नक्कली नोट पहिचान गर्न नै सकसपर्छ । बैंक तथा वित्तीय संस्थाले नक्कली र सक्कली नोट पहिचानका लागि विभिन्न समयमा विभिन्न प्लेटफर्ममाफत् जानकारी पनि गराउँदै आएको छ । नक्कली नोट चिन्ने अर्को तरिका हो छाम्ने। सक्कली नोट छाम्दा खस्रो हुन्छ। चाहे त्यो नयाँ होस वा पुरानो । यस्तै नयाँ नोटलाई औंलाले हान्यो भने आवाज कडा आउँछ। नक्कली नोटमा यस्तो आवाज आउँदैन । नोटको दाँया भागको पुच्छरमा १००० लेखिएको अक्षरलाई औंलाले सुम्सुमायो भने अक्षर थोरै उठेको महसुस हुन्छ । यसलाई ‘इन्ट्यागलियो प्रिन्ट’ भनिन्छ । नक्कली नोटमा सो अक्षर उठेको हुँदैन । नोटको बीच भागको तलपट्टी अंग्रेजी अक्षरमा ‘एनआएबी’ लेखेको हुन्छ । नक्कली नोटमा यो कुरा ख्याल गर्नुपर्छ । यस्तै, नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्का हुन्छ । यसलाई सुरक्षण धागो भनिन्छ । सो धर्कालाई उज्यालोतिर फर्काएर हेर्दा त्यहाँ पनि सानो अक्षरमा ‘एनआरबी’ लेखेको हुन्छ । नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट÷मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ । उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठ भाग (एकवटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ । यस्तै, सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रूपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरू मात्र देखिन्छ ।

क्यान इन्फोटेक हेर्न कलाकारदेखि नेतासम्म पुगे, सूचना प्रविधिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

