विकासन्युज

साधना लघुवित्तको सातौ वार्षिक साधारणसभा सम्पन्न, मर्जरको प्रस्ताव पारित

काठमाडौं । साधना लघुवित्त वित्तिय संस्थाको सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गोरखा जिल्ला गोरखा नगरपालिका –६ केन्द्रीय कार्यायालय रहेको साधना लघुवित्तले सातौ बार्षिक साधारणसभा शुक्रबार धादिङ्ग जिल्ला स्थित गल्छी गाउँपालिका वडा नं ६, बैरेनीमा सधारणसभा भएको हो । मिति २०७४ कार्तिक २२ गते देखि सन्चालनमा आएको राष्ट्रिय स्तरको साधना लघुवित्त वित्तिय संस्थाले सदस्य मैती वित्तीय सेवा प्रदान गर्दे आएको छ । साधारण सभाले सञ्चालक समितिवाट पेश भएको आ.व.२०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ । यसैगरि तनहुँमा केन्द्रिय कार्यालय रहेको सबैको लघुवित्त बित्तीय संस्था संग एक आपसमा गाभ्ने गाभिने (मर्जर) को प्रस्ताव सर्वसम्मतिले पारीत गरेको छ । यसैगरी साधारण सभाले साधना लघुवित्त वित्तीय संस्था लि. र साधना लघुवित्त वित्तीय संस्था लि.मर्जर पश्चात नाम सबैको साधना लघुवित्त वित्तीय संस्था हुने, स्वाप रेसियो १ः१ हुने मर्जर पश्चात् केन्द्रिय कार्यालय चितवन जिल्लामा स्थानान्तरण हुने, हालको संचालक समितीको कार्यकाल मर्जर पश्चात पहिलो साधारण सभासम्म रहने गरि विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ । त्यसैगरि सभामा विभिन्न सेयरधनिहरुबाट आएको जिज्ञासा,सल्लाह, सुझाव बारेमा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने र संचालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाले प्रष्ट पार्ने कार्य गरेका थिए भने संचालक समितीको तर्फबाट उपस्थित सबैलाई धन्यवाद ज्ञापन संचालक समितिको सदस्य नरहरी ढकालले गरेका थिए । चालु आ.व. माघ मसान्तसम्म ३१ जिल्ला मार्फत ९३ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुँच १ लाख ४ हजार भन्दा बढि विपन्न परिवारमा सेवा पुगेको छ र हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ५ अर्ब ४० करोड तथा बचत १ अर्ब ३१ करोड भन्दा बढि सदस्यहरुवाट संकलन गर्न सफल भएको छ । निकट भविष्यमा मर्जर पश्चात् संस्थाको सात वटै प्रदेशमा कार्यक्रम विस्तार गरि आधुनिक प्रविधी मैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशिलता विकासका साथै बित्तीय साक्षरतामा बिशेष जोड दिई कार्यक्रम संचालन गर्ने कुरा प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

पैसाको लोभ छैन, रिपब्लिकबाट बाहिरिँदैनौं : शोभा ज्ञवाली

काठमाडौं । मिडिया क्षेत्रमा आईपीओ ल्याउने पहिलो कम्पनी बन्यो नेपाल रिपब्लिक मिडिया । कम्पनीले आईपीओ ल्याउँदा विभिन्न आरोप खेप्नु पर्याे । कतिपय लगानीकर्ताहरूले घाटामा रहेको कम्पनीलाई सेयर निष्काशन गर्न दिएर नेपाल धितोपत्र बोर्डमाथि आक्रोस व्यक्त गरे भने कतिपयले सर्वसाधारणलाई आईपीओ जारी गरेर संस्थापक बाहिरिन लागेको भनेर हल्ला चलाए । तर, रिपब्लिक मिडियालाई पब्लिकमा ल्याएर आफूहरू नबाहिरिने कम्पनीकी निर्देशक शोभा ज्ञवालीले बताइन् । आफूलाई समाजको चिन्ता रहेकाले कम्पनीबाट बाहिरिने कल्पना समेत नगरेको उनको भनाइ छ । मलाई पैसाको मतलब नरहेकाले मिडियाबाट बाहिरिने कुरामा आशंका नगर्न लगानीकर्तालाई उनले आग्रह गरिन् । ‘कान्तिपुरबाट बाहिरिँदा मसँग अर्बौं रुपैयाँ थियो । म मिडियाबाट बाहिरने भए त्यहीँ बेला बाहिरिन्थें । तर, मेरो परिवारमा समाज बनाउने माध्यम नै मिडिया हो । समाजको ऐना भनेको मिडिया हो भनेर हामीले रिपब्लिक स्थापना गर्याैं,’ उनले भनिन्, ‘कान्तिपुरबाट अलग भएपछि त म मिडिया क्षेत्रबाट पलायन भइनँ भने अब त त्यो कल्पना पनि गर्न सक्दिनँ । मलाई पैसाको कुनै मतलब छैन, समाजको चिन्ता छ । त्यसैले मिडियाबाट बाहिरिने कुरामा आशंका नगर्दा हुन्छ ।’ साथै, आगामी दिनमा कम्पनी डुब्न नदिन सजगता अपनाएको उनको भनाइ छ । सकेसम्म फाइनान्सियल स्टेटमेन्ट चुस्त दुरुस्त बनाएर हिसाबहरू मिलाउने गरेको उनले बताइन् । उनका अनुसार देशको अर्थतन्त्र अवस्था राम्रो बनाउन उद्योगधन्दा खोल्नुपर्छ । जब देशले कमाउन थाल्छ, व्यवसाय बढ्न थाल्छ, तब मिडियाले कमाउने उनको धारणा छ । ‘हामीले प्रत्येक त्रैमासको वित्तीय विवरण प्रकाशन गरिरहेका छौं । स्थिर सम्पत्तिको तुलना गरेर हामीले ऋण लिने हो । वित्तीय कारोबार कम्पनीको सीईओले हेर्नुहुन्छ । र, यही वित्तीय अवस्थालाई कायम राख्दै अगाडि बढ्छौं,’ उनले भने, ‘अब महामारी, भूकम्प आयो भने फरक कुरा हो । तर, सकेसम्म हामीले फाइनान्सियल स्टेटमेन्ट चुस्त दुरुस्त बनाएर हिसाबहरू मिलाउँछौं । मासिक तथा त्रैमासिकरूपमा कम्पनीको सञ्चालक समितिको बैठक पनि बस्छ । सञ्चालकहरूबाट पनि सुझाव सल्लाह लिएर हामी अगाडि बढ्छौं ।’ मिडियाको अवस्था अहिले नाजुक रहेकाले लगानीकर्तालाई यो वर्ष लाभांश नबाँड्ने घोषणा गरेको उनले बताइन् । रिपब्लिकलाई पब्लिकमा लगेपछि कम्पनीमा साढे ३ लाख सेयरधनी पुगेको उनको भनाइ छ । कम्पनीले गत जेठमा ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । आईपीओ निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । जसमध्ये संस्थापक समूहको ५५.०१ प्रतिशत अर्थात् ५३ लाख २२ हजार कित्ता र सर्वसाधारण समूहको ४४.९९ प्रतिशत अर्थात् ४३ लाख ५३ हजार कित्ता सेयर स्वामित्व छ । गत बिहीबारसम्म दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३८ रुपैयाँमा कारोबार भएको थियो ।

एकैदिन २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य २ हजार र चाँदीको मूल्य २० रुपैयाँले बढेको हो । गत शुक्रबार एक लाख १९ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य आइतबार एकैदिन २ हजार रुपैयाँले बढेर एक लाख २१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, छापावाला सुनसँगै तेजावी सुनको मूल्य पनि बढेको छ । तेजावी सुनको मूल्य पनि आइतबार २ हजार रुपैयाँले नै बढेर एक लाख २० हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । साथै, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँ कायम भएको छ ।

पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु, तीन धर्मका गुरुहरु एकै ठाउँमा

