विकासन्युज

४ दिनमै बन्द भयो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ऋणपत्र ४ दिनमै बिक्री बन्द भएको छ । फागुन १ गतेदेखि बिक्री खुला गरेको बैंकको ऋणपत्रमा आज फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् १६ लाख १६ हजार कित्ता सर्वसाधारणलाई र ६० प्रतिशत अर्थात् २४ लाख २४ हजार कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार ८ सय कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

सोलुका किसान भन्छन् : आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी

सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८-०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९-०८० मा एक हजार तीन सय नौ मेट्रिकटन र ०८०-०८१ मा एक हजार तीन सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । जिल्लाामा पछिल्लो वर्ष उच्च गुणस्तरको (आइडेन्सीटी) स्याउ खेती विस्तारको क्रम बढेकाले उत्पादन पनि बढ्दै गएको कार्यालयका सूचना अधिकारी कुलबहादुर राईले बताए । उनले भने, ‘जिल्लामा विगतमा गरिएको रैथाले जातको स्याउको बोटहरु सबै मासिएको छ, तर अहिले यो उच्च गुणस्तरको स्याउ खेती सुरु गरिएको छ । यो दश ६/७ वर्ष भयो होला नयाँ प्रजातिको स्याउ भित्रिएको यसले  राम्रै आम्दानी दिरहेको छ ।’ यद्यपि सुरुआतको केही वर्षमा राम्रै आम्दानी दिए पनि बोट पुरानो हुँदै गएपछि उत्पादनमा गिरावट आउने लक्षण देखिएको कृषि विज्ञहरु बताउँछन् । विसं २०७८-०७९ मा दुई सय पाँच हेक्टर, ०७९-०८० मा दुई सय २१ र ०८०-०८१ मा दुई सय ३० हेक्टरमा गरिएको स्याउ खेतीले उत्पादन दिएको हो । उत्पादकत्व पनि क्रमशः बढिरहेको छ । आव ०७८-७९ मा प्रतिहेक्टर ५.८२ मेट्रिकटन, ०७९-०८० मा ५.९२ र ०८०-०८१ मा ६.३ मेट्रिकटन रहेको छ । जिल्लामा हाल दुई सय ३३ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । यसमा सोलुदूधकुण्ड नगरपालिका-४, ५, ६, ८, ९ र १० बढी खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादित स्याउ अधिकांश जिल्लामै खपत हुने गरेको छभने केही मात्रामा जिल्लाबाहिर पनि निर्यात भएको छ । चिसोका कारण रङमा राम्रोसँग विकास नभएको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवा बताउछन् । जिल्लाको गोरा, टाप्टिङ, पत्तालेलगायत क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीकरणले स्याउ पकेट क्षेत्र नै घोषणा गरेर काम गरिरहेको छ । पकेट क्षेत्र हुँदा उत्पादनमा केही मात्रामा वृद्धि भए पनि त्यसपश्चात् किसानले स्याउको हेरचाह गर्न नसक्ने कतिपय स्थानीय किसान बताउँछन् । पछिल्लो समय स्याउमा एक प्रकारको अ‍ैजेरु तथा बोट र फलमा कालो हुने रोग देखिएको छ । उक्त समस्याको समाधान किसानका लागि महँगो पर्ने उनीहरुको भनाइ छ । विगतमा जिल्लाको गोरा, टाप्टिङ क्षेत्रलाई स्याउको हब नै मानिन्थ्यो । सो क्षेत्रमा वार्षिक १० हजार टनभन्दा बढी स्याउ उत्पादन हुने गरेको एक वृद्ध लाक्पा शेर्पाले बताउछन् । सो समय यहाँ उत्पादित स्याउ खपत नभएर घरेलु मदिरा उत्पादन गर्नेदेखि वस्तुभाउलाई खाउने प्रयोगजनका लागि समेत प्रयोग गरिने गरेको उनको भनाइ छ । तर ती रैथाने जातका स्याउहरु पछिल्लो २० वर्षमा सबै लोप भएको शेर्पाको अनुभव छ । उनले भने, ‘पहिला त सोलुको गोरा, टाप्टिङको स्याउ भनेपछि यहाँ मात्रै हैन काठमाडौँसमेत राम्रो चर्चा थियो, यहाँबाट कोसेलीका रुपमा धेरै काठमाडौँ जान्थ्यो, तर अहिले त ती स्याउहरु कहाँ छन् र ? सबै रोगले सखाप नै पार्यो नि । रूख बुढा पनि भयो, त्यसको उपचार गर्न पनि कसैले ध्यान दिएर त्यही भएर सबै बोट मर्यो ।’ स्याउमा देखिएको रोगका कारण जिल्लाका विभिन्न क्षेत्रमा गरिएको रैथाने जातको स्याउको अस्तित्व सङ्कटमा परेको छ । रैथाने जातमा रोग देखिएपछि किसानले उन्नत जातको हाइडेन्सिटी स्याउ खेती सुरु गरेका हुन् । तामाखानीका किसान कर्मा गेलु शेर्पाले भने, ‘हामीले पहिलो त २०/२५ बोट गोल्डेन, फुजी जातको स्याउ लगाएका थियौँ, मेरो बुबाहरुले नै त्यो जातको स्याउ खेती  गर्नुभएको थियो, हामीले त्योबाट राम्रै आम्दानी पनि गरेका थियौँ तर पछिल्लो समय ती स्याउहरु सबै मरेर सखाप भयो, रोगले आक्रमण गरेपछि हामीले स्याउको बोटहरु बचाउन सकेनौँ ।’ पुराना जातका स्याउहरु ऐँजेरु, बोट मर्ने, फल नदिनेजस्ता कारणहरुले मर्दै गएको हो भने कतिपय रूख बुढो भएका कारण आफैँ झर्दै गएको स्याउ किसान कर्मा शेर्पाको भनाइ छ । त्यसपछि केही वर्ष स्याउ खेतीबाट निराश बनेका किसान पछिल्लो एक दशकयता उच्च घनत्वको स्याउ खेतीले आशा जगाएको स्थानीयबासी बताउँछन् । नयाँ प्रजातिको स्याउले रोपेको छोटो समय एक वर्षमै उत्पादन दिने भएकाले किसानको रोजाइ यसतर्फ सोझिएको ज्ञान केन्द्रका सूचना अधिकारी राईले बताए । यो प्रजातिको स्याउको बोट सानो र होचो हुने तथा कम क्षेत्रफलमा धेरै बोट लगाउन सकिनाका साथै उत्पादनसमेत बढी दिने भएकाले किसान अन्य बाली मासेर भए पनि स्याउ खेतीमा अग्रसर बनेका छन् । उत्पादित स्याउलाई बजारको समेत अभाव नभएकाले किसानले खेती गर्न रुचाएका छन् । जिल्लामा उत्पादन भएको स्याउ कतिपय जिल्लामै खपत हुन्छ भने आधाभन्दा बढी जिल्लामा कार्यरत कर्मचारीले घर बिदामा जाँदा कोसेलीका रुपमा लैजाने भएकाले खपत राम्रो रहेको किसानको भनाइ छ । पत्ताले बन्दै स्याउ हब सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेका युवाले स्याउ खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । यस क्षेत्रका आठजना युवाले करिब दुई वर्षअघिदेखि सामूहिक रुपमा सुरु गरेको व्यावसायिक स्याउ खेतीबाट अहिले राम्रो आम्दानी लिन थालेका हुन् । आफूहरुले वर्षमा पाँचदेखि आठ लाखसम्म आम्दानी गरेको एग्रो टुरिजम डेभलपमेन्ट फार्म पत्तालेका सञ्चालक कर्मा शेर्पाले बताए। फार्ममार्फत एक सय ८६ रोपनी जग्गामा १८ हजार स्याउको बिरुवा रोपेको फार्म सञ्चालक शेर्पाको भनाइ छ । इटलियन जातको स्याउबाट यस आर्थिक वर्षमा रु पाँच लाखभन्दा बढी आम्दानी भएको शेर्पाले बताए । पहिलोपटक उत्पादन भएको स्याउ घुम्न आउनेहरु पर्यटकले फार्ममै आएर किनेकाले बजार खोज्न नपरेको उनको भनाइ छ ।  आउँदो दिनमा स्याउबाट जुस, जामलगायत उत्पादन गर्ने उनीहरुको योजना छ  । आलु मात्रै उत्पादन हुने पत्ताले क्षेत्रमा युवा मिलेर सुरुमा एक करोड रुपैयाँ लगानीमा तीन हजार स्याउको बिरुवा रोपेका थिए । अहिले बगैँचामा १८ हजार बिरुवा पुगेको उनीहरुले बताएका छन् । आलु खेतीबाट भन्दा स्याउबाट राम्रो आम्दानी लिन सकिने भएकाले यसतर्फ लागेको उनीहरुको भनाइ छ । उनीहरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु ५५ लाख ६२ हजार अनुदानसमेत प्राप्त गरेका थिए । यसरी सरकारले प्रदान गरेको अनुदानले आफूहरुलाई झन् उत्साहित बनाएको सञ्चालक शेर्पाले बताए । उनले भने, ‘आलुभन्दा स्याउबाट धेरै फाइदा रहेछ, युवा मिलेर जुनसुकै व्यवसाय गरे पनि राम्रै आम्दानी लिन सकिने रहेछ, स्याउखेतीबाट हामी त धेरै सन्तुष्ट छौँ ।’ झन्डै दुई हजार आठ सय मिटरको उचाइमा पर्ने पत्ताले क्षेत्रमा यसअघि व्यावसायिक रुपमा स्याउ खेती गरिएको थिएन । आलुका लागि प्रख्यात पर्यटकीय गाउँ पत्तालेलाई स्याउ उत्पादन हुने क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको युवा कृषकले बताएका छन् । रासस

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल 

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा मनिष अर्याल नियुक्त भएका छन् । लामो समयदेखि चार्टर्ड अकाउन्टेन्ट रहेका अर्याललाई फागुन २ गते बसेको संस्थाको सञ्चालक समिति बैंठकले अध्यक्षमा नियुक्त गरेको हो । लघुवित्त संस्थामा लघुवित्तको सञ्चालक समितिमा भएको व्यक्ति नै अध्ययक्ष हुँदै आएका छन् । अर्याल पहिलोपटक पब्लिक निर्देशकबाट अध्यक्ष बनेका छन् । अर्यालले नेपाल राष्ट्र बैकबाट शुक्रबार सपथ लिनेछन् । साढे २ वर्षअघि अर्याल जाल्पा सामुदायिक लघुवित्तमा प्रवेश गरेका थिए । अर्याल जाल्पा र किसान लघुवित्तको मर्जर कमिटीको संयोजक पनि रहेका छन् । संस्थाका अध्यक्ष विरबहादुर अधिकारीले राजीनामा दिएसँगै बैठकले अर्याललाई अध्यक्ष नियुक्त गरेको जनाएको छ । जाल्पा लघुवित्तलाई विषम् परिस्थितिमा अर्यालले गरेको कामको सम्मान गर्दै अध्यक्ष चुनेको संस्थाले उल्लेख गरेको छ ।

आगामी वर्षका लागि १८ खर्बको बजेट सिलिङ, कार्यतालिका बनाएर काम गरिँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकेको छ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि संघीय सरकारले विनियोजन गर्ने बजेटको सिलिङ (सीमा) १८ खर्ब तोकेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले १८ खर्बको बजेटको सिलिङ हुने जानकारी आफूलाई आएको बताएका छन् । ‘१८ खर्बको सिलिङ दिएको मलाई जानकारी आएको छ, आवश्यकता कति छ र सम्भावना कति छ भन्ने कोणबाट छलफल भइरहेको छ,’ उनले भने । सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको थियो । अहिले अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणमा व्यस्त भएको छ । अर्थमन्त्रालयका अनुसार बजेटको कार्यान्वयन र बढीभन्दा बढी बजेट खर्च गर्नको लागि प्रक्रियागत ढंगले बजेट निर्माणको काम भइरहेको छ । बजेट निर्माणका अर्थमन्त्रालयले कार्यतालिका बनाएर काम गरिहरेको बुझिएको छ । आगामी आर्थिक वर्षको बजेटले विशेष गरेर महत्वपूर्ण प्राथमिकताका क्षेत्र र परियोजनाहरु तय गरेर मात्र बजेट विनियोजन गर्ने उनको भनाई छ । मन्त्रालयका अनुसार सबैभन्दा महत्वपूर्ण तथा प्राथमिकताको क्षेत्र पुनरुत्थानका लागि हुनेछ । सरकारले आगामी वर्षमा करिब ४ खर्ब ३६ अर्ब सार्वजनिक ऋणको सावाँ ब्याज भुक्तानी गर्दैछ । ब्याज भुक्तानीका लागि चालु खर्च र सावाँ फिर्ताका लागि वित्तीय व्यवस्थापन खर्च बढाउनु पर्नेहुन्छ ।

सिटिजन्स बैंकद्वारा वृद्धा आश्रम विराटनगरलाई सहयोग प्रदान

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढीगंगा गाँउपालिका ०१, पुष्पलाल चोक विराटनगरमा अवस्थित महिला जागृती तथा वृद्धा आश्रमलार्ई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य  सामाग्रीहरु उपलब्ध गराएको हो  । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ । वृद्धा आश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धा महिलाले संचालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको कुरा व्यक्त गरे । उनले दीन दुखी वृद्धाहरुलाई सानो भएतापनि सहयोग गरेर समाज प्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित भएको पनि बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख १९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्नेछ ।

ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा महिलाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ । छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नंको ट्र्याक्टर आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले ट्र्याक्टर चालक र मोटरसाइकल चालकलाई  नियन्त्रणमा लिएको जानकारी दिए । रासस

सडक दुर्घटना : तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

भैरहवा । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हँुदा पनि १० जनाले ज्यान गुमाउनु पर्यो । सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ । बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ । गत माघमा दाङको भालुवाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । तीव्र गतिमा रहेको बस ट्राफिक प्रहरीलाई छल्दै सोझै राप्ती नदीमा खसेको थियो । यी घटना त प्रतिनिधिमूलक घटनामात्र हुन् । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो चालु आर्थिक वर्षको ६ महिनामा २ सय ८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ । फागुन महिनामा मात्रै २२ जनाले ज्यान गुमाएको र घाइतेको गम्भीर अवस्थालाई हेर्दै यो संख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ । विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ । ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरुको चेपुवामा यात्रुहरुले ज्यान गुमाइरहँदा यी सरोकारवाला एकअर्कालाई दोषारोपणम दिइरहेका छन् । ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै यिनीहरुलाई दुर्घटनाको कारक बताइरहेको छ । बस व्यवसायीहरूले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईं प्रारम्भिक अनुसन्धानमा चालककै लापारबाहीका कारण दुर्घटना भएको बताएका छन् । तीव्र गति, अत्यधिक भारवहनका कारण पाल्पा र कपिलवस्तुको दुर्घटना भएको उनको भनाइ छ । हालको घटनामा चालकको लापरबाही देखिए पनि दुर्घटनामा अन्य कारणले पनि प्रभाव पार्ने गरेको उनी बताउँछन् । मुख्यतयाः चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारी साधनको अवस्था, मापसे, चालकहरु पेसाप्रति जवाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चापलगायत कारण लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य समस्याका रूपमा रहेका छन् । प्रहरी उपरीक्षक प्रसाईंले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीसँग सीमित स्रोत साधन रहेको बताए । ‘ट्राफिक व्यवस्थापन प्रविधिमैत्री र डिजिटाइलेजेसन गर्न आवश्यक छ, अहिले ट्राफिक प्रहरीमा यी दवैको खाँचो छ,’ उनले भने, ‘हामीले पर्याप्त कारबाही गरेका छौँ, प्रहरीले सचेतनासँगै सजाय गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।’ उनले ट्राफिक प्रहरी प्रविधि र उपकरणमा कमजोर रहेको बताए । यसका लागि स्थानीय निकायहरूसँग पटकपटक अनुरोध गरे पनि त्यो सफल हुन भने नसकेको उनको भनाइ छ । सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी मात्र नभई सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने उनको तर्क छ । दुर्घटना कुनै एक विशिष्ट एक कारणले हुने नभई यसमा धेरै तत्वले प्रभाव पारिरहेको बस व्यवसायीहरुको भनाइ छ । सबै घटनामा चालकलाई मात्र दोषारोपण गरे उम्किन नमिल्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बताउँछन् । उनले चालकलाई सबैभन्दा बढी कामको भार थपिएको बताए । ‘चालकले बस चलाउनमा ध्यान दिनुपर्नेमा ऊ यात्रुदेखि अन्य कुराहरुमा व्यस्त हुने गरेको छ,’ उनले भने, ‘यस्तोमा उसलाई दुर्घटना न्यूनीकरणभन्दा पनि यात्रु कसरी बढाउने र कसरी रकम कमाउनेमै ध्यान जाने गरेको छ ।’ अहिले यात्रुको चापभन्दा सवारी साधनको चाप बढी भएको कारण चालकलाई यात्रु कसरी बढाउन सकिन्छ भन्ने मानसिक तनाव रहेको उनको भनाइ छ । यसबाहेक ट्राफिक प्रहरीले एउटै प्रदेशमा १० स्थानमा जाँच गरेर चालकलाई आक्रान्त बनाएको उहाँको आरोप छ । जरिवाना उठाउने सरकारको नीति पनि दुर्घटनाको कारक रहेको हुँदा प्रदेशले कति जरिवाना उठाउने भन्ने निक्र्यौल हुनुपर्ने धारणा राखे । खरेलले ट्राफिक व्यवस्थापन व्यवस्थित गर्नका लागि कार्ययोजना बनाई स–साना कुरामा ध्यान दिनुपर्ने सुझाव दिए । लुम्बिनी प्रदेशमा आव २०७७र०७८ मा १ हजार २ सय १२ दुर्घटनामा परी ५१ हजार ८३ जना गम्भीर घाइते र सात सय ४० जना सामान्य घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ । आव २०७८र०७९ मा १ हजार १ सय ६४ सवारी दुर्घटनामा परी ५ सय ५१ जनाले ज्यान गुमाउनाका साथै १ हजार १ सय २३ जना गम्भीर घाइते तथा ५ सय १७ जना सामान्य घाइते भएका थिए । आव २०७९र०८० मा भने ८ सय ९२ सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार सय ६२ रहेको थियो । सो आर्थिक वर्षमा ७ सय ९९ जना गम्भीर घाइते तथा ४ सय ७७ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ । रासस