अफ्रिकन स्वाइन फिवर रोकथाम गर्न नाकामा निगरानी
सुदूरपश्चिम । सुँगुर, बुङ्गुरलगायतका पशुमा महामारीका रूपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सीमानाकामा निगरानी बढाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको सरोकारवालाको बैठकमा यो रोग भित्रिन नदिन सीमानाकामा अवैध पैठारी तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउने निर्णय गरिएको हो । सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा अफ्रिकन स्वाइन फिवर रोग फैलिन सक्ने जोखिम बढेकाले सचेत रहन कृषक तथा व्यावसायिक फार्मलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले अपिल गरेको छ । बैठकमा बङ्गुर तथा बङ्गुरजन्य पदार्थको ढुवानीमा पशु ढुवानी मापदण्ड २०६४ तथा भेटेनरी निरोगिताको प्रमाणपत्रसम्बन्धी प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने, कृषक तथा बङ्गुर व्यवसायीलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न उत्प्रेरित गराउने, पशु तथा पशुजन्य सामग्री तथा सवारी साधनको निर्मलीकरण गर्न लगाउने र आवश्यक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी पछिल्ला महिनामा कतिपय फार्मका बाख्रामा ‘टोक्सोप्लाज्मा गोन्डी’ र ‘क्यु फिवर’ नामको (बाख्रा तुहिने) रोगको पुष्टि भएको सन्दर्भमा यो रोगको रोकथामका लागि पनि सरोकारवाला निकाय र कृषकसँग समन्वय गरी सचेनामूलक कार्यगर्ने पनि निर्णय गरिएको छ । गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगर क्षेत्रका कतिपय फार्मको बाख्राको नमूना परीक्षण गर्दा ‘टोक्सोप्लाज्मा गोन्डी र क्यु फिवर’ रोगको पुष्टि भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा. हेमराज अवस्थीले जानकारी दिए । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बङ्गुर सुँगुरको व्यवसायमा लागेका किसानको व्यवसायमा प्रतिकूल असर नपुग्ने गरी कडाइका साथ रोगको रोकथामको पहल गर्नुपर्ने बताए । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा. अवस्थीले अफ्रिकन स्वाइन फिवर रोग र यसले निम्त्याउन सक्ने समस्या, रोकथाममा लागि गरिएको पहलका बारेमा जानकारी गराएका थिए । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. नरेशप्रसाद जोशीले यो रोगको रोकथामका लागि जैविक सुरक्षा नै प्रभावकारी उपाय रहेको बताए । यो रोगको सङ्क्रमण बढ्दा विगतमा कैलालीको भजनीका एक व्यवसायीको फार्ममा चार सय १५ बङ्गुर मरेका थिए । सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषालुका कारण लाग्ने यो अफ्रिकन स्वाइन फिवर रोगको मृत्युदर उच्च रहेको र छिटो फैलिने गरेको बताइन्छ । नेपालमा पहिलो पटक गत वर्ष जेठ महिनामा यो रोगको पुष्टि भएको थियो । देशभरका २८ जिल्लामा सङ्क्रमण देखिएपछि जैविक सुरक्षाको विधि अवलम्बनसँगै सीमा तथा आन्तरिक क्वारेन्टाइनबाट ओसारपसारमा निगरानीका साथै सचेतनाका कार्यक्रम गरिएको थियो । यो रोगको सङ्क्रमण हुँदा सुँगुर, बङ्गुर तथा बँदेलमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, तुहिनेजस्ता लक्षण देखिन्छन् । विश्व पशु स्वास्थ्य सङ्गठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रणसहित जैविक सुरक्षामा विशेष ध्यान पु¥याउन सिफारिक गरेको डा. अवस्थीले जानकारी दिए । फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्ने, बङ्गुर पालिएको खोर र फार्ममा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडरलगायतका निःसङ्क्रमणका औषधि प्रयोग निःसङ्क्रमण गर्ने, रोगको शंका लागेको पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्ने, मरेका पशुलाई खाडलमा गाड्नेलगायतका उपाय अपनाउन सकिने पशु चिकित्सकको भनाइ छ ।
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
बलेवा । सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो । पहिरोले बागलुङ–गुल्मीखण्डअन्तर्गत मालढुंगा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुंगादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए । ‘दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ,’ उनले भने, ‘ढुंगा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन ।’ पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए । सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ ।
टिकटक चलाउने इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट अझै टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ । सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । प्राधिकरणले अझै टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको हो । प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेर नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइसकेको भए पनि अझै केही सेवा प्रदायकको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको पाइएकाले त्यस्ता सेवा प्रदायक कम्पनीहरूबारे जानकारी दिन आग्रह गरेको छ । ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी भएकोमा केही सेवा प्रदायक कम्पनीहरूको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेकोरटिकटक चलिरहेको पाइएकोले त्यस्ता सेवा प्रदायकलाई प्राधिकरणबाट स्पष्टीकरण सोधिएको र दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही प्रक्रिया अघि बढिसकेको हुँदा इन्टरनेट सेवा प्रदान गर्ने अन्य सेवा प्रदायक कम्पनीहरूलाई समेत प्राधिकरणको निर्देशन पालना गर्न र निर्देशन पालना नगरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही हुने ब्यहोरा यसै सूचनामार्फत जानकारी गराइएको छ,’ सूचनामा छ । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्ष निकाल्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।
‘पैसाको अभावमा उपचार नपाएर फिर्ता जान पर्दैन’
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरूपमा १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । अस्पतालले गत आर्थिक वर्ष २०७९/८० मा ११ हजार जनाको शल्यक्रियासहित एक लाख ५४ हजार बिरामीलाई बहिरङ्ग सेवामार्फत आँखासम्बन्धी सबै खाले उपचार प्रदान गरेको थियो । आगामी चार वर्षभित्रमा निर्धारित लक्ष्य हासिल हुने गरी सेवालाई थप गुणस्तरीय, चुस्त र प्रभावकारी तुल्याइने उक्त अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले बताए । अस्पतालले उक्त आवमा सेवाग्राहीलाई एक करोड १६ लाख मूल्य बराबर विभिन्न छुटसहित निःशुल्क उपचार सेवा उपलब्ध गराएको थियो । त्यसअवधिमा अस्पतालले विभिन्न शिविर र दृष्टि केन्द्रमार्फत २७ हजार २०० जनाको निःशुल्क आँखा परीक्षण, शल्यक्रिया र औषधि वितरण गरेको अध्यक्ष डा. पोखरेलले जानकारी दिए । सो कार्यका लागि अस्पतालले २७ लाख खर्च गरेको थियो । अस्पतालले विद्यालय आँखा कार्यक्रमअन्तर्गत सो अवधिमा एक हजार ७२१ ग्रामीण समुदायका विद्यार्थीलाई पठन÷पाठनका लागि आवश्यक पर्ने चश्मा निःशुल्करुपमा उपलब्ध गराएको थियो । त्यस आवमा १४ हजार ९९४ विद्यार्थीको आँखा परीक्षण गरेको अस्पतालले जनाएको छ । अस्पतालले गत आवमा बाराको सिमरा र गोरखामा समुदाय लक्षित गरी सञ्चालन गरेको आँखा शिविरमा एक हजार तीन सय १४ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । सो कार्यका लागि ५२ लाख ५६ हजार रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ । उक्त आवमा स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ता गरी ४७३ जनालाई अस्पतालले तालिम समेत प्रदान गरेको छ । गत आवमा उपचार गर्न आउने बिरामीलाई अस्पतालले विभिन्न सहुलियत प्रदान गर्ने क्रममा २९ लाख ९५ हजार रुपैयाँबराबरको छुट प्रदान गरेको छ । अस्पतालले नागरिकको कमजोर आर्थिक पाटोलाई दृष्टिगत गरी सुलभ अर्थात् रु एक सयमा ओपिडी उपचार सेवा प्रदान गर्दैआएको छ । जिल्लाबाट रिफर भई आउने तथा जटिल खालका रोग लागेका तर आर्थिक हिसाबले विपन्नलाई अस्पतालले उपचारमा विशेष सहुलियत प्रदान गर्दैआएको छ । त्यस्ता विभिन्न बिरामीलाई सेवा र आवश्यकताअनुरुप छुटको व्यवस्था गरिएको छ । अस्पतालमा हाल सातामा एक सय ८० देखि दुई सय जनासम्मको शल्यक्रिया गरिँदै आएको छ । अस्पतालले मुुलुकका विभिन्न भागमा आँखा शिविर सञ्चालन गरी वार्षिकरूपमा ८६ लाख मूल्यबराबरको सहयोग पुर्याएको छ । त्यस क्रममा अघिल्लो वर्ष शिविरमार्फत २७ हजार दुई सय बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । अस्पतालले पछिल्लो समय उपकरणको अभावमा चश्मा नलगाउन पर्ने शल्यक्रियाबाहेक आँखासम्बन्धी सबै उपचार सेवा उपलब्ध गराउँदैआएको छ । सेवाको गुणस्तर अभिवृद्धिका साथै सेवा विविधीकरणका हिसाबले फड्को मार्ने अर्थात् स्तरोन्नतिका लागि कोसिस गरिरहेको अध्यक्ष डा. पोखरेल बताउँछन् । उनी भन्छन्, ‘अरुका तुलनामा धेरै सस्तो र गुणस्तरीय सेवा तथा ठाउँका हिसाबले सबैलाई आउन जान सजिलो भएका कारणले पनि आँखा अस्पताल सेवाग्राहीको रोजाइमा पर्दै आएको छ ।’ अस्पतालको हाल दैनिक सात सय बिरामीको भार थेग्ने क्षमता छ । जन्मजात बच्चामा आँखाको पर्दामा हुने रोगको उपचार प्रणालीगत हिसाबले नेपाल आँखा अस्पतालले परोपकार प्रसूति अस्पतालमा विशेषज्ञ खटाएर परीक्षण गर्ने र अस्पतालमा ल्याएर उपचार गर्दै आएको छ । अस्पताल प्राङ्गणमा आएका कुनै पनि बिरामी पैसाको अभावमा उपचार नलिई फिर्ता नजाउन भन्नेमा अस्पताल प्रतिबद्धता रहेको डा. पोखरेल बताउँछन् । ‘पैसा छैन भनेर उपचार भएन भनेर कोही फिर्ता जानुपर्दैन, त्यस्ता बिरामीलाई हामी सहुलियत र निःशुल्क सेवा उपलब्ध गराउँछौँ,’ उनी भन्छन् । राज्यले विपन्न तथा आर्थिक अभाव झेल्न परेका त्यस्ता व्यक्तिलाई गरिब परिचयपत्र उपलब्ध गराएमा पहिचान गरी सेवा दिन सहज हुने उनको सुझाव छ ।
अध्ययन नगरी धरानमा हवाई मैदान बनाउन सकिँदैन : मन्त्री किराती
धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढंगले अध्ययन नगरी धरानमा तत्काल हवाई मैदान बनाउन नसकिने बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै मन्त्री किरातीले राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाईमैदान अलपत्र अवस्थामा रहेका कारण धरानमा पनि हवाई मैदानको सम्भाव्यताका लागि मिहिन ढंगले अध्ययन भइरहेको बताए । प्राविधिकले धरानमा हवाईमैदानका लागि अध्ययन भइरहेको स्थानमा एकतर्फी मात्र उडान अवतरण गर्न मिल्ने जानकारी दिएको उल्लेख गरे । मन्त्री किरातीले भने, ‘जहाज उडान भर्न सकिन्छ कि सकिँदैन भन्ने बुझेर मात्र हवाई मैदान बनाउनुपर्छ ।’ उनले धरानमा स्थानीय उत्पादन, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि धरान एक्स्पो आयोजना गरिएकाले सहभागी हुन सबैमा आग्रह गरे । विकासका लागि धरान एक्लै अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री किरातीले धरानले चतरा, बराहक्षेत्र, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायत ठाउँका धार्मिक तथा पर्यटकीयस्थललाई ध्यानमा राखेर सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्डीराज ढकालले पछिल्लो समय व्यापार व्यवसाय धरासायी बनेकाले नीजि क्षेत्रलाई उकास्न राज्यले सहयोग गर्नुपर्ने जोड दिए । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य विजयकुमार राई र रमेश बस्नेत, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईलगायतले शुभकामना व्यक्त गरेका थिए । एक्स्पोका आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार हस्तकला, स्थानीय साधनस्रोतबाट उत्पादित वस्तु निकासी र पैठारी गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । यही फागुन २३ गतेसम्म सञ्चालन हुने सो एक्स्पोमा एक सय ५० कक्ष राखिएका छन् ।
अधिकांश पीएसपी र पीएसओ घाटामा छन् : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अधिकांश पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) र पेमेन्ट सर्भिस अपरेटर (पीएसओ) घाटामा रहेका बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित फिनटेक कन्भर्सेसन मा बोल्दै उनले सो बताएका हुन् । ‘राष्ट्र बैंकबाट इजाजत पाएका अधिकांश पीएसपी र पीएसओ घाटामा चलिरहेका छन्,’ उनले भने । राष्ट्र बैंकले डिजिटललाई जोड दिइरहेको बताउँदै गभर्नर अधिकारीले फिनटेकले यसलाई थप विस्तार गर्न भूमिका निर्वाह गरेको बताएका छन् । ‘कुनै बेला चेक साट्न वा सेटलमेण्ट हुन महिना दिन लाग्थ्यो । दार्चुलाको चेक त झन् बढी समय लाग्थ्यो । तर अहिले धेरै परिवर्तन भएको छ,’ उनले भने । साथै, उनले अर्थतन्त्रलाई डिजिटल बनाउन नीतिगत सुधार गर्नुपर्ने भएमा राष्ट्र बैंकलाई सुझाव दिन आग्रह गरेका छन् । त्यस्तै, गर्भनर अधिकारीले व्यक्तिहरुले आफ्नो पासवर्डदेखि आफ्नो गोपनियतामा ध्यान दिन नसक्दा सिस्टमलाई दोष दिने चलन रहेको समेत बताए । ‘अब क्रस बोर्डर डिजिटल कारोबार गर्न सक्ने गरि भारतमा पनि क्यूआरको माध्यमबाट कारोबार गर्न सकिनेछ । एक डेढ महिनाभित्र कारोबार गर्न सकिने गरि काम गरिरहेका छौं । नेपालको प्रविधि विदेश लैजान पहल भइरहेका छन् । नेशनल आइडिलाई डिजिटल कार्ड बनाउन राष्ट्र बैंकको सुझाव छ,’ कार्यक्रममा बोल्दै गभर्नरले भने । पर्यटकहरूलाई डिजिटल कारोबारका लागि पर्यटन मन्त्रालय र विभागसँग छलफल भइरहेको बताउँदै गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमै अस्थायी रूपमा पर्यटकहरूलाई निश्चित अवधिका लागि क्यूआर कोड दिने तयारी थालिएको जानकारी गराए । त्यस्तै, गभर्नर अधिकारीले राष्ट्र बैंकको गुनासो पोर्टलमा आउने गुनासाहरुमध्ये ९८ प्रतिशत सेटल भइसकेको बताउँदै भने- ‘पछिल्लो समयमा लघुवित्त र बैंक सम्बन्धी गुनासो धेरै आएका छन् । विदेशको तुलनामा नेपालमा डिजिटल कारोबारको शुल्क न्यून छ तर यसैसम्बन्धी गुनासो धेरै आउने गरेका छन् ।’
सेरेसले बुटवलको कालीका नगरमा खोल्यो थ्री एस सुविधासहितको शोरुम
बुटवल । विद्युतीय सवारी साधनको क्षेत्रको सेरेसले बुटवलको कालीका नगरमा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले बुटवलमा थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुमको स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इएम मोटर्ससँग साझेदारी गरेको हो । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ । उक्त शोरुमको उद्घाटन बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्लू वृद्धि अटोकोर्पका बिजनेस हेड प्रशन्न पन्त, इएम मोटर्सका डाईरेक्टर राजेश घिमिरे लगायतले संयुक्त रुपमा गरेका थिए । रुपन्देहीमा इलेक्ट्रिक चारपाग्रे सवारी साधनको माग बढदै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकप्रिय हुने कम्पनीको विश्वास छ । शोरुम उद्घाटनको अवसरमा एक जना ग्राहकलाई इएम मोटर्सले सेरेस थ्री इभी गाडी हस्तान्तरण गरेको छ । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिवद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ । सेरेसको बारेमा सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ । सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ । सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ । संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ । नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ । सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँबाट सुरु रहेको कम्पनीले जानकारी गराएको छ । सेरेस मिनी ईभी तीन भेरियन्टमा उपलब्ध छन् । लो ट्रिम १८० किमी बेस अप्सन, मिड ट्रिम १८० किमी फुल अप्सन, र टप ट्रिम २२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
ललितपुर मालपोत र नापीका पाँच जनाविरुद्ध मुद्दा दायर, घूस लिएको आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल पाँचजनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख ५० हजार रुपैयाँ बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ गरिएको थियो । आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध दुई लाख ५० हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । त्यसैगरी, आयोगले विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध पनि मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । रासस