विकासन्युज

होण्डाको अफर : ७ हजार रुपैयाँसम्मको छुट

काठमाडौं । होण्डाले ग्राहकका लागि फेरी अर्को एउटा आकर्षक योजना सार्वजनिक गरेको छ। यस नयाँ योजनालाई ‘होण्डा छ साथ साथ’ शीर्षक दिइएको होण्डाका लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्गले जनाएको छ । यस योजना अन्तर्गत अब ग्राहकले होण्डाका कुनै पनि दुई पाङ्ग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपन मार्फत नगद ७००० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । यो योजना माघ १४ देखि फागुन १४ सम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ ।

चार वर्षदेखि प्रशासकीय अधिकृतविहीन गाउँपालिका

काठमाडौं । बैतडीको डिलासैनी गाउँपालिका विगत चार वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । निमित्त कर्मचारीलाई अधिकृतको जिम्मा दिएर सेवा प्रवाह गर्दै आएको उक्त गाउँपालिकामा हाल निमित्त कर्मचारी पनि नभएको अवस्था छ । पालिकामा आवश्यक कर्मचारी तथा अधिकृत नहुँदा पालिकामा कार्य सञ्चालन गर्नै समस्या हुन थालेको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए । उनका अनुसार डिलासैनी गाउँपालिका वि.सं. २०७६/७७ देखि प्रशासकीय अधिकृत विनै सञ्चालन हुँदै आइरहेको छ । ‘हाम्रो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नभएको झण्डै चार वर्ष भयो, अधिकृत नभएपछि निमित्त कर्मचारीलाई प्रशासकीय अधिकृत बनाई काम गर्दै आएका थियौं । तर, हाल निमित्त कर्मचारी पनि पालिकामा नभएपछि गाउँपालिका प्रशासकीय अधिकृतविहीन भयो,’ उनले गुनासो गर्दै भने । अध्यक्ष जोशीले दशैंदेखि आर्थिक जिम्मेवारीको दायित्व नभएका कर्मचारी लिएर सेवा सञ्चालन गर्नुपर्ने बाध्यात्मक परिस्थितमा रहेको बताउँदै कर्मचारी नभएकाले पालिकाबाट हुनुपर्ने सेवा प्रवाह मूर्त रूप दिन नसकेको बताए । हाल डिलासैनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, भौतिक पूर्वाधार शाखामा इन्जिनियर र योजना शाखामा अधिकृत छैनन् । गाउँपालिका ७ वटा वडामध्ये तीन वडामा मात्र वडा सचिव छन् । बाँकी वडा कार्यालयमा प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएर काम चलाइरहेको पनि जोशीले बताए । संघीय मन्त्रालयमा कर्मचारी व्यवस्थापनका लागि पटक-पटक पहल गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ । ‘हामीले यहाँ दशैं अगाडि प्रमुख प्रशासकीय अधिकृत रंजय पटेललाई नियुक्त गरेका थियौं, उहाँ नियुक्त गरेको झण्डै डेढ महिनामा काठमाडौं नै बस्नुभयो । आएर काम थालेको छैठौं दिन सुरुवाको पत्र आएको बताउनुभयो’, ‘उनले भने, ‘उहाँले मलाई सरुवा पत्र मिलाउन केही रकम खर्च भएको बताउनुभयो, त्यसैले कर्मचारी सरुवा र व्यवस्थापनमा मन्त्रालयप्रति पनि आशंका छ ।’ यहाँ आउने कर्मचारीलाई स्थानीय बाजा गाजासहित स्वागत गरी राम्रोसँग काम गर्ने वातावरण मिलाउँदा पनि अधिकृतहरू पालिकामा बस्न नमानेको उनको गुनासो छ । उनका अनुसार बारम्बार कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयमा ताकेता गरे पनि पहल भएको छैन । संघीय मन्त्रालयले गाउँपालिकामा तत्काल आवश्यक कर्मचारीको व्यवस्थापन गर्नुपर्ने माग उनको छ । ‘हामी काठमाडौंको सिंहदरबारबाट टाढा भएकै कारणले हो, या स्वतन्त्र भएकोले हो, हामीलाई कर्मचारी व्यवस्थापनमा समस्या भइरहेको छ, काम गर्न सकेनौं भन्ने ठाउँ पनि छैन, कर्मचारी नै नभएपछि काम कसरी हुन्छ,’ उनले भने ।

सानिमा रिलायन्स लाइफको सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । माघ ११ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना निर्विरोध निर्वाचित भएका हुन् । संस्थापक समूहबाट प्रतिनिधित्व गर्नेमा रतनलाल केडिया, कुमारप्रसाद कोइराला, भरतकुमार तोली र डा. सुवर्णदास श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहतर्फबाट केशवराज के.सी. र परिक्षित खेम्का निर्वाचित भएका छन् । यससँगै माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले नवनिर्वाचित सञ्चालकहरुबाट रतन लाल केडियालाई अध्यक्ष पदमा नियुक्त गरेको छ । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग समक्ष शपथ ग्रहण समेत गरेका छन् ।

त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो । विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटरमा क्लिक गरी सेवाको शुभारम्भ गरेका थिए । उद्घाटनपछि उनले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान आज सुरु भएको र यो सफलतामा पुग्ने विश्वास व्यक्त गरे । यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुस्थित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । अनलाइन सेवा प्रारम्भ भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउनेजस्ता कार्यका लाग घरैबाट अनलाइन निवेदन दिन सक्नेछन् । सोका लागि विद्यार्थीले आफ्नै कम्प्युटरबाट  www.tuexam.edu.np मा लग इन गरी तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिनसक्ने जानकारी कार्यक्रममा दिइयो । चौबिसैँ घन्टा चल्ने सो प्रणालीमा निवेदन दिएपछि विद्यार्थीको उक्त निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी कार्यालय समयभित्र विद्यार्थीले पाउनेछन् । उनका अनुसार अस्वीकृत भएमा त्यसको कारणसमेत खुलाइ सच्याएर वा नपुग विवरण राखेर पुनःआवेदन गर्नसमेत विद्यार्थीलाई आग्रह गरिनेछ । यसरी दिइएको निवेदनमा सबै प्रमाण पुगेको वा मिलेको छ भने निवेदन दिएको एक साताभित्र प्रमाणपत्र तयार हुने छ । यसरी तयार भएको प्रमाणपत्र लिन सम्बन्धित परीक्षार्थी उपत्यकाको हकमा परीक्षा नियन्त्रण कार्यालय बल्खुमै जानुपर्नेछ । उपत्यका बाहिरका विद्यार्थीले भने प्रमाणपत्र लिनका लागि सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालय जानुपर्ने हुन्छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षाका जुनसुकै कामका लागि पनि बल्खु नै जानुपर्ने अवस्थाको अन्त्य गरी समयअनुसार त्रिविका शैक्षिक क्यालेन्डरलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको हो । आगामी दिनमा प्रमाणपत्र वितरणलगायत सबै कार्य अनलाइनमै गर्ने गरी तयारी भइरहेको पनि परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । कार्यालयले अबको करिब एक महिना अनलाइन र आफैँ बल्खु आएर निवेदन दिनेगरी दुईवटै प्रणाली राखिने जानकारी पनि उनले दिए । अनलाइन सेवा चलाउनका लागि अझै पनि कार्यलयले दक्ष र पर्याप्त जनशक्तिको अभाव भोग्नुपरेकोसमेत उनले बताए। दोस्रो चरणदेखि यस्ता प्रमाणपत्र सम्बन्धित क्याम्पसबाट विद्यार्थीले पाउने जानकारी कार्यक्रममा दिइयो । ‘फागुन १ गतेदेखि यसलाई पूर्णतः अनलाइन प्रणालीमा लगिनेछ’, उनले भने । अनलाइन सेवामा २०५४ सालपछिका प्रमाणपत्रको काममात्र समेट्ने जानकारी परीक्षा नियन्त्रक जोशीले दिए । त्यसभन्दाअघिका प्रमाणपत्र कम्प्युटर अभिलेखमा नरहेका कारण त्यसअघि परीक्षा दिएकाहरुले प्रमाणपत्रसम्बन्धी सेवा लिन बल्खु नै पुग्नुपर्ने उनले जानकारी दिए । यद्यपि यस्ता सेवाग्राही अत्यन्त थोरै सङ्ख्या महिनामा एक/दुई जना आउने गरेको उनले बताए । परीक्षा सुधारको मागसहित आन्दोलनरत त्रिविका विद्यार्थी नेताले त्रिविको यस कार्यलाई सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । त्रिवि स्ववियुका उपसभापति अनोज कार्कीले आफूहरुको १० सूत्रीय मागमध्येको एउटा महत्वपूर्ण माग पूरा भएको बताए । रासस

बैंकबाट कर्जा लिँदा सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य

काठमाडौं । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुनुपर्ने बताएका छन् । उनले कर्जा सुरक्षित गर्नको लागि पनि ग्राहकहरू अनिवार्य रुपमा कोषमा आबद्ध हुनुपर्ने बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्दा वा कर्जाको नवीकरण गर्दा सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता भएको सुनिश्चित गरेमा कर्जा सुरक्षित हुने देखिन्छ,’ उनले भनेका छन् । सामाजिक सुरक्षा कोषमा आबद्धता कानुनतः अनिवार्य रहेको बताउँदै उनले यसमा आबद्ध नभएकै कारणले कुनै रोजगारदाता श्रमिकको सामाजिक सुरक्षासम्बन्धी दायित्वबाट भाग्न नपाउने जिकिर गरेका छन् । यदि कुनै श्रमिकको मृत्यु भएमा निजको हकवालाले आजीवन निवृत्तभरण बराबरको रकम एकमुष्ट भुक्तानी गर्नुपर्ने र सो रकम सरकारी बाँकी सरह असुल उपर हुने व्यवस्था छ । तसर्थ बैंकले कर्जा प्रवाह गर्दा वा कर्जाको नवीकरण गर्दा जसरी कर चुक्ता भए वा नभएको हेरेर मात्र निर्णय गर्दछ, त्यसरी नै सामाजिक सुरक्षा कोषमा आबद्ध भए वा नभएको यकिन गरेर मात्र कर्जा नवीकरण वा प्रदान गर्नुपर्ने कार्यकारी निर्देशक अधिकारीले बताए । जसले गर्दा बैंक तथा वित्तीय संस्थाको कर्जा सुरक्षित हुनुका साथै रोजगारदाता र श्रमिकको जीवन पनि सुरक्षित हुने उनको भनाई छ । उनले बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कर्मचारीहरू कोषमा आबद्ध छैनन् भन्ने भ्रम रहेको बताए । यसै सम्बन्धमा सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार हाललाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न अनिवार्य नभए तापनि कोषमा वित्तीय क्षेत्रको कुल श्रमिकको ५ प्रतिशतभन्दा बढीको सहभागिता रहेको कार्यकारी निर्देशक अधिकारीको भनाइ छ । साथै, प्राइम बैंकको एउटा मुद्दामा श्रम ऐन बैंकलाई समेत लाग्ने गरी फैसला गरेकाले बैंकिङ क्षेत्र पनि कोषमा आबद्ध हुने विषयले व्यापकता पाएको उनी बताउँछन् ।

नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ

काठमाडौं । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौंं महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिइ दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पढाउन मिलाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ केन्द्रीय विद्यालयमा पढाउन मिलाइ दिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका भङ्गाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका–२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको छ । राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाइदिन्छु भन्दै एक जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । राउतले विभिन्न राजनीतिक नेतृत्वसँगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वसँग नजिकको सम्बन्ध रहेको भनी सर्वसाधारणलाई विभिन्न बहाना बनाई ठगी गर्ने गरेकोसमेत खुल्न आएको छ । उनीउपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

सेयर बजारमा सुधार, टप गेनरको सूचीमा अधिकांश हाइड्रो कम्पनी

काठमाडौं । आइतबारजस्तै सोमबारको सेयर बजारमा पनि सुधार देखिएको छ । बजारमा नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४८ प्रतिशतले बढेको हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । आइतबार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ३११ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । गत सातादेखि निरन्तर सर्वाधिक कारोबार भएको इन्स्योरेन्सको सोमबार ६० करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य आइतबारको तुलनामा २५ रुपैयाँले बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । बजारमा हाइड्रोपावर कम्पनीको सेयरमा उछाल देखिएको छ । सो दिन टप गेनरको सूचीमा अधिकांश हाइड्रो कम्पनी रहेका छन् । युनियन हाइड्रोपावरको १० प्रतिशत, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.९९ प्रतिशत, मिडसोलु हाइड्रोपावरको ९.९९ प्रतिशत, विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८.७० र अप्पर स्यांगे हाइड्रोपावरको सेयर मूल्य ८.४३ प्रतिशतले बढेको छ । सोमबार टप लुजरको शीर्ष स्थानमा गरिमा डिबेन्चर २०८५ रहेको छ । जसको मूल्य प्रतिथान १० प्रतिशतले घटेर प्रतिथान ८८६.५० रुपैयाँमा झरेको छ । बजारमा बैंकिङ्ग, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् ।

अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको बताए । कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताए । जनसंख्या बढीरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताए । देशमा कामै नपाउने अवस्था रहेको बताए । दक्ष जनशक्ति नहुने र आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताए । ‘मैले सर्सती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् । एकथरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरु राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउन नसक्ने, घर व्यवहार हाम्रो चल्न नसक्ने एउटा अवस्था । अर्को कामै नपाउने अवस्था छ । अर्को दक्ष जनशक्ति नहुने अवस्था, यसले यो स्वास्थ्य क्षेत्र अर्थात आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारा आइलागेका छन् । र अर्को कुरा भौतिक पूर्वाधारदेखि लिएर अरु कुरा छन्’, उनले भने । मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमीक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए ।