विद्युतीय ट्याक्सीमा भन्सार छुट हुनुपर्ने माग गर्दै व्यवसायी (फोटो फिचर)
काठमाडौं । ट्याक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् । आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय सरकारले लिएको भन्दै उनीहरुले त्यसको विरोधमा बुधवार काठमाडौंको तीनकुनेमा र्यालीसहितको विरोधसभा आयोजना गरेका हुन् । १० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय ट्याक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरुले बिरोधको कार्यक्रम शुरु गर्नुपरेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले बताए । उनले एक भारतीय कम्पनीको सेटिङमा सरकारले विद्युतीय ट्याक्सी खरिद गर्ने निर्णय गरेर आफूहरुको बिचल्ली बनाएकाले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए । संघर्ष समितिले विद्युतीय ट्याक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ । उनीहरुले नेपाली पहिचान हुने गरी इम्बोष्ट नम्बर प्लेटको व्यवस्था गर्न, इन्स्योरेन्समा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् ।
सरकारविरुद्ध ट्याक्सी व्यवसायीको प्रदर्शन, विद्युतीय टयाक्सीमा भन्सार छुट हुनुपर्ने माग
काठमाडौं । ट्याक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् । आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय सरकारले लिएको भन्दै उनीहरुले त्यसको विरोधमा बुधवार काठमाडौंको तीनकुनेमा र्यालीसहितको बिरोधसभा आयोजना गरेका हुन् । १० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरुले बिरोधको कार्यक्रम शुरु गर्नुपरेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले बताए । उनले एक भारतीय कम्पनीको सेटिङमा सरकारले विद्युतीय टयाक्सी खरिद गर्ने निर्णय गरेर आफूहरुको बिचल्ली बनाएकाले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए । संघर्ष समितिले विद्युतीय टयाक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ । उनीहरुले नेपाली पहिचान हुने गरी इम्बोष्ट नम्बर प्लेटको व्यवस्था गर्न, इन्स्योरेन्समा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् । संघर्ष समितिका संयोजक थापाले भने, ‘जो एकाधिकार सिन्डीकेटबाट आर्थिक चलखेल गरी जुन खालको निर्णय भयो । टाटा कम्पनीको गाडीमा निजीले किन्दा त्यो गाडीको दाम ३० लाख र हामी ट्याक्सी स्वरोजगार मजदुरले जो २० वर्षदेखि एउटा ट्याक्सी चलाएर डोर टू डोर सेवा दिने मजदुरमाथि घोर अन्याय गरेर ७ लाख बढी लिएर ३७ लाख तिर्नुपर्ने भएको हुँदा आज ३५ सय टयाक्सीहरुको भविष्य अन्योलमा बनाएर यी मजदुरहरुलाई बिस्थापित गराउने जुन खालका षड्यन्त्र गर्यो । हाम्रो माग भनेका इभी टयाक्सीको बिरोध होइन, यसलाई भन्सार छुटमा देउ भन्ने माग हो । कार्यदल बनाएर सरकारले यो माग पूरा नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ टयाक्सी व्यवसायीहरुले स्वस्थ प्रतिष्पर्धाको आधारमा टयाक्सी खरिद गर्न पाउनुपर्नेतर्फ पनि सरकारको ध्यानकर्षण गराएका छन् ।
लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन् । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाए । प्रधानमन्त्री दाहालले भने, ‘विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो तर पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ । यसमा कतिपय परिस्थितिजन्य अप्ठ्यारा र कतिपय सञ्चालकको बेइमानी जिम्मेवार रहेको छ, सोही बमोजिम समस्या समाधानमा पुगिनेछ ।’ उनले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लो समय यो क्षेत्र सङ्कटग्रस्त हुँदै गएको उल्लेख गर्दै सरकारले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताए । प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक समस्या समाधानका पहल गर्नु सबैको साझा जिम्मेवारी भएको बताए । छलफलमा पीडित पक्षका प्रतिनिधिले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारका तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । रासस
धम्की दिई ५० लाख माग्ने कैलाली र नुवाकोटका दुई जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई ५० लाख रुपैयाँ माग गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका-१ बस्ने ३६ वर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका-३ बस्ने ३६ वर्षीय नरहरि ढुङगाना उपनाम रमेश रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनले भने, ‘केही व्यक्तिले योजनाबद्ध तरिकाले पीडितलाई पटक-पटक फोनमार्फत तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ५० लाख रुपैयाँ माग गरेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले चन्द्रगिरि नगरपालिका-९ मच्छेगाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।’ पक्राउ परेकाहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि मङ्गलबार जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको र निजहरुका साथबाट प्रहरीले मोटरसाइकल (सु.प.प्र.-०१००९ प ६६१) एक थान, विभिन्न कम्पनीका मोबाइलहरु चार थान तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सहयोग रसिद एक ठेली बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए । रासस
वर्षेनी घट्दै बैंकको लाभांश, बैंकर भन्छन् : अब अधिकांशले प्रतिफल नदिन सक्छन्
काठमाडौं । कुनै समय वाणिज्य बैंकमा लगानीकर्ताहरूको निकै आकर्षण थियो । बैंकको सेयर खरिद गर्न लगानीकर्ताहरू तछाडमछाड नै गर्थे । किनभने बैंकहरूको प्रतिफल उच्च थियो । कुनै बैंकको लाभांश १४० प्रतिशतसम्म पनि थियो । तर, समय बदलिएको छ । पछिल्लो समय वाणिज्य बैंकहरूको सेयरको भ्यालू अंकित मूल्यमा झरेको छ । विगतमा लाभांश उच्च हुँदा बैंकको सेयर मूल्य पनि उच्च थियो । तर, पछिल्लो समय लाभांशदर घटेपछि बैंकको सेयर मूल्य पनि नगण्य छ । अघिल्लो वर्षहरूको तुलनामा पछिल्लो समय वाणिज्य बैंकहरूको लाभांश दर घट्दै गएको छ । गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, सिटिन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय बाणिज्य बैंकले लाभांश वितरण गरेका छन् । प्रभु बैंक, नेपाल बैंक, कुमारी बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंक, प्राइम बैंक, एनएमबि बैंक र हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्न सकेनन् । आर्थिक वर्ष २०७८/७९ मा साविक नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत र साविक मेगा बैंकले ७.७९ प्रतिशत लाभांश बाँडेका थिए । यस्तै, साविक प्रभु बैंकले ८ प्रतिशत र साविक सेञ्चुरी बैंकले ५ प्रतिशत, साविक कुमारी बैंकले १२.५ प्रतिशत र साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले ११ प्रतिशत, साविक हिमालयन बैंकले १९.११ प्रतिशत र साविक सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, नेपाल बैंकले १२ प्रतिशत, कृषि विकास बैंकले १३ प्रतिशत, प्राइम कमसिर्यल बैंकले ४ प्रतिशत बोनस र ४.९५ प्रतिशत नगद गरी ८.९५ प्रतिशत र एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उल्लेखित सबै बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्न नसक्दा सेयरधनीहरू निराश बनेका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक र लक्ष्मी सनराइज बैंकले लाभांश वितरण नगरी सेयरधनीहरूलाई निराश बनाए । विगतमा बैंकहरूको लाभांश दरसँगै लाभांश नदिने बैंकको संख्या पनि बढेको छ । बैंकहरूले वितरण गरेको लाभांश दरलाई तुलना गर्दा गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट औसत १२.६६ प्रतिशत लाभांश वितरण गरेका छन् । जबकी अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा औसत १५ प्रतिशत लाभांश वितरण गरेका थिए । आर्थिक वर्ष २०७९/८० को नाफाबाट एनआईसी एशिया बैंकले ३०.५ प्रतिशत, एभरेष्ट बैंकले २०.५३ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत, सानिमा बैंकले १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, नेपाल एसबिआई बैंकले १०.५५ प्रतिशत लाभांश वितरण गरेका हुन् । यस्तै, नबिल बैंकले ११ प्रतिशत, ग्लोबल आइएमई बैंकले ९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ७.३७ प्रतिशत, सिटिजन्स बैंकले ५.७९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश वितरण गरे । पूर्व बैंकर अनलराज भट्टराई अर्थतन्त्रमा देखिएको संकुचनले बैंकको व्यवसायमा पनि असर गरेको र त्यसको प्रत्यक्ष प्रभाव लाभांशमा देखिएको बताउँछन् । बैंकिङ क्षेत्र बाहेकका अन्य क्षेत्र ठप्पजस्तै भएकाले त्यसको प्रत्यक्ष प्रभाव स्वतः बैंकिङ क्षेत्रमा परेको उनको भनाइ छ । ‘कोरोना महामारीको बेला कर्जा प्रवाह ८ सय अर्ब पुग्यो, जीडीपीको आकारभन्दा बढी कर्जा प्रवाह भयो । तर, अर्थतन्त्र बढेन । कर्जा प्रवाह उच्च भएपछि राष्ट्र बैंकले कडाइ गर्यो,’ उनले भने, ‘जब ग्रोथ फेजमा कुनै एउटा ठाउँबाट रोकिन थाल्छ, विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि आयातमा कडाइ गर्न थाल्यो, विभिन्न वस्तुहरूको आयात रोकेपछि राजश्वमा कमी आयो ।’ उनका अनुसार आर्थिक क्रियाकलाप ठप्प हुँदा उत्पादन, उपभोग तथा माग पनि कम भयो, उपभोग कम हुँदा कर्जा माग भएन, बैंकको पैसा कुनै व्यापार व्यवसायमा लगानी गरेर आय आर्जन भएपछि कर्जा भुक्तानी गर्ने हो । तर, उपभोक्ताको माग कम भएपछि व्यवसाय घट्न थाल्यो । जसको प्रभाव बैंकिङ क्षेत्रमा देखिन थालेको उनको भनाइ छ । उनका अनुसार सहकारी र लघुवित्त हुँदै बैंकिङ क्षेत्रमा समस्या परेको छ । ‘यो समय सधैं एकनाश रहँदैन, विस्तारै सहज अवस्था बनेर सुधार हुँदै जान्छ, अब रिकभरी हुँदैछ, अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक हुन थालेका छन्, मूल्य वृद्धि, ब्याजदर लगायत सबै घट्दो क्रममा छ,’ उनले भने, ‘अब विस्तारै माथि जान्छ, केही समय दबाब रहेपनि विस्तारै माथि बढ्दै जान्छ ।’ मर्जरका कारण बैंकहरूको लाभांश ध्वस्त नभएको उनी बताउँछन् । मर्जरपछि बैंकको आकार ठूलो भएपनि व्यवस्थापनमा समस्या रहेको उनको भनाइ छ । बैंक व्यवस्थापन गर्न बलियो आधार चाहिने उनले बताए । ‘बैंक व्यवस्थापनको लागि जोखिम बहन क्षमता बढाउनु पर्छ, बैंकको आकार ठूलो छ भनेर लगानी बढाउन मात्रै भएन, पुँजीलाई विविधिकरण गर्नुपर्छ । तर, बैंकिङ क्षेत्रलाई लगानीमा संकुचन गरेकाले दायरा बढाउनपर्छ,’ उनले भने । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक समते रहेका गोपाल खनाल नकारात्मक सन्देश बढी प्रवाह भएका कारण बैंकको व्यवासयमा धक्का लागेको बताउँछन् । साथै, मर्ज नभएका बैंकको लाभांश पनि घटेको उनको भनाइ छ । पछिल्लो समय बैंकिङ क्षेत्रविरूद्ध एकोहोरो आक्रमण भएकाले व्यवसाय खस्किएको उनले बताए । उनका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले पनि ठूलो असर गरेको छ । नेपालका व्यवसायीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सेयर बजार र घरजग्गा व्यवसायमा निर्भर रहेकाले सो क्षेत्र घटेका कारण समस्या आएको उनको भनाइ छ । ‘सेयर बजार र घरजग्गाको कारोबार खस्किएपछि बैंकको व्यवसाय पनि चलायमान हुन सकेन, ७० प्रतिशत लगानी बैंक र ३० प्रतिशत व्यवसायीहरू छन्, त्यसैले ७० प्रतिशत हिस्सेदार बैंक भएकाले समस्यामा परे, समग्र ब्यापार व्यवसाय कमजोर भएपछि बैंकको नाफा पनि कम भयो,’ उनले भने । उनका अनुसार अहिलेको स्थितिलाई हेर्दा अझै १/२ वर्ष बैंकहरूले लाभांश दिन सक्ने अवस्थामा छैनन् । बैंकको लगानीको क्षेत्र र व्यवसायमा राष्ट्र बैंकले कडाइ गरेका कारण केही वर्ष लाभांश दिन नसक्ने उनको भनाइ छ । ‘स्प्रेड दर ४ प्रतिशतमा झारिएको छ, ब्याजदर घटाउन दबाब छ, राष्ट्र बैंकले कडाइ गरेका कारण बैंकहरूले चाहेर पनि व्यवसाय विस्तार गर्न सकिहेका छैनन्, लगानी गर्न सकिरहेका छैनन्, बैंकको आकार ठूलो भइसक्यो,’ उनले भने, ‘एउटै व्यवसायीको अण्डरमा बैंक चलिरहेका छन्, १ सय जना ब्यापारीको लगानीमा बैंक नियन्त्रणमा छन्, जसले गर्दा बैंक र व्यवसायी दुईटै अफ्ठ्यारोमा छन् ।’ यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना पनि अब बैंकहरूलाई लाभांश वितरणमा समस्या पर्ने बताउँछन् । उनले पछिल्लो समय बैंकिङ क्षेत्र समस्यामा रहेकोले आगामी दिनमा लाभांश दरमा थप संकुचन आउने उनको भनाइ छ ।
निर्यातमा स्टिल अगाडि, यी हुन् अर्ब बढी निर्यात हुने वस्तु
काठमाडौं । वैदेशिक व्यापारमा आयातको तुलनामा नेपालको निर्यात अत्यन्तै न्यून रहेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष (आव)को ७ महिनामा नेपालले ९३ अर्ब ४३ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको विभिन्न वस्तुहरुको निर्यात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले कमि हो । कूल वैदेशिक व्यापारमा नेपालको निर्यातको हिस्सा ८.८२ प्रतिशत मात्रै रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४.४४ प्रतिशतले खुम्चिएको हो । तरपनि निर्यातकर्ताहरुले केही वस्तुहरु निर्यात भने अर्ब माथिको परिणाममा निर्यात गर्न सफल भएका छन् । चालु आवको ७ महिनामा नेपालबाट सबैभन्दा बढी फलाम तथा स्टिलको निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको माघ मसान्तसम्म नेपालले फलाम तथा स्टिल ९ अर्ब २९ करोड १ लाख ३२ हजार बराबरको निर्यात गरेको हो । त्यस्तै, सोही अवधिमा दोस्रो धेरै कफी तथा चिया जन्य वस्तुहरु ८ अर्ब ७ करोड ८९ लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । तेलजन्य वस्तुहरुका बीउ, विभिन्न अन्नजन्य वस्तुहरुका बीउ, औषधीजन्य बिरुवाहरु सो अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ७ हजार, भेजिटेबल प्लेटिङ सामग्री २ अर्ब १ करोड ६७ लाख ९३ हजार, बोसो तथा तेजन्य पदार्थ ४ अर्ब ३९ करोड ९७ लाख ३८ हजार, औद्योगिक खाद्य तथा पशुपंक्षीको लागि तयारी खाना ३ अर्ब ६७ करोड ४५ लाख १७ हजार र नुन/सल्फर/माटो/ढुंगा/प्लास्टरिङ सामग्री/सिमेन्ट लगायतका सामग्री २ अर्ब ११ करोड ५० लाख ६५ हजार रुपैयाँ बराबरको निर्यात विभागको तथ्यांकले देखाएको छ । सोही अवधिमा नेपाली उद्योगी तथा व्यवसायीहरुले फार्मेस्टिकल्स उत्पादनहरु १ अर्ब २५ करोड ४ लाख १९ हजार, १ अर्ब ९ करोड ९८ लाख २० हजार, काठका सामग्री तथा काठको कोइला ४ अर्ब ५६ करोड १२ लाख, तरकारीजन्य फाइबर कपडा/कागजको धागोको बुनेको कपडा ३ अर्ब २ करोड ५१ लाख ७८ हजार र मानिसहरुले बनाएका फिलामेन्ट तथा कपडा १ अर्ब ५६ करोड १५ लाख ९९ हजार रुपैयाँ बराबरको निर्यात गरेका छन् । विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा मानव निर्मित स्टेपल फाइबर ६ अर्ब ३४ करोड ६६ लाख २५ हजार, विशेष प्रकारको धागो/डोरीहरु २ अर्ब ७९ करोड ९३ लाख २२ हजार, कार्पेट र अन्य भुईं कभरिङ कपडा ६ अर्ब ६० करोड ७५ लाख ५३ हजार र कपडा तथा धागोजन्य सामग्री २ अर्ब ७४ करोड ४७ लाख २२ हजार बराबरको निर्यात भएको छ । त्यस्तै, तयारी नभएका कपडा तथा धागोजन्य सामग्री ४ अर्ब ६४ करोड ५९ लाख २४ हजार, कपडाका विभिन्न आइटम १ अर्ब ९४ करोड ५८ लाख ४० हजार र विभिन्न धातुका औजार १ अर्ब २३ करोड ३२ लाख ५२ हजार बराबरको निर्यात विभागको तथ्यांकले देखाएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बिदा भए वरिष्ठ डीसीईओ कमल गौतम
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) कमल गौतमले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट राजीनामा दिएको कम्पनीले बताएको छ । स्रोतका अनुसार उनको राजीनामा मंगलबारदेखि लागू हुने गरी स्वीकृत भएको छ । यसअघि उनी एभरेष्ट इस्यारेन्सका सीईओ थिए । एभरेष्ट र हिमालयन इन्स्योरेन्सबीच मर्जरपछि उनी वरिष्ठ डीसीईओ बनेका थिए ।
एनआईसी एशिया लघुवित्तले गर्यो वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्तले माघ महिनामा कोशी देखि सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका शाखाहरु (अमहीबेल्हा, गंजभवानीपुर, लक्ष्मीनीया, सखडा, कविलास, पाँचखाल, मिर्मी, सिरुबारी, चप्परगौडी, खजुरा, सानोश्री, बागचौर, छायाँक्षेत्र, बेलौरी, लालझन्डी, लम्कीचुहा र पाटन) मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सो कार्यक्रमहरु सम्पन्न गरेको हो । हालको विषय परिस्थितिलाई मध्यनजर गरी स्थानीय जन प्रतिनिधी, भद्र भलाद्मीहरुको उपस्थितिमा, संस्थामा आवद्ध सदस्यहरु तथा गैर सदस्यहरुलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोगिता गर्ने तरिका, व्यवसाय व्यवस्थापन जस्ता विषयहरु समेटेर कार्यक्रमहरु संचालन गरेको थियो । यसबाट सहभागिहरुमा वित्तीय क्षेत्रका विविध विषयहरुमा ज्ञान हासिल भएको प्रतिक्रिया कार्यक्रमका सहभागिहरुले व्यक्त गरेका थिए । उनीहरुले यस कार्यक्रमबाट कर्जाको सदुपयोग कसरी गर्ने, कर्जा लिएर कस्तो प्रकारको व्यवसाय गर्ने, कसरी आम्दानी बढाउने, बचत कसरी बढाउने र खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विशेष ज्ञान हासिल गर्न पाएको र यस्ता प्रकारका कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी समेत व्यक्त गरेका थिए । स्थानीय प्रतिनीधी तथा भद्र भलाद्मीहरुले यस्तो प्रकारको कार्यक्रम समय समयमा गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रम भएका शाखाहरुको कार्यक्षेत्र भित्रका करिब १३०० जना दिदिबहिनीहरु र स्थानिय भद्र भलाद्मीको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । संस्थाले हाल २८७ ओटा शाखा कार्यलयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।