विकासन्युज

आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने

काठमाडौं । राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण समितिले आगामी आर्थिक वर्ष (आव)मा ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । समितिले आगामी तीन वर्षको आर्थिक वृद्धिको अनुमान गर्दै आगामी आवको ६ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको हो । त्यस्तै, सामितिले आव २०८२/८३ मा साढे छ प्रतिशत र आव २०८३/८४ मा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको छ । आगामी तीन आर्थिक वर्षको राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण भएसँगै आयोगले सबै संवैधानिक निकाय, विषयगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा सङ्घीय सञ्चित कोषबाट व्ययभार हुने निकायका लागि आगामी तीन आर्थिक वर्षको खर्चको सीमा तथा स्रोतसँगै मध्यमकालीन खर्च संरचनाको खाका तथा बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाइसकेको छ । आगामी आवको वार्षिक कार्यक्रम तथा बजेट र त्रिवर्षीय मध्यकालीन खर्च संरचना तर्जुमाको लागि समष्टिगत तथा विषय क्षेत्रगत खर्चको सीमा निर्धारण तथा स्रोत अनुमान तयार गर्दा विभिन्न विषयवस्तुलाई प्रमुख आधारको रूपमा लिएको छ । नेपालको संविधानमा उल्लेखित मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू, आगामी सोह्रौँ योजनाका सोच, उद्देश्य, समष्टीगत तथा रूपान्तरणकारी रणनीति र प्रमुख हस्तक्षेपकारी कार्यक्रमहरू, नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ तथा चालू वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमका निरन्तरता दिनुपर्ने र राष्ट्रिय प्राथमिकताका कार्यक्रमहरू रहेका छन । त्यस्तै, समितिले आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सीमा तोकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि रु १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ ले स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको पूर्वानुमान चालू आवको माघ मसान्तभित्रमा गरिसक्नुपर्ने व्यवस्था ऐनमा छ । मध्यकालीन खर्च संरचनाको अनुमान गर्दा आव २०८२/८३ का लागि २१ खर्ब र आव २०८३/८४ का लागि २४ खर्ब ५५ अर्ब बराबर खर्चको सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्रालयले भने चालु आर्थिका वर्षको आम्दानी र खर्चको अनुमान घटाएको छ । चालु आवमा विनियोजित बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने मन्त्रालयले अनुमान गरेको छ । चालु आवको कूल १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटमध्ये मन्त्रालयले १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च अनुमान गर्दै पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८.१३ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको छ । सरकारले चालु आवको बजेटमा ६ प्रतिशतले आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो । तर, अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आवमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै हुने अनुमान सार्वजनिक गरेको छ ।

पहिलो आमनिर्वाचनका उम्मेदवार उप्रेती भन्छन् : राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो

काठमाडौं ।  विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार रहेका नेता भरत उप्रेतीको वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताएका छन्  । भ्रष्टाचार मुक्त नभएसम्म देश समृद्ध नहुने उल्लेख गर्दैै उनले देश र जनताका लागि राजनीतिक नेतृत्वले त्याग गर्न सक्नुपर्ने सुझाव दिए । ‘आफैँ खाऔँ आफैँ मोटाऊ भन्नेतिर लाग्नुहुँदैन । एकजुट भएर सबै देश बनाउन लाग्नुस्’, उनले भने । प्रजातन्त्र दिवसका अवसरमा रासससँग कुरा गर्दै उनले सबै पार्टीका नेतृत्वलाई कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंहको सिद्धान्त र जीवनसङ्घर्षलाई आत्मसात् गरेर बाटो बिराएको भए पुनर्विचार गर्न आग्रह समेत गरे । सबै नागरिकले सुख शान्तिसँग जिउन पाए मात्र प्रजातन्त्र दिगो हुने नेता उप्रेतीको धारणा छ । विसं १९८८ मा धादिङ नौबिसेमा जन्मिएका नेता उप्रेती ११ वर्षको हुँदा अध्ययनका लागि काठमाडौँ आएका थिए । एसएलसी परीक्षा दिने तयारीमा रहेका बेला २००६ सालमा गुरु नरहरि दवाडीले आफ्नो निवास जैसीदेवलमा ट्युसन पढाउने क्रममा पहिलोपटक प्रजातन्त्रका बारेमा जानकारी गराएको उनले बताए । नेता उप्रेतीले भने, ‘कांग्रेसका संस्थापक नेताहरू बीपी र गणेशमानजी कसरी र किन निर्वासनमा जानुभयो, भनेर जानकारी गराउनुका प्रजातन्त्रको सङ्घर्षका बारेमा सुनाउनु भएपछि तत्कालीन शासकबाट मुलुकमा अन्याय भएको रहेछ भन्ने दिमागमा पर्‍यो । त्यसपछि हाम्रो भेट दयाविर सिंहसँग भयो । उनले हामीलाई प्रजातन्त्रका बारेमा धेरै सिकाउने र प्रजातन्त्रको आन्दोलनका काममा लगाउनुभयो ।’ विसं २००७ देखि केही साथीसहित आफूहरू प्रजातन्त्रको आन्दोलनका क्रममा पम्पलेट र अन्य सामग्री आदानप्रदान गर्ने क्रममा भूमिगत भएको जानकारी गराउँदै उनले  राजा त्रिभुवन भारत निर्वासनमा जाँदा आफूहरू खुला राजनीतिमा आएको र प्रजातन्त्रका पक्षमा नारा लगाएको स्मरण गरे । राजनीतिमा कहिलेदेखि कसरी प्रवेश गरे भन्ने जिज्ञासामा उनले मुलुकमा प्रजातन्त्र स्थापनासँगै कांग्रेसबाट राजनीति प्रवेश गरेको जानकारी दिए । जैसीदेवलमा रहेकोे कांग्रेसको केन्द्रीय कार्यालयमा नेता कृष्णप्रसाद भट्टराईले पार्टी सदस्यता दिएर पार्टी सङ्गठन बनाउन लागेको उनको भनाइ छ । “त्यसपछि बीपी र गणेशमानजीसँग भेट हुन थाल्यो, बीपीले मलाई धाप मार्दा गर्वानुभूति भयो, भेटघाटका लागि गणेशमान सिंहको घरमा नियमित गइन्थ्यो”, उनले भने । त्यसपछि उहाँ २०१७ सालदेखि विभिन्न समयमा गरी २०५३ सालसम्म धादिङ कांग्रेसको नेतृत्वको जिम्मेवारी निर्वाह गरे । राजनीतिकै क्रममा विसं २०१५ मा सम्पन्न निर्वाचनमा नेता उप्रेतीले धादिङ तत्कालीन १०४ क्षेत्र नं मा कांग्रेसबाट टिकट पाए । तर सो क्षेत्रबाट गोर्खा परिषद्का भारतशम्शेर राणा निर्वाचित भए । नेता उप्रेतीले पाँच हजार मत पाए भने राणाले छ हजार मत प्राप्त गरेका थिए । पहिलो आमनिर्वाचनपछि बनेको बीपी नेतृत्वको सरकारले क्रान्तिकारी र ऐतिहासिक काम गर्दागर्दै राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेको उनले बताए । नेता उप्रेतीले पुस १ गतेको ‘कु’ भएको दिन आफू धादिङको बेनीघाटमा शोसक सामन्तीलाई अन्त्य गर्ने ठुलो आमसभामा रहेको स्मरण गरे । त्यसपछिको राजनीतिक यात्राका बारेमा स्मरण गर्दै उनले भने, ‘राजा महेन्द्रले राजनीतिक कु गरेको थाहापछि विभिन्न स्थानमा लुक्दै भाग्दै सङ्घर्ष गर्दै १० वर्ष भारत निर्वासनमा बसेको जानकारी दिए । विसं २६ सालमा राजनीतिक केही खुकुलो भएपछि नेपाल फर्किनुभएका नेता उप्रेतीले त्यसपछि राजनीतिमा अझ बढी सक्रिय भएको उल्लेख गरे । “बीपी उपचारका लागि जेटबाट छुटेपछि उहाँ र गणेशमानसँग नियमित भेट हुन्थ्यो । बीपी मेरो निवासमा आउने, खाना खाने गर्नुहुन्थ्यो’, नेता उप्रेतीले उल्लेख गरे । सोही अवसरमा उनले नेता किसुनजीले वर्तमान पार्टी सभापति शेरबहादुर देउवामा कांग्रेस र मुलुकलाई हाक्ने क्षमताको नेतृत्वपन देखेर तत्कालीन बेलायती राजदूतलाई भनेर अध्ययनका लागि बेलायत पठाएको जानकारी गराए । साथै नेता उप्रेतीले काठमाडौँमा भएको एक बम काण्डका बेला देउवासँगै आफू जेलमा रहँदा उनले क्रूर यातना सहेर पनि देखाएको हिम्मतबाट आफू निकै प्रभावित भएको र प्रशंसक रहेकोसमेत बताए । आज फागुन ७ देखि सुरु हुन लागेको कांग्रेसको महासमिति बैठकलाई शुभकामना सन्देश दिदै उनले पार्टीमा गुटउपगुट नगरी एकताका साथ मिलेर अघि बढ्न आग्रह गर्दै पार्टीलाई कमजोर हुने कुनै पनि काम नगर्न सबै नेता कार्यकर्तालाई आग्रह गरे । हाल काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आएका नेता उप्रेती प्रजातन्त्र पुनःस्थापनापश्चात २०४८ सालमा पनि धादिङबाट कांग्रेसको उम्मेदवार भएका थिए तर उनी वियजी हुनसकेनन् । प्रजातन्त्रको आन्दोलनमा लागेका कारण नेता उप्रेतीलाई तत्कालीन शासकले दुई पटक सर्वसहरणसहित जन्मकैदको फैसला सुनाएको थियो  । रासस

