विकासन्युज

उपकार लघुवित्तका दुई सञ्चालकको राजिनामा स्वीकृत

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाका दुई सञ्चालकोको राजिनामा स्वीकृत भएको छ । पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्याम प्रसाद रिजाल र चेतना अर्यालले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो ।

नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् । पुस १३ गते बसेको इन्स्योरेन्सको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक (कानुन) सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बालकुमारी घटनाको अनुसन्धान गर्न पौडेलको अध्यक्षतामा आयोग गठन

काठमाडौं । सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट सो घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरिएको हो । आयोगका सदस्यमा पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । आउँदा दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझाव पेस गर्ने गरी आयोगले आजैदेखि काम थाल्ने उनले जानकारी दिइन् । ‘यो आयोगलाई एउटा कार्यादेश दिइएको छ । उक्त घटनामा भएको मानवीय, भौतिकलगायतका अन्य क्षतिको विवरण अध्ययन, विश्लेषण गर्ने, उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पहिचान गर्ने, बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गर्ने, दोषी देखिएको जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने, आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझावहरू पेस गर्ने’, उनले भनिन् । यो आयोगलाई एक महिनाको कार्यादेश दिइएको छ । आयोगको सुझावसहितको प्रतिवेदन बुझाएपछि सरकारले आवश्यक कदम चाल्ने उनले बताइन् । गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन र झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो ।

नेपालगञ्जमा कारको ठक्करबाट दुई जनाको निधन

जानकी । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुई जनाको निधन भएको छ । एकजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गए राति ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ । अर्का मृतक पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए। दुवै जनाको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । प्रहरी निरीक्षक सुवेदीका अनुसार उक्त घटनामा नेपालगञ्ज–१३ की सहाना शाह घाइते भएकी छिन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । कारका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । रासस

मोरङ व्यापार संघ एक्स्पोमा एकैदिन ४० हजारले गरे अवलोकन

काठमाडौं । मोरङ व्यापार संघले आयोजना गरेको ‘मोरंग व्यापार संघ एक्स्पो-२०२३’ मा नयाँ कीर्तिमान रचिएको छ । शनिबार एकैदिन ४० हजार बढी उपभोक्ताले एक्स्पोको अवलोकन गरेका छन् । आइतबार पनि सोही संख्या हाराहारीका उपभोक्ताले एक्स्पो घुम्ने विश्वास गरिएको आयोजकले जनाएको छ । शिथिल रहेको अर्थतन्त्रलाई उकास्न योगदान गरेको एक्स्पो सफल भएकोमा संघका पदाधिकारी र एक्स्पोमा आवद्ध खुशी भएका छन् । आयोजकका अनुसार एक्स्पोमा अर्गानिक फलफूल र खाद्यान्न, लत्ताकपडा, प्लाष्टिकका सामान, चियापत्ति, कार्पेट, पाइप, टायर, अन्तर्राष्ट्रिय स्टल, खाद्यान्न, साबुन सर्फ, उन्नत जातको विउ र भुरा माछा, अटोमोबाइल्स पाइने स्टलमा अत्याधिक भीड देखिएको छ । एक्स्पोमा प्रविधिको भरपुर उपयोग गरिएको छ। पहिलोपल्ट डिजिटल परिचयपत्र लागु गरिएको छ । क्यू आर कोडको माध्यमबाट परिचय पत्र सक्कली हो की नक्कली हो भने तुरून्तै जानकारी पाइने व्यवस्था गरिएको छ । उत्पादनकर्तालाई स्टल छान्ने सुविधापनि डिजिटल माध्यमबाट नै प्रदान गरिँदा स्टल व्यवस्थापन खासै कठिन भएन । छानी-रोजी गुणस्तरीय सामान किन्न पाइने हुँदा एक्स्पोमा सर्वसाधारणको अत्याधिक रूची देखिएको हो । मनोरञ्जन र खानाका विविध परिकार पाइने स्टलका कारणपनि एक्स्पोप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको हो । पुस ६ गतेदेखि ११ गतेसम्म सञ्चालनमा रहेको एक्स्पोको म्याद बढाउन पनि सर्वसाधारणले दबाब दिन थालेका छन् । संघका अध्यक्ष नवीन रिजालले सोमबार एक्स्पोको समापन हुने बताए । उनले व्यवस्थापकीय र प्राविधिक कठिनाई रहेकोले एक्स्पोको म्याद लम्ब्याउन नसकिने बताए । सोमबार एक्स्पोको समापन गरिए पनि यस दिन बिहान ११ बजेदेखि साँझ ९ बजेसम्म सदाझैं चल्ने अध्यक्ष रिजालले बताए ।

तरुल खोज्न गएका युवाको हत्या

पर्वत । पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए । अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले जानकारी दिए । हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ । नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

‘नीति र विधिमा सञ्चालित सहकारी सङ्कटमा पर्दैनन्’

काठमाडौं । सांसद कृष्णगोपाल श्रेष्ठले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताएका छन् । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभामा उनले छिल्लो समय एकै घरका सदस्य सञ्चालक रहेका र अपारदर्शी ढङ्गबाट सञ्चालित सहकारीमा धेरै समस्या देखिएको बताए । उनले भने, “पछिल्लो समय पारिवारिक सहकारीका कारण समस्या देखिएको हो, यस्ता सहकारीलाई राज्यले नीति र विधिभित्र ल्याउनुपर्दछ, एउटा सहकारीको समस्यालाई देखाएर सबै सहकारी उस्तै हुन् भन्ने बुझाइलाई अन्त्य गरिनुपर्छ । साधारण सदस्यको पुँजीलाई कसरी सदस्यकै हितमा परिचालन गर्न सकिन्छ भनेर देव दर्शन बचत तथा ऋण सहकारीले नमूना प्रदर्शन गरेको छ । यसबाट अन्य सहकारीले सिक्नुपर्छ ।” पूर्व मन्त्रीसमेत रहेका सांसद श्रेष्ठले अर्थतन्त्रको तीन खम्बामध्येको एक सहकारीलाई प्रवद्र्धन गर्न राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । सहकारीका अध्यक्ष रामनारायण घिमिरेले आव २०७९÷८० को वार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गर्दै बचतकर्तालाई समय समयमा कार्यालयमा आएर संस्थाको वित्तीय जानकारी लिन आग्रह गरे । उनले भने, “उत्पादन क्षेत्रमा लगानी भइरहेका कारण संस्थामा जोखिम आएको छैन, आउन दिँदैनाँै । साधारण सदस्यको पुँजी, सदस्यकै हितमा परिचालन भइराखेको छ ।” चन्दागिरि नगरपालिकाभित्र १७० वित्तीय संस्था छन् । तीमध्ये देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड अब्बल मानिन्छ । कार्यक्रममा चन्दागिरि–६ का वडाध्यक्ष सञ्जय सिग्देलले भने, “सहकारीले बचत कर्ता, बचतकर्ताले सहकारी नचिनेका कारण सहकारी क्षेत्रमा समस्या देखियो । समस्या हटाउन सामूहिक प्रयासको खाँचो छ । आफूले बचत गरेको सहकारीले कहाँ कसरी लगानी गरिरहेको छ, यसबारेमा बचतकर्ता चनाखो हुनुपर्छ ।” समाजसेवी देवेन्द्र प्रधानले एकाध सहकारी संस्थाका सञ्चालक समितिको गलत निर्णयको दोष समग्र सहकारीले भोग्न परिरहेको उल्लेख गर्दै सहकारीले बचतकर्ताको चासोलाई समयमै सम्बोधन गरे । काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ (कास्कुन)का अध्यक्ष दीपक पनेरुले सहकारीलाई भजाएर राजनीति गर्दा सहकारी क्षेत्र नै बदनाम हुन पुगेको गुनासो गरे । उनले भने, “७५ लाखभन्दा बढी सर्वसाधारण जनता आबद्ध रहेको सहकारी क्षेत्रमा निराशा आउनु दिनुहुँदैन । यस क्षेत्रमा देखिएका समस्या तत्काल सम्बोधन गरिनुपर्छ ।” सोही कार्यक्रममा ‘सर्वोत्कृष्ट कर्मचारी सम्मान’ शिवकुमार थापा मगर र आस्था अर्याललाई ५ हजार रुपैयाँ सहित प्रदान गरिएको थियो । निरा श्रेष्ठ, राजेन्द्र गोपाली, मीनादेवी श्रेष्ठ र रोहितबहादुर