५० अर्ब नजिक पुग्यो सामाजिक सुरक्षा कोषमा योगदान रकम, वैदेशिक रोजगारमा जानेहरूको संख्या बढी

<p>काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान वापतको रकम करिब ५० अर्ब पुग्न लागेको छ । कोषको दैनिक तथ्यांकअनुसार बुधबारसम्म कोषमा ४९ अर्ब ८६ करोड योगदान वापतको रकम जम्मा भएको हो । ०७५ मंसिर ११ गते शुरुवात भएर ०७६ साउन १ गतेबाट औपचारिकरुपमा सञ्चालनमा आएको कोषमा अहिलेसम्म १८७०८ वटा रोजगारदाता र ११ लाख ४८ हजार ७१२ [&hellip;]</p>

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान वापतको रकम करिब ५० अर्ब पुग्न लागेको छ । कोषको दैनिक तथ्यांकअनुसार बुधबारसम्म कोषमा ४९ अर्ब ८६ करोड योगदान वापतको रकम जम्मा भएको हो ।

०७५ मंसिर ११ गते शुरुवात भएर ०७६ साउन १ गतेबाट औपचारिकरुपमा सञ्चालनमा आएको कोषमा अहिलेसम्म १८७०८ वटा रोजगारदाता र ११ लाख ४८ हजार ७१२ जना योगदानकर्ता आवद्ध भएको कोषले जनाएको छ ।

कोषमा सबैभन्दा धेरै रोजगारदाता बागमती प्रदेशबाट १२ हजार ८९६ वटा आवद्ध भएका छन् । त्यसैगरी कोशी प्रदेशबाट १९ सय ६३, लम्बिनी प्रदेशबाट १५ सय ४९, मधेश प्रदेशबाट ८९३, गण्डकी प्रदेशबाटछ ८७३, सुदुरपश्चिम प्रदेशबाट २७८ र कर्णाली प्रदेशबाट २५६ वटा रोजगारदाता कोषमा आवद्ध भएका छन् ।

योगदानकर्ताका पनि बागमती प्रदेशबाट नै सबैभन्दा धेरै संख्यामा आवद्ध भएको कोषको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार ३ लाख ६९ हजार ११७ जना योगदानकर्ता बागमती प्रदेशबाट कोषमा आवद्ध भएका छन् ।

त्यसैगरी कोशी प्रदेशबाट ४८ हजार ८५२, मधेश प्रदेशबाट २४ हजार ३४३, गण्डकी प्रदेशबाट १८ हजार ६४६, लुम्बिनी प्रदेशबाट १६ हजार ७१२, सुदुरपश्चिम प्रदेशबाट १९७५ र कर्णाली प्रदेशबाट १६ सय ४३ जना आवद्ध भएका छन् ।

कोषको तथ्यांकअनुसार कोषमा आवद्ध हुने योगदानकर्ताको संख्या स्वदेशमा रोजगार गर्नेको भन्दा विदेशमा रोजगार गर्नेको बढी पुगेको छ । बुधबारसम्मको तथ्यांकमा ६ लाख ६७ हजार २३१ जना वैदेशिक रोजगारमा गएकाहरु कोषमा योगदानकर्ताको रुपमा आवद्ध भएका छन् ।

कोषमा अनौपचारिक क्षेत्रबाट र स्वरोजगार योगदानकर्ताहरुको आवद्धता भने अत्यन्तै न्यून देखिएको छ । तथ्यांकअनुसार वुधबारसम्म कोषमा अनौपचारिक क्षेत्रबाट १२१ जना र ७२ जना स्वरोजगार गर्नेहरु आवद्ध भएका छन् ।

७ अर्ब बढी दाबी भुक्तानी

कोषले सञ्चालन भएदेखि अहिलेसम्म ७ अर्ब ६३ करोड दाबी भुक्तानी गरेको छ । बुधबारसम्मको तथ्यांकअनुसार कोषले १ लाख २६ हजार ५९९ जनालाई २ लाख ७५ हजार ३१८ पटक दाबी भुक्तानी गरेको छ ।

जसमध्ये कोषले अहिलेसम्म सबैभन्दा धेरै वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ६ अर्ब ४९ करोड ५७ लाख ४५ हजार २४ रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ९० करोड ६५ लाख ६२ हजार २०१, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १० करोड ५५ लाख ३८ हजार ४६९, आश्रित परिवार सुरक्षा योजनामा १२ करोड ६२ लाख ५२ हजार ८०५ रुपैयाँ दाबी भुक्तानी गरेको कोषले जनाएको छ ।

Share News