बजेट विनियोजनको पाँच वर्षपछि पुल निर्माण हुँदै
काठमाडौं । बजेट विनियोजन हुन थालेको ५ वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । डिजाइन (नक्साङ्कन) मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आर्थिक वर्ष २०७५÷७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन । अन्नपूर्ण–५ का वडा सदस्य पूर्णबहादुर पाइजाले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि पुल निर्माण सुरु भएको जानकारी दिए । “विसं २०७६ मा निर्माणस्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोरको क्षेत्राधिकारभित्र पर्ने भएपछि ठेक्का रद्द भएको थियो”, उनले भने, “विसं २०७७ देखि स्थान र डिजाइन परिवर्तन गरे पनि लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा पुल निर्माण अलपत्र बनेको थियो ।” पुल निर्माण भएपछि पर्यटकीयस्थल भुरुङ्ग तातोपानीबाट प्राकृतिक उपचारस्थलका रुपमा विकसित पाउद्धार तातोपानी कुण्ड पुग्नका लागि जोखिम मोलेर कालीगण्डकी नदीमा साँघु (अस्थायी काठको पुल) तर्नुपर्ने बाध्यताको अन्त्य हुने पाइजाले बताए । नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता पनि हट्ने उनको भनाइ छ । कालीगण्डकी किनारमा प्राकृतिकरुपमा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान र उपचार गर्नेको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको छ । पाउद्धार तातोपानी कुण्ड सञ्चालनका लागि अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख ११ हजारमा ठेक्का लगाएको थियो । भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने १२६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीसँग सञ्जिव उज्वल जेभीले गत साउनमा ९३ लाख ५० हजार ४८६ मा ठेक्का सम्झौता गरेको थियो । कार्यालयका सूचना अधिकारी अर्जुन शर्माले निर्माण व्यवसायीले दुवैतर्फ जिप रहने ठाउँ निर्माणसँगै ‘स्टिल डेग’ लगायतका सामग्री जुटाउने कामलाई तीव्रता दिएको बताए । आगामी असार मसान्तभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । उनका अनुसार पुलको लठ्ठा टिबिएसयुले उपलब्ध गराउने भएको छ । कूल १ करोड २० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त पुल निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० मा १२÷१२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । गत जेठ महिनामा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले ९ लाख रुपैयाँ थप बजेट व्यवस्थापन गरेर बहुवर्षीय ठेक्का लगाउन स्वीकृति दिएपछि योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भएको थियो । निर्माणाधीन पुलको पाउद्धारतर्फको जिप नजिकै ३३÷११ केभी क्षमताको प्रसारण लाइन पर्ने भएकाले ४ वटा पोल स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर सर्वेक्षण गरी बजेट स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको पूर्वाधार विकास कार्यालयका सबइञ्जिनियर रविन चोखालले बताए । विभागीय मन्त्रालयले बजेट स्वीकृत गरेपछि विद्युत् प्राधिकरणमार्फत पोल स्थानान्तरण गरिने उनले बताए । म्याग्दी क्षेत्र नं १ बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बनेपछि मुस्ताङ जाने–आउने पर्यटकको बसाई लम्ब्याउन, जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
सहकारी संस्थाको नियमन गर्दै उपमहानगरपालिका
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्थालाई विधिसम्मत सञ्चालन भए नभएको अनुगमन गर्दै आएको उपमहानगरपालिका सहकारी शाखाले धेरै कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताए । “अनुगमनका क्रममा नेपालगञ्जको कृष्णसार कृषि सहकारी संस्थामा कैफियतै कैफियत भेटिएको छ”, शाखा प्रमुख रानाले भने, “धेरै कैफियत भेटिएपछि कृष्णसार सहकारी संस्थालाई कैफियत पुष्ट्याइँका लागि १५ दिनको मौका दिइएको छ, कैफियत नसच्चिए सहकारी ऐनबमोजिम कारबाही गरिने छ ।” उनका अनुसार उक्त सहकारीलाई उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ८१ को उपदफा २ (ख) र (ग) को कैफियतमा ३ लाख रुपैयाँसम्मको जरिवाना किन नगर्ने भन्ने कुराको पुष्ट्याइँसहित १५ दिनभित्र सफाइ पेश गर्न निर्देशन दिइएको छ । सफाइ दिन नसके कारवाही गरिने छ । निरीक्षणका क्रममा देखिएका कैफियत सुधार गर्न २५ दिन समय दिइएको छ । अनुगमन टोली सदस्य जिल्ला सहकारी सङ्घका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले कृष्णसार सहकारी संस्थामा दुई वर्षदेखि चार खाता अपडेट नभएको, सहायक खाता नभएको, कर्जा फाइल व्यवस्थित नभएको, कर्मचारी नियुक्त नभएको, विनियम संशोधन नभएको, दैनिक भौचर नउठाएको, लेखा समितिको माइन्युट नभेटिएको, लेखा परीक्षकलाई नियुक्तिपत्र नदिएको, साधारणसभामा ५१ प्रतिशत उपस्थिति नपुगेको, सम्पत्ति शुद्धीकरण कार्यविधि नभएको, केवाइएम फाराम नभरेकोलगायतका कैफियत भेटिएको जानकारी दिए । सहकारी संस्थालाई विधिसम्मत चलाउन २ वर्षदेखि सचेत गर्दै आएकाले अब पनि लापर्वाही भेटिए सहकारी ऐनबमोजिम कारबाही हुने उनको भनाइ छ । विधिसम्मत सञ्चालन नहुने केही संस्थाका कारण समग्र संस्थालाई आक्षेप लाग्ने भएकाले सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब पनि नसच्चिने संस्थालाई कारबाहीका लागि कानुनी दायरामा ल्याइने उपाध्यायले बताए । उपमहानगरपालिकाले गत वर्ष पनि सहकारी संस्थाको अनुगमन गरी कैफियत सच्याउन सचेत बनाएको थियो । यस वर्ष उपमहानगरपालिकाको सहकारी शाखाले अनुगमन गर्नुअघि वित्तीय सुशासन कायम गराउन सात दिने लेखा तालिम प्रदान गरी अनुगमन सुरु गरेको शाखा प्रमुख रानाले जानकारी दिए ।
अझै सञ्चालन भएन वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’
काठमाडौं । वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो । उक्त सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए । उनले भने, ‘सम्पूर्ण ‘डाटा’ र ‘डकुमेन्ट’सहित अपलोड गरिएका कागजातले गर्दा मेमोरी भरिएर सफ्टवेयरमा समस्या आएको हो, समस्या समाधानका लागि प्राविधिकले प्रयास गरिरहेका छन्, १५ वर्षदेखिको डाटा र डकुमेन्ट भएकाले मेमोरी भरिएको हो ।’ वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारका ‘अफलाइन’मा निवेदन लिएको भए पनि भुक्तानी सफ्टवेयरबाट हुने भएकाले दिन नसकिएको प्रवक्ता ढकालले बताए । उनका अनुसार सफटवेयरले काम नगरे पनि उद्धारसहितका आकस्मिकलगायत काम अफलाइनमार्फत पत्र पठाएर सञ्चालन भइरहेको छ । बोर्ड सचिवालयको सफ्टवेयर fewims.feb.gov.np को सर्भरमा केही दिनदेखि समस्या आएको र सफ्टवेयर सञ्चालन हुन अझै केही दिन लाग्ने बोर्डले जनाएको छ । रासस
बागलुङ कालिका मन्दिरमा सात महिनामा डेढ करोड भेटी सङ्कलन
ढोरपाटन । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा रु एक करोड ७१ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा रु एक करोड २८ लाख भने खर्च गरेको छ । सो अवधिमा मन्दिरले रु ४२ लाख बचत गरेको पाइएको छ । मन्दिर व्यवस्थापन समितिले भौतिक संरचनासमेत निर्माण गरेको छ । मन्दिरमा गत माघ महिनामा मात्रै रु १९ लाख ७२ हजार भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा रु तीन लाख ५७ हजार खर्च हुने गरेको हो । बडा दसैँ र चैते दसैँमा भने करारका थप कर्मचारी राख्नु पर्दा खर्च पनि बढ्ने अध्यक्ष खड्काको भनाइ छ । बडा दसैँ र चैते दसैँ भक्तजन बढी आउने भएकाले भेटी पनि अन्य महिनामा भन्दा बढी सङ्कलन हुने उनले बताए । मन्दिरमा चढाइने भेटीको दैनिक आम्दानी सार्वजनिक गरिँदै आइएको छ । व्यवस्थापन समितिले पछिल्लो दुइ वर्षमा चढाइएका सुनलगायत गरहना पनि सार्वजनिक गरेको छ । यस अवधिमा तीन तोला ४५ लाल सुन र तीन सय तोला ११ लाल चाँदी चढेको अध्यक्ष खड्का बताउँछन् । कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरमा चढेको गहना गालेर उक्त सुन र चाँदी तयार पारेको छ । खड्का अध्यक्ष भएपछि उक्त गहनासमेत सार्वजनिक भएको हो । खड्का २०७८ साल कात्तिक ८ गते अध्यक्ष नियुक्त भएका थिए । कालिका मन्दिरमा कतिपय भक्तजनले गरगहना बनाएर चढाउने गरेका छन् । नगदबाहेक चढाइने जिन्सीलाई नगदमा रुपान्तरण गर्न गहना गालेर एकमुष्ट बनाइएको अध्यक्ष खड्काले बताउँछन् । मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाई हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुर समेतबाट आम्दानी बाँध्ने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए । रासस
जनक शिक्षाले माग्यो ३७ जना कर्मचारी
smart काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कर्मचारीको माग गरेको छ । जनक शिक्षा सामग्री केन्द्र, सानोठिमी भक्तपुरले विभिन्न पदमा ३७ जना नयाँ कर्मचारीको माग गरेको हो । कम्पनीले प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखामा उप निर्देशकदेखि प्राविधिकसम्म गरेर ३७ जना कर्मचारी माग गरेको छ । जनक शिक्षाले शुक्रबार जारी गरेको सूचनाअनुसार आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी कर्मचारीको माग गरेको हो ।
सकेजति काम गर्ने हो, बजेट कटौती गरिएको छैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै संसदले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती नगरेको बताएका हुन् । ‘सकेजतिको खर्च गर्ने हो, सकेजति राजस्व उठाउने हो, बजेट कटौती गरिएको छैन,’ अर्थमन्त्री महतले भने । अर्थमन्त्री महतले अहिलेसम्म उठेको राजस्वको आधारमा उठ्न सक्ने राजस्व र खर्च हुन सक्ने बजेटको आंंकलन मात्रै गरिएको उनले बताए । सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट विनियोजन गरेकोमा मध्यावधि समीक्षामा १५ खर्ब ३० अर्ब रूपैयाँको बजेट खर्च हुने अनुमान गरेको छ । बजेटको मध्यावधि मूल्यांकन गर्दै अर्थ मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब कम बजेट खर्च हुने आंंकलन गरेको थियो ।
४ दिनमै बन्द भयो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ऋणपत्र ४ दिनमै बिक्री बन्द भएको छ । फागुन १ गतेदेखि बिक्री खुला गरेको बैंकको ऋणपत्रमा आज फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् १६ लाख १६ हजार कित्ता सर्वसाधारणलाई र ६० प्रतिशत अर्थात् २४ लाख २४ हजार कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार ८ सय कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।