विकासन्युज

विवाहका लागि वडाको सिफारिस अनिवार्य

जुम्ला । बालविवाह हुन नदिन तिला गाउँपालिका-६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए । कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष रोकायाले भने, ‘विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको छ, वैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका छौँ ।’ कानुनीरूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । तिला–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा एक सय १० गरी जम्मा दुई सय १३ घरधुरी रहेका छन् । अहिले वडाको सिफारिस अनिवार्य गरेपछि वैशाखयता पाँच जना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने हुन्छ । उमेर नपुग्दै विवाह गर्ने सुडीगाउँमा दुई र घोडेगाउँमा एक बालविवाह गर्नेलाई रोक्ने काम भएको वडाध्यक्ष रोकायाको भनाइ छ । वडाको सिफारिस अनिवार्य गरे पनि तिलाका अरु वडाले प्रभावकारीरुपमा निर्णयलाई कार्यान्वयन गर्न नसकेको तिला-१ का स्थानीय उपराज रावतले बताए । वडाध्यक्षहरुले गाउँमा हुने विवाहलाई उमेर पुगे/नपुगेको जानकारी लिनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ । रासस

‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीद्धारा प्रतिज्ञा

काठमाडौं । ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा गरेका छन् । ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरुको सबै व्यक्तिगत तथा वित्तिय जानकारीहरु गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुको बारेमा अद्याबधिक रहने प्रतिज्ञा गरेका छन् । नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमूख प्रविधि अधिकारी सूनन्द मल्होत्राका साथै अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराए । हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

स्टार्टअप उद्यमीका लागि उद्योग मन्त्रालयले छुट्यायो २५ करोड, तीन प्रतिशत ब्याजमा ऋण

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यमीका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रदान गर्ने उद्देश्यले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ स्वीकृत गरेर मन्त्रालयले उक्त रकम विनियोजन गरेको जनाएको छ । उद्यम दर्ता गरेर ७ वर्ष पूरा नगरेका कार्यविधिको मापदण्डभित्र पर्ने उद्यमीले स्टार्टअप कर्जाको लागि आवेदन पाउने मन्त्रालयले जनाएको छ । ‘कुनै वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वा वितरण प्रक्रियामा नवीन प्रविधि एवम सिर्जनशील सोचको प्रयोग गरेको’, कुल चुक्ता पुँजी दुई लाखदेखि १० लाख रुपैयाँ भएको र स्थिर पुँजी दुई करोड रुपैयाँभन्दा बढी नभएको उद्यमीले उक्त सहुलियतपूर्ण कर्जा पाउने कार्यविधिमा उल्लेख गरिएको छ । कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहसँग सम्बन्धितलगायत १६ क्षेत्रका उद्यमीहरू स्टार्टअप कर्जा प्राप्त गर्न योग्य हुने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार स्टार्टअप परियोजनाको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्ने र उद्यमी छनोटका लागि प्रस्ताव आह्वान गर्नेछ । प्रस्तावका लागि कार्यविधिले निश्चित ढाँचासमेत तोकेको छ । साथै, एकजना उद्यमीले अधिकतम २५ लाख रुपैयाँ वार्षिक ३ प्रतिशत ब्याजमा पाउने कार्यविधिमा उल्लेख छ । छनोट भएका उद्यमीहरूले बैंकबाट अधिकतम शून्य दशमलव एक प्रतिशत ब्याज लिएर कर्जा प्रवाह गर्ने र तमसुकमा सम्झौता भएको आधारमा ब्याज र किस्ता बुझाउनुपर्ने छ । बैंकले ५ लाखसम्मको कर्जा एक किस्ता, १५ लाखसम्मको कर्जा २ किस्ता र त्यसभन्दा माथिको कर्जा ३ किस्तामा उपलब्ध गराउने मन्त्रालयका सहायक प्रवक्ता शेखरबाबु कार्कीले बताएका छन् । हेर्नुहोस ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ ।

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।’ उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताए । आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए । उनले भने, ‘प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ ।’ देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्त्पूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘कोभिड महामारीको त्रासदीपूर्ण परिस्थितिमा होस् वा हालैको भूकम्प, प्रतिष्ठानले पूर्ण जिम्मेवारीबोधका साथ पूर्वतयारी, आवश्यक सतर्कता, उद्धार र उपचारका क्षेत्रमा निकै महत्त्वपूर्ण काम गरेको छ ।’ आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले अनुभूत गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविष्कारमा प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गरे । कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ प्रधानमन्त्री दाहालले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताए ।  प्रतिष्ठानको सभालाई सम्बोधन गर्दै उनले भने, ‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।’ प्रधानमन्त्रीले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिए । साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे । उनले भने, ‘बाटोघाटोको असुविधा, दक्ष चिकित्सक र प्राविधिकको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्या छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ । आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ ।’ चिकित्सक, प्राविधिक र कर्मचारीको वृत्तिविकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरूका  मागहरू क्रमशः सम्बोधन गर्दै जाने विश्वास दिलाउँछु ।’ रासस

धनुषामा भन्सार छलीका सामान बरामद

गोदार । भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको सात लाख ५७ हजार रूपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो । सामान ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको प्रहरीले जनाएको छ । रासस

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा फेरिएको चित्र

काठमाडौं । वर्षौं पुरानो भवन, साँघुरो ठाउँ । यात्रुहरूको भीडभाड थेगिनसक्नु । यात्रुहरू वायुसेवा कम्पनीका काउन्टरसम्म पुग्न उस्तै परे घण्टौं लाइनमा उभिनुपर्ने । यस्ता कुरामा यात्रुहरू आफ्ना गन्तव्य पुग्न जहाज चढ्नुअघि नै ‘माइण्ड प्रिपेयर’ गरेर आउँथे । सास्तीका कुरै नगरौं । अनि, गन्तव्य पुग्न हतारिएका यात्रु र उताबाट फर्केका यात्रुबीच एकै ठाउँ जम्काभेट हुन्थ्यो । त्यसपछि अर्को गन्जागोल भइहाल्थ्यो । समस्या, अर्को पनि थियो । फर्केर आउँदा आफ्ना लगेज, ब्यागेज वा अलि ठूला आकारका सामानका झोला वा सुटकेस लिन अर्को कैयौँ मिनेट कुर्नुपर्ने । कतिखेर आफ्नो सामान आइपुग्ला भनेर ‘ट्याग’ समातेर उभिनुको विकल्प पनि थिएन । यी त भए विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक हवाई टर्मिनलमा यात्रुले खपेका सास्तीका कुरा । र, अब यो इतिहास भइसकेको छ । साँच्चै, अहिले के भएको छ त ? समस्या ज्युँका त्युँ छ ? तपाईंलाई लाग्न सक्छ, हो त्रिभुवन विमानस्थल न पर्यो, यति समस्या पनि सामना नगरे त्रिभुवन विमानस्थलको विशेषता नै के रह्यो र ! तर होइन, तपाईं गलत हुनुहुन्छ । विगतमा यात्रुहरूले झेलेका, भोगेका र सामना गरेका समस्या जादुको छडी झैं ‘छु मन्तर’ भएको छ । कसरी ? त्रिभुवन विमानस्थल व्यवस्थापनले आन्तरिक उडान गर्ने यात्रुका लागि भिन्नै ‘अराइभल’ टर्मिनल भवन बनाएर सञ्चालनमा ल्याएको छ । अब विगतमा भोगको सारा समस्या हटेर जाने निश्चित छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) मा आन्तरिक उडान गर्ने यात्रुहरूको प्रस्थान र आगमनका लागि छुट्टाछुट्टै टर्मिनल भवन तयार भएर सञ्चालनमा आएका छन्  । संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले माघ १० मा भवन उट्घाटन गरे । योसँगै आन्तरिकतर्फका यात्रुका लागि प्रस्थान भवन र आगमन छुट्टै भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अराइभल टर्मिनलको क्षमता प्रतिघन्टा ४ सय यात्रु ‘ह्यान्डल’ गर्न सक्नेछ । माघ अघिसम्म त्रिभुवन विमानस्थलको आन्तरिक सेवातर्फ ‘डिपार्चर’ (आगमन) टर्मिनलमात्र थियो । त्यसैले अराइभल र डिपार्चरका यात्रु व्यवस्थापन गर्दै आएको थियो । तर, अहिले छुट्टै अराइभल टर्मिनल भवन बनेपछि यात्रु सेवा सहज भएको विमानस्थलले जनाएको छ । अराइभल टर्मिनल नहुँदा पुरानो भवनको छेउमा एउटा कन्भेयर बेल्ट (यात्रुका लगेज, ब्यागेज) मात्र राखेर आन्तरिक यात्रुलाई सेवा दिइएको थियो । विगतमा डिपार्चर टर्मिनलको यात्रु क्षमता एक पटकमा ५ सय जनाबराबर थियो । अराइभल कक्षमा रहेको कन्भेयर बेल्टमार्फत एकपटकमा सय बढी यात्रुलाई सेवा दिन मुस्किल थियो । विमानस्थल सञ्चालन तथा व्यवस्थापन गर्ने प्रमुख निकाय तथा मुलुकको उड्डयन क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल अब डिपार्चर र अराइभल दुवै सेवाका लागि छुट्टछुट्टै भवन सञ्चालनमा आएपछि यात्रुले सहजै सुविधा पाउन थालेको बताउँछन् । ‘पुरानो डिपार्चर टर्मिनलको प्रतिघण्टा ५ सय जनाको क्षमता थियो । तीन वर्षअघि हामीले डिपार्चरमा सानो एउटा पार्ट जोड्यौं, त्यो अहिले बुद्ध एयरलाई प्रयोग गर्न टर्मिनल दिएका छौं,’ उनले भने, ‘त्यसको २ सय यात्रु क्षमता हो । अहिले प्रतिघण्टा जम्मा यात्रु क्षमता ७ सय छ ।’ उनका अनुसार अराइभलको छेउमा भने छुट्टै टर्मिनल थिएन । ६ वर्षअघि डिपार्चरको राइटपट्टि कन्भेयर बेल्ट राखिएको थियो । अराइभल भनेर छुट्टै बस्न ठाउँ थिएन । ‘अहिले प्रायः हाम्रो पुरानो डोमेस्टिक एयरपोर्टहरूमा डिर्पाचर गर्दा एयरलाइन्सको चेक इन एरिया, पर्खने ठाउँ, रेस्टरुम (शौचालय) सबै छ,’ सूचना अधिकारी भूलले भने, ‘किनभने मान्छे वेट नगर्ने, सिधै गइहाल्ने भएकाले अराइभल टर्मिनल थिएन ।’ काठमाडौंमा पहिलोपटक डोमेस्टिक टर्मिनलभित्र डिपार्चर टर्मिनलको छुट्टै व्यवस्था गरिएको उनले बताए ।  जसले प्रतिघण्टा ७ सय यात्रु ह्यान्डल गर्न सक्छ । दक्षिण भागमा अराइभल टर्मिनल नयाँ बनाइएको हो । ‘नयाँमा दुइटा कन्भेयर बेल्ट छ,’ उनले भने, ‘ती दुइटा कन्भेयर बेल्टमा ब्यागेजहरू आउँछ, कहिलेकाहीँ ब्यागेज आउन ढिलो भयो र कसैको टेकओभर गर्ने व्यक्ति ढिलो भयो भने त्यहाँ वेट गर्न मिल्यो । र, त्यसले प्रतिघन्टा ४ सय यात्रु ह्यान्डल गर्न सक्छ ।’ पहिला दुई/तीन उडान सँगैसँगै आउँदा ब्यागेजका लागि पर्खिनुपर्थ्यो, कन्भेयर बेल्टमा भीडभाड हुन्थ्यो । नयाँ टर्मिनल भवन बनेसँगै त्यो समस्या समाधान भएको सूचना अधिकारी भूल बताउँछन् । उनका अनुसार कुनै कारण यात्रु बाहिर आउन सकेनन् भने त्यहाँ पर्खिने व्यवस्था छ । निःशुल्क वाइफाई, पिउने पानी र शौचालयको पनि उपयुक्त सुविधा छ । त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फ पनि नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि यात्रुहरू निकै खुसी भएको सूचना अधिकारी भूलले बताए । ‘पहिला जहाजबाट ल्यान्ड गरेपछि बसमा चढेर सिधै सडकमा आउनुपर्थ्यो,’ उनले भने, ‘अब केही समय वेट गर्ने, बस्ने, चिया, कफी खाने सम्पूर्ण व्यवस्था हुने भएकाले आन्तरिक हवाई यात्रा गर्ने यात्रुको प्रतिक्रिया राम्रो छ ।’ विमानस्थलको अहिलेको प्रमुख लक्ष्य यात्रुलाई राम्रो सेवा सुविधा दिने र बिस्तारै प्रतिक्रिया लिएर अन्य सुविधा पनि थप्ने प्रक्रियामा रहेको उनको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा आन्तरिकतर्फ छुट्टै अराइभल टर्मिनल भवन बनेपछि यात्रुहरूलाई धेरै नै सहज भएको र सबैतिरबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताउँछन् । उनका अनुसार २०७९ जेठमा अराइभल टर्मिनल भवन निर्माण सुरु गरिएको थियो । ६ करोड रुपैयाँ लागतमा नयाँ टर्मिनल भवन निर्माण भएको हो । नयाँ अराइभल कक्षमा दुइटा कन्भेयर बेल्ट छन् । ‘अब अराइभल र डिपार्चरका छुट्टाछुट्टै भवन भएका छन्,’ प्रवक्ता झाले भने, ‘अराइभल टर्मिनलमा एउटा कन्भेयर बेल्ट राखिसकिएको छ । अहिले भइरहेको अराइभल बेल्टलाई पनि नयाँ टर्मिनलमा सार्नुपर्छ । दुइटा कन्भेयर बेल्ट भएपछि यात्रुलाई सहज तरिकाले सेवा प्रदान गर्न सकिने छ ।’ पहिला एउटामात्र कन्भेयर बेल्ट थियो । एकैपटक तीन/चारवटा जहाज आउँदा सबै यात्रुको भीडभाड हुन्थ्यो र ठाउँ पनि साँघुरो थियो । अहिले एक घण्टामा ४ सय यात्रुले ओहोरदोहोर गर्न सक्छन् । पहिला अराइभल टर्मिनल नहुँदा पुरानो भवनको छेउमा एउटा कन्भेयर बेल्टमात्र राखेर आन्तरिक यात्रुलाई सेवा दिइएको थियो । दुइटा कन्भेयर बेल्ट भएपछि प्रतिघण्टा ४ सय यात्रु प्रोसेस हुँदा पनि एकैपटक पाँच जहाज आए भने पनि ती जहाजलाई म्यानेज गर्न सकिने अवस्था बनेको प्रवक्ता झाले बताए । ‘यो भनेको पहिलाको भन्दा दोब्बर क्षमता हो,’ उनले विकासन्युजसँग भने, ‘ब्यागेज बेल्ट पहिला एउटा मात्रै थियो, अहिले दुईवटा भए । यसले यात्रुलाई पनि ब्यागेजका लागि धेरै बेर कुर्नु नपर्ने र सहज भएको छ ।’ एउटा बेल्टमात्रै हुँदा एउटा जहाजका यात्रुको सामान राखेपछि त्यो नसकिँदासम्म अर्को जहाजको राख्न नमिल्ने हुँदा यात्रुलाई पनि पर्खिराख्नुपर्ने झन्झट थियो । अहिले भने एउटै कम्पनीको जहाज छ भने पनि एउटैमा राख्न सजिलो हुने र एकैपट चार/पाँच जहाजको राख्न मिल्ने उनको भनाइ छ । ‘पहिला ठाउँ साँघुरो हुन्थ्यो, एकपटकमा दुईवटा पनि राख्न नमिल्ने,’ उनले भने, ‘त्यसभित्र त्योभन्दा बढी कुरेर बस्न ठाउँ पनि हुँदैनथ्यो । अहिले त्यो समस्या क्लियर भएको छ ।’ विमानस्थलको सेवा पहिलाभन्दा अहिले राम्रो र सहज भएपछि यात्रुहरू पनि खुसी भएको झाले बताए । ‘यात्रुहरू पनि खुसी हुनुहुन्छ,’ उनी भन्छन्, ‘अझै केही दिन चलेपछि अरू धेरै फिडब्याक आउलान् । सुरुको दिनमा राम्रै मान्नुभएको छ ।’ प्रवक्ता झाका अनुसार टिआइएले वार्षिक ८० देखि ८५ लाखहाराहारीमा यात्रु ह्यान्डल गर्छ । अहिले विमानस्थलमा वृद्ध यात्रुका लागि पहिलाभन्दा धेरै कुर्सी थपिएको झा बताउँछन् । नयाँ टर्मिनलमा दुईवटा शौचालय र फ्लाइट डिस्प्ले राखिएको छ । एउटा रेस्टुरेन्ट राख्ने योजना पनि रहेको झाले बताए । आवश्यकताअनुसार अरू सुविधा थप्दै जाने उनको भनाइ छ । पार्किङ क्षेत्रवरिपरि एक्सेस रोड पनि बनाइएको छ  । आन्तरिक विमानस्थलमा फेरिएको अर्को महत्वपूर्ण कार्य हो इन्ट्री र एक्जिट गेट । पहिले आगमन र बहिर्गमन गेट एउटै थियो । सवारी साधनको भीड बाक्लो हुन्थ्यो । तर, अहिले सवारी आवागन गर्ने बाटो फेरिएको छ । जसले यात्रुलाई धेरै सहज भएको छ । तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले सुरु गरेको निःशुल्क माइक्रोबस सेवा सञ्चालन गरेपछि यात्रुलाई धेरै सहज भएको छ । विगतमा महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यताको अहिले अन्त्य भएको छ । झाका अनुसार अहिले सञ्चालनमा रहेको अराइभल कक्षलाई नवीकरण गरेर भिआइपी कक्ष बनाउने योजना छ । ट्विनअटर विमान उडान हुने देशका अरू विमानस्थलमा पनि टर्मिनल भवन विस्तार गरिने सूचना अधिकारी भूलले बताए । उनका अनुसार अहिले नेपालगन्ज, विराटनगर र भरतपुरमा काम सुरु भइसकेको छ भने अन्यमा बिस्तारै सुरु गरिने छ । ‘ती विमानस्थलमा नयाँ संरचना बनाउँदा अराइभल र डिपार्चरको क्षमता डिक्लेयर गरेर अलग-अलग पार्टबाट बनाउँछौं, त्यसमा कन्भेयर बेल्ट, चेकिङ मेसिन राख्ने व्यवस्था गर्छौं,’ उनले भने । पर्यटन व्यवसायी के भन्छन् ? पर्यटन व्यवसायी विजय अमात्य त्रिभुवन विमानस्थलमा यात्रुहरूको आगमन र प्रस्थानका लागि छुट्टाछुट्टै टर्मिनल भवन सञ्चालनमा आउनु यात्रुका लागि सहजता र खुसीको कुरा भएको बताउँछन् । ‘अन्तराष्ट्रियतर्फ अहिले धेरै सुधार भएको छ,’ उनी भन्छन्, ‘अब त्यहाँ इमिग्रेसनमा जति काउन्टर छन्, त्यसमा २४ घन्टाका लागि जनशक्ति परिचालन गर्नुपर्छ । उता आन्तरिकमा पनि सुधार हुनु पर्यटकका लागि पनि सुखद खबर हो ।’ उनका अनुसार लगेज र स्क्रिनिङमा समस्या छैन । डोमेस्टिकतिर पनि बन्दा शतप्रतिशत नै नभए पनि ६० देखि ७० प्रतिशत सहज हुने देखिन्छ । ‘विमानस्थल व्यवस्थापनले ढिलै भए पनि आन्तरिकतर्फ छुट्टै अराइभल टर्मिनल भवन सञ्चालनमा ल्याउनु नेपाल घुम्न आउने पर्यटकका लागि पनि सहज हवाई सेवा पुग्नु हो,’ अमात्यले भने, ‘आन्तरिकतर्फ अब भीडभाड कम हुने देखिन्छ । यसले पर्यटकमाझ हाम्रो विमानस्थलको छवि थप सकारात्मक हुने निश्चित छ ।’

