विकासन्युज

१५ वर्षपछि सहकारीमा छिर्‍यो राष्ट्र बैंक, आइतबारदेखि यी ठूला सहकारीको अनुगमन

काठमाडौं । नेपाल राष्ट्र बैंक र सहकारी विभागको समन्वयमा सहकारी अनुगमन हुने भएको छ । विभाग र राष्ट्र बैंकको सहकार्य तथा समन्वयमा ५० करोड रुपैयाँ बढी सेयर पुँजी भएका सहकारी संघ संस्थाहरूको अनुगमन आइतबारदेखि हुने भएको हो । त्यसका लागि छलफल भइसकेको बताइएको छ । यसअघि ठूला सहकारीको नियमनका लागि मन्त्रालयले राष्ट्र बैंकलाई आग्रह गरेपनि राष्ट्र बैंकले एक्लै अनुगमन नगर्ने भनेपछि दुइटैको सहकार्यमा अनुगमन हुने भएको हो । राष्ट्र बैंकले सहकारीको अनुगमनमा प्राविधिक सहयोगका लागि उपनिर्देशक डा. रमेश चौलागाईं, गैर बैंकिङ वित्तीय संस्थाका रामकृष्ण राई र लघुवित्त विभागका रमेश पौडेललाई पठाएको छ । यस्तै, विभागले पनि उपनिर्देशक टोलराज उपाध्यायको संयोजकत्वमा टोली पठाउने छ । सो समूहले पहिलो चरण अन्तर्गत काठमाडौं उपत्यकाका ठूला सहकारीहरूको अनुगमन गर्ने विभागका सूचना अधिकारी टोलराज उपाध्यायले बताए । उनका अनुसार राष्ट्र बैंकका कर्मचारीको सहकार्यमा अनुगमन हुन लागेको हो । ‘राष्ट्रलाई ठूला सहकारीको अनुगमनका लागि अनुरोध गरेका थियौं । तर, राष्ट्र बैंकले जनशक्तिको अभाव भन्दै एक्लै अनुगमन गरेन, अब हामीले सहकार्यमा आइतबारदेखि अनुगमन गर्छौं, राष्ट्र बैंकबाट आएका कर्मचारीले वित्तीय विवरण विश्लेषणको पाटो हेर्नु हुन्छ,’ उनले भने । उनका अनुसार अनुगमन टोलीले राम्रा र नराम्रा दुइटै किसिमका सहकारीको अनुगमन गर्नेछ । ‘सहकारीमा केही समस्या छ भने सुधारका लागि निर्देशन दिन्छौं, ठूलो गल्ति गरेको छ भने कारबाहीका लागि सिफारिस गर्छौं, राम्रा सहकारीको पनि अनुगमन गरेर तिनको अभ्यास अन्य सहकारीलाई पनि यस्तो गर भनेर सल्लाह दिन्छौं,’ उपाध्यायले भने । यो अनुगमनको मोडालिटी बनाउने, संस्थाहरू छनोट गर्ने काम भने विभागले नै गर्नेछ । अनुगमनको मोडालिटीको विषयमा बुधबार र बिहीबार छलफल भएको उपाध्यायले बताए । यस्तै, राष्ट्र बैंकका उपनिर्देशक रमेश चौलागाईंले आफूमा भएको विज्ञताको प्रयोग गरेर ठूला सहकारीको अनुगमन गर्ने बताए । उनका अनुसार ५० करोडभन्दा बढी पुँजी भएका उपत्यकाका सहकारीको अनुगमन आइतबारदेखि हुनेछ । ‘विभागले छनोट गरेका संघ संस्थाहरूमा हामीले जाने हो, संस्थाहरूको वित्तीय विवरण के कस्तो छ ? वित्तीय विवरणमा कम्प्लायन्स के कसरी पालना गरेका छन् ? केही सुझाव मात्रै दिन मिल्ने छ वा ठूलो कैफियत छ, यी सबै विषयहरू हेर्छौं,’ डा. चौलागाईंले भने । हाल ५० करोड बढी पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले गर्नुपर्ने व्यवस्था छ । तर, राष्ट्र बैंकले सहकारीको नियमन एक्लैले गर्न नसक्ने भने पछि संयुक्तरूपमा अनुगमन हुने भएको हो । यसअघि सहकारीको समस्या पहिचान र समाधानका लागि भनेर सरकारले बनाएको कार्यदलले राष्ट्र बैंकले ठूला सहकारीको नियमन गर्नु पर्ने सुझाव दिएको थियो । सोही सुझाव अनुसार केही साताअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस पनि गरेको थियो । मन्त्रालयले श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी, गोर्खा सेभिङ एन्ड क्रेडिट, आइडियल यमुना, हाम्रो बहुउद्देश्यीय, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, गौतम श्री बहुउद्देश्यीय, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको अनुगमन गर्न मन्त्रालयले राष्ट्र बैंकलाई आग्रह गरेको थियो । तर, राष्ट्र बैंकले यी सहकारीको एक्लै अनुगमन गर्न नसक्ने भनेपछि संयुक्त अनुगमन हुने भएको हो । आइतबारदेखि  यिनै सहकारीको अनुगमन हुने बताइएको छ । सहकारी ऐन, २०७४ अनुसार ५० करोड रुपैयाँभन्दा माथि पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले गर्नुपर्ने व्यवस्था छ । तर, राष्ट्र बैंकले सहकारी आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै पन्छिँदै आएको हो । यस्तै, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका २०७७ को दफा ४८ मा संयुक्त अनुगमन टोली गठन गर्न सकिने व्यवस्था छ । सोही व्यवस्था अनुसार अहिलेको अनुगमन टोली गठन गरिएको हो । सो निर्देशिकाको दफा ३१ ले ५० करोडदेखि एक अर्ब रुपैयाँ बढी सेयरपुँजी भएका सहकारीको अनुगमन १० दिनभित्र र १ अर्बभन्दा बढी सेयरपुँजी तथा