सिटी एक्सप्रेसको योजनाको उपहार हस्तान्तरण
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित म्यारिएट होटलमा ‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें ’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिदेशबाटसिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिटान्स पठाउने राजु तामाङलाई ५ लाख ३० हजार ७५० रुपैयाँ र कोरिया बाट रेमिटान्स पठाउने सुबाश लिम्बुलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाटफाहाद अब्दुल्लाह अल्जोवैद , नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गते सम्म चल्ने गरी दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ६१ दिन सम्म चल्ने ‘बिदेशबाटसिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’उपहार योजना घोषणा गरेको थियो । सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख रुपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रुपैयाँ साथै ६१ दिनलगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५०० रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६ हजार १०० जनाले दैनिक उपहार ५०० रुपैयाँको वालेट टप् अप०,४५ जनाले साप्ताहिक उपहार ९ जनही २५ हजार रुपैयाँ० र २ जनाले मासिक उपहार ९जनही १ लाख रुपैयाँ ० जित्न सफल भईसकेको कम्पनीले जनाएको छ । उक्त योजनाअसोज १५ देखी मङ्सिर १५ गते सम्म चलेको थियो ।
फागुन १३ गतेदेखि आन्दोलनमा उत्रिँदै किसान, माग पूरा नभएसम्म जारी राख्ने चेतावनी
काठमाडौं । दूध उत्पादक किसानहरूले आगामी फागुन १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानहरूले आफ्ना १६ बुँदे माग पुरा गराउन आगामी आइतबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् । दुग्ध विकास संस्थान लगायत निजी डेरी उद्योगहरुले दुधको करिब ६ अर्ब बक्यौता रकम भुक्तानी नगरेको भन्दै किसानहरूले सो दिनदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । किसानहरूले फागुन १३ गतेदेखि १७ गतेसम्म निरन्तर आन्दोलन गर्ने र त्यसपछि पनि माग पुरा नभएसम्म राजमार्गहरूमा चक्काजामदेखि धर्ना तथा विरोध प्रदर्शन गर्ने बताएका छन् । उक्त आन्दोलन नेपाल किसान महासंघ तथा राष्ट्रिय किसान सञ्जाल र अखिल नेपाल किसान महासंघको पहलमा हुन लागेको हो । किसानहरूले फागुन १३ गते राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष मागपत्र प्रस्तुत गरी संसदीय दलका प्रमुख सचेतकहरूलाई मागहरू बारे जानकारी गराउँदै छन् । त्यस्तै, फागुन १४ गते मागहरूका बारेमा संघीय संसद कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साथै, फागुन १४ र १५ गते ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा बिहान १० देखि १२ बजेसम्म नारा जुलुशसहित धर्ना दिने र ज्ञापनपत्र बुझाउने बताइएको छ । त्यसैगरी, फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई बुझाउने र फागुन १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म मुख्य राजमार्गहरुमा शान्तिपूर्ण रुपमा चक्काजाम गराउने किसानहरूले बताएका छन् । त्यसपछि फागुन २१ गतेदेखि भने माग पूरा नभएसम्म माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन निरन्तर जारी राख्ने किसानहरूको चेतावनी छ । यस्ता छन् किसानका १६ बुँदे माग
जिब्रोको स्वाद र मोटोपनको समस्या
दुई वर्षअघि एक पत्रकार साथीलाई भेट्दा मैले भनेको थिएँ ‘तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है ।’ उनले त्यो बेला भनेका थिए, ‘तौल घटाउन कोशिस गर्दैछु ।’ केही दिनअघि उनीसँग पुनः जम्काभेट भयो । उनको अगाडि आएको ठूलो भुँडी त स्याप्पै घटेछ, उनको उमेर नै पाँच/सात वर्ष कम भए जस्तो देखिन्थ्यो र भनें ‘तपाइले त के चमत्कार गर्नुभयो यस्तो । निकै राम्रो स्वास्थ्य भएछ नि ! कतै गएर पेटको शल्यक्रिया गरेर आउनु भएको त होइन ?’ ठट्टा गरेर भनेको यो प्रश्नलाई, उनले गम्भीर भएर जवाफ दिए ‘होइन होइन, मैले मेरो भुँडी वरिपरिको १५ केजी त योग, हिँडाइ र खानामा कमी गरेर घटाएको हुँ । दुब्लोबाट मोटो हुन त सजिलो हुँदोरहेछ तर एकचोटी बोसो लागेपछि त घट्न पो गाह्रो हुने रहेछ । जब मैले अनुभव गरें कि मेरो लुगाहरु त कसिएर लगाउनै नहुने भए, अलिकता हिँड्दा स्वाँ स्वाँ हुन थाल्यो । अनि त तौल घटाउने निर्णय गरेर कसिएर लागेपछि सफल पनि भएँ ।’ त्यसैगरी नक्सालकी पारु श्रेष्ठ (३३ वर्षिय) ले पनि आफ्नो तौल ७५ केजीबाट ६० केजी (१० महिनाभित्र) झारेकी थिइन् । उनी विवाहअघि ५६ केजी थिइन् । अग्ली, पातली पारु सुन्दर देखिन्थिन् तर विवाहपछि उनको खाने क्रम बढ्न थाल्यो । एक बच्चा पाएपछि त झन् चाकु, घिउ, मासु, अण्डा आदिले गर्दा उनको जिउ त मोटाउँदै गयो । उनका बुबा ३० वर्ष नपुदै मधुमेहले बित्नुभएको थियो । आमा र बहिनी दुवै मधुमेहको औषधि खाने गरेका छन् । पारुलाई भनेँ, ‘पारुजी तपाईं त होशियार हुनुपर्छ है । तपाईंको परिवारमा निकै समस्या छ । तपाई यसरी नै मोटाउनु भयो भने तपाईंलाई पनि ती समस्या आउन सक्छ । तपाईंको सानो छोरो छ । अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहनु भएको छ । अगाडि त्यति ठूलो भविष्य छ, स्वास्थ नै नराम्रो भएपछि त जति काम गर्न सक्ने हो त्यति गर्न सकिन्न । त्यो बाहेक जति पैसा भए पनि तपाईंले त्यसको प्रयोग आनन्दपूर्वक गर्न पाउनु हुन्न ।’ ‘के गर्नु मलाई त कस्तो भोक लाग्छ, फेरी चकलेट देखेपछि त मन नै थाम्न सकिन्न । मेरो अफिसको दराजमा पनि थरिथरिका चकलेट छन् । यताउती गर्यो हात त त्यसैमा जान्छ’ पारुले भनेकी थिइन् । पारुले उनको शरिरमा ध्यान दिनुपर्छ र खाना कम गर्नुपर्छ भनेर मैले धेरैचोटी भनेपछि एकदिन मलाई खुशी भएर भनिन् ‘मलाई तौल कम गराउने संस्थाले आउनु भनेको छ । उनीहरुले रु ४० हजारमा ग्यारेन्टीका साथ तौल कम गराउँछन् रे दुई हप्तामा । उनीहरुले खाने कुराको चार्ट पनि दिन्छन् रे । केही औषधि पनि दिन्छन् रे ।’ पारुको खुशीलाई काट्दै मैले भनें ‘पारुजी त्यसरी ग्यारेन्टीका साथ तौल कम गर्ने कसैले भन्छ भने, त्यो त सोह्रैआना ठग हो । त्यस्तो कुनै औषधि छैन, जसले जादुको छडीले झैं तपाईको तौल कम गराओस् । त्यसरी औषधि प्रयोग गरेर तौल घट्ने भए त अमेरिकाका त्यतिका मानिसले घटाउँथे होलान् नि । त्यसरी एकैचोटी तौल घटाउने क्रियालाई त्याग्नोस् र खानेकुरा कम गर्नोस् । कोदो, फापर, गहुँको च्याँख्ला आदिको प्रयोग बढी गर्नुस् । चकलेट धेरै नखानोस् र मुख्य कुरा पानी खाने र व्यायाम गर्नुस् ।’ पारुजीलाई कोदो र फापर स्वादिष्ट तरिकाले बनाएर पनि खान सकिन्छ भनेर एकदिन त घरमै बोलाएर ख्वाउनु पर्यो । ‘कोदो र फापर त मीठो पो हुँदो रहे’, रोटीसँग गोलभेंडा अचार डुबाएर खाँदै उनले भनेकी थिइन् । त्यसपछि उनले कोदो र फापरलाई आफ्नो दैनिक भोजनका अङ्ग बनाइन् । हरियो तरकारी र टुसा उमारेको तरकारी चाँही अफिसमा लैजान थालिन् । बिहान उठेर व्यायाम गर्न थालिन् । दुई महिनापछि त उनको तौल पाँच केजी कम भयो । उनको अनुहारको छालमा चमक आयो । त्यसपछि त्यति क्रम अगाडि बढाउँदै गएपछि अर्को छ महिनामा उनको तौल १० केजी कम भयो । सबैबाट धेरै प्रशंसा पाएपछि पारुले मलाई भनिन् ‘तपाईले मेरो रु ४० हजार त बचाउनु भयो नै, मलाई जीवनभरको ज्ञान दिनु भयो ।’ मेरा कति डाक्टर साथीहरु त्यसमाथि पनि मोटोपन कम गर्नु पर्छ भनेर बिरामीलाई सिकाउने डाक्टर साथीहरु त कस्ता मोटामोटा छन् । रक्तचाप र मधुमेहको बिरामी छन् तर न उनीहरु खाना छोड्न सक्छन् न त योग गर्छन् । बरु समयसमयमा आफ्नो ठूलो भुँडी मसार्छन् र मीठो हाँसो हाँस्छन् । मेरो कुरा सुनेर पारु मरिमरि हाँसिन् र भनिन् ‘तपाईंका डाक्टर साथीहरुलाई सायद तपाईको कुरा अझैं पुगेको छैन ।’ प्रायः मानिसहरुलाई मोटोपनबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ किनभने खाना खाएर, मज्जासँग सुतेर, तेल र मसला हालेको मासु खाएर, वियर पिएपछि तौल जति मज्जासँग बढ्छ । त्यति नै मज्जासँग घटाउन गाह्रो हुन्छ किनभने त्यस्तो खानेकुरा खाने मानिसलाई खान्न भन्न साह्रै गाह्रो हुन्छ । साथै व्यायाम, योग त झनै गाह्रो हुन्छ किनभने त्यसको लागि त कडा अनुशासन चाहिन्छ । वियर, मासु र तारेको आलुका स्वाद त जिब्रोमा यसरी बसेको हुन्छ कि त्यसको अगाडि पछि हुने दुःखाई पनि बिर्सिन्छ । मेरा एकजना मित्र छन् । उनलाई गाउटको समस्या छ । समयसमयमा उनलाई यस्तो दुःख्छ कि उनी घुँडामा हात राखेर खुट्टा खोच्याउँदै हिँड्छन् । एकचोटी त गाउटले यस्तो चिसो पानीमा डुबाएर बस्नु परेको थियो रे तर वियर देखेपछि त कसोकसो मन चञ्चल भइहाल्छ । कतिपय मानिस यस्तै खाना र वियरबाट हुने मोटोपनको कारण उच्च रक्तचापको भई ‘पक्षघात’ भएपछि पनि रक्सी, मासु, तेल हालेको खान छोड्दैनन् । विस्तारै आत्महत्या गरिरहेका हुन्छन् । पुरुषहरु मात्र होइन, महिलाहरु पनि जिब्रोलाई तह लगाउन नसक्दा मोटोपनको कारणले गर्दा हुने समस्याले ग्रस्त हुन्छन् । एक संस्थामा कार्यरत शर्मिला नाकी महिला मेरो घरमा आएकी थिइन् घुँडा दुख्ने समस्यामा केही योगासन सिक्न सकिन्छ कि भनेर । मैले उनलाई भनेकी थिएँ ‘शर्मिला योगासन र व्यायामले सँगै तिम्रो खानेकुरा पनि परिवर्तत गर्नुपर्छ ।’ असी केजीकी शर्मिलाले ‘लौन के के खाने सिकाइदिनुस् न’ भन्दा मैले घरमा कोदो र फापरको रोटी र सुप बनाएर प्लेटमा राखेर खान दिँदा उनले भनिन् ‘यस्तो कोदो र फापर त हाम्रो घरमा कुकुरले पो खान्छ’ । शर्मिलाको कुराले हाँस त उठ्यो तर दुःख पनि लाग्यो । घुँडा दुखेर कसरी तौल कम गर्ने भनेर छलफल गर्न आएकी शर्मिलाको तौल दुई वर्षपछि पनि घटेको छैन । अहिले त उनलाई उच्च रक्तचाप भएको छ । घुँडाको दुखाइले गर्दा धेरै हिँड्न सक्दिनन् । उनलाई खानाको विषयमा चाँही भन्न छोडिसकेको छु । जबसम्म कसैलाई मनबाट नै तौल घटाउँछु भनेर लागेको छैन भने अरुले जति भने पनि लाग्दैन । मेरा एक जना आफन्तलाई झण्डै १५ वर्षअघि नै डाक्टरले तौल घटाउन भात र आलु कम गर्न सल्लाह दिँदा बरु मर्छु तर आलु त खान छोड्न सक्दिनँ भनेका थिए । उनको त्यो बानीले उनलाई उच्च रक्तचाप र मधुमेहको रोगी त बनायो नै, एकचोटी झण्डै पक्षघात नै भएको थियो । अहिले उनको स्वास्थ्य त ठिक छ तर उनको खानाबाट आलु चिनी, भात त गायब भएको छ । कोदो, फापर, चिनी नहालेको दूध र हरियो तरकारी उनको खाना बनेको छ । उनी अहिले बिहान एक घण्टा हिँड्छन् पनि । उनले सिके खाना कसरी खाने, हिँड्ने किन भनेर तर धेरै चर्को मूल्य तिरेर । हामीहरुमध्ये सायद धेरै जनाले त्यसरी नै सिक्नेछौँ । मध्यम वर्गीय परिवारमा मात्र होइन, गाउँका मानिसहरुमा पनि विभिन्न किसिमका चाउचाउ चिप्स आदिले गर्दा मोटोपनको समस्या बढ्न थालेको छ । मोटोपनको समस्याले गर्दा हुने समस्याले जीवनको धेरै क्षेत्रमा प्रभाव पार्छ । अकालमै मृत्युको मुखमा पुर्याउँछ भन्ने जान्दाजान्दै पनि मानिसले किन जिब्रोको स्वाद रोक्न नसकेको होला ? (लेखक जनस्वास्थ्यविद् हुन्)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व सङ्कलन ११ अर्बभन्दा बढी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ । विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ । विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ११ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । चालु आवमा १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म छ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको उल्लेख गरेको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थल पूर्णक्षमतामा सञ्चालनमा आएको, अन्तर्राष्ट्रिय हवाई यात्रु बढेको तथा विमानस्थल सुधारका समग्र प्रयासबाट राजस्व क्रमशः बढिरहेको उल्लेख गरे। विमानस्थलले यात्रुसेवा शुल्कबापत, कोठा र सटर बाहल तथा जहाजको अवतरण, बिसानलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ । विमानस्थलले आव २०७७/७८ मा दुई अर्ब ४६ करोड रुपैयाँ राजस्व उठाएको थियो । कोभिड-१९ का कारण उक्त वर्ष राजस्व घटेको विमानस्थलले उल्लेख गरेको छ । कोभिडपछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या पनि बढ्दो क्रममा छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैगरी कुल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२ मा यो सङ्ख्या ७९ लाख ५४ हजार चार सय ९५ थियो । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । एक वर्षमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाईयात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो । आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार तीन सय २६ पुगेको छ । कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए । यो सङ्ख्या कोभिड-१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् । नेपालले हाल ४२ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लोपटक गत माघ २३ गते नेपाल र स्वीट्जरल्याण्डबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । रासस
भुस्याहा कुकुरबाट मारिए ४ लाख मूल्य बढीका कुखुरा
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले चार लाख रुपैयाँ मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् । बिहीबार बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो । सय बढी कुखुरा घाइते छन् । ‘बैंकबाट १२ लाख रुपैयाँ बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौँ’, फार्म सञ्चालक आशाले भनिन्, ‘दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी व्यहोर्न बाध्य भएका छौँ ।’ फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उनले बताइन् । फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी कुकुरलाई भगाउन सकिएको उनले बताइन् । वडाध्यक्षको रोहवरमा प्रहरी मुचुल्का तयार गरिएको उनको भनाइ छ । नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताइन् । ‘पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो सङ्ख्यामा कुखुरा मारिदिए, बाटो हिँडने व्यक्तिाई पनि झम्टिने गरेको छ’, उनले भनिन्, ‘धेरै व्यक्तिलाई टोक्दा रेबिजको खोप लगाइरहेका छन् ।’ नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गरिदिनुपर्ने उनको भनाइ छ । कुखुरा फार्म सञ्चालकले सम्बन्धित निकायलाई क्षतिपूर्तिको व्यवस्था गरिदिनका लागि पनि आग्रह गरेका छन् । रासस
भारतको एमिटी विश्वविद्यालयबाट पीएचडी गर्दै गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यावारिधि (पीएचडी) अध्ययनका लागि भर्ना गरेका छन् । उनले भारतको नोएडामा रहेको एमिटी विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गर्नका लागि भर्ना गरेका हुन् । पछिल्लो समय उनको योग्यताको विषयमा सर्वोच्च अदालतमा बहस भइरहेको बेला उनले विद्यावारिधिमा भर्ना गरेको कार्ड अदालतमा पेस गरेका हुन् । उनले आफू गभर्नरका लागि योग्य व्यक्ति भएको र शैक्षिक योग्यता पनि पुगेको बताउँदै विभिन्न प्रमाणहरू सर्वोच्च अदालतमा पेस गरेका छन् । त्यसमा उनले विद्यावारिधिमा अध्ययनका लागि भर्ना गरेको कार्ड पनि पेस गरेका हुन् । उनले चार्टर्ड एकाउन्ट्सी (सीए)को योग्यतालाई व्यवस्थापन संकायमा स्नातक गरी चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको आधारमा कानुन बमोजिम स्नातकोत्तर तहको भएको दाबी पनि गरेका छन् । सोही प्रमाणका आधारमा आफूले विद्यावारिधि अध्ययन गर्दै गरेको दाबी उनको छ ।
किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई लामिछानेको चेतावनी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशभरका दुध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए । उनले किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामथ्र्य राख्ने चेतावनी दिए ।भूमिहिन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको बताए । चुनावी फण्डा नभइ सुकुम्वासी आयोग र भूमि आयोगले विशेष ध्यान दिइ समस्या समाधान गर्नुपर्ने बताए । ‘मेरो निर्वाचन क्षेत्र र देशभरका दुध किसान र मह किसानहरु मारमा परेका छन् । अर्कोतिर पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । भूमिहिन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको छ, यसलाई चुनावी फण्डा होइन, सुकुम्वासी आयोगले, भूमि आयोगले विशेष गरी विशेष ध्यान दिओस् । यसलाई खेलाँची रुपमा नलिओस् । भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको छ र भरतपुर ३ को नगर वनको विकल्प यथाशिघ्र खोजियोस्’, उनले भने । उनले भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको पनि बताए ।
युवाहरू विदेश पलायन भएर मुलुक बन्दैन : नेता डा. भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीले गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले किसान, युवा, बुद्धिजीवी र विश्वविद्यालयलगायत सबै क्षेत्रका समस्या र समाधानका लागि छलफल गर्न ढिलो भइसकेको भन्दै युवाहरू विदेश पलायन भएर मुलुक नबन्ने विचार राखे । सांसद डा भण्डारीले मेलम्ची आयोजनालगायत सडक र भवन कुनै पनि आयोजना गुणस्तरीयरूपमा हुन नसकेको, निजी व्यक्तिका नाममा भएका सरकारी जग्गा फिर्ता ल्याउन नसकिएको, हेटौँडा सिमेन्ट उद्योगको प्रभावकारी सञ्चालन हुन नसकेको र किसानले मल, बीउ र बजारका लागि सधैँ माग गर्नुपरेको तथा बाँदरले दुःख दिइरहेको सवालमा दिगो समाधान खोज्न आग्रह गरे । उनले मुलुकमा बिचौलियाको बिगबिगी रहेकाले किसान थप पीडामा रहेको बताउँदै उमेर पुगेका काठ पनि कटान गर्न नसक्ने नीति हुँदा मलेसियाबाट काठ आयात गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । स्वदेशी उत्पादन नहुँदा सरकारी कर्मचारीकै लागि अर्बौको पोशाक आयात गर्नुपर्ने स्थिति, स्वदेशको कोदोको रक्सीले बजार नपाएर विदेशी मदिरा टोलटोलमा बिक्री गरिएको, युवा पलायन रोक्न, लगानीमैत्री तथा काम गर्ने वातावरण बनाउने गरी विशेष कार्यक्रम ल्याउन नसकिएको विषयमा चिन्तन गर्न ढिला भएको भनाइ राखे । सांसद भण्डारीले मुलुकको धार्मिक तथा पुरातात्विक संरचनाको बजारीकरण गर्नुपर्ने र पर्यटनलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै यस्ता विषमया सबै दल एकढिक्का भएर लाग्न आग्रह गरे । रासस