‘साउनदेखि दूधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो’
इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तक्रिया कार्यक्रममा सहभागीले पछिल्लो पाँच महिनादेखि दुध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरेको गुनासो गरेका थिए । इलाम–५ का किसान वीरबहादुर अधिकारीले गतसाउन १५ देखि दुधको पैसा नपाएको गुनासो पोखे । ‘साउनयता दुधको भुक्तानी भएको छैन । पाउनुपर्ने रकम नपाएपछि परिवार चालाउन धौधौ भइसक्यो’, उनले भने, ‘हामीले कसलाई भन्दा भुक्तानी हुने हो, थाहा छैन । हाम्रो अभिभावक नगरपालिका हो । नगरपालिकाले आवश्यक पहल गरिदिनुपर्छ ।’ सोही ठाउँका अर्का किसान गङ्गाप्रसाद नेपालले किसानले पाउनुपर्ने रकम स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर भुक्तानी गर्न माग गरे । उनले किसानले दुधको भुक्तानी नपाउँदा नगरपालिकाले राहतको कार्यक्रम नल्याएको गुनासो गर्दै दुग्ध उत्पादक किसानलाई राहत ‘प्याकेज ’ ल्याउन नगरपालिकासँग माग गरे । इलाम–५ माइपोखरीका किसान भुप्रसाद बजगाईँले दुध लिन दुग्ध विकास संस्थान (डिडिसी)को गाडी दैनिक आउन छोडेकाले दुध बिक्री हुन छोडेको बताए । ‘डिडिसीको गाडी दैनिकरूपमा दुग्ध चिस्यान केन्द्रमा आउनुपर्ने हो । तर आजकल दुई–तीन दिनमा मात्र आउँछ । नआएको दिन दुध बिक्री हुँदैन, किसान मारमा छन्’, उनले भने, ‘किसानको दुध लिन कमसेकम डिडिसीको गाडी दैनिकरूपमा आउने वातावारण बनाउन नगरपालिले पहल गर्नुपर्छ ।’ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामका अध्यक्ष होम कट्टेलले गत भदैदेखि किसानले दुधको भुक्तानी नपाएको गुनासो गरे । उनले माघ तेस्रो सातासम्म पनि दुधको भुक्तानी नपाए किसानले आन्दोलन गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए । ‘किसानले गत भदौदेखि हालसम्म मासिक १५ दिनको मात्र दुधको भुक्तानी पाएका छन् । किसानलाई दैनिक गुजारा चलाउनसमेत धौधौ पर्न थालिसक्यो’, उनले भने, ‘किसानका समस्या समाधानका लागि चाँडो पहल गरियोस् । यो महिनाको तेस्रो सातासम्म पनि भुक्तानी नपाए किसान आन्दोलित हुनुको विकल्प छैन ।’ डिडिसीले साउनदेखि पुससम्मको नौ लाख ५६ हजार पाँच सय ६० लिटर दुधको भुक्तानी दिन बाँकी रहेको अध्यक्ष कट्टेलले बताए । डिडिसीले दुग्ध चिस्यान केन्द्र बिब्ल्याँटेमा दुई लाख ११ हजार ५० लिटर, दुग्ध चिस्यान केन्द्र तीनघरेमा दुई लाख ६१ हजार छ सय १० लिटर, दुग्ध चिस्यान केन्द्र फिक्कलमा एक लाख ८२ हजार चार सय लिटर र दुग्ध चिस्यान केन्द्र शान्तिडाँडामा तीन लाख एक हजार चार सय लिटर दुधको भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए । इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका व्यवसायी चेतनाथ पौड्यालले रु एक करोड १५ लाख बढीको घिउ र छुर्पी नबिकेर स्टोरमा थन्क्याउनुपरेको बताए । उनले अझ स्टोरमा नै रहने हो भने अखाद्य तत्वका रूपमा परिणत हुने चिन्ता व्यक्त गरे । ‘हामी व्यवसायीसँग रु करोड १५ लाख बढीको घिउ र छुर्पी नबिकेर स्टोरमै राख्न बाध्य छौँ । अझ १५ दिनसम्म पनि बिक्री भएन भने अखाद्य तत्वमा परिणत हुन्छ । नष्ट गर्नुको विकल्प रहँदैन’, उनले भने, ‘यसबाट हामीले करोडौँको क्षति व्यहोर्नुपर्छ ।’ उनले एक लिटर दुध उत्पादनमा रु ५६ उत्पादन लागत लाग्ने भएकाले दुधको मूल्य घट्दासमेत किसान नै मर्कामा परेको बताए । राष्ट्रिय कृषक महासङ्घका संयोजक राम मगरले गुणस्तरीय दुग्ध सामग्री उत्पादन र बजारीकरणका लागि रणनीतिक अनुगमन गर्नुपर्ने बताए । इलाम नगर प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष नुतनदेव दुलालले भारतीय दुग्ध सामग्री आयातमा प्रतिबन्ध लगाएमात्र नेपाली दुग्ध उत्पादनले बजार पाउने बताए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले किसानको समस्या सधानका लागि आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाए । ‘किसानले राख्नुभएका विभिन्न समस्या र सुझावलाई प्रधानमन्धी तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय तथा सम्बन्धित निकायमा सम्प्रेषण गर्नेछु’, उनले भने, ‘दुग्ध विकास संस्थान (डिडिसी)को गाडी दैनिकरूपमा आउने वातावरण बनाउन समन्वय गर्छु ।’ नगरप्रमुख केदार थापाले किसानका समस्यालाई नगरपालिकाले गम्भीरतापूर्वक लिएको बताउनुहुँदै स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘उत्पादनदेखि बजारीकरणसम्म नै किसानका थुप्रै समस्या छन्, ती समस्याबारे नगरपालिका गम्भीर छ’ उनले भने, ‘स्थानीय सरकारका तर्फबाट किसानका लागि गर्नसक्ने काममा नगरपालिका सधैँ प्रतिबद्ध छ । तर प्रदेश र सङ्घीय सरकारबाट गर्नुपर्ने काममा विषयमा हामीले उहाँहरूसँग सहजीकरण र आवश्यक पहल गरिरहेका छौँ ।’ इलाम नगरमा मात्र दैनिक २० हजार लिटर दुध उत्पादन हुने गरेको इलाम नगरपालिका पशु शाखाका प्रकाश लुइँटेलले बताए । उहाँका अनुसार दैनिक दुई हजार लिटर दुध डिडिसीमार्फत विराटनगर जाने गरेको छ । बाँकी दुध निजी डेरी, चिज कारखाना, छुर्पी बनाउने उद्योग र मीठाइ बनाउने उद्योगमा खपत हुने गरेको छ । जिल्लामा भने निजी क्षेत्रमा दैनिक ५३ हजार लिटर हाराहारीमा दुग्ध खपत हुँदै आएको छ । निजी डेरीमा मात्र एक हजारभन्दा धेरै किसानले दुध बिक्री गर्दै आएका छन् । इलाममा १८ वटा चिज कारखाना, एक सय ५० वटा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मीठाइ बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ । इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध पदार्थ उत्पादन हुने गरेको छ । होलिस्टिन र जर्सी गरी यहाँ ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ । रासस
