विकासन्युज

स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा हुन्छ कारोबार ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ५९१.६८ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६३३.१० रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ५९१.६८ रुपैयाँलाई आधार मानेर हुने छ ।

काठमाडौंमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिए । काठमाडौंमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ । मौसमविद कँडेलले भने, ‘अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ । आज राति पनि वर्षाको सम्भावना छ ।’ भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुदै जाने उनले उल्लेख गरे । ‘भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ’, मौसमविद् कँडेलले भने । पानी परेपछि एक भारतीय उडान लखनऊ ‘डाइभर्ट’       काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । आज अपराह्न्न भारतको मुम्बईबाट काठमाडौं आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ । प्रवक्ता झाले भने, ‘आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ तर अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आइएफआर)बाट  मात्रै उडान भइरहेको छ ।’ रासस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बराल नियुक्त

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ । रासस

भ्रष्टाचार गरेको अभियोगमा वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत, इन्जिनियर, वडाध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो गाउँपालिकाको वडा नं ३ स्थित मिमी वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको पाइएपछि आयोगले बिहीबार मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन निमित्त प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डिल्ली बुढाविरुद्ध ११ लाख ९४ हजार चार सय २६ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । यस्तै आयोगले वडा नं ३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । रासस

किसानको आन्दोलन सम्बन्धी ट्वीटमाथि भारतमा प्रतिबन्ध

एजेन्सी । उत्पादनको न्यूनतम समर्थन मूल्य र अन्य मागहरूका लागि जारी किसानहरूको आन्दोलनलाई ध्यानमा राख्दै पञ्जाब र हरियाणाका धेरै क्षेत्रमा इन्टरनेट बन्द भएको लगभग दश दिन भइसकेको छ। फेब्रुअरी १३ देखि हरियाणा र पञ्जाबको शम्भु सीमामा हजारौं किसानहरू भेला भएका छन् र दिल्ली तर्फ मार्च गर्ने तयारी गरिरहेका छन्। खनौरी सीमामा गत फागुन २१ गते भएको गोली हानाहानमा एक किसानको मृत्यु भएपछि किसान नेताहरूले दिल्ली मार्च दुई दिनका लागि स्थगित गरेका छन् । यसैलाई ध्यानमा राख्दै हरियाणाका सात जिल्लामा इन्टरनेटमाथिको प्रतिबन्ध २३ फेब्रुअरीसम्म लम्ब्याइएको छ । यो प्रतिबन्ध राज्य सरकारले लगाएको हो। यसमा अम्बाला, कुरुक्षेत्र, कैथल, जिन्द, हिसार, फतेहाबाद र सिरसा क्षेत्र रहेका छन् । सरकारले इन्टरनेटमा प्रतिबन्ध लगाउने आफ्नो आदेशमा तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै शान्ति कायम राख्न इन्टरनेटमा प्रतिबन्ध लगाएको जनाएको छ । यसअघि हरियाणामा १३, १५, १७ र १९ फेब्रुअरीमा इन्टरनेट प्रतिबन्ध लम्बिएको थियो। यसबाहेक, केन्द्र सरकारले १६ फेब्रुअरीमा सात जिल्लाका २० प्रहरी थाना क्षेत्रमा इन्टरनेट प्रतिबन्ध लगाउने आदेश जारी गरेको थियो। पञ्जाब सरकारले भने यो प्रतिबन्ध लगाएको छैन। सरकारले अफवाह फैलिन नदिन र शान्ति सुरक्षा कायम गर्न यो कदम चालेको जनाएको छ । यो आदेश भारतीय टेलिग्राफ अधिनियम, १८८५ को धारा ५ र दूरसञ्चार सेवा (सार्वजनिक आपतकालीन वा सार्वजनिक सुरक्षा) नियम २०१७ को अस्थायी निलम्बन को नियम २ अन्तर्गत केन्द्र र राज्य सरकार द्वारा जारी गरिएको छ। समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, यसले गृह मन्त्रालयको आदेशमा १७७ वटा सोशल मिडिया खाताहरू र वेब लिङ्कहरूलाइ अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ । किसान आन्दोलन सकिएपछि यी खाताहरू पुनः खोलिने समाचारमा जनाइएको छ । किसान आन्दोलनका क्रममा धेरै पत्रकार र सामाजिक कार्यकर्ताको सामाजिक सञ्जाल प्रोफाइलमा प्रतिबन्ध लगाइएको छ । पीटीआईको रिपोर्ट अनुसार कम्तिमा १७७ खाता र वेब लिङ्कहरूलाई अस्थायी रूपमा प्रतिबन्धित गरिएको छ। सामाजिक अभियन्ता हंसराज मीनाको एकाउन्ट पनि बन्द गरिएको छ । बीबीसीसँग कुरा गर्दै हंसराज मीनाले यसलाई अभिव्यक्ति स्वतन्त्रताको हनन भनेका छन् । हंसराज मीनाका अनुसार, ‘उनको व्यक्तिगत र संगठन आदिवासी सेनाको एक्स प्रोफाइल भारतमा सरकारले प्रतिबन्ध लगाएको छ।’ हंसराज मीनालाई सोसल मिडिया प्लेटफर्म एक्सले भारत सरकारको आदेशमा यस्तो गरिएको बताएको छ । मीना भन्छिन्, ‘उद्धृत गरिएका मेरा पोस्टहरूले कुनै पनि हिसाबले कानूनको उल्लंघन गर्दैनन्। मैले भर्खरै मेरो विचार व्यक्त गरेको छु। सरकार पनि विचारसँग डराइरहेको छ । सरकारले हाम्रो आवाज जनतासम्म पुर्‍याओस् भन्ने चाहँदैन, त्यसैले कुनै ठोस कारणबिना नै हाम्रा खाताहरू बन्द गरिएका छन् ।’ हंसराज मीनाको सङ्गठन आदिवासी सेनाले भारतका आदिवासी, दलित र पिछडिएका समुदायका मुद्दा उठाउँछ। मीना भन्छिन्, ‘हाम्रो आवाज पहिले नै कमजोर छ, हाम्रा मुद्दाहरू मूलधारका सञ्चारमाध्यममा छलफल हुँदैनन्। हामीले सामाजिक सञ्जालबाट आवाज उठाएका थियौं, अब त्यहाँबाट पनि रोकिएको छ ।’ के भन्छ एक्स ? सामाजिक मिडिया प्लेटफर्म एक्सको विश्वव्यापी मामिलाहरू हेर्ने एकाउन्टले भारत सरकारको यस आदेशको बारेमा एक विज्ञप्ति जारी गरेको छ। उसले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘भारत सरकारले आदेश जारी गरेको छ, जसमा एक्सका केही एकाउन्ट र पोस्ट विरुद्ध कारबाही गर्न भनिएको छ। भारतको कानून अनुसार दण्डनीय हुने भएकाले ती अकाउन्ट र पोस्ट ब्लक गर्नुपर्ने भनिएको छ । ‘आदेश अनुसार, हामी यी खाताहरू र पोस्टहरू भारतमा मात्र ब्लक गर्नेछौं, यद्यपि, हामी यसमा असहमत छौं र अभिव्यक्तिको स्वतन्त्रता दिनु पर्छ भन्ने विश्वास गर्दछौं।’ ‘भारत सरकारको आदेश विरुद्ध हाम्रो अडान सहितको रिट अपील अझै विचाराधीन छ। हाम्रो नीति अनुसार हामीले यी खाताहरूको प्रयोगकर्ताहरूलाई सूचित गरेका छौं। कानुनी कारणले गर्दा हामी भारत सरकारको आदेश सार्वजनिक गर्न सक्दैनौं, तर पारदर्शिताका लागि यो आदेश सार्वजनिक गर्नु उचित छ भन्ने हाम्रो विश्वास छ।’ बीबीसीबाट ।

नारायणगढ-मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते सकिँदैछ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरिएको हो । कूल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिनमा अर्को एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको हो । त्यहाँको ढिस्को भत्काउने काम अब तीन मिटर मात्रै बाँकी छ । फागुन १२ गतेसम्म थप एक मिटर भत्काउन सकिने अनुमान छ । अबको काम निकै कडा भएकाले समय लाग्ने देखिएको छ । बाँकी दुई मिटर सडक नरोकेरै भत्काउन मिल्ने उनको भनाइ छ । पुलको जगको काम अघि बढाउन मिल्ने भएकाले समय अनुकूल मिलाएर बाँकी ढिस्को भत्काइने उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले माग गरेको समय सकिएकाले अब सडक नरोकेरै काम गर्न भनिएको बताए । ढिस्को होचोमात्रै बाँकी रहेकाले हेरेर काम गर्न मिल्ने उनको भनाइ छ । त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटर यो वर्ष भत्काउन सुरु गरिएको हो । गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । विस्फोट गर्दा पुलसमेत भत्कनसक्ने भएकाले पुनःएक पटक भत्काउने प्रयास गरिएको हो । सो सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । रासस

टेस्ला मोडल थ्री नेपाली बजारमा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा आएको छ । अरेट इन्टरनेशनलले बिहीबार एक कार्यक्रम गर्दै टेस्ला मोडल थ्रीको गाडी सार्वजनिक गरेको हो । कम्पनीका अनुसार टेस्लाले पहिलो पटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको यस मोडल थ्री लग्जरी इलेक्ट्रीक कार बर्गमा सर्वोत्कृष्ट स्थान रहेको छ । टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो, त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्री को रिफ्रेस्स भर्सन हो । फराकिलो ३६० डिग्री को दृश्य देखिन सक्ने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ क्याविनको कारण यस नयाँ मोडल थ्रीले विश्वभर चर्चा पाउन सफल भएको छ । कम्पनीका अनुसार यो गाडीले ५५० किलोमिटर रेन्ज दिने छ । ५८ किलोवाट हावरको ब्याट्री दिएको यो गाडीमा १८४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । ५.८ सेकेन्डमै १०० किलोमिटरको रफ्तार भेटाउछ । रियर ह्वील ड्राइभमा आधारित यो गाडीले ३४० एनएम टर्क जेनेरेट गर्छ । ‘टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो, त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको फेसलिफ्ट मोडलले कम बजेटमा लग्जरी कार चढ्न चाहने ग्राहकको चाहना पुरा गर्नेमा हामी विश्वस्त छौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा बताइएको छ । पहिलो पटक कूलिंग सहितको भेन्तिलेतेद सीट रहेको यस भर्सनमा प्रयोग गरिएको सीट म्याटेरिएल पनि पूर्ण रुपमा क्याक्टसबाट निर्मित, दाग प्रतिरोधी (स्टेनलेस) लेडर हो । एरो डाइनमिक र वाटर सिंक प्रुफ सहितको विशेषता रहेको यस कार, सुरक्षाको दृष्टिकोणमा अन्तर्राष्ट्रिय (एनएचटीसीए) बाट ५ स्टार को रेलिंग प्राप्त गरेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार कालो सेतो र काठको कलरबाट सजिएको भित्रि भागमा निकै स्लीम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा पाउन सकिन्छ । ड्यासबोर्डमा दिइएको १५४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सक्दछौं । यस मोडलमा कुनै पनि बटम ड्यास बोर्डमा छैन । यहाँसम्म कि गियर नब पनि डिजिटल नै उपलब्ध रहेकोछ । गियर शिफ्टिंग, इण्डिकेटर प्रयोग लगायतका फंक्सनहरु समेत डिजिटल रुपमा उपलब्ध रहेकोले यसको इण्टेरिएर अझ फराकिलो र सुन्दर बनेको छ । पछाडि बस्ने प्यासेन्जरको लागि समेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यस मोडलमा पाउन सकिन्छ । सबै लाइट एलइडी रहेको कारमा १९ ईन्चको आकर्षक अलोय ह्वील दिइएको छ ।

ब्याजदर बढ्ने हल्लाले घट्यो बिहीबारको बजार, कारोबार तीन अर्बमाथि

काठमाडौं । बिहीबारको पनि सेयर बजार २० अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक २०.१६ अंकले घटेर २००५.८३ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.०२ प्रतिशतले घटी हो । बिहीबार कारोबार खुलेदेखि उतारचढाव देखिएको परिसूचक पछिल्लो एक घण्टामा भने उच्च दरले घटेको देखिन्छ । गत सातादेखि निरन्तर घट्दै आएको बजार बिहीबार भने बैंकहरुको ब्याजदर बढ्ने हल्लाले बढेको जानकारहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको एकीकृत निर्देशनअनुसार चैत एक गतेदेखि संस्थागत निक्षेपकर्ताको ब्याज बढ्ने सक्ने भएसँगै त्यसको प्रभाव सेयर बजारमा परेको उनीहरु बताउँछन् । कारोबारमा आएका १३ वटा समूहमध्ये निर्जीवन बीमा समूह सर्वाधिक अर्थात १५३.८२ अंकले घटेको छ । त्यसपछि जीवन बीमाको १०९.३६, होटल्स एण्ड टुरिजमको ७७.३८, हाइड्रोपावरको ४९.७८ अंकले लगायत अन्य समूहहरु ७ समूहहरु घटेका छन् । उत्पादनमूलकसमूह भने ६७.५४ अंक र फाइनान्स समूह ६.०९ अंकले बढेका छन् । बुधबारको तुलनामा भने बिहीबारको कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब बराबरको कारोबार भएको बजारमा बिहीबार भने ३ अर्ब २० करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, बजारमा तीन कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । समाज लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.८७ प्रतिशत र सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ । टप लुजरको शीर्ष स्थानमा हिमालयन उर्जा विकास कम्पनी रहेको छ । जसको सेयर मूल्य ७.६० प्रतिशतले घटेर प्रतिकित्ता ३१० रुपैयाँमा झरेको छ ।