मातातीर्थमा बन्यो सबैभन्दा ठूलो सबस्टेसन हब, काठमाडौंमा विद्युत् आपूर्ति गर्न थप सहज हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ । त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनको क्षमता ३२० एमभिए छ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब बनेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरुको सफलतापूर्वक परीक्षण गरिएको बताए । ‘मातातीर्थ सबस्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशूली ३ बी हब या मार्कीचोक सबस्टेसन बन्नु पर्ने छ, मार्कीचोक सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ, त्रिशूली ३ बी हब आगामी चैतको दोस्रो साताभित्र चार्ज गर्ने गरी काम भइरहेको छ, उक्त सबस्टेसन सञ्चालनमा आएपछि मातातीर्थ सबस्टेसन २२० केभीमा चार्ज गरिने छ’, उनले भने- ‘काठमाडौं उपत्यकामा विद्युत आपूर्तिका लागि २२० केभीको पूर्वाधार तयार भएको छ, उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने छ, देशको एकीकृत विद्युत् प्रणालीसमेत सुदृढ बन्ने छ ।’ मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । उक्त प्रसारण लाइनलाई २०७९को असारबाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । आयोजनाअन्तर्गत नै मार्कीचोकमा २२०/१३२ केभी सबस्टेसन निर्माणाधीन छ । त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं उपत्यकामा ल्याउन त्रिशूली-काठमाडौं २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । मस्याङ्दी-काठमाडौं र त्रिशूली-काठमाडौं प्रसारणलाइनलाई बाडभञ्ज्याङमा एक आवसमा आवद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ । प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधानले मर्स्याङ्दी र त्रिशूलीबाट काठमाडौं उपत्यकामा भित्रिएको विद्युतलाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रुपमा आपूर्ति हुने बताए । उपकार्यकारी निर्देशक प्रधानले मातातीर्थबाट विद्युतलाई १३२ केभी प्रसारण लाइनमार्फत हेटौंडातर्फसमेत प्रवाह गर्न सकिने बताए । प्राधिकरणले चोभारमा १३२ केभीको सबस्टेनको निर्माण गरिरहेको छ । मातातीर्थबाट चोभारसम्मको १३२ केभी निर्माण सम्पन्न भइसकेको छ । चोभारबाट ललितपुरको पाटनसम्म १३२ केभी भूमिगत प्रसारण लाइन र पाटनमा १३२ केभी सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको कार्यकारी निर्देशक प्रधानले उल्लेख गरे । मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको ठेकेदारको कार्यसम्पादन सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी काम गर्न २०७७ पुसमा नयाँ ठेक्का लगाएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो । दुईवटा सबस्टेसनको अनुमानित लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना आज छुट्ने
काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित ३ जनालाई प्रहरीले बुधबार छाड्ने तयारी गरेको छ । जिल्ला अदालत काठमाडौंले दुई दिनभित्र अनुसन्धान नसकिए थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएकाले उनीहरु आज छुट्न लागेका हुन् । उनीहरुलाई कीर्ते र ठगीमा अनुसन्धान कायम राख्दै हाजिर जमानीमा छोड्ने तयारी भएको छ । अदालतको आदेशपछि यो प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर पनि छुट्नेछन् । दोस्रो पटक म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार अदालतमा उपस्थित गराएको थियो। अदालतले दुई दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। गत बिहीबार च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका व्यवसायी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापा पक्राउ परेका थिए । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा निजी बनाएको आरोप लागेका अरुण चौधरीविरुद्ध ४३ जना स्थानीयले ठगीको जाहेरी दिएका छन् । सार्वजनिक जग्गा हड्पिएको भन्दै ४३ जना स्थानीय बासिन्दाले बाँसबारीस्थित काठमाण्डु महानगरपालिका ३ कार्यालयमा निवेदन दिएका थिए ।
प्रतिनिधिसभामा सम्पत्ति शुद्धीकरण विधेयक पेश हुँदै
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । उक्त विधेयकलाई आजै पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, राष्ट्रियसभामा राष्ट्रियसभा, नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ । त्यसैगरी, अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८० स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ । राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेश गरनेछन् । संसद्का दुवै सभामा संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित हुनेछ । बुढाथोकी नेपाली कांग्रेस पार्टीबाट विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नंं ५ बाट संविधानसभा सदस्यमा निर्वाचित थिए । पूर्वसामान्य प्रशासनमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा यही माघ २२ गते उपचारको क्रममा निधन भएको थियो ।