जायजेथा भएको सहकारी संस्थाका लागि १२ दिनको समय कार्यविधि तोकेको छ । डेढ दशकपछि अनुगमन नेपाल राष्ट्र बैंकले सहकारीमा अनुगमन गर्न लागेको यो दोस्रो पटक हो । सहकारी विभागले बेला बखत सहकारी संस्थाहरूमा अनुगमन गर्दै आएको भएपनि विभाग र राष्ट्र बैंकको सहकार्यमा गर्न लागेको अनुगमन भने यो दोस्रो पटक हो । सहकारी ऐन र नियमावलीमा ५० करोडभन्दा बढी कारोबार गर्ने बचत तथा ऋण कारोबार गर्ने सहकारीको अनुगमन बैंकले गर्नसक्ने व्यवस्था भएपनि राष्ट्र बैंकले विभिन्न कारण देखाउँदै सहकारीको अनुगमन गर्नबाट पछि हटिरहेको थियो । तर, अहिले भने विज्ञ उपलब्ध गराएको हो । यसअघि अर्थात् वि.सं. २०६५/६६ तिर नेपालको वित्तीय बजारमा अल्पकालिन बैंकिङ तरलता संकट सिर्जना भएको र सो हुनुमा नेपालका सहकारीको जिम्मेवारी कति भन्ने विषयलाई लिएर नेपाल सरकारले राष्ट्र बैंकलाई अध्ययन गर्न आग्रह गरेको थियो । राष्ट्र बैंक ऐन, २०५८ लागू हुनुपूर्व करिब ४३ वटा सहकारीहरूलाई राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने स्वीकृति दिएको थियो भने ती सहकारीहरूको अनुगमन पनि गर्दै आएको थियो । आर्थिक वर्ष २०६१/६२ को मौद्रिक नीतिमा राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त सहकारी संस्थाहरूको निरीक्षण एवम् सुपरिवेक्षणको कार्य हाल यस बैंकबाट भइरहेकोमा यी संस्थाहरूको सुपरिवेक्षकीय निकायको रूपमा एउटा छुट्टै सेकेण्ड टायर इन्स्टिच्युट (एसटीआई) स्थापना गर्नेतर्फ आवश्यक व्यवस्था गरिने व्यवस्था उल्लेख थियो । त्यसपछि राष्ट्र बैंक विस्तारै सहकारीको नियमन तथा सुपरिवेक्षणबाट बाहिरियो । आर्थिक वर्ष २०७०/७१ को मौद्रिक नीतिमा पहिलो पटक वार्षिक ५० करोडभन्दा बढीको कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरूको अनुगमनमा सहकारी विभागलाई राष्ट्र बैंकबाट विशेषज्ञ सेवा उपलब्ध गराइने गरिने उल्लेख गर्‍यो । यस्तै, आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमा बचत तथा ऋण सहकारी संस्थाहरूका साथै लघुवित्त कारोबार गर्ने संस्थाहरूको संख्यामा उल्लेख्य वृद्धि भइरहेको र यी संस्थाहरूको प्रभावकारी नियमन तथा सुपरीवेक्षण गर्न एउटा छुट्टै सबल निकायको आवश्यकता रहेको कुरा पुनः उल्लेख गर्यो । तर, त्यसको प्रभावकारी काम भने राष्ट्र बैंकले गर्न सकेन । कारण थियो, जनशक्ति अभाव र सरकारको सुस्तता । १५ वर्षपछि राष्ट्र बैंक सहकारीमा छिरेको हो । धेरैले सहकारीमा राष्ट्र बैंकको अनुगमन अपरिहार्य रहेको बताउँदै आएका छन् । भारतले यसरी गरेको थियो ‘सेफ ल्याण्डिङ’ सहकारीमा समस्या आउनु नेपालको मात्रै समस्या होइन । बेला बखत विभिन्न देशमा समस्या आउने गरेका छन् । छिमेकी देश भारतमको सहकारी क्षेत्रमा पनि यो समस्या आएको थियो । भारतमा समेत सहकारीलाई केन्द्रीय बैंकले कानुन बमोजिम सुपरीवेक्षण गर्दै आएको छ । सन् २०१९ मा करिब ९ करोड जनताको साँढे पाँच लाख करोड भारतीय रूपैयाँको निक्षेप कारोवार गरिरहेका साढे एक हजार सहकारीहरू समस्यामा परेपछि भारत सरकारले ती संस्थाहरूको सुपरीवेक्षण तथा नियमनको जिम्मा केन्द्रिय बैंकलाई दिएको थियो । अहिले नेपालमा जसरी सर्वसाधारणको बचत डुब्ने चिन्ता भइरहेको छ, यस्तै चिन्ता सो समयमा भारतमा पनि थियो । बचतकर्ताको निक्षेपको असुरक्षा बढ्दै गएपछि भारत सरकारले ती सहकारीहरूको व्यवसायिकता अभिवृद्धि समेत गर्ने उद्देश्यले एक कानुन पारित गरी ती सहकारीहरूमा केन्द्रीय बैंकले अनुगमन गर्ने व्यवस्था गरेको गरेको थियो । पछि भारतको केन्द्रिय बैंकले नियमनको जिम्मा पाएपछि विस्तारै सहकारीहरू सहज भए र बचतकर्ताहरुको निक्षेप पनि सुरक्षित बन्दै गएको थियो । अहिले नेपालमा पनि एकपछि अर्को सहकारी समस्यामा परिरहेका छन् । अहिले अधिकांश सहकारीका सञ्चालकहरू धमाधम फरार भइरहेका छन् । यसले सहकारीका बचतकर्ताको बचत डुब्न सक्ने चिन्ता एकातर्फ छ भने सहकारी क्षेत्र नै ठूलो संकटमा परेर देशकै अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव पर्ने होकि भन्ने टिकाटिप्पणी पनि हुन थालेका छन् । सम्बन्धित सामग्री : ५० करोड बढी पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले नगर्ने, विज्ञ उपलब्ध गराउने राष्ट्र बैंकलाई सकस पर्न सक्छ सहकारीको नियमन, भारतले यसरी गरेको थियो ‘सेफ ल्याण्डिङ’

काठमाडौंको थापाथलीबाट चोरी भयो २६ दिनको शिशु, प्रहरी भन्छ : खोजी गर्दैर्छौं

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाटबाट जन्मेको २६ दिन भएकी नवजात शिशु चोरी भएको छ । शुक्रबार थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा बालिका चोरी भएको हो । काभ्रेको चौरी देउराली गाउँपालिका-३ घर भएर कपन बस्ने २२ वर्षिया सविना श्रेष्ठले आफ्नो बच्चा हराएको भन्दै दिउँसो साढे १२ बजेतिर प्रहरी कहाँ खबर गरेकी काठमाडौं जिल्ला प्रहरी परिसरले जानकारी दियो । ‘चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिनु भन्दै रिपोर्ट लिन जानुभएको रहेछ’, एक प्रहरीले भने, ‘आउँदा महिला हिँडिसक्नु भएको रहेछ ।’ अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर छोरी लिएर फरार भएको पीडित महिलाले प्रहरीलाई बताएकी छन् । क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा भने बच्चा लिएर फरार भएकी महिला कैद भएकी अनुसन्धान अधिकृतहरुले बताएका छन् । उनीहरूका अनुसार बच्चा लैजाने आरोपीको हुलिया पहिचान भएको छ । यद्पि, काठमाडौं प्रहरी परिसरले भने खोजी कार्य जारी भइरहेको बताएको छ ।

अब देशभरका विमानस्थलमा फ्री वाइफाई

काठमाडौं । नेपालभित्र सञ्चालित विमानस्थलहरुमा नेपाल टेलिकमले फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलहरुमा फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउनेगरी सम्झौता भएको हो । सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् । सहमतिपत्र अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्री वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ । त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ । कम्पनीका अनुसार फ्री वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ । त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुनेछ ।

एनसेल सामाजिक पहलका लागि १६५ भन्दा बढी प्रस्तावहरु प्राप्त

काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्तावहरु प्राप्त गरेको छ । कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागु हुने गरि यो कार्यक्रम संचालन गरेको हो । हाल एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनहरुको मुल्याङ्कन गरिरेहको जनाएको छ । एनसेलले माघ १७ गतेसम्मको समय दिएर ७ वटै प्रदेशका ईच्छुक गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो । एनसेलका अनुसार देशैभरीबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जिविकोपार्जन सहयोग लगायतका क्षेत्रहरुमा विकास कार्य गर्न उत्साहजनकरुपमा प्रस्तावहरु प्राप्त भएका छन् । लागु हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने संभावना लगायतका आधारहरुमा कार्यक्रमहरु छानिने कम्पनीले बताएको छ । तोकिएको मापदण्ड र प्रक्रिया पुर्याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रति कार्यक्रम रु १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस सामाजिक पहल अन्तर्गत कुल १८ आयोजानाहरु छानिने छन् र प्रत्येक एक प्रदेशमा दुई आयोजना लागु गरिनेछन् । बाँकी चार आयोजनाहरु प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यन्वयन गरिने छन् । दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । एनसेलले सबै भन्दा ठूलो करदाता मध्ये एकका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्याउँदै आएको छ । आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीले कर तथा गैरकरहरु गरी रु ३ खर्ब भन्दा बढि राजश्व सरकारलाई तिरी सकेको छ ।

गजलकारपछि बैंकर बनेका गिरी, ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ले ल्याएको थियो चर्चामा

काठमाडौं ।  गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गजलका लेखक । कुनै समय अधिकांश गजलप्रेमीको ओठमै झुण्डिएको यो गीतपछि गिरी कहाँ होलान् ? के उनको सिर्जना यात्रा ब्रेक लाग्यो कि के भयो होला ? हुन त कुनै पनि गीत/गजल जति चले पनि सर्जकको चर्चा कमै हुन्छ । तर, त्यो बेलामा गिरी भने आफूलाई त्यसबाट केही हदसम्म मुक्त राख्न सफल भएका थिए । विसं २०६७ वैशाखमा सार्वजनिक उक्त गजलले गायक प्रमोद खरेलसँगै सर्जकका रूपमा गिरीलाई पनि उचाइ दियो । सङ्गीतकार महेश खड्का पनि सो गजलबाट सफलताको अर्को सिँढी चढे । गायक प्रमोद खरेल देशविदेशका जुनसुकै मञ्चमा पुग्दा नछुटाइ गाउने गजल हो ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…।’ पोखरेलीले मात्र नभई हर कोही सङ्गीत पारखीले आफ्नो प्रिय गजलका रूपमा यसलाई लिन्छन् । युवा पुस्तामाझ त झनै लोकप्रिय छ । भौगोलिक सामिप्यताको मनोविज्ञानले पनि गजललाई श्रुतिमय बनाएको छ । यो गजल गिरीले काठमाडौंमा स्नातकोत्तर अध्ययनरत रहँदा रचना गरेका थिए । ‘२०६२/०६३ मा अध्ययनका सिलसिलामा काठमाडाैंमा थिएँ, कीर्तिपुरमा बस्थेँ, बाटोमा हिँड्दाहिँड्दै गजलको दुई शेर फुर्‍यो, कोठामा पुगेर गजललाई पूर्णता दिएँ’, उनले भने, ‘पहिलोपटक जन्मथलो छोड्दा एक किसिमको उदासी र छटपटीजस्तो मनमा थियो, पोखराको खुब याद आइरहन्थ्यो, त्यही भावभूमिका यो गजल तयार भएको हो ।’ काठमाडाैं छँदा गीतकार विपीन किरणलगायतसँग उनको सङ्गत थियो । उपत्यकामा हुने साहित्यिक गोष्ठीमा गिरीले भाग लिन थाले । एकदिन अनाममण्डलीमा सोही गजल सुनाउँदा गिरीले वाहीवाही बटुले । गजलको प्रशंसा भयो । साथी/शुभेच्छुकले गजल रेकर्डका लागि उनलाई प्रेरित गरे । काठमाडाैंमै रहँदा सङ्गीतकार महेश खड्कासँग पनि गिरीको चिनापर्ची भइसकेको थियो । स्नातकोत्तरको पढाइ सकेर गिरी विसं २०६४ मा पोखरा फर्किए । सोही वर्ष पोखरामा भएको चलचित्र महोत्सवमा भाग लिन काठमाडाैंदेखि सङ्गीतकार महेश खड्का, गीतकार विपीन किरणलगायत पोखरा आएका थिए । पोखरा आएका बखत उनीहरू पोखरा महानगरपालिका-२४ कास्कीकोटस्थित गिरीको घरमा पुगे । साँझपखको जमघटमा गिरीले लेखेको गजलबारे गीतकार विपीन किरणले प्रसङ्ग उप्काए । सोही माहोलमा गिरीले सुनाए, ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…।’ ‘मेरो गजल मन पराएर सङ्गीतकार महेश खड्का दाइले तत्क्षण नै टेबलमा हात ठटाएर पहिलो धुन तयार पार्नुभएकाे थियाे’, गिरीले विगत कोट्याए, ‘महेश दाइले सुरुमा चलचित्रलाई भनेर सङ्गीत तयार गर्नुभएको थियो, तर पछि प्रमोद खरेल दाइको प्रणय एल्बममा गजल समावेश भयो ।’ उक्त गजलले नसोचेको चर्चा र सफलता पाएको गिरीको भनाइ छ । गजलले युट्युबमा पनि लाखौँ ‘भ्युज’ पाएको छ । सुरुवातमा रेडियोमा सर्वाधिक बज्ने गजलमध्येमा पर्थ्यो । ‘त्यसपछि पनि मेरा गीत, गजल रेडर्क भए तर त्यो जति सफल हुन सकेनन्’, उनले भने, ‘स्रोता, पाठकले सिर्जनामा पुनः सशक्त ढङ्गले मेरो पुनरागवमन होस् भन्ने चाहिरहनुभएको छ, म अहिले त्यसकै लागि सङ्घर्षरत छु, मेरो गीत लेखनको यात्रा रोकिएको छैन, अहिले पनि हप्तामा एक/दुई वटा गीत, गजल लेखिरहेको हुन्छु ।’ उमेरले ४० कटेका गिरीको पहिलो गीत ‘केही छैन दिउँ भने गरिबीले झनै रित्तिएँ…’ विसं २०५८ मा रेकर्ड भएको थियो । जसमा विनोद बानियाँको सङ्गीत र विमल पराजुलीको स्वर छ । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरा…’ उनको दोस्रो रेकडेर्ड सिर्जना हो । त्यसयता पनि उनका कैँयन गीत/गजल सार्वजनिक भएका छन् । कतिपय रेकर्ड हुने चरणमा छन् । गिरीको विसं २०७६ मा मुक्तक सङ्ग्रह ‘सालिक’ सार्वजनिक भएको थियो । गीत, गजल र मुक्तक लेखनमा सिद्धहस्त उनी पेसाले बैंकर्स हुन् । जागिरे जीवन सुरु भएदेखि सिर्जनकर्म केही सुस्ताएकामा भने गिरी सहमत छन् । ‘जागीरले कहीँ न केही बन्धन राख्छ, जिजीविषाका लागि काम नगरी पनि भएन, तर यसले सिर्जनशीलता खुम्चाउँदोरहेछ, चाहेर पनि भनेजति समय दिन सकिन्न’, उनले भने, ‘फेरि यसमा मलाई कुनै कुण्ठा छैन, व्यावसायिक रूपमा मेरा थोरै मात्र सिर्जना चले पनि म सन्तुष्ट छु ।’ उनले गीत लेख्नु आफ्ना लागि एक किसिमको ‘पागलपन’ भएको बताए । ‘वास्तविक अनुभूतिको तहमा ओर्लेर गीत लेखिरहेको हुन्छु, आनन्दको महसुस हुन्छ, गीत लेख्दा मेरा आँखा टिलपिलाइरहेका हुन्छन्’, गिरीले भने, ‘म बिना कसैकसैलाई… लेख्दा पनि मभित्र एउटा छटपटाहट थियो, त्यसैलाई इमान्दारपूर्वक गजलमा उतारेँ ।’ उनले यात्रा र भेटघाटमा उक्त गजलबारे चर्चा चल्दा सर्जक म हुँ भनेर चिनाउँदा मानिस खुसीले दङ्ग पर्ने गरेको सुनाए । कुनै पनि गीत/गजल चर्चाको शिखरमा हुँदा पनि गीतकार भने छायाँमा पर्ने गरेको गिरीले बताए । ‘कतिपय ठाउँमा त सर्जकको नामै उल्लेख नगरी गीत गाउने चलन छ, त्यसो गर्दा नमिठो अनुभव हुन्छ, कुनै पनि सफल गीतको पहिलो खुड्किलो गीत रचनाबाट सुरु हुन्छ, गीतकारलाई नजरअन्दाज गर्न मिल्दैन’, उनले भने । गीतकार प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका गिरीलाई गीत लेखनसँगै संस्था हाँक्ने जिम्मेवारी पनि छ । प्रतिष्ठानले गीतकारको हकहितबारे वकालत गर्नेदेखि एकल गीत वाचन, गीत लेखन कार्यशालालगायतका काम गर्दै आएको छ । गिरीलाई बैंकको जागिरले केही समयअघि महोत्तरीको बर्दिबास पुर्‍याएको छ । बीस वर्षअघि पोखरा छाडेर काठमाडाैं जाँदा र अहिले बर्दिबास पुग्दाको अनुभूतिजन्य भावमा पक्कै अन्तर छ । जहाँ गए पनि गिरीलाई पोखराको यादले भने हरक्षण पछ्याइरहेको हुन्छ । उनकै गजलले भनेझैँ ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा…।’  रासस

समृद्धि फाइनान्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण ११ गते संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत शाखा कार्यालय पुतलीसडक, नारायणगढ र बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रम बुटवलको रक्त सञ्चार सेवा केन्द्रमा, नारायणगढ शाखाको प्राङ्गगणमा र पुतलीसडकबाट शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न गरिएको थियो । सो कार्यक्रममा बुटवलबाट ३८, नारायणगढबाट ४३ र पुतलीसडकबाट ५० गरी जम्मा १३१ युनिट रक्त संकलन भएको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरु तय गरेकोमा फाल्गुण महिनाको लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको साथै आउने महिनाहरुको लागि विभिन्न मितिहरुमा अन्य कार्यक्रमहरु आयोजना गर्ने तालिका रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले तराई-मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त समस्या समाधानका निम्ति वन मन्त्रालय र ऊर्जा मन्त्रालयसँग पनि छलफल गरिएको बताए । मन्त्री यादवले दीर्घकालीनरुपमा समस्या समाधानका लागि तराई-मधेसमा रहेका अधुरा खानेपानी ट्याङ्क निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको बताए । ‘मधेस–प्रदेशमा हाल देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एक मात्र विकल्प प्राकृतिक पुनर्भरणका रुपमा रहेको चुरे क्षेत्र हो । चुरे संरक्षण नै यसको दिगो समाधान हो’, उनले भने।

