साढे ३ हजार मेगावाटका ९९ हाइड्रो र ७ सौर्य आयोजनाले पाए सर्वेक्षण अनुमति

काठमाडौं । विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत क्षेत्रमा ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ती आयोजनाको कुल क्षमता ३ हजार २११ मेगावाट रहेको विभागले जनाएको छ ।

सौर्य ऊर्जातर्फ सात वटा आयोजनाले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेका छन्, जसको कुल क्षमता ३११ मेगावाट छ । प्रसारण लाइनतर्फ २२० केभी क्षमताका १७९ सर्किट किलोमिटर, १३२ केभी क्षमताका २७० सर्किट किलोमिटर तथा ३३ केभी क्षमताका १३२ सर्किट किलोमिटर बराबरका आयोजनालाई सर्वेक्षण अनुमतिपत्र प्रदान गरिएको छ ।

विभागका अनुसार २९ वटा आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरेका छन् । ती आयोजनाको कुल क्षमता १ हजार ८५७ मेगावाट रहेको छ । सौर्य ऊर्जातर्फ तीन वटा आयोजनाले उत्पादन अनुमतिपत्र पाएका छन्, जसको कुल क्षमता ३१ मेगावाट छ ।

विभागले वार्षिक रूपमा करिब ३ अर्ब ५० करोड रुपैयाँ बराबरको रोयल्टी सङ्कलन गर्दै आएको छ । उक्त रकम प्रदेश तथा स्थानीय तहमा बाँडफाँट गरिने भएकाले स्थानीय आर्थिक उन्नयन तथा विकासमा महत्वपूर्ण योगदान पुगेको विभागको भनाइ छ।

हालसम्म विभागले जलविद्युत्तर्फ २६४ वटा आयोजनालाई उत्पादन अनुमतिपत्र जारी गरिसकेको छ । ती आयोजनाको कुल क्षमता १२ हजार ३३६ मेगावाट रहेको छ । सौर्य ऊर्जातर्फ भने १० वटा आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरेका छन्, जसको कुल क्षमता ७४.६ मेगावाट छ ।

प्रसारण लाइन निर्माणतर्फ ४०० केभी क्षमताका एक हजार ९७ सर्किट किलोमिटर, २२० केभी क्षमताका ६५६ सर्किट किलोमिटर, १३२ केभी क्षमताका एक हजार ६०८ सर्किट किलोमिटर तथा ३३ केभी क्षमताका ३३७ सर्किट किलोमिटर बराबरका आयोजनाले अनुमति प्राप्त गरेका छन् ।

विभागका महानिर्देशक मनदेवी श्रेष्ठका अनुसार ऊर्जा उत्पादन तथा प्रसारण पूर्वाधार विस्तारका लागि अनुमति दिने कार्य निरन्तर जारी रहेको छ ।

Share News