विकासन्युज

जापानद्वारा एच–थ्री नाम दिइएको नयाँ पुस्ताको रकेटको सफल परीक्षण

टोकियो । जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ। वर्षौंको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ । नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गरिएको छ र यसले एक दिन चन्द्रमाको सतहमा सामान पुर्‍याउने काम गर्न सक्छ । जाक्साका अध्यक्ष हिरोशी यामाकावाले भने, ‘म लामो समयदेखि अन्तरिक्ष अभियानमा छु, तर मैले पहिले कहिल्यै पनि यति धेरै खुसी महसुस गरेको थिइनँ र मैले कहिल्यै पनि यति राहत महसुस गरेको थिइनँ।’ जापानले गत महिना चन्द्रमामा मानवरहित यानको सफल अवतरण गरेपछि जापान चन्द्रमाको सतहमा यान अवतरण गर्ने पाँचौं देश बनेको छ । दक्षिणपश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान ९ः२२ बजे प्रक्षेपण गरिएको एच–थ्री प्रक्षेपण गरिएको थियो । एजेन्सीको लाइभ स्ट्रिममा एच–थ्रीको इन्जिनले अपेक्षाकृतरूपमा काम गरेको र रकेटले यसलाई अन्तरक्षिको कक्षमा प्रवेश गराएको घोषणा गरेपछि जाक्सा कन्ट्रोल सेन्टरबाट ताली र आवाजद्वारा खुशी व्यक्त गरिएको चर्को आवाज सुनिएको थियो । जाक्सा र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा संयुक्तरूपमा विकास गरिएको एच–थ्री सन् २००१ मा सुरु भएको एच–आईआईए प्रक्षेपण प्रणालीको उत्तराधिकारी हो । ‘उच्च लचीलोपन, उच्च विश्वसनीयता र उच्च लागत प्रदर्शन’ को लागि डिजाइन गरिएको शिल्पले ‘अन्तरिक्षमा जापानको स्वायत्त पहुँच कायम राख्नेछ’, जाक्साले भनेको छ । वैज्ञानिकहरूले एच–थ्रीमा प्रयोग भएकोे विश्वकै पहिलो प्रविधिको परीक्षण महत्वपूर्ण रहेको बताएका छन् । युनिभर्सिटी अफ मेलबोर्नको मेलबर्न स्पेस ल्याबोरेटरीका निर्देशक मिचेल ट्रेन्टीले भने, ‘एच–थ्री रकेटमा पहिलो चरणको अद्वितीय इन्जिन छ, यसले अत्याधुनिक रकेटको तुलनामा बढी सन्तुष्टि प्रदान गर्छ, एच–थ्रीमा ‘सबैभन्दा लागत प्रभावी रकेट हुने क्षमता छ जसले सौर्य प्रणालीको अन्वेषणलाई अझ किफायती बनाउनेछ,’ उनले भने । सन् २०२३ को फेब्रुअरीमा इन्धन प्रज्ज्वलनको समस्याले रकेटलाई जमिनमा गतिहीन बनाएपछि प्रक्षेपण रद्द गरिएको थियो । गत वर्षको मार्चमा दोस्रो पटक गरिएको प्रयासमा प्राविधिक समस्याका कारण प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको थियो । सबैभन्दा पछिल्लो यो प्रक्षेपण पनि खराब मौसमका कारण चार दिन पछि सारिएको थियो तर शनिबार सफलतापूर्वक प्रक्षेपण गरिएको रकेटले दुईवटा साना स्याटेलाइट बोकेको छ । एउटा माइक्रोस्याटेलाइटले फोटो र भिडियो खिचेर विपद् रोकथाममा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सेन्सरको साथ सुसज्जित अर्को स्याटेलाइट इन्फ्रारेड किरणहरू पत्ता लगाउन जमीनमा कारखानाहरूको सञ्चालन अवस्थाहरू पछ्याउने उद्देश्यले तयार पारिएको हो । जाक्साको लाइभ स्ट्रिमका अनुसार माइक्रोसेटेलाइट्सलाई छ्ट्टयाउने काम पनि भएको पुष्टि भएको थियो । जाक्साका एक अधिकारीले भने, ‘रकेटलाई सफलतापूर्वक अन्तरिक्षमा पुर्‍याएपछि हामी नतिजाको विश्लेषण जारी राख्नेछौं। फ्लिन्डर्स युनिभर्सिटीकी अन्तरिक्ष अन्वेषण विज्ञ एलिस गोर्मनका अनुसार एच–थ्री पृथ्वीको कक्षमा भू–उपग्रह प्रक्षेपण गर्न, अन्तरिक्ष स्टेशनका लागि आपूर्ति यानको रूपमा काम गर्न र चन्द्रमामा जान सक्षमहुनेजस्ता बहुकार्य गर्नसक्ने रकेट हुनेछ।’ जापानले गत महिना चन्द्रमाको सतहमा ‘मून स्नीपर’ उपनाम दिइएको स्लिम अन्तरिक्षयान अवतरण गर्न सफल भएको थियो ।बर्मिङ्घम विश्वविद्यालयका एस्ट्रोफिजिक्सका मानार्थ प्राध्यापक एड्रियन माइकल क्रुजका अनुसार हालैका असफलताका बावजुद जापानको अन्तरिक्ष कार्यक्रम आफ्नो अहिलेसम्मको प्रदर्शनभन्दा धेरै माथि पुगेको छ । उनले भने, ‘जापानले केही प्रमुख खेलाडीहरूलाई चुनौती दिँदै अन्तरिक्ष अन्वेषणका लागि भविष्यको महत्वाकांक्षा राखेको छ ।’ एजेन्सी

विकट गाउँमा सडक पुगेपछि स्थानीय हर्षित

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो । सरोकारवाला निकायको कम ध्यान जाँदा पुरानो गाउँमा ढिला सडक पुगेको हो । नगरपालिकाको १७ लाख रुपैयाँ लागतमा यस गाउँमा सडक पुगेको ढोरपाटन–६ का वडाध्यक्ष उमेश बुढा मगरले बताए । करिब एक घण्टाको दूरीमा रहेका गाडीखोला र मोराङ गाउँमा वर्षौंपहिले सडक पुगे पनि पुरानो गाउँमा लामो प्रयासपछि यही महिना सडक पुगेको उनको भनाइ छ । गाउँमा सडक पुग्नुभन्दा पहिले यहाँका हजारौँ नागरिकले बजारबाट सामान ढुवानी गर्दा साह्रै समस्या खेप्ने गरेको भन्दै गाउँमा कोही बिरामी पर्दा बोकेरै अस्पताल पुर्याउने स्थिति रहेको उनले बताए । मोटरबाटोले स्थानीयको वर्षौंदेखिको समस्या समाधान गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ । सडक गाउँसम्म पुर्याउनका लागि यस वर्ष नगरपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन भएको थियो । अघिल्लो वर्षसम्म ११ लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् । करिब २६ घरधुरी रहेको पुरानो गाउँका अधिकांश स्थानीय कृषि र पशुपालनमा आबद्ध रहेको हुँदा अब यहाँ उत्पादन भएका वस्तु बजारसम्म पुर्याउन र बजारबाट सामान ल्याउन सहज हुने बुढा मगरको भनाइ छ । ‘भौगोलिक विकटताका कारण अहिलेसम्म यो गाउँमा सडक पुग्न सकेको थिएन, बजेट पनि कम पर्ने गथ्र्यो, यस वर्ष मात्रै गाउँसम्म सडक ल्याउन सफल भयौँ, अब यहाँका नागरिकले बजार जान पैदल हिँड्नुपर्ने छैन, मोटरबाटो भेट्न एक घण्टा हिँडेर गाडीखोला र मोराङ पुग्नुपथ्र्यो, अब बस्तीमै बाटो आयो,’ अध्यक्ष बुढा मगरले भने, ‘सडक पुगे मात्रै अरू विकास गर्न सहज हुने हुँदा अहिलेसम्म पछाडि परेको यो ठाउँमा अब अन्य विकासका पूर्वाधार पनि बन्दै जानेछन् ।’ पुरानो गाउँमा मोटरबाटो पुगेपछि यस क्षेत्रका सबै बस्ती सडकले जोडिएको अध्यक्ष बुढा मगरको भनाइ छ । गत मङ्सिरमा भित्रीवन गाउँ सडकले जोडिएको उनले जानकारी दिए । झण्डै १६ घरधुरी रहेको भित्रीवनका स्थानीयले पनि घन्टौँ हिँडेर मात्रै गाडीको सुविधा लिने गरेका थिए । यहाँ सडक पुर्याउन नगरपालिकाले गत वर्ष ४ लाख र यस वर्ष २ लाख रुपैयाँ विनयोजन गरेको अध्यक्ष बुढा मगर बताउँछन् । सो गाउँ नजिक रहेको ढोरपाटन सडकको करिब ११ किलोमिटर सडक कालोपत्र हुने तयारीमा छ । ढोरपाटन जोड्न ६ किलोमिटर बाँकी रहेको उनको भनाइ छ । ढोरपाटनको छन्तेङ जोड्ने गरी निर्माण भएको सडक सिकार आरक्षले अवरोध पुर्याउँदा काम रोकिएको हो । नगर उपप्रमुख धनबहादुर कायतले भौगोलिक कठिनाइका कारण धेरै गाउँमा अहिलेसम्म मोटरबाटो पुग्न नसकेको भन्दै नगरपालिकाले प्राथमिकतामा राखेर ट्र्याक खोल्न थालेको बताए । जिल्लामा दुर्गम मानिने ठाउँमा केन्द्र र प्रदेश सरकारबाट कम बजेट पर्दा अहिलेसम्म सबै ठाउँमा सडक सञ्जाल पुर्याउन नसकेको उनको भनाइ छ । नगरपालिकाले सीमित स्रोत साधन पनि सडक निर्माणलाई तीव्रता दिएको कायतको भनाइ छ ।उपप्रमुख कायतले भने, ‘नगरपालिकाले सबै ठाउँमा एकै पटक विकास गर्नका लागि पर्याप्त बजेट हुँदैन, क्रमैसँग सबै ठाउँमा विस्तारै विकास गर्दै गएका छौँ, अझै पनि धेरै ठाउँमा सडक पुर्याउन लागि परि रहेका छौँ, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी अन्य विकास निर्माणको गतिलाई अगाडि बढाउँदै छौँ ।’

धार्मिक पर्यटन प्रवर्द्धन गर्न पञ्चकोटमा साढे पाँच हजार किलोको घण्ट

ढोरपाटन । बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि यहाँ महाघण्ट राखिएको हो । विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता मात्रै महाघण्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट संकलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापी रुपमा चर्चित बनेको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजनाअनुसार उक्त महाघण्ट राखिएको मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए । पञ्चकोटमा यही फागुन ९ गतेदेखि आयोजना हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञका अवसरमा महाघण्टको विधिपूर्वक स्थापना गरिने उनले बताए । मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको स्वामी कमलनयनाचार्य बताउँछन् । महाघण्टी बनाउन आठ वर्ष लागेको थियो । पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्टी राखिएको उनले बताए । महाघण्टबाट निस्किएको ध्वनि साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिने दाबी गरिएको छ । महाघण्ट बनाउन करिब २ करोड रुपैयाँ खर्च लागेको अनुमान गरिएको कमलनयनाचार्यले बताए । उनले भने, ‘पञ्चकोटमा महाघण्ट राखिएको छ, यसमा शान्तिको ध्वनि निस्किनेछ, हामीहरुले अबको केही दिनमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आयोजना गरेका छौँ, त्यस अवसरमा घण्टको विधिवतरूपमा प्राणप्रतिष्ठाको कार्य गरिने छ, धेरै समय खर्चिएर घण्ट बनेको छ, यसलाई यहाँ बन्दै गरेको गण्डकी कलशको आडमा राखिने छ ।’ समुन्द्री सतहदेखि एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि आठ वर्षअगाडि तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गरेका थिए । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरलगायत ठाउँमा पुग्ने धार्मिक पर्यटक यहाँ आउन थालेपछि चहलपहल बढेको पाइन्छ । हालसम्म पञ्चकोटमा ५० करोड रुपैयाँ लगानी भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिए। पर्यटक आकर्षण र धार्मिक संस्कृतिको संरक्षणका लागि थुप्रै संरचना बन्ने चरणमा छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले पञ्चकोटमा घुइँचो बढ्न थालेको दाहालको भनाइ छ । दैनिक तीन सयदेखि चार सयसम्म पर्यटक आउने उनी बताउँछन् । बिदा तथा विभिन्न चाडपर्वका बेला करिब एक हजार दुई सय बढी पर्यटक आउने गरेको दाहालले बताए । महाघण्टले पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ । रासस

निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका ३ सय १५ घटना

चितवन । जंगली जनावरका कारण चालु आर्थिक वर्षमा ३ सय १५ घटना भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन् । ती घटनाबाट छजनाको मृत्यु भएको छभने १७ जना घाइते भएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइतेमध्ये सामान्य घाइते नौ र गम्भीर घाइते आठ जना भएका छन् । गैँडाको आक्रमणबाट दुई, बाघको आक्रमणबाट तीन र गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट सबैभन्दा धेरै रहेका छन् । हात्तीको आक्रमणबाट सात, गैँडाको आक्रमणबाट पाँच, बाघको आक्रमणबाट चार र गोहीको आक्रमणबाट एकजना घाइते भएका छन् । तिवारीका अनुसार चालु आर्थिक वर्षमा वन्यजन्तुका कारण पशुधनमा क्षति ८४, भण्डारण गरिएको अन्नको क्षति ६ पटक, घरगोठमा क्षति २० पटक र अन्नबालीमा क्षति दुई सय पाँच पटक भएको छ । वन्यजन्तुका कारण क्षति भएबापत निकुञ्जले चालु आर्थिक वर्षमा १ करोड ५ लाख ५१ हजार ६ सय २४ रुपैयाँ राहत प्रदान गरेको उनले जानकारी दिए । गत आवमा भएका सात सय ८४ घटनामा नौ जनाको मृत्यु भएको थियो भने ५५ जना घाइते भएका थिए । घाइतेमध्ये ३६ गम्भीर र १९ जना सामान्य रहेका थिए । सो आवमा एक सय ८५ पशुधन क्षति, भण्डार गरेको अन्नबाली आठ पटक, घरगोठमा क्षति २७ पटक र अन्नबालीमा क्षति पाँच सय पटक पुर्याएको तिवारीले बताए। त्यस वर्ष निकुञ्जले २ करोड २ लाख २ हजार ८ सय ४४ रुपैयाँ राहत रकम उपलब्ध गराएको थियो । निकुञ्जमा रहेका हात्ती, गैँडा, बाघ, भालु, चितुवा, ब्वाँसो, जङ्गली बँदेल, गोही, गौरीगाई, अजिङ्गर, बाँदरजस्ता जनावरले मानव बस्तीमा स्थानीयलाई दुःख दिने गरेका छन् ।

हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको स्थलगत अनुगमन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् । उनले चालु आर्थिक वर्षमा पनि हुलाकी राजमार्गलाई प्राथमिकता दिएर सरकारले पर्याप्त बजेट विनियोजन गरेको दाबी गरे । उनले नेपालगञ्जदेखि गुलरियासम्मको सडक खण्डको अनुगमनका क्रममा सन्तुष्टि गर्ने ठाउँ रहेको बताए । मन्त्री ज्वालाले सडक खण्डको निर्माण तीव्ररूपमा अघि बढेको पनि बताए । उनले तीन वर्षको लागि २ अर्ब ७८ करोड सम्झौता भएकोमा एक वर्षमै करिव ५० प्रतिशत काम सम्पन्न भइसकेकाले आगामी एक वर्षभित्रमा सम्पूर्ण निर्माणको काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले स्थानीयहरूको गुनासो बजेट अभाव भयो भन्ने रहेको भन्दै सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । ‘हुलाकी राजमार्ग नेपाल सरकारको उच्च प्राथमिकतामा छ, हामीले चालु आर्थिक वर्षमा पनि हुलाकी राजमार्गलाई प्राथमिकता दिएर बजेट पनि पर्याप्त नै विनियोजन गरेका छौं,’ उनले भने, ‘अहिले यो सडकको खासगरी नेपालगञ्जदेखि गुलरियासम्मको यो खण्डको अनुगमन गर्दा सन्तुष्टि गर्ने ठाउँ छ, यो साइटको रुख कटान, बिजुलीका तार हटाउने, पोल हटाउने लगायतका कुराहरूमा समस्या समाधान भएका छन् । कामको गति पनि तीव्ररूपमा अघि बढेको छ। बजेटको अभाव भयो भन्ने गुनासो छ। बजेटको पूर्ति गर्नका लागि हामी पहल गर्नेछौं। अबको एक वर्ष भित्रमा यो पूरा हुने स्थिति देखिन्छ ।’ मन्त्री ज्वालाले नेपालगञ्ज–गुलरिया खण्डमा निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन बाँकी रहेको भन्दै अर्थ मन्त्रालयमा बजेट माग गरिएकाले कामलाई निरन्तरता दिन आग्रहसमेत गरे । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीक अनुसार मूल्य अभिवृद्धि करबाहेक २ अर्ब ७८ करोड ४१ हजारमा २०८२ मङ्सिर २७ गते सम्पन्न गर्ने गरी गत वर्ष माघ २५ देखि शर्मा एण्ड कम्पनीले काम सुरु गरेको हो ।

हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा

फाइल फाेटाे सुन्दरहरैंचा । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन् । रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा रु २५ लाख ५० उपलब्ध गराएका थिए। सो रकमले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका-९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ । कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए । विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने उनले बताए । एम्बुलेन्स खरिदका लागि हङकङमा रहेका याम सेम्बु एक्लैले पाँच लाख ३० हजार रुपैयाँ उपलब्ध गराएका थिए। उनीसहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा उक्त रकम संकलन भएको हो । स्थानीय मीना खवासले वडामा एम्बुलेन्स सञ्चालनमा आएकामा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘आपतकालीन अवस्थामा भनेको बेला एम्बुलेन्स पाउन सकिँदैन, आफ्नै वडामा एम्बुलेन्स भएपछि राहत मिलेको छ ।’ सहयोगी दातामध्येका अगुवाइकर्ता याम सेम्बुले आफूहरू जहाँ भएपनि गाउँको समस्यामा चिन्तित रहने गरेको बताए । गाउँको समस्यालाई आफ्नै ठान्दै एम्बुलेन्स सहयोग गरेको उनको भनाइ छ । अर्का सहयोगी साङ्गेहाङ तुम्बाहाम्फेले भने, ‘हामीलाई हाम्रो गाउँठाउँको दुःखसुख सबै थाहा छ, हामीले एम्बुलेन्स सहयोग गर्दा विपन्न परिवारलाई सहज होस् भन्ने उद्देश्य हो ।’ रासस

फरवार्ड माइक्रोफाइनान्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

रौतहट । सामाजिक उत्तरदायित्वअन्तर्गत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ३०० जना बिरामीको आँखा, कान र दाँतको स्वास्थ्य जाँच भएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा निःशुल्क औषधी समेत बितरण गरिएको थियो भने, अस्पतालमा थप उपचार र शल्यक्रियामा पनि बिशेष छुट दिइने भनिएको छ । प्रकाशजित आई हस्पिटल तथा नर्सिङ होम प्रालिको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा लघुवित्त महिला सदस्यहरुसँगै सो क्षेत्रका स्थानीयहरुको आँखा, कान र दाँतको स्वास्थ्य जाँच गरिएको थियो ।

निमा एजुकेसन फाउन्डेसनमा रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता

काठमाडौं । निमा एजुकेसन फाउन्डेसनले आयोजना गरेको कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालको सबैभन्दा ठूलो राष्ट्रियस्तरको कोडेभर प्रतियोगिता सम्पन्न भएको छ । माघ २८ र २९ गते काठमाडौंमा आयोजना भएको उक्त प्रतियोगितामा १५० विद्यार्थीहरूले एआईदेखि रोबोटिक्ससम्मका विभिन्न परियोजना तयार पारेर प्रदर्शन गरेका थिए । प्रतियोगितामा विद्यार्थीले आफ्नो सीप प्रदर्शन गर्ने र एक अर्काबाट सिक्ने अवसर पाएको निमा एकेडेमीले जनाएको छ । प्रदर्शनीमा सहभागी विद्यार्थीलाई सात विधामा ११ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिको अवार्डका रूपमा काठमाडौं न्यू क्यासल स्कुलले ओम्नी ह्विल चेयर परियोजनाले नगद पुरस्कार ५ हजार पाएको थियो । यस्तै बेस्ट डिजाइन अवार्डका रूपमा एसिया प्यासिफिक स्कुलको आवास संरक्षण परियोजनाले ५ हजार, इन्टेलिप्याड परियोजनाका लागि लुम्बिनी वर्ल्ड स्कुलले बेस्ट आइडिया अवार्डका रूपमा ५ हजार, समृद्धि स्कुलको रेस्क्यु बोट परियोजनाले उत्कृष्ट प्रविधिको अवार्डसहित ५ हजार नगद पुरस्कार प्राप्त गरेको थियो । बेबिलोन नेसनल स्कुलको किसान साथी परियोजनालाई उत्कृष्ट सहरी योजना पुरस्कार ५ हजार र अडियन्स च्वाइस अवार्डका रूपमा डियरवाक सिफल स्कुलका दीक्षान्त पाण्डेको प्रोजेक्ट गफ जिपिटीलाई ५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी ट्रयाक १ मा एआई रोबो सिटी च्यालेन्ज अन्तर्गत पहिलो भएको एसिया प्यासिफिक स्कुलको स्मार्ट कृषि परियोजनालाई २५ हजार, दोस्रो भएको दरबार हाई स्कुलको जेनराइड ह्विल चेयर परियोजनालाई १५ हजार र तेस्रो भएको एसिया प्यासिफिक स्कुलको सडक सुरक्षा परियोजनालाई १० हजार पुरस्कार प्रदान गरिएको थियो । ट्रयाक २ मा पहिलो भएको रिलायन्स पब्लिक स्कुलले ५ हजार र दोस्रो भएको एसिया प्यासिफिक स्कुलले ३ हजार रूपैयाँ पुरस्कार पाएको थियो । प्रतियोगितामा पुरस्कृत परियोजनाका सहभागी विद्यार्थीहरूले दुबईमा हुन लागेको कोडेभर ५।० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र यहाँका विद्यालयहरूको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन्, जहाँ २३ भन्दा बढी राष्ट्रका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने छन् । यस प्रतियोगिताले सहभागीहरूलाई एक अर्काबाट सिक्ने, विचारहरू आदानप्रदान गर्ने र एक अर्कालाई प्रविधिसम्बन्धी आ(आफ्ना खोज तथा अन्वेषणलाई निरन्तरता दिन प्रेरित गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको निमा एकेडेमीको भनाइ छ । निमा एजुकेसन फाउन्डेसनको पहलमा पहिलो पटक राष्ट्रिय प्रतियोगिताको रूपमा नेपालमा कोडेभर आयोजना भएको थियो ।