बलामीलाई पनि उत्कृष्ट बचत सदस्यका रुपमा सम्मान गरिएको थियो भने गत वर्षको माध्यामिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने आकृति श्रेष्ठ र रोसिस श्रेष्ठलाई ‘देव दर्शन अवार्ड’ प्रदान गरिएको थियो । सो अवार्डको राशि ५ हजार रुपैयाँ छ । धेरै सेयर सदस्य रहेको देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/८० मा पनि मुनाफा आर्जन गरेको छ । विसं २०६६ असार ६ गतेदेखि आफ्नो सेवा थालनी गरेको सो सहकारीमा हाल ३ हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन् भने कूल सम्पत्ति १ अर्ब १३ करोड २७ लाख रुपैयाँभन्दा माथि पुगेको जनाइएको छ । कोभिड सङ्क्रमणको विश्वव्यापी प्रभाव, विश्व बजारमा आएको आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्यात्मक वृद्धि, घरजग्गा व्यापारमा आएको मन्दी, सहकारी क्षेत्रमा देखिएका विभिन्न समस्या, तरलता र ब्याजदरलगायत कारण आर्थिक क्षेत्रले सन्तोषजनक उपलब्धि हासिल गर्न समस्या भइरहँदा सहकारीले सो आवमा ७८ लाख २० हजार ७० रुपैयाँ मुनाफा कमाउन सफल भएको हो । सहकारीले सो आवमा आफ्नो कारोबार १ अर्ब १७ करोड ६५ लाख ७४ हजार ८६८ रुपैयाँ पुर्याएको थियो । आव २०७९÷८० मा सो संस्थाको निक्षेप सङ्कलन १ अर्ब ६ करोड ५६ लाख २२ हजार रुपैयाँ र सेयर पुँजी ४ करोड ७४ लाख ७ हजार रुपैयाँ पुगेको जनाइएको छ । सहकारीको १५ औँ वार्षिक प्रतिवेदनका अनुसार आव २०८०÷८१ सेयर पुँजी ५ करोड रुपैयाँ पुर्याउने, निक्षेप सङ्कलन १ अर्ब २५ करोड रुपैयाँ गर्ने र कर्जा लगानी २० करोड रुपैयाँ गर्ने लक्ष्य लिइएको छ । राष्ट्रिय सहकारी बैङ्क, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ, काठमाडौँ जिल्ला सहकारी सङ्घ तथा काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घमा आबद्ध चन्द्रागिरि नगरपालिका–५ स्थित दाउराडिपोमा रहेको सो सहकारीले आफ्नो सेयर सदस्यलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता तथा काजकिरियासमेत प्रदान गर्दै आएको छ । सहकारीको अध्यक्ष घिमिरेका अनुसार निक्षेप सङ्कलनतर्फ नियमित, देवदर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देवदर्शन विशेष, कल गोल्डेन, बोनसलगायत बचत सेवा सञ्चालित छन् । यसैगरी, देवदर्शन पुलेसो, आवधिक, छोटो अवधि, व्यापारिक, घर, हायर पर्चेच, महिला उद्यमी, शेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, लघु, गरिबी निवारणलगायत कर्जा तथा सापट योजना संस्थाले कार्यान्वयनमा ल्याइरहेको छ ।

घलेम्दी हाइड्रोको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । घलेम्दी हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर १० गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा लगानीकर्ताले आज पुस १६ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले चुक्ता पूँजीको १ः२ अर्थात् २ सय प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले चुक्ता पूँजी ५५ करोड रुपैयाँको १ अर्ब १० करोड रुपैयाँ अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।