प्रधानमन्त्रीले उद्घाटन गरे १८ करोडको अस्पताल
सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गरेका छन् । दुधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उनले १५ शय्याको नगर अस्पतालको उद्घाटन गरेका हुन् । करिब १८ करोड रुपैयाँको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । समारोहमा दुधौलीका स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए ।
सुनकोसीको पानी ८ सय घरलाई उपलब्ध गराउन खानेपानी आयोजना
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका आठ सय घरका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने गरी सुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्र गतिमा अगाडि बढेको छ । खानेपानी मन्त्रालयको भ्याटसहित ३१ करोड १८ लाख ९२ हजार ६ सय ५६ लगानीमा बतासेका आठ सय बासिन्दाको घरघरमा एक÷एक खानेपानीको धारा उपलब्ध गराउने गरी डेढ वर्षअघि ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम ठेक्कामार्फत सुरु गरिएको हो । सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का लिएको आयोजनाको काम ४० प्रतिशत पूरा भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रमुख इञ्जिनियर विपुलकुमार लालदासले जानकारी दिए । ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनाको मुख्य संरचना निर्माणको काम सम्पन्न भइसकेको छ, तोकिएकै मितिमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘आयोजनाको काम सम्पन्न भएपछि बतासेका उपभोक्ता लाभान्वित हुनेछन्, तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गराउन स्थानीय सरकार तथा उपभोक्ताले सहयोग गर्नुपर्छ ।’ विसं २०७९ भदौमा सम्झौता गरिएको आयोजना विसं २०८१ भदौ १८ गतेभित्र सम्पन्न गर्नुपर्ने दुईपक्षीय सम्झौतामा उल्लेख छ । दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना दिक्तेल–गाईघाट सडकखण्डको भण्डारेघाटस्थित सुनकोशी नदीबाट पम्पमार्फत तानिने पानी लिफ्टिङ गर्दै बतासेमा पुर्याएर वितरण गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष सुपेन्द्र राईले जानकारी दिए । फिल्टर तथा आरबिटी ट्याङ्की, पाइपलाइन, विद्युत्का खम्बा जडान लगायतको काम तीव्र गतिमा भइरहेको निर्माण कम्पनीका आयोजना प्रमुख सविन राईले जानकारी दिए । ‘भण्डारेघाटमा तीन लाख लिटरको एउटा ट्याङ्की र फिल्टरिङ (प्रशोधन) गर्ने ठाउँ निर्माणको काम सम्पन्न भएको छ, सुनकोशीको पानी तान्न पाँच ठाउँ लिफ्ट गरिन्छ, साढे तीन किलोमिटरमाथि मुसुरीडाँडामा ७५ र रातमाटामा ३० हजार लिटरको ट्याङ्की निर्माण गरेर त्यसमा जम्मा गरिएको पानी स्थानीय बासिन्दालाई वितरण गर्ने योजना छ,’ उनले भने, ‘मुसरीडाँडामा वितरण लाइनको तीन वटासँगै मुख्य लाइनको ट्याङ्की निर्माण गरिसकिएको छ, रातमाटामा निर्माण गर्ने तयारी गरिरहेका छौँ, वितरण लाइनमा छ ट्याङ्की निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ, चार वटा बनिसके, दुई वटा बाँकी छ, त्यो पनि आगामी वैशाखभित्र सम्पन्न हुन्छ ।’ लिफ्टिङ लाइनमा ५० हजार लिटर क्षमताका छ ट्याङ्की निर्माण गरिने आयोजना प्रमुख राईले जानकारी दिए । ‘एउटा बनिसक्यो, एउटा बन्दैछ, बाँकी चार वटा चाँडै सम्पन्न गर्ने तयारीमा छौं,’ उनले भने, ‘पाँचवटै मुख्य लाइनको ट्याङ्की रहने ठाउँमा सुरक्षागार्ड घर पनि निर्माण गर्नुपर्नेछ, आयोजना सञ्चालनमा आएपछि त्यहाँ रहने सुरक्षागार्डले रेखदेखको काम गर्छन् ।’ सगरमाथा राष्ट्रिय राजमार्गको भण्डारेघाटस्थित सुनकोशीको पानीलाई एक सय ५० एमएमको फलामे पाइपमार्फत लिफ्ट गरेर निकालिने खानेपानी आयोजनाको काममा तीन समूह कामदार खटाइएको ठेकेदार कम्पनीले जनाएको छ । लिफ्टिङ लाइनमा बिच्छ्याइने फलामे पाइपको काम सम्पन्न गरेर वितरण लाइनको काम सुरु गरिएको आयोजना प्रमुख राईले जानकारी दिए । लिफ्टिङ खानेपानी आयोजनाको पाइपलाइन विस्तारका क्रममा ठेकेदार कम्पनीको लापरबाहीले सडकबीचमै फलामे पाइप बिच्छ्याएको पाइएकाले त्यसलाई उपयुक्त ठाउँमा सार्न निर्देशन दिइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रमुख इञ्जिनियर लालदासले जानकारी दिए । ‘सुनकोशीको पानी लिफ्टिङ गर्न बिच्छ्याइएको फलामे पाइप सडक आसपासमा देखियो, यसले यातायात सञ्चालनका साथै सडक फराकिलो पार्न समस्या हुने देखियो,’ उनले भने, ‘यो सडक कालोपत्र गर्न डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने काम भइरहेको रहेछ, निर्माणाधीन अवस्थामै रहेको पाइपलाइनले यातायात सञ्चालनका साथै सडक फराकिलो पार्न समस्या हुने देखिएपछि त्यसलाई उपयुक्त ठाउँमा सार्न निर्देशन दिइएको छ, ठेकेदार कम्पनीले त्यो कुरालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।’ मुसुरीडाँडामा कार्यालय रहनेगरी निर्माणाधीन अवस्थामा रहेको लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले रोजगारसमेत पाउने गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिए । ‘हाम्रो गाउँपालिकाको वडा नं ४ मा पर्ने बतासे सुक्खाग्रस्त क्षेत्रमा पर्छ, यहाँ भएका पानीका मुहान विसं २०७२ मा आएको भूकम्पका कारण सबै सुके, अहिले बतासेका स्थानीय बासिन्दा काकाकुल अवस्थामा छन्,’ उनले भने, ‘खानेपानी अभावमा केही घर स्थानीय बासिन्दा बसाइँ सरेर अन्यत्र जान थालेका छन्, खानेपानीकै अभावका कारण बसाइँ सरेर अन्यत्र जानुपर्ने बाध्यतामा पुगेका स्थानीय बासिन्दालाई रोक्दै गाउँमै केही गर्ने अवसर दिलाउनु स्थानीय सरकारको दायित्व हो, यो हाम्रो गाउँपालिकामा सञ्चालित सबैभन्दा ठूलो आयोजना हो, यो आयोजना सञ्चालनमा आएपछि यहाँका स्थानीय बासिन्दाले रोजगार पाउने छन् ।’ विद्युत्मार्फत सञ्चालन हुने उक्त लिफ्टिङ आयोजनाका लागि खपत हुने विद्युत् महसुलका विषयमा समेत गाउँपालिकाले विकल्प खोज्ने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष राईले बताए । उपभोक्ता आफैंले विद्युत् महसुल तिर्दा महँगो पर्ने भएकाले त्यसका विषयमा कार्यपालिकाको बैठक बसेर निर्णय गरिने जनाइएको छ । खानेपानीको समस्या रहेको बतासेमा सुनकोशीको पानी लिफ्टिङमार्फत घरघरमा आउने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । तीन हजार नौ सय ७७ जनसङ्ख्या रहेको बतासेमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा आएपछि फलफूल तथा तरकारी बाली उत्पादन गर्न सकिने जनाइएको छ । १० स्थानीय तह रहेको जिल्लामा दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनासँगै चार लिफ्टिङ खानेपानी आयोजनाको काम भइरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई र हलेसी तुवाचुङ नगरपालिकामा एउटा लिफ्टिङ खानेपानी आयोजनाको काम सञ्चालन भइरहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयका नायब सुब्बा अनिल आचार्यले जानकारी दिए । रासस
शिक्षामा थपिएको सिर्जनाले विद्यार्थी उत्साहित
काठमाडौं । काठमाडौंको रत्नराज्य माध्यामिक विद्यालय कोटेश्वरका कसिस गिरी, रक्षा चेम्जोङ सञ्चु राई र सुशील आचार्यले पिपलका पात, डाँठ, फल खोजेर ल्याए । कागजका टुक्रा र केही सिन्काहरु पनि बटुले । त्यसलाई आकार दिन थाले । आफ्नो पहिलो अभ्यासमै उनीहरुले एउटा सुन्दर र सफा गाउँ परिकल्पना गरे । त्यस गाउँको वातावरण र रहनसहनको ‘कोलाज’ तयार पारे । व्यावसायिक कलाकारले बनाएको सुन्दर कलाकृति भन्दा फरक बनेन उनीहरूका सिर्जना । पिपलका हाँगा पात र फललाई आकारमा ढालेर उनीहरूले पिपलको रुख नै बनाइदिए । कागजका टुक्रामा रङ भरेर सुन्दर पहाड उतारे । सिन्काहरु जेडेर घर र छाना बनाइदिए । अनि त्यसमा रङ लिपेर एउटा बस्ती नै तयार पारे । उनीहरूले बनाएको सिर्जनामा एउटा सुन्दर बस्ती छ । सडकमा मानिस आवतजावत गरिरहेका छन् । छेवैमा पिपलको छहारी छ । गाडी पनि देखिन्छन् । एक कुनामा विद्यार्थी पठनपाठन वा कुनै छलफलमा रमाइरहेका जस्तो देखिन्छ । माथि निलो आकाशमा चराहरू स्वच्छन्द रूपमा उडिरहेका सङ्कत गरिएको छभने छेउछाउमा हरिया पहाडले त्यो बस्तीको सौन्दर्यमा सुगन्ध थपिदिएको छ । झट्ट हेर्दा त्यो ‘कोलाज’नभएर सुन्दर ‘पेन्टिङ’ हो । कोलाजमा उनीहरुले आफ्नो कला प्रस्तुत गरेका छन् । केही महिनाको सिकाइमा कागजमा सुन्दर सृजना भरेका उनीहरू यसरी कला देखाउन पाउँदा निक्कै खुसी छन् । त्यसका साथै उनीहरूले स्केच, पेन्सिल आर्टहरू पनि आकर्षक बनाएका छन् भने अब माटो कला (माटोको कला) सिक्दैछन् । शुक्रबार राससकर्मी विद्यालय पुग्दा नजिकै बेञ्चमा रहेका अन्य विद्यार्थी पनि यसैगरी कला सिर्जनामा तल्लिन थिए । उनीहरूलाई सोनी राईलगायत समूहले ‘आर्ट’ सिकाइरहेका थिए । शिक्षा र सीप कार्यक्रमअन्तरगत काठमाडौं महानगरपालिका र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीहरूले पाठ्ययपुस्तक बाहेक यसरी नयाँ सीप सिकिरहेका छन् । यो सीप सिकाइ कार्यक्रम रत्नराज्य स्कुलमा मात्रै होइन महानगरभित्रमा विश्व निकेतन मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, शहिद शुक्र मावि, पद्मकन्या मावि, कोटेश्वर र सरस्वती माविमा जारी छ । यी ९ वटा विद्यालयमा १९ समूहमा विभाजन गरी पाँच सय १७ जना विद्यार्थीले यसरी कला सिर्जनाको सीप सिकिरहेका छन् । उनीहरूलाई हरेक शुक्रबार आर्ट सिकाइन्छ । विद्यार्थीले स्केच, पोष्टर कलर, पेन्सिल कलर सिकिसकेका छन् । अब माटो कलाको आधारभूत ज्ञान सिक्दैछन् । प्रशिक्षक सोनी राई भन्छिन्, ‘अब कक्षा सकिएपछि भविष्यमा आर्टिष्ट बन्न चाहनेका लागि बाटो खुला हुन्छ, भविष्य आर्टमा खोज्न सक्छन्, यदि भएन भने जुनसुकै क्षेत्रमा जाँदा पनि आर्ट महत्वपूर्ण हुन्छ । फेसन डिजाइनमै जाँदा पनि कलर मिलाउन जान्नुहुन्छ, यस्तै अन्य क्षेत्रमा पनि आर्ट मिसाउन सक्नुहुन्छ र आफ्नो कार्यलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ ।’ रत्नराज्य मावि बानेश्वरका ९ र १० का इछुक विद्यार्थी पहिलोपटक आर्ट कक्षामा सहभागी हुन पाउँदा निक्कै खुसी भेटिए । पहिलोपटक यस्तो कक्षामा सामोल शिखा केसी र विविशा निरौलाले नियमित कक्षाका साथै कलासम्बन्धी नयाँ सीप सिक्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौर्यगङ्गा दर्शनधारी महानगरको शिक्षा र सीप कार्यक्रमअन्तर्गतको यो नयाँ सिकाई भएको बताइ्न। उनले नै कार्यक्रमको संयोजन र समन्वय गरिरहेकी छन् । विद्यालयतहबाटै कला सिकाउनुपर्छ भन्ने प्रतिष्ठानको उद्देश्य रहेको सुनाउँदै उनले यसलाई एउटा छुट्टै कोर्सको रूपमा लैजान आवश्यक भएको बताइन् । गत असोजमै काठमाडौं महानगर र ललितकला प्रज्ञा प्रतिष्ठानबीच सम्झौता भएर यो कार्यक्रम सुरु भएको हो । ‘यो कर्याक्रमले आर्टलाई तल्लो तहबाटै जानकारी दिनुपर्छ भन्ने हाम्रो उद्देश्य महानगरले पुरा गरिदिएको छ, विद्यार्थीहरू कला सिर्जना गर्न पाएकामा खुसी र उत्साहित देखिएका छन्, यसले भविष्यमा उनीहरुलाई बाटो देखाउन सहज हुने छ भन्ने विश्वास छ,’ दर्शनधारीले भनिन् । अहिलेको यो ९० घण्टाको कार्यक्रम हो । यसमा पाँच १७ जना विद्यार्थीहरू सहभागी भएका छन् । अन्तिममा विद्यार्थीहरूले गरेका कामको प्रदर्शनी समेत गरिने तयारी छ । उनले थपिन्, ‘विगतमा विद्यार्थीको उद्देश्य डाक्टर, पाइलट, इन्जिनियर बन्ने भन्ने हुन्थ्यो, यो कार्यक्रमले आर्टिष्ट बन्छु भन्ने उद्देश्य राख्ने पनि हुनुभएको छ । यो खुसीको कुरा हो । यदि डाक्टर, पाइलट बने पनि कला भनेको त्यो क्षेत्रमा पनि अति आवश्यक कुरा हो, जहाँ पनि काम लाग्छ ।’ रत्नराज्य क्याम्पसका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्ट पाँच दिन नियमित कक्षामा सहभागी भएर एक दिन नयाँ खालको कार्यक्रममा उपस्थित हुँदा विद्यार्थीहरूमा उत्साह थपिएको महसुस आफूले गरेको बताउँछन् । रासस
ताइवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो
काठमाडौं । ताइवानमा सम्पन्न ‘ताइवान इन्टरनेशनल साइन्स फेयर’ मा इन्जिनियरिङतर्फको विधामा नेपाल चौथो भएको छ । माघ १४ देखि १९ गतेसम्म भएको उक्त अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालले समेत सहभागिता जनाएको थियो । प्रतियोगितामा हेटौंडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत वाईबाको ‘कृषि–प्रविधिमा आधारित एग्रो–गार्ड’ नामक रिसर्च प्रोजेक्टले चौथो स्थान हासिल गर्न सफल भएको हो । गणित, रसायनशास्त्र, इन्जिनियरिङ लगायतका फरक–फरक १३ वटा विधा समेटिएको उक्त मेलामा विश्वभरका २७ भन्दा बढी देशको सहभागिता थिए । मेलामा जापान, अमेरिका, सिङ्गापुर, न्युजील्यान्ड, स्वीजरल्यान्ड लगायतको सहभागिता थियो । २० वर्षभन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विध्यार्थीहरूको वैज्ञानिक अनुसन्धान, नव प्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने लक्ष्यसहित मेलाको आयोजना हुने गर्छ । ताइवानको सूचना तथा प्रविधि मन्त्रालय मातहतको नेशनल ताइवान साइन्स एजुकेसन सेन्टरले उक्त विज्ञान प्रविधि मेलाको आयोजना गर्दै आइरहेको छ । विविध विधामा आधारित वैज्ञानिक अनुसन्धान परियोजनाहरूलाई प्रदर्शन गराइने यस प्रदर्शनी मेलामा यस वर्ष ६३० जना विद्यार्थी अनुसन्धानकर्ताद्वारा ३५९ वटा विज्ञान, सूचना–प्रविधि, नवप्रवर्तन सम्बन्धी अनुसन्धानका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको थियो । जहाँ ५४ वटा अन्तर्राष्ट्रिय र ३०४ वटा राष्ट्रिय प्रोजेक्टहरू समावेश गरिएका थिए ।
‘गोल्ड मेडलिष्ट’ उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । घुस रकमसहित पक्राउ परेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको हिजोको इजलासले नेपाललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो । इजलासले नेपाललाई एक वर्ष कैद सजाय र ६ लाख रुपैयाँ जरिबाना हुने फैसला सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन् । बीबी एयरवेजको इजाजतपत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धानको ठहर थियो । बीबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस नभइ सापटी दिएको बयान दिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका ‘गोल्ड मेडलिष्ट’ उपसचिव नेपाल २०७९ साउन १७ गते नागपोखरीको होटल अरण्यको परिसरबाट साढे २२ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका थिए ।
इराकद्वारा १०३ मिलियन ब्यारेल बढी कच्चा तेल निर्यात
एजेन्सी । इराकले जनवरीमा १०३ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ । इराकले जनवरीमा १०३.५ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो । जसबाट ८.०२५ बिलियन अमेरिकी डलर राजस्व जम्मा भएको छ । जनवरीमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ७७.५३ डलर थियो । मन्त्रालयले स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको प्रारम्भिक तथ्याङ्कलाई उदृत गर्दै बताएको छ । मध्य र दक्षिणी इराकका तेल क्षेत्रहरूबाट बसराको बन्दरगाहबाट करिव १० करोड ब्यारेल र उत्तरी प्रान्त निनेवेहको कय्यारा तेल क्षेत्रबाट करिव १० लाख ब्यारेल निर्यात गरिएको थियो भने यस महिनामा ४ लाख ६४ हजार ३०६ ब्यारेल छिमेकी जोर्डनमा पठाइएको थियो । इराकको अर्थतन्त्र कच्चा तेलको निर्यातमा धेरै निर्भर छ । जसले देशको राजश्वको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।
बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न महानगरको ताकेता
काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । पछिल्लोपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न पत्राचार गरेको हो । राजस्व विभागका प्रमुख ध्रुबकुमार काफ्लेका अनुसार १५ दिनको समय दिएर पत्र पठाएको छ। तोकिएको अवधिमा कर नतिरे महानगरपालिकाको आर्थिक ऐनको दफा–२१ अनुसार कारबाही हुने महानगरले जनाएको छ । ऐनमा आपत्कालीनबाहेकका सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकीसरह असुल गर्नेसम्मका व्यवस्था छन् । मनोरञ्जनस्थलमा प्रवेश गर्ने प्रतिटिकट पाँच प्रतिशत मनोरञ्जन कर लाग्ने व्यवस्था छ । प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । क्लब, दोहोरी तथा बारहरू जेपी रोडको रिफ्रेस डान्स बार, क्षेत्रपाटीको नटराज डान्स बार, पकनाजोलको आरके डान्स बार, फायर चोकको कारटार क्लब, ड्रिडक होस्टन डान्स बार, होनी वी डान्स बार, नरसिंह चोकको स्कुटी क्लब, ओलो क्लब, डेला सोलबार, नमस्ते पप बार, द क्लब हाउस, घामछायाँ रोधी क्लब, बेबो डान्स बार, टकिला डान्स बार, क्विनमहल डान्स बार, बज्र डान्स बार, सञ्चयकोष चोकको ओमनिया क्लब, भिआइपी क्लब, नसा डान्स बार, मिडनाइट डान्स बार, ज्याठाको चाहना डान्स बार र अमृत मार्गको ड्रागन डान्स बारलाई महानगरले कर तिर्न पत्राचार गरेको हो । यस्तै ठमेल क्षेत्रका एलओडी क्लब, क्लाइमेट क्लब, पोताला क्लब, टेनएक्स क्लब, फूलमुन क्लब, सफर क्लब, काराओके, टप राजधानी दोहोरी, मुजुरा डान्स बार, ठमेल डान्स बार, डान्सिङ याक बार, वियरवार डान्स बार, भगवती मार्गको रोज डान्स बार, स्काई डान्स बार, चाक्सीबारी मार्गको अमिर डान्स बारलाई पनि पत्राचार गरिएको महानगरले जनाएको छ । यस्तै गल्कोपाखाका गुन्यूचोली दोहोरी, अल्फाबिटा बारलाई पत्र पठाइएको छ । ठमेल क्षेत्र लक्षित मनोरञ्जनात्मक व्यवसाय गर्ने साम्स बार, दुनियाँ बार, टिफिने बार र एच ट्वान्टी बार क्लब रहेका छन् ।
रसुवाको नौकुण्डमा स्वास्थ्य शिविर सञ्चालन
रसुवा । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ साङ्युलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ग्रामीण बस्तीका बासिन्दालाई स्थानीयस्तरमै निःशुल्क सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो । इजिप्टको कायरो विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययन गरेर नेपालका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले स्थापना गरेको एएनएमएस संस्था र नौकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको स्वास्थ्य शिविरबाट ९० छात्रछात्रासहित कूल दुई सय ७० जनाले सेवा प्राप्त गरेका नौकुण्ड–१ का वडाध्यक्ष कान्छा तामाङले जानकारी दिए । शिविर सञ्चालन गर्न उत्तरगया गाउँपालिका–५ लहरेका बासिन्दा तथा हाल जिवजिवे ग्रामीण अस्पतालमा कार्यरत डा सरोज श्रेष्ठले अगुवाइ गरेका हुन् । स्वास्थ्य शिविरमा विभिन्न रोगको परीक्षण गर्नुका साथै औषधि समेत प्रदान गरिएको डा. निहारिका शर्मा गैरेले जानकारी दिइन् । चिकित्सक टोलीले छात्रछात्रालाई स्वास्थ्य परीक्षणका साथै विभिन्न पाठ्य सामग्रीसमेत वितरण गरेका छन् ।