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । आईतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकरुको विद्युत महशुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ समितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको बताइन् । बैठकले सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिहरुको अपांगता प्रतिशत निर्धारुण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी २ महिनाभित्र परिमार्जित मस्यौदा पेश गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । त्यस्तै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति एलपीआर लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाउने, राष्ट्रिय प्रशारण १२ औं संशोधन नियमावली, २०८० स्वीकृत गर्ने, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ ।

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं । सोमबार देशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पश्‍चिमी वायु केही बलियो देखिँदा कर्णाली र सुदूरपश्‍चिममा थोरै तथा बाँकी पहाडी भेगका १(२ स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने पूर्वानुमान छ। सुदूरपश्‍चिमका थोरै तथा बाँकी पहाडी भेगका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, सुदूरपश्‍चिम, कर्णाली र गण्डकीका उच्च पहाडी र हिमाली भेगका थोरै तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमलगायत देशको पहाडी भेगमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्‍चिम र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम तथा लुम्बिनीलगायत देशका बाँकी पहाडी भेगका १(२ स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै, सुदूरपश्‍चिम र कर्णालीका उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम, गण्डकीका उपल्लो भेगका थोरै र बाँकी उच्च पहाडी र हिमाली इलाकाका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता पुरीलाई ४ करोड बढी जरिवाना

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल कम्युनिनष्ट पार्टी (माओवादी केन्द्र) का नेता रेवतराज पुरी (गगन) लाई चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज सजाय निर्धारण गरी नेता पुरी र निजकी श्रीमती सीमा भनिने केशावती पुरीलाई चार करोड तीन लाख ३४ हजार आठ सय ९४ रुपैयाँ जरिवाना सुनाइएको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अभियोगपत्रमा जफत गर्न भनी दाबी गरिएको सम्पत्तिबाट बिगो बराबरका सम्पत्ति जफत हुने फैसला भएको जानकारी दिए । प्रतिवादी बनाइएका मनमाया पुरी र देवकुमार पुरीलाई अदालतले सफाइ दिएको छ भने कृष्णकुमारी पुरी र सङ्गीता पुरीको नामको जग्गा जफत नहुने फैसला गरेको छ । झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

सगरमाथा क्षेत्र घुम्न आउने पर्यटक बढे, व्यवसायी उत्साहित

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । चिसोका कारण हिउँदमा केही महिना पर्यटक आवागमन प्रायः ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु भएको हो । पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्यांकअनुसार अहिले दैनिक ५० देखि ६० जनासम्म विदेशी पर्यटक खुम्बु प्रवेश गरिरहेका छन् । फागुन लागेसँगै पर्यटक आवागमनमा वृद्धि भइरहेको पर्यटक प्रहरी इन्चार्ज प्रहरी हबल्दार शंकर खत्रीले जानकारी दिए । उनले भने, ‘सगरमाथा क्षेत्रमा विदेशीको चाप बढिरहेको छ ।’ उनका अनुसार पर्यटक आगमनसँगै घरबास, होटल बन्द गरेर न्यानोस्थलमा गएका उद्यमी तथा होटल व्यवसायी पनि काममा फर्केका छन् । ‘सगरमाथा क्षेत्र विदेशीमय हुन थालेको छ, अब सिजन सुरु भयो र मौसम पनि अनुकूल भएकाले व्यवसाय वृद्धि पनि अपेक्षा गरिएको छ,’ स्थानीय तोयाकुमार श्रेष्ठले भने । ‘विदेशी धमाधम आउन थाले, तर यो वर्ष दुःखको कुरा डाँडा आसपासका क्षेत्र सुक्खा छन्, खासै हिउँ परेन । हिउँ परेको भए पर्यटक दङ्ग पर्थे,’ उनले भने । यस क्षेत्रमा सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरा छन् । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुगजस्ता पक्षी पाइन्छन् । सगरमाथा क्षेत्रमा आउने पर्यटकले यहाँको दृश्यावलोकन, वन्यजन्तुको अवलोकनलाई प्राथमिकतामा राखेर भ्रमण गर्ने गरेका छन् । लुक्लाको हवाई सेवामा चाप खुम्बु क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई यात्रुको चाप वृद्धि भएको छ । काठमाडौंबाट सगरमाथा क्षेत्र आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढेसँगै काठमाडौं–लुक्लाको जहाजमा यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका एअर ट्राफिक कन्ट्रोलर सञ्जय श्रेष्ठका अनुसार काठमाडौंबाट अहिले दैनिक १० देखि १२ उडान भइरहेका छन् । रामेछापबाट हेलिकप्टर चार्टर गरेर पनि पर्यटक आउने गरेका छन् ।

बेनी-दरवाङ-ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

म्याग्दी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दी-बागलुङ-पुर्वी रुकुम जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा म्याग्दीबाट निर्वाचित सांसद खमबहादुर गर्बुजाले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रक्रिया अघि बढेको जानकारी दिए । ‘बेनी–दरवाङ–ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘साथै म्याग्दीलगायत हिमाली जिल्लाले राज्यबाट विशेष सहुलियत पाउनुुपर्छ भन्नेमा सरकार सकारात्मक रहेको जानकारी गराउँदछु ।’ सांसद गर्बुजाले २०७६ सालमा म्याग्दीलाई नेपालको २१औं हिमाली जिल्लामा सूचीकृत गरे पनि स्थानीय तहले पाउने बजेट, यहाँका नागरिक र कर्मचारी, सेना, प्रहरीले सुविधा पाउन नसकेको, मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–ढोरपाटन सडक ओझेलमा परेको र सेवानिवृत्त ब्रिटिस गोर्खा सैनिकको समस्यामा विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । भौगोलिक रूपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रुपमा राष्ट्रिय महत्व राख्ने बेनी–दरवाङ–ढोरपाटन सडकको म्याग्दीतर्फ थप १९ किलोमिटर मार्ग खोल्न बाँकी छ । काठमाडौं र पोखरादेखि बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने यो छोटो दुरीको सडक भएको सांसद गर्बुजाले बताए । बेनीदेखि मुना हुँदै खोरीयासम्म ५० किलोमिटर सडकको मार्ग खुलिसकेको र ढोरपाटनदेखि जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । ‘बेनीदेखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्य पहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दुरी छोटिन्छ,’ उनले भने, ‘पूर्वी रुकुमको टकसेरादेखि ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।’ १९ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र संघीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । म्याग्दीका सरोकारवालाले खोरिया पुगेको सडकलाई ढोरपाटन हुँदै पूर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा यो सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पूर्वी रुकुमका जनप्रतिनिधिसँग छलफल र पहल थालेका छन् । गण्डकी प्रदेश सरकारले बेनी–दरबाङ–धारापानी–ताकम–मुनासम्मको सडक कालोपत्र गर्ने र मुनादेखि जलजला हुँदै ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिएर संघीय सरकारलाई सिफारिस गरेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए । सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उनको भनाइ छ । ‘म्याग्दी हुँदै ढोरपाटन पुगेर बुर्तिबाङ हुँदै लुम्बीनी र पोखरा पुग्ने पर्यटन मार्ग पनि बन्ने भएकाले यो सडकलाई प्रदेशको महत्वपूर्ण योजनामा समेटेका छौँ,’ उनले भने, ‘बेनीदेखि दरवाङ हुँदै धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडक कालोपत्र गर्ने योजना अघि बढेको छ । ढोरपाटनलाई सडकले जोड्ने योजनाका लागि संघीय सरकारलाई प्रस्ताव गरेका छौं ।’ प्रदेश सरकारमार्फत बेनीदेखि मङ्गला गाउँपालिका–२ सिमसम्म १२ किलोमिटर सडक कालोपत्र भइसकेको छ । सिमदेखि लाम्पाटा–४ किलोमिटर र लाम्पाटादेखि दरवाङको आठ किलोमिटर सडक कालोपत्र गर्न सञ्चालित योजना निर्माणले तीव्रता पाएको छ । दरवाङदेखि धारापानीसम्म सात किलोमिटर सडक ग्राभेल भएको छ । दरवाङ–मुना जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न रु एक अर्ब ६६ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको धवलागिरि गाउँपालिकाले जनाएको छ । विसं २०६४ मा मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक विसं २०७४ देखि स्तरोन्नतिको काम थालिएको थियो । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले चासोका साथ हेरिएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन तथा योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ । रासस