विकासन्युज

१० % ब्याज पाइने एनआईएमबीको ४.४० अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले आज फागुन १ गतेखेदि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् १६ लाख १६ हजार कित्ता सर्वसाधारणलाई र ६० प्रतिशत अर्थात् २४ लाख २४ हजार कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार ८ सय कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।

काठमाडौं महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन माग मागेको छ । महानगरले मंगलबार सूचना जारी गर्दै सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । सात दिनभित्र दरखास्त पेस गर्नुपर्ने र मूल्यांकन परीक्षा फागुन १२ तथा अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ ।

११ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

काठमाडौं । सरकारले काम सन्तोषजनक नभएका ११ ठेकेदार कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरूलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो । सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) बमोजिम लिखित स्पष्टीकरण पेस गर्न कार्यालयले निर्देशन दिएको छ । जवाफ चित्तबुझ्दो नभए कार्यालयले यी कम्पनीलाई कालोसुचीमा राख्ने छ । सात दिने स्पष्टीकरण सोधिएका कम्पनीहरूको विवरण यस्तो छ–

पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी पहाडी भू–भागमा वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना छ । मंगलबार बिहानसम्म देशभरि आंशिकदेखि साधारणतया बदली रहको विभागले जनाएको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार राति देशभरि आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मुग्लिन-पोखरा सडक विस्तार : दमौली बजारका ७४ घर भत्काइने

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको दमौली बजारका केही घर भत्काउनुपर्ने भएकाले त्यसमा स्थानीय सकारात्मक भएका छन् । व्यास नगरपालिका–२ वडा कार्यालयमा आइतबार भएको अनौपचारिक छलफलमा स्थानीयले यथाशक्य चाँडो सडक किनारमा पर्ने आफ्ना घर भत्काएर कामलाई तीव्रता दिन सहमति जनाएका हुन् । मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वीखण्डका इन्जिनियर, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रसहितका पदाधिकारीको बैठकले बाटो विस्तारका निम्ति भत्काउनुपर्ने ठहर भएका घर यथाशीघ्र भत्काउने निर्णय गरेको हो । व्यास नगरपालिका–२ मुख्यचोकका धरधनी मिश्रले फागुन १ गते आफैंले आफ्नो घर भत्काउन सुरु गरेर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘आयोजनाको कामलाई तीव्रता दिन हामी सहयोगका गर्न तयार छौँ ।’ व्यास नगरपालिका–२ का वडा सदस्य सुरेश वाग्लेले दमौली बजारमा घरहरू भत्काउन ढिलाइ भएकाले छिटो घर भत्काएर काममा सहयोग गर्न आग्रह गरेका थिए । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले यो खण्डको अन्य ठाउँमा सडकभित्रका संरचना हटाएर काम भइरहेपनि सदरमुकाम दमौलीका संरचना हटाउन विलम्ब भएको बताए। उनले भने, ‘आजको अनौपचारिक छलफलमा स्थानीय घर भत्काउन सहमत हुनुभएको छ । अब मुख्य बजार क्षेत्रको कामले गति लिनेमा विश्वस्त छौँ ।’ पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछ । उक्त सडकअन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कनेलगायतका ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको छ । बन्दीपुर र आँबुखैरेनी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ । पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माण सुरु भएको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सानिगाडको प्रतिसेयर एक सय रुपैयाँका दरले ८५ लाख ५० हजार कित्ता सेयरबापत ८५ करोड ५० लाख सेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ । कोषले सोमबार जारी गरेको विज्ञप्ति अुनसार सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र सेयर निष्काशन गरिसक्नु पर्नेछ । ६ महिनाभित्र सेयर निष्काशन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ ।

संस्थागत निक्षेपकर्ताप्रति राष्ट्र बैंक उदार, ऋणको ब्याज घट्दै जाने विश्वास

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुआर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् पाँच वटा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै केही नयाँ व्यवस्था गरेको हो । राष्ट्र बैंकले बैंकदर र नीतिगत दरलाई भने यथावत राखेको छ । हाल कायम रहेको बैंकदर ७ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतलाई राष्ट्र बैंकले यथावत राखेको हो । यस्तै, राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याज बढाउन पाउने नीति बनाएको हो । मौद्रिक नीतिको समीक्षामार्फत् राष्ट्र बैंकले संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ । यसअघि व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदरमा २ प्रतिशत बिन्दु अन्तर हुनुपर्ने व्यवस्था थियो । ब्याजअन्तर कम गर्नका लागि संस्थागत निक्षेपकर्ताले राष्ट्र बैंक समक्ष लबिङ गरिरहेका थिए । राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार बैंकहरुले २ करोडसम्मको कर्जालाई रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने भएका छन् । राष्ट्र बैंकले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेको हो । यस्तै, राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधा (एसएलएफ)लाई कार्यान्वयनमा ल्याउने भएको छ । ‘ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ,’ समीक्षामा भनिएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक गतिविधिहरु केही शिथिल रहेको परिप्रेक्ष्यमा बैकिङ्ग प्रणालीमा कर्जा असूली कम भै निष्कृय कर्जा अनुपात केही बढेको छ । २०८० पुसमा बैक तथा वित्तीय संस्थाहरुको औसत निष्कृय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ । ब्याजदर घट्दै गएको, पर्यटक आगमन बढिरहेको र पुँजीगत खर्चमा समेत तीव्रता आउँदा आर्थिक गतिविधिहरुमा सुधार भई कर्जा असूलीमा समेत सुधार आउँदै जानेअनुमान राष्ट्र बैंकको छ । राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किरहेकोले ब्याज घट्दै जाने पनि बताएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ अर्थतन्त्रका सूचकहरू सकारात्मक नै रहेकोले राष्ट्र बैंकले ठूलो नीतिगत हेरफेर गर्न नचाहेको दिएको बताउँछन् । उनले संस्थागत निक्षेपकर्ताको ब्याज र व्यक्तिगत ब्याजबीचको १ प्रतिशतकाे फरकले संस्थागत निक्षेपकर्तालाई केही राहात हुने बताए ।

एनपीएल बढे पनि अर्थतन्त्र लयमा जाँदैछ, कर्जा असूलीमा सुधार हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) बढेपनि अर्थतन्त्र सुधारको लयमा रहेको राष्ट्र बैंकले बताएको छ । मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले खराब कर्जा पौने ४ प्रतिशत पुगेपनि सुधारको अवस्थामा रहेको बताएको हो । राष्ट्र बैंकका अनुसार आर्थिक गतिविधिहरु केही शिथिल रहेको परिप्रेक्ष्यमा बैकिङ्ग प्रणालीमा कर्जा असूली कम भई खराब कर्जा अनुपात केही बढेको छ । २०८० पुसमा बैक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । ब्याजदर घट्दै गएको, पर्यटक आगमन बढिरहेको र पुँजीगत खर्चमा समेत तीव्रता आउँदा आर्थिक गतिविधिहरुमा सुधार भई कर्जा असूलीमा समेत सुधार आउँदै जाने राष्ट्र बैंकको भनाइ छ ।