काठमाडौं । हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य, बौद्ध धर्मका गुरुहरु सङ्गे लामा साथै वाङ्छु लामा, पासाङ छिरिङ लामा, धावा वाङ्छु लामा, लावाङ लामा, नाम्से लामा, पासाङ लामा, राप्तेन लामा, निमा साङ्गे लामा लगायतको उपस्थिति रहेको थियो । त्यसैगरि किराँत धर्मका गुरुहरु हरि थक्लिहाङ, अलिस सेर्मा, हरि केरुङ, राजेन्द्र केरुङ, नर बहादुर अन्छेङ्वो लगायत धेरै भक्तजनहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन कुवेर गौतम र शान्ता कटुवालले गरेका थिए । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ आयोजना गरिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । बुद्ध धर्म सेन्टर साङे छ्योलिङ गुम्बा र किरात साम्यो माङ्सेवासावा नेवाला पान्जुम्भो उपत्यका समितिको सहकार्यमा महायज्ञको आयोजना गरिएको छ । बौद्ध धर्मका गुरुहरुबाट बाजागाजासहित बुद्धको पुजा गरेर मन्त्रजप गरिएको थियो । विश्वमा शान्तिको अग्रदुत गौतम बुद्ध भएकाले विश्वशान्ति महायज्ञमा आफुहरु पनि संलग्नता हुन पाउँदा खुशी रहेको बौद्धिष्ट गुरु सङ्गे लामा बताउँछन् । अहिले धर्म धर्म बिच दुरी बढ्दै गईरहेको बेला यो विश्वशान्ति महायज्ञले धार्मिक एकतालाई अझ मजवुत बनाई एकअर्काे धर्मको सम्मान, सद्भाव र एकता कायम राख्न सहयोग गर्ने महारुद्र परिवार फाउन्डेसनको अध्यक्ष खगेन्द्र पोखरेल बताउँछन् । यो विश्वशान्ति महायज्ञ धार्मिक रुपमा मात्रै नभई राष्ट्रिय र विश्वव्यापी रुपमै आवश्यक र महत्व रहेको उनको भनाई छ । एउटा सपना देखियो तर त्यो सपना पुरा गर्न धेरै तनाव, वाधा व्यवधान तथा कठिनाई आईपर्ने रहेछ । तर पनि हिम्मत नहारी कार्यक्रमलाई सफल बनाएरै छोड्ने उनी बताउँछन् । कार्यक्रम व्यर्थै आँट गरिएछ जस्तो लागेको थियो तर भगवानको कृपाले सहयोगी हातहरु बढ्दै गएको र कार्यक्रममा धेरै व्यक्तिहरुलाई जोड्न पाउँदा कार्यक्रम सफल हुनेमा आशावादी रहेको उनको भनाई छ । कार्यक्रममा वृन्दावनदेखि नारायणदास (बुलेट बाबा) आएका थिए भने राष्ट्र शक्ति नेपालको अध्यक्ष केशर बहादुर बिष्ट, शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत लगायत व्यक्तिहरुको आतिथ्यता रहेको थियो । हामी सबै फुटेर हैन जुटेर अगाडि बढ्नुपर्ने आजको समयमा यो कार्यक्रमले सबैलाई जोड्ने प्रयास गरेकोेले धामीझाँक्री संगठनले पनि साथ दिएको राष्ट्रिय संस्कृति संरक्षण तथा सामाजिक, धार्मिक विकास मातृभूमि धामीझाँक्री संगठन नेपालका अध्यक्ष रामहरि विश्वकर्मा बताउँछन् । हिन्दु विधिअनुसार सातै दिन श्रीमदभागवत कथा पाठ पारायण, दैनिक हवन, प्रातकालिन पुजा, प्रवचन, रासलिला, भजनकीर्तन, ताण्डव नृत्य, धामीझाँक्री पनि प्रदर्शन गरिने हिन्दु धर्मका गुरु त्रिलोचन सुवेदी बताउँछन् । विश्वकै ठूलो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथमा रहेर हामीले विश्वशान्ति महायज्ञ गर्न पाउनु नै ठूलो कुरा भएको उनको भनाई छ । दैनिक ६८०४ मन्त्रद्वारा सम्पुर्ण देवीहरुलाई हवन कुण्डमा अवत्रित गराउने तान्त्रिक गुरु सुनिल कुमार वैश्यले बताए । किराँत विधिअनुसार कार्यक्रमको सुरुवातको दिन किरात मुन्धुम अनुसार कुसाङ् सेमा अर्थात यो शुन्यता, पन्चतत्व, प्रकृति, मुन्धुम बेदलाई पुज्दै सेवा पुजा अवधीभर कुनै अनिष्ट नहोस् भनेर माङसँग आराधना गरिएको थियो । गुह्येश्वरी नदिमा साक्मुरा वादेम्म्मा (गालिश्राप बहन्ती) त्यसपछी सुम्निसा युमा हिममाङ र थेबाको पुजा पाठ, कुदाप कुई देवी देउरालीको पुजा गर्दै मुख्य इष्टदेवि युमा, हिममाङ र थेबाको सेवा (येकुदिङ साङ्भे) मा पुजा गरिने किराँत गुरु हरि थक्लिहाङ बताउँछन् । त्यसपछि क्रमश येत नाम्धुङ लाधुङसेमी सेवा गरिने र २५ गतेसम्म बिहान र बेलुका दैनिक २ प्रहर निरन्तर येत नाम्धुङ लाधुङ सेमी, १०८ दिप जलन, लाख बत्ती जलन सहित चरु हवन गरिनेछ र २६ गते बिहान कुयाम सेमा गरि बिधिवत महायज्ञ बिसर्जन हुनेछ । किरात धर्मको तर्फबाट किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको समिती र पुर्वबाट आमन्त्रित ८ जना बढी किरात माङसेवासाबाहरुबाट विशेष मुन्धुम वाचन हुनेछ । विश्वशान्ती तथा मानव एकताको शंखघोष गर्ने किरात धर्मले चराचर सृष्टीजगत, प्रकृतिको रक्षार्थ मुन्धुम अनुसार निरन्तर भक्ती अनुष्ठान गर्ने गरेको छ । नेपालबाट युवाहरु दैनिक विदेश पलायन भईरहेको समयमा केही युवाहरुले यस्तो विशेष कार्यक्रम आयोजना गर्न लागेको देखेर आफुले साथ दिएको शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) बताउँछन् । यो महायज्ञ विश्व र नेपालको सन्दर्भमा आजको समयमा अति नै आवश्यक रहेको छ । यसले धार्मिक सद्भाव, सहिष्णुता र एकतालाई बचाईराख्ने मात्रै नभई विश्वमै राष्ट्रिय गौरव बढाउने भएकाले यस्तो कार्यक्रमलाई नेपाल सरकारले नै आयोजना र सहयोग गर्नुपर्ने बताए । यो पवित्र र महत्वपूर्ण कार्यक्रममा सबैले सहयोग गरेर साथ दिनुपर्ने उनको भनाई छ । धर्म धर्ममा विभेद गराएर शीवको भूमीमा फिरिङ्गीका धर्महरु लादेर हामीमाथि विखण्डन गरेर वैदिक सनातन धर्ममाथि प्रहार भईरहेको अवस्थामा यो महायज्ञले विश्वकै निम्ति उदाहरणीय सन्देश दिएको शिवसेना नेपालका चीरण खड्का बताउँछन् । शिवरात्रीक‍ो अवसर पारेर फागुन २६ गतेसम्म एक साता कार्यक्रम रहनेछ ।

जोखिम हस्तान्तरण गर्न असाध्यै गाह्रो भयो, राम्रो पुनर्बीमाको खाँचो छ : विजयबहादुर शाहसँगको अन्तर्वार्ता

