विकासन्युज

निर्जीवन बीमा कम्पनीहरूको नाफा ४२.१७ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । पुस मसान्तसम्ममा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब १३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २० करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेका थिए । गत आर्थिक वर्षको तुलनामा बीमा कम्पनीहरूले ४२.१७ प्रतिशत अर्थात् ९२ करोड ९१ लाख रुपैयाँ धेरै नाफा गरेका हुन् । चालु आर्थिक वर्षमो ६ महिनामा नेशनल इन्स्योरेन्स कम्पनीबाहेक अन्य सबै कम्पनीको नाफा बढेको छ । यस अवधिमा सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा नेपाल इन्स्योरेन्स रहेको छ । यस कम्पनीको नाफा २३२.३३ प्रतिशत बढेर ४९ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११७.३४ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सको १ सय प्रतिशत बढेर २५ करोड ८३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ७१.५४ प्रतिशत बढेर ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६३.७२ प्रतिशत बढेर १८ करोड ४३ लाख रुपैयाँ, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सको ५१.०८ प्रतिशत बढेर १८ करोड ३७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ४८ प्रतिशत बढेर १३ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ४० प्रतिशत बढेर १० करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । सानिमा जिआईसी इन्स्योरेन्सको २१ प्रतिशत बढेर १० करोड ५५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १९.१७ प्रतिशत बढेर २५ करोड ११ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १६ प्रतिशत बढेर २० करोड ८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको १५.५१ प्रतिशत बढेर ५४ करोड ९ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको १५.२३ प्रतिशत बढेर २२ करोड १२ लाख रुपैयाँ नाफा कमाएका छन् । समीक्षा अवधिमा नेशनल इन्स्योरेन्स भने १ करोड ७ लाख रुपैयाँ नोक्सानीमा छन् । गत वर्ष यस कम्पनीको नाफा १६ करोड ९१ लाख रुपैयाँ थियो ।

कम्प्युटर इन्जिनियरको चियापसल : उनी भन्छन्- कुनै पछुतो छैन

जनकपुरधाम । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त । त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान् ! हरेकको मानसपटलमा यस्तै चित्र बन्छन् । तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ । कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन् । जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले । घरी असरल्ल राखिएका चिया गिलास टिप्छन्, घरी चिया पकाउँछन् । सपना विश्वविद्यालयमा आर्जन गरेको कम्प्युटर शिक्षा प्रयोग गर्नेछ तर विपनामा भने यसैगरी चियाको मात्रा नापिरहनुपरेको छ उनले । ‘आफ्नै क्षेत्रमा काम गर्ने रहर त कसैलाई हुदैन र ! त्यस्तै रहर मलाई पनि थियो । तर रहरले मात्रै कहाँ हुँदोरहेछ ! त्यसैको उदाहरण हुँ म’, उनले भने । रहरले त हुँदैन तर प्रविधिको ज्ञान त छ नि ! प्रयास गरेपछि कसो नहोला ? लामो सुस्केरा हाल्दै राजेशले भने, ‘खै ! नहुँदोरहेछ । मसँग त रहर र सीप दुवै छ । प्रयास पनि कहाँ नगरेको हुँ र… !’ पछाडिबाट आवाज आयो, ‘दाई चिया ।’ कुरा छाडेर काममा लाग्नुभयो उहाँ । ग्राहकलाई चिया दिइसकेपछि छेउमै आएर सोधे, ‘तपाईँहरूको नि ?’ जवाफमा हामीले पत्रकार भएको बताएपछि एउटा कुर्सी तानेर बस्नै लाग्दा फेरि ग्राहक थपिए । ‘मेरो त काम नै यस्तै छ । सुरुका केही दिन त नरमाइलो लाग्थ्यो, अहिले भने अभ्यस्त हुँदैछु’, पाक्दै गरेको चिया चलाउँदै राजेशले भने, ‘पारिवारिक परिबन्ध र खराब समय चलेपछि जति प्रयास गर्दा पनि हुँदैन रहेछ । विज्ञानमा विश्वास गर्ने म अचेल त भाग्यमा यस्तै गर्नुरहेछ भनेर चित्त बुझाइरहेको छु ।’ यसरी तुहियो सपना जनकपुरधामस्थित एक निजी विद्यालयबाट विसं २०६६ मा पहिलो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण राजेशले स्नातकसम्मको शिक्षा भारतमा पढेका छन् । भारतको डाएनसी कलेज बेनीपट्टी, मधुबनीबाट प्लस टु साइन्स (प्रथम श्रेणी) र हिमाञ्चल प्रदेशस्थित बद्दी युनिभर्सिटी अफ इमर्जिङ साइन्स एण्ड टेक्नोलोजीबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक (बि–टेक)सम्मको अध्ययन पूरा गरेका छन् । सन् २०१८ मा स्नातकसम्मको पढाइ सकेपछि राजेशले विश्वविद्यालयकै सिफारिसमा मासिक ५२ हजार भारु पाउनेगरी चण्डिगढको एउटा कम्पनीमा काम सुरु गरिसकेका थिए । तर जनकपुरस्थित घरमा रहनुभएकी आमा ‘थ्रोट’ क्यान्सरबाट सिकिस्त भएपछि तीन महिनामै जागिर छाड्नुपरेको उनले सुनाए । ‘स्नातक सकिएपछि काम सुरु गरिसकेको थिएँ, तर तीन महिनामै छाडेर नेपाल आउनुपर्यो । त्यसपछिको सम्पूर्ण समय आमाको उपचारमा खर्चिए । एक वर्ष त दिल्लीस्थित एम्स अस्पताल धाउँदै बित्यो । त्यसक्रममा करिब रु २५–३० लाख खर्च भयो । त्यसयता हामी सबैको योजना भताभुङ्ग भयो’, उनले दुःख पोखे । हुँदाखाँदाको जागिर छाडेर नेपाल आएका राजेशको जीवनमा एक समय यस्तो आयो कि कसैले लाखौँ तलब दिन्छुभन्दा पनि काम गर्ने अवस्था रहेन । किनकि घरको काम उनले नै गर्नुपर्ने भयो । यहीबीचमा साढे चार वर्षअघि बुवाको मृत्यु भयो । ‘बुवा बितेपछि आमाको सम्पूर्ण सहारा गुम्यो, हाम्रो भरोसा । त्यसपछि आमालाई एक्लै छाड्ने अवस्था रहेन । जागिरको अवसर पाएका बेला घरायसी समस्याले घेर्यो । आमालाई ठिक भएपछि सँगै बसेर केही गर्न पाए हुन्थ्यो भनेर जनकपुरमै धेरै प्रयास गरेँ, धेरैलाई गुहारे तर जागिर पाइँएन’, उनले भने । नेपाल टेलिकमको जागिरबाट अवकाशप्राप्त बुवाको पेन्सनबाट घरव्यवहार चलाइरहेको बताउने राजेशले आफ्नो शिक्षा र ज्ञान प्रयोग गर्नुपर्छ भन्ने योजना नबनाएका पनि होइनन् तर आर्थिक अभावले पूरा गर्न सकेनन् । ‘जागिर पाइएन । खर्च बढ्दै गयो तर आम्दानी छैन’, एकछिन निःशब्द हुँदै उनले भने, ‘श्रमको मूल्य पाउने जागिर नै पाइँएन । दश–बाह्र हजारमा काम गर्न सकिएन ।’ नेपालमा विकल्प नभएपछि उनले विदेशिने निधो गरे । त्यसबेला स्वास्थ्य बाधक बन्यो । राजेशले दुबईमा साइबर सेक्युरिटीका क्षेत्रमा काम गर्न एउटा कम्पनीमा विभिन्न चरण पार गरेँ । तर मेडिकल परीक्षण गर्दा रगतमा सङ्क्रमण देखिएपछि त्यहाँ पनि जान पाएनन् । अहिले औषधि सेवन गरिरहेको उनले बताए । सामान्य मध्यमवर्गीय परिवारका उनले ‘प्लस टु साइन्स’ आफ्नै लगानीमा पढे पनि बि–टेकचाहिँ छात्रवृत्तिमा पढेका हुन् । उनीमात्रै होइन उनका दाजुले पनि बायोटेक्नोलोजीमा स्नातकोत्तर (एमटेक) सम्मको अध्ययन भारतबाट र चीनबाट विद्यावारिधि गरेका हुन् । लकडाउनको समयमा अध्ययन सकेर नेपाल फर्किएका उनी पनि पारिवारिक समस्याकै कारण घरमै अल्झिरहनुपरेको भाइ राजेशले जानकारी दिए । आठ हजार तिर्नुपर्ने भएपछि… आमालाई क्यान्सर भयो । त्यहीबीचमा बुवा बित्नुभयो । परिवारको लय बिथोलियो, राजेश दाजुभाइको सपना र योजना । जागिरका लागि गरिएका प्रयास सफल भएनन् । भएको सीप प्रयोग गरेर केही गरौँ भन्ने सोचमा पुँजी बाधक बन्यो । ‘सबै प्रयास असफल भएपछि अहिले चिया पसल चलाइरहेको छु । एक लाख रूपैयाँ ऋण काढेर यो व्यवसाय सुरु गरेको पनि तीन महिना भयो । ठूलो चोट, सिकाइ र विवशतापछिको प्रतिफल हो’, उनले मलिन मुद्रामा भने । यो व्यापार पनि एउटा पसलमा आठ हजार उधारो तिर्नुपर्दाको सकसपछि जन्मिएको हो । चियाका अम्मली राजेशले गएको दसैँ तिहारकै समयमा उधारो खाने गरेको चियापसलेलाई रु आठ हजार तीन सय तिर्नुपर्ने भयो । अनुमानभन्दा बढी पैसा तिर्नुपरेपछि त्यसै दिन चिया छोड्ने वा आफैँ चियापसल खोल्ने सङ्कल्प लिएको राजेशको कथन छ । उनी भन्छन्, ‘त्यहीँ घटनापछि चियापसल खोल्ने निर्णयमा पुगेँ । एकातिर अरुलाई तिर्नुपर्ने चियाको पैसा जोगिने अर्कोतिर समयको सदुपयोग र दुई पैसा आम्दानी पनि हुने । त्यसपछि चियापसल सुरु गरेको हुँ ।’ राजेशले पसलको नाम ‘इन्जिनियर क्याफे’ राख्ने निधो गरेर बोर्ड बनाउन दिएका छन् । उनी विभिन्न प्रकारका चिया, कफी बनाउने सोचका साथ बजार अध्ययन गरिरहेको र अब यहीँ व्यवसायलाई व्यवस्थित बनाउने योजनामा छन् । ‘सुरुमा पढियो एउटा गरियो अर्कै भनेर निराश हुन्थे तर अहिलेचाहिँ कुनै पछुतो छैन । देशको अवस्था, विदेशिएका युवाको पीडाका साथै पसलमा आउनेहरूले दिने प्रतिक्रियाबाट पनि उत्साहित भइरहेको छु । आगामी दिनमा के–के हुन्छ हेर्दै जाऔँ’, उनले भने । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठ पनि एउटा शिक्षित र प्राविधिक शिक्षा पढेको युवाले रोजगारी नपाउनु चिन्ताको विषय भए पनि राजेशले रोजेको बाटोबाट आम युवाका लागि प्रेरणाको ठूलो सन्देश प्रवाह भएकामा खुसी व्यक्त गरे । ‘देशमा कुनै पनि क्षेत्र र मान्छे उत्साहित छैनन् । युवाहरू विदेश धाइरहेका छन् । यो भीडमा एउटा शिक्षित युवाले चियापसल खोल्ने आँट गर्नु राम्रो कुरा हो । यसबाट अरुले पनि पाठ सिक्न जरुरी छ’, उनले भने । रासस

