विकासन्युज

डेरी संघद्वारा दूध आयातमा लगाइएको प्रतिबन्धको स्वागत, मिल्क होलिडे नहुने

झापा । कोशी प्रदेशको डेरी उद्योग संघले सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । संघमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो । ‘संघले सात बुँदे निर्णय गरेको छ,’ संघका संयोजक रामचन्द्र उप्रेतीले भने, ‘आयात खुला रहँदा स्वदेशी उत्पादन नबिक्ने समस्या भइरहेको थियो । नेपाल सरकारले हालै आयात रोक्न गरेको निर्णयले हामी खुसी भएका छौँ ।’ संघले किसानबाट खरिद गर्दै आएको दूधको भुक्तानी नियमित गर्ने निर्णय गरेको उनले जानकारी दिए । कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट संकलन गरेको दूधको भुक्तानीमा ठूलो समस्या नरहेकोसमेत उनले बताए । कोशी प्रदेशमा रहेका डेरी उद्योगमा नौनी घ्यू, एसएमपी र छुर्पीको स्टक आवश्यकभन्दा ज्यादा भएको जनाउँदै बैठकले आन्तरिक खपतमा स्थानीय उत्पादन र उद्योगीलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ । बैठकमा एनएमसी डेरी उद्योग, सगरमाथा डेरी संघ, कामधेनु दुग्ध सहकारी, रितिका डेरी उद्योग, शिवम् डेरी इन्डस्ट्रिज, गोरस डेरी प्रालि, जीवन विकास डेरी र मदानी मिल्क हाउसका सञ्चालकको सहभागिता रहेको थियो । मौज्दातमा पाँच लाख केजी नौनी बिक्री नभएका कारण कोशी प्रदेशका डेरी उद्योगमा पाँच लाख केजी नौनी घ्यू मौज्दातमा रहेको व्यवसायी बताउँछन् । विगत ६ महिनाअघिदेखि बिक्री न्यून भएकाले नौनी घ्यू थुप्रिँदै गएको हो । उद्योगीका अनुसार दूधको उत्पादन बढेको बढ्यौँ छ, तर दूध र दूधबाट बनेका विभिन्न उत्पादनको बिक्री हुन सकेको छैन । बिक्री नभएका नौनी घ्यू चिस्यानगृहमा भण्डारण गर्न असम्भव भइसकेको छ । निजी क्षेत्रले तरकारी भण्डारणका लागि प्रयोगमा ल्याइरहेको विर्तामोडको रोयल कोल्डस्टोरलगायत झापा र मोरङका पाँच ठूला कोल्डस्टोरमा नौनी घ्यू राखिएको नेपाल डेरी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले बताए । सीमावर्ती क्षेत्रबाट अवैधरुपमा भित्रिएको दूध र दुग्धजन्य पदार्थले स्वदेशी उत्पादन बिक्री नभएको चिमरिया बताउँछन् । भारतमा भन्दा नेपालमा दूधको मूल्य बढी भएकाले भारतबाट लुकीछिपी दूध र पनिर भित्रिने गरेको हो । सरकारले दुग्ध पदार्थको आयातमा प्रतिबन्ध लगाएपछि अब भारतबाट दूध, पनिर र पाउडर दूधको आयात बन्द हुने व्यवसायीको अपेक्षा छ । खपतभन्दा संकलन भएको दूध धेरै भएपछि कोशीका डेरी उद्योगका दूधसमेत बिक्रीमा समस्या आउन थलिसकेको छ । दूध बिक्न छाडेपछि कोशी प्रदेशमा अधिकांश डेरीले ‘मिल्क होलिडे’ गरिरहेका छन् । रासस

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित, प्रतिमन ८० हजारमा बिक्री

फुङलिङ । कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन २६ हजारदेखि ३२ हजार रुपैयाँसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन ८० हजार रुपैयाँसम्ममा अलैँची बिक्री गरेका छन् । एक मनमा ४० केजी अलैँची हुन्छ । अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन ७० हजारदेखि ८० हजार रुपैयाँसम्ममा बिक्री गरेको जानकारी दिए । ‘सुरुआतमा प्रतिमन ६० हजारदेखि अलैँची बिक्री सुरु भएको थियो । दुई साताअघि ८० हजार रुपैयाँसम्म पनि पुग्यो । अहिले प्रतिमन ७१ हजार रुपैयाँमा अलैँची बिक्री भइरहेको छ ।’ अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको फुङलिङ नगरपालिका–५ का अलैँची व्यवसायी दिनेश अधिकारीको भनाइ छ । ‘पछिल्लो समय भारतमा अलैँची उत्पादन कम भएको र अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको हो,’ उनले भने । अधिकारीका अनुसार यहाँका ८० प्रतिशत किसानले अलैँची बिक्री गरिसकेका छन् । ‘गत वर्षको तुलनामा यसवर्ष अलैँचीको मूल्य अत्यधिक बढ्दा किसान खुसी भएका छन् । अधिकांश किसानले प्रतिमन ७८ हजारदेखि ८० हजार रुपैयाँसम्म अलैँची बिक्री गरेका छन्,’ उनले भने । अलैँचीको मूल्य पाँच वर्षयताकै राम्रो भएको उनको भनाइ छ । प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैँची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने प्रत्येक वर्ष दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । जिल्लाका ६० वडामा अलैँची खेती हुँदै आएको छ । रासस

नेपाल टेलिकमले ३४ विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा दिने

काठमाडौं । नेपाल टेलिकमले ६ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच उक्त सेवा सञ्चालनका लागि सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए । ‘टेलिकम र नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता भएको छ, अबको ६ महिनाभित्रमा सबै विमानस्थलमा वाइफाइ इन्टरनेटको काम सकिनेछ,’ उनले भने । नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेको प्राधिकरणले जनाएको छ ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज कता-कता हुन्छ वर्षा र हिमपात ?

फाइल फाेटाे काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

उज्बेकिस्तानमा ७६६ औद्योगिक क्षेत्र स्थापना

ताशकन्द । व्यापक राष्ट्रिय सुधार भएपछि उज्वेकिस्तानले जनवरी १ सम्म ७६६ वटा औद्योगिक क्षेत्र स्थापना गर्न सफल भएको छ । लगानी, उद्योग तथा व्यापार मन्त्रालयले शनिबार सिन्ह्वालाई बताएअनुसार उज्बेकिस्तान आत्मविश्वासका साथ विस्तारै औद्योगिक क्षेत्रहरू विकास गर्न अग्रसर छ, यसले देशको चरणबद्ध आर्थिक विकासका लागि रणनीतिक लक्ष्यहरू प्राप्त गर्न योगदान पुर्याउनेछ । औद्योगिक क्षेत्रहरूमा रहेका उद्यमहरूले सन् २०२३ मा कुल ५३.४ ट्रिलियन सोम (४.३ बिलियन अमेरिकी डलर) बराबरका दत्पादन गरी राष्ट्रिय अर्थतन्त्रलाई योगदान पुर्‍याएको छ । यसैबीच, सन् २०२३ मा औद्योगिक क्षेत्रमा २० हजार ७ सय रोजगारी सिर्जना भएको थियो भने यो वर्ष २७ हजार ७ सय नया रोजगारीका पद सिर्जना भएको थियो । हालका वर्षहरूमा उज्बेकिस्तानले स्वदेशी र विदेशी लगानीकर्ताहरूका लागि आकर्षक र सहज व्यापारका निम्ति वातावरण सिर्जना गर्न उल्लेख्य सुधारका कार्यक्रम लागु गर्दै छ ।

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने, पहाड काट्ने काम सकियो

भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरु भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए । ‘अब पहाड काट्न एक/दुई मिटर जति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन,’ उनले भने । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरु गरिएको थियो । तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए । यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन् । ६ पुलमा गाडी गुड्ने चरणमा आइपुगेको उनले जानकारी दिए । कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उनले बताए । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत एक अर्ब २८ करोड रुपैयाँ छ । सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन् ।

‘बैंकहरूसँग १८ खर्बसम्म तरल सम्पत्ति छ, आत्तिनु पर्दैन’

बनेपा । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्न सकिने अवस्था रहेको भन्दै  अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्था नदेखिएको बताए । बैंकहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसमेत गर्दा १७/१८ खर्ब तरल सम्पत्ति रहेकाले बैंकिङ प्रणालीमात्रै नभएर अहिले कुनै पनि बैंकमा समस्या नरहेको बताए । ‘बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन्, यसबाहेक सीआरआर र एसएलआर गरेर १७/१८ खर्ब तरल सम्पत्ति छ,’ उनले भने, ‘पछिल्लो समय बैंकहरू डुब्ने लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन् । तर, बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन ।’ यसबाहेक ५ लाखसम्मको निक्षेपको बीमा पनि हुने भएको भन्दै पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको उनले बताए । प्रायजसो बैंकहरू तरलता अभावका कारण डुब्ने अवस्था हुने भन्दै नेपालको सन्दर्भमा तरलताको हिसाबले बैंकहरू सबल अवस्था रहेको केसीले बताए । उनका अनुसार पछिल्लो १० वर्षको तुलनामा यतिबेला बैंकिङ प्रणालीमा तरलता सबैभन्दा सहज अवस्था पुगेको छ । ‘प्रायः बैंक क्षेत्र तरलताका कारण डुब्ने अवस्थामा पुग्छ, तर हामी एकदमै सबल अवस्थामा छौं,’ उनले भने, ‘अहिले बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ, २८ प्रतिशत खुद तरल सम्पत्ति छ, यसले बैंकहरू तरलताको आधारमा सुरक्षित रहेको देखाउँछ ।’ साथै, केही बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ८० प्रतिशत रहेको र केही बैंकको ७५/७६ को प्रतिशत हुँदा केहीको ८३/८४ प्रतिशत रहेको भन्दै उक्त अनुपात राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको तुलनमा धेरै सहज रहेको उनले बताए । सीडी रेसियो र तरल सम्पत्तिमात्रै नभएर नेपालका बैंकहरूको खुद निष्क्रिय कर्जा करिब डेढ प्रतिशत मात्रै रहेको उनले बताए । ‘दक्षिण एसियाको अन्य मुलुककको तुलनामा नेपालमा निष्क्रिय कर्जा न्यून छ, अन्य मुलुकमा जस्तै नेपालमा पनि केही बढे पनि नेपालको निष्क्रिय कर्जा अनुपात कम छ,’ उनले भने, ‘कर्जा नोक्सानी व्यवस्था पनि दक्षिण एसियाका अन्य देशको भन्दा बढी गरेका छौं, भारतमा निष्क्रिय कर्जा कोभिड पछिको तुलनामा केही घटे पनि नेपालको भन्दा बढी नै छ ।’ केसीले खराब कर्जा बढेको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरे । छिमेकी मुलुकको तुलनामा नेपालको बैंकिङ क्षेत्रको औसत एनपीएल धेरै कम रहेको उनको भनाइ छ । खराब कर्जा बढ्दा बैंकहरूले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) छुट्याइरहेका छन् । यतिबेला बैंकहरूले २ खर्ब १८ अर्ब यस्तो प्रोभिजन गरेको उनले बताए । खराब कर्जाबापत बैंकहरूले धेरै नै कर्जा नोक्सानी गरिसकेको हुँदा खराब कर्जा बढेको भनेर डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । तर, पछिल्लो समय बैंकको पैसा तिर्नु हुँदैन भन्ने हल्लाले बैंकिङ क्षेत्रमा समस्या आउन सक्ने केसीले जनाए । ‘केही व्यक्तिले बैंकबाट लिएको ऋण तिर्नु हुँदैन भनेर सडकबाट आवाज उठाएको अवस्था छ,’ उनले भने, ‘कसैले बोलेको भरमा ऋण नतिर्ने प्रवृत्तिले समग्र अर्थतन्त्रमा त्यसको प्रभाव पर्ने देखिन्छ ।’ उनले थपे, ‘एकातिर अन्य देशको तुलनामा नेपालमा सबैभन्दा कम एफडीआई आउने गर्छ, त्यसमा पनि बैंकहरूको कर्जा नतिर्नेलगायत क्रियाकलपाले समग्र सिस्टममा असर गर्छ ।’ त्यसकारण नेपालको बैंकिङ क्षेत्रलाई बचाउन आवश्यक रहेको उनको धारणा छ । यस्तै, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्षसमेत रहेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंकिङ सेक्टरमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेको बताए । ‘बैंकिङ क्षेत्र पारदर्शी छ, पारदर्शी रहेको बैंकिङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्योचित हुँदैन,’ उनले भने, ‘दक्षिण एसियामा नेपालको बैंकिङ क्षेत्र सबल छ । बेला–बेलामा आएका भूकम्प, नाकाबन्दी र कोभिडजस्ता समस्या पनि आए, त्यस्तो परिस्थितिमा केन्द्रीय बैंकले विभिन्न सहज गरिदिएको अवस्था थियो ।’ परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर परेका बेलामा गलत हल्ला फैलाएर बैंकिङ क्षेत्रमाथि प्रहार गर्नु कत्तिको उपयुक्त हुन्छ ? उनले प्रश्न गरे । यस्तो हल्ला चिर्न मिडिया र सरकारले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उनले देशको अर्थतन्त्रलाई सहयोग गर्ने बैंकिङ क्षेत्रलाई प्रहार गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने बताए । ‘अर्थतन्त्रका इन्डिकेटर तब राम्रो हुन्छ जब सबै क्षेत्रको मनोबल बढ्छ,’ उनले भने, ‘केही व्यक्तिको बैंक डुब्न लागेर भनेर हल्ला गर्दा सर्वसाधारणले बैंकबाट निक्षेप निकालेको अवस्था छ, यस्ता हल्लाले समग्र क्षेत्रको मनोबल गिराउने काम भएको छ ।’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले बैंकिङ संवेदनशील क्षेत्र रहेको हुँदा कसैले पनि व्यक्ति लक्षित भई सिस्टममाथि प्रहार गर्न नहुने धारणा राखे । अर्थतन्त्रको चार क्षेत्रमध्ये बैंकिङ एक हो । त्यसकारण बैंकिङ क्षेत्रममा समस्या आए त्यसले सम्रग अर्थतन्त्र नकारात्मक प्रभाव देखिने उनको भनाइ छ ।

पर्यटकको रोजाइमा पाल्हीनन्दनको नन्दनगर

नवलपरासी । पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । पाल्हीनन्दन–६ मा अवस्थित प्राचीन नन्दनगर अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । परासी सदरमुकामबाट करिब सात किलोमिटर दक्षिण पाल्हीनन्दनको सनइ गाउँ नजिकै ऐतिहासिक नन्दनगर अवस्थित छ । ‘सनइ भन्ने गाउँको पश्चिमतर्फ ऐतिहासिक नन्दनगर छ । प्राचीन नन्दनगरसँग प्राचीन कोलिय गणराज्यको इतिहास जोडिएको जानकारहरु बताउँछन्,’ पाल्हीनन्दन–६ का वडाध्यक्ष क्रिसचन्द्र यादवले भने । यस क्षेत्रको संस्कृति संरक्षण र पुनःउत्थान गर्न रामग्राम–१८ मा रहेको पण्डितपुरबाट नन्दनगरसम्म आनन्द जात्रा निकाल्ने योजना रहेको उनले बताए । जात्रापछि संस्कृतिका रूपमा नन्दनगर विकसित हुँदै जाने वडाध्यक्ष यादवको विश्वास छ । बौद्धकालीन इतिहाससँग जोडिएका संस्कृतिक सम्पदाको संरक्षण गर्न जात्रा निकालिने उनले जानकारी दिए । ऐतिहासिक नन्दनगरको प्राकृतिक मनोरम दृश्वालोकन, सडक सञ्जाल विस्तार, आवास तथा भोजनका लागि होमस्टे (घरबास) सञ्चालन भइरहेकाले आन्तरिक पर्यटकको रोजाइमा नन्दनगर पर्न थालेको वडा सदस्य सुनिता सहानीले बताइन् । यहाँ पर्यटकको आगमन बढे्सँगै स्थानीयको आय पनि क्रमशः वृद्धि भएको उनले बताइन् ।