पुँजी वृद्धिका लागि मर्जरको विकल्प रोजेका कम्पनीहरू मर्जरपश्चात् सिनर्जी ल्याउन सफल भइसकेका छैनन् । मर्जरपश्चात् बीमा कम्पनीहरूमा देखिएका समस्याहरू सतहमा देखिन थालेका छन् । तर, हिमालयन एभरेष्ट इन्स्योरेन्सले भने आफ्नो व्यवसाय घट्न दिएको छैन । उल्टै तीन सय प्रतिशतसम्म नाफा वृद्धि गरेको कम्पनीको दाबी छ । प्रस्तुत छ यसै विषयमा केन्द्रित रहेर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहसँग विकासन्युजका रामकृष्ण पौडेल र सीआर भण्डारीले गरेको कुराकानी । माइक्रो इकोनोमिमा अहिले परेको प्रभावले बीमा इण्डष्ट्रिलाई कसरी चित्रण गर्नुहुन्छ ? समग्रमा बीमाको अवस्था सन्तोषजनक छैन । गत वर्षको हाराहारीमा नै यस वर्ष व्यापार व्यवसाय भइरहेको छ । साथै, अबको बाँकी चार महिनामा पनि ठूलो फरक आउने संकेत देखेका छैनौं । यदि केही ठूला आयोजना बने, सरकारले रकम निकासा गर्याे र विकास निर्माणले गति लियो भने प्रिमियम २/४ प्रतिशत बढ्न सक्छ । होइन भने तात्विक परिवर्तन आउने देखिँदैन । बीमालाई अर्थतन्त्रको एउटा मुख्य सूचकका रूपमा लिइन्छ । हाल अर्थतन्त्र उत्साहजनक छैन । बैंक तथा वित्तीय संस्थामा प्रयाप्त तरलता हुँदा पनि लगानी भइरहेको छैन । कर्जा प्रवाह शून्य जस्तै देखिन्छ । वित्तीय प्रणालीमा भएको पैसा प्रवाह नभई त्यत्तिकै थन्किएकोले बीमा हुन सकिरहेको छैन । बीमा कम्पनीको आकार र संख्याको आधारमा बीमा कम्पनी आवश्यकभन्दा बढी भए, अस्वस्थ प्रतिस्पर्धा भयो भनेर मर्जर गराइयो । मर्जर भएको एक वर्ष बढी भइसक्दा बजारमा कस्तो परिणाम आइरहेको छ ? बीमा कम्पनीको जोखिम क्षमता बढाउन पुँजी वृद्धि गर्नुपर्छ भनेर प्राधिकरणबाट निर्देशन भयो । एकैपटक १ सय करोडको पुँजीलाई साढे २ सय करोड पुर्याउनु पर्ने भयो । पुँजीवृद्धि गर्न लगानीकर्ताले पैसा थप गर्ने की मर्जर गर्ने भन्ने विषयमा छलफल चल्यो । मर्जर गर्दा तुरुन्तै पुँजी पुग्ने र पुँजीका साथसाथै व्यवसाय आउने भएकाले हामीले मर्जरको बाटो रोज्यौं र हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई बीमा क्षेत्रकै पहिलो मर्जर कम्पनीको रुपमा चिनाउन सफल भयौं । त्यसपछि भने निर्जीवन बीमा क्षेत्रका अन्य कम्पनी पनि मर्ज भएर २० वटाबाट १४ वटामा झरे । मर्जरअघि संख्या बढी भए र बजारलाई धेरै कम्पनी चाहिँदैनन् भन्ने चर्चा चल्यो । सोही समयमा बीमा कम्पनी सबै ठाउँ पुग्न सकेका थिएनन् । र, मर्जरपछि पनि बीमाको पहुँच सीमित क्षेत्र र बीमा सुविधा लिने व्यक्तिहरूसम्म मात्रै पुगेको देखिन्छ । कतिपय देशमा संख्या थोरै भएपनि धेरै शाखा वा प्रविधिको प्रयोग गरेर धेरैभन्दा धेरै मानिसमा बीमाको पहुँच पुर्याइएको छ भने कतिपय देशमा बीमाको संख्या धेरै भएपनि निश्चित क्षेत्रमा मात्रै सीमित भएर व्यवसाय गरिरहेका छन् । मर्जरले फाइदा भयो की बेफाइदा ? मर्जरपछि बीमाको पहुँच वृद्धिमा तात्विक फरक आएको छैन । किनभने हिजोका दिनमा जुन शाखा थिए, ती शाखा आज पनि छन् । केही शाखा मर्ज भएका होलान् । डिजिटाइजेशन वा प्रविधिको प्रयोग गर्याैं भने बीमाको पहुँचमा वृद्धि हुन्छ । अब नेपाली बीमा क्षेत्रमा प्रविधिको प्रयोग गर्ने विषयमा छलफलमात्रै नभई लागू गर्न ढिलो भइसकेको छ । किनभने हामीले जबसम्म प्रविधिको व्यापक प्रयोग गर्दैनौं तबसम्म कस्ट इफिसेन्सी पनि हुँदैन । र, धेरैभन्दा धेरै मान्छेले त्यसको सेवा सुविधा प्रयोग गर्न पाउँदैनन् । मर्जर भएका कम्पनीमा प्रविधिले ठूलो स्रोत खोज्यो वा लगानी आवश्यक पर्ने भयो भने दुईटा कम्पनी मिलेर श्रृजना भएको क्यापिटल फण्डलाई प्रयोग गर्न सकिन्छ । तर, आजको दिनमा एकदुई वटा कम्पनी बाहेक अन्य कम्पनीले प्रभावकारी रूपमा उक्त पुँजीलाई प्रयोगमा ल्याएको देखिदैन । मर्जर भइसकेपछि तत्काल २/३ सय जना जनशक्ति थपिए । कम्पनीको आकार ठूलो भयो । ‘बिगर इज बेटर’ को सन्देश गएपछि अरूले सिको गरे । पुँजीसँगै पुँजी कोष बढी भएकाले कम्पनीहरूले क्यापिटल इन्टेन्सिभ प्रोजेक्टहरूमा लगानी गर्न सके । अब बीमाबाहके अन्य क्षेत्रमा पनि केही छ भनेर हेर्न सकिने अवस्था श्रृजना भयो । हिमालयन एभरेष्ट इन्स्योरेन्सले त्यस क्षेत्रमा नेतृत्व गरेको छ । जहाँ बीमा मात्रै होइन, बीमा बाहेक अन्य क्षेत्र पनि छ । कम्पनीले पूर्वाधार, आयोजना, जलविद्युत तथा लजिस्टिक कम्पनीमा लगानी गरेको छ । बीमितहरूको विश्वास बढाउन कम्पनीको नाममा सम्पत्ति जोडिरहेका छौं । चालु आर्थिक वर्षको अन्त्यसम्म कर्पाेरेट अफिस पूर्ण बनाएर त्यहाँ सर्छाैं । विराटनगर, ललितपुर, बुटवल र नेपालगञ्जमा प्रादेशिक कार्यालय सञ्चालनका लागि जग्गा खरिद गरिरहेका छौं । अब कम्पनीले राजधानी मात्रै नभई प्रादेशिकस्तरमा पनि पुँजी लगानी गर्दैछ । जसले बीमाप्रतिको विश्वास जगाउँदै बीमा क्षेत्रलाई सपोर्ट गर्छ । बीमा बाहिर पनि व्यवसाय छ भनेर लगानी गर्छाैं भन्नु भयो । बीमाले आफ्नो कोर व्यवसाय बढाउनमा केन्द्रित हुने की त्योभन्दा बाहिरी व्यवसायको स्कोप छ भनेर डाइभर्ट हुने ? जुन कम्पनी जुन उद्देश्यको लागि खोलिएका हुन्, त्योभन्दा बाहिर जानु हुँदैन भनिन्छ । त्यसैले हामी आफ्नो ट्रयाकभन्दा बाहिर गए जस्तो लाग्दैन ? पक्कै पनि, बीमा कम्पनीको पहिलो काम बीमा गर्नु हो । तर, बीमा बाहेक पनि दुनिया छ नि । जस्तो हिमालयन एभरेष्टले ठूला परियोजना, पुर्वाधार, स्वास्थ्य लगायत अन्य थुप्रै क्षेत्रमा लगानी गरेको छ । हामीसँग भएका स्रोत अरूलाई दिएर उसले ब्याज खानुभन्दा हामीले प्रत्यक्ष दिँदा लागत कम हुन जान्छ । जसलाई फण्ड चाहिएको छ, उसलाई सस्तोमा फण्ड उपलब्ध हुन्छ । हो, ओभर एक्साइटेड भएर आफ्नो जिम्मेवारीबाट भड्किनु हुँदैन । प्राथमिक कार्य क्षेत्रमा केन्द्रित भएर आफूसँग भएको ‘एडिसनल फण्ड’लाई प्रभावकारी प्रयोग गर्न अन्य क्षेत्र पनि उचित हुन्छ । सबै बीमा कम्पनीहरूले नियामकले तोकेको प्रतिशतभित्र रहेर विभिन्न परियोजनामा लगानी गर्छन् । हामीले पनि सोही क्षेत्रमा लगानी गर्छाैं । संस्थागत लगानीकर्ताहरू अग्रसर भएर लगानी गर्दा आमजनताको विश्वास पनि बढ्छ । कुनै सूचीकृत कम्पनी, संगठित संस्था, विषयवस्तु बुझेका व्यक्तिले लगानी गर्दा अध्ययन गरेका हुन सक्छन् । यो संस्था पारदर्शी हुन सक्छ भन्ने विश्वास जाग्छ । त्यसैले बीमा कम्पनीहरू पनि राम्रा आयोजनामा लगानी गर्न तयार छन् । यसरी लगानी गर्दा लगानीको वातावरण नबुझेको हुन सक्छन् । विज्ञता पनि आवश्यक पर्छ । बीमाकर्मीहरू बीमामै विज्ञ हुन्छन् । लगानी भनेको फरक च्याप्टर हो । लगानीको विज्ञता हासिल गरेर लगानी गरिरहनु भएको छ की छैन ? जोखिम न्यूनीकरण गर्ने औजार के प्रयोग गर्नु भएको छ ? बीमामा दुईटा पार्ट हुन्छ । एउटा बीमा र अर्काे लगानी । निर्जीवन बीमा कम्पनीहरूले बीमा गरेवापत कमाउँदैनन् । बीमामा अण्डरराईटिङ प्रफिट हुँदैन । तर, लगानीबाट आम्दानी हुन्छ । कम्पनीहरूले बीमाबाट भएको आय र लगानीबाट भएको आयलाई जोडेर नाफा देखाउँछन् । बीमा कम्पनीको कम्बाइन्ड रेसियो अध्ययन गर्ने हो भने अधिकांशको एक सयको हाराहारीमा हुन्छ । कुनै कम्पनीको ११० सम्म कम्बाइन्ड रेसियो हुन्छ । कम्बाइन्ड रेसियो भनेको बीमा गरेर एक सय रुपैयाँको प्रिमियममा एक सय रुपैयाँभन्दा बढी खर्च गरेको हो । त्यसैले बीमाबाट कम्पनीहरूलाई नोक्सानी छ । बीमा सामाजिक उद्योग हो । कथमकदाचित बीमाबाट धेरै नाफा कमाइ भयो भने रेटलाई घटाउनुपर्छ । किनभने त्यसबाट अकुत नाफा कमाउन मिल्दैन । कम्पनीले क्यापिटल र रिजर्भ श्रृजना गरेका हुन्छन् । त्यसलाई प्रभावकारी रूपमा लगानी गर्न सकियो भने त्यसबाट आउने प्रतिफल सेयरधनीहरूलाई लाभांशका रूपमा बाँड्न मिल्छ । त्यसैले बीमा र लगानी सँगसँगै हुनुपर्छ । हिमालयन एभरेष्टले विज्ञ चार्टर्ड एकाउन्टेन्ट राखेर लगानी गरिरहेको छ । साथै, बाह्य परामर्शदाता राखेर प्रपोजलमा सम्भाव्यताका बारेमा राय सुझाव माग्छौं । साथै, कुनै फरक प्रकृतिको कम्पनी आयो भने सो विषयको ज्ञाता लिएर पनि सुझाव सल्लाह माग्छौं । उहाँहरूले अध्ययन गरेर राय सुझाव दिनु हुन्छ । सबै डकुमेन्ट अध्ययन गरेर मात्रै लगानी गर्नु हुन्छ । त्यसपछि सञ्चालक समिति अन्तर्गत रहेको उपसमितिमा पठाएर छलफल गरेर निर्णय भएपछि मात्रै कार्यान्वयन गरिन्छ । कतिपय केसमा त बीमा प्राधिकरणबाट स्वीकृति लिनुपर्छ । अन्ततः बीमा राम्रो भयो भने त्यसको जस प्राधिकरणले पाउँछ । तर कम्पनीले आफ्नो बाटो बिर्से भने पनि प्राधिकरणले अपजस पाउँछ । त्यसैले प्राधिकरण पनि यसप्रति उत्तिकै चिन्तत छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले मुख्य कुन-कुन क्षेत्रमा लगानी गरेको छ ? हामीले प्राधिकरणले तोकेका क्षेत्रमै लगानी गरेका छौं । कम्पनीले ७० प्रतिशत रकम वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा लगानी गरेको छ । विकास बैंक, फाइनान्स कम्पनीको मुद्दती, संस्थाहरूले जारी गरेका ऋणपत्र, म्युचुअल फण्ड, आईपीओ र दोस्रो बजारमा गरी कूल २५ प्रतिशत लगानी गरेका छौं । बचेको ५ प्रतिशत रकम पुर्वाधार, राष्ट्रिय प्राथमिकता प्राप्त कम्पनी जलविद्युत क्षेत्र, लजिस्टिक कम्पनीमा लगानी गरेका छौं । मर्जरपछि कम्पनीको आकार र जनशक्ति बढी हुँदा त्यसलाई विशिष्टिकृत गर्दै जाने अभ्यास भएका देखिन्छन् । यस कम्पनीमा पनि त्यस्ता अभ्यास भएका छन् ? मर्जरपछि संरचनागत परिवर्तन कति आयो ? बीमा कम्पनी ठूला संस्था होइनन् । बैंकमा ४/५ हजार कर्मचारी छन् । तर, बीमा कम्पनीमा थोरै छन् । मर्जरपछि हिमालयन एभरेष्टमा ४१० जना मात्रै कर्मचारी, ८१ वटा शाखा कार्यालय र ६ वटा थर्डपार्टी काउन्टर छन् । तर पनि दुईटा कम्पनी एक हुँदा संरचना डबल बन्यो । एउटा सीईओ चाहिने ठाउँमा २ वटा सीईओ भए । तल्लो तहमा पनि एउटाको ठाउँमा दुइटा भए । तर, हामीले कर्मचारीहरूलाई उचित स्थान दिँदै व्यवस्थापन गरेका छौं । केही चार्टर्ड एकाउन्टेन्ट र स्वास्थ्य पढेका मान्छेलाई विभिन्न विभागमा पदस्थापन गर्याैं । लगानीका प्रस्ताव आए भने विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसैले चार्टर्ड एकाउन्टेन्टको टिम बनाएर त्यसमा व्यवस्थापन गर्याैं । बीमा कम्पनीको लागि सबैभन्दा जरूरी कम्प्लायन्स हो । नियामकले तोकेकोभन्दा बाहिर कोही पनि नजाओस् भनेर रिस्क कम्प्लायन्स डिपार्टमेन्ट खोलेर व्यावसायिक व्यक्ति राखेका छौं । त्यसैले कोही पनि निराश हुनुपर्ने अवस्था आएको छैन । मर्जरपछि सबै जना एकआपसमा मिलिसकेका छन्, कोही असन्तुष्टि छैनन् । आर्थिक मन्दी छ । पछिल्ला वर्षहरूमा बीमा कम्पनीका शाखा विस्तार कार्य रोकिएका छन् । साथै, मर्जरपछि सशक्त कम्पनी बन्दा नयाँ प्रडक्ट आउँछन् की भन्ने अपेक्षा थियो । हाम्रो बुझाइ कम भएर हो की यसका कारणहरू छन् ? मर्ज हुने बित्तिकै सम्पूर्ण क्षेत्रनै एकैपटक ‘अप एण्ड डाउन’ हुँदैन । मर्जर आवश्यकताले आएको हो, स्वस्फूर्तरूपमा होइन । चुक्ता पुँजी बढाउन की पैसा थप्नु पर्याे । तत्कालिन समयमा पैसा थप्न नदिने व्यवस्था थियो । दुईटा कम्पनी एक भएपछि नराम्रो विषय तत्काल छाड्ने हो । र, राम्रा कुरालाई संस्थागत गर्न वर्षाैं लाग्न सक्छ । यदि कसैले मर्ज भएकै वर्ष सिनर्जी ल्याउँछु भन्यो भने त्यो महत्वकाक्षा हुनसक्छ । हिमालयन एभरेष्टले शाखा बन्द गरेन र कर्मचारीलाई बिदा गरेन । मर्जरपछि कम्पनीको व्यवसाय पनि वृद्धि भएको छ । ठूला कम्पनीको व्यवसाय घटेको अवस्थामा हिमालयन एभरेष्टको नाफामा तीन सय प्रतिशत वृद्धि भएको छ । यो भनेको सिनर्जीले नै हो । त्यसैले हामीले ‘इनोभेटिभ’लाई रोकेका छैनौं । बीमाको अबको भविष्य भनेको डिजिटलाइजेशन हो । अबपनि प्रविधिको प्रयोग गरेनौं भने पछाडि पर्छाैं । मर्जरको बेलामा पनि भन्नु भएको थियो, डिजिटलाइजेशन पहिलो प्राथमिकता हो । अहिलेसम्म डिजिटलाइजेशनमा ल्याइएको परिवर्तन के के हुन् ? जुन कम्पनीका ग्राहकले महसुस गरिरहेका छन् ? ग्राहकले अहिले बीमा कम्पनीमा नधाई, अभौतिक रूपमानै डिजिटलबाट पोलिसी बिक्री किन्न सक्नु हुन्छ । अब बीमालेख खरिद गर्न शाखा कार्यालय जानु पर्दैन । स्वास्थ बीमा, मोटर बीमा अनलाइनबाटै उपलब्ध छन् । कोरोना महामारी अघि नियामकले अनलाइन कारोबार रोकेको थियो । लकडाउनले पनि बीमालाई डिजिटलमा जान सहयोग गर्याे । कोरोनाले नेपालको बीमा क्षेत्रमा पुर्याएको फाइदा भनेको अनलाईन पोलिसी बिक्री गर्न दिएको स्वीकृति हो । निर्जीवन बीमा कम्पनीहरूले २० लाख पोलिसी बिक्री गर्छन् । तर, हिमालयल एभरेष्टले अनलाइनबाट थप २० लाख डिजिटल पोलिसी बिक्री गरेको छ । त्यो इनोभेसन भएरै डिजिटल पोलिसी बिक्री भएका छन् । दाबी भुक्तानी भयो भने अफिस आउनु पर्दैन । बैंक खातामार्फत ग्राहकको खातमा पैसा जम्मा गर्छाैं । त्यस्तै, मोबाइल वालेटबाटै प्रिमियम तिर्न सकिन्छ । लघुबीमा कम्पनी सञ्चालनमा आएपछि बीमा क्षेत्रमा प्रभाव छाड्ने गरी कुनै काम भएको देखिन्छ ? लघुबीमाहरूलाई लाइसेन्स दिँदा दूरदराजसम्म दरिलो उपस्थिति हुनुपर्छ भन्ने अपेक्षा थियो । र, बीमाको पहुँचभित्र नपरेका व्यक्तिको बीमा गराउनु पर्छ । अहिले लघुबीमा कम्पनीहरू आफ्नो पूर्वाधार तयार गर्ने क्रममा छन् । यदि आगामी दिनमा ठूला बीमा कम्पनीले सेवा दिन नसकेको क्षेत्रमा लघुबीमा गएर व्यवसाय गर्याे भने बीमा उद्योगलाई मद्दत गर्छ । किनभने आजको लघुबीमा ग्राहक भोलिका दिनमा ठूला बीमा कम्पनीमा रूपान्तरण हुन्छन् । आजको दिनमा बीमा गरिरहेको व्यक्ति भोलिको दिनमा बीमाबिनाको कल्पना गर्न सक्दैन । कहीँ न कहीँ लघुबीमाले ठूला बीमा कम्पनीलाई फिडर इन्स्योरेन्सको रूपमा काम गर्नुपर्ने हो । नयाँपन ल्याउन नसकेपनि पहुँच नपुगेका ठाउँमा गएर सेवा दिन सक्नुपर्छ । तर आजको दिनसम्म लघुबीमाले इनोभेसन गरेको देखिएको छैन । नेपालमा दुईटा पुनर्बीमा कम्पनी भएपछि निर्जीवन बीमा कम्पनीहरूलाई कस्तो प्रभाव परेको छ । त्यसको फाइदा पाएकी पाएनन् ? आफ्नै देशभित्र भएका दुईटा पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्दा जति सहजता हुनुपर्ने हो, त्यो सहजतामा कमी छ । पुनर्बीमाको एउटा हिस्सा दुईटै कम्पनीलाई दिनुपर्छ । बाँकी रहेको हिस्सा विदेशी पुनर्बीमालाई दिँदा नेपाली बीमा उद्योगको आकार ठूलो नभएकाले उत्साहित भएका छैनन् । नेपालको भूगोलको बनावटका कारण जलविद्युत आयोजना, सडक, हवाई जहाजहरू अति जोखिमको क्याटागोरीमा पर्छन् । त्यो अवस्थामा उनीहरूलाई बीमाको आकार सानो लागेर खासै उत्साहित छैनन् । पुनर्बीमा गर्दा क्रेडिट रेटिङ भएको कम्पनी हुनुपर्ने नियामकीय प्रावधान छ । रेटिङ भएका कम्पनीका लागि बजार सानो र रेटिङ नभएका कम्पनीले व्यवसाय गर्न नपाउने भएकाले आजको दिनमा बीमा कम्पनीलाई राम्रो पुनर्बीमा कम्पनीको खाँचो छ । बीमा कम्पनीको जोखिम धेरै एक्सपोजर छन् । विशेषगरी जलविद्युत र निर्माणसँग सम्बन्धित व्यवसायमा एक्सपोजर ठूलो छ । यो जोखिम यहाँ सञ्चालित पुनर्बीमा कम्पनीले लगिदिए सजिलो हुन्थ्यो । उहाँहरूले नाइ भनेपछि विदेशी बजारमा त्यो जोखिम बेच्न जाँदा तिम्रो देशमा भएका पुनर्बीमा कम्पनीले अस्वीकार गरेको जोखिमलाई मैले कसरी लिन सक्छु भनेर प्रतिप्रश्न गर्छन् । त्यसैले निर्जीवन बीमा कम्पनीहरूलाई जोखिम हस्तान्तरण गर्न असाध्यै गाह्रो भएको छ । निष्कर्षमा पुनर्बीमा कम्पनी आएर बीमा कम्पनीलाई एक किसिमको दबाव, तनाव भएको जस्तो देखियो नी ? हो । आजको दिनमा जसरी पुनर्बीमाको व्यवसाय भइरहेको छ । जसरी जोखिम बाँडफाँट गरिरहेका छौं त्यसलाई पुनरावलोकन गर्न जरूरी छ । के हुन सक्छ यसको विकल्प ? पुनर्बीमा कम्पनीलाई क्षमता बढाउन र व्यावसायिक बनाउनु पर्छ भनेरै पुँजी वृद्धिको निर्देशन दिइएको छ । पुनर्बीमा कम्पनीले ट्रिटीमा भाग लिइसकेपछि थप जोखिमहरूलाई पनि लिनुपर्ने व्यवस्था गर्नुपर्छ । जुन अहिलेको व्यवस्थाको विपरित हुन आउँछ । अहिले उहाँहरूले अस्वीकार गर्नु भयो भने मात्र विदेशमा जान्छौं । देशकै पुनर्बीमा कम्पनीले नाइ भनेपछि बाहिरकोले लिने कुरै भएन । त्यसलाई उल्टो गरेर उहाँहरूलाई हामीले अनिवार्य दिनुपर्ने हिस्सा दिइसकेपछि बाँकी रहेको हिस्सा आन्तरिक र बाह्य दिन सक्छौं । यदि बाह्य कम्पनीले किनेन भने नेपाली कम्पनीले लिनु पर्याे । पछिल्लो समय नेपाल पुनर्बीमाको संस्थापक सेयर धमाधम बिक्रीमा छन् । निजी ग्रुपले पनि बिक्रीमा राखेका छन् । किन यसरी बिक्रीमा राखिएका हुन् ? ठूलो कारण केही पनि छैन । लगानीको निर्णय हो । लगानीले उचित प्रतिफल दिनुपर्छ । उचित प्रतिफल कति भन्ने विषय कम्पनी अनुसार फरक हुन सक्छ । हिमालयन एभरेष्ट मर्ज भइसकेपछि ४० लाख कित्ता भयो । एउटै कम्पनीमा त्यति धेरै सेयर राख्नभन्दा केही लगानी राखेर बाँकी लगानी विविधिकरण गर्दा फाइदा हुन्छ की भनेर बिक्रीमा राखेका हौं । २० लाख कित्ता बेचेर आउने ५० करोड रुपैयाँ अन्य क्षेत्रमा लगानी गर्छाैं । त्यसपछि कम्पनीको नाफा बढ्छ र जोखिम घट्छ । भोलिका दिनमा नेपाल पुनर्बीमाले लाभांश दिएन भने अन्य कम्पनीले दिन सक्छ नि । हिमालयन एभरेष्टले अन्य कम्पनीभन्दा धेरै लाभांश दियो । यसका आधार के-के हुन् ? कसरी धेरै लाभांश दिन सफल हुनु भयो ? कम्पनीले राम्रो नाफा कमायो । नोक्सानमा रहेका पोर्टफोलियो बन्द गर्यो । खर्च कम गर्यो । जसकारण कम्पनीको नाफामा बढोत्तरी भएपछि धेरै लाभांश दियौं । अन्य कम्पनीको तुलनामा हिमालयन एभरेष्टले सम्पत्ति र दायित्वलाई उचित व्यवस्थापन गर्दै आएको हुँदा एनएफआरएस लागू भएपछि वितरणयोग्य नाफा बाँड्न पायो । विदेशमा बैंकभन्दा बढी लाभांश दिन सक्ने क्षेत्ररुपमा बीमालाई चिनिन्छ । के अब नेपालमा पनि बीमा क्षेत्र बढी प्रतिफल दिने क्षेत्रका रूपमा उदाउन लागेको हो ? कुनै पनि क्षेत्रमा लगानीकर्ताको आकर्षण त्यो बेलासम्म रहन्छ, जुन बेलासम्म उसले निरन्तर लाभांश दिन सक्छ । त्यसैले बैंक, बीमा, म्यानुफ्याक्चरिङ लगायत अन्य सबै क्षेत्रले राम्रो गर्नुपर्ने हुन्छ । सीईओको लाइफ लाइन नै त्यही हो । सीईओले आफ्नो कार्यकालमा कम्पनीलाई उचाइमा पुर्याउन प्रयास गरिरहन्छ । र, त्यसपछि पनि त्यो उचाइबाट कम्पनी तल नझरोस् भन्ने चाहना राख्छ । देशको अर्थतन्त्रको एउटा सूचक रुपमा हेरिने बीमा क्षेत्रले बैंकिङको तुलनामा धेरै राम्रो गर्न सक्ने आधार छन् । तर, सामाजिक उद्योग भएकाले कमाएको नाफाबाट कर तिरिसकेपछि बाँकी रहेको नाफाबाट ५० प्रतिशत बीमा कोषमा र १० प्रतिशत महाविपत्ति कोषमा जम्मा गर्नु पर्छ । बाँकी रहेको ४० प्रतिशतबाट सेयरधनीहरूलाई लाभांश बाँड्ने हो । यदि बीमा कोषमा पैसा जम्मा गर्न नपर्ने वा त्योभन्दा कम जम्मा गर्नु पर्ने प्रावधान भयो भने पक्कै पनि बीमा क्षेत्रले बैंककोभन्दा राम्रो लाभांश दिन सक्छन् । बैंक र बीमा रेगुलेटेड कम्पनी हुन् । त्यसकारण नियामकको व्यवस्था विपरित बीमा कम्पनी जान सक्दैनन् । कम्पनीको लाभांश एउटा पार्ट हो । तर, कम्पनीको नेटवर्थ कति छ भन्ने दोस्रो पार्ट हो । त्यसकारण नेटवर्थका हिसाबले पनि रेगुलेटरी रिजर्भमा गएको पैसा पनि कम्पनीको वित्तीय स्वस्थतामा सुधार गर्ने भएकाले बीमा कम्पनीहरू बलिया छन् । त्यसकारण प्रतिफलको हिसाबले बीमा कम्पनीहरू प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छन् । बीमा उद्योगमा छुट्टै पहिचान र प्रभाव छाड्न हिमालयन एभरेष्टले के गरिरहेको छ ? आगामी योजनाहरू के-के छन् ? हिमालयन एभरेष्टमा बीमा गर्दा ग्राहकलाई सहजता र अपनत्वको अनुभूति हुनेगरी सेवा दिइरहेका छौं । ह्यासल फ्री सेवा पाउन् भन्ने हिसाबले सबैभन्दा पहिला हामीले पूर्वाधारमा लगानी गर्न लागेका छौं । केही प्रदेशमा जग्गा र भवन खरिद गरेर सेवा दिएर ग्राहकमा विश्वास जगाउन लागेका छौं । यस्तै, हामीले प्रविधिमा जोड दिएका छौं । ग्राहकहरूले के खोजिरहनु भएको छ भन्ने विषयलाई श्रृजना गर्दैछौं । भोलि ग्राहकले के खोज्नु हुन्छ भनेर आज मैले थाहा पाएर काम गरिरहेको छु । पछि मात्रै थाहा पाए भने त्यो अपेक्षा ग्याप हुन्छ । त्यसैले हामीले अनुसन्धानमा पनि लगानी बढाउँदैछौं । केही काम सुरु भइसकेका छन् भने केही प्रक्रियामा छन् ।

जनकपुरधामको ज्ञानकूप : पहिले विद्यार्थी खोज्नुपर्थ्यो, अहिले विद्यार्थी आफैले खोज्छन्

जनकपुरधाम । धनुषाको जनकपुरधाम-८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप)ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको छ । मधेस प्रदेशमै संस्कृत महाविद्यालयको रूपमा स्थापित ज्ञानकूपमा सशस्त्र द्वन्द्वका बेला भने पठनपाठन करिब ठप्प भयो । ऐतिहासिक महत्वको यो विद्यालय फेरि पुरानै अवस्थामा फर्किएला भनेर धेरैले अनुमान गरेका थिएनन् तर सशस्त्र द्वन्द्व सकिएको केही वर्षमै विद्यालयले पुरानै लक्ष्यका साथ पठनपाठन सुरु गर्यो । ‘द्वन्द्वले संस्कृत शिक्षा सङ्कटमा थियो । धेरै जना संस्कृत पढ्नसमेत डराउँथे । त्यसैले विसं २०६६ मा फेरि पठनपाठन सुरु गर्दा घरघर गएर खोज्दा पनि करिब २५-२६ जना विद्यार्थीमात्रै पाएका थियौँ । सबैको मेहनतका कारण हरेक वर्ष विद्यार्थी थपिँदै गए । अहिले हामीले विद्यार्थी खोज्न जानु नपर्ने अवस्था बनाएका छौँ’, प्रधानाध्यापक सञ्जयकुमार झाले भने । उनले सशस्त्र द्वन्द्वका कारण निशानामा परेको संस्कृत शिक्षा प्रदान गर्ने विद्यालयमा काम गर्नु पनि चुनौतीपूर्ण अवस्थामा विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीले हिम्मत गरेर पुरानै साख फर्काउन थालेको अभियानले २०७३ सालपछि मात्रै सार्थकता पाउन थालेको स्मरण गरे । ‘ऋषि यज्ञवल्क्यको पालादेखि चलेको हाम्रो विद्यालयलाई संस्कृत शिक्षाको हबमात्रै होइन, आधुनिक प्राविधिक शिक्षासँग पनि जोड्नुपर्छ भनेर २०७३ सालमा प्राविधिक विषय पनि सुरु गर्यौं । त्यसो गर्दा पनि एक सय २३ विद्यार्थीमात्रै हामीसँग थिए’, झाले भने, ‘तर अविचलितरूपमा गुणस्तरीय शिक्षा दिन सबै जिम्मेवार भएर लाग्यौँ । हाम्रो लगाव, अभिभावक र अरु सम्बद्ध निकायको सद्भावले त्यो सङ्ख्या अहिले दुई हजार पाँच सय पुगेको छ ।’ विसं १९६६ मा याज्ञवल्क्य संस्कृत प्रधान पाठशालाबाट औपचारिकरूपमा कर्मकाण्डी शिक्षा ९संस्कृत० दिन थालेको सो विद्यालयले यस दौरान थुप्रै सिद्धहस्त संस्कृत भाषाविद्हरू जन्माएको छ । ज्ञानकूपको नामले परिचित यस विद्यालयले संस्कृत शिक्षा पठनपाठनको संस्कृति नै ओझेलमा परिरहेको समयमा नयाँ पुस्तामा ‘संस्कृत ज्ञान’ को दीप जलाउन निरन्तर ‘ज्ञानकूप’को काम गरिहेको सहायक प्रधानाध्यापक सोमनाथ भट्टराई बताउँछन् । ‘मैले यस विद्यालयमा २०७१ सालमा अध्यापन सुरु गर्दा ७५-७६ जना विद्यार्थी थिए । पछि वैदिक शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यले २०७३ सालमा प्राविधिक विषय (कम्प्युटर) थप्यौँ । त्यो सन्देश घरघरमा गएर भन्याैँ, त्यसपछि भने विद्यार्थी सङ्ख्या निरन्तर बढ्दो क्रममा छ’, भट्टराईले भने । अहिले कक्षा १ देखि ५ सम्म एक सय अङ्कको संस्कृत, ६ देखि ८ कक्षासम्म भाषा र व्याकरण गरी दुई सय पूर्णाङ्क तथा ९ देखि १२ कक्षासम्म प्राविधिक, संस्कृत र साधारण शिक्षाको सुविधा रहेको उनले बताए । त्रेतायुगमा जनकपुत्री सीताले शिक्षा-दीक्षा लिएको र यहीँ बसेर याज्ञवल्क्यले शुक्लयजुर्वेदको मध्यन्दिनीय शाखा लेखेको भनिने यस ऐतिहासिक विद्यालयमा अहिले ६५ विद्यार्थी आवासीयरूपमा र समग्रमा साढे चौबीस सयभन्दा बढी विद्यार्थी पढिरहेका छन् । विद्यालयको ऐतिहासिकता जनकपुर प्राचीनकालदेखि नै वैद्धिक दर्शन र आर्यचिन्तन परम्पराको केन्द्रका रूपमा रहँदै आएको छ । यहाँ यज्ञबल्क्य, मैत्रैयी, गार्गी, अष्टावक्रलगायत ऋषिमुनि, विद्वान् तथा विदुषीहरूको ध्यान, साधना, कर्मकाण्ड परम्परादेखि चलिरहेकै छ । त्यसैले त अध्ययन–अध्यापनका साथै ग्रन्थप्रणयनजस्ता कार्यहरू पनि यहाँ निरन्तर भइरहेको विभिन्न समयमा सुरु भएका गुरुकुल तथा विद्यालय परिसरमा अवस्थित ज्ञानकूप, विद्याकूप र शातानन्दकूपका अवशेषले त्यही प्राचीन परम्परालाई स्मरण गराउने गरेको जानकारहरू बताउँछन् । अध्ययन–अध्यापनको त्यही गुरुकुल परम्पराको केन्द्र जनकपुरमा १९९६ सालमा सरकारी तबरबाट संस्कृत पाठशालाको स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक झाले जानकारी दिए । उपलब्ध विवरणअनुसार त्यसअघि १८८५ वैशाख अक्षय तृतीयामा कर्मकाण्ड शिक्षालयका रूपमा लक्ष्मण मन्दिरको प्राङ्गणबाट पठनपाठन सुरु भएको थियो । पछि १९१० सालमा राममन्दिरको झुलाघर र १९६० सालमा यी सबैलाई एकीकरण गरी श्रीराम मन्दिर र जानकी मन्दिरको उत्तरपश्चिम भागमा एउटा फुसको आश्रममा विद्यालय स्थापना गरी वेद, व्याकरण, न्याय, ज्योतिष आदि विषयको पठनपाठन प्रारम्भ गरेको इतिहास भेटिन्छ । तत्कालीन मालपोत विभागअन्तर्गतको संस्कृत बन्दोबस्त नागरिक फाँटबाट १९६६ वैशाखदेखि ‘राजकीय संस्कृत प्रधान पाठशाला’को नाममा वैधानिकता पाएको र त्यहीबेला व्याकरण, ज्योतिष र साहित्य गरी तीन विषयको स्वीकृति पाएको विद्यालयद्वारा प्रकाशित शताब्दी स्मारिका–२०६९ मा उल्लेख छ । यसबीचमा विसं १९७३ मा वेदवेदाङ्ग पाठशाला, १९९० वैशाख शुक्ल अक्षय तृतीयका दिन भारतको चित्रकुटबाट आएका साधु मौनीबाबाले मौनीय संस्कृत महाविश्वविद्यालय स्थापना गरेको र मौनीबाबाको प्रयासमा तत्कालीन प्रधानमन्त्री पद्मशम्शेरको समेत सहयोग रहेको त्यहाँ उल्लेख छ । ‘मौनिबाबाले तत्कालीन प्रधानमन्त्री पद्मशम्शेर तथा स्थानीय दातासँगको सहयोगमा विद्यालय निर्माणका लागि तीन बिघा सात कट्ठा १० धुर तथा सञ्चालन खर्चका लागि झण्डै ५१ बिघा जग्गा भिक्षाटनबाट प्राप्त गरेका र ६५ विद्यार्थीको पठनपाठन, आवासीय खर्च पूर्ति गर्ने शर्तमा त्यो सबै सम्पत्ति २००५ सालमा गुठी संस्थानमा सुम्पिनुभयो’, स्मारिकामा उल्लेख छ, ‘पछि १९६० सालमा एकीकृत गुरुकुल र सन् १९६६ मा वैधानिकता प्राप्त राजकीय संस्कृत प्रधान पाठशालालाई २००५ सालमा र २००८ सालमा वेदवेदाङ्ग पाठशालालाई समेत ज्ञानकूपमै समावेश गरेर बनेको त्रिगङ्गाको संयुक्त रूप यो विद्यालय हो ।’ ती सबै संस्कृत पाठशालाको एकीकृत रुप मानिएको यो विद्यालय २०२४ सालमा याज्ञवल्क्य संस्कृत महाविद्यालयका रुपमा स्थापित भएको हो । विसं २०२० बाट त्रिभुवन विश्वविद्यालयबाट परीक्षा सञ्चालन हुनुअघि यहाँ भारतका विहार संस्कृत समिति र कामेश्वर संस्कृत विश्वविद्यालयसँग मिलेर परीक्षा हुने गरेको थियो । विसं २०३० मा महाविद्यालय स्थान्तरित भएर महोत्तरीको मटिहानीमा लगियो तर राजनीतिक व्यवस्था परिवर्तनपछि फेरि २०४७ सालमा यसै विद्यालयमा हजारी जनक विद्यापीठ स्थापना भयो । संस्कृतका जानकार एवं जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार याज्ञवल्क्य माता जानकी प्रादुर्भावभन्दा धेरै पूर्वका जनक राजाहरूका शिक्षादीक्षाका गुरु र विद्वतसभाका प्रमुख थिए । तिनै यज्ञवल्क्यले वेद शिक्षा त्यागेर हिँडेपछि दूधमति नदी किनारको किनार अर्थात् ज्ञानकूप क्षेत्रमा उपसना गरी यजुर्वेद प्राप्त गरेको पनि किंवदन्ती छ । ‘यो विद्यालय तिनै याज्ञवल्क्यजस्ता सिद्धहस्त विद्वानहरूले साधना गरेको स्थल हो । पहिले नितान्त वैदिक कर्मकाण्डी शिक्षा दिने गरिएकामा अहिले त्यो शिक्षा नाममात्रको छ । त्यो गरिमा राख्न सकिएको छैन । त्यसतर्फ कसैको ध्यान छैन’, महन्थ दासले भने, ‘त्यो मात्रै होइन, वैदिक धर्मसँग जोडिएका सबै पक्ष कमजोर हुँदै गएका छन् । यसमा ध्यान दिइनुपर्छ ।’ विद्यार्थीको चाप विद्यालयमा अहिले करिब दुई हजार पाँच सय विद्यार्थी छन् । अबको केही वर्षमै त्यो सङ्ख्या पाँच हजार पुर्याउने लक्ष्यसहित काम भइरहेको छ । यहाँ कक्षा ९ देखि १२ सम्म प्राविधिक, संस्कृत र साधारण गरी तीन सङ्कायमा पठनपाठन भइरहेको छ । प्राविधिकतर्फ कम्प्युटर र साधारणतर्फ व्यवस्थापन तथा विज्ञान सङ्कायको पठनपाठन हुने गरेको छ तर त्यसका लागि आवश्यक भौतिक पूर्वाधार, कक्षाकोठा, शिक्षक-शिक्षिका र लगानीको अभाव रहेको उनको भनाइ छ । प्रधानाध्यापक झाले कक्षा ६ देखि १० सम्म एक सय विद्यार्थी हुँदाको दरबन्दी र वेदविद्यातर्फ १९६६ सालकै दरबन्दीअनुसार पढाउनु परेकाले धेरै समस्या भइरहेको बताए । उनले भने, ‘जम्मा निजी स्रोत, काजसहितका ३२ जना शिक्षक-शिक्षिका छौँ । विद्यार्थीको चाप बढेपछि बिहान र दिउँसो गरी दुई चरणमा अध्ययन-अध्यापन भइरहेको छ । पाँच वर्षदेखि नमूना विद्यालय भएपछि त झन् भौतिक पूर्वाधारमा सहयोग नहुँदा समस्यामा छौँ ।’ कर्मकाण्डी शिक्षामा जातीय आरक्षण यस विद्यालयमा साधारण र प्राविधिकतर्फ सबैका लागि खुला छ तर आवासीय कर्मकाण्डी शिक्षा पढ्ने ६५ सिटमा भने जातीय आरक्षण छ । यहाँ ब्राह्मणबाहेक अहिलेसम्म अन्य जातिलाई पढ्न बर्जित छ । सुरुदेखि गुठी संस्थानले ५४ र ब्रह्मचारीले दिने नौ गरी ६५ जनालाई भोजनवृत्तिसहित आवासीय सुविधा दिइरहेको छ । गुठी संस्थान जनकपुरधामका प्रमुख आनन्द कर्मचार्यले संस्थानले कुनै जातिलाई पढाउनु वा नपढाउनु भनेर छात्रवृत्ति दिने नगरेको बताए । ‘आवासीयरूपमा कर्मकाण्डी शिक्षा दिने कार्यको सहजताका लागि संस्थानले स्थापनाकालदेखि नै छात्रवृत्ति दिइरहेको हो । हामीले समग्रमा दिने हो । कसलाई पढाउने वा नपढाउने विषय विद्यालयको क्षेत्राधिकारको विषय हो’, कर्माचार्यले भने । रासस

पर्यटन प्रवर्द्धनका लागि लुम्बिनीमा थपिँदै छन् सुविधासम्पन्न होटल

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी रु ६० अर्बभन्दा बढी पुगेको छ । लुम्बिनीको पर्यटकीय सम्भावनालाई केन्द्रित गरेर रूपन्देहीका होटल व्यवसायमा मात्रै झण्डै रु ३० अर्बभन्दा बढीको लगानी पुगेको व्यवसायीहरू बताउँछन् । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना-ठूला गरी दुई हजार पाँच सय होटल छन् । यसमध्ये एक सय ५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घका पूर्वअध्यक्ष पर्यटन व्यवसायी माधव नेपाल बताए । लुम्बिनी क्षेत्रको पर्यटकीय सम्भावनालाई केन्द्रित गरेर होटल तथा पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लागानी बढ्दो छ । बुद्ध जन्मस्थल लुम्बिनी प्रवेशद्वारका रूपमा मानिएको सिद्धार्थनगर र रुपन्देहीमा आधुनिक नगरको रूपमा विकसित हुँदै गइरहेको तिलोत्तमा नगरपालिकामा शनिबारदेखि एकैदिन दुईवटा सुविधासम्पन्न होटल सञ्चालनमा आएका छन् । रुपन्देहीको सिद्धार्थनगर- ३ स्थित सिङ्गापुर कोलनीमा नेपालको पर्यटन क्षेत्रमा ३२ वर्षदेखि होटल सञ्चालन गरिरहेको ल्याण्डमार्क होटल एण्ड रिसोर्ट सञ्चालनमा आएको छ । यस्तै तिलोत्ताको जानकीनगरमा पनि सुविधासम्पन्न ‘द क्राउन इन’ होटल सञ्चालनमा आएको छ । भारतीय पर्यटक नेपाल भित्रिने मुख्य बेलहिया नाकाबाट करिब तीन किलोमिटरको दूरीमा करिब डेढ बिघा जग्गामा चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको होटलका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले जानकारी दिए । उनले भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्णरूपमा सञ्चालन नभए पनि भविष्यमा सञ्चालन हुने र त्यसले पर्यटन क्षेत्रमा कोशेढुङ्गा बनाउने बताए । उनले ८० प्रतिशत भारतीय पर्यटक बेलहिया नाकामार्फत नै नेपाल भित्रने गरेको तथ्य प्रस्तुत गर्दै ल्याण्डमार्क त्यस्ता पर्यटकका लागि पहिलो रोजाइमा पर्ने बताए । उनले यस्तो आर्थिक मन्दीको समयमा समेत नयाँ होटल सञ्चालन गरेर नेपाली युवाका लागि नेपालमै रोजगारी सिर्जना गर्न चाहेको बताए । कोभिडका कारण सबैभन्दा पीडित बनेको पर्यटन क्षेत्र विस्तारै माथि उठ्ने क्रममा रहेको उनले बताए । प्रारम्भमा होटलले डिलक्स, सुपर डिलक्स, फेमिली र जुनियर स्वीट गरी ५० कोठासहितको सेवा सुरु गरेको छ । होटलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्म र बेलहिया नाकाबाट आउने र जाने यातायातको सुविधासमेत उपलब्ध गराएको होटल व्यवस्थापनले जनाएको छ । यस्तै, बुटवल-भैरहवा सिद्धार्थ राजमार्ग खण्डको तिलोत्तमाको जानकीनगरमा ‘द क्राउन इन’ होटल आधुनिक सुविधासम्पन्न सेवा दिनेगरी शनिबारदेखि नै सञ्चालनमा आएको होटल सञ्चालक अनन्त थैवले बताए । रु ४० करोडको लगानीमा सञ्चालनमा ल्याइएको होटल सेमिस्वीट, डिलक्स र सुपर डिलक्स गरी ४० वटा कोठा रहेका छन् । होटलमा एक सय जना क्षमताको बार र रुपटप बारको व्यवस्था गरिएको सञ्चालक थैवले बताए । उनले स्वदेशम नै स्वदेशी पुँजीको लागनीबाट केही गर्न सकिन्छ भन्ने विदेश पलायन हुने नयाँ पिँढीलाई सन्देश दिन विदेशबाट व्यवस्थापन अध्ययन गरेर फर्किएको छोरालाई होटलको व्यवस्थापकीय जिम्मेवारी दिएको बताए । रासस

माछापुच्छ्रे बैंकको असफल डिजिटल कारोबार मोबाइल एपबाटै रिर्पोट गर्न सकिने

काठमाडौं । माछापुच्छ्रे बैंक डिजिटल कारोबारमा आधुनिक प्रविधि भित्र्याई सो को प्रवर्धन, सम्बर्धन तथा कार्यान्वय गर्ने बैंकमध्येमा अग्रस्थानमा रहँदै आएको छ । डिजिटल कारोबार संख्या वृद्धि हुँदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले डिजिटल माध्यमबाट भएका कारोबार मध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोवाइल बैंकिङ एपरवेबसाईट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको छ । जस अन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेकोछ भन्ने कुराको अपडेट हेर्न सकिने बैंकले जनाएको छ । असफल कारोबारको समस्या समाधान पश्चात रकम फिर्ता भएकोे जानकारी मेसेज र ईमेलबाट ग्राहकलाई गराइने बैंकले जनाएको छ । विज्ञान र प्रविधिका अनेकन आयामहरुलाई प्रयोगमा ल्याई आफूलाई स्मार्ट बैंकको रुपमा परिचित गराईरहेको माछापुच्छ्रे बैंकले असफल डिजिटल कारोबारहरु बैंकसम्म नआईकनै जहाँकहीँ बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको हो । यस अन्र्तगत ग्राहकले आफ्नो मोवाईल बैंकिङ एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्ने बैंकले जनाएको छ । यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रकृया अगाडि बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफै फिर्ता गर्ने बैंकले जनाएको छ । स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरु प्रदान गर्दै आएको र विभिन्न डिजटिल बैंकिङ सेवा सुविधाहरु प्राप्त गर्न बैंकको कार्यालय सम्म पुग्नै नपर्ने गरी सेवा समेत प्रदान गरिरहेको जनाएको छ ।