सिटिजन्स बैंकका ग्राहकलाई सिटिस्केप थकालीमा १० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंको दरबारमार्गस्थित सिटिस्केप थकालीमा १० प्रतिशत छुट हुने भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सिटिस्केप थकाली मा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले हाल १९० वटा शाखा, १५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २१ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
२१ वटा लघुवित्तको नाफा ऋणात्मक
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा २१ वटा लघुवित्त वित्तीय संस्थाहरूले नोक्सानी बेहोर्नु परेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुस मसान्तसम्म २१ वटा लघुवित्तको नाफा ऋणात्मक रहेको छ । समीक्षा अवधिमा विजय लघुवित्तको ९ करोड ६४ लाख रुपैयाँ, एनएमबि लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ, फरवार्ड लघुवित्तको १० करोड ४ लाख रुपैयाँ, महुली लघुवित्तको ७९ लाख रुपैयाँ नोक्सानीमा छ । यस्तै, सामुदायिक लघुवित्तको ३ करोड ९९ लाख रुपैयाँ, विन नेपाल लघुवित्तको २८ लाख रुपैयाँ, आशा लघुवित्तको ३ करोड १२ लाख रुपैयाँ, इन्फिनिटी लघुवित्तको ३ करोड ८७ लाख रुपैयाँ, सबैको लघुवित्तको १ करोड ९७ लाख रुपैयाँ, मनकामना स्मार्ट लघुवित्तको १ करोड १६ लाख रुपैयाँ नोक्सानी रहेको छ । समाज लघुवित्तको १६ लाख रुपैयाँ, महिला लघुवित्तको २ करोड ९३ लाख रुपैयाँ, मानुषी लघुवित्तको १ करोड ७७ लाख रुपैयाँ, उपकार लघुवित्तको १ करोड ७५ लाख रुपैयाँ, धौलागिरी लघुवित्तको ४ करोड १४ लाख रुपैयाँ, स्वस्तिक लघुवित्तको ५९ लाख रुपैयाँ, श्रीजनशील लघुवित्तको १४ करोड ६३ लाख रुपैयाँ ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । यस्तै, किसान लघुवित्तको ७ करोड ५९ लाख रुपैयाँ, बीपीडब्ल्यू लघुवित्तको ३ लाख रुपैयाँ, सुपर लघुवित्तको १० करोड ५० लाख रुपैयाँ, अभियान लघुवित्तको ७ करोड ८० लाख रुपैयाँ नाफा ऋणात्मक रहेका छन् ।
समस्यामा परेपछि लघुवित्तले शाखा विस्तार रोके, सदस्य पनि घट्दै
काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्था शाखा विस्तारमा सुस्त देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार लघुवित्तहरू शाखा विस्तारमा सुस्त देखिएका हुन् । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रयमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ०.३४ प्रतिशतले वृद्वि भएकोमा यस आर्थिक बर्षको दोस्रो त्रयमासमा भने ०.०६ प्रतिशतले वृद्वि भएको देखिन्छ । यस्तै, समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजार पुगेको छ भने यस बैंकको निर्देशन बमोजिम एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणीको संख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३६ हजार पुगेको छ । लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको देखिन्छ । २०७९ पुस मसान्तसम्ममा ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०८० पुस मसान्तसम्ममा ५७ वटा कायम भएको छ । ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् । लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिन्छ ।
यी दुई लघुवित्तले आगामी वर्ष लाभांश दिन नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुइटा लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाउने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पुँजी कोष नपुर्याएको भन्दै सुपर लघुवित्त वित्तीय संस्था र श्रृजनशिल लघुवित्त वित्तीय संस्थालाई लाभांशमा रोक लगाउने भएको हो । राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था कायम नगरेमा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँछ । वित्तीय संस्थाले चालु आर्थिक वर्षको वित्तीय विवरण असारपछि राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्छन् । राष्ट्र बैंकले पुँजी कोष कायम नगरेको भेटेमा लाभांशमा रोक लगाउने गरेको छ । अन्य ५५ वटा लघुवित्त वित्तीय संस्थाहरूले भने पुंँजीकोष सम्बन्धीे निर्देशनको पालना गरेको देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरूको पुँजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको छ राष्ट्र बैंकको भनाइ छ । य २०८० पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.३२ प्रतिशत र १२.६० प्रतिशत छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी २.७८ प्रतिशतले र जोखिम भारित सम्पत्ति २.३७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः २.२३ प्रतिशत र १.०७ प्रतिशतले बढेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरु सबल र सुरक्षित छन्, हल्लाको पछि नलाग्नू : सीबीफीन
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले सबै बैंक तथा वित्तीय संस्थाहरु सबल र सुरक्षित रहेका धारणा राखेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध फैलिएको अफवाह, आशंका र अविश्वास बढाउने गरी आएका समाचारहरुमा ध्याकर्षण गराउँदै परिसंघले उक्त अफवाहहरुमा नलाग्न सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरेको हो । २०८० पौष मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल ग्राहस्थ उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा संजाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सबल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम नभएको परिसंघले जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्थाहरु सबल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरु पालना गर्दै आएका छन् । त्यस्तै, बैंक तथा वित्तीय संस्था संचालन सम्बन्धी ऐन २०७३ तथा सो ऐन बमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम संचालन हुँदै आएका छन् । अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमितरुपमा सुपरिवेक्षण तथा अनुगमन भइ विभिन्न निर्देशन जारी हुने र सो को परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानून बमोजिम आवश्यक कारबाही हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु जस्तै क्यापिटल एडिक्वेसी रेसियो, लिक्विडिटी रेसियो, सीडी रेसियो, क्यास रिजर्भ रेसियो लगायतका विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरुको सम्बन्धमा नियममितरुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून बमोजिम कारबाही हुन्छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षण गरिएको हुन्छ । साथै, परिसंघले केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका बारेमा बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
भिसिटिएस दर्ता बिना सामग्री आपूर्ति गर्नेलाई कारबाही बढाउँदै राजस्व अनुसन्धान विभाग
काठमाडौं । राजस्व अनुसन्धान विभागले माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटीएस)मा दर्ता नगरी सामग्री आपूर्ति गर्ने व्यवसायीलाई कारबाही गर्ने प्रकृयालाई तिव्रता दिएको छ । विभागले गत आर्थिक वर्षको तुलनमा चालु आर्थिक वर्षको ७ महिनामा भिसिटिएसमा दर्ता नगरी सामग्री आपूर्ति गर्ने व्यसायीलाई बढी संख्यामा कारबाही गरेको हो । विभागले चालु आर्थिक वर्षको ७ महिना अर्थात् माघ मसान्तसम्म भिसिटिएस दर्ता नगरी सामग्री आपूर्ति गर्ने ७८३ जना आपूर्तिकर्तालाई जरिवाना तिराएको छ । उनीहरुलाई विभागले ३ करोड ८ लाख ७० हजार रुपैयाँ जरिवाना तिराएको जनाएको छ । विभागले गत आर्थिक वर्ष भरीमा भने भिसिटिएस दर्ता नगरी सामग्री आपूर्ति गरेका ४२७ जना आपूर्तिकर्तालाई कारबाही गरेको थियो । उनीहरुमार्फत विभागले २ करोड ५४ लाख रुपैयाँ बराबरको जरिवाना असुल गरेको थियो । विभागका सूचना अधिकारी नवराज अधिकारीले भिसिटिएस दर्ता गरेर सामग्री आपूर्ति गर्दा तुलनात्मक रुपमा भन्सार छल्ने सम्भावना कम हुने र व्यावसायिक पारदर्शिता बढ्ने बताएका छन् । उनले व्यवसायीले एकपटक भिसिटिएस दर्ता नगरी सामग्री आपूर्ति गर्दा विभागले ५० हजार रुपैयाँ सम्म जरिवाना तिराउने गरेको बताए । विभागका अनुसार हालसम्म २ लाख ३३ हजार व्यवसायी तथा आपूर्तिकर्ताहरु भिसिटिएस प्रणालीमा जोडिएका छन् ।
कामना सेवा विकास बैंकमा भिडियो केवाईसीमार्फत अनलाईन खाता खोल्न सकिने
काठमाडौं । कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत अनलाईन खाता खोल्न सकिने भएकाे छ । बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको हाे । बैंकका अनुसार उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने छैन । अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएतापनी ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो । उक्त प्रविधिलाई थप परिष्कृत बनाउदै ग्राहकहरुले अनलाईन खाता खोल्ने क्रममा बैंक प्रतिनिधीसँग आफुलाई पायक पर्ने समय तय गरेर वा अनलाईन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने सकिने छ । यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म www.digiaccount.kamanasewabank.com मार्फत् खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ । बैंकले यो व्यवस्था ल्याएसंगै स्वदेश तथा विदेशमा रहेका ग्राहकहरुले आफु अनुकुल विभिन्न प्रकारका खाता खोल्न सकिने भएको छ । बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आफ्नो खाता खोलेर डिम्याट, मेरो सेयर लगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले अनलाईन खाता खोल्ने प्रकृयाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ । उक्त भिडियो बैंकको वेभसाईट तथा अन्य सामाजिक संजालमा राखिएको बैंकले जनाएको छ । डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ संजाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आईरहेको छ ।
बैंकिङ कसुर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी गर्नेलाई धमाधम पक्राउ गर्दै प्रहरी
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको छ । विभिन्न समयमा विविध बहाना बनाएर लिएको रकम नतिर्ने तथा विदेश पठाइदिन्छु भन्दै रकम लिएर विदेश नपठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न थालेको हो । बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका पीडक पक्राउ अभियान सुरु गरिएको महिनादिनमै सातजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । ‘पीडितले दिएको जाहेरीको आधारमा आरोपितलाई विभिन्न ठाउँबाट पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ । उनीहरुले पीडितबाट एक लाख २५ हजारदेखि ३५ लाख २५ हजारसम्म ठगी गरेको पाइएको छ’, उनले भने, ‘पक्राउ परेकामध्ये केहीले सम्बन्धित व्यक्तिलाई आफूले लिएको पैसाको साँवा/ब्याज फिर्ता गरेका छन् । फिर्ता गर्न नसकेकालाई पुर्पक्षका लागि जिल्ला कारागार पठाउनेछौँ ।’ गत पुस १७ गतेदेखि माघ मसान्तसम्ममा विभिन्न ठाउँबाट पक्राउ परेका आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको जनाइएको छ । पक्राउ पर्नेमा बैङ्किङ कसूरसम्बन्धी ठगीको आरोपमा छ जना र वैदेशिक रोजगारसम्बन्धी ठगीको आरोपमा एकजना रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिइन् । बैंकिङ कसूरसम्बन्धी ललितपुर महानगरपालिका–१४ थसिखेल निवासी सुनिता खड्कालाई गत पुस १७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्काले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी निर्मला भुजेलको रु ३५ लाख २५ हजार रकम विभिन्न बहानामा ठगी गरेको पाइएको छ । खड्काले आफूले लिएको रकम फिर्ता गर्न तथा धरौटी रकम बुझाउन नसकेपछि माघ–३ गते पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ । सस्तोमा घडेरी दिलाइदिन्छु भन्दै ठगी गर्ने खड्कालाई अदालतले रु दश लाख धरौटी तोकेको छ । यस्तै, युवराज बस्नेतको जाहेरीले गत माघ–९ गते काठमाडौँ महानगरपालिका–७ काठमाडौँबाट पक्राउ परेका कल्याण खत्रीलाई बैङ्किङ कसूरसम्बन्धीकै अर्को मुद्दामा बिहीबार गौशाला पठाइएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ । आरोपित कल्याणले बस्नेतको रु चार लाख २० हजार रकम लिएर फिर्ता नगरेको जनाइएको छ । बस्नेतकै जाहेरीको आधारमा कल्याणका बुबा मोहनकुमार खत्रीलाईसमेत प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते नवलपारासीको सुनवल नगरपालिका–१२ भूमहीबाट पक्राउ परेका मोहनकुमारले समय समयमा विभिन्न व्यक्तिबाट रु तीन करोड ४० लाख रकम लिएर फिर्ता नगरेको जनाइएको छ । दिक्तेलस्थित प्रहरी हिरासतमा रहेका मोहनकुमारलाई जिल्ला अदालत खोटाङको प्रक्रिया पूरा गरेर झापाको बिर्तामोड पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । मोहनकुमारविरुद्ध विर्तामोडबाट ठगी मुद्दासम्बन्धी नै पक्राउ पुर्जी आएको जनाइएको छ । पक्राउ परेकामध्ये मोरङको बेलबारी नगरपालिका–१ बेलबारीका सुवास न्यौपाने र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ छोरम्बुस्थित याङ्सोलाका चण्डीकुमार राईले रकम फिर्ता गरेको प्रनाउ खड्काले जानकारी दिए । खगेन्द्र राईको जाहेरीले गत पुस १९ गते पक्राउ परेका न्यौपानेले रु १५ लाख तथा समिर राईको जाहेरीले माघ १६ गते पक्राउ परेका चण्डीकुमारले रु एक लाख २५ हजार रकम फिर्ता गरेका हुन् । यस्तै, युवराज आचार्यको जाहेरीले गत माघ २७ गते पक्राउ परेका सिन्धुली जिल्लाको दूधौली नगरपालिका–११ राजावास बस्ने उपेन्द्र साह सुरीले रु दुई लाख ३४ हजार पाँच सय ५० ठगी गरेको जनाइएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित तालखर्क घर भई भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्दै आएका प्रेम पुरी पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ईन्द्रबहादुर खड्का ‘माइकल’ सहित छ जनाको जाहेरीमा गत माघ २१ गते पक्राउ परेका पुरीले रु आठ लाख ९५ हजार ठगी गरेको आरोप छ । विभिन्न समयमा विदेश पठाइदिन्छु भन्दै धरौटीबापत लिएको रकम फिर्ता नगरेपछि कारबाहीको लागि प्रहरीमा उजुरी दिएको माइकलले बताउनुभएको छ । पक्राउ परेका पुरीलाई हिरासतमा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी वैदेशिक रोजगारसम्बन्धी ठगीका घटना बढिरहेको पाइएको छ । विदेश पठाउने नाममा ठगी गर्ने एजेन्ट जिल्ला बाहिरका हुँदा ठगी वापतको रकम फिर्ता गराउन समस्या हुने गरेको सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोषकुमार राईले जानकारी दिनुभएको छ । यसैबीच, फरार प्रतिवादी पक्राउ अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले गत साउनदेखि हालसम्म ९८ जनालाई पक्राउ गरिसकेको जनाइएको छ । अभियानका क्रममा ३० वर्षअघिदेखि फरार रहेका प्रतिवादीसमेत पक्राउ गरिएको प्रनाउ खड्काको भनाइ छ । रासस