विकासन्युज

कुमारी बैंकले ल्यायो बचत खातामा उच्च ब्याजसहित स्वास्थ्य बीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी गज्जब बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा पनि समावेश गरी यो योजना सार्वजनिक गरेको जनाएको हो । न्यूनतम मौज्दात रकम एक हजार रुपैयाँ रहेको यस खातामा बैंकले वार्षिक ६.०१ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै २० हजार रुपैयाँ सम्मको स्वास्थ्य बीमा सुविधा र निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराउने जनाएको छ । बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले २० हजार रुपैयाँ सम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउदै जाने प्रतिवद्धता जनाएको छ । बैंकले उपलब्ध गराएको यो बचत खाता नेपाल बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरुमा पर्ने विश्वास बैंकले लिएको छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकहरुलाई विगत २२ वर्षदेखि निरन्तर रुपमा बैंकिङ सेवा दिदै आइरहेको छ ।

समलिङ्गी विवाहलाई कानुनी मान्यता

राँझा । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुन् । करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै विवाहबन्धनमा बाँधिएका छन् । अञ्जु र सुप्रिताले विवाह दर्ताका लागि २०८० माघ ४ गते वडा कार्यालयमा निवेदन दिएपछि पञ्जीकरण विभागको प्राविधिक शाखासँग समन्वय गरेर आइतबार उनीहरूको विवाह दर्ता प्रमाणपत्र जारी गरिएको बढैयाताल –२ का स्थानीय पञ्जीकाधिकारी एवं वडासचिव दीपक नेपालीले जानकारी दिए । प्रमाणपत्रमा हाललाई अस्थायी विवाह दर्ता गरिएको उल्लेख गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पञ्जीकरण विभागमा समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा राय तथा निर्देशन उपलब्ध गराइदिन पत्र पठाएर आवश्यक समन्वयमा कानुन नबन्दासम्म अस्थायी विवाह दर्ता प्रमाणपत्र दिइएको बताए । अञ्जु हाल बाँकेको कोहलपुर–५ मा बस्दै आएकी छिन् भने सुप्रिता बेलायतमा बस्छिन् । ‘कक्षा १२ मा पढ्दै गर्दा फेसबुकमार्फत चिनजान भयो, सम्बन्ध बढाउँदै जादाँ हामी विवाह नै गर्ने मनस्थितिमा पुग्यौँ’, सोमबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अञ्जुले भनिन्, ‘प्रेम सम्बन्धमा परेपछि हामीले धार्मिक संस्कारअनुसार विवाह गर्यौँ र दुवैजना सँगै बस्न थाल्यौँ ।’ उनका अनुसार स्याङ्जाको वालिङस्थित छाङछाङदी मन्दिरमा पाँच वर्षअघि उनीहरूले विवाह गरेका थिए । पहिले परिवार र आफन्तबाट अपहेलित हुनुपरे पनि अहिले साथ मिलेको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वकालत गर्दै आएका सामाजिक संस्था पश्चिम तारा नेपाल नेपालगञ्ज र मायाको पहिचान नेपाल काठमाडौंले अञ्जु र सुप्रिताको विवाह दर्ताले आफ्नो अभियानलाई बल पुगेको बताएका छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको क्षेत्रमा कार्यरत संस्था पश्चिम तारा नेपालकी अध्यक्ष परिना चौधरीले अञ्जु र सुप्रिताको विवाह दर्ताले आफूहरू खुसी भएको बताए । विवाह दर्ताको खुसीयालीमा सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्त, नेपालमै पहिलोपटक समलिङ्गी विवाह दर्ता गर्ने लमजुङका सुरेन्द्र पाण्डेलगाायत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले वरबधुलाई बधाई तथा शुभकामना दिएका थिए । रासस

लगानीमैत्री वातावरणको लागि कानून संशोधनको पहलमा निजी क्षेत्र खुशी

काठमाडौं । सरकारले आगामी बैशाखमा गर्न लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन अगाडि फास्ट ट्रयाकमा एक दर्जन ऐन तथा नियमावली संशोधनको प्रक्रिया बढाउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित मौजुदा नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि सुझाव कार्यदलले माघ १५ गते मुख्यसचिव डा वैकुण्ठ अर्याललाई १० वटा ऐन र २ वटा नियमाली संशोधन गर्नुपर्ने सुझावसहितको अध्ययन प्रतिवेदन पेश गरेको थियो । जुन कार्यदलमा निजी क्षेत्रका उद्योग व्यवसायीहरुको छाता संगठनका नेतृत्व तथा प्रतिनिधिहरु पनि आमन्त्रित सदस्यको रुपमा रहेका थिए । लगानीमैत्री वातावरणको लागि सरकारले गरेको सो पहललाई निजी क्षेत्रका उद्यमी तथा लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् । सरकारले गरेको प्रयास पूर्ण नभएपनि सरकारात्मक भएको र आफूहरुको अधिकांश मागको सुनुवाइ भएको निजी क्षेत्रको भनाइ रहेको छ । कार्यदलले औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा भएका केही व्यवस्थाहरुको संशोधनको लागि सुझाव दिएको छ । त्यस्तै, भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, वातावरण संरक्षण ऐन २०७६, विद्युतीय कारोबार ऐन २०६३, नागरिक उड्डयन ऐन, २०५३ का व्यवस्थामा पनि संशोधन गर्न सुझाव दिएको छ । नियमावलीतर्फ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ र वन नियमावली, २०७९ मा समेत संशोधनको आवश्यकतासमेत कार्यदलले औँल्याएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष राजेश अग्रवालले सरकारले लगानी सम्मेलन अगाडि कानुनी सुधारका क्षेत्रमा गर्न खोजेको कामलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताए । ‘यसलाई सकारात्मक कदमकै रुपमा लिएका छौं हामीहरुले, हुनत यो पर्याप्त छैन, हामीले दिएको सुझावअनुसार अन्य धेरै विषय सम्बोधन गर्नुपर्ने थियो’, उनले भने, ‘तर, यो छलफल गरेर तुरुन्तै गर्नुपर्ने र गर्ने भनेर प्रस्ताव गरिएको छ, यसलाई लगानी सम्मेलन भन्दा पहिले संसदबाट पारित गराउन सक्यौं भने राम्रो हुन्छ ।’ विश्वका विभिन्न देशहरुमा भइरहेको लगानीको अवस्था हेर्दा नेपाल धेरै नै पछाडि परेको तथ्यांकहरुले देखाइरहेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा विभिन्न उद्योग तथा व्यवसायको क्षेत्रमा २२ अर्ब ३३ करोड वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागको तथ्यांकले देखाएको छ । तर, विगतदेखिको प्रतिबद्धताको अवस्थालाई हेर्ने हो भने सबै प्रतिबद्धता लगानीमा परिणत भएको पनि देखिँदैन । सिएनआईका अध्यक्ष अग्रवालले लगानीको वातावरण सिर्जना गर्नका लागि कानून संशोधन मात्रै मुख्य विषय नभएको भन्दै कार्यान्वयनको विषय मुख्य भएको तर्क गरेका छन् । ‘कानून संशोधनको विषय एउटा पाटो हो, ऐन/नियम बनेपछि त्यसको कार्यान्वयनको पाटो पनि मुख्य हुन्छ, लगानीकर्ताहरुको काम गर्न खोज्दा मन्त्रालय/विभागहरुले कसरी काम गर्छन् त्यो पनि महत्वपूर्ण हुन्छ’, उनले भने, ‘त्यसैले यी काम हुँदैमा एकदमै लगानीको वातावरण बन्छ भनेर भनिहाल्न सकिँदैन तर, यो त्यसतर्फको एउटा सकारात्मक कदम हो ।’ त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्धका अध्यक्ष मनोज पौडेलले पनि सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नका लागि ऐन/कानून संशोधनको शुरुवात गरेको पहलकदमी सकारात्मक भएको बताए । ‘हामीले सरकारको प्रयासलाई सकारात्मक रुपमा पाएका छौं, यसमा महासंघको तर्फबाट पनि वृहत छलफल गरेर सुझाव लिएर विभिन्न चरणमा छलफल गरेर सरकारलाई सुझाव बुझाएका थियौं’, पौडेलले भने, ‘नेपाली र विदेशी लगानीकर्ता निम्ति सुझाव यी विषय सम्बोधन हुनुपर्छ भनेर सुझाव दिएका थियौं ।’ अध्यक्ष पौडेलले सरकारले सन् २०१९ को लगानी सम्मेलन अगाडि पनि कानुनी जटिलतालाई हटाउने उद्देश्यले प्रयास गरेको तर पर्याप्त नभएको भन्दै नेपालमा वृहत लगानीको वातावरण सिर्जना हुनेगरी काम हुन आवश्यक भएको उनको भनाइ छ । ‘सन् २०१९ को लगानी सम्मेलन अगाडि पनि सरकारले नयाँ ऐन ल्याउने र संशोधन गर्ने काम भएको थियो, त्यसको पूर्ण नतिजा आएन, तर त्यसले कति विषय शुरुवात गर्यो पनि, यो निरन्तर पक्रिया पनि हो, अब वृहत वातावरण बनाउनेगरी पनि हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो’, उनले भने । उनले कानून संशोधनसँगै राजनीतिक नेतृत्व र ब्यूरोक्रेसीको ‘एटिच्युड’ मुख्य विषय रहने बताए । अध्यक्ष पौडेलले हामी गर्छौं भनेर सरकार र नेतृत्वको तहबाट शन्देश दिन पनि बाँकी रहेको जस्तो देखिएको बताएका छन् । त्यसको व्यवहारिक परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । ‘हामीले ऐन कानुन त ल्याउँछौं, एउटै काम गर्नको लागि पनि धेरै मन्त्रालय र विभागहरु धाउनुपर्ने अवस्था छ, नजिकका छिमेकी राष्ट्रहरुले छोटो समयमा गरेको विकासलाई हेर्ने हो भने इच्छाशक्ति र समन्वय गरेर गर्ने कामहरुको अभ्यास नगरेसम्म साँच्चीकै सुधार आउँदैन ।’

