विकासन्युज

अरुण भ्याली हाइड्रोले फागुन १७ गतेदेखि १ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले फागुन १७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपतामा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजीको १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ गत माघ १५ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले चैत ७ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हिमालयन लाइफको बीमा शुल्क आर्जन ८ प्रतिशत बढ्यो, साढे ५८ अर्ब पुग्यो बीमा कोष

काठमाडौं । हिमालयनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ८.२४ प्रतिशत घटेर ३४ करोड ६० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ प्रतिशत बढेर ७ अर्ब ८९ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब २८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी ९ अर्ब २० करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको कमिसन खर्चमा ६५ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष ७१ करोड ३६ लाख रुपैयाँ कमिसनमा खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १० अर्ब ९७ करोड रुपैयाँ गरेको छ भने कुल खर्च १० अर्ब ६३ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ३ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो भने कुल खर्च ९ अर्ब ६५ करोड रुपैयाँ थियो । कम्पनीको सेयर क्यापिटल ८ अर्ब २ करोड रुपैयाँ, महाविपत्ती कोषमा ४८ करोड ११ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ३० करोड रुपैयाँ, अन्य इक्विटी ७ करोड २२ लाख रुपैयाँ र निर्जीवन बीमा कोषमा ५८ अर्ब ४८ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.६३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९ गुणा र प्रतिसेयर नेटवर्थ १२३.१३ रुपैयाँ छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ११७ प्रतिशत बढ्यो

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ११७ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क आर्जन १६४ प्रतिशत बढेर ७९ करोड २५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी ४६ करोड ६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड २२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीले पुनर्बीमा मार्फत ७१ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ९६ लाख रुपैयाँ पुनर्बीमा कमिसनमा खर्च गरेको थियो । कम्पनीले १ करोड ३९ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९९ करोड ३७ लाख रुपैयाँ खर्च गरेको तियोख। कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ, सेयर प्रिमियम ४ लाख ७५ हजार रुपैयाँ, महाविपत्ती कोषमा १७ करोड ५९ लाख रुपैयाँ, जगेडा कोषमा ७६ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १६ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

हिमालयन रिइन्स्योरेन्सको छलाङ, नाफा १ सय प्रतिशत र बीमा शुल्क १५४.६५ प्रतिशत बढायो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १ सय प्रतिशत बढेर ६० करोड २७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ खद नाफा गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क १५४.६५ प्रतिशत बढेर १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७८ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको कुल दाबी भुक्तानी ५०.९० प्रतिशत बढेर ७३ लाख १५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४८ लाख ४८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल आम्दानी ९२.८४ प्रतिशत बढेर २ अर्ब ४६ करोड रुपैयाँ गरेको छ भने कुल खर्च ८९.३५ प्रतिशत बढेर १ अर्ब ६० करोड रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी ४२.८६ प्रतिशत बढेर १० अर्ब रुपैयाँ, सेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६९ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ४१ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २.८२ रुपैयाँ बढेर १२.५ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७.३० रुपैयाँ रहेको छ ।

कामना सेवाका ग्राहकलाई नेशनल पाथ ल्याबमा १० प्रतिशतसम्म छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई रुपन्देहीको बुटवलस्थित नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरका सेवाहरुमा १० प्रतिशतसम्म छुट हुने भएको छ । जसको लागि दुई संस्थाबीच सम्झौता भएको हो । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्याउने उद्देश्यले स्थापित उक्त नेशनल प्याथ ल्याबमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

प्रणय दिवसलाई लक्षित गर्दै सौराहामा सुरु भयो खाना महोत्सव, फागुन ३ गतेसम्म हुने

चितवन । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर आजदेखि १८औं सौराहा फुड फेस्टिबल सुरु भएको छ । विविध परिकार, मनोरञ्जनलगायत कार्यक्रम महोत्सव सुरु भएको हो । महोत्सवको चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि ढकालले उद्घाटन गरे । त्यस अवसरमा उनले पर्यटन क्षेत्रको विकासमा राज्यले अझ लगानी बढाउनुपर्ने बताए । उनले भने, ‘निकुञ्ज ऐन संशोधनका लागि मैले संसद्मा आवाज उठाएको छु, यसलाई संशोधन गर्नुपर्छ ।’ राज्यको स्रोत बाँडफाँटमा पूर्वी चितवन पछाडि पारिएको उनको गुनासो थियो । बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, रेवानका केन्द्रीय उपाध्यक्ष सङ्घर्ष विष्ट, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवानका संस्थापक अध्यक्ष बलराम दाहाल, रेवान महिला समूहकी अध्यक्ष लक्ष्मी विडारीलगायत बोलेका थिए । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा फागुन ३ गतेसम्म महोत्सव हुनेछ । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी महोत्सव आयोजना गरिएको संयोजक सूर्यबहादुर रिमालले बताए । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कला, संस्कृति, वेषभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यकारुपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने महोत्सवको लक्ष्य रहेको छ । राष्ट्रिय तथा स्थानीय कलाकार तथा दी एक्सिस ब्यान्डको साङ्गीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेट्रेसबीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिबल प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगितालगायत गतिविधि महोत्सवमा आयोजना गरिनेछ । महोत्सव उद्घाटनअघि विभिन्न जातजातिका कला, संस्कृति झल्कने झाँकीले सौराहा परिक्रमा गरेको थियो । रासस

रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न समितिको निर्देशन

काठमाडौं ।  लुम्बिनीस्थित रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गरेर निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा लगाउने गरी भएको सम्झौता खारेज गर्न सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । रामग्राम क्षेत्रलाई संरक्षण तथा विकाससम्बन्धी अनुसन्धान तथा परियोजनाको आर्थिक स्रोतको खोजी गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्ड लिमिटेडबीच भएको सम्झौता खारेज गर्न समितिको आजको बैठकले निर्देशन दिएको हो । ‘लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा गरेको सम्झौता आजैका मितिदेखि खारेज गर्न सरकारलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ’, लेखा समिति सभापति ऋषिकेश पोखरेलले भने, ‘यस विषयमा थप अनुुसन्धान अघि बढाउन र यस्तो काम अरु कुनै ठाउँमा नहोस् भन्ने सुनिश्चितता गर्न पनि सरकारलाई निर्देशन दिने निर्णय भएको छ ।’ रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गरेर ९९ वर्षका लागि भाडामा लगाउने गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्डबीच भएको सम्झौताबारे आज समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, मन्त्रालयका सचिव दिपक काफ्ले, अर्थ सचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतसँग छलफल गरेको थियो । उक्त छलफलका क्रममा समितिका सदस्यले प्रतिस्पर्धाविनै भाडा सम्झौता भएको, खरिद कानुनको पालना नभएको, धार्मिक क्षेत्रको अस्तित्व मेटिने गरी व्यवसायिक संरचना बनाउन लागिएको, सम्झौता भएको निजी क्षेत्रको पृष्ठभूमि विवादास्पद रहेको लगायतका कारणले यो सम्झौता रद्द गरिनुपर्ने धारणा राखेका थिए । युनेस्को र पुरातत्व विभागले तोकेको मापदण्डभन्दा विपरीत हुने गरी लुम्बिनी क्षेत्रमा कुनै पनि संरचना नबनाउन तथा विद्यमान कानुनी प्रक्रियाभन्दा बाहिर गएर कुनै पनि काम नगर्न पनि समितिले निर्देशन दिएको हो । रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गर्नका लागि बजेटको व्यवस्था गर्नका लागि पनि समितिले सरकारलाई निर्देशन दिएको छ । समितिले आजैको बैठकले एनसेल शेयर खरिद–बिक्रीका सन्दर्भमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र लेखा समितिलाई उक्त प्रतिवेदन उपलब्ध गराउन पनि निर्देशन दिएको छ । रासस

‘सबै सहकारीमा समस्या छैन, केही त बैंकभन्दा राम्रा छन्’

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का अध्यक्ष उद्धव सापकोटाले सहकारीमा समस्या आउँदा राज्यले सहयोग गर्नु पर्ने बताएका छन् । बागमती प्रोस्कूनको आयोजना, राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को व्यवस्थापनमा भएको ‘सञ्चारकर्मीहरुका लागि वित्तीय बुझाई अभिवृद्धि तालिम’मा बोल्दै उनले कोरिया लगायतका कतिपय देशहरुले सहकारीमा समस्या आउँदा सरकारले सहयोग गरेको बताएका हुन् । संकटको समयमा राज्य र अभियानसँगै जाने हो भने अहिलेको समस्या समाधान गर्न सकिने उनको भनाई थियो । समुदाय र सदस्य केन्द्रीत भएर सञ्चालन भएका सहकारी संस्थाहरु बैंक भन्दा पनि राम्रोसँग सञ्चालन भइरेको अध्यक्ष सापकोटाले बताए । ‘सरकारी कर्मचारी र जनप्रतिनिधिहरुमा सहकारीप्रतिको बुझाइमा एक रुपता नहुँदा पनि समस्या आयो,’ उनले भने । विश्वका कतिपय देशले सहकारीमार्फत नै आर्थिक तथा सामाजिक रुपान्तरण गरेको थुप्रै उदाहरण रहेको भन्दै उनले नेपालमा पनि सहकारीले आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सक्ने दावी गरे । शहरी क्षेत्रमा रहेका केही ठुला र सहकारी मूल्य, मान्यता सिद्धान्त बाहिर सञ्चालित सहकारीमा मात्र अहिले समस्या आएको उनले बताए । बदमास गर्ने सहकारी संस्थाका सञ्चालकलाई संरक्षण गर्ने भन्दा पनि कारबाही गर्न सके सहकारीप्रति आम विश्वास बढ्ने उनको बुझाई छ । कार्यक्रममा बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्काले सहकारीको बुझाइमा एक रुपता कायम हुनुपर्छ भन्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको बताए । सहकारीमाथि चौतर्फी रुपमा आरोप लागेको बताउँदै सहकारीलाई हेर्ने, विश्लेषण गर्ने र सहकारीको अवस्थाको रुपमा सही विश्लेषण नभएको समेत उनले बताएका हुन् । सबै सहकारी समस्यामा नरहेको समेत उनको तर्क छ । ‘सबै सहकारी खराब छैनन्, केही सहकारीहरूबाट गलत काम पनि भएका छन्, सबैलाई सबैलाई एकै ठाउँमा राखेर हेर्न मिदैन,’ उनले थपे । सहकारी बुझाइमा एकरुपता आउने पर्ने बताउँदै उनले साझा बुझाइको साथमा सहकारीको विश्लेषण गर्नुपर्ने बताए । तालिममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले सहकारी संस्थाहरुको वित्तीय विश्लेषणको बारेमा प्रशिक्षण दिएका थिए । सहकारीमा पल्र्सको महत्व, नगद प्रवाह, लेखा टिप्पणी र अन्य वित्तीय विश्लेषण लगायतका विषयमा पत्रकारहरुलाई प्रशिक्षण गराएका थिए । लेखा परिक्षेकको युडिएन नम्बरबाट सहकारी संस्थाको प्रतिवेदनमा उल्लेख भएको वित्तीय विवरण वास्तविक छ की छैन भनेर पत्ता लगाउन सकिने सिइओ गुरागाईंले बताए । तालिममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले सहकारीको वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिँदै कुल बचतमा ३० प्रतिशतमाथि नियमित बचतको हिस्सा रहेका सहकारी संस्थामा सामान्य अवस्थामा समस्या नआउने बताए । सहकारीको वित्तीय संरचना भित्र वित्तीय स्रोत केलाई बनाइयो ? त्यसले नै संस्थाको स्थायित्व कायम गर्ने उनले जानकारी दिए । दीगो संस्था निमार्ण गर्न नियमित बचत कम्तिमा ३० प्रतिशत, धन सृजना गर्ने बचत कम्तिमा १५ प्रतिशत, आवधिक बचत बढीमा २० प्रतिशत र कारोबार बचत ३५ प्रतिशत हुनुपर्ने सिईओ दाहालले जानकारी दिए । सहकारी संस्था सदस्यमा आधारित व्यवसाय भएकाले कुल सदस्य मध्ये ३३ प्रतिशतले संस्थाबाट ऋण उपभोग गरेको हुनुपर्ने उनले बताए । बैंकसम्मको पहुँच नभएका र आफ्नो कमाईले मात्र दैनिकी सञ्चालन गर्न नसक्नेहरुका लागि सहकारी आवश्यक रहेको उनको भनाइ छ । सिजेएनका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिममा विभिन्न सञ्चार गृहमा कार्यरत ३४ जना पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सिजेएनका सचिव सन्तोष रोकायाले गरेका थिए ।