बैंकिङ क्षेत्र पनि सहकारीजस्तै संकटमा पर्न सक्छ ?
अहिले सर्वसाधारण नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सोध्छन्,‘तपाईंले बैंक खोल्न प्रमाणपत्र मात्र दिने हो कि बैंक डुब्यो भने बचतकर्ताको पैसाको पनि जिम्मा लिने ?’ सहकारी विभागले धमाधम सहकारी दर्ता गर्यो । तर, नियमन गरेन । जसले गर्दा आज लाखौं बचतकर्ताको खर्बौं बचत डुबेको छ । सहकारीका बचतकर्ताको बिचल्ली भएको छ । विभागले ३२ हजारभन्दा बढी सहकारी दर्ता भएको बताउँछ । प्रमाणपत्र दिने पनि विभाग नै हो । तर, अहिले विभाग बचतकर्ताको विषयमा मौन छ । विभागले आँखा चिम्लेर इजाजत नदिएको भए आज बचतकर्ता आफ्नै पैसाका लागि संघर्ष गर्नुपर्ने दिन आउँदैनथ्यो । सहकारी किन डुब्यो ? यो घामजस्तै छर्लङ्ग छ । सञ्चालकको बद्मासी र अन्धाधुन्ध लगानीका कारण सहकारी नउकासिने अवस्थामा पुग्यो । बचतकर्ताको पैसामा सहकारी सञ्चालकले मनोमानी गरे । जसले गर्दा आज सहकारी संस्थाहरुमाथि ठूलो प्रश्न उठेको छ । सहकारी क्षेत्र बदनामी बनेको छ । सहकारी क्षेत्रकाे यो अवस्थासँगै पछिल्लो समय धेरैले राष्ट्र बैंक बैंक र बैंकिङ क्षेत्रको विषयमा पनि प्रश्न उठाउने गरेका छन् । सरकारको काम लाइसेन्स बाँड्ने मात्र होइन, नियमन गर्ने पनि हो । बैंकले पनि धमाधम सर्वसाधारणबाट पैसा उठाइरहेका छन् । त्यो पैसा घरजग्गामा प्रयोग भइरहेको छ । घरजग्गामै लगानी गर्दा आज सहकारीमा यो अवस्था सिर्जना भएको हो । बैंकहरूले पनि मनलाग्दी किसिमले लगानी गरिरहेको बुझाइ धेरैको छ । सरकार पनि बैंकहरूप्रति नरम छ । बैंकहरू घरजग्गा र सेयरमा मात्रै कर्जा दिन रुचाउँछन् । उत्पादनशील क्षेत्रमा बैंकहरूकाे नजर छैन । देशको अर्थतन्त्र घरजग्गा, गाडी र सेयर कारोबारले होइन्, उद्योग, कलकारखाना र आफ्नो उत्पादनले बलियो बनाउँछ । बैंकले एउटा पाउरोटी कारखानामा मात्र लगानी गरिदियो भने पाँच/छ जनाले रोजगारी पाउँछन् । राज्यलाई राजश्व आउँछ । एउटा सामान भएपनि मुलुकको आफ्नै उत्पादन हुन्छ । सेयर, घरजग्गा र गाडीमा कर्जा लगानी गर्दा कतिले रोजगारी पाउँछन् ? अहिले वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको छ । विमानस्थलमा नेपालीको बलिन्द्र आँशु बगिरहेको छ । यो अवस्था किन आयो ? देश किन व्यापार घाटामा गइरहेको छ ? सरकारमा बस्नेहरूले कहिले याे विषय मनन् गरेका छन् ? देशमा उद्योग, कलकारखानाहरू छैनन् । सरकारले देशमै रोजगारीको अवसर सिर्जना गर्नु पर्ने र युवालाई यहीँ रोक्नुपर्ने बताउँदै आएको छ । तर, कसरी रोक्ने ? केही रणनीति छ ? उद्योग, कलकारखानाले नै रोजगारी पाउने हो । तर, त्याे वातावरण देशमा छैन । घरजग्गामा लगानी गरेर कसले रोजगारी पाउँछ ? उल्टै कृषक पनि विदेशिनु परेको छ । कृषिप्रधान देश अहिले युवा निर्यात गर्ने देशमा परिणत भएको छ । नेपालीले बाहिर गएर पठाएको रेमिट्यान्सले व्यापार घाटासमेत पूर्ति गर्न भ्याउँदैन । हामी कुन अवस्थामा छौं ? भन्ने विषयबारे गहन अध्ययन गर्न जरुरी छ । केही सीमित व्यापारीले व्यापार गर्ने थलोका रूपमा देशलाई बनाउनु हुँदैन । रेमिट्यान्सको पैसाले कतिञ्जेल अर्थतन्त्र धान्छ ? पर्यटन क्षेत्रमा सुधार भइरहेको सरकारको धारणा छ । तर, यसमा खुसी हुनुपर्ने कुरा छैन । किनकी पर्यटकले यहाँ खर्च गरेभन्दा यहाँबाट लैजाने धेरै छन् । पढ्ने नाममा नेपालीले खर्बौं रुपैयाँ बाहिरिरहेको छ । यसको कुनै लेखाजोखा छैन । पहिले लाखौं खर्च गरेर जान्छन्, त्यसपछि यहाँ भएको जायजेथो पनि बेचेर लैजान्छन् । अनि हामी पर्यटक आयो भनेर मख्ख पर्ने कि देशको पैसा गयो भनेर दुःखी हुने ? एकातिर हामीले युवा जनशक्ति गुमाइरहेका छौं । अर्कोतिर नेपालकाे पैसा पनि अरु नै मुलुकले लगिरहेका छन् । राष्ट्र बैंकले बैंकमा पैसा थुप्रिएको बताउँदै आएको छ । तर, कति पैसा थुप्रियो ? बैंकले कहाँकहाँ लगानी गरेको थियो र कति उठ्यो ? कहाँ गएर पैसा फ्रिज भएको छ ? यसको विवरण राष्ट्र बैंकले सार्वजनिक गर्ने हिम्ममत गर्दैन । अनि पैसा थुप्रिएको भनेर मख्ख हुनु पर्ने कुनै कारण नै छैन । गरिबले बैंकबाट कर्जा नपाएको गुनासो गर्छन् । ऋणीको घरमा गुण्डा पठाउनेसम्मका काम बैंकहरूले गरेको गुनासो सुनिन्छ । कौंडीको मोलमा आफ्नो सम्पत्ति गुमाएका अनगिन्ती उदाहरण छन् । बचतकर्ताबाट ८ प्रतिशतमा पैसा ल्याउने अनि त्यही पैसा १८ प्रतिशतमा लगानी गर्ने गरेको पनि सुनिन्छ । धेरैले बैंकहरू मिटरब्याजी भएको भन्न थालेका छन् । अहिले सबै क्षेत्रमा मन्दी आइसकेको छ । यस्तै अवस्था रहिरह्यो भने बैंकको भविश्य पनि कतै सहकारीको जस्तो त हुँदैन भन्ने शंसय सिर्जना भएको छ । बैंकहरूको वर्षेनी नाफा घट्दा सेयरधनीले पाउने लाभांश खुम्चिरहेको छ । लगानी गरेको कर्जा असुल हुन नसक्दा बैंकहरुको खराब कर्जा ह्वात्तै बढेको छ । बैंकरहरू नयाँ बिजनेस गर्नेभन्दा पनि कर्जा असुलतर्फ लागिरहेका छन् । नियामक नेपाल राष्ट्र बैंकले नीतिगत रूपमा कडाइ गरिरहेको छ । यही अवस्थामा उद्योगी व्यवसायीहरूले ब्याजदर घटाउन राजनीतिक शक्ति प्रयोग गरिरहेका छन् । यो सकसकाबीच काम गरिरहेका बैंकरलाई थप चाप र दबाब परेको छ । बैंकका अधिकांश ऋणी सम्पर्कविहीन छन् । अधिकांश सहकारीका सञ्चालक पनि फरार छन् । ती सहकारीका सञ्चालक कुनै न कुनै बैकका ग्राहकका रूपमा थिए छन् पनि । घरजग्गा व्यवसाय पनि गर्ने ती सहकारीका सञ्चालकहरू फरार हुँदा त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा पनि पर्न सक्ने विश्लेषण जानकारहरूले दिने गरेका छन् । सहकारीको योगदान बैंकिङ क्षेत्रमा अधिकतम् १५ प्रतिशतसम्म रहेको सुनिन्छ । अब त्यो क्षेत्र संकटमा पर्दा त्यो संकट स्वतः बैंकिङ क्षेत्रमा ट्रान्सर्फर हुने देखिन्छ । अझ फरार अवस्थामा रहेका सहकारीका सञ्चालकले बैंकमा रहेको अर्बौं ऋण नतिर्दा बैंकलाई पनि एक किसिमको सकस सिर्जना हुने देखन्छ । कतिपय बैंकरले त्यो विषय अनौपचारिक छलफलमा पनि भन्ने गरेका छन् । बेलैमा सम्बन्धित निकायले यस विषयमा नसोचिदियो भने अर्थात् बेलेैमा सम्बन्धित निकाय सजग र सर्तक नबन्ने हो भने सहकारीको संकट बैंकिङ क्षेत्रमा पनि ट्रान्सर्फर हुने निश्चित छ । (लेखमा व्यक्त विचार लेखकका निजी हुन्)
इष्टर्न साहारा कम्पनीको साधारण सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । इष्टर्न साहारा कम्पनी लिमिटेडको साधारण सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता सेयर मुल्य एक सयका दरले ३० लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । फागुन १ गतेका दिन एक विशेष कार्यक्रममा इष्टर्न साहारा कम्पनी लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । २०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा रहेको छ भने लियाजन अफिस बानेश्वर हाइट, काठमाडौंमा रहेको छ । कम्पनीले छरिएर रहेको स-सानो पुँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रिन फाइनान्सिङलाई प्रवद्र्धन गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनिकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको जनाएको छ । हाल कम्पनीले जलविद्युत, कृषि पर्यटन, अटोमोवाइल्स, सौर्य उर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ । बैंकिङ्ग, सहकारी, लघुवित्त तथा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरु, ख्याती प्राप्त व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समुहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको ग्रिन फाइनान्सिङमा टेवा पुर्याई आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।
भारतमा चुनावअघि भारतीय कांग्रेसको बैंक खाता रोक्का
एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैङ्क खाता रोक्का गरेको शुक्रबार जनाएको छ । काङ्ग्रेस प्रवक्ता अजय माकनले पत्रकार सम्मेलनमा भने, ‘हामीलाई हाम्रो दलको खाता रोक्का गरिएको जानकारी दिइएको छ ।’ माकनका अनुसार भारतको आयकर विभागले आर्थिक वर्ष २०१८/०१९ का लागि आयकर दाखिला गरेको अनुसन्धानको क्रममा दुई अर्ब १० करोड भारु (दुई करोड ५३ लाख अमेरिकी डलर बराबर)को भुक्तानी माग गरेको थियो । पार्टीले त्यस्तो जरिवाना रकम तिर्न कुनै कदम नचालेको भन्दै चुनावअघि नै पार्टीलाई किनारा लगाउने उद्देश्यले यस्तो कदम चालेको उनले दावी गरे । उनले भने, ‘राष्ट्रिय चुनावको घोषणा हुनुभन्दा दुई हप्ताअघि नै प्रमुख प्रतिपक्षी दलको खाता रोक्का गरिएको छ, के तपाईंलाई लाग्छ कि हाम्रो देशमा लोकतन्त्र जीवित छ ? आलोचक र अधिकारवादी समूहहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्षित गर्न कानून प्रवर्तन एजेन्सीहरूको प्रयोग गरेको आरोप लगाएका छन् । भारतीय राजनीतिमा दशकौंदेखि प्रभुत्व जमाएका कांग्रेस नेता राहुल गान्धीलाई गत वर्ष मोदीको पार्टीका एक सदस्यको उजुरीपछि आपराधिक मानहानीको अभियोगमा दोषी ठहर गरिएको थियो । उनको दुई वर्षको जेल सजायले उनलाई उच्च अदालतले फैसला निलम्बन नगरेसम्म केही समयका लागि संसद्बाट अयोग्य घोषित गरेको थियो । निलम्बनले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रजातान्त्रिक मुलुकको लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रश्नचिन्ह खडा गरेको थियो । यद्यपि, अदालतको विपक्षी नेताको पक्षमा देखिएको फैसलापछि उक्त आरोप स्वतः निस्प्रभावी भएको थियो ।
मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटनलाई असर गर्दैन – सुवेदी
पर्वत । जिल्लाको मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण प्रक्रिया अघि बढेको छ । विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाको दाबी छ । मुक्तिनाथ केबलकार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले यो केबलकार निर्माणपछि यस क्षेत्रको पर्यटन व्यवसाय वृद्धि हुने बताए । मुक्तिनाथ जाने पर्यटक पर्वत र कास्कीको सिमानास्थित सेराबेंसीबाट चढे पनि कुश्मा, बागलुङ र म्याग्दी क्षेत्रले पनि भरपुर लाभ लिनसक्ने उनको दाबी छ । ‘मुक्तिनाथ जाने पर्यटक पोखराबाट मात्रै आउँदैनन्, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग छदैछ, अर्को बलेवा विमानस्थलमा भैरहवाबाट पर्यटक झर्ने सम्भावना हुन्छ’, उनले भने, ‘ती पर्यटक कहाँ कुश्मा, बागलुङ र बेनीमा बस्छन् ।’ केबलकार कम्तीमा पनि दैनिक १० हजार जना आवतजावत गर्ने क्षमताको रहेको र त्यसमा मुक्तिनाथको यात्रा गराउने कम्पनीले पर्वतको गुप्तेश्वर तथा अल्पेश्वर गुफा, बागलुङको कालिका मन्दिर, पञ्चकोट, म्याग्दीको गलेश्वर मन्दिरमा प्याकेज बनाएर पु¥याउने व्यवस्था हुने भएका कारण पनि यस क्षेत्रले प्रचुर फाइदा लिनसक्ने सुवेदीको भनाइ छ । अध्यक्ष सुवेदीले लगानीको स्रोत सुनिश्चित भइसके पनि सरकारी प्रक्रियाको ढिलाइले निर्माणको काम पछि धकेलिएको बताए । २० प्रतिशत स्वदेशी र ८० प्रतिशत भारतको के एण्ड आर इञ्जिनियरिङ लिमिटेडले केबलकार निर्माणका साथै लगानीसमेत गर्नेगरी सुनिश्चित भए पनि नेपालका कानुनी प्रक्रियाले प्रक्रिया पूरा गर्न काम गरिरहेको उनले बताए । सुवेदीका अनुसार विश्वकै लामो मुक्तिनाथ केबलकार इञ्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउन लागिएको हो । ‘इञ्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता गरिसकेका छौँ’, उनले भने, ‘लागत अनुमानको लगानी सुनिश्चित भइसकेको छ ।’ उनले इपिसिएफ मोडेलबाट बन्न लागेको केबलकार नेपालकै पहिलो ठूलो परियोजना भएको जनाउँदै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब लागत अनुमान गरिएको बताए । समझदारीअनुसार कूल लागतको ८० प्रतिशत अर्थात् ४४ अर्ब के एण्ड आर इञ्जिनियरिङ भारतले लगानी गर्नेछ । आयोजनाको वातावरणीय मूल्याङ्कन प्रतिवदेन पास हुन र सरकारसँग आयोजना विकास सम्झौता गर्न भने अझै बाँकी रहेको छ । चार धाममध्ये दर्शनका लागि मुक्तिनाथ पुग्नैपर्ने धार्मिक मान्यताअनुसार मुक्तिनाथ जाने धार्मिक पर्यटकको उपस्थिति बढ्ने उनको भनाइ छ ।
सिटिजन्स बैंकले ग्राहकको घरमै पुगेर दिन्छ प्रिभिलेज बैंकिङ सेवा: सबिना बस्नेत
अहिले बैंकिङ क्षेत्रमा चर्चा पाएको विषय हो ‘प्रिभिलेज बैंकिङ’ । ग्राहकले आफूले चाहेको बैंकिङ सेवालाई छिटो, छरितो, विश्वसनीय र गुणस्तरीय बनाउनका लागि बैंकहरूले प्रिभिलेज बैंकिङ सेवा दिइरहेका छन् । त्यसमध्ये सिटिजन्स बैंक इन्टरनेश्नलले पनि प्रिभिलेज बैंकिङमार्फत् ग्राहकको मन जित्दै आएको छ । ग्राहकलाई विशेष बैंकिङ सुविधा दिने उद्देश्यका साथ सिटिजन्स बैंकले सन् २०१९ मा सुरु गरेको प्रिभिलेज बैंकिङमा अहिले १५ हजार बढी ग्राहक आवद्ध छन् । सिटिजन्स बैंकमा विगत १५ वर्षदेखि काम गरिरहेकी प्रिभिलेज बैंकिङ अफिसर सबिना बस्नेतसँग हामीले प्रिभिलेज बैंकिङ, प्रिभिलेज बैंकिङमार्फत् ग्राहकले पाउने सेवा सुविधा, यसको प्रभाव र परिणामका विषयमा कुराकानी गरेका छौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा प्रिभिलेज बैंकिङको चर्चा छ, सिटिजन्स बैंकले पनि यो सेवा दिइरहेको छ, के हो प्रिभिलेजिङ बैंकिङ भनेको ? सिटिजन्स बैंक ठूलो हुँदै जाँदा ग्राहकलाई विशेष सेवा दिने उद्देश्यले सन् २०१९ बाट प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको हो । बैंकमा हजारौं ग्राहकहरू आउनु हुन्छ । जसमध्ये कतिपय ग्राहकहरू हाइप्रोफाइल र धेरै निक्षेप भएका हुन्छन् । कतिपय ग्राहकहरू छुट्टै सेवा लिनुपर्छ भन्ने सोचका हुनुहुन्छ । त्यसैले बैंकको व्यवस्थापनले प्रिभिलेज बैंकिङ आवश्यक भएको महसुस गर्दै सन् २०१९ देखि प्रिभिलेज बैंकिङ सेवाको सुरुवात भएको हो । बैंकले निश्चित कारोबार गर्ने ग्राहकलाई छनोट गरेर प्रिभिलेज बैंकिङ सेवा प्रदान गरिरहेको छ । ग्राहकहरूलाई फोन गरेर केही समस्या छ ? के आवश्यक परेको छ ? भनेर फोन गरेर पनि सेवा दिइरहेका छौं । ग्राहकहरूको सन्तुष्टिलाई ध्यान दिएर बैंकले सेवा प्रवाह गरिरहेको छ । स्थापनाकालदेखि बैंकको सेवा लिइरहेका ग्राहकले अहिले पनि सेवा लिनु भएको छ भने उहाँहरूलाई पनि प्रिभिलेज सेवा दिएका छौं । यदि बैंकलाई निक्षेप आवश्यक पर्याे भने उहाँहरूलाई फोन गरेर निक्षेप दिनु पर्याे आग्रह गरेपछि उहाँहरूले ल्याइदिनु हुन्छ । अनि बैंकले पनि उहाँहरूलाई प्राथमिकता दिएर सेवा दिएको हुन्छन् । यही नै हो प्रिभिलेज बैंकिङ । सिटिजन्स बैंकले कुन-कुन ठाउँबाट प्रिभिलेज बैंकिङ सेवा दिइरहेको छ ? बैंकले विभिन्न ८ वटा शाखा कार्यालयबाट प्रिभिलेज बैंकिङ सेवा प्रदान गरिरहेको छ । हेड अफिस, कमलादी, विराटनगर, कालिकानगर बुटवल, राजविराज र सिमलचौर शाखा कार्यालयबाट प्रिभिलेज बैंकिङ सेवा दिइरहेका छौं । ती ठाउँमा हामीले रिलेशनसीप म्यानेजर (आरएम) तोकेर राखेका छौं । साथै, डेडिकेडेट रिलेसनसिप म्यानेजर (डिआरओ) पनि छुट्याएका छौं । ग्राहकहरूको सूची बनाएर डीआरओ तोकेका छौं । ग्राहकहरूलाई प्रत्येक महिना फोन गरेर केही समस्या परेको छ कि भनेर बैंकले जानकारी लिने गरेको छ । साथै, प्रिभिलेज ग्राहकहरू हामीलाई सम्पर्क गरेर बैंकमा सेवा लिन आउनु हुन्छ । बैंकमा आउनु भयो भने लाइन बस्नु पर्दैन । सिटिजन्स बैंकले होम बेस सेवा दिइरहेको छ । जस्तो उहाँहरूले फोन गरेर चेक साटिदिनु पर्याे भन्नु भयो भने हामी घरमै गएर सेवा दिन्छौं । प्रिभिलेज बैंकिङ सेवामा होम सर्भिसको पनि व्यवस्था छ । जस्तो वृद्धवृद्धाहरूलाई घरमै गएर बैंकिङ सेवा दिने गरेका छौं । प्रिभिलेज बैंकिङ सेवामा के-के सुविधाहरू छन् ? प्रिभिलेज बैंकिङ सेवाका लागि तोकिएका ८ वटा शाखाहरूमा छुट्टै प्रिभिलेज काउन्टर नै छन् । प्रिभिलेज ग्राहकलाई छुट्टै सेवा, डिआरओ, आरएम छुट्याइएको छ । साथै, शाखा म्यानेजरलाई भेटेपछि लाइन नबसेर छिटो छरितो सेवा पाउनु हुन्छ । जस्तो प्रिभिलेज ग्राहकले समस्या परेर म बैंकमा आउँदै छु भन्नु भयो भने उहाँहरूलाई तत्काल सेवा दिन्छौं । प्रिभिलेज बैंकिङ सेवा उपभोग गर्ने ग्राहक संख्या र कारोबार कति हुन्छ ? प्रिभिलेज बैंकिङ सेवा लिने ग्राहकहरू १५ हजार हुनुहुन्छ । कर्जातर्फको लागि प्रिभिलेज बैंकिङ सेवा भनेर तोकेको छैन । पहिला यो सेवा लिने ग्राहकलाई बैंकले फोटो, खाता नम्बरसहितको प्रिभिलेज कार्ड दिएको थियो । त्यो कार्ड लिएर जुनसुकै शाखामा गयो भने लाइन बस्नु पर्दैन । अहिले मोबाइल बैंकिङमै प्रिभिलेज ग्राहक भनेर आरएम, डीआरएम नाम सबै तोकेर राखेको हुन्छ । ग्राहकहरूले तोकिएका आरएममार्फत बिना झण्झट सेवा प्राप्त गर्न सक्छन् । बैंकका लागि सबै ग्राहक समान हुन् । तर, प्रिभिलेज सेवाले भेदभाव गरेको जस्तो लाग्दैन ? बैंकका लागि सबै जना ग्राहकहरू बराबर हुन् । जो पनि ग्राहक प्रिभिलेज बैंकिङ सेवा लिन आउनु हुन्छ उहाँहरूलाई हामीले फर्काउँदैनौं । तर, कतिपय ग्राहकहरू ठूलो रकम निक्षेप राख्नु हुन्छ । त्यो बेला उहाँहरूलाई विशेष सेवा आवश्यक पर्छ । तर, बैंकले कुनै पनि ग्राहकलाई विभेद हुने गरी सेवा दिएको छैन । प्रिभिलेज बैंकिङ सेवा लिने ग्राहकहरू कस्ता प्रकृतिका छन् ? युवाहरू, वृद्धवृद्धाहरूले प्रिभिलेज बैंकिङ सेवा लिइरहेका छन् । अहिले सबैलाई छिटो सेवा चाहिको छ, सबैलाई ह्यासल फ्रि सर्भिस चाहिएको छ । अहिले सबै कारोबार मोबाइल बैंकिङबाटै हुन्छ । केही समस्या आयो भने बैंकमा आउँदा उहाँहरूलाई ह्यासल फ्रि सर्भिस दिएका छौं । अन्य बैंकको तुलनामा सिटिजन्स बैंकको सर्भिस राम्रो छ भनेर ग्राहकहरूले प्रतिक्रिया दिनु भएको छ । कतिपय ग्राहकहरू सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवा कहाँ छ भनेर सोध्दैसोध्दै आहउनु भएको छ । अन्य बैंक छाडेर सिटिजन्स बैंक आउने ग्राहकहरू पनि धेरै छन् । प्रिभिलेज बैंकिङको सीमा कति तोक्नु भएको छ ? बैंकले कारोबार सीमा तोकेर प्रिभिलेज बैंकिङ सेवा दिन्छ । ५० लाखभन्दा बढीको कारोबार गर्ने ग्राहकलाई प्रिभिलेज बैंकिङ सेवा दिने भनेर तोकेको छ । वर्षाैंदेखि कारोबार गरिरहनु भएका ग्राहकहरूलाई पनि प्रिभिलेज बैंकिङ सेवामा समावेश गरेका छौं । जस्तो सरकारी उच्च तहका ग्राहक, कुनै कम्पनीका सीईओ, सञ्चालकलाई प्रिभिलेज बैंकिङ सेवा दिने गरेका छौं । सबै ग्राहकलाई कारोबारका आधारमा भन्दापनि लिङ्कका आधारमा पनि सेवा दिएका हुन्छौं । हामीले ए, बि, सी, डी भनेर क्याटागोरी छुट्याएका छौं । जसमा काठमाडौंभित्र एउटा क्याटागोरी छ । अनि काठमाडौं उपत्यकाबाहरिका शाखाको ठाउँ अनुसारको सीमा तोकेको छौं । प्रिभिलेज बैंकिङ सेवाका लागि थप काउन्टर विस्तार गर्ने कुनै योजना छ ? शाखा कार्यालयमा छुट्टै काउन्टर हुन्छ । प्रिभिलेज ग्राहकहरू सिधैं आएर निक्षेप जम्मा गर्न सक्नु हुन्छ । चेक लिन, नगद झिक्न, नगद जम्मा गर्न लाइनमा नबसी प्रिभिलेज काउन्टरबाटै सबै काम छिटोछरितो हुन्छ । हाल ८ वटा कार्यालयबाट यो सेवा लिन सकिन्छ । निकट भविष्यमा अझै थप शाखा कार्यालयमा प्रिभिलेज बैंकिङ सेवा दिने योजना बनाएका छ । डिजिटल बैंकिङ अभ्यासमा प्रिभिलेज बैंकिङ सेवा आवश्यक छ ? बैंकिङ क्षेत्रमा अहिले पनि प्रिभिलेज सेवा आवश्यक छ । किनभने कपिय ग्राहकहरूलाई लाइनमा बस्ने समय पनि हुँदैन । कतिपय ग्राहकहरू आफूलाई गोप्य राख्न चाहनु हुन्छ । त्यसैले डिजिटल्ली भएपनि अहिलेको सन्दर्भमा यो आवश्यक छ । डिजिटल्ली बन्यो तर, केही समस्या पर्याे भने उहाँहरूले हामीलाई सम्पर्क गरेर समाधान गर्छाैं । बैंकले ग्राहकहरूको जन्मदिनको अवसरमा केक पठाउने गरेको छ । दशैंतिहार, तिज, अन्य चाडपर्वको बेलामा पनि गिफ्ट पनि पठाउने गरेको छ । बैंकले जुनसुकै ग्राहकलाई फोन गरेर जन्मदिनमा शुभकामना सन्देश दिने गरेको छ । प्रिभिलेज ग्राहक बैंकमा धेरै समयदेखि आउनु भएन भने फोन गरेर सन्चो बिसन्चो के छ भनेर सोध्छ । ग्राहकहरूले पनि बैंकले मलाई जन्मदिनको शुभकामना दियो, स्वास्थस्थिती बारे सम्झियो भनेर खुसी महसुस गर्नु हुन्छ । यो सेवा लिँदा शुल्क कति तोकेको छ ? यो सेवामा थप सेवा शुल्क छैन । अन्य ग्राहकलाई जस्तै सेवा शुल्क तोकिएको हुन्छ । बैंकले प्रिभिलेज ग्राहकलाई एटीएम, मोबाइल बैंकिङ्, भिजा कार्डमा एक वर्ष निःशुल्क सेवा दिन्छ । साथै, डलर सहटी, लकरमा छुट दिएका छौं । होम बैंकिङ सेवा छ । कुनै ग्राहकले आउन सकेन आइदिनु पर्याे भन्नु भयो भने हामी घरमै गएर सेवा दिन्छौं । मान्छे बैंकमा आउने होइन, बैंक घरमा गएर सेवा दिनुपर्छ । सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवा लिन के गर्नु पर्छ ? सिटिजन्स बैंकको हेड अफिस र अन्य तोकिएका शाखामा प्रिभिलेज काउन्टरमा जानुपर्छ । बैंकमा आएर खाता खोल्नुपर्छ । खाता खोलेपछि बैंक आफैंले बिस्तारै दिनु पर्ने सेवा सुविधा दिन्छ ।
सुन्तला बेचेर कमलले कमाए ४० लाख रुपैयाँ
काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख रुपैयाँ आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् । वि.सं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ १ हजार ५ सय सुन्तलाका बोट छन् । उनले भने, “रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तलाखेतीमा लागेको हुँ ।” उनले वि.सं २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरुपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन् । उनका अनुसार सुन्तला बगैँचामा १ हजार ५ सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन् । उत्पादित सुन्तला काठमाडौंस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ । उनले यस वर्ष कालीमाटीमा प्रतिकिलो १२० सम्म रुपैयाँ सुन्तला बिक्री गरेको जानकारी दिए । उनले भने, “गत वर्ष रु ६० लाखको सुन्तला बगैँचाबाटै बिक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो ।” नाम्सीकोट सुन्तला पकेट क्षेत्रका रुपमा परिचित छ । महतले नाम्सकोटका करिब २ सय घरधुरीलाई समूहमा विभाजन गरी गत वर्ष कृषि ज्ञान केन्द्र तनहँुँले करिब ४० लाख रुपैयाँ बराबरको कार्यक्रम सहयोग गरेको जानकारी दिए । उनका अनुसार शुक्लागण्डकी नगरपालिकाले किसानलाई सुन्तलाखेतीका लागि ड्रम, घाँस काट्ने मेसिनलगायत सामग्री अनुदान दिएको थियो । उनले यस वर्ष ४ करोड रुपैयाँ बराबरको सुन्तला खरिद गरी बिक्री गरेको जानकारी दिए । म्याग्दे गाउँपालिकाका किसानबाट १ करोड ५० लाख रुपैयाँ र शुक्लागण्डकीका अलैँचे, नाम्सीकोटलगायत टोलबाट २ करोड ५० लाख रुपैयाँको सुन्तला खरिद गरी बिक्री गरेको उनले बताए । उनले सुन्तला बगानबाट प्रतिकिलो ७० रुपैयाँदेखि ७५ रुपैयाँमा खरिद गरी १२० रुपैयाँसम्म बिक्री गर्ने गरेको सुनाए । तनहुँमा यस वर्ष कृषकले सुन्तला बिक्री गरेर ३० करोड रुपैयाँ भित्र्याएका छन् । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब ३० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए । जिल्लामा यस वर्ष ३ हजार ७५० मेट्रिकटन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा ३ हजार ६२५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तलाखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका ८ हजार ५७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तलाखेती गर्ने कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । धितालले भने, “कृषकलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ ।” तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।
आईजीआई प्रुडेन्सियलको साढे ७ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको साढे ७ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीका अनुसार सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयरहरूमध्ये ७ लाख ६६ हजार ५९३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य तोकिएको छैन । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।
बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे ५ हजार
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै ५ हजार रुपैयाँ बैंक दाखिला गराउन थालिएको हो । वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई रु पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप ५ हजार रुपैयाँ जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म २६ बच्चाको खातामा रकम दाखिला भइसकेको छ । “बच्चाको जन्मदर्ता गराउन र जन्मेलगत्तै बैंक खाता सुनिश्चित बनाउन नगद जम्मा गर्ने व्यवस्था मिलाउन सुरु गरेका हौँ”, वडाध्यक्ष न्यौपानेले भने, “जम्मा भएको रकम बच्चा वयस्क भएपछि झिक्न पाउने नियम बनाएका छौँ ।” वडा नं ५ मा दलित, कुमाल, आदिवासी जनजातिसहितका निम्न तथा श्रमिक वर्गको बाहुल्यता धेरै छ । अहिले जन्मिएका बच्चा वयस्क हुदाँका बखत खातामा केही रकम सुनिश्चित गराउन कार्यक्रमलाई केन्द्रित गराउने वडाध्यक्ष न्यौपानेको भनाइ छ । वडा कार्यालय र सम्बन्धित अभिभावकबाट अहिले रु पाँच हजारका दरमा बैंक खातामा रकम जम्मा हुने भए पनि निकाल्ने समयमा त्यसको सात÷आठगुणा बढी पुग्ने जानकारी पाएको उनले बताए । “वडा कार्यालयले बच्चाको सम्मानमा नगद जम्मा गर्ने कार्यक्रम ल्याएपछि अभिभावकले बच्चा जन्मेको ३५ दिन पूरा नहँदै जन्मदर्ता गराउन थालेका छन्, बच्चाको जन्मदर्ता र बैंक खाता खोलेर आआफ्नो दायित्वको रकम दाखिला गर्ने अभियानमा सक्रियता देखाएकाले कार्यक्रम प्रभावकारी हुने विश्वास छ”, उनले भने । उक्तबापतको लाग्ने बजेट वडा कार्यायलले आफ्नो आन्तरिक स्रोत तथा विविध शीर्षकबाट मिलाएको छ ।