काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले सहकारीका सञ्चालक भागे जस्तै जलविद्युतका लगानीकर्ता भाग्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सो अभिव्यक्ति दिएका हुन् ।
‘सहकारीका संचालक भागे जस्तै जलविद्युतका लगानीकर्ता भाग्नु पर्ने स्थिति आउँदैछ । जलविद्युत लगानीकर्ताले बिजुली उत्पादन गर्ने कि भाग्दै हिड्ने ?’ उनले भने ।
जलविद्युत आयोजना निर्माणको लाइसेन्स लिँदा नीति नियम अनुसार लिए पनि पछिल्लो समय हाइड्रो क्षेत्रमा काम गर्दा अनेक झंझट खेप्नु परेको उनको गुनासो छ ।
‘जलविद्युत आयोजना बनाउदा जग्गाको मूल्य ५ प्रतिशत बढेको छ । काठमाडौको जग्गाको मूल्य भन्दा महंगो मूल्यमा जग्गा खरिद गर्नु परेको छ,’ उनले भने ।
उर्जा व्यवसायीहरुले देशलाई उर्जामय बनाउन कामहरू गरिरहेको बताउँदै उनले राज्यको लक्ष्य पुरा गर्न धेरै चुनौती खेप्नु परेको बताएका छन् । संसारभरका लगानीकर्तालाई अबको लगानी गर्ने क्षेत्र उर्जा हो र उर्जा भएपछि मात्र अन्य क्षेत्रको विकास हुन्छ भन्दै जनचेतना फैलाउँदै यस क्षेत्रमा लगानी गर्न आवश्यक रहेको उनको भनाई छ ।
साथै, उर्जा व्यवसायीहरुले जलविद्युत आयोजना निर्माण गर्दा वातावरणलाई जोगाएर काम गरिरहेका समेत उनले जानकारी गराएका छन् ।