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी

काठमाडौं । माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी भएको छ । बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको हो । बैंकका अनुसार उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसयकस्सी स्यान्डबक्स लाई प्रायोजन गरेको हो । एसयकस्सी स्यान्डबक्स एक आईटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो जहाँ सहभागीहरूलाई सुचना तथा प्रविधि सम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम एसयकस्सी स्यान्डबक्स लाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी इनोभेसन सम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्ने छ । जसले गर्दा बैंकले आईटी विषय लिई अध्यनरत विद्यार्र्र्थीहरुलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भुमिका खेल्न मद्दत गर्दछ । यस प्रकारको सम्झौताले बैंक र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपेको बैंकले जनाएको छ ।

मुख्यमन्त्री पाण्डेको गाडी स्थानीयले रोके, निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द

बागलुङ । शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके । सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर स्थानीयको कुरा सुन्न थाले। ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएको भन्दै स्थानीयले मुख्यमन्त्री पाण्डेसँग आक्रोस पाखे । ‘हामीले धुलो कहिलेसम्म खाने मुख्यमन्त्री ज्यू ?’, काठेखोला–६ का वडाध्यक्ष वृहस्पती शर्माले भने, ‘अन्य सडक दुई वर्षमा कालोपत्र हुन्छ, बिहुँको सडक किन यस्तो भयो, यहाँका जनता आजित भए ।’ मुख्यमन्त्री पाण्डेले मध्यपहाडी पुष्पलाल लोकमार्ग अयोजना, निर्माण व्यवसायी र बिहुँका स्थानीयलाई राखेर कुरा गर्ने आश्वासन दिएपछि उनी आफ्नो गन्तव्यतर्फ लागे । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने बिहुँखण्डको ठेक्का सम्झौता रद्द गरिएको छ । बाह्र किलोमिटर लामो सडक सम्झौता रद्द गरेको ठेक्कालाई पुनः ठेक्का आह्वान गर्ने तयारीमा आयोजना रहेको छ । तर त्यसका लागि ढिला भएको भन्दै स्थानीय आक्रोषित छन् । बिहुँका स्थानीय दिवस कँडेल काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरेपछि आयोजनाले ठेक्का रद्द गरेको बताउछन् । पुनः ठेक्काको माग गर्दै स्थानीयले लोकमार्ग पटक-पटक अवरुद्ध गर्दै आएका छन् । लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये २५ किलोमिटर सडकखण्ड कालोपत्र हुन सकेको छैन । सदरमुकामको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीमध्ये बिहुँखण्डको कम्पनीसँग दुई महिनाअघि ठेक्का सम्झौता रद्द गरिएको हो । बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्डको ठेक्का सम्झौता म्याद सकिएको छ भने घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्डको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द भइसकेको छ । पुनः ठेक्काका लागि अर्थ मन्त्रालयलाई जानकारी गराएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिए । ‘निर्माण व्यवसायीको लापर्वाहीले सम्झौता रद्द गरिएको हो, तल्लो खण्डमा अहिले काम रोकिएको छ’, उनले भने । दुई वर्षमा काम सक्ने गरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्रको काम नगर्दा समस्या भएको हो । रासस