वर्षेनि बढ्दै खजुरीको नेपालको व्यापार, एकै वर्षमा गर्यो पौने दुई अर्बको आम्दानी

काठमाडौं । खजुरीको नेपाल प्राइभेटले एक वर्षमा एक अर्ब ७३ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । बिस्कुट, कुकीज र पफको उत्पादन गर्दै आएको कम्पनीले सन् २०२३ मा सो रकम बराबरको व्यापार गरेको हो । जुन सन् २०२२ को तुलनामा सामान्य प्रतिशतले बढी हो । सन् २०२२ मा कम्पनीले एक अर्ब ६५ करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२१ मा एक अर्ब २८ करोड ६० लाख, २०२० मा एक अर्ब १५ करोड २० लाख र २०१९ मा ९९ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यो तथ्यांकले कम्पनीको व्यापार वर्षेनि निरन्तर बढ्दै गएको देखिन्छ । सन् १९९४ देखि एक स्वामित्व फर्मको रुपमा सञ्चालित यस कम्पनी अप्रिल २००४ मा व्यापार सञ्चालनहरू लिनको लागि गाभिएको थियो । कम्पनीले हाल ललितपुर, चितवन र मकवानपुरबाट बिस्कुट, कुकिज र पफ उत्पादन गर्दै आएको छ । एउटै परिवारका ६ जनाले सञ्चालन गर्दै आएको यस कम्पनीको अध्यक्षमा ओमनाथ महर्जन रहेका छन् । कम्पनीले व्यापार विस्तारका लागि ऋण सुविधा लिने भएको छ । कम्पनीले एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋण सुविधा लिन केयर रेटिङ नेपालबाट रेटिङ गराएको छ । जसअन्तर्गत कम्पनीले दीर्घकालिन कर्जा सुविधा (८७ करोड ४७ लाख रुपैयाँ) का लागि एल डबल बी र अल्पकालिन कर्जा सुविधा (२२ करोड ५३ लाख रुपैयाँ) का लागि ए फोर रेटिङ पाएको छ ।