विद्युतीय ‘हेलिकोप्टर’ ल्याउँदै सुजुकी

काठमाडौं । अहिलेसम्म तपाईंले सुजुकी भन्नासाथ कार भनेर चिन्नुहुन्थ्यो । यो जापानी कम्पनी भए पनि यसले भारतमा सबैभन्दा ठूलो कार कम्पनी (मारुती सुजुकी) का रूपमा आफ्नो अड्डा जमाएको छ । तर, अहिले सुजुकीको आँखा आकाशतिर छ । अब ऊ उड्नेवाला विद्युतीय सवारीसाधनतर्फ अघि बढिरहेको छ । टाइम्स अफ इन्डियाले प्रकाशित गरेको रिपोर्टअनुसार सुजुकीले विद्युतीय एयर कप्टर बनाउने योजना बनाएको छ, जुन ड्रोनभन्दा ठूलो तर परम्परागत हेलिकप्टरभन्दा सानो हुनेछ । यसमा पाइलटसहित कम्तीमा तीन जना बस्न सक्नेछन् । वास्तवमा कम्पनीले नयाँ गतिशीलता समाधानहरूमा प्रारम्भिक नेतृत्व प्राप्त गर्न चाहन्छ । रिपोर्टका अनुसार प्रारम्भमा यसलाई (इलेक्ट्रिक एयरकोप्टर) जापान र अमेरिकामा ल्याउन सकिनेछ । त्यसपछि छिट्टै भारतमा सार्न सकिने छ । यो जमिनमा आधारित उबर र ओला कारहरू जस्तै एयर ट्याक्सी हुन सक्छ । यसले ग्राउण्ड ट्राफिकबाट बच्न मद्दत गर्न सक्छ । रिपोर्टका अनुसार सुजुकी मोटर (अटोमोबाइल उत्पादन योजना समूह) ग्लोब अटोमोबाइल योजना विभागका सहायक प्रबन्धक केन्टो ओगुराले कम्पनीले आर्थिक कारणले पनि भारतमा उत्पादन गर्नेबारे विचार गरिरहेको र उड्डयन नियामक नागरिक उड्डयन महानिर्देशकको कार्यालय (डीजीसीए) सँग वार्तासहित यसको सम्भाव्यतालाई विचार गरिरहेको बताएका छन् । ‘हामी भारतमा ग्राहक र साझेदारहरू खोज्न बजार अनुसन्धान गरिरहेका छौं,’ ओगुराले भने, ‘१ हजार ४ सय किलो तौलको यो एयर हेलिकोप्टरको टेक अफ तौल परम्परागत हेलिकप्टरको झन्डै आधा हुनेछ । घरको छानाबाट टेक अफ र ल्यान्डिङ गर्न सकिने छ, यो हेलिकप्टरभन्दा सस्तो हुनुपर्छ ।’ एजेन्सी

