विकासन्युज

कर्जा नोक्सानीको नयाँ व्यवस्थाले बैंकहरूलाई तनाव, एउटै बैंकको ९ अर्ब बढी प्रोभिजन

काठमाडौं । वाणिज्य बैंकहरूले पुससम्म ४४ अर्ब ९ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन)अन्तर्गत रकम राखेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुससम्म २० वटा वाणिज्य बैंकहरूले सो रकम प्रोभिजन अन्तर्गत राखेका हुन् । राष्ट्र बैंकका अनुसार बैंकहरूको खराब कर्जाको अनुपात बढ्दै जाँदा प्रोभिजनिङ पनि बढ्दै गएको हो । पुस मसान्तसम्म सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा नोक्सानी व्यवस्था अन्तर्गत पैसा राख्नु परेको छ । यस बैंकले ९ अर्ब १७ करोड ५० लाख रुपैयाँ प्रोभिजनिङ गर्नु परेको छ । यस बैंकको पुससम्म कुल ४.७५ प्रतिशत खराब कर्जा छ । यस्तै, पुस मसान्तसम्म कुमारी बैंकले ५ अर्ब ४९ करोड, ग्लोबल आइएमईले ४ अर्ब १३ करोड ६० लाख, लक्ष्मी सनराइजले ३ अर्ब ६९ करोड ८० लाख, नबिलले ३ अर्ब २ करोड ३० लाख, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ९२ करोड ६० लाख र नेपाल बैंकले २ अर्ब ८६करोड ५० लाख रुपैयाँ प्रोभिजनिङ गर्नु परेको छ । यस्तै, हिमालयन बैंकले १ अर्ब ९४ करोड ७० लाख, कृषि विकास बैंकले १ अर्ब ६२ करोड १० लाख, प्रभुले १ अर्ब ४० करोड १० लाख, सानिमाले १ अर्ब १९ करोड ७० लाख, सिद्धार्थले १ अर्ब १८ करोड ४० लाख, एनएमबिले १ अर्ब १५ करोड २० लाख र नेपाल एसबिआई बैंकले १ अर्ब १२ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार सिटिजन्स बैंकले ९४ करोड ८० लाख, एनआइसी एसिया बैंकले ७६ करोड ९० लाख, माछापुच्छ्रे बैंकले ४८ करोड ८० लाख, एभरेष्ट बैंकले ४३ करोड २० लाख, प्राइम कमर्सियल बैंकले ४३ करोड २० लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले २४ करोड रुपैयाँ प्रोभिजनिङ गर्नु परेको छ । बैंकहरूले विभिन्न पाँच क्याटागोरीमा कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । बैंकहरूले असल कर्जामा १.२५ प्रतिशत, सुक्ष्म निगरानी अन्तर्गत ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था छ । कुनै पनि कर्जा निष्कृय वर्गमा (पुनरसंरचना र पुनरतालिकीकरण बाहेक) वर्गीकरण भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नती गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकको नीति छ । त्यस्तो कर्जामा १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ । कुनै ऋणी संस्थाले एकभन्दा बढी शीर्षकमा कर्जा लिएको भएमा कुनै एक कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा उक्त ऋणीले लिएका अन्य सम्पूर्ण असल वर्गमा वर्गीकृत कर्जा वक्यौतालाई कम्तिमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अन्तर्गत कर्जाको ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ । यस्तै, कुनै समुहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा समुहमा रहेक अन्य ऋणीहरुको उक्त ऋणीसँगको व्यावसायिक सम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने समुहका अन्य ऋणीहरुलाई समेत सोही निष्कृय वर्गमा वर्गीकरण गर्नु पर्नेछ । जस्तैः समुहका पाँच ऋणीहरुमध्ये कुनै एक ऋणी कमसल वर्गमा वर्गीकरण भएमा बाँकी रहेका चार ऋणीमध्ये उक्त ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने एक ऋणी भएमा सो ऋणी नियमित भएको अवस्थामा समेत कमसल वर्गमा वर्गीकरण गर्नु पर्नेछ । तथापि, कमसल वर्गमा वर्गीकरण भएको ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित नभएका अन्य तीन ऋणीलाई भने कमसल वर्गमा वर्गीकरण गर्न बाध्य हुने छैन । यो व्यवस्थाले बैंकहरूको खराब कर्जा झनै बढ्न सक्ने एक बैंकरले बताए । ‘पछिल्लो समय बैंकहरूको खराब कर्जा बढिरहेको छ, राष्ट्र बैंकले यो व्यवस्था लागू गर्दा बैंकहरूको खराब कर्जा झनै बढ्छ,’ ती बैंकरले भने ।

गभर्नरले खोसे डेपुटी गभर्नर ढुङ्गानाको जिम्मेवारी, मिश्रको यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाको जिम्मेवारी हेरफेर गरिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नर ढुङ्गानाको बैंक सुपरिवेक्षण विभागको जिम्मेवारीबाट हटाएका हुन् । गभर्नर अधिकारीले बैंक सुपरिवेक्षण विभाग आफू मातहत राखेका हुन् । डेपुटी गभर्नर ढुङ्गानालाई आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ । यसअघि आर्थिक अनुसन्धान विभाग गभर्न आफैले हेर्दै आएका थिए । यससँगै डेपुटी गभर्नर ढुङ्गाना मातहत मौद्रिक नीति तथा विदेशी विनिमय नीति समूहका आर्थिक अनुसन्धान विभाग र विदेशी विनिमय व्यवस्थापन विभाग, नियमन तथा सुपरिवेक्षण समूहका वित्तीय संस्था र लघुवित्त संस्था सुपरिवेक्षण विभाग रहेका छन् । यस्तै, बैंकिङ्ग व्यवस्थापन समूहका बैंकिङ्ग विभाग र प्रदेशस्थित कार्यालयहरू, सहायक सेवा समूहका मानव संसाधन व्यवस्थापन र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग डेपुटी गभर्न ढुङ्गाना मातहत छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्रीका अनुसार अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रको जिम्मेवारी भने यथावत राखिएको छ ।

काठमाडौंमा मिटरब्याजी पीडितको विरोध प्रदर्शन

काठमाडौं । न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभूवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् । भृकुटीमण्डपबाट सिंहदरबार जाने क्रममा भृकुटीमण्डप क्षेत्रमै प्रहरीले रोकेपछि उनीहरुले सोही स्थानमा सडकमा बसेर विरोध जनाए । प्रदर्शनकारीहरुले किसानको भूमि फिर्ता गर, पीडितहरु एक हौँ, हाम्रो आन्दोलन जारी छ, मेची, महाकाली, काठमाडौं पैदल यात्रा सफल पारौँ, पीडितलाई न्याय दे लगायतका नारा लगाएर विरोध जनाएका छन् । उनीहरु बुधवार साँझ पैदल यात्रा गरेर काठमाडौं आइपुगेका थिए ।

दादुरा-रुबेला खोप : ५७ लाख बालबालिकालाई लगाइने, लागत १ अर्ब बढी लाग्ने

काठमाडौं । सरकारले फागुन १३ गतेदेखि दादुरा-रुबेला खोप अभियानमा सञ्चालन गर्ने भएको छ । चैत ७ गतेसम्म सञ्चालन हुने अभियानमा सरकारले ५७ लाख बढीलाई खोप लगाउने उद्देश्यले लिएको छ । अभियानमा दादुरा-रुबेलाको बढी संक्रमण भेटिएको २४ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मकालाई दादुरा-रुबेलाको खोप लगाइने छ भने अन्य ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने भएको हो । भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका बालबालिकालाई भने दादुरा रुबेला सम्बन्धी खोप लगाइसकेको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए । उनका अनुसार ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा-रुबेलासँगै पीसीभी, आइपीभी, डीपीटी-हेप वी.हिव लगायतका खोप लगाइनेछ । खोप अभियानका लागि देशभर ४० हजार खोप केन्द्र सञ्चालन गरिनेछ भने कतिपय ठाउँमा विद्यालय, स्वास्थ्य संस्थामापनि खोप लगाइने छ । यसका लागि देशभरका महिला स्वास्थ्य स्वयमसेविकालाई प्रयोग गरिनेछ भने ३० हजार बढी स्वास्थ्यकर्मी परिचालन गरिने खोप शाखाले जनाएको छ । यो अभियानका लागि १ अर्ब ३५ करोड रुपैयाँ लागत लाग्ने छ भने ६३ लाख मात्रा खोप सबै जिल्लामा वितरण गरिसकेको जनाइएको छ । कुनैपनि बालबालिका दादुरा-रुबेलाका कारण जोखिममा नपरुन् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।

अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपाली स्वदेश फर्काइए

काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । ‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौं फिर्ता पठाएको छ’, उनले भने, ‘हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।’ रासस

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

अमेरिका । एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए । खराब सञ्चार भए पनि यानको निर्माण तथा व्यवस्थापन गर्ने कम्पनी इन्ट्युटिभ मसिन्सले यानले सिधै अवतरण गरेको पुष्टि गरेको छ । यद्यपि यान चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो इच्छित गन्तव्यमा पुगेको थियो वा थिएन भन्नेबारे कम्पनीले कुनै थप विवरण दिएको छैन । यानबाट कमजोर सङ्केत प्राप्त हुने बित्तिकै कम्पनीले आफ्नो लाइभ वेबकास्ट बन्द गरेको थियो । मिसन निर्देशक टिम क्रेनले कम्पनीको ह्युस्टन नियन्त्रण केन्द्रमा तनावको स्थितिको बारेमा भने, ‘निस्सन्देह हाम्रो उपकरणहरू चन्द्रमाको सतहमा भएको हामी पुष्टि गर्न सक्छौँ ।’ इन्ट्युटिभ मसिन्सका कार्यकारी प्रमुख स्टिभ अल्टेमसले भने, ‘मलाई थाहा थियो यो ठूलो चिन्तापूर्ण र तनावपूर्ण थियो तर हामी सतहमा छौँ र प्रसारण गर्दैछौँ, चन्द्रमामा तपाईंलाई स्वागत छ ।’ टचडाउनको दुई घन्टापछि कम्पनीको घोषणाअनुसार अन्ततः डाटा प्रवाह सुरु भएको छ । नासाको प्रसिद्ध अपोलो मुनवाकर्सपछि पहिलो पटक अवतरणले अमेरिकालाई सतहमा फर्काएको छ । इन्ट्युटिभ मसिन्स चन्द्रमामा अवतरण गर्ने पहिलो निजी व्यवसाय पनि बनेको छ । यो उपलब्धि केवल पाँच मुलुकले मात्र हासिल गरेका छन् । अर्को अमेरिकी कम्पनी एस्ट्रोबोटिक टेक्नोलोजीले गत महिना यसलाई सट दिएको थियो तर चन्द्रमामा पुग्न सकेन र यान पृथ्वीमा फर्कँदा दुर्घटनाग्रस्त भयो । दुवै कम्पनी चन्द्र अर्थतन्त्रलाई गति दिनका लागि नासा समर्थित कार्यक्रमका हिस्सा हुन् । एस्ट्रोबोटिक सबैभन्दा पहिला बधाई दिने मध्येको एक थियो । ‘एउटा अविश्वसनीय उपलब्धि, हामी निकट भविष्यमा चन्द्रमाको सतहमा तपाईंसँग सामेल हुनका लागि प्रतीक्षा गर्न सक्तैनौँ’, कम्पनीले सामाजिक सञ्जाल एक्समा भनेको छ । नासाका प्रशासक बिल नेल्सनले ट्विट गर्नुभयो, ‘इन्ट्युटिभ मसिन्सले जीवनभरको अवतरणलाई गति दियो ।’ यानको नेभिगेसन प्रणाली विफल हुँदा अवतरणअघिको अन्तिम केही घन्टा थप तनावपूर्ण बनेको थियो । कम्पनीको उडान नियन्त्रण टोलीले प्रगोगात्मक नासा लेजर प्रणालीलाई कार्यान्वयनमा ल्याउनुपर्यो । यानले अन्तिम मिनेटको स्विचका लागि समयको अनुमति दिनका लागि चन्द्रमाको चारैतिर थप एउटा चक्कर लगाउनुपर्यो । अन्ततः उक्त परिवर्तनसँगै ओडिसियस चन्द्रमा–स्किमिङ कक्षबाट उत्रियो र दक्षिणी ध्रुवनजिकै सबै चट्टान र क्रेटरहरूको बीचको तुलनात्मकरूपमा समतल स्थानलाई लक्ष्य बनाउँदै सतहतर्फ निर्देशित भयो । निर्दिष्ट टचडाउनको समय आयो र गयो, कम्पनीको कमान्ड सेन्टरका नियन्त्रकहरू उत्सुकतापूर्वक करिब चार लाख किलोमिटर टाढा अन्तरिक्ष यानबाट सङ्केतको प्रतीक्षा गरिरहेका थिए । करिब १५ मिनेटपछि कम्पनीले यानबाट कमजोर सङ्केत प्राप्त भएको घोषणा गर्यो । गत सात प्रक्षेपण गरिएको छ फुटको कार्बन फाइबर र टाइटेनियम यान (१४ फिट अग्लो) नासका लागि छ वटा प्रयोग थिए । केही वर्षमा अन्तरिक्ष याात्रीहरूको योजनाबद्ध फिर्ता हुनुअघि पहिलो चन्द्रमा डेलिभरीको व्यावसायिकरण गर्ने प्रयासको हिस्सास्वरूप अन्तरिक्ष एजेन्सीले कम्पनीलाई यान बनाउन र उडानका लागि ११ करोड ८० लाख डलर दिएको थियो । रासस

शैक्षिक क्यालेण्डर बनाइ कार्यान्वयन गर्छु : उपकुलपति बराल

र्कीतिपुर । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन् । विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि बिहीबार साँझ कुरा गर्दै उनले भने, ‘विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ ।’ उनले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै उनले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम गर्नेसमेत उल्लेख गरे । ‘विश्वविद्यालयले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्नु निकै आवश्यक छ’, उनले भने, ‘यसका अलवा विश्वविद्यालयको पाठयक्रम अद्यावधिक पनि मेरो प्राथमिकतामा हुनेछ ।’ विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गरेका थिए । नवनियुक्त उपकुलपति प्रा डा बरालले आज नियुक्तिपत्र बुझिसकेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले शुक्रबार कीर्तिपुरस्थित कार्यालय पुगी पदबहाली गर्ने कार्यक्रम छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री दाहालले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो । उनलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्री दाहालले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारीसमेत लिएका थिए । उपकुलपति पदका लागि दर्खास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ । रासस

गृहमन्त्री श्रेष्ठ र यातायातमन्त्री ज्वालाले तत्काल राजीनामा दिनुपर्छः सांसद दाहाल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी छिन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आरती साह र मिटरब्याज पीडितलाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठ र बालकुमारी घटनाका दोषी ठहर भएको हुनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी हुन् । सांसद दाहालले वर्तमान सरकार पूर्णत असफल भएको जिकिर समेत गरे । ‘सरकार आलटाल गरिरहेको छ । माननीय मन्त्रीज्युले राजीनामा दिनु पर्दैन ? आज आरती साहको परिवारले न्याय पाउन सकेका छैनन । आज न आरतीय साहको परिवारले न्याय पाउन सक्यो, न मिटरब्याजीहरुले न्याय पाउन सके । न बालकुमारी घटनाका पीडतले न्याय पाउने सके । हिजो विगतलाई कोट्याएर घायल बन्नभन्दा अब के गर्ने हो, सुनौलो मौका छ । असफल सरकारका गृहमन्त्रीको राजीनामा माग्दछु । र बालकुमारी घटनाका दोषी मन्त्रीज्युलाई स्पष्टिकरण पनि सोधिँदैन, जवाफ पनि दिनुहुन्न । उहाँले पनि म राजीनामाको माग गर्न चाहन्छु’, उनले भनिन् । सांसद दाहालले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई स्पष्टिकरण नलिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आलोचना गरिन् ।