प्रकृति संरक्षण मानवजातिको साझा चुनौती : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण आज मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् । वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा शनिबार राजधानीमा आयोजित वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको विश्व जलवायु परिवर्तनलगायतका वातावरणीय चुनौतिहरूको शिखरमा उभिएको बताएका हुन् । उनले भने, ‘अहिलेको विश्व जलवायु परिवर्तनलगायतका वातावरणीय चुनौतिहरूको शिखरमा उभिएको छ, त्यसबाट नेपाल पनि अछुतो छैन । वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र गहिरो अभिरूचीसमेत बढिरहेको छ।’ प्रकृतिको अनुपम जैविक सृष्टिको रूपमा प्राणी तथा वनस्पति जगतलाई लिएको बताउँदै उनले यसले पृथ्वीलाई जीवन्तता प्रदान गरेको उल्लेख गरे । मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता र वन्यजन्तु संरक्षण प्रत्यक्षरूपमा जोडिएको पौडेलको भनाइ छ । उनले भने, ‘त्यसमा पनि नेपालमा पाइने बाघ, गैंडा, हात्ती, हिउँ चितुवाजस्ता ठूला वन्यजन्तुदेखि स-साना वन्यजन्तुसम्मले परिस्थितिकीय प्रणाली सन्तुलनमा खेल्ने भूमिकाबारे हामी जानकार छौं, तर यससम्बन्धी आम जनचेतनाको स्तर के कस्तो छ, त्यसले महत्वपूर्ण भूमिका खेल्छ ।’ राष्ट्रपति पौडेलले वातावरणीय न्यायको सन्दर्भमा परिवर्तनशील अवस्थालाई मध्यनजर राखेर न्यायीक दृष्टिकोणको खाँचोमा केन्द्रित हुनु विद्धान वर्ग, सम्बन्धित सबै न्यायीक र तीन तहको सरकारका सबै सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका छन् ।
सार्वजनिक स्थानमा दुई हजार फोहर संकलन ‘बिन’ राख्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि छुट्टाछुट्टै गरी एक हजार नौ सय ५० सेट फोहर संकलन बिन राख्ने भएको छ। महानगरको वातावरण विभागका अनुसार एक सेटमा दुई बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहर व्यवस्थापनका लागि हो । उत्पादन भएकै ठाउँमा फोहरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सबै बिन विभागमा ल्याइसकिएको र वडाको माग तथा आवश्यकताअनुसार वितरण गर्ने तयारी छ । स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । कामपाका सबै स्थानमा एकैपटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकाले नमुनाका रुपमा अहिले वडा नं २७ र त्यसपछि अन्य वडामा उक्त बिन राख्ने काम गरिने प्रमुख श्रेष्ठले बताए । यसका लागि घरदैलो कार्यक्रममार्फत उत्पादकलाई फोहर वर्गीकरण विधिमा सचेत गराउने काम पनि महानगरले गरिरहेको छ । वर्गीकरण गरिएको फोहर छुट्टाछुट्टै व्यवस्थापन गर्न रङ संकेतसहितको सवारीसाधन तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए । घरघरमा फोहर वर्गीकरण गरेजस्तै सार्वजनिकस्थलमा उत्पादन हुने फोहरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गरी दीगोरुपमा फोहर व्यवस्थापन गर्न लागिएको हो । यसरी राखिने सेट दुई प्रकारका छन् । पहिलो सेट सानो आकारको रहेको जनाइएको छ । सोमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । एक दशमलव दुई मिटर उचाइ, एक दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्यान्डमा बिन राखिने छ । यसमा राखिने स्ट्यान्डको मूल्य ५ हजार १ सय ५० र डस्टबिन प्रतिगोटा मूल्य २ हजार ९ सय ५० रुपैयाँ पर्नेछ। मध्यम आकारका सेटमा एक दशमलव तीन मिटर चौडाइ र एक दशमलव चार मिटर उचाइ भएको स्ट्यान्ड हुनेछ । १ सय २५ लिटर क्षमताका दुई वटा बिन राखिने छन् । यसमा प्रयोग हुने स्ट्यान्डको मूल्य ५ हजार ४ सय ५० र बिनको मूल्य ३ हजार ८ सय ९० रुपैयाँ हो। राखिएका सबै बिनको संरक्षणको जिम्मा सम्बन्धित वडाले लिने बताइएको छ । रासस
‘बालबालिकाको क्यान्सर चाँडै निको हुन्छ’
काठमाडौं । बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे चाँडै निको चिकित्सकले बताएका छन् । उमेर पुगेका मानिसको तुलनामा बालबालिकामा देखिएको क्यान्सर समयमा उपचार गरे निको हुने सम्भावना धेरै रहेको चिकित्सकको भनाइ छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग तथा क्यान्सर रोग विशेषज्ञ डा. सूचारिका तण्डुकारले बढी उमेर भएका क्यान्सर रोगीको तुलनामा बालबालिकामा हुने क्यान्सरको समयमा उपचार गर्दा निको हुने सम्भावना धेरै रहेको बताइन् । ‘वयस्क व्यक्तिमा क्यान्सरसँगै अन्य रोग पनि देखिन्छ,’ उनले भनिन्, ‘क्यान्सर भएका बालबालिकामा अन्य रोगको सम्भावना कम हुने भएकाले समयमा उपचार गराउँदा निको हुने सम्भावना पनि धेरै हुन्छ ।’ डा. तण्डुकारका अनुसार नेपालमा उपचारको पहुँच नहुँदा धेरै बालबालिकाको क्यान्सरका कारण अकालमा मृत्यु हुने गरेको छ । वार्षिक करिब एक हजारसम्म बालबालिकाले क्यान्सरको उपचार गर्नुपर्नेमा अहिले पाँच सयले मात्र उपचार गरिरहेका उनले जानकारी दिइन् । भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. ऋतु सापकोटाले मुलुकमा बालबालिकामा देखिएको क्यान्सर ३० प्रतिशत निको हुने गरेको बताइन् । ‘समयमै अस्पताल पुग्न नसक्दा पूर्ण उपचार नपाएर करिब ७० प्रतिशतमा पूर्ण निको हुँदैन,’ उनले भनिन् । उनका अनुसार नेपालजस्तो अल्पविकसित मुलुकमा बालबालिकामा हुने क्यान्सर निको हुने दर कम रहेको छ। विकसित देशमा ८० देखि ९० प्रतिशत बाल क्यान्सर निको पार्न सकिने डा. सापकोटाले जानकारी दिइन् । गरिबी, उपचारमा कम पहुँच हुनुलगायत कारणले उपचारमा समस्या भइरहेको उनको भनाइ थियो। डा. सापकोटाले वयस्क मानिसलाई क्यान्सरसँगै अन्य रोग पनि देखिने भएकाले निको हुने सम्भावना कम हुने बताइन्। ‘बालबालिकामा अन्य कुनै रोगको लक्षण हुँदैन। त्यसैले क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ,’ उनले भनिन्, ‘उमेर पुगेका मानिसमा उच्च रक्तचाप, मधुमेहलगायत अन्य रोग देखिने भएकाले क्यान्सर निको हुने सम्भावना कम हुन्छ ।’ नेपालमा क्यान्सर बिरामी बालबालिकामध्ये सन् २०३० सम्म ६० प्रतिशतलाई निको गराउने सरकारी लक्ष्य रहेको भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. सापकोटाले जानकारी दिइन् । उनले मुलुकमा बालबालिकामा हुने ब्लड क्यान्सर ९० प्रतिशत निको भइरहेको उल्लेख गरिन् । डा. सापकोटाका अनुसार बालबालिकलाई ब्लड क्यान्सर, आँखामा हुने क्यान्सर, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर धेरै हुने गरेको छ । ‘बालबालिकामा १० प्रतिशत वंशानुगत गुणबाट र ९० प्रतिशत जिनको खराबीका कारण क्यान्सर हुने गर्दछ। जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई बढी क्यान्सर लाग्ने जोखिम रहन्छ,’ उनले भनिन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला मेमोरियल, भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पतालमा बाल क्यान्सरको उपचार हुने गरेको छ । रासस
ईयूले नाइजेरियाको उर्जा क्षेत्रमा चार करोड डलर लगानी गर्ने
अबुजा । युरोपियन संघ (ईयू) ले शुक्रबार नाइजेरियाको उर्जा क्षेत्रलाई सक्षम बनाउन तीन लाख ७० हजार यूरो (करिब ४० मिलियन अमेरिकी डलर) लगानी गर्ने प्रतिबद्धता गरेको छ । नाइजेरियाका लागि ईयू प्रतिनिधिमण्डलका प्रमुख सामुएला इसोपी र अबुजामा उर्जा मन्त्री एडबेयो अडेलाबुबीचको बैठकमा उक्त घोषणा गरिएको थियो । इसोपीले वित्तीय प्रतिबद्धता २० करोड यूरो (२१ करोड ६०लाख डलर) अनुदानबाट अलग रही २००८ देखि नाइजरको उर्जा क्षेत्रमा लगानी गरिएको छ । प्रतिज्ञारत सहयोगको उदेश्य उर्जा क्षेत्रका महत्वपूर्ण क्षेत्रहरूलाई सम्बोधन गर्नु हो । पूर्वाधार र पहुँच बढाउनमा ध्यान केन्द्रित गर्दै इसोपीले कोषले स्वास्थ्य सेवा सुविधा तथा साना जलविद्युत र सौर्य ऊर्जा विकासलगायतका पहलहरू लक्षित गर्नेछ । लगानी भिन्न तथा आपसमा जोडिएका साना–ग्रिडहरू समावेश रहेको ग्रामीण विद्युत परियोजनाहरूमा प्रयोग हुने नाइजेरियाका लागि ईयूका विशेष प्रतिनिधिले बताएका छन् । उनले ईयूले दिगोपन र कुशल स्रोत उपयोग प्रवर्द्धन गर्ने प्रयासहरूमा अर्थव्यवस्था सिद्धान्तहरू एकीकृत गर्ने योजना बनाएको र यसै अनुसार परिपत्र गरिएको बताए । बैठकमा अदेलाबुले नाइजेरियाको ऊर्जा क्षेत्रले सामना गरिरहेका चुनौतिको सम्बोधन गर्न थप सहयोग आवश्यक रहेको बताए । नाइजेरिया सरकारले आर्थिक चुनौतिलाई सम्बोधन गर्ने उद्देश्यले महत्वपूर्ण नीतिगत परिवर्तनमा बिजुलीमा अनुदान अन्त्य गर्ने योजना बुधबार घोषणा गरेको छ । नाइजेरियाको उर्जा क्षेत्रमा लगानी गर्ने ईयूको प्रतिबद्धताले आर्थिक विकासलाई बढावा दिई नागरिकको जीवनस्तर सुधार गर्न अन्तर्राष्ट्रिय साझेदारीको महत्वलाई स्पष्ट पारेको अदेलाबुले बताए ।
जापानद्वारा एच–थ्री नाम दिइएको नयाँ पुस्ताको रकेटको सफल परीक्षण
टोकियो । जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ। वर्षौंको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ । नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गरिएको छ र यसले एक दिन चन्द्रमाको सतहमा सामान पुर्याउने काम गर्न सक्छ । जाक्साका अध्यक्ष हिरोशी यामाकावाले भने, ‘म लामो समयदेखि अन्तरिक्ष अभियानमा छु, तर मैले पहिले कहिल्यै पनि यति धेरै खुसी महसुस गरेको थिइनँ र मैले कहिल्यै पनि यति राहत महसुस गरेको थिइनँ।’ जापानले गत महिना चन्द्रमामा मानवरहित यानको सफल अवतरण गरेपछि जापान चन्द्रमाको सतहमा यान अवतरण गर्ने पाँचौं देश बनेको छ । दक्षिणपश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान ९ः२२ बजे प्रक्षेपण गरिएको एच–थ्री प्रक्षेपण गरिएको थियो । एजेन्सीको लाइभ स्ट्रिममा एच–थ्रीको इन्जिनले अपेक्षाकृतरूपमा काम गरेको र रकेटले यसलाई अन्तरक्षिको कक्षमा प्रवेश गराएको घोषणा गरेपछि जाक्सा कन्ट्रोल सेन्टरबाट ताली र आवाजद्वारा खुशी व्यक्त गरिएको चर्को आवाज सुनिएको थियो । जाक्सा र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा संयुक्तरूपमा विकास गरिएको एच–थ्री सन् २००१ मा सुरु भएको एच–आईआईए प्रक्षेपण प्रणालीको उत्तराधिकारी हो । ‘उच्च लचीलोपन, उच्च विश्वसनीयता र उच्च लागत प्रदर्शन’ को लागि डिजाइन गरिएको शिल्पले ‘अन्तरिक्षमा जापानको स्वायत्त पहुँच कायम राख्नेछ’, जाक्साले भनेको छ । वैज्ञानिकहरूले एच–थ्रीमा प्रयोग भएकोे विश्वकै पहिलो प्रविधिको परीक्षण महत्वपूर्ण रहेको बताएका छन् । युनिभर्सिटी अफ मेलबोर्नको मेलबर्न स्पेस ल्याबोरेटरीका निर्देशक मिचेल ट्रेन्टीले भने, ‘एच–थ्री रकेटमा पहिलो चरणको अद्वितीय इन्जिन छ, यसले अत्याधुनिक रकेटको तुलनामा बढी सन्तुष्टि प्रदान गर्छ, एच–थ्रीमा ‘सबैभन्दा लागत प्रभावी रकेट हुने क्षमता छ जसले सौर्य प्रणालीको अन्वेषणलाई अझ किफायती बनाउनेछ,’ उनले भने । सन् २०२३ को फेब्रुअरीमा इन्धन प्रज्ज्वलनको समस्याले रकेटलाई जमिनमा गतिहीन बनाएपछि प्रक्षेपण रद्द गरिएको थियो । गत वर्षको मार्चमा दोस्रो पटक गरिएको प्रयासमा प्राविधिक समस्याका कारण प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको थियो । सबैभन्दा पछिल्लो यो प्रक्षेपण पनि खराब मौसमका कारण चार दिन पछि सारिएको थियो तर शनिबार सफलतापूर्वक प्रक्षेपण गरिएको रकेटले दुईवटा साना स्याटेलाइट बोकेको छ । एउटा माइक्रोस्याटेलाइटले फोटो र भिडियो खिचेर विपद् रोकथाममा योगदान पुर्याउने अपेक्षा गरिएको छ। सेन्सरको साथ सुसज्जित अर्को स्याटेलाइट इन्फ्रारेड किरणहरू पत्ता लगाउन जमीनमा कारखानाहरूको सञ्चालन अवस्थाहरू पछ्याउने उद्देश्यले तयार पारिएको हो । जाक्साको लाइभ स्ट्रिमका अनुसार माइक्रोसेटेलाइट्सलाई छ्ट्टयाउने काम पनि भएको पुष्टि भएको थियो । जाक्साका एक अधिकारीले भने, ‘रकेटलाई सफलतापूर्वक अन्तरिक्षमा पुर्याएपछि हामी नतिजाको विश्लेषण जारी राख्नेछौं। फ्लिन्डर्स युनिभर्सिटीकी अन्तरिक्ष अन्वेषण विज्ञ एलिस गोर्मनका अनुसार एच–थ्री पृथ्वीको कक्षमा भू–उपग्रह प्रक्षेपण गर्न, अन्तरिक्ष स्टेशनका लागि आपूर्ति यानको रूपमा काम गर्न र चन्द्रमामा जान सक्षमहुनेजस्ता बहुकार्य गर्नसक्ने रकेट हुनेछ।’ जापानले गत महिना चन्द्रमाको सतहमा ‘मून स्नीपर’ उपनाम दिइएको स्लिम अन्तरिक्षयान अवतरण गर्न सफल भएको थियो ।बर्मिङ्घम विश्वविद्यालयका एस्ट्रोफिजिक्सका मानार्थ प्राध्यापक एड्रियन माइकल क्रुजका अनुसार हालैका असफलताका बावजुद जापानको अन्तरिक्ष कार्यक्रम आफ्नो अहिलेसम्मको प्रदर्शनभन्दा धेरै माथि पुगेको छ । उनले भने, ‘जापानले केही प्रमुख खेलाडीहरूलाई चुनौती दिँदै अन्तरिक्ष अन्वेषणका लागि भविष्यको महत्वाकांक्षा राखेको छ ।’ एजेन्सी
विकट गाउँमा सडक पुगेपछि स्थानीय हर्षित
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो । सरोकारवाला निकायको कम ध्यान जाँदा पुरानो गाउँमा ढिला सडक पुगेको हो । नगरपालिकाको १७ लाख रुपैयाँ लागतमा यस गाउँमा सडक पुगेको ढोरपाटन–६ का वडाध्यक्ष उमेश बुढा मगरले बताए । करिब एक घण्टाको दूरीमा रहेका गाडीखोला र मोराङ गाउँमा वर्षौंपहिले सडक पुगे पनि पुरानो गाउँमा लामो प्रयासपछि यही महिना सडक पुगेको उनको भनाइ छ । गाउँमा सडक पुग्नुभन्दा पहिले यहाँका हजारौँ नागरिकले बजारबाट सामान ढुवानी गर्दा साह्रै समस्या खेप्ने गरेको भन्दै गाउँमा कोही बिरामी पर्दा बोकेरै अस्पताल पुर्याउने स्थिति रहेको उनले बताए । मोटरबाटोले स्थानीयको वर्षौंदेखिको समस्या समाधान गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ । सडक गाउँसम्म पुर्याउनका लागि यस वर्ष नगरपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन भएको थियो । अघिल्लो वर्षसम्म ११ लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् । करिब २६ घरधुरी रहेको पुरानो गाउँका अधिकांश स्थानीय कृषि र पशुपालनमा आबद्ध रहेको हुँदा अब यहाँ उत्पादन भएका वस्तु बजारसम्म पुर्याउन र बजारबाट सामान ल्याउन सहज हुने बुढा मगरको भनाइ छ । ‘भौगोलिक विकटताका कारण अहिलेसम्म यो गाउँमा सडक पुग्न सकेको थिएन, बजेट पनि कम पर्ने गथ्र्यो, यस वर्ष मात्रै गाउँसम्म सडक ल्याउन सफल भयौँ, अब यहाँका नागरिकले बजार जान पैदल हिँड्नुपर्ने छैन, मोटरबाटो भेट्न एक घण्टा हिँडेर गाडीखोला र मोराङ पुग्नुपथ्र्यो, अब बस्तीमै बाटो आयो,’ अध्यक्ष बुढा मगरले भने, ‘सडक पुगे मात्रै अरू विकास गर्न सहज हुने हुँदा अहिलेसम्म पछाडि परेको यो ठाउँमा अब अन्य विकासका पूर्वाधार पनि बन्दै जानेछन् ।’ पुरानो गाउँमा मोटरबाटो पुगेपछि यस क्षेत्रका सबै बस्ती सडकले जोडिएको अध्यक्ष बुढा मगरको भनाइ छ । गत मङ्सिरमा भित्रीवन गाउँ सडकले जोडिएको उनले जानकारी दिए । झण्डै १६ घरधुरी रहेको भित्रीवनका स्थानीयले पनि घन्टौँ हिँडेर मात्रै गाडीको सुविधा लिने गरेका थिए । यहाँ सडक पुर्याउन नगरपालिकाले गत वर्ष ४ लाख र यस वर्ष २ लाख रुपैयाँ विनयोजन गरेको अध्यक्ष बुढा मगर बताउँछन् । सो गाउँ नजिक रहेको ढोरपाटन सडकको करिब ११ किलोमिटर सडक कालोपत्र हुने तयारीमा छ । ढोरपाटन जोड्न ६ किलोमिटर बाँकी रहेको उनको भनाइ छ । ढोरपाटनको छन्तेङ जोड्ने गरी निर्माण भएको सडक सिकार आरक्षले अवरोध पुर्याउँदा काम रोकिएको हो । नगर उपप्रमुख धनबहादुर कायतले भौगोलिक कठिनाइका कारण धेरै गाउँमा अहिलेसम्म मोटरबाटो पुग्न नसकेको भन्दै नगरपालिकाले प्राथमिकतामा राखेर ट्र्याक खोल्न थालेको बताए । जिल्लामा दुर्गम मानिने ठाउँमा केन्द्र र प्रदेश सरकारबाट कम बजेट पर्दा अहिलेसम्म सबै ठाउँमा सडक सञ्जाल पुर्याउन नसकेको उनको भनाइ छ । नगरपालिकाले सीमित स्रोत साधन पनि सडक निर्माणलाई तीव्रता दिएको कायतको भनाइ छ ।उपप्रमुख कायतले भने, ‘नगरपालिकाले सबै ठाउँमा एकै पटक विकास गर्नका लागि पर्याप्त बजेट हुँदैन, क्रमैसँग सबै ठाउँमा विस्तारै विकास गर्दै गएका छौँ, अझै पनि धेरै ठाउँमा सडक पुर्याउन लागि परि रहेका छौँ, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी अन्य विकास निर्माणको गतिलाई अगाडि बढाउँदै छौँ ।’
धार्मिक पर्यटन प्रवर्द्धन गर्न पञ्चकोटमा साढे पाँच हजार किलोको घण्ट
ढोरपाटन । बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि यहाँ महाघण्ट राखिएको हो । विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता मात्रै महाघण्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट संकलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापी रुपमा चर्चित बनेको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजनाअनुसार उक्त महाघण्ट राखिएको मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए । पञ्चकोटमा यही फागुन ९ गतेदेखि आयोजना हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञका अवसरमा महाघण्टको विधिपूर्वक स्थापना गरिने उनले बताए । मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको स्वामी कमलनयनाचार्य बताउँछन् । महाघण्टी बनाउन आठ वर्ष लागेको थियो । पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्टी राखिएको उनले बताए । महाघण्टबाट निस्किएको ध्वनि साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिने दाबी गरिएको छ । महाघण्ट बनाउन करिब २ करोड रुपैयाँ खर्च लागेको अनुमान गरिएको कमलनयनाचार्यले बताए । उनले भने, ‘पञ्चकोटमा महाघण्ट राखिएको छ, यसमा शान्तिको ध्वनि निस्किनेछ, हामीहरुले अबको केही दिनमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आयोजना गरेका छौँ, त्यस अवसरमा घण्टको विधिवतरूपमा प्राणप्रतिष्ठाको कार्य गरिने छ, धेरै समय खर्चिएर घण्ट बनेको छ, यसलाई यहाँ बन्दै गरेको गण्डकी कलशको आडमा राखिने छ ।’ समुन्द्री सतहदेखि एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि आठ वर्षअगाडि तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गरेका थिए । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरलगायत ठाउँमा पुग्ने धार्मिक पर्यटक यहाँ आउन थालेपछि चहलपहल बढेको पाइन्छ । हालसम्म पञ्चकोटमा ५० करोड रुपैयाँ लगानी भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिए। पर्यटक आकर्षण र धार्मिक संस्कृतिको संरक्षणका लागि थुप्रै संरचना बन्ने चरणमा छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले पञ्चकोटमा घुइँचो बढ्न थालेको दाहालको भनाइ छ । दैनिक तीन सयदेखि चार सयसम्म पर्यटक आउने उनी बताउँछन् । बिदा तथा विभिन्न चाडपर्वका बेला करिब एक हजार दुई सय बढी पर्यटक आउने गरेको दाहालले बताए । महाघण्टले पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ । रासस
निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका ३ सय १५ घटना
चितवन । जंगली जनावरका कारण चालु आर्थिक वर्षमा ३ सय १५ घटना भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन् । ती घटनाबाट छजनाको मृत्यु भएको छभने १७ जना घाइते भएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइतेमध्ये सामान्य घाइते नौ र गम्भीर घाइते आठ जना भएका छन् । गैँडाको आक्रमणबाट दुई, बाघको आक्रमणबाट तीन र गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट सबैभन्दा धेरै रहेका छन् । हात्तीको आक्रमणबाट सात, गैँडाको आक्रमणबाट पाँच, बाघको आक्रमणबाट चार र गोहीको आक्रमणबाट एकजना घाइते भएका छन् । तिवारीका अनुसार चालु आर्थिक वर्षमा वन्यजन्तुका कारण पशुधनमा क्षति ८४, भण्डारण गरिएको अन्नको क्षति ६ पटक, घरगोठमा क्षति २० पटक र अन्नबालीमा क्षति दुई सय पाँच पटक भएको छ । वन्यजन्तुका कारण क्षति भएबापत निकुञ्जले चालु आर्थिक वर्षमा १ करोड ५ लाख ५१ हजार ६ सय २४ रुपैयाँ राहत प्रदान गरेको उनले जानकारी दिए । गत आवमा भएका सात सय ८४ घटनामा नौ जनाको मृत्यु भएको थियो भने ५५ जना घाइते भएका थिए । घाइतेमध्ये ३६ गम्भीर र १९ जना सामान्य रहेका थिए । सो आवमा एक सय ८५ पशुधन क्षति, भण्डार गरेको अन्नबाली आठ पटक, घरगोठमा क्षति २७ पटक र अन्नबालीमा क्षति पाँच सय पटक पुर्याएको तिवारीले बताए। त्यस वर्ष निकुञ्जले २ करोड २ लाख २ हजार ८ सय ४४ रुपैयाँ राहत रकम उपलब्ध गराएको थियो । निकुञ्जमा रहेका हात्ती, गैँडा, बाघ, भालु, चितुवा, ब्वाँसो, जङ्गली बँदेल, गोही, गौरीगाई, अजिङ्गर, बाँदरजस्ता जनावरले मानव बस्तीमा स्थानीयलाई दुःख दिने गरेका छन् ।