सङ्घीय संसद्को महासचिव पाण्डेयले लिए शपथ
काठमाडौं । सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल उपस्थित थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेयलाई मङ्गलबार सङ्घीय संसद्को महासचिवमा नियुक्त गरेका थिए ।
सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुुसार मंगलबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य स्थिर रहेको छ । चाँदि प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प छैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको बताएका छन् । बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए । विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लाग्ने बताए । श्रोत नै सुनिश्चित नभइकन घोषणा भएका योजना र शिलान्यस भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको बताए । अर्थमन्त्री महतले समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको दाबी गरे । वाह्य क्षेत्र पनि नेपालमा लागानी गर्न सकारात्मक रहेको दाबी गरे । ‘अर्थतन्त्र बिस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसैले मलाई लाग्छ । बजेटलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ । रड, डन्डी, सिमेन्ट पनि बिक्री भयो । तर बनिसकेपछि त्यसले दुध दिन छोड्यो । आवश्यकता भन्दा ठूला संरचनाहरु अनुत्पादक र गैरप्राथमिकताको क्षेत्रमा खर्च भयो । अनि धेरै बहुवर्षिय घोषणाहरु भए । त्यसकारण यस्तो बेथितिबाट हाम्रो बजेटरी सिस्टम गएको थियो, त्यसलाई अनुशासनमा ल्याउने काम शुरु भएको छ । वाह्य क्षेत्र अत्यन्त सकारात्मक छन्, हिजो श्रीलंका हुन्छ के हुन्छ भन्थे’, उनले भने । अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताए । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनेहरुका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरुले ऋण तिर्नुपर्ने बताए । केही मानिसहरु राजनैतिक निहीत उद्देश्य लिएर तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भएको टिप्पणी गरे । अहिले सहकारीको रुप नै नरहेको जिकिर गरे । अनुगमन नभएकै मौका उठाएर केही सञ्चालकहरुले दुरुपयोग गरेको बताए । अर्थमन्त्री महतले बैंकको जस्तो कारोबार गर्ने वित्तीय संस्थाहरु सहकारी हुन नसक्ने बताए । ठूलो कारोबार गर्ने सहकारीहरुलाई राष्ट्र बैंकको मातहतमा ल्याइने बताए । सहकारी मर्ज गर्ने हो भने राष्ट्र बैंकको वित्तीय संस्थाको रुपमा जानुपर्ने जानकारी दिए । अर्थमन्त्री डा. महतले आफूले आएर काम गरेपछि सेयर मार्केट १८ सयबाट अहिले २१ सय भन्दा माथि पुगेको दाबी गरे ।
टेक्सास साइन्स एण्ड आइटी एक्सपो २०८० सुरु
काठमाडौं । चाबहिलमा रहेको टेक्सास कलेजले ‘टेक्सास साइन्स एण्ड आइटी एक्सपो २०८०’ सुरु गरेको छ । एक्स्पोमा कलेजमा अध्ययनरत विद्यार्थीले आफुले अध्ययन गरेको विषयमा प्रदर्शनी गरेका छन् । कलेजमा विज्ञान, आइटी तथा रोबोटिक्स अध्ययन गरेका विद्यार्थीले ६० भन्दा बढी स्टलहरू राखेर आफुले बनाएका सामाग्री प्रदर्शन गरेका छन् । वर्षभरी कक्षा कोठामा अध्ययन गरेको विषयलाई प्रयोगात्मक तरिकाले प्रदर्शनी गर्दा थप सिकाई हुने विद्यार्थीहरू बताउँछन् । कलेजमा हुने यस्ता कार्यक्रमले विद्यार्थीले गुणस्तरिय शिक्षा पाउने कलेजका शिक्षकहरूले विश्वास गरेका छन् । सोमबारदेखि सुरुभएको कार्यक्रम बुधबारसम्म जारी रहने छ ।
हरिवनमा ‘ड्रोन’मार्फत जग्गाको नापजाँच
सर्लाही । हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुआत गरेको छ । नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच थालिएको हरिवन नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए । उनका अनुसार दुई महिनाभित्रमा नगरपालिकाभित्रका ११ वटै वडामा जग्गाको नापजाँच गर्ने काम सम्पन्न हुने छ । हरिवन -१ स्थित कोठीखोला र सिकारी टोलबाट ड्रोनमार्फत जग्गाको नापजाँच शुभारम्भ गरिएको छ । सो प्रविधि मार्फत जग्गा नापजाँच गर्दा जनशक्ति तथा समयको पनि बचत हुने भएकाले चाँडै नै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्न सजिलो हुने नगर उपप्रमुख हरिमाया घलानले बताइन् । उनले ड्रोन तथा डिजिपीएस प्रणालीको विधिबाट काम गर्दा अन्यभन्दा १० गुणा बढी प्रभावकारी हुने भएकाले पनि ड्रोनको प्रयोग सुरु गरिएको जानकारी दिइन् । हरिवन-१ का विभिन्न स्थानको अभिलेख तयार गरी नापी र मालपोत कार्यालय हरिवनको समन्वयमा राष्ट्रिय भूमि आयोग सर्लाहीमा पेस गरिने भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई छिट्टै जग्गाधनी पुर्जा प्रदान गरिने हरिवन नगरपालिको भूमि सेवा केन्द्रका प्रमुख सुवाश कुशवाहाले बताए । उनका अनुसार नगरपालिकाभरि भूमिहीन सुकुम्बासी एक हजार २०, भूमिहीन दलित दुई सय ९१ र अव्यवस्थित बसोबासी दुई हजार पाँच सय २१ जनाको फारम हालसम्म अनलाइनमा प्रबिष्ट गरिइएको छ । रासस