विकासन्युज

बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको संकेत

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी प्रकरणमा पक्राउ परेका अरुण चौधरीकाे परिवारकाे अन्य सदस्यलाई समेत पक्राउ गर्ने संकेत दिएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा ठगी प्रकरणमा पक्राउ परेका व्यक्तिहरूको विषयमा जानकारी दिने उद्देश्यले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत् सीआईबीले चौधरी ग्रुपका अन्य सदस्यहरूलाई समेत पक्राउ पर्न सक्ने संकेत दिएको हो । सीआईबीले बाँसबारी छालाजुत्ताको जग्गा ठगी गर्ने विषयमा लामो अनुसन्धानपश्चात् मात्रै व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखाना तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकूरलाई पक्राउ गरेकाे बताएकाे छ । सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको नाममा भएको १० रोपनी जग्गा तत्कालीन श्री ५ सरकारको निर्णय बिना सञ्चालक समितिलाई समेत कारखानाको नाममा श्रेष्ता कायम भएको जग्गा बेचबिखन गर्ने अधिकार नभएको अवस्थामा कानून विपरित साे उद्याेगका तत्कालीन कार्यकारी अध्यक्ष थापाले अरुण चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी सो कम्पनीलाई कारखानाको १० रोपनी जग्गा हस्तान्तरण गरेकाे बताएकाे छ । सो बेला कम्पनीको सेयरधनीमा अरुण मात्रै थिएनन् । सो कम्पनीको मुख्य सेयरधनीको रूपमा उद्योगी विनोद चौधरी पनि थिए । सीआईबीले अनुसन्धान गर्दै जाँदा तत्कालीन सेयरधनीहरू पनि अनुसन्धानमा तानिने सीआईबीको भनाइ छ । अहिले च्याम्पियन फुटवेयर कम्पनीकाे सेयरधनीका रूपमा अरूण र उनकी श्रीमती शिला चाैधरी भए पनि त्यतिबेला साे कम्पनीकाे सेयरधनीकारूपमा विनोदकुमार चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए । सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालकहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउने बताए । ‘हामीले अनुसन्धान गर्दै जाँदा जो-जो यो विषयमा जोडिन्छन् उनीहरूलाई पनि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउँछौं,’ उनले भने । उनकाे भनाइ अनुसार सीआईबीकाे अनुसन्धानमा सांसद तथा उद्योगी विनोदकुमार चौधरी पनि तानिन सक्छन् । सीआईबीले तत्कालीन श्री ५ को सरकारलाई नोक्सानी पुर्याई आफूहरुले आर्थिक लाभ लिएको सम्बन्धमा साविक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिम कसुर अनुसन्धानको लागि’ उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीकाे भनाइ छ । अहिलेसम्मका ठगी वा अन्य अपराधहरूमा संलग्न सबैलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने अभ्यास सीआईबीको छ । तर, यो घटनामा भने तत्कालीन सञ्चालक तथा सेयरधनीहरूलाई नजरअन्दाज गर्दै हालका प्रमुख सेयरधनी अरुण चौधरी मात्रै अनुसन्धानमा तानिएका छन् ।

मायालुको लागि धूमपान त्याग्न डा. ओममूर्तिको आग्रह

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेका छन् । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिने बसन्त पञ्चमी र प्रणय दिवस यस वर्ष फागुन २ गते परेको सन्दर्भ पारेर उक्त दिन ज्ञान र प्रेमलाई मिश्रण गर्दै धूमपान सेवनमुक्त समाज निर्माणका लागि अवसरका रूपमा उपयोग गरिएको डा. अनिलले बताए । कुनै विशेष अवसरमा मानिसले केही चिज त्याग गर्‍यो भने त्यो सफल हुने सम्भावना बढी हुन्छ । साथै अविस्मरणीय र महत्वपूर्ण पनि हुने भएकाले त्यस दिनदेखि धूमपान र सुर्ती सेवनको लतलाई त्याग गर्न आफ्ना शुभेच्छुकहरूलाई उनले आह्वान गरेका छन् । ‘प्रणय दिवसका अवसरमा तपाई फूल दिनुस्, कुनै भौतिक उपहार दिनुस् । त्यसको साथसाथै आफू र आफ्नो परिवारजनको दीर्घजीवनका लागि लत त्याग्नु सबैभन्दा मूल्यवान उपहार हो’ डा. अनिलले भने, ‘यदि तपाईं आफूलाई भन्दा बढी माया उनीहरूलाई गर्नु हुन्छ भने दीर्घ जीवनको उपहारजस्तो बहुमूल्य उपहार अर्को के होला र ?’ अझ त्यस विद्याकी देवीलाई पूजा गरिने दिन पनि परेको छ । कुलत त्याग्नेजस्तो नैतिक शिक्षा अर्को कुनै हुन्छ ? डा. अनिलको प्रश्न छ । कुलत त्याग्नु जीवनको अमूल्य उपहार हो । चुरोट र सुर्ती सेवन छोड्दा आफ्नो आयु मात्रै लम्बिदैन परिवारको आयु पनि बढ्ने हुँदा ‘स्मोकर्स आर नट सेल्फिस्’ भन्ने नारालाई जोड दिइएको उनको भनाइ छ । कुलत छुटाउन प्रोत्सहान गर्ने उद्देश्यका निम्ति यस अभियानमा ‘धूमपान गर्ने स्वार्थी हुँदैनन्’ भन्ने टेमप्लेटलाई सकारात्मक र सुखद् परिणामको अपेक्षासहित राखिएको डा. अनिलले स्पष्ट पारे । डा. अनिलका अनुसार मानिसको मृत्युका कारणमध्ये धूमपान प्रमुख रहेको अध्ययनहरूबाट प्रमाणित भएको छ । तमाखु सेवन गर्ने हरेक दुई जनामध्ये एक जनाको मृत्यु हुने गरेको छ । प्रत्येक एक खिल्ली चुरोटले सेवनकर्ताको ११ देखि १३ मिनेटसम्म आयु घटाउने भन्दै त्यस्ता मानिसको जीवनमा १० महिनाको वर्ष हुन्छ । अर्थात् सेवनकर्ताको हरेक वर्ष औसत दुई महिना आयु घट्दै जाने उनको भनाइ छ । धूमपान गर्नेलाई दुईदेखि चार गुणा हृदयाघात हुने खतरा छ भने फोक्सोको क्यान्सर हुने जोखिम २५ गुणासम्म रहेको उनले बताए । त्यस्तै एक वयस्क मानिसले अत्यधिक चुरोट सेवन गरेमा १५ वर्षदेखि २५ वर्षसम्म छिटो मृत्युको जोखिम रहेको अध्ययनले देखाएको भनाइ छ । कुनै व्यक्तिले धूमपान गर्दा उसलाई मात्रै होइन, वरिपरिका मानिसलाई पनि गम्भीर असर गर्दछ । यसबाट विशेषगरी गर्भमा रहेका शिशु, बालबालिका र सास फेर्न समस्या भएका व्यक्तिहरूलाई सबैभन्दा बढी जोखिममा हुन्छ । यसले सेवनकर्ता, वरिपरिका मानिस र सेवनकर्ताले प्रयोग गरेका सामग्रीबाट पनि अरुको स्वास्थ्यमा असर गर्छ । एक अध्ययनअनुसार धूमपानबाट ८० लाख जनाको मृत्यु हुँदा १३ लाखले अन्य धूमपानकर्ताले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको डा अनिलले जानकारी दिए धूमपानको भयावह स्थिति नेपालजस्ता गरीब मुलुकमा उच्च रहेको उल्लेख गर्दै विश्वका १ दशमलव ३ अर्ब जना धूमपान गर्ने मानिसमध्ये ८० प्रतिशत गरीब देशका नागरिक रहेको अध्ययनमा देखिएको उनको भनाइ छ । धूमपान नगर्दा आफू अकाल मृत्युबाट जोगिनुको साथै अभिभावत्वको जिम्मेवारी पूरा गर्न सकिने र परिवारको आर्थिक, सामाजिक सुरक्षा गर्न सकिन्छ । ‘जीवन मेरो मात्रै होइन, ममाथि धेरै जना आश्रित छन्’ भन्ने बुझ्न जरुरी रहेको उनी बताउँछन् । धूमपानको लत छुटाउने अभियान सुरू गरेका डा. अनिलले त्यस्ता व्यक्तिलाई प्रोत्सहान गर्न उनले आफ्नो फेसबुक पेजमा गुगल फर्मसमेत राखेका छन् । जहाँ आफूले धूमपान परित्याग गरेको प्रतिबद्धता व्यक्त गर्न सकिन्छ । सामाजिक सञ्जालबाट चेतनामूलक अभियान चलाउने क्रममा विश्व कीर्तिमान कायम गर्नुभएका डा अनिलकोे बिहीबार फेसबुक लाइभमा छ हजार ६७२ जना प्रत्यक्ष जोडिएका थिए भने तत्काल करिब ५० जनाले सुर्तीजन्य पदार्थको सेवन छाड्ने प्रतिबद्धता जनाएका थिए । रासस

तल्लो सेती जलविद्युतबाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन गरिने

दमौली । तनहुँमा निर्माण हुने एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत विकास विभागमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन हालै बुझाइएको हो । इआइएमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन बुझाइएको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । आयोजनाको जग्गा अधिग्रहण प्रक्रियासमेत अगाडि बढाइएको छ । आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाउन प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरिएको श्रेष्ठले बताए । जग्गा प्राप्ति ऐन, २०३४ मा भएको व्यवस्थाबमोजिम नेपाल सरकारबाट प्रारम्भिक अधिकारी तोकिएपछि आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण सुरु गरिने उनको भनाइ छ । आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका ३ र ४ हुँदै ६ दशमलव ८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ । आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३, १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्रअर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुने छ । आयोजनाबाट वार्षिकरुपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको अनुमानित लागत रु २५ अर्ब रहेको छ । आयोजनाका लागि लगानी सुनिश्चित गराउनसमेत पहल थालिएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणमार्फत आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिसकेको छ । आयोजना प्रमुख भण्डारीका अनुसार विसं २०८१ मा बोलपत्र आह्वानको तयारी गरिएको छ । तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो । कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३ दशमलव ५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत/निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो । रासस

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य

बागमती । सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ । सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए । रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको उनको भनाइ थियो । रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ । उक्त उपदान नपाउने कर्मचारीको सङ्ख्या १५ रहेको उद्योग प्रशासनले जनाएको छ । दैनिक सात सय पँचास मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने सो उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ । हाल विगतमा उत्पादित मौज्दात सिमेन्ट बिक्री वितरण भइरहेको छ । उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट हालसम्म बिक्री भइसकेको छ । उद्योगका महाप्रबन्धक पाण्डेले उद्योग सञ्चालनसँगै निरन्तररुपमा सिमेन्ट उत्पादनका लागि कोइला खरिद प्रक्रिया सुरु गरिएको बताए । कोइलाको आपूर्ति हुनासाथ काम अगाडि बढाइने उनले जानकारी दिए । उद्योगले एकपटक बोलपत्र आह्वान गर्दा १३ हजार टन कोइला आपूर्ति हुने गरेको छ । आव वर्ष २०७६/७७ देखि २०७८/७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ नोक्सान भएको थियो । गत आवमा मात्र २३ करोड ५५ लाख नोक्सान भएको थियो । उद्योग सञ्चालनको माग गर्दै अखिल नेपाल मजदुर सङ्घले आन्दोलन गरिरहेको छ । उद्योगमा हाल ज्यालादारी तथा स्थायी गरी करिब तीन सय कर्मचारी कार्यरत रहेका छन् । यसैबीच हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋिद्दीसिद्दी सिमेन्ट उद्योग निन्तर सञ्चालित छन् । रासस

कालंगा हाइड्रोले आइपीओ जारी गर्ने, सेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल

काठमाडौं । कालंगा हाइड्रोले सर्वसाधारणका लागि ४९ करोड रुपैयाँबराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो । कुल कित्तामध्ये ३४ लाख ९० हजार कित्ता साधारण सेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको छ ।  बिहिबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । ललितपुरको धोबीघाटस्थित कालंगा हाइड्रोको कार्यालयमा भएको कार्यक्रममा कालंगा हाइड्रोका तर्फबाट सञ्चालक तीर्थराज चटौत र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकको सहायक कम्पनीका रुपमा रहेको ज्योति क्यापिटलको चुक्तापुँजी २१ करोड रुपैयाँ रहेको छ। हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

नेपाल र क्यानाडाबीचको खेल डिशहोममा प्रसारण हुने

काठमाडौं । क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको द्विपक्षीय खेल डिशहोमको एक्सन स्पोर्ट एचडीवानमा प्रसारण हुने भएको छ । सो खेल यही फेब्रुअरीमा हुनेछ भने ओडीआईका खेलहरु टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा खेलिनेछ । यस खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट एचडीवान र डिशहोम गोबाट हुने डिशहोमले बताएको छ । एक्सन स्पोर्टले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको हो ।

अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय दरबारमार्गबाट पक्राउ

काठमाडौं ।  प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड रुपैयाँ बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । उनले भने, ‘क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रु एक करोड एक लाख २६ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको छ ।’ उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए । रासस

सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउँदै टोखा नगरपालिका

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको छ । टोखा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैधरुपमा बनाइएका संरचना हटाउन सुरु गरेको हो । उक्त समितिले आज टोखा नगरपालिका-११ स्थित बानियाँटार पुलदेखि मनोरथ तीर्थसम्मका अवैध संरचना हटाएको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले विष्णुमति करिडोरमा आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले यस वरपर सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको जानकारी दिए । उनले नगरपालिकाभित्रका सबै सार्वजनिक जग्गाको खोजी गरिने बताए । नगरपालिकाका उपप्रमुख मुरारी तामाङले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पालिकाले काम गरिरहेको बताए । टोखामा एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा रहेको भन्दै यसलाई संरक्षणको योजना अनुसार काम थालिएको उनले उल्लेख गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाएको बताए । ‘टोखाभित्र अतिक्रमण गरिएका जग्गा खाली गराउने काम तीव्र गतिमा भइरहेको छ’, उनले भने । नगरपालिकाले आजै टोखा–८ बानियाँटारस्थित फ्लोसेन्ट स्कुल आसपासमा अवैधरुपमा बनाइएका संरचना हटाउने जनाएको छ ।