विकासन्युज

विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

काठमाडौं ।  विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ । बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए । उनले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन त्यस्तो प्रबन्ध गरिएको भन्दै सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड तथा सञ्चारमाध्यममा प्रकाशन, प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जानकारी दिए । ऐनको कार्यान्वयनका क्रममा विज्ञापन नियमन गर्ने नियमावली (पहिलो संशोधन, २०८०) र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी भई कार्यान्वयना ल्याइएका भन्दै अध्यक्ष हुमागाईँले सोको पालनामा सहयोग गर्न कलाकार र सञ्चारमाध्यमलाई आग्रह गरे । विज्ञापनमा अभिनय गर्दा लैङ्गिक र उपभोक्तामैत्री हुनुपर्ने, अश्लिल र हिंसालाई प्रोत्सहान गर्ने तथा अफवाह फैलाउने खालका हुन नहुने, राष्ट्रियता एवं राष्ट्रिय स्वाधीनतामा खलल पु¥याउन नहुने तथा कानुनतः निषेध गरिएका वस्तु र सेवाको प्रवद्र्धन गर्न नहुने आचारसंहितामा उल्लेख छ । ती व्यवस्था पालना नभएमा कानुनी कारबाही हुने भएकाले त्यसप्रति सजग रहन अध्यक्ष हुमागाईँले आग्रह गरे । उनले सरकारले ल्याउने सामाजिक सञ्जाल व्यवस्थापन ऐनमा पनि यस विषयमा उपयुक्त व्यवस्था गराउन आग्रह गरिएको जानकारी दिए । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवा केसीले जानेर वन नजानेर कानुन विपरीत हुने विज्ञापनमा अभिनय गर्दा कलाकारले समस्या खेप्नु परेको उल्लेख गर्दै होर्डिङबोर्ड र अन्य विज्ञापनमा नेपाली कलाकारको सहभागिता अनिवार्य गराउनुपर्ने बताए । नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले विद्यमान ऐन, कानुन र आचारसंहिताको पालनासहित मौलिक र सिर्जनात्मक भई व्यावसायिकतालाई प्रोत्साहन गर्ने गरी विज्ञापनमा कलाकारले अभिनय गर्नुपर्ने बताए । कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, गौरी मल्ल, दीपाश्री निरौला, धीरेन शाक्य, रवीन्द्र खड्कालगायत सहभागी थिए । रासस

नेपाली वैज्ञानिक डा. प्रेरणा श्रेष्ठलाई अमेरिकामा २९ करोडको अनुसन्धानवृत्ति

वासिङ्टन डिसी । तपाईंको बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईंको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर वस्छन् ? त्यसले कतै तपाईंको जीवनको उत्तराद्र्धमा गम्भीर समस्या लिएर डिप्रेशनको शिकार पो भएको छ कि ? अर्थात् चिकित्सकको भाषामा ‘पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ अर्थात् गम्भीर दुर्घटनापछिको मनोवैज्ञानिक सन्त्रास मानव जीवनमा आजीवन समस्याको रुपमा रहन पनि सक्छ । वास्तवमा मानव जीवनमा आईपर्ने यस्ता अनेकन विस्मृतिलाई मस्तिष्कमा भण्डारण गरेर राख्ने सुक्ष्म कोषिकाहरु र त्यसअनुसारको निर्मित प्रोटिनहरुले मस्तिष्कलाई क्रियाशील वनाउनका लागि कसरी काम गरिरहेको छ? त्यो आममानिसहरुको लागि चासो हुने कुरा पनि भएन । अझ मानिसको मस्तिष्कमा रहेका सुक्ष्म कोषिकाहरुले प्रोटिनको ‘सिन्थेसिस’ संयन्त्रमा भावनात्मक रुपले कसरी प्रतिक्रिया दिन प्रेरित गरिरहेको हुन्छ भन्ने विषय झन जटिल हो । नेपालबाट अमेरिका आएर बिसौँ वर्ष न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा. प्रेरणा श्रेष्ठ भने यही विषयलाई नै आफनो अध्ययनको प्रमुख विषय बनाएकी छिन् । सोही विषयको प्राथमिकताले उनले अहिले लोभलाग्दो सफलता हासिल गर्दै अगाडि बढेकी छन् । अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी वु्रक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आएकी श्रेष्ठलाई यस्तै विषयमा अध्ययनका लागि अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् आजको विनिमय दरमा २९ करोड २५ लाख बरावरको रकम उपलब्ध गराउने भएको छ । अनुसन्धानको लागि उपलब्ध हुने २२ लाख डलरको अनुदान पश्चात रासससँगको कुराकानीमा प्रतिक्रिया दिँदै श्रेष्ठले भनिन्-‘यो मेरो कामको लागि पुरस्कार जत्तिकै महत्वपूर्ण हो ।’ श्रेष्ठका अनुसार मानिससँग मिल्दोजुल्दो आनीबानी भएका मुसामा अध्ययन गरिने विधिअनुसार (जसलाई मस्कुलर विधि पनि भनिन्छ) उनको टोलीले किन मस्तिष्कमा लामो समयसम्म यस्तो विषय रहिरहन्छ भन्नका लागि औजार जडान गरि अध्ययन गर्नेछ। आगामी सन् २०२७ को अक्टोवर सम्ममा अध्ययन सकिने गरी हुन लागेको यो अध्ययनले भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचार विधि र पद्धति तर्जुमा हुनसक्ने श्रेष्ठ बताउँछिन् । अमेरिकी सरकारले नागरिकहरुको स्वास्थ्यको महत्वपूर्ण हिस्सा मानिएको मानसिक स्वास्थ्यसम्बन्धी काम गर्ने सरकारी निकायका अनुसार ३ तीन दशमलव ६ प्रतिशत वयस्कमा जीवन कालमा भएका कुनै घटना, दुर्घटनाका कारणले दीर्घकालीन रुपमा मनोवैज्ञानिक सन्त्रासको जीवन बिताउन वाध्य भएका छन् । यसैले यसलाई वैज्ञानिक तरिकाले कसरी अनुसन्धान गरेर दीर्घकालीन रुपमा मानसिक स्वास्थ्य सबल वनाउन सकिन्छ भनेर नेशनल इष्टिच्युट अफ मेन्टल हेल्थले विभिन्न कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्दे आएको छ । सरकारी निकायको रुपमा रहेको यसले मानव मस्तिष्कमा भावनात्मक उत्तेजनाले पार्ने असरलाई न्यूनीकरण गर्दे मानसिक स्वास्थ्यलाई जटिल बन्न नदिनेलगायत उद्देश्य अनुरुप काम गर्दे आएको छ । श्रेष्ठले दिएको जानकारी अनुसार उनको अनुसन्धान मानव मस्तिष्कमा कसरी भावनात्मक स्मरण लामो समयसम्म रहन्छ भन्नेमा केन्द्रित हुनेछ । उनी भन्छिन्-‘हामीले अनुसन्धान गर्ने मुख्य दुई पक्ष एक, गम्भीर दुर्घटनाले व्यक्तिगत रुपमा पार्ने असर र उनीहरुले यसलाई स्वत: दिने प्रतिक्रिया । यसरी दुई कुरामा केन्द्रित हुनुको कारण उक्त दुर्घटनापछि मानिसलाई जीवन पर्यन्त मनोवैज्ञानिक सन्त्रासमा राख्न यसले वल पुर्‍यायाइरहेको हुन्छ भन्ने तथ्यमा आधारित छ । हामीहरुको अनुसन्धान टिमले मनोवैज्ञानिक सन्त्रासमा परेका मानिसको मस्तिष्कमा स्मरण गराईराख्न कोषिकाले कसरी निर्देशित गराइरहेका हुन्छन् भन्ने विषयलाई अध्ययन गर्नु र पर्याप्त सूचना संकलन गर्नु हुनेछ ।’ उनी थप्छिन्-‘यो अनुदानबाट हाम्रो अनुसन्धानले केही खोजलाई उजागर गर्नेछ ।’ प्रेरणा श्रेष्ठको अमेरिकाको आगमन रमाइलो छ। सन् १९९९ मा उनलाई अमेरिकामा आउने वा कुनै देशमा एमबिबिएस अध्ययन गर्न जाने। त्यसैबेला उनी अमेरिकामा पूर्ण छात्रवृत्तिमा बायोकेमेष्ट्री अध्ययनको लागि आइन् । अमेरिकामा मेडिकल कलेजमा भर्ना हुन चारवर्षको कोर्ष आवश्यक पर्ने भएकाले मेडिकल स्कूलको लागि पूर्वतयारी कक्षामा सामेल भएकी थिइन् । अमेरिका आएपछि सन् २००२को ग्रीष्मयाममा उनले वैज्ञानिक अनुसन्धानको लागि हार्डवर्ड युनिभर्सिटीको सेल वायोलोजी ल्यावमा दिएको परीक्षामा सफलता हात पारेपछि उनलाई अनुसन्धानमा झनै बढी रुचि भयो । त्यसपछि उनले आफूले सिकेको विषय र मानव मष्तिष्कका बारेमा थप ज्ञान हासिल गर्न विद्यावारिधि कार्यक्रममा सामेल भइन् । न्यूरो साइन्समा दुई दशकदेखि काम गर्दे आएकी श्रेष्ठ आफ्नो जीवनलाई निर्णायक मोडमा पुर्‍याउने काम भने हार्डवर्ड युनिभर्सिटीले दिएको रिसर्च फेलोको रुपमा ल्याबमा दिएको अवसरलाई मान्छिन् । उक्त ल्याबमा उनले मानव मस्तिष्कको विषयमा महत्वपूर्ण अनुसन्धान गर्न पाइन्, सोही अनुसन्धान सकिएपछि उनलाई मानवको विषयमा थप अध्ययन गर्ने मार्ग पहिल्याउने सफलता प्राप्त भयो । निरन्तरको अध्ययन र अनुसन्धानपछि सन् २०११ मा रकफेलर युनिभर्सिटीबाट लाइफ साइन्समा विद्यावारिधि गरिन् । मानव मस्तिष्कका बहुआयामकि पाटोलाई केलाउने क्रममा आफूले महत्वपूर्ण ज्ञान हासिल गर्न सफल भएको उनको भनाइ छ । हाल स्टोनी बु्रक युनिभर्सिटीमा सहप्राध्यापकका रुपमा काम गर्दे आएकी श्रेष्ठले तीन वर्ष अगाडि श्रेष्ठ ल्याब भनेर अनुसन्धान केन्द्र स्थापना गरेकी छन् । दश जनाको टोलीले उक्त प्रयोगशालालाई सञ्चालन गरेको छ । नेपालको आदर्श विद्या मन्दिरबाट विद्यालय शिक्षा अध्ययन र बुढानीलकण्ठबाट ‘ओ’ र ‘ए’ लेभलको अध्ययन पूरा गरेकी श्रेष्ठले अमेरिका आएर १२ वर्षको अनवरत अध्ययन अनुसन्धान पश्चात् विद्यावारिधि उपाधि हासिल गरेकी हुन् । श्रेष्ठले मानव भएर केवल व्यक्तिगत फाइदाको विषयमा मात्र केन्द्रित हुननहुने भएकाले त्यसलाई अझै विस्तार गर्न योगदान गर्नु पर्ने बताइन् । काठमाडाैंको कमलादीमा जन्मिएकी श्रेष्ठ मानव शरीरको जटिल मानिने मस्तिष्क विज्ञानसँग जोडिनु बुबा र आमाको देन पनि हो कि भन्छिन् । ‘मेरो पिताजी मंगलमोहन श्रेष्ठ र आमा मैया श्रेष्ठले मेमोरी कन्र्सन भनेर खोल्नु भएको फोटो स्टुडियो र मेरो मानव मेमोरीमा काम गर्ने रोडम्यापले कतै न कतै समन्वय गरेको छ की भन्ने अनुभूतिमा ममा हुन्छ ।’ मस्तिष्क विज्ञानलाई रुचिको विषय बनाइएको वारेमा उनको टिप्पणी रहेको थियो । सन् २०१५ को नेपालको भूकम्प र २०१९ कोरोना महामारीका कारण कतिपय मानिसमा मानसिक स्वास्थ्यमा असर परेको हुनसक्ने भन्दै श्रेष्ठ थप्छिन्-‘मैले हासिल गरेको अनुभव र सीपलाई नेपाली भूमिमा साटासाट गर्न म सदैव तयार छु ।’ उनले नेपालमा पनि सरकारी निकायबाट अध्ययन अनुसन्धान ,विज्ञानको क्षेत्रलाई महत्वमा राखेर कुनै न कुनै तरिकाले प्रोत्साहन दिन सक्नुपर्ने बताइन् । उनले भनिन्-‘स्रोत र साधनको परिचालनलाई विविधीकरण गर्न गाह्रो पर्ने नेपालजस्ता देशमा वैज्ञानिक अध्ययन अनुसन्धानको लागि सरकारले प्रोत्साहन दिने र दीर्घकालीन रणनीतिअनुसार काम गरेको खण्डमा मात्र वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई आकर्षित गर्नसकिन्छ ।’ भावी पिढीलाई सुझाव दिँदै श्रेष्ठ भन्छिन्- ‘कुनै पनि वैज्ञानिक अध्ययन अनुसन्धानको लागि सरकारले प्रोत्साहन दिने र दीर्घकालीन रणनीतिअनुसार काम गरेको खण्डमा मात्र वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई आकर्षित गर्न सकिन्छ ।’ रासस

रायनएयरको त्रैमासिक नाफामा ९३ प्रतिशतले कम

आयरल्याण्ड । आयरल्याण्डको सस्तो एयरलाइन्स कम्पनी (रायनएयर) ले इन्धनको उच्च लागतका कारण खुद नाफामा ९३ प्रतिशतले गिरावट आएको सोमबार जनाएको छ । सन् २०२३ को अन्तिम तीन महिनामा अघिल्लो वर्षको तुलनामा एक करोड ४८ लाख युरो ९एक करोड ६० लाख अमेरिकी डलर० खुद नाफा घटेको निगमले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी माइकल ओलेरीले रायनएयरले वार्षिक खुद नाफा एक अर्ब ८५ करोड र एक अर्ब ९५ करोड युरोमा सीमित हुने बताएका छन् । कम्पनीले आफ्नो नाफा १.८५ अर्बदेखि २.०५ अर्ब यूरोको बीचमा रहने अनुमान गरेको थियो । ‘यो मार्गदर्शन र पूर्ण वर्षको परिणाम समूहको वर्तमान चौथो त्रैमासिकमा अप्रत्याशित प्रतिकूल घटनाहरूबाट बच्नमा धेरै निर्भर रहन्छ,’ ओलेरीले आय विवरणमा थपे । उनले युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व र बोइङको आपूर्तिमा थप ढिलाइजस्ता जोखिम रहेको बताए । तेस्रो त्रैमासिकमा रायनएयरको इन्धन लागत ३५ प्रतिशतले बढेको छ भने करको लागत १७ प्रतिशतले वृद्धि भएको छ । उच्च औसत भाडाको बावजुद यात्रुहरूको सङ्ख्यामा सात प्रतिशतले बढेर ४१.४ चार करोड १४ लाख पुगेको छ जसले उच्च तलब जस्ता अन्य बढ्दो लागतहरू रोक्न मद्दत पुर्याएको छ । एयरलाइन्सको चौथो त्रैमासिक वा जनवरी-मार्च अवधि परम्परागत रूपमा सबैभन्दा कमजोर हो । ओलेरीले अमेरिकी विमान निर्माता कम्पनी बोइङले डेलिभरीमा हुने ढिलासुस्ती र गुणस्तर सुधार गर्न थप काम गर्नुपर्ने आफ्नो लक्ष्य रहेको दोहोर्याए । बोइङका एक उच्च अधिकारीले अलास्का एअरलाइन्सको मध्यउडान ‘डोर प्लग’ को विस्फोटले निम्त्याएको समस्याका लागि माफी मागे । बोइङको कमर्सियल प्लेन युनिटका कार्यकारी प्रमुख स्टान डिलको यो टिप्पणी बोइङमाथिको गहन जाँचमा केन्द्रित भएको र सुरक्षा जाँचका लागि आफ्ना विमानहरू ग्राउन्डेड गरेको घटनाको तीन हप्तापछि आएको हो । रासस

रियलमी सि ५१ र सि ५३ अब छुट मुल्यमा

काठमाडौं । रियलमीको दुई वटा स्मार्टफोन मोडलहरु रियलमी सि ५१ र रियलमी सि ५३ अब छुट मुल्यमा उपलब्ध भएका छन् । पहिला १४,९९९ रूपैयाँमा उपलब्ध मेमोरी च्याम्पियन रियलमी सि ५१ अहिले १३,४९९ को छुट मूल्यमा उपलब्ध छ भने पहिले १८,९९९ रूपैयाँमा उपलब्ध क्यामरा च्याम्पियन रियलमी सि ५३ अहिले १६,४९९ को छुट मूल्यमा उपलब्ध छ । रियलमी सि ५३ : क्यामेरा च्याम्पियन १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामरा सहितको रियलमी सि ५३ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ । यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेरा र सबैभन्दा ठूलो क्यामरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड हाइलाइट र स्याडोज तथा डिप टेक्सचर शटहरू प्रदान गर्दछ । यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेलड तस्बिर खिच्न सक्छ । ७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५३ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्दछ । १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५३ मा शक्तिशाली ५००० एमएएचको विशाल ब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या हुँदैन । रियलमी सि ५३ मा १२ जिबी सम्मको डायनामिक ¥यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरुलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्दछ । अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फरमेन्स तथा अनुभव सुनिश्चित गर्दछ । ६+१२८ जीबी भेरिएन्टको रियलमी सि ५३ आकर्षक च्याम्पियन गोल्ड कलरमा रु. १६,४९९ मा उपलब्ध छ । फास्टर चार्जिङ, बिगर स्टोरेज र क्लियर क्यामरा अब मात्र १३,४९९ रूपैयाँमा यसमा आउने ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले रियलमी सि ५१ मात्र २८ मिनेटमा नै ०–५०% सम्म चार्ज हुनसक्छ । यस सुपरभोक चार्जरको मुख्य विशेषता भनेको फोन नतातिकनै चाँडो चार्ज हुन्छ । १२८ जिबीको स्टोरेज भएको यस रियलमी सि ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस छ । ४ जिबीको बिल्ट–इन ¥यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी ¥याम बढाउन पनि मिल्छ । ५००० एमएएचको हेभी ब्याट्री पावरले ग्राहकहरुलाई दिनभर भिडियो हेर्न अथवा खेल खेल्न प्रशस्त पावर पनि हुन्छ । यसमा भएको ५० मेगापिक्सेल एआई क्यामराले असाधारण रुपमा आकर्षक तस्बिरहरू निकाल्दछ । ७.९९ एमएमको अल्ट्रा–स्लिम डिजाइन सहित यस प्राइस सेगमेन्टकै सबैभन्दा स्लिम फोनको रूपमा आएको रियलमी सि ५१ स्टाइल र सुन्दरताको उत्कृष्ट मिश्रण हो । आकर्षक (६.७४ इन्च) ९० हर्ज डिस्प्लेमा रहेको मिनी क्याप्सुलले सिमलेस तथा भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्दछ । प्रशस्त स्टोरेज र आकर्षक डिस्प्ले युक्त रियलमि सि ५१ ले आधुनिक स्मार्टफोनहरूको लागि नयाँ बेन्चमार्क सेट गरेको छ । रियलमी सि ५१ आकर्षक मिन्ट ग्र्रीन र कार्बन ब्ल्याक कलरमा मात्र १३,४९९ मूल्यमा ४+६४ जिबीको स्टोरेजमा उपलब्ध छ ।

श्रीले थाल्यो कैलाश तथा मानसरोवर दर्शन गर्न पर्वतीय उडान

काठमाडौं । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले धार्मिक तीर्थस्थल कैलाश पर्वत र मानसरोवरसम्मको पर्वतीय उडान सुरु गरेको छ । सोमबार श्रीको ‘सीआरजे ७०० सिरिजको विमानले नेपालगन्ज विमानस्थलबाट तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान सुरु गरेको हो । कैलाश पर्वत तथा मानसरोवर दर्शनको पर्वतीय उडान सफलतापूर्वक सम्पन्न भएको श्रीले जनाएको छ । श्रीले पहिलोपटक तिब्बतस्थित कैलाश पर्वतका लागि पर्वतीय उडान उडान गरेको हो । नेपालगन्जबाट नेपाली, भारतीय र तेस्रो देशका धार्मिक पर्यटकहरू आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलब्धि हासिल हुने श्रीको विश्वास छ । श्री एयरलाइनस, भारतीय ट्राभल कम्पनी टुर द टेम्पल, नेपालगन्जको सिद्धार्थ हस्पिटालिटी ग्रुप र काठमाडौंको ट्राभल कम्पनी पथहिल ट्राभलससँगको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो । उक्त उडानमा वरिष्ठ क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ यात्रु र चालक दलका ५ सदस्य थिए । ३५ जनाको वीन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गरिने जानकारी श्रीले दिएको छ । साथै, नेपालगन्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याई पशुपतिसमेत दर्शन गराउने श्रीको योजना रहेको कम्पनीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए ।

कस्तो छ पुँजी बजारमा जलविद्युतको सम्भावना ?

नेपालमा नेसनल हाइड्रोपावरले सबैभन्दा पहिला सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर निष्कासन गरेको थियो । त्यसपछि प्राथमिक सेयर निष्कासन गरेको चिलिमेले प्रभावित क्षेत्रका बासिन्दासहित सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गरेको थियो । नेसनलले विभिन्न कारणले लगानीकर्तालाई लाभांश दिन नसके पनि चिलिमेले सर्वसाधारण लगानीकर्तालाई आकर्षक प्रतिफल दिँदै आएको छ । केही कम्पनीलाई छाड्ने हो भने अधिकांश हाइड्रोपावर कम्पनीको प्रतिफल ठिकै देखिन्छ । जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक रकम पुँजी र बैंक वित्तीय संस्थाको कर्जाबाट हुने गरेको छ । आयोजना निर्माणका लागि आवश्यक पुँजी पनि संस्थापक समूह र सर्वसाधारण लगानीकर्ताहरूबाट जुटाउन सकिने कानुनी व्यवस्था छ । जलविद्युत् प्रवद्र्धकले सर्वसाधारण लगानीकर्ताबाट राम्रै पुँजी जुटाउने गरेको देखिन्छ । सर्वसाधारण लगानीकर्तातर्फ पनि वैदेशिक रोजगारमा गएका नेपाली, स्थानीय प्रभावित बासिन्दा, सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारण लगानीकर्ताहरूलाई वर्गीकरण गरिएको हुँदा जलविद्युत्को लगानीमा सबै वर्ग र समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ । यसले गर्दा पछिल्लो समय जलविद्युत् कम्पनीको सेयर बिक्री हुन नसकेको अवस्था छैन । जलविद्युत् कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सार्वजनिक सेयर (आइपिओ) ल्याएपछि बिक्री नहुने चिन्ता छैन । बरु मागभन्दा बढी आवेदन पर्ने गरेको छ । यसले गर्दा माग बराबरको सेयर कसैले पनि पाउन सकेका छैनन् भने धेरैजसोले १० कित्ता पनि सेयर पाउन सकेको अवस्था छैन । विदेश गएकालाई लगानी अवसर नेपाल धितोपत्र बोर्डले २०७९ कात्तिकमा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका (छैटौँ संशोधन)मार्फत् श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि जुनसुकै कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्ट्याएको सेयरमध्ये १० प्रतिशत सेयर अनिवार्य छुट्ट्याउनुपर्ने व्यवस्था गरेको थियो । यो व्यवस्थासँगै प्राथमिक सेयरको बजार थप फराकिलो बनेको छ । अहिलेसम्मको आवेदन दिनेको संख्यालाई हे¥यो भने एकदमै कम सहभागिता देखिन्छ । यसरी आवेदन दिँदा निश्चित मापदण्ड पूरा गर्नुपर्छ । आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न नसकेर वा नजानेर पनि सहभागिता कम भएको हुन सक्छ । त्यसमा पनि ६ महिनाभित्रमा ५० हजार रुपैयाँ पैसा पठाएको हुनुपर्छ । प्रक्रियाको कारणले संख्या कम देखिए पनि बिस्तारै आवेदन दिनेको संख्यामा वृद्धि हुँदै गइरहेको छ । कालिञ्चोक दर्शनले सबैभन्दा पहिलो पटक वैदेशिक रोजगारमा गएका नेपालीका निम्ति प्राथमिक सेयर निष्कासन गरेको थियो । हालसम्म ४२ वटा कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि प्राथमिक सेयर निष्कासन गरिसकेका छन् । उनीहरूले वैदेशिक रोजगारमा गएका नेपालीहरूबाट मात्रै २ अर्ब ८३ करोड रुपैयाँ लगानी ल्याएका छन् । जसमा हाइड्रोपावरको संख्या पनि उल्लेख्य छ । जलविद्युत्मा लगानीको प्रतिफल सेयर बजारमा सूचीकृत अन्य कम्पनीको तुलनामा जलविद्युत् कम्पनीको प्रतिफल कम नै देखिन्छ । जलविद्युत् कम्पनीको एउटा राम्रो पक्ष आम्दानी लगभग निश्चित हुन्छ । धेरै बढ्ने वा घट्ने भन्ने हुँदैन । आयोजनामा समस्या देखियो भने घट्न पनि सक्छ, तर बढ्ने भनेर धेरै बढ्दैन । आम्दानी निश्चित हुने भएकाले प्रतिफल पनि निश्चित हुन्छ । अहिलेसम्म जति पनि जलविद्युत् कम्पनीले प्रतिफल दिएका छन्, त्यसलाई हेर्दा ठिकै मात्रै देखिन्छ । त्यस्तो ठुलो आकर्षक प्रतिफल पनि देखिँदैन । बैंकले दिने औसत ब्याजदरसँग तुलना गर्ने हो भने जलविद्युत् कम्पनीको प्रतिफल धेरै देखिन्छ । न्यून लागतमा निर्माण सम्पन्न भएका र नदी प्रवाह अर्थात् ‘रन अफ रिभर’ जलविद्युत् आयोजनाको प्रतिफल तथा प्रस्तुति आकर्षक देखिन्छ । रन अफ रिभर जलविद्युत् आयोजनाको निर्माण लागत कम हुने र छिट्टै प्रतिफल पाउन सकिने भएकाले यस्ता जलविद्युत् आयोजना अहिलेका लागि बढी सफल देखिन्छन् । तर, यस्ता आयोजनाले हिउँदको सुख्खायाममा कम विद्युत् उत्पादन गर्ने भएकाले वर्ष दिनभरि एकनास आम्दानी गर्न सक्दैनन् । बुटवल पावर, चिलिमे जलविद्युत् आयोजनाले सुरुका वर्षमा जति राम्रो प्रतिफल दिन सकेका थिए, अहिले आएका नयाँ जलविद्युत् आयोजनाले राम्रो प्रतिफल दिन सकेको देखिँदैन । सानाभन्दा पनि ५०/६० मेगावाटभन्दा ठुला आयोजनाको प्रतिफल अलि राम्रो देखिन्छ । सर्वसाधारणमा आकर्षण सर्वसाधारण लगानीकर्ताको जलविद्युत् कम्पनीको आइपिओमा एकदमै आकर्षण देखिन्छ । केही वर्षअघि आयोजना प्रभावित क्षेत्रमा सेयर बिक्री नहुने अवस्था थियो । तर, अहिले बिस्तारै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले खरिद गर्ने क्रम बढेको छ । अझ पछिल्ला दिनमा जलविद्युत् कम्पनीको आइपिओ बिक्री नभएको अवस्था छैन । सर्वसाधारणमा आकर्षण अझ बढेको छ । कतिपय आयोजनाको सेयर बिक्री नहुनुको एउटा कारण ठुलाठुला कम्पनीले प्रभावित क्षेत्रमा बिक्री गर्ने सेयरको संख्या पनि धेरै छ । जुन सेयर प्रभावित क्षेत्रका बासिन्दाका लागि धेरै हुन गयो । अर्कातर्फ एउटै क्षेत्रमा धेरै वटा आयोजना निर्माण हुने र सबैले प्राथमिक सेयर जारी गर्दा प्रभावित क्षेत्रका बासिन्दासँग लगानी गर्ने पैसा नै नहुने अवस्थासमेत देखियो । आइपिओ निष्कासन गर्दैमा आवेदन दिइहाल्नुपर्ने भन्ने होइन । लगानीकर्ताहरूले आइपिओ निष्कासन गर्ने आयोजनाले कति लाभांश दिन सक्छन् भन्ने कुरालाई पनि हेरिरहेका हुन्छन् । यति मात्रै होइन, अहिलेसम्म आइपिओ निष्कासन गरेका आयोजनाले कति लाभांश दिइहरेका छन् र दोस्रो बजारमा कम्पनीको सेयर मूल्य कतिसम्म माथि पुग्यो भन्ने कुरालाई पनि हेरिरहेका हुन्छन् । दुई दशकको अवधिमा १२५ वटा जलविद्युत् कम्पनीहरूले प्राथमिक बजारबाट मात्रै ४१ अर्ब ६५ करोड रुपैयाँ पुँजी संकलन गरिसकेका छन् । आर्थिक वर्ष २०६१/६२ मा चिलिमेले सर्वसाधारण तथा प्रभावित क्षेत्रका बासिन्दाका लागि २३ करोड ७४ लाख १० हजार रुपैयाँको प्राथमिक सेयर निष्कासन गरेको थियो । सुरुका ५/६ वर्षमा जलविद्युत् कम्पनीहरू संख्या एकदमै कम थियो । आर्थिक वर्ष २०७२/७३ पछि जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासनमा वृद्धि हुँदै आयो । प्राथमिक सेयरको योगदान जलविद्युत् आयोजना निर्माणमा लगानी जुट्नुको पहिलो कारण पुँजी बजार पनि हो । जलविद्युत् आयोजनाका प्रवद्र्धक तथा सर्वसाधारण लगानीकर्ताले कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत हुन्छ र राम्रो लाभ हुन्छ । तत्काल आयोजनाले प्रतिफल दिन नसके पनि म पुँजी बजारबाट भए पनि आफ्नो लगानीलाई चलायमान बनाउछु भन्नेहरू छन् । पुँजी बजारकै कारण आज एउटा आयोजना निर्माण गर्ने प्रवद्र्धकले भोलि अर्को आयोजना निर्माण गर्ने आँट गर्छ । हिजो ८÷१० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्नेहरूले क्रमशः २०/२५ मेगावाट क्षमताको आयोजना निर्माण गरे । उनीहरूको क्षमता अभिवृद्धि हुँदै अहिले ६० मेगावाटभन्दा ठुला आयोजना निर्माण गर्ने बनेको छ । उनीहरूले आयोजना कसरी निर्माण गर्ने, कसरी लागत घटाउनेदेखि लिएर धेरै कुराहरू जान्ने मौका पाए । यसरी आयोजना निर्माण गर्ने क्षमतामा क्रमिक रूपमा वृद्धि हुँदै जानेछ । दीर्घकालीन रूपमा हामी सही दिशामै अगाडि बढिरहेका छौँ । भोलिका दिनमा हामीले ठुलाठुला जलविद्युत् आयोजनालाई बजारमा ल्याउन सक्छौँ । हामी हाम्रै स्थानीय पुँजी, स्थानीय अनुभवबाट भोलिका दिनमा हामी जलविद्युत् निर्यात गरेर देशकै अर्थतन्त्रमा टेवा दिन सक्नेछौँ । आयोजना प्रवद्र्धकले मात्रै सबै पुँजी जुटाउन सक्दैन । उसले सर्वसाधारणसँग पनि पुँजी संकलन ग¥यो भने सहजै पुँजी जुटाउन सक्नेछ । यसले भोलिका दिनमा ३/४ सय मेगावाट क्षमताका जलविद्युत् आयोजना आउने बाटो खुलेको छ । पुँजी बजार जलविद्युत्मा लगानीको आधार बन्दै गएको छ । धितोपत्र बोर्डको सहजीकरण नेपाल धितोपत्र बोर्डले जलविद्युत् क्षेत्रलाई पुँजी जुटाउन धेरै सहजीकरण गर्दै आइरहेको छ । कम्पनीहरूलाई विवरणपत्र तयार पारेर सर्वसाधारण समक्ष सेयर आह्वान गर्नेदेखि लिएर दोस्रो बजारमा कारोबार गर्नेसम्मका प्रक्रियामा सहजीकरण गरिरहेको छ । कम्पनीहरूलाई सेयर बजारमा पारदर्शी रूपमा कारोबार गर्नेदेखि लिएर कम्पनीको पारदर्शितामा पनि ठुलो सहयोग छ । दोस्रो बजारमा सूचीकृत भएकै कारण उनीहरूले संस्थागत सुशासन पालना गर्नुपरेको छ । उनीहरूले तथ्यांकलाई पारदर्शी रूपमा सर्वसाधारण समक्ष प्रस्तुत गर्नुपरेको छ । यसले जलविद्युत् कम्पनीलाई सबैलै हेर्न र बुझ्न सक्ने अवस्था निर्माण भएको छ । लगानीकर्तालाई कुन कम्पनी राम्रो कुन कम्पनी नराम्रो भनेर छुट्ट्याउन सजिलो भएको छ । लगानीकर्ताले राम्रा कम्पनीलाई छान्ने भएपछि नराम्रा कम्पनीलाई पनि मैले राम्रो काम गर्नुपर्छ भन्ने दबाब सिर्जना हुने गरेको छ । संस्थागत सुशासनमा कमजोरी हिजोका दिनमा जलविद्युत् कम्पनीहरूको नियमनकारी निकाय थिएन । अझै पनि जलविद्युत् आयोजनाको वास्तविक रूपमा नियमन गर्ने नियमनकारी निकाय छैन । नेपाल धितोपत्र बोर्डले सेयर निष्कासन तथा सेयर हस्तान्तरणमा पनि नियमन गर्ने हो । जलविद्युत् आयोजनाको वास्तविक व्यवसाय, कसरी विद्युत् उत्पादन गर्छ, प्राविधिक पक्षलगायतको नियमनले संस्थागत सुशासनलाई प्रभावकारी बनाउन सहयोग गर्नेछ । पुँजी निर्माण सहज हामी बिस्तारै ठुला आयोजनातर्फ जानुपर्नेछ । अहिलेसम्म नदी प्रवाहमा आधारित आयोजना बढी बनिरहेका छन् । यसले मात्रै हाम्रो आवश्यकता पूरा गर्न सक्दैन । बिस्तारै जलाशययुक्त ठुला आयोजनातर्फ जानुपर्छ । यसमा ठुलो लगानी चाहिन्छ । ठुला आयोजना निर्माण गर्न सकियो भने मात्रै हामी अन्तर्राष्ट्रिय बजारमा जलविद्युत् बिक्री गर्न सक्छौँ । ठुला आयोजना निर्माण गर्न सकियो भने त्यसले दिने प्रतिफल पनि धेरै राम्रो हुन्छ । राम्रा कम्पनी बजारमा आउनु भनेको पँुजी बजारका लागि पनि धेरै राम्रो लगानीको अवसर हो । अहिल्यै पनि ठुलाठुला आयोजनाले ठुलो रकमको प्राथमिक सेयर निष्कासन गर्दा बिक्री हुन गाह्रो पर्ने स्थिति छ । भोलि ठुला आयोजना निर्माण हुँदा स्वदेशी पुँजीले मात्रै पुग्दैन । यसका लागि नेपाल धितोपत्र बोर्डसँगै अर्थ मन्त्रालयको भूमिका महत्वपूर्ण हुन्छ । यसका निम्ति पुँजी बजारमा बाह्य लगानीकर्ता र गैरआवासीय नेपालीलाई ल्याउन नीतिगत, संस्थागत र संरचनागत पहल गर्नुपर्ने हुन्छ । यसले बजार सन्तुलनमा ल्याउन र पुँजी जुटाउन सहयोग पुग्नेछ । (श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । उर्जा समृद्धिबाट ।)

विवाहका लागि वडाको सिफारिस अनिवार्य

जुम्ला । बालविवाह हुन नदिन तिला गाउँपालिका-६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए । कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष रोकायाले भने, ‘विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको छ, वैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका छौँ ।’ कानुनीरूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । तिला–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा एक सय १० गरी जम्मा दुई सय १३ घरधुरी रहेका छन् । अहिले वडाको सिफारिस अनिवार्य गरेपछि वैशाखयता पाँच जना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने हुन्छ । उमेर नपुग्दै विवाह गर्ने सुडीगाउँमा दुई र घोडेगाउँमा एक बालविवाह गर्नेलाई रोक्ने काम भएको वडाध्यक्ष रोकायाको भनाइ छ । वडाको सिफारिस अनिवार्य गरे पनि तिलाका अरु वडाले प्रभावकारीरुपमा निर्णयलाई कार्यान्वयन गर्न नसकेको तिला-१ का स्थानीय उपराज रावतले बताए । वडाध्यक्षहरुले गाउँमा हुने विवाहलाई उमेर पुगे/नपुगेको जानकारी लिनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ । रासस

‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीद्धारा प्रतिज्ञा

काठमाडौं । ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा गरेका छन् । ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरुको सबै व्यक्तिगत तथा वित्तिय जानकारीहरु गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुको बारेमा अद्याबधिक रहने प्रतिज्ञा गरेका छन् । नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमूख प्रविधि अधिकारी सूनन्द मल्होत्राका साथै अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराए । हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।