काठमाडौं । राजधानीको भृकुटीमण्डमा माघ २५ देखि जारी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा प्रविधिप्रेमीहरुको घुँइचो लागेको छ । २९औं संस्करणको यस प्रदर्शनीलाई चौंथो दिन सकिँदासम्म विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्ने व्यक्तिहरूसँगै कलाकार, खेलाडी, अभियन्ता, राजनीतिज्ञ, नीति निर्माता तथा विभिन्न तहका सरकारका प्रतिनिधिहरूले अवलोकन गरेका छन् । आइतबार संघीय सरकारका मन्त्री, प्रतिनिधिसभा सदस्यहरू, प्रदेश सरकारका मन्त्री तथा प्रदेश सांसदहरू, विभिन्न आयोगका प्रतिनिधिहरू तथा नीति निर्माण तहका अधिकारीहरू, विभिन्न पालिकाका प्रमुख/उपप्रमुखहरूले इन्फोटेक अवलोकन गरेका छन् । यस अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, पूर्वमन्त्री तथा सांसद प्रकाशमान सिंह, सांसदहरू सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, ज्ञानेन्द्र शाही, गणेश पराजुली लगायत क्यान इन्फोटेकमा राखिएका प्रविधिहरू हेर्न पुगेका थिए । त्यस्तै सांसद एवं कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण बहादुर जिसी, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का आईटी विज्ञ प्रकाश रायमाझी, पूर्व उप प्रधानमन्त्री प्रकाश मान सिंह, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, माओवादीको युवा संगठन वाईसीएलका अध्यक्ष सुवोधराज श्रीपाली, काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारी, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर लगायतले क्यान इन्फोटेकको प्रत्यक्ष अवलोकन गरेका थिए । त्यस्तै देशका विभिन्न पालिकाका प्रमुख/उपप्रमुहरू, नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट) तथा नेपाल टेलिकमका उच्च तहका अधिकारीहरूले समेत आइतबार प्रदर्शनीको अवलोकन गरेका थिए । सो अवसरमा उनीहरूले डिजिटल नेपाल निर्माणका लागि क्यान इन्फोटेक जस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका हुने तथा सूचना सञ्चार प्रविधि क्षेत्रलाई राष्टिय प्राथमिकता बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । साथै नेपाली प्रतिभा र आविष्कारलाई प्रोत्साहन गर्नेगरी प्रभावकारी कार्यक्रम ल्याउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए । यसअघि इन्फोटेकमा कलाकारहरू सञ्जोक कोइरालादेखि महानायक राजेश हमालसम्म र राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल लगायत पनि पुगेका थिए । सोमबार (माघ २९) सम्म सञ्चालन हुने ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ । अन्य दिनमा कम अवलोकनकर्ता देखिने स्टलहरुमा पनि आइतबार अवलोकनकर्ताको निकै भीड देखिन्थ्यो । विशेषगरी नेपाली विद्यार्थी, स्टार्टअप  तथा इनोभेटरले तयार पारेका नवीनतम प्रविधि, एप्लिकेसन र प्रोजेक्टहरुमा अवलोकनकर्ता बढी झुम्मिएका छन् । क्यानका महासचिव चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेक मेला मात्र नभएर सूचना प्रविधि प्रदर्शनी भएको बताए । ‘यसलाई मेला भन्ने भाष्य परिवर्तन गर्नुपर्छ । यो इन्नोभेटिभ आइडिया र स्टार्टअपको एक्सपो पनि हो । अहिले इन्फोटेक सफ्टवेयर, प्रोडक्ट र सोलुसन एवं आइडियाको खानी हो,’ उनले भने । यसअन्तर्गत मसिन लर्निङमा आधारित नेपाली रोबोट ‘कान्छी’देखि डिजिटल ठेगाना तयार पारिदिने ‘कता हो’ प्लेटफर्मसम्ममा आकर्षण देखिएको छ । त्यस्तै एफवन सफ्ट ग्रुपले हालै ल्याएको ‘जुम जुम’ नामको राइड शेयरिङ सेवाबारे पनि अवलोकनकर्ताले चासो देखाएका छन् । त्यस्तै स्वदेशी सफ्टवेयर निर्माताका उत्पादनमा पनि धेरैको झकाव देखिएको छ । त्यस्तै इन्फोटेकको विशेष आकर्षणको रूपमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानले तयार पारेको आईसीटीमैत्री बस रहेको छ । हालसम्म ५०० भन्दा बढीले यो बसको प्रत्यक्ष अवलोकन तथा अनुभव लिएको नास्टले जनाएको छ । करिब १५० स्टल रहेको इन्फोटेकमा सहभागी कम्पनीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धनका अतिरिक्त आकर्षक छुट र अफर दिइरहेका छन् । यसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद एवं बुकिङमा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरेका छन् । ब्राण्डिङ कम्पनीका स्टलहरू मुख्य हलभित्र रहेका छन् भने साना कम्पनीहरू ट्रसमा रहेका स्टलहरूमार्फत आफ्ना वस्तु तथा सेवाको प्रचारमा जुटेका छन् । प्रदर्शनीस्थलमै कम्पनीहरुले डिलर छनोट गर्ने र बिजनेश डिल गर्ने कार्यसमेत गरिरहेका छन् । क्यान महासंघका अध्यक्ष रणजीत पोदारले एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ मार्फत विश्वबजार र स्थानीय बजारमा आएका नवीनतम प्रविधि र अभ्यासबारे एकै थलोमा हेर्न, बुझ्न र छलफल गर्न सम्भव भएको बताए । उनका अनुसार यसपटक अनावश्यक भिडभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ताहरु बढी आएका छन् ।

कुमारी बैंकको वार्षिक साधारण सभाबाट ६ सञ्चालक निर्वाचित

काठमाडौं । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । उक्त सम्पन्न साधारण सभामा भएको सञ्चालक समितिको चुनावमार्फत् संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जंगबहादुर राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।

ट्राफिक प्रहरीद्वारा ६ महिनामा एक करोड राजस्व सङ्कलन

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड दुई लाख ५१ हजार राजस्व सङ्कलन गरेको हो । सो अवधिमा विभिन्न किसिमका १० हजार आठ सय २० सवारीमाथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । यस्तै सो अवधिमा पर्सा जिल्लामा भएको तीन सय २६ सवारी दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७५ जना गम्भीर घाइते भएका छन् । गत आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी रु तीन करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन गरेको थियो । यो अघिल्लो आव २०७८/०७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । अघिल्लो आव २०७८/७९ मा सो कार्यालयले रु दुई करोड ८५ लाख २१ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । ट्राफिक चेकजाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक खतिवडाको भनाइ छ ।  सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । रासस

बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । फागुन महिनाका लागि अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो समय तरलता सहज हुँदै गएपछि निरन्तर ब्याजदर घटाउँदै आएका वाणिज्य बैंकहरूले फागुनमा पनि घटाएका छन् । बैंकहरूले घटाएको ब्याजदर भोलि फागुन १ गतेदेखि लागू हुनेछ । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार हिमालयन बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले माघ महिनाको ब्याजदर नै फागुनमा लागू गर्ने छ । हिमालयन बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन् । यी बैंकले माघमा पनि सोही ब्याजदर लागू गरेका थिए । प्राइम बैंकको ०.६९ प्रतिशत घटेर संस्थागततर्फ ५.४ प्रतिशत र व्यक्तिगततर्फ ७.४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले संस्थागततर्फ ६.१० प्रतिशत र व्यक्तिगततर्फ ८.१ प्रतिशत ब्याजदर तोकेको थियो । कृषि विकास बैंकको संस्थागततर्फ १.३१७ प्रतिशत घटेर ४.४४३ प्रतिशत र व्यक्तिगततर्फ ०.८१ प्रतिशत घटेर ६.४४३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि माघमा बैंकले संस्थागततर्फ ५.७६ प्रतिशत र व्यक्तिगततर्फ ७.२६ प्रतिशत ब्याजदर तोकेको थियो । नेपाल एसबिआई बैंकले ०.१५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको हो । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याज दिएको थियो । कुमारी बैंकले ०.१० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत ब्याजदर तोकेको थियो । एनएमबि बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेको थियो । लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ०.६ प्रतिशत घटाएर ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याज दिएको थियो । प्रभु बैंकले ०.५६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको हो । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.०६५ प्रतिशत र संस्थागततर्फ ६.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.६० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको थियो । सानिमा बैंकले ०.६४ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ५.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको थियो । एनआईसी एशिया बैंकले ०.०६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.०६५ प्रतिशत र संस्थागततर्फ ६.०६५ प्रतिशत ब्याजदर तोकेको थियो । राष्ट्रिय वाणिज्य बैंकले ०.७२ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ६.०७ प्रतिशत ब्याजदर तोकेको थियो । नेपाल बैंकले व्यक्तिगततर्फ ०.७५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ १.२५ प्रतिशत घटाएर ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको थियो । ग्लोबल आइएमई बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको थियो । नबिल बैंकले ०.३६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको थियो । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत घटाएर ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको थियो । सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.९ प्रतिशत घटाएर ८.२५ प्रतिशत र संस्थागततर्फ ०.४५ प्रतिशत घटेर ६.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ९.१५ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर तोकेको थियो ।

अरुण भ्याली हाइड्रोले फागुन १७ गतेदेखि १ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले फागुन १७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपतामा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजीको १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ गत माघ १५ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले चैत ७ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हिमालयन लाइफको बीमा शुल्क आर्जन ८ प्रतिशत बढ्यो, साढे ५८ अर्ब पुग्यो बीमा कोष

काठमाडौं । हिमालयनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ८.२४ प्रतिशत घटेर ३४ करोड ६० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ प्रतिशत बढेर ७ अर्ब ८९ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब २८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी ९ अर्ब २० करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको कमिसन खर्चमा ६५ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष ७१ करोड ३६ लाख रुपैयाँ कमिसनमा खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १० अर्ब ९७ करोड रुपैयाँ गरेको छ भने कुल खर्च १० अर्ब ६३ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ३ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो भने कुल खर्च ९ अर्ब ६५ करोड रुपैयाँ थियो । कम्पनीको सेयर क्यापिटल ८ अर्ब २ करोड रुपैयाँ, महाविपत्ती कोषमा ४८ करोड ११ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ३० करोड रुपैयाँ, अन्य इक्विटी ७ करोड २२ लाख रुपैयाँ र निर्जीवन बीमा कोषमा ५८ अर्ब ४८ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.६३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९ गुणा र प्रतिसेयर नेटवर्थ १२३.१३ रुपैयाँ छ ।