नेपाल टेलिकमको नाफा साढे ७ प्रतिशत घट्यो

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.५९ प्रतिशतले कमी हो । समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।  गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको नाफामा ७.६० प्रतिशतको संकुचन आएको छ । गत वर्षको यही अवधिसम्मको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन र वित्तीय आम्दानी दुवै घटेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १८ अर्ब ७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर १७ अर्ब २४ करोड रुपैयाँमा खुम्चिएको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ६१ करोड रुपैयाँ वित्तीय आम्दानी गरेको छ ।  गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३ अर्ब ९५ करोड रुपैयाँ भएको थियो । सञ्चालन र वित्तीय आम्दानी घट्दा पनि कम्पनीको नाफा प्रभावित भएको हो । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी भने ६ करोड ६८ लाख रुपैयाँबाट बढेर ४४ करोड ६४ लाख रुपैयाँको उचाइमा पुगेको छ । चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।  गत वर्ष रिजर्भमा ७५ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । नेपाल टेलिकमको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४३.६८ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस ४७.२८ रुपैयाँ थियो । पीई रेसियो २०.६२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३.७६ रुपैयाँ रहेको छ ।

क्यान इन्फोटेक २०२४ सम्पन्न, अब प्रदेशस्तरीय प्रदर्शनी हुने

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९औं संस्करण हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत बिहिबार एक विशेष समारोहमाझ २९औं संस्करणको क्यान इन्फोटेक २०२४ समुद्घाटन गरेकी थिइन् । सो अवसरमा नेपाल सरकारका विशिष्ट अधिकारीहरूसहित निजी क्षेत्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । पाँच दिनसम्म चलेको प्रदर्शनीमा हरेक दिन नेपाल सरकार तथा मातहतका निकायका तर्फबाट विशिष्ट अधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरु, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरु, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधि प्रेमीले अवलोकन गरेका थिए । सोमबार ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ को अन्तिम दिन प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र,  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मिस नेपाल २०२३ श्रीच्छा प्रधान, मिस नेपाल २०१९ एवं काठमाण्डौं महानगरपालिकाका सिटी ब्रान्डिङ एडवाइजर अनुष्का श्रेष्ठ लगायतका विशिष्ट अतिथिले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गरेका थिए । इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । यस पटकको इन्फोटेकमा नेपाली युवाका नवीनतम सोच, उत्पादन तथा समाधानलाई प्राथमिकता देखिएको बताउँदै महासचिव अधिकारीले डिजिटल साक्षरता, ब्लकचेन प्रविधि, एआई, साइबर सुरक्षा लगायतका पक्षमा नेपालको सूचना प्रविधि क्षेत्रलाई तयार पार्न सहयोग पुगेको भनाइ राखे । प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या उल्लेख्य रहेको थियो । आयोजकले यस्ता सोच तथा आविष्कारलाई प्रश्रय दिन निःशुल्क स्टलको व्यवस्था गरेको थियो । यस संस्करणको इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । उनले प्रदर्शनीका सम्पूर्ण प्रायोजक, प्रदर्शनीकर्ता कम्पनीहरू, सहयोगी संस्थाहरू, मिडिया तथा सूचना प्रविधिप्रेमी अवलोकनकर्तालाई धन्यवाद समेत दिए । क्यान इन्फोटेक २०२४ को मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह(प्रायोजकमा एचएमसी दहुआ रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘’एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुवा रहेको छ । त्यस्तै क्यान इन्फोटेक २०२४ प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रा लि र मर्कन्टाइल अफिस सिस्टम प्रा लि रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रा लि र हिमकम एनटेक रहेका छन् । प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रा लि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा लि, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रा लि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् । त्यस्तै फुड एन्ड बेभरेज पार्टनरमा र्‍याकेट बार एन्ड इभेन्टस र फाइबसाइट सोलुसन प्रालि, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला सिस्टम प्राइभेट लिमिटेड, ईआरपी पार्टनरमा डाईनामीक टेक्नोसफ्ट प्रालि, स्मार्ट गेट पार्टनरमा बारकोट नेपाल, सीसीटीभी पार्टनरमा एचएमसी दहुआ र एसएमएस पार्टनरमा जानकी टेक्नोलोजी प्रा लि रहेका छन् । प्रर्दशनीलाई सफल पार्न देश भित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०, सुबिसु केबलनेट, एसर, इन्जिनियर भ्लग, नेपाल रोबोटिक्स एकेडेमी, मेन्टोरल्याब नेपाल लगायतका संस्थाले सहयोग गरेका छन् । प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देशविदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको थियो । यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत रहेका थिए । त्यस्तै यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको थियो । प्रदर्शनीमा करिब १५० स्टलको सहभागिता रहेको थियो, यसअन्तर्गत प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका थिए । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट तथा आकर्षक योजना पनि सार्वजनिक गरे । आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका थिए । मेलाको अन्तिम दिन कम्पनीहरूले आफ्ना सेवा तथा उत्पादनको खरिद एवं बुकिङमा ३० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरेका थिए । यसै बीच राजधानीमा राष्ट्रियस्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२४ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको छ । यसका लागि तयारी तीव्र पारिसकिएको छ ।

सूर्यकुण्ड हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । आईपीओ निश्कासनको लागि सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने र नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा आज हस्ताक्षर गरेका छन् । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणबाट पुँजी संकलन गर्ने उद्देश्यले १०० अंकित दरका २० लाख कित्ताले हुन आउने रकम २० करोडको आईपीओ निष्कासन गर्नेछ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनाको कूल लागत २ सय २० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण १ सय ३५ करोड नेपाल एस।वि।आई बैंकको एकल लगानीबाट सम्पन्न भएको छ । यस कम्पनीमा अपि पावर कम्पनीले बहुमत शेयरमा लगानी भएको छ । आयोजनामा फ्रल्वेल इनर्जे भारतको अत्याधुनिक इलेक्ट्रोमेकानिक समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के।भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातिर्थ, काठमाण्डौ ल्याइनेछ । यस समुहबाट प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० भन्दा बढि विद्युत उत्पादन गरि राष्ट्रको नविकरणीय उर्जा उत्पादनमा योगदान पुर्याएको छ ।

शिखर इन्स्योरेन्सको सर्भेयर सम्मेलन, ९ जनालाई सम्मान

काठमाडौं । शिखर इन्स्योरेन्सले नवीनतम जोखिम व्यवस्थापनमा सर्भेयरको भूमिका विष्यक सम्मेलन सम्पन्न गरेको छ । दाबी प्रक्रियालाई सरल, छिटो छरितो बनाई दाबी फछ्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजीकरण गरी बीमा क्षेत्रको बिकास, सर्भेयरको पेशागत क्षमता अभिवृद्धि गर्न तथा बीमा क्षेत्रमा मर्यादित भई सर्भेयरको रुपमा निरन्तर सेवामा रही कार्य गर्ने व्यक्तित्वहरुलाई उनीहरुले पुऱ्याएको योगदानको कदर सहित सम्मान गर्न समेत यस कार्यकमको आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका प्रतिनिधि निर्देशक पुजन ढुङ्गेल, शाभ्राज लामिछाने, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, बीमा क्षेत्रमा सर्भेयरको रुपमा कार्यरत करिब  १५० जना सर्भेयर तथा नेपला इन्स्योरेन्स सर्भेयर एसोसियसनबाट सम्पुर्ण पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो । कार्यक्रमको नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष प्राडा फत्तबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न सत्रमा बिकसित नयाँ प्रविधि, विश्वव्यापी नविनतम मौसमी जोखिमहरु बिश्वव्यापी उष्णता लगायत अन्य महाविपत्तिको कारण सृजना भइरहेको जोखिमहरुको व्यवस्थानका लागि बीमा कम्पनी तथा सर्भेयरहरुले समेत आफ्नो भुमिकालाई सबल बनाउँदै जानुपर्नेमा जोड दिईएको थियो । कार्यक्रम समापन समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आतिथ्यता, कार्यकारी निर्देशक राजुरमण पौडेलको विशेष आतिथ्य र नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीको आतिथ्य रहेको थियो । नेपालको बीमा क्षेत्रमा सर्भेयरको रुपमा पच्चीस वर्ष भन्दा बढी कार्य गरी योगदान पुर्याउने  नौ जना सर्भेयरलाई सम्मान गरिएको थियो । सर्भेयरले पुऱ्याएको योगदानको उच्च कदर स्वरुप सम्मानित हुने वरिष्ठ सर्भेयरहरुलाई बधाई ज्ञापन गर्दै गरियो । भविष्यमा बीमा क्षेत्रमा आई पर्न सक्ने चुनौतिको, सामनाका लागि कार्यक्रमले  पूर्व तयारीको रुपमा एउटा इटा थप्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले जानकारी गराए ।

निर्जीवन बीमा कम्पनीहरूको नाफा ४२.१७ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । पुस मसान्तसम्ममा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब १३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २० करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेका थिए । गत आर्थिक वर्षको तुलनामा बीमा कम्पनीहरूले ४२.१७ प्रतिशत अर्थात् ९२ करोड ९१ लाख रुपैयाँ धेरै नाफा गरेका हुन् । चालु आर्थिक वर्षमो ६ महिनामा नेशनल इन्स्योरेन्स कम्पनीबाहेक अन्य सबै कम्पनीको नाफा बढेको छ । यस अवधिमा सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा नेपाल इन्स्योरेन्स रहेको छ । यस कम्पनीको नाफा २३२.३३ प्रतिशत बढेर ४९ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११७.३४ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सको १ सय प्रतिशत बढेर २५ करोड ८३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ७१.५४ प्रतिशत बढेर ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६३.७२ प्रतिशत बढेर १८ करोड ४३ लाख रुपैयाँ, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सको ५१.०८ प्रतिशत बढेर १८ करोड ३७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ४८ प्रतिशत बढेर १३ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ४० प्रतिशत बढेर १० करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । सानिमा जिआईसी इन्स्योरेन्सको २१ प्रतिशत बढेर १० करोड ५५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १९.१७ प्रतिशत बढेर २५ करोड ११ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १६ प्रतिशत बढेर २० करोड ८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको १५.५१ प्रतिशत बढेर ५४ करोड ९ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको १५.२३ प्रतिशत बढेर २२ करोड १२ लाख रुपैयाँ नाफा कमाएका छन् । समीक्षा अवधिमा नेशनल इन्स्योरेन्स भने १ करोड ७ लाख रुपैयाँ नोक्सानीमा छन् । गत वर्ष यस कम्पनीको नाफा १६ करोड ९१ लाख रुपैयाँ थियो ।