गण्डकीमा अफ्रिकन स्वाइन फिभरले १६ हजार बंगुर मरे, ५० करोडको क्षति

कास्की । गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको संक्रमण पुनः देखिएको छ । सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने उक्त रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा संक्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण फैलिँदै जाँदा ठूला तथा साना बङ्गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको छ । त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ । निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईका अनुसार पछिल्लो संक्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोखरामा १३ गरी कुल १ सय १२ बंगुरको मृत्यु भएको छ । ‘अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक तथा उच्च मृत्युदर भएको रोग हो । हालसम्म रोगविरुद्ध भ्याक्सिन उपलब्ध छैन,’ महानिर्देशक भट्टराईले भनिन्, ‘जैविक सुरक्षा एकमात्र विकल्प हो, त्यसैले सचेतनामा केन्द्रित भएका छौँ ।’ गण्डकी प्रदेशमा गत वर्ष साउन २९ गते पहिलोपटक संक्रमण ‘आउटब्रेक’ भएको थियो । यस रोगका कारण प्रदेशमा हालसम्म १६ हजार ५ सय ५४ वटा बंगुर मरेको निर्देशनालयको तथ्यांक छ । कास्की जिल्लामा मात्र १५ हजार ३ सय ८८ वटा बंगुरको मृत्यु भएको छ । निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले रोगका कारण किसानले ५० करोड रुपैयाँ हाराहारीमा क्षति व्यर्होनुपरेको बताए । ‘किसानले हामीलाई जानकारी गराएअनुसारको क्षतिको विवरण हो, यसभन्दा बढी पनि क्षति पुगेको हुनसक्छ,’ श्रेष्ठले भने । निर्देशनालयले रोग पुष्टि भएका क्षेत्रमा स्थलगत अध्ययन, थप सर्भिलेन्सका कार्य, फार्मको निःसङ्क्रमण तथा विभिन्न माध्यमबाट रोगसम्बन्धी जनचेतनामूलक सामग्री प्रचारप्रसारको कार्य भइरहेको जनाएको छ । कास्कीमा यस वर्ष बंगुरको संख्या कम भएकाले मृत्यु संख्या कम देखिएको निर्देशनालयले जनाएको छ । कास्कीमा अघिल्लो वर्ष करिब ५० हजार बंगुर थिए । अफ्रिकन स्वाइन फिभर देखिएपछि बङ्गुरको संख्या घटाउन आग्रह गरेपछि बंगुरपालक किसानले ९० प्रतिशतसम्म बंगुरको संख्या घटाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताए। जिल्लामा हाल ५ हजारको हाराहारीमा बंगुर रहेकाले मृत्यु संख्या पनि कम देखिएको उनको भनाइ छ । ‘अघिल्लोपटक पनि किसानलाई फार्ममा बंगुर घटाउनुहोस् भनेका थियौँ । तर, किसानले एकैचोटी बेच्न समय कुर्दासमेत क्षति बढी भयो,’ पाण्डेले भने, ‘अहिले संख्या नै कम भएकाले क्षतिको विवरणसमेत कम छ । ठूला फार्ममा निरन्तर झकझकाइरहेका छौँ ।’ बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग रोगी सुँगुर, बंगुर, बँदेल, जंगली बँदेलसँगको सम्पर्कबाट, किर्नाको टोकाइ, मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट र होटल तथा भोजभतेरबाट ल्याइएका जुठो खानाका कारण सर्ने र फैलिन सक्ने बताइन्छ । पशु स्वास्थ्य अधिकृत सुरेश श्रेष्ठले रोगको संक्रमण हुँदा पशुमा उच्च ज्वरो आउने, शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिनेजस्ता लक्षण देखापर्ने बताए ।

रास्वपाले सहकारी र लघुवित्तको समस्या समाधानसम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाउने भएको छ । पार्टी उपसभापति स्वर्णिम वाग्ले नेतृत्वको प्रतिनिधि मण्डलले लुवाटार पुगेर प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डलाई आज १० बजे प्रतिवेदन बुझाउन लागेको हो । रास्वपाको अर्थ तथा नीति विभागले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसम्बन्धी अध्ययन र प्रतिवेदन तयार पारी माघ १५ गतेभित्र सरकारलाई बुझाउने जिम्मा पाएको थियो । विभागमा सुरेशकुमार कर्ण, सिर्जना केसी, सुशील खड्का र भोजन अर्याल सदस्य छन् ।

नेको इन्स्योरेन्सको नाफा १५ प्रतिशत बढ्यो, ईपीएस २१.९९ रुपैयाँ

काठमाडौं । नेको इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १५.२३ प्रतिशत बढेर २२ करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६.१० प्रतिशत बढेर ६१ करोड ६० लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ५८ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी १०.६९ प्रतिशत घटेर ३३ करोड ९१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ९७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १९.४२ प्रतिशत बढेर १ अर्ब १५ करोड रुपैयाँ गरेको भने कुल खर्च १.६७ प्रतिशत बढेर ६९ करोड ४१ लख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ, विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोषमा १२ करोड २३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३६ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ४७ लाख रुपैयाँ रहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २१.९९ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी ३८.३४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३०.१ रुपैयाँ रहेको छ ।

रिडी पावरले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद बिक्री गर्दै, तल्लो बलेफिमा लगानी गर्ने

काठमाडौं । रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँको ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशनपश्चात् कम्पनीको पुँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार रुपैयाँ पुग्नेछ । जसबाट संकलन भएको रकमले तल्लो बलेफि जलविद्युत आयोजनामा लगानी कम्पनीले जनाएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ माघ २२ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा चैत ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीmे जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वले मंगलबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन हुन लागेको हो । राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको उक्त आन्दोलनमा राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रचार गरिए पनि शाह नआउने बताइएको छ । गत मंसिर ७ मा पनि प्रसाईं नेतृत्वको अभियानले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो।