विकासन्युज

सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले फागुन ७ गते सोमबार बिदा दिने निर्णय गरेको हो । यससँगै सो दिन बैंक तथा वित्तीय संस्था, सेयर बजार लगायत सम्पूर्ण सरकारी कार्यालयहरूबन्द हुनेछन् । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट वि.सं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको थियो । मुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिएका थिए ।

बैंकिङ कसुर तथा सजाय विधेयकले चेक अनादरको विषय समेटेको होइन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक २०८० ले केवल चेक अनादरको विषयलाई मात्रै नसमेटेको बताएका छन् । आईतबार प्रनिनिधि सभाको बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथि छलफलमा भाग लिँदै सांसदहरुले बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक २०८० चेक अनादरसँग सम्बन्धित विषयमा मात्रै केन्द्रित भएको बताएका थिए । सांसदहरुको मन्तव्यपछि जवाफ दिँदै मन्त्री महतले सो विधेयक चेक अनादरको विषयसँग मात्रै सम्बन्धित नभएको बताए । बैंक, वित्तीय संस्था, सहकारी संस्थामा देखापरेका समस्याहरुको विषयलाई विधेयकमा समेटिएको उनले जानकारी दिए । ‘चेक बाउन्सको विषय मात्रै छैन । बैंक, वित्तीय संस्था, सहकारी संस्था यसको चल, अचल सम्पती मिले मतो वा जाल, परिपञ्च गरी वा हक नभएको सम्पतीमा आफ्नो हक दाबी भएको भनेर अहिले धेरै सहकारी, वित्तीय संस्थाहरुमा समस्याहरु आएको छ, ति समस्याहरु संशोधनमा समेटिएको छ । यो विषयमा ०६४ सालमा बनेको थियो त्यो सँग जोडिएको कहाँ कमी, कमजोरी छ, त्यो विषयलाई मध्यनजर गरेर समेटेर यो संशोधन प्रश्ताव ल्याएको’, उनले भने । उनले यो विधेयकमा अन्य धेरै कुराहरु समेट्न बाँकी रहेको भएपनि हाललाई भने पहिलेकै ऐनलाई संशोधन गरी हाल देखा परेका समस्याहरुलाई सुधार गर्नेगरी ल्याइएको बताए ।

मधुमेहबारे व्याप्त भ्रम चिर्न आवश्यक छ : डा. भट्टराई

काठमाडौं । मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा. ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएकी छिन् । राष्ट्रिय समाचार समिति (रासस)को ६३औँ वार्षिकोत्सवको सन्दर्भमा आइतबार आयोजित अन्तक्रिया कार्यक्रममा डा. भट्टराईले मधुमेहबारे समाजमा व्याप्त भ्रम रहेको भन्दै उक्त भ्रम चिर्न आवश्यक रहेको बताइन् । मधुमेह भएकाले सन्तुलित खानापानमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । पछिल्लो समय मधुमेहका बिरामीको सङ्ख्यासँगै यसको जोखिम पनि बढ्दै गइरहेकोबारे सचेत गराउँदै डा भट्टराईले मधुमेहका बिरामीले चिकित्सकको सल्लाहबमोजिम मात्र खानपान र औषधिको प्रयोग गर्न सुझाव दिइन् । ‘मधुमेह रोगबारे हाम्रो समाजमा धेरै भ्रम र अन्योलता छ । हरियो घाँसमा खालीखुट्टा हिँड्नुपर्छ भन्ने कुरा बिरामीले सुनाउनुहुन्छ । यस्ता बिरामीले स्पोर्टस् जुत्ता लगाउन उपयुक्त हुन्छ । धेरै कस्सिएको र असहज हुने जुत्ता नलगाउने, खुट्टाको नियमित सरसफाइमा ध्यान दिनुपर्छ’, उनले भनिन्, ‘सुगर फ्रि चिनीरहित भनिएका चामल, बिस्कुट वा कुनै पनि परिकारले मधुमेह निको हुँदैन । यस्ता विज्ञापनका आधारमा खाना उपभोग गर्नु हुँदैन । यसले फाइदा कम बेफाइदा बढी हुन्छन् ।’ डा भट्टराईले बजारमा पाइने सुगर फ्रि भनिएका खाद्यान्न खानुभन्दा गाउँघरमा उत्पादित अन्न खानु स्वास्थ्यका लागि स्वस्थकर हुने बताउँदै सरकारले किसानलाई प्राङ्गारिक उत्पादनमा गर्न प्रोत्साहन हुने किसिमका नीति बनाउनुपर्नेमा जोड दिइन् । ‘मकै, भटमास, गेडागुडी, साग, रेसादार फलफुल सेवन गर्नु पर्दछ’, उनले भनिन्, ‘मदिरा, बजारमा पाइने पेय पद्धार्थ, चुरोटलगायत हानिकारक वस्तुको प्रयोग नगर्ने हो भने पनि मधुमेहको जोखिमबाट बच्न सकिन्छ ।’ डा. भट्टराईले मधुमेह वंशाणुत र वातावरण गरी दुई कारणले हुने उल्लेख गर्दै स्वस्थ्य जीवनशैली अपनाउँदा यसको नियन्त्रण गर्न सकिने बताइन् । उनले उच्च मधुमेहले टाउकोदेखि खुट्टासम्मका विभिन्न भागमा असर पार्ने बताइन् । ‘मुख्यतः मधुमेहका कारण अन्धोपन, मिर्गौलामा समस्या, मुटुरोग, खुट्टा, खुँडा र पैतलामा समस्या हुने गर्दछ’, उनले भनिन् । मधुमेहका बिरामीमा थकाई, आलस्य, पिसाब धेरै लाग्ने, तौल घट्ने, खुट्टा पोल्ने, मुख सुख्खा हुने, कमजोरी र घाउ छिटो निको नहुने लक्षण देखिने डा भट्टराईले जानकारी दिइन् । समयमा नै यो रोग नियन्त्रण गर्न सके सक्रिय जीवनशैली अपनाउन सकिने उनले बताउइन् । झण्डै ५० प्रतिशत बिरामीमा यसको लक्षण नदेखिने उनको भनाइ थियो । मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा भट्टराईले मोटो मानिसलाई मात्र मधुमेह हुन्छ भन्ने आम बुझाइ रहेको भन्दै दुब्लो व्यक्तिमा समस्या हुनसक्ने भएकाले सबैले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताइन् । ‘मधुमेह जुनसुकै व्यक्तिलाई हुनसक्छ । नियमित परीक्षण गराउनु, सन्तुलित खाना खानु, तनावमुक्त जीवनशैलीसँगै नियमित व्यायाम गर्नु नै यसको प्रभावकारी उपचार विधि हो’, उनले भनिन्, ‘प्रत्येक व्यक्तिले सकेसम्म वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्दछ ।’ बालबालिकामा टाइप–एक र युवाअवस्थामा टाइप–दुई मधुमेहको समस्या धेरै देखिनडा भट्टराईको भनाइ थियो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा रासस सञ्चालक समितिका सदस्य एवं आलेख प्रमुख कृष्ण अधिकारीले स्वस्थ जीवनशैलीका लागि चिकित्सकसँग सल्लाह लिनुपर्ने बताइन् । उनले कर्मचारीका लागि यस्ता अन्तक्रिया प्रभावकारी हुने भन्दै महिनामा एकपटक स्वास्थ्य सम्बन्धी अन्तक्रिया गरिनुपर्ने आवश्यकता औँल्याइन् । रासस

परिसूचक र कारोबार रकम दुबै घट्दा दुई कम्पनीमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । आइतबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । बजारमा परिसूचक २७.२१ अंक र कारोबार रकम ९ करोड रुपैयाँले घटेको छ । आइतबार कारोबार खुलेदेखि नै परिसूचक निरन्तर रुपमा घटेको छ । परिसूचक गत बिहीबारको तुलनामा २७.२१ अंक अर्थात १.३१ प्रतिशतले घटेर २०३४.८२ बिन्दुमा झरेको छ । त्यस्तै, गत बिहीबार ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार ३ अर्ब ७७ करोडमा सीमित भएको छ । आइतबार कारोबारमा आएका कम्पनीहरुमध्ये हिमालयन रि इन्स्योरेन्सकै सर्वाधिक कारोबार भएको छ । जसको एकैदिन ४० करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सेयर मूल्य भने घटेर प्रतिकित्ता ६४५.१० रुपैयाँमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजारमा बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/१० प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता १० हजार दुई सय ४२ रुपैयाँ र एक हजार छ सय ३५ रुपैयाँ पुगेको छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । दिनभरमा २२५ कम्पनीको सेयर मूल्य घटेको छ, २१ कम्पनीको बढेको छ भने २ कम्पनीको सेयर मूल्य स्थीर छ । आइतबार कारोबारमा आएका सबै अर्थात १३ वटै समूह राताम्मे देखिएका छन् ।

डिशहोमले पाकिस्तान सुपर लिगको लाइभ गर्ने

काठमाडौं । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ । नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर डिशहोमले १७ फेब्रुअरीबाट प्रत्यक्ष प्रसारण गर्न थालेको डिशहोमका प्रतिनिधिले जनाएका छन् । १७ फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ-एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन् । रोमाञ्चक क्याचदेखि सनसनीपूर्ण रन चेजसम्म, पीएसएलले उत्कृष्ट रूपमा क्रिकेटको उत्साह प्रदान गर्ने विश्वास डिशहोमको छ । एक्शन स्पोर्ट्स एच.डि. मा यो विशेष प्रसारणको साथ, क्रिकेट प्रेमीहरूले वर्षको सबैभन्दा प्रत्याशित क्रिकेट घटनाहरू मध्ये एकको विद्युतीय वातावरणमा रम्न सक्ने डिशहोमले जनाएको छ ।

बैंकिङ कसुर तथा सजाय विधेयक समयानुकुल हुन सकेन : सांसदहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० समयानुकुल हुन नसकेको बताएका छन् । आईतबार प्रतिनिधि सभा बैठकमा बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले सो विधेयकको क्षेत्राधिकार साँघुरो भएको बताएका हुन् । उनले डिजिटल प्रणालीलाई विधेयकले समेट्न नसकेको बताए । पुरानो कागजी प्रणालीलाई सम्बोधन गर्नेगरी मात्रै ल्याइएको बताए । ‘क्षेत्राधिकार साँघुरो भयो । फराकिलो हुनुपथ्र्यो । पुरानो युगको कागजी सिस्टमलाई मात्रै सम्बोधन गर्नेगरी ल्याइएको छ । एउटा अवसर गुम्यो कि भन्ने हाम्रो तर्क छ’, उनले भने । त्यस्तै, नेकपा(एमाले)की सांसद विद्या भट्टराईले क्रिप्टो करेन्सी र विट क्वाइनमार्फत भइरहेको ठगिको कुरालाई विधेयकले समेट्न नसकेको बताइन् । उनले नागरिकहरुमा वित्तीय साक्षरताको कमीले ठगी हुने गरेको भन्दै नागरिकहरुलाई वित्तीय साक्षरता दिनुपर्नेमा जोड दिइन् । विद्यालय र विश्वविद्यालयको औपचारिक पाठ्यक्रममा नै वित्तीय साक्षरतालाई समेटेर शिक्षा दिनुपर्ने बताइन् । ‘क्रिप्टो करेन्सी र विट क्वाइनमा लगानी गर्न लगाउने, रकम माग्ने र ठगि हुने कुरालाई यो ऐनले समेट्नुपथ्र्यो । यसको बारेमा केही पनि आएन । कानुनमा छिद्र भयो भने कानूनबाट उम्किने खालको अवस्था सिर्जना गर्नसक्छ । सामाजिक चेतना निर्माणको पक्षपनि बैंकको कारोबारसँग जोडिएर आउनुपर्छ भन्ने मलाई लाग्छ । विद्यालय र विश्वविद्यालयको औपचारिक पाठ्यक्रममा वित्तिय साक्षरतालाई समावेश गरेर जान सकियो भनेमात्रै वित्तिय अनुशासनलाई कायम गर्नसक्छौँ’, उनले भनिन् । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले डिजिटल भुक्तानीलाई विधेयकले समेट्नुपर्नेमा जोड दिए । उनले सहकारी क्षेत्र लगायतका सम्पूर्ण वित्तिय क्षेत्रलाई नै यस विधेयकले समेट्नुपर्ने बताए । ‘डिजिटल भुक्तानी पेपर भुक्तानी भन्दा बढी मात्रामा भइराखेको हुँदा यसलाई समेट्न अत्यावश्यक छ । यसलाई समेटेर लानुपर्छ । सहकारी क्षेत्रमा देखिएको समस्या छ । बैकिङ समस्या र चेक अनादरको समस्या त्यहाँभित्र पनि पर्छ । यसलाई सहकारी क्षेत्रलाई समेट्नुपर्छ र यसले समग्र वित्तिय क्षेत्रलाई नै समेट्नुपर्छ भन्ने मेरो आग्रह हो’, उनले भने । छलफलमा भाग लिने अधिकांश सांसदहरुले विधेयकमा डिजिटल भुक्तानीको विषय समेटिनुपर्नेमा जोड दिएका थिए ।

सहकारीको साझा धारणा निमार्ण गर्न बागमती साकोस समिट हुँदै

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेश भरका १३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए । ‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने मूल थिमका साथ हुन लागेको समिटको उद्देश्य सदस्य संघ/संस्थाका सञ्चालक तथा व्यवस्थापकको क्षमता विकासका लागि नयाँ विषयमा बहस चलाउने, सहकारीका अशल अभ्यासहरुलाई धेरै संस्थामा पुर्याउने र अभियानमा ऐक्यवद्धता कायम गर्ने तथा सहकारी संस्कृतिलाई विशिष्ट संस्कृतिको रुपमा बचाई राख्ने रहेको छ । त्यसैगरी अभियानका साझा सबालहरुमा साझा धारणा विकास गरी बहस पैरवीमा प्रभावकारिता ल्याउने, सहकारीका वर्तमान चुनौतिहरुको सामनाका लागि कार्यक्रममार्फत सबै संस्थालाई जागरुक गराउने र बचत तथा ऋण सहकारी सञ्जालमा कार्यगत एकता कायम गर्ने उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए । ‘बचत संघहरुको ऐक्यवद्धता कायम गर्न, साझा धारणा विकास गर्न र अभियानलाई सही बाटो देखाउने उद्देश्यका साथ समिटको आयोजना गरिएको हो । समिटमा सहकारी क्षेत्रको वर्तमान समस्याका बारेमा पनि व्यापक छलफल हुनेछ’, उनले थपे, ‘बागमती प्रदेशमा पनि समुदाय र सदस्यकेन्द्रित सहकारीहरु प्रशस्त छन् । ती संस्थाहरुमा समस्या आउन नदिन र अहिले देखिएको समस्याको निराकरणको लागि मार्ग प्रशस्त गरौं भन्ने सोचका साथ यो समिटको आयोजना गरिएको हो ।’ समिटको पहिलो दिन सहकारी सुध्रिढीकरणको आधारः सहकार्य, एकता र विश्वास, सहकारी अभियानको शुद्धिकरणः कानुन कार्यन्वयन, एकीकरण र वर्गिकरण र सहकारीको वर्तमान आवश्यक्ताः साझा अभियानका लागि साझा सञ्जाल विषयमा विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुने संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले बताए । त्यसैगरी दोस्रो दिन सहकारीमा सम्पत्ति शुद्धिकरण निवारणः भावी जोखिम र कार्यन्वयन रणनीति, दक्ष जनशक्ति पलायनः सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरणमा उपाय, प्रभावकारी सेवाका लागिः जनशक्ति उत्पेरणा र सहकारी सुशासन प्रर्वद्धनमाः प्रविधीमैत्री कारोबारका विषयमा कार्यपत्र प्रस्तुत हुनुका साथै सहभागीहरुबीच छलफल हुने सिईओ दाहालले जानकारी दिए । बागमती प्रदेश भित्रका १३ वटा जिल्ला बचत संघ सहआयोजकको रुपमा रहेको छन् । त्यसैगरी बागमती प्रदेश संस्कृती, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी विकास बोर्ड र नेफ्स्कूनको सहकार्यमा समिट हुन लागेको हो । समिटले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानमा समेत मार्ग प्रशस्त गर्ने दाहालले बताए । बागमती प्रदेशमा करिब ८ हजार बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

वालिङ नगरपालिकाको सल्लाहकारमा तोयानारायण पौडेल नियुक्त

काठमाडौं । स्याङ्जा जिल्लास्थित वालिङ नगरपालिकाको सल्लाहकारमा तोयानारायण पौडेल नियुक्त भएका छन् । उक्त नगरपालिकाको माघ २९ गतेको निर्णयअनुसार पौडेललाई पालिकाको सल्लाहकार समितिको सदस्यमा मनोनय गरेको हो । सल्लाहकारमा पौडेलको नियुक्तिसँगै वालिङ नगरपालिकाको विकास र समृद्धिमा उनको सक्रिय भूमिका रहने अपेक्षा रहेको नगर प्रमुख कृष्ण खाँणले बताए । पौडेल हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल समेत हुन् ।