डढेलोले म्याग्दीमा ७ सय हेक्टर वन सखाप

<p>गलेश्वर । डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । ४५ दिनको अवधिमा जिल्लाको करिब ७ सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ । फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका ६ ओटै स्थानीय तहका १ सय ११ वनमा डढेलो लागेको छ । डढेलोले जिल्लाको ६ [&hellip;]</p>


गलेश्वर । डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । ४५ दिनको अवधिमा जिल्लाको करिब ७ सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका ६ ओटै स्थानीय तहका १ सय ११ वनमा डढेलो लागेको छ ।

डढेलोले जिल्लाको ६ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ । गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ ।

डढेलोबाट आफूहरू त्रसित भएको वन क्षेत्र आसपासका स्थानीयले बताएका छन् । डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने पशुपक्षी मरेका मालिका गाउँपालिका–६ का टेकबहादुर पुनले बताए ।

जिल्लाको बेनी नगरपालिका लगायत मालिका, मङ्गला, रघुगङ्गा,धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताए ।

कतिपय वनमा आगो निभाइएको छभने केही वनमा अझै धुवाँको मुस्लो देखिएको उनी बताउँछन् । दैनिक रूपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको उनले जानकारी दिए ।

वन्यजन्तु गाउँमा

डढेलोबाट जोगिन जङ्गली जनावर गाउँ पसेर स्थानीयलाई दुःख दिइरहेका छन् ।

जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजिमा गाउँ पसेका पीडित स्थानीयले बताएका छन् ।

‘खेतबारीमा लगाएको बाली बँदेल र बाँदरले नष्ट गरे । वन्यजन्तु अब त घर भित्र नै पसेर हैरान पार्न थालेका छन्,’ मङ्गला गाउँपालिका– ५ का किसान टिकानाथ कडेँलले भने ।

बँदेल, दुम्सी र बाँदर घर भित्र नै छिर्न थालेका उनले बताए । मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु,वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँले पीडित भएका छन् ।

मालिका गाउँपालिका वडा नं ६ उपल्लो दुखुकी डिलकुमारी रोका खेतबारीको बालीले नपुगेर बाँदर भकारी तथा भान्छामा पुगेका बताए । खेतबारीमा बँदेलले दुःख दिएको उनले गुनासो गरे ।

यसैबीच, तम्घासबाट प्राप्त समाचारअनुसार खरबारीमा लगइएको आगोले रुरुक्षेत्र गाउँपालिका–५ धोबिघाटस्थित सरोज सारुको दुईतले कच्ची घर जलेको छ । आगोले घरमा भएको अन्न, लत्ताकपडा, भाँडाकुडा नष्ट भएको छ ।

यसैगरी, भोजपुर नगरपालिका वडा नम्वर ८, पोखरेका भरत कार्कीको १० कोठाको घरमा मङ्गलबार आगलागी हुँदा रु ४२ लाख बराबरको धनमाल जलेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए ।

आगलागीबाट नगद चार लाख ५० हजार, १३ तोल सुन, १० तोला चाँदी, एलइडी टिभी दुई थान, मोबाइल फोन, फर्निचर लगायत घरका सबै सामग्री जलेका उनले बताए ।

Share News