विद्यार्थीको प्रतिभा तिखार्न र व्यवहारिक ज्ञानका लागि लर्ड बुद्धको नयाँ प्रयोग
काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउण्डेशनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र सङ्गठनात्मक कौशल प्रदर्शन गर्न, हिउँदे उत्सव “विन्टर फेष्ट” आयोजना गरेको छ । यो कार्यक्रम, विद्यार्थीका लागि मनोरञ्जन र रचनात्मकता सहित, उद्यमशीलताको एक अद्वितीय मिश्रण बनेको कलेजको दाबी छ । यो उत्सवमा विद्यार्थीले, योजना निर्माणदेखि कार्यान्वयनसम्मका हरेक पक्षको जिम्मेवारी लिएका थिए । यसपालाको विन्टर फेष्टले, विद्यार्थीलाई समग्र सिकाइ अनुभव प्रदान गरेको कलेजको दाबी छ । विन्टर फेष्टले, विद्यार्थीको क्षमता तिखार्दै, जीवनका चुनौती सामना गर्न आत्मविश्वास भरेको कलेजको विश्वास छ । कार्यक्रमको अवधारणादेखि कार्यान्वयनसम्मका योजना छनौट, बजेट निर्माण लगायतका पक्षको सबै जिम्मेवारी विद्यार्थीलाई दिइएको थियो । यो कार्यक्रमले, विद्यार्थीलाई परम्परागत कक्षाकोठाको चौघेराभन्दा बाहिर जाने व्यावहारिक सीप प्रदान गरेको लर्डबुद्ध एजुकेशन फाउन्डेसनका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले जानकारी दिए । कार्यक्रमले, स्टेज सजावटदेखि विक्रेता चयन, बिलिङ र कारोबारका अरू तत्त्वहरूको लागत जुटाउनका लागि पनि सहयोग गरेको छ । यो कार्यक्रममा विद्यार्थी आफैँले, स्टेज सजावटको लागि पक्षसँग वार्ता, सम्झौता, गुणस्तरीय खाना विक्रेता सुनिश्चित गर्ने र पुरस्कार र उपहारका लागि आपूर्तिकर्ताहरूसँग समन्वय गरेका थिए । यस्तो अन्तरक्रियाले विद्यार्थीको सञ्चार र वार्तालाप कौशल बढाउने कलेजको भनाइ छ । विन्टर फेष्टमा विद्यार्थी आफैँले नृत्य प्रदर्शन, साङ्गीतिक कार्यक्रम, स्वादिष्ट खानाका परिकार, खेलकुद र रोमाञ्चक पुरस्कार सहित विभिन्न गतिविधि सम्पन्न गरेका छन् । यस्ता कार्यक्रमले, विद्यार्थीको रचनात्मकतासँगै सामूहिक भावना, व्यावहारिक ज्ञान र अनुभव सँगाल्दै उद्यमशीलताको संस्कृतिलाई बढवा दिएको कलेजको दाबी छ ।
स्याङ्जाको एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
स्याङ्जा । स्याङ्जाको भिर कोट नगरपालिका–७ मा यस वर्ष ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बल माटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट रु ११ करोड बढी भित्रिएको बताए । करिब एक सय घरपरिवारले व्यावसायिकरूपमा सुन्तला उत्पादन गर्दै आइरहेका उनले जानकारी दिए । ‘यस वडाका अधिकांश किसान व्यावसायिकरूपमा सुन्तलाखेतीमा आबद्ध हुनुहुन्छ’, अध्यक्ष अर्यालले भने, ‘यहाँ यस वर्ष सबैभन्दा थोरैमा रु ५० हजारदेखि लिएर धेरैमा रु ३० लाखसम्म आम्दानी गर्नुभएको छ ।’ तिहारका बेलादेखि सुन्तला बजार पठाउन सुरु गरेर माघको दोस्रो सातासम्म सबै बिक्री गरिसक्ने अध्यक्ष अर्यालले जानकारी दिए । सुरुमा प्रतिकेजी रु ४० मा बिक्री गरेको सुन्तला अन्तिममा आइपुग्दा प्रतिकेजी रु ७० का दरले बिक्री भएको जनाइएको छ । ‘यहाँ उत्पादन भएका सुन्तला किसान आफैँले बिक्री गर्ने, बगैँचा नै ठेक्का दिने वा तौलेर अन्यत्र पठाउने गरिन्छ’, उनले भने, ‘विशेषगरी यहाँका सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, बुटवलजस्ता सहरमा जाने गरेको छ ।’ स्थानीय व्यापारी तथा काठमाडौँबाट आएका व्यापारीले बगैँचा नै ठेक्का लिएर बिक्री गर्ने गरेका छन् । कतिपय किसानले चिनजान र फोन सम्पर्कका आधारमा गाडीबाट व्यापारीकहाँ पठाइदिने गरेका छन् । ‘गत वर्ष यस वडामा सुन्तला बिक्रीबाट करिब रु १५ करोड भित्रिएको थियो’, उनले भने, ‘गत वर्षजस्तो यस वर्ष उत्पादन भएन यसकारण आम्दानी पनि घट्न पुग्यो, आगामी वर्ष नयाँ बोट तयार हुने भएकाले उत्पादन बढ्छ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र भिर कोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बिरुवा, सिँचाइ ट्याङ्की, पाइप वितरण गरिएको अध्यक्ष अर्यालले बताए । नयाँ बिरुवा हुर्कँदै गरेकाले आगामी वर्ष थप पाँच–छ करोड बढी सुन्तला बिक्रीबाट आम्दानी भित्रिने दाबी उनको छ । कोदोखेती गर्दै आएका बारीमा अहिले सुन्तलाका बोट देख्न सकिन्छ । सुन्तलाखेतीबाट आम्दानी लिन सकिने भएपछि यहाँका स्थानीय सुन्तलाखेतीतर्फ आकर्षित हुँदै गएका छन् । गत वर्ष स्याङ्जामा सुन्तला बिक्रीबाट रु एक अर्ब २५ करोड भित्रिएको थियो भने यस वर्ष उत्पादन कम भएसँगै आम्दानी पनि केही घट्ने अनुमान कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको छ । रासस
दुर्घटनामा मृत्यु भएका आफन्तहरूलाई क्षतिपूर्ति हकदाबी गर्न मनाङ एयरको आग्रह
काठमाडौं । मनाङ एयरले दुर्घटनामा मृत्यु भएका आफन्तहरूलाई क्षतिपूर्ति हकदाबीका लागि निवेदन पेश गर्न आग्रह गरेको छ । मनाङ एयर प्रालिको एयर बस हेलिकोप्टर एच१२५ (९एन–एएनजे)विमान दुर्घटनामा परी मृत्यु भएका आफन्तहरूलाई क्षतिपूर्ति हकदाबी गर्न आग्रह गरेको हो । वि.सं. २०८० असोज २७ गते मनाङ एयरको विमान सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ स्थित लोबुचेमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा चालक दलको सदस्य क्याप्टेन प्रकाश कुमार सेढाईको मृत्यु भएको थियो । प्रचलित कानून अनुसार क्षतिपूर्ति रकम पाउँ भनी उनकी श्रीमती सबिना खड्काले प्रमाणसहित निवेदन प्राप्त भएको मनाङ एयरले जनाएको छ । यदि क्षतिपूर्ति रकम उपर अन्य कसैको दावी लाग्ने भए मुलुकी देवानी संहिता, २०७४ को दफा २३९ (१) बमोजिम हकवालाहरूले ३५ दिनभित्र हकदाबी गर्न कम्पनीले आग्रह गरेको हो । उक्त समयभित्र हकदाबी पर्न नआएमा दाबीकर्ता खड्कालाई क्षतिपूर्ति रकम भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
यसरी भित्र्याउन सकिन्छ वैदेशिक लगानी, के हुन् समस्या ?
काठमाडौं । नेपालको विकास आवश्यकता पूर्तिका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनु अपरिहार्य भएपनि लगानीकर्तालाई आकर्षित गर्ने वातावरण र महत्वका साथ स्वागत गर्ने संस्कृतिको विकास अझै हुन नसकेको जानकारहरुले धारणा राखेका छन् । युएस एजुकेसन फाउन्डेसन नेपालको सहयोगमा नेपाल एशोसियसन अफ हम्फ्रेज फेलोज्ले आयोजना गरेको ‘नेपालमा लगानीको अनुकुल वातावरण सिर्जना : सम्भावना र चुनौती विषय’ कार्यक्रमका वक्ताहरुले लगानीकर्ताले के चाहन्छन् भन्ने कुरामा नेपालको ध्यान दिन नसकेको बताएका हुन् । नेपालमा तुलनात्मकरुपमा प्रत्यक्ष वैदेशिक लगानी निकै कम भित्रिनु र यहाँ लगानी गर्न खोज्ने लगानीकर्तालाई सहज रुपमा प्रतिफल लैजानसक्ने विश्वस्त आधार दिन नसक्नुलाई समस्याका रुपमा औंल्याइएको छ । लगानीकर्ताले नेपालमा भोग्नुपर्ने कानूनी तथा प्रशासनिक झन्झट, लगानीको सुरक्षा तथा प्रतिफलको प्रत्याभूति, लगानी भित्र्याउन सम्भाव्य आयोजनाको उपलब्धता, वस्तु तथा सेवाको सहज बजार उपलब्धतालगायतका समस्या अहिले रहेको कार्यक्रममा सहभागीहरुको भनाइ छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले लगानीकर्तालाई देखाउनका लागि आयोजना नै तयारी अवस्थामा नरहेको बताए । “लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनाउनका लागि हामीले गर्ने सहजीकरणको प्रयास नै पुगेको छैन । लगानीकर्ताले हाम्रा आयोजना विकासको कुन चरणमा छन् भन्दा हामीले अध्ययनकै चरणमा भन्नुपर्ने हुन्छ । लगानीयोग्य, राम्रा प्रोजेक्ट पाइपलाइन छैनन्”, उनले भने, “आयोजनाको पूर्वसम्भाव्यता अध्ययनमै पनि समस्या छ । परामर्शदाता कम्पनीहरु पनि काबिल बनिसकेका छैनन् । आयोजनाको अध्ययनकै लागि मात्र पनि कुनै विकासकर्ता कम्पनीलाई आयोजनाको अविभावकत्व सुम्पनुपर्ने अवस्था छ ।” विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताको तुलनामा वास्तविक प्राप्ति केही कम देखिए पनि अधिकतम प्राप्तिका लागि लगानी बोर्डले विभिन्न चरणमा सहजीकरण गरिरहेको उनको भनाइ छ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा केही महत्वपूर्ण आयोजनामा सम्झौताको तयारी भइरहेको पनि उनको भनाइ छ । “लगानी सम्मेलन गन्तव्य नभई यात्रा हो । प्रोजेक्ट पाइपलाइन बिना नै लगानी सम्मेलनमा कसरी जाने भन्ने पनि प्रश्न हुनसक्छ । बोर्डले हालसम्म गरेका कामका आधारमा सकारात्मक भाष्य स्थापित गर्ने र लगानीकर्तालाई विश्वस्त तुल्याउने आधारहरु छन् । केही अपवाद बाहेक प्रतिवद्धता अनुसारको लगानी भित्रिएको पनि छ”, भट्टले भने, “लगानी भनेको पूर्वाधार क्षेत्रमा मात्रै हुन्छ भन्ने होइन । सेवा क्षेत्र, उच्च मूल्य (हाइ भ्यालु) भएका वस्तु उत्पादन गर्ने उद्योग, सूचना प्रविधि क्षेत्रमा पनि ठूलो सम्भावना छ ।” लगानी बोर्डका पूर्व सीईओ राधेश पन्तले नेपालका सबै क्षेत्रमा गैरजिम्मेवारीपन बढेको र जफादेहिता घटेका कारण पर्याप्त वैदेशिक लगानी भित्रन नसकेको बताए । “हाम्रो राजनीति, सरकार, निजी क्षेत्र सबै गैरजिम्मेवार भए । हामी गफ गरेर बस्छौं, तर विकास बिर्सिन्छौं । जवाफदेयिता नै भएन”, उनले भने, “प्रजातान्त्रिक मूल्य मान्यताको गतल प्रयोग भैरहेको छ । अधिक स्वतन्त्र भएर सबै क्षेत्रमा मनोमानी देखियो ।” प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि नेपालका विद्यमान कानुनले व्यवधान सिर्जना गरेको भए त्यस्ता कानुन संशोधन गरिनुपर्ने उनको भनाइ छ । पूर्वाधार आयोजना बनाउँदा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा देखिने बहुआयामिक फाइदाबारे नागरिकस्तरमा सकारात्मक धारणा सिर्जना गरिनुपर्ने पनि पन्तले बताए । त्यस्तै, लागानी बोर्डमा स्थायी कर्मचारी व्यवस्थापनको आवस्यकता उनले औंल्याए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले लगानीकर्तालाई उत्साहित बनाउने गरी कानुनी सुधारको प्रयास थालिनुपर्ने बताए । त्यस्तै, नेपालमा लगानीको अवस्थाबारे सकारात्मक भाष्य सिर्जना गर्न निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्ने र लगानीकर्तालाई काम गर्न सहज महसुल हुने गरी स्वागतको संस्कृति विकास गरिनुपर्नेमा उनले जोड दिए । लगानीकर्तालाई नेपालमा लगानी गर्न उनीहरु नेपाल आएपछिका हरेक चरणमा सहजीकरण गरिनुपर्ने सहसचिव गौतमको भनाइ छ । विभिन्न निकायबीच समन्वय हुन नसक्दा लगानीकर्तालाई झमेला हुनसक्ने भएकाले त्यस्तो समन्वयको वातावरण तयार पार्नुपर्नेमा उनले जोड दिए । महिला उद्यमी तथा प्रविधि सेवा प्रदायक कम्पनी किम्बु टेकका प्रमुख कार्यकारी अधिकृत कार्भिका थापाले सूचना प्रविधि क्षेत्रको सेवा निर्यात सम्भावना देखिएपनि सरकारले यो क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताए । नेपालबाट निर्यातका लागि जलविद्युत् क्षेत्रपछि सूचना प्रविधि क्षेत्र स्थापित हुनसक्ने सम्भावना देखिएपनि त्यसका लागि पर्याप्त लगानी र सहजीकरण भने हुन नसकेको बताए । “सरकारी संयन्त्रले सूचना प्रविधि क्षेत्रमा कसरी काम हुन्छ र राजस्व कसरी ट्र्याकिङ गर्ने भन्ने नै पहिचान गर्न सकेको छैन । सानो पुँजी मात्रै लगानी भएको छ । विदेशी लगानीकर्ता आउन सकेका छैनन्”, उनले भने, “बढीभन्दा बढी देशसँग दोहोरो करमुक्ति सम्झौता गर्न आवश्यक छ । सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका कम्पनीलाई बैंक तथा वित्तीय संस्थाले सहजै कर्जा दिँदैनन् । धितोको समस्या छ । हाम्रा शैक्षिक संस्थामा सूचना प्रविधिको राम्रो पाठ्यक्रम छैन ।”
आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध
नयाँ सडकमा मोटर साइकल पार्क गरिदै । काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए । महानगर प्रहरी प्रमुख पाण्डेले भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए । उनले भने, “भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।” उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताए । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।
नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस दर कायम गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७८/७९को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट माघ ३गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) बीमालेखमा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटि जीवन बीमा)योजनामा ० देखि १० वर्ष अवधिको प्रतिहजार ६५ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बानेस दर निर्धारण गरिएको छ । सावधिक जीवन (जीवन समुन्नत) बीमालेखमा ० देखि १० वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ५६ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ५६ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षको ७० रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ७० रुपैयाँ बानेस दर तोकेको छ । सावाधिक तथा आजीवन (जीवन साहारा) बीमायोजनामा ० देखि १० वर्ष अवधिको ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८२ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । कम्पनीले अग्रिम भुक्तानी (जीवन समृद्धि) बीमा योजनाको १५ र २० वर्षे अवधिको प्रतिहजार ५० रुपैयाँ बोनस दर तोकेको छ । अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) बीमा योजनामा सबै अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनस दर तोकेको छ । अन्य (जीवन सारथी) बीमा योजनामा कम्पनीले ० देखि १० वर्ष अवधिको ६२ रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६१ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६१ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको ८५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।
१ सय रुपैयाँमै घलेम्दी हाईड्रोको ३२ लाख कित्ता सेयर बिक्री खुला
काठमाडौं । घलेम्दी हाईड्रोले आजदेखि माघ